कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘क्रोधी’ कविको सन्तान प्रेम

कवि शेली विद्रोही थिए । आफूले न्याय नपाएपछि शेलीले क्रोधका साथ भनेका थिए– ‘धिक्कार छ न्यायाधीश तिमीलाई !’ न्यायालय र न्यायाधीशको विरोध गर्न नपाइने अवस्थामा उनले न्यायाधीशकै निन्दा गरेर कविता किन लेखे ? यसको कारण खोज्न कवि शेलीको पारिवारिक जीवनको यथार्थतिर फर्किनुपर्ने हुन्छ ।
शार्दूल भट्टराई

बेचिएको छ न्याय, कुल्चिएको छ सत्य
ध्वस्त गरिएको छ प्रकृतिको महान् महत्ता
जालझेलमा सञ्चित छ स्वर्णराशि 
ध्वंसको सिंहासनमा बसेर चर्कोसँग चिच्याऊ 
तिम्रो देशको श्राप तिमीमाथि छ । 

‘क्रोधी’ कविको सन्तान प्रेम

प्रस्तुत पद्यांश कवि शेलीको हो । यो उनको उत्कृष्ट कविताको अंश होइन, न्यायाधीशविरुद्धको अभिव्यक्तिका कारण चर्चित एउटा कविताको अंश हो । भनिन्छ— जीवनमा जो दुःखमा परेको छ, उसैलाई दुःख थपिन्छ र जीवनमा जो अन्यायमा परेको छ, ऊ नै थप अन्यायमा पर्छ । सबैको जीवनमा यस्तो भनाइ लागू नहोला तर कतिको जीवनमा यो भनाइ सत्य–साबित भएको छ । बेलायतका विश्वचर्चित कवि पर्सी बिस शेलीले आफ्नो जीवनमा त्यही भनाइ लागू भएको अनुभव गरे ।

मानिसले न्यायका लागि जाने ठाउँ न्यायालय हो तर त्यहीँबाट न्याय पाउन नसकेपछि गर्ने के ? न्यायालयको निर्णय नै अन्तिम मानिने अवस्थामा त्यसका विरुद्ध बोल्न पनि नपाइने । भन्छन्— बोल्यो कि पोल्यो । तापनि कतिले विभिन्न शैलीमा आफ्नो अभिव्यक्तिलाई न्यायालयले गरेको निर्णयको विरोध गर्ने विकल्प बनाएका छन् । आफूमाथि अन्याय भएपछि कवि शेली पनि

आफ्नो अभिव्यक्तिमार्फत न्यायाधीशकै विरुद्धमा उत्रिएका थिए । न्यायलाई ठगी र खरिद–बिक्रीको विषय बनाउने न्यायाधीशलाई उनी व्यभिचारको दासका रूपमा धिक्कार्न पुगेका थिए :

ए ! दास म तिमीलाई धिक्कार्छु तर घृणा गर्दिनँ

नर्कलाई खाइरहेको पृथ्वीलाई सन्तुष्ट राख्न सक्छौ भने

त्यो जुन एउटा दानवी–कला हो

तिम्रो चिहानमा यो श्राप पूर्ण रूपमा वरदान हुनेछ ।

कवि शेली विद्रोही थिए । उनी न्यायका पक्षमा बोल्थे तर आफैँ अन्यायमा परे । आफूले न्याय नपाएपछि शेलीले क्रोधका साथ भनेका थिए– ‘धिक्कार छ न्यायाधीश तिमीलाई !’ उनले ती न्यायाधीशको निन्दा गर्दै कविता नै लेख्न पुगे । न्यायालय र न्यायाधीशको विरोध गर्न नपाइने अवस्थामा उनले न्यायाधीशकै निन्दा गरेर कविता किन लेखे ? यो कविता लेख्नुको कारण के थियो ? यसको कारण खोज्न कवि शेलीको पारिवारिक जीवनको यथार्थतिर फर्किनुपर्ने हुन्छ ।

***

बाबुले आफूलाई नियन्त्रणमा राखेर अत्याचार गर्न थालेपछि शेलीले घरबाटै विद्रोह सुरु गरे, जुन समयमा उनी बालकै थिए । विद्यालयमा पढिरहेका शेलीको पढाइ खर्चसमेत बाबुले दिन छोडे । यस स्थितिमा शेली अझै विद्रोही बने । घरबाट सुरु भएको उनको विद्रोह सामाजसँग जोडिन पुग्यो । उनी बेलायतका दुःखीहरूको पक्षमा उभिन पुगे । त्यहाँका सामाजिक र राजनीतिक गतिविधिहरूमा उनको चासो बढ्यो ।

विद्रोहको आवाज बोकेर अगाडि बढ्ने सिलसिलामा किशोर शेलीको भेट ह्यारिएट वेस्टब्रुक नामकी किशोरीसँग भयो । ह्यारिएट पनि घरभित्र बाबुको नियन्त्रणलाई आफूमाथिको अत्याचार ठान्थिन् । विद्यालयका शिक्षकहरूले अनुशासनको कुरा सिकाउँदा उनलाई असह्य हुन्थ्यो । शिक्षकहरूले पढाइलाई महत्त्व दिने कुरो गर्दा रिसले उनको कन्पारो तात्थ्यो । सामाजिक मर्यादाका सीमाहरूलाई उनी कारागारको बन्धनजस्तै ठान्थिन् । उनको त्यस्तो स्वभाव शेलीलाई मन पर्‍यो । शेलीले ह्यारिएटलाई आफूजस्तै विद्रोहीका रूपमा बुझे । त्यसमाथि ह्यारिएट सुन्दरी थिइन् । त्यसकारण पनि शेली उनीप्रति आकर्षित हुन पुगेका थिए ।

ह्यारिएटले आफूलाई घरको अत्याचारबाट मुक्त गर्न शेलीलाई भनिन् । आफूलाई मन परेकी केटीलाई भगाउन शेली पनि तयार भए । उनले ह्यारिएटलाई भगाएर स्कटल्यान्ड पुर्‍याए । विवाहका लागि ह्यारिएटको उमेर पुगेको थिएन । कानुनअनुसार विवाह गर्नका लागि अझै दुई वर्ष पर्खिनुपर्थ्यो तर शेली र ह्यारिएटले त्यो कानुनी प्रबन्धलाई पनि चुनौती दिएर विवाह गरे । केही समयपछि शेलीले आफू भ्रममा परेको महसुस गरे ।

विवाहअगाडि उनले ह्यारिएटलाई जुन रूपमा बुझेका थिए, विवाहपछि त्यस रूपमा पाउन सकेनन् । उनमा शेलीमा जस्तो मानवीय भावना थिएन । शेलीमा जस्तो क्रान्तिकारी जोस पनि थिएन । शेलीले ह्यारिएटलाई एउटी मूर्ख युवतीको रूपमा पाए । ह्यारिएटको मूर्खताकै कारण उनीहरूबीच झगडा सुरु भयो । तैपनि शेलीले सकेसम्म मिलेर दाम्पत्य जीवनलाई अगाडि बढाउने उद्देश्यले दुई वर्षपछि कानुनी रूपमै ह्यारिएटसँग विवाह गरेका थिए ।

***

शेलीले ‘एन इन्क्वाइरी कन्सर्निङ पोलिटिकल जस्टिस’ भन्ने पुस्तक पढे । उनी त्यसबाट निकै प्रभावित भए । त्यस पुस्तकका लेखक विलियम गडविन लन्डनमै बस्छन् भन्ने कुरो उनले थाहा पाए । गडविनलाई भेट्ने इच्छा उनमा जाग्यो । उनी उत्साहका साथ गडविनलाई भेट्न पुगे । पहिलो भेटमै उनी गडविनको बौद्धिकताबाट प्रभावित बने । त्यसपछि उनी निरन्तर गडविनकहाँ जान थाले । गडविनले पनि शेलीलाई स्वच्छन्दतावादी र विद्रोही कविको रूपमा माया गर्थे ।

राजनीतिक चिन्तक, पत्रकार र उपन्यासकारका रूपमा चिनिएका विलियम गडविनकी जेठी पत्नी थिइन्– म्यारी वोल्स्टोनक्राफ्ट, जो नारीवादी दार्शनिक थिइन् । गडविन र वोल्स्टोनक्राफ्टकी एउटी छोरी थिइन्– म्यारी वोल्स्टोनक्राफ्ट गडविन । म्यारी गडविन एघार वर्षकी हुँदा उनकी आमाको निधन भएपछि उनको हेरचाह बाबुले गरेका थिए । कवि शेली विलियम गडविनकहाँ गइरहने क्रममा उनको भेट उनकी छोरी म्यारी गडविनसँग भयो । शेली र म्यारीबीच निरन्तरको भेटले दुईबीच घनिष्ठता बढ्दै गयो । आफ्नी पत्नी ह्यारिएटको स्वभाव र व्यवहारबाट अघाएका र हैरानीमा परेका शेली म्यारीको स्वभाव र व्यवहारबाट भने निकै नै प्रभावित बने । म्यारी उनकी पत्नी ह्यारिएटजस्ती सुन्दरी त थिइनन् तर लेखाइ, पढाइ र बौद्धिकताका दृष्टिले भने अतुलनीय थिइन् । त्यसैले शेली ह्यारिएटसँग टाढिँदै गएका थिए भने म्यारीसँग नजिकिँदै गएका थिए । शेलीजस्तो उदीयमान कविसँग नजिक रहन पाउँदा म्यारी पनि खुसी थिइन् ।

शेलीको म्यारी गडविनसँगको सम्बन्ध बढ्दै गएको कुरा ह्यारिएटले थाहा पाइन् । शेलीसँग ह्यारिएट क्रुद्ध बनिन् । शेलीको ह्यारिएटसँगको सम्बन्ध टुट्दै गयो भने म्यारीसँगको सम्बन्ध गाढा बन्दै गयो । ह्यारिएटले शेलीलाई म्यारीसँगको सम्बन्ध तोड्न भनिन् तर शेलीले त्यो सम्बन्ध कुनै हालतमा नतोडिने, बरु निकट भविष्यमा म्यारीसँग विवाह नै गर्ने अन्तिम निर्णय सुनाए ।

शेलीको निर्णय सुनेपछि गर्भवती ह्यारिएट रिसाएर शेलीसँग नबस्ने निर्णयमा पुगिन् । उनी आफ्ना बाबु भएका ठाउँमा पुगिन् र त्यहीँ बस्न थालिन् । शेली पनि म्यारीलाई लिएर स्विट्जरल्यान्डतिर गए । त्यहीँ शेली र म्यारीको भेट कवि बाइरनसँग भयो । म्यारीले स्विट्जरल्यान्डमै छोरो जन्माइन् । स्विट्जरल्यान्डबाट फर्केपछि शेलीले ह्यारिएटलाई भेटे र म्यारीसँगै मिलेर बस्न भने तर ह्यारिएटले मानिनन् । म्यारीलाई त्यागेमा मात्र आफू फेरि सँगै बस्न सक्ने कुरो शेलीलाई बताइन् । तर, शेलीले कुनै पनि हालतमा म्यारीलाई नत्याग्ने कुरो दोहोर्‍याए । शेली र ह्यारिएटबीचको सम्बन्ध टुट्यो ।

ह्यारिएट ज्यादै निराश बनिन् । उनलाई जीवनदेखि नै वाक्क लाग्यो । शेलीका तर्फबाट उनका एक छोरा चार्ल्स र एक छोरी एलिजाको जन्म भएको थियो । ती दुवै ह्यारिएटसँगै थिए । पति शेलीप्रतिको माया त मरिसकेको थियो, आफ्ना छोराछोरीप्रतिको मायाले पनि ह्यारिएटलाई बचाउन सकेन । उनले तालमा डुबेर आत्महत्या गरिन् ।

ह्यारिएटको आत्महत्याबाट शेली दुःखी त भए तर उनको दुःख धेरै दिन रहेन । बरु ह्यारिएटको आत्महत्याले आफूलाई कानुनी तवरमै म्यारीसँग विवाह गर्न बाटो खुलेको महसुस गर्न पुगे । नभन्दै ह्यारिएटको आत्महत्याको लगत्तै शेलीले म्यारीसँग कानुनी तवरमा विवाह गरे ।

म्यारी वोल्स्टोनक्राफ्ट गडविन आफैँ पनि उपन्यास लेखनमा लागेकी थिइन् । उनले पति शेली र अर्का कवि बाइरनको प्रेरणाबाट ‘फ्रानकेन्स्टाइन’ उपन्यास लेखिन् । पछि उनी उपन्यासकार, नाटककार र निबन्धकारका रूपमा चिनिन पुगेकी थिइन् ।

शेलीले म्यारीसँग विवाह गरे पनि उनलाई ह्यारिएटतर्फका आफ्ना छोराछोरीको चिन्ता भने धेरै थियो । बालक नै भएकाले उनीहरूको लालनपालन र शिक्षादीक्षालाई लिएर शेली निकै चिन्तित बने । उनले म्यारीसँगसमेत कुरो गरेर ह्यारिएटतर्फका छोराछोरी दुवैलाई आफैँसँग राख्ने विचार गरे । उनी छोराछोरीलाई लिन भनेर गए तर ह्यारिएटका बाबुले ‘पत्नीलाई माया नदिनेले उसका केटाकेटीलाई पनि माया दिन नसक्ने’ भन्दै छोराछोरी जिम्मा लगाउन अस्वीकार गरे । यसबाट शेली आक्रोशित बन्न पुगे ।

आक्रोशित अवस्थामै शेली आफ्ना छोराछोरी आफूले पाउनुपर्ने माग गर्दै अदालतमा पुगे । उनले अदालतमा मुद्दा हाले । अदालतमा बहस चल्यो । शेलीले आफ्ना छोराछोरी आफूले नपाउने कल्पना पनि गरेका थिएनन् तर अदालतका न्यायाधीशले उनले सोच्दै नसोचेको निर्णय गरिदिए । न्यायाधीशले छोराछोरीको जिम्मेवारी लिन र उनीहरूको भविष्य निर्माण गर्न शेलीलाई अयोग्य ठहर गर्दै उनलाई छोराछोरी जिम्मा लगाउन नमिल्ने निर्णय दिए । न्यायाधीशको यस्तो निर्णयको शेलीले तत्कालै कडा विरोध गरे । न्याय दिन बसेको न्यायाधीशले नै अन्याय गरेको आरोप उनले लगाए । उनले खुल्लमखुला न्यायाधीशको विरोध मात्र गरेनन्, ती न्यायाधीशका विरुद्धमा कविता नै लेखे । ‘टु द लर्ड चान्सलर’ शीर्षक कवितामा उनले न्यायाधीशलाई प्राकृतिक नियमविपरीत घृणा, द्वेषले भरिएको, अनैतिक र अपवित्र व्यक्तिका रूपमा चित्रण गर्न पुगे :

त्यो घृणा जसले बाबुको प्रेमको परीक्षा लिन्छ

त्यो द्वेष जसले बाबुको संरक्षणको हत्या गर्छ

सबैभन्दा अपवित्र हात

जसले प्राकृतिक नियमलाई मिच्ने आँट गर्‍यो

खेदद्वारा भन्नुपर्छ– त्यो तिमीले गर्‍यौ ।

दुई सय वर्षअघि लेखिएको यस कवितामा कवि शेलीले न्यायाधीशको घोर विरोध र निन्दा गरेपछि उनलाई ‘ज्यादै क्रोधी’ व्यक्तिको रूपमा चित्रण गर्नेहरू पनि भए । उनको यस कवितालाई ‘उग्र–स्वर’ मानेर विरोध गर्नेहरू पनि भए ।

निजी पीडाको विषय भए पनि यस कवितालाई शेलीले सामाजिक–राजनीतिक सरोकारको विषय बनाएका छन् । कवितामा शेलीको सिर्जनात्मक व्यक्तित्व राजनीतिसँग जोडिएर प्रस्तुत भएको छ । त्यसकारण पनि शेलीको यो कविता एउटा न्यायाधीशविरुद्धको आक्रोशको अभिव्यक्ति मात्र नभएर न्यायका सम्बन्धमा सामाजिक–राजनीतिक सरोकारको अभिव्यक्ति बन्न पुगेको छ ।

कवि शेलीले यस कवितामा अनेक कोणबाट न्यायाधीशको निन्दा गरेका छन् । एउटा न्यायाधीशलाई कवितामा यतिधेरै निन्दा गर्नुले उनको क्रोध सीमाहीन अवस्थामा रहेको बुझ्न सकिन्छ । उनी ती न्यायाधीशलाई पुरातनपन्थी, जाली, ठग, भ्रष्ट, अन्यायी, अत्याचारी र दुष्ट ठान्छन् । मानवीय प्रेम, आत्मीयता, अपनत्व र भ्रातृत्वलाई न्यायाधीशले ध्वस्त गरेको विचार उनी राख्छन् । राजनीति र न्यायिक प्रणालीअनुसार रक्षक नै भक्षक भएझैँ न्यायाधीश पनि सामन्ती अन्याय र अत्याचारको दास भएको महसुस कवि शेलीले गरेका छन् । उनी त्यस्ताको पतनले नै विनाशको मापन गर्ने निष्कर्ष निकाल्छन् । न्यायाधीशका कर्मलाई दानवी–कलासँग जोडेर प्रस्तुत गर्ने काम उनले यस कवितामा गरेका छन् । न्यायको ठेकदारीमा प्रतिगामी न्यायाधीशले न्यायकै धज्जी उडाएको ठान्छन् कवि शेली । त्यस्तो न्यायाधीशलाई उनी चिहानमा गाडिएको एउटा नकाबधारीको पुनर्जन्मझैं ठान्छन् :

दुर्गन्धित, ग्रन्थिदार ,चरम अन्धकारमा

जहाँ धेरै टाउका भएको कीरा छ

जसले हाम्री आमाको हृदयलाई छियाछिया बनाउँछ

रक्षक नै भक्षक बनेर

चिहानमा गाडिएको एउटा नकाबधारी पुनर्जन्म !

तिम्रो देशको श्राप तिमीमाथि छ ।

कवि शेली विद्रोह, स्वतन्त्रता र मानवीय भावनालाई व्यक्त गर्ने सिलसिलामा कतिपय विवादमा परे । दुःख, पीडा र उत्पीडनलाई सशक्त स्वर दिने शेलीका अभिव्यक्तिलाई लिएर धेरै बहस पनि भए । उनको यही कविता पनि ठूलै विवादको विषय बन्न पुगेको थियो तर उनले त्यस्ता विवादलाई वास्ता गरेनन् । अरूले के भन्छन् भन्दा पनि आफ्नो सामाजिक दायित्व के हो भन्ने कुरालाई शेलीले बुझेका थिए । उनको त्यही बुझाइकै कारण पनि उनी कम उमेरमै विश्वचर्चित बन्न पुगेका थिए ।

प्रकाशित : मंसिर २७, २०७७ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?