कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मातृत्व कहर

'आफू गर्भवती भएको थाहा पाएको दिन मभित्रको स्वास्नीमान्छे घबराहटपूर्ण तरिकाले खुसी भई । मभित्रको लेखक अचानक त्रसित बनी । मभित्रको सर्वदेशीय मान्छेले अन्तर्राष्ट्रिय बच्चाहरूको नामबारे सोच्न सुरु गरी । मभित्रको शान्तिवादी मान्छे प्रतिक्रियाविहीन भएर चुपचाप बस्दिई । मभित्रको सुफीले खबरलाई स्वागत गरी ।'
सरस्वती प्रतीक्षा

फेवातालको किनारामा अवस्थित क्रेजी गेको रेस्टुरेन्ट । तालको छाल नजिकै बसे पनि कुराचाहिँ मनभित्रका छालहरूको गर्दै थियौं । भीडभाडको बीचमै थियौं, तर पनि भीडमा थिएनौं । पहिलो भेट थियो । पहिलो भेटमा हुनेजस्तो औपचारिकताचाहिँ कत्ति पनि थिएन हामीबीचमा ।

मातृत्व कहर

‘तिमीसित पहिलो भेट इस्तानबुलमा होला भन्ने अन्दाज थियो, जुन ठाउँमा तिम्रा थुप्रै गहिरा श्वास र निःश्वासका लिपिहरू छन् । इस्तानबुलमा नभए लन्डनमा भेट हुन्छजस्तो लागेथ्यो, जहाँ बसेर तिमी आफ्नो लेखन कर्म गरिरहेकी छौ । आज आफ्नै ठाउँमा यसरी सजिलै तिमीसत भेट हुँदा अझै नि पत्यार लागिरहेको छैन’, उमेरले आफूभन्दा ठूली भए पनि कुन्नि किन एलिफका निम्ति मेरो मुखबाट ‘तपाईं’ शब्द निस्कनै मानेन । उनले पनि मेरो ‘तिमी’ सम्बोधनलाई यसरी स्विकारिन्, मानौं हामीहरू कलेजकालीन मित्र हौं र तिमी–तिमी चल्नु एकदम सामान्य ।

‘सरस्वती, यो ठाउँमा आउँदा मलाई डेजाभू भइरहेछ । क्रेजी गेकोका ढुंगामाटोदेखि यहाँका रूखहरू, पातपतिंगरहरू सबसित चिरपरिचित छुजस्तो लागिरहेछ । यस्तो लाग्दै छ, म यही ठाउँमा बसेर पहिले पनि तिमीसित घण्टौं कुराकानी गरिसकेकी छु । आज हामी त्यही कुराकानीको पुनरावृत्ति गरेर ठ्याक्कै त्यही पललाई फेरि पुनर्निर्माण गर्दै छौं भन्ने भान भइरहेछ । यो डेजाभूले के–को संकेत गर्दै छ ? कतै हामी आफ्नै पुराना घटनाहरूको इन्स्टलेसन आर्ट त बनाइरहेका छैनौं यतिबेला ?’

गम्भीर स्वभावकी एलिफ सफाकको गम्भीरताको त म फिदा थिएँ नै सधैं । योपटक भने उनका रहस्यमयी कुराहरूले मलाई झनै हुरुक्क बनाउँदै थिए ।

‘पहिले केही अर्डर गरौं अनि कुरा गरौंला है !’, छेवैमा उभिएको वेटरलाई इंगित गर्दै मैले भनें । उनले मेनु नपल्टाईकन भनिन्, ‘दुई गिलास कालो दूध ल्याइदिनुस् न हाम्रा लागि ।’

वेटर छक्क होइन, महाछक्क गर्दै प्रश्नात्मक शैलीमा उभियो, ‘दुई गिलास कालो दूध रे ?? पक्कै पनि कालो चिया वा कफी भन्न खोज्नुभएको होला तपाईंले ।’

‘भन्न त मैले कालो दूध नै भनेकी हुँ, तर यो क्याफेमा कालो जे पाइन्छ, त्यही ल्याइदिनुस् हाम्रा लागि । कालो चिया, कालो कफी वा कालो रङको जुनसुकै खानेकुरा,’ एलिफको अर्डरमा फेरि एकपल्ट जिल्ल होइन, महाजिल्ल पर्दै फर्कियो वेटर ।

‘कालो दूध नपाए पनि आज तिमीसित बसेर कालो दूध अर्थात ब्ल्याक मिल्कको कुरा गर्न मन छ । तिमीले मेरो किताब ब्ल्याक मिल्क पढेकी छौ कि छैनौ सरस्वती ?’, उनी बल्ल आफ्नो खास स्वरूपमा आउँदै थिइन् ।

‘किन नपढ्नु ? पटकपटक दोहोर्‍याएर पढेकी छु । वर्षौंसम्म मैले उक्त किताबको हार्ड कपी पाइन्छ कि भनेर खोजेँ तर पाइनँ । अन्त्यमा केही उपाय नलागेपछि ब्ल्याक मिल्कको पीडीएफ भर्सन पढेकी हँॅ । प्रत्येकपटक उक्त किताब पढ्दा कतै न कतै त्यहाँ म आफैँलाई पाउँछु । पढ्दै गर्दा कहिले बिथोलिन्छु, कहिले गिजोलिन्छु’, मैले नुनिलो भाव पोखेँ ।

...र फेरि तुरुन्तै अर्कै भावमा प्रकट हुँदै भने, ‘एलिफ, पाइँदैन भन्ने जान्दाजान्दै वेटरसित कालो दूध अर्डर गरेकी थियौ । अब ब्ल्याक मिल्क अर्थात् कालो दूध किताबका बारेमा कुरा गरम् भन्दै छ्यौ । कालै टप्स, कालै लेगिन्स, कालै जुत्ता–अहिले पनि पूरै कालो ड्रेसअपमा छ्यौ । तिम्रो कालो रङप्रतिको मोह देखेर म त छक्कै पर्छु । तिमीले त इयुप क्यानसित बिहे गर्दासमेत असामान्य प्रस्ताव पो राखेकी थियौ हगि ? म त्यो देशमा गएर बिहे गर्न चाहन्छु, जहाँ दुलहीले बिहेमा सेतो लुगा लगाउनु पर्दैन भनेकी थियौ । कालै रङको लुगामा बिहे गर्ने तिम्रो रहरका कारण तिम्रो बिहेसमेत आफ्नो देशमा नभई जर्मनीको बर्लिनमा पो भएको थियो !’, कालो रङप्रतिको एलिफको मोहको कुनै व्याख्या नै सम्भव थिएन सायद !

‘अरूको नजरमा मात्र होइन, म आफ्नै नजरमा पनि एक असामान्य स्वास्नीमान्छे हुँ सरस्वती’, एलिफले गम्भीर हुँदै भनिन् ।

‘...र म असामान्य स्वास्नीमान्छेलाई प्रेम गर्ने अर्को एक असामान्य स्वास्नीमान्छे हुँ’, मैले थप गम्भीर हुँदै भने । त्यतिन्जेल हाम्रो टेबलमा कालो कफी पनि आइसकेको थियो ।

कालो कफी आवश्यकताभन्दा बढी नै कालो र तितो थियो, डबल सट अमेरिकानोलाई पनि जित्ने खालको । हाम्रो कुराकानी पनि त कहाँ गुलियो विषयमा हुँदै थियो र ?

वैचारिक समुद्र

‘मातृत्व सुखलाई हामीले सधैं यसरी अतिरञ्जित व्याख्या गर्‍यौं, मानौं मातृत्व र सुख एकअर्काका पर्याय हुन् । मातृत्वको सुखानुभूतिबिना एउटी नारी पूर्ण हुन सक्दिनसम्मका महान् वाणीले धेरै नारी कानहरूलाई प्रशिक्षित गराइयो युगौंदेखि । हरेक सुखको पछाडि कुनै न कुनै दुःखको कथा जोडिएकै हुन्छ । मातृत्व सुखका अधिकांश कथाका पछाडि दुःखका कथाहरूको फेहरिस्त हुन्छ । ती दुःखका कथाहरूलाई हामीले कहिल्यै उधिन्ने प्रयास नै गरेनौं है ?’, मैले कुराको मेलोलाई अगाडि सारें ।

मेरो कुराले एलिफलाई आफ्नै किताब ‘ब्ल्याक मिल्क’ को बाडुल्की झनै धेरै लाग्यो । भनिन्, ‘कतिपय किताबहरू केवल कल्पनाले लेखिन्छन् । कतिपय किताबहरू भावनाले लेखिन्छन् । कतिपय किताबहरू विचार वा दर्शनले लेखिन्छन् । ब्ल्याक मिल्कचाहिँ एउटा यस्तो ककटेल किताब हो, जहाँ मेरो मातृत्व, छटपटी, औडाहा, डिप्रेसन सबैलाई महिनौंसम्म एउटा कोठाको तापक्रममा राखेर निर्मलीकरण गरिएको छ । बच्चा जन्मेपछि रसाउने आमाको दूध त सेतो होला, त्यो दूधसँगै गुज्रनुपर्ने अनुभव र अनुभूतिको रङ अक्सर कालो हुन्छ ।’

‘तिमी त कहिल्यै बच्चा नै जन्माउन नचाहने स्वास्नीमान्छे थियौ । कुनै दिन आमा बनें भने राम्रो सौतेनी आमाचाहिँ बन्नेछु भन्ने तिम्रो अन्तर्वार्ता सुनेर तिम्रा पाठकहरू उदेक मान्थे । तिमीले झूटो अन्तर्वार्ता दिएर आफ्नै पाठकहरूलाई झुक्याएकी थियौ त्यसो भए ?’, भेटेर सोधुँला भनेर राखेका कतिपय प्रश्नहरूको पोको फुकाउँदै थिएँ म ।

‘संसारमा न पूर्ण सत्य भन्ने केही छ, न पूर्ण झूट नै । जसरी हर सत्य केवल अर्धसत्य हो, त्यसरी नै हर झूट अर्धझूट । आफैंले निर्माण गरेका तिनै अर्धसत्य र अर्धझूटका बीचमा पेन्डुलम बनेर बाँच्छौं हामी मान्छेहरू’, एलिफ अचानक दार्शनिक अवतारमा देखापरिन् ।

‘१. एक लेखक ।

२. एक ठाउँमा मात्र अडिएर बस्न नसक्ने फकिर अर्थात् एक सर्वदेशीय मान्छे ।

३. सुफिज्मको प्रेमी ।

४. शान्तिवादी ।

५. शाकाहारी ।

३५ वर्षको उमेरसम्म मैले आफूभित्रको स्वास्नीमान्छेलाई मैले यिनै पाँच भागमा बाँडेकी थिएँ । आफूलाई परिभाषित गर्नुपर्दा आफूभित्रका यिनै पाँच स्वास्नीमान्छेहरूको एक रूप हुँ भन्ने गर्थें । ३५ वर्षपछि अचानक इयुप क्यानसित भेट भयो । ऊसितको भेटपछि म आफ्नै अडानबाट चिप्लिएँ । चिप्लिएर लड्दा पनि पहिलोपटक खुसी लाग्यो र त्यो खुसीको कारण प्रेम थियो । बिहेको लागि बनेकै होइन म सोच्थेँ, ऊसित बिहे भयो । कहिल्यै आमा बन्दिन भनेर सोच्थेँ, अचानक एक दिन बिनायोजना आफू गर्भवती भएको थाहा पाएँ । मैले जानाजान कहिल्यै कसैलाई ढाँटिनँ । मेरो भीष्मप्रतिज्ञा इयुप क्यान भेट भएपछि पानीपानी भयो, त्योचाहिँ म कबुल गर्छु’, एलिफको जवाफमा कुनै मकुन्डो थिएन । मकुन्डोबिनाको उसको जवाफले भित्रैसम्म छोइएँ ।

‘आफू गर्भवती भएको थाहा पाएको दिन तिमीभित्रका पाँचवटा स्वास्नीमान्छेले पाँचथरीका प्रतिक्रिया दिएँ है !’, मेरो जिज्ञासाको हिमाल अग्लिई नै रहेको थियो ।

‘हो नि, आफू गर्भवती भएको थाहा पाएको दिन मभित्रको स्वास्नीमान्छे घबराहटपूर्ण तरिकाले खुसी भई । मभित्रको लेखक अचानक त्रसित बनी । मभित्रको सर्वदेशीय मान्छेले अन्तर्राष्ट्रिय बच्चाहरूको नामबारे सोच्न सुरु गरी । मभित्रको शान्तिवादी मान्छे प्रतिक्रियाविहीन भएर चुपचाप बस्दिई । मभित्रको सुफीले खबरलाई स्वागत गरी । मभित्रकी शाकाहारी मान्छेले अब मासु खानुपर्छ सोचेर चिन्तित भई’, एलिफको कुरामा जस्तै उसको अनुहारको भावमा पनि म एउटा मात्र भाव देखिरहेकी थिइनँ । थुप्रै भावहरूको मिश्रण देखिरहेथेँ । सोधेँ, ‘तिमीलाई आफूभित्रको लेखक मर्छ कि भन्ने डरले सबैभन्दा बढी सतायो है त्यतिबेला ?’

मातृत्वलाई केवल सुखसँग मात्र जोडेर हेर्नु भयंकर ठूलो भूल हो । बच्चा जन्मिँदैमा एउटी स्वास्नीमान्छे पूर्ण हुन्छे र उसको खुसीको सम्पूर्ण कारण त्यही बच्चा हुन्छ भन्ने सोचमै खोट छ । मातृत्व कहरको पाटोलाई किन कसैले ठीकसित परिभाषित गर्ने चेष्टा नै गर्दैन ?

‘डरको ठोस कारण पनि थियो मसित । टर्कीमा बसेर लेख्थेँ, त्यो पनि उपन्यास । मेरो देशका अधिकांश पुरुष लेखकहरू महिलाका लागि, अझ कुनै पनि महिलाका लागि उनको सही तरिकाको उत्पत्ति र उत्थान उनको पाठेघरले गर्छ, दिमागले होइन भनेर सोच्छन् । आख्यान लेखनलाई त झन् पुरुषहरूको मात्र विरासत सम्झन्छन् । आख्यान लेखनका लागि तर्कसंगत बुनोट, दिमागी इन्जिनियरिङ र प्लटिङ चाहिने हुनाले र स्वास्नीमान्छेहरू स्वभावतः भावुक हुने हुनाले कहिल्यै राम्रो उपन्यासकार बन्न सक्दैनन् भन्ने सोच राख्छन् । यस्तो सोच्ने चर्चित पुरुष लेखकहरू आफूलाई पिता उपन्यासकार मान्छन् । पिता उपन्यासकारहरूले आफ्नो मात्र ठानेको क्षेत्रमा छिरेर आफैंलाई स्थापित गर्न मनोवैज्ञानिक दबाब त हुन्छ नै । गर्भवती हुनु खुसीको कुरा भए पनि म मेरो पाठेघरको कारणले लेखनको दौडमा पछि पर्न चाहन्नथेँ । यसैले हड्बडाएकी थिएँ’, एलिफले नहड्बडाईकन आफ्नो कुरा सुनाइन् ।

‘कुनै शान्त टापुको रमाइलो घरमा बसेर बच्चा हुर्काउने र सँगसँगै लेख्ने पनि । तिम्रा योजना कति मनमोहक थियो नि पछिपछि त ?’, मुस्कुराउँदै सोधेँ मैले ।

‘सोचेको त त्यस्तै थिएँ । बच्चा हुर्काउने र लेख्ने काम सँगसँगै लैजाने सोच थियो । अचानक मलाई मेरा शब्दहरूले धोका दिए । लेख्न बस्थेँ तर शब्दहरूले मसित यसरी नाता तोडिदिएका थिए कि म अचानक शब्दविहीन हुन पुगेँ । जिन्दगीमा पहिलोपटक राइटर्स ब्लकको सिकार भएँ । एउटा लेखकसित उसका आफ्नै शब्दहरूले नाता तोडिदिनु सबैभन्दा बढी पीडादायक हुँदोरहेछ । त्यही पीडा सहन नसकेर म डिप्रेसनको बिरामी हुन पुगेँ । मातृत्वलाई केवल सुखसँग मात्र जोडेर हेर्नु भयंकर ठूलो भूल हो । बच्चा जन्मिँदैमा एउटी स्वास्नीमान्छे पूर्ण हुन्छे र उसको खुसीको सम्पूर्ण कारण त्यही बच्चा हुन्छ भन्ने सोचमै खोट छ । मातृत्व कहरको पाटोलाई किन कसैले ठीकसित परिभाषित गर्ने चेष्टा नै गर्दैन ? अचम्म लाग्छ’, एलिफले सुस्केरा हाल्दै सुस्केरायुक्त तर्क गरिन् ।

गम्भीर हुँदै मैले भनें, ‘बच्चाको कारणले लेखन रोकिएपछि तिमी डिप्रेसनमा गयौ । त्यो डिप्रेसनको अँध्यारो सुरुङबाट आफैंलाई निकालेर फेरि लेखनकर्ममा फर्कियौ तिमी । सबै महिला लेखकसित डिप्रेसनलाई जितेर अगाडि बढ्ने हिम्मत हँॅदैन । सम्भावना भएका धेरै महिला लेखक बिहेपछि अलिअलि र बच्चा जन्मेपछि पूर्ण रूपमा हराउनुका पछाडि मातृत्व कहरको कारण पनि हुन्छ, जसलाई बाहिरबाट मातृत्व सुखको लेपन लगाइएको हुन्छ र भनिन्छ– घरबारमै व्यस्त भएर फलानोले लेख्न छाड्दी ।’

मेरो कुरामा एलिफले पनि सहमतिको टाउको हल्लाइन् र भनिन्, ‘पाठेघर हाम्रो हो तर पाठेघरको नाममा गरिने राजनीति हाम्रो पक्षको राजतीति हुँदै होइन । त्यसैले ट्रेसीले ठीकै भन्छिन्– यदि महिलाले बच्चा चाहिनन् भने, त्यो आपत्तिजनक हुन्छ, यदि कुनै महिलाको धेरै बच्चा भए भने त्यो पनि आपत्तिजनक मानिन्छ, यदि कुनै महिलाले धेरै पुरुषहरूबाट बच्चा जन्माइन् भने त्यो पनि आपत्तिजनक मानिन्छ । जब प्रजनन रोजाइको कुरा आउँछ, एउटी महिलाले महिला हुनका लागि कुनै सही बाटो भेट्दिनन् ।’

‘तिमी त टर्कीमा जन्मियौ । टर्की यस्तो देश पनि हो, जहाँ अदालेट एगोलुजस्ता महिला लेखक पनि जन्मिइन् । बच्चा जन्मेपछि लेखनमा असर पर्छ भनेर जीवनभर बच्चा नपाउने निर्णय गर्न सक्ने आँट भएका कति अदालेट एगोलुजस्ता लेखकहरू होलान् यो संसारमा ? पाठकहरूबाट अतिशय प्रेम र अतिशय घृणा पाएकी आयन र्‍यान्डजस्ता लेखकहरूले पनि पाठेघरको बनिबनाउ मान्यतालाई सोझै चुनौती दिइन् र कहिल्यै बच्चा नजन्माउने र सम्पूर्ण रूपमा आफूलाई लेखनमा समर्पित गर्ने निर्णय गरिन् । पाठेघरको पुरानो परिभाषालाई नै च्यातेर खुल्लमखुला चुनौतीको हुंकार दिन सक्ने आयन र्‍यान्डजस्ता कति लेखकहरू होलान् है यो संसारमा ?’

हामी दुवै वैचारिक समुद्रमा डुबुल्की मार्दै थियौं । कहिले उनी बोल्थिन्, म सुन्थेँ । कहिले म बोल्थेँ, उनी सुन्थिन् ।

‘लेखक हुनलाई विशेषगरी महिला लेखक हुनलाई सन्तान र आफूबीचको मनोवैज्ञानिक दूरी तय गर्नु सबैभन्दा कठिन काम हो । लेख्नका लागि कहिल्यै बच्चा नै नजन्माउने निणर्य गर्दा पनि असामाजिक र चरम स्वार्थी भएको आरोप लाग्छ । अदालेट एगोलु र आयन र्‍यान्डजस्ता लेखकले जिन्दगीभर त्यस्तै आरोप खेप्नुपर्‍यो । अर्कातिर म्युरियल स्पार्कजस्ता महिला लेखकहरू पनि छन्, जसको अन्त्येष्टिमा समाजको एउटा प्रतिष्ठित तप्का नै उल्टिएर आयो– पत्रकारदेखि राजनीतिज्ञसम्म, लेखकहरूदेखि व्यापारी, व्यवसायीहरूसम्म । दुःखको कुरा, उनकै एक मात्र सन्तान आमाको अन्त्येष्टिमा आएन किनकि उसको आरोप थियो, ‘लेख्नका लागि आफ्नो स्पेस खोज्ने म्युरियलजस्ती आमा एक स्वार्थी आमा हुन् ।’

‘मातृत्व कहरका कथाहरूले वाक्क भएर सान्ड्रा सिसनेरोसजस्ता लेखकहरू आफूलाई नोबडिज मदर र नोबडिज वाइफ भनेर खुल्लमखुला घोषणा गरिरहेछन् ।’

‘अहिलेको समय भनेको मातृत्वका पुरातन मान्यताहरूले कोल्टे फेर्न लागिरहेको समय पनि हो । एक त बिहे नै नगर्ने, बिहे गरे पनि कहिल्यै बच्चा नजन्माउने निर्णय गर्न सक्ने थुप्रै महिलाका कारण मातृत्व अनिवार्य कुरा नभएर ऐच्छिक कुरा हो भन्ने मान्यता स्थापित हुँदै छ । यस्तोमा बीबीसीले त फरक कोणबाट एउटा कार्यक्रम नै सुरु गर्‍यो, ‘डाइभर्स मदर हु रिग्रेट्स ह्याभिङ चिल्ड्रेन’ शीर्षकमा । एकदमै विवादास्पद तर फरक खाले वैचारिक मोर्चा खडा गर्न सफल उक्त कार्यक्रममा थुप्रै महिलाले सन्तानका कारण अवरुद्घ आफ्नो करियरका कुरा उठाए, बच्चा हुर्काउँदाको जटिलता र आफूमा देखा परेको मानसिक विचलनको प्रसंग कोट्याउँदै सन्तान जन्माउने निर्णय गरेकोमा पश्चात्तापमा परेको खुल्लमखुला उद्घोष गरे ।’

हामी दुवै निरन्तर वैचारिक समुद्रमा डुबुल्की मारिरहेका थियौं । निरन्तर संवादका बीचमै पनि घरीघरी आफैंले भोगेको मातृत्व कहरको कालो कथा सम्झेर आङ सिरिंग भइरहेको थियो । मलाई मेरै मनले प्रश्न गर्दै थियो– तैँले आफ्नो मातृत्व कहरको कथा कहिले सुनाउँछेस् ?

अवतरण

स्थान उही थियो अर्थात् क्रेजी गेको । वेटर उही थियो, वेटरको ड्रेसअप उही थियो तर वेटरको हातमा ब्ल्याक कफी नभई मिल्क कफी थियो ।

‘दिदी, तपाईंको दोस्रो कप कफी पनि आइपुग्यो है ! तपाईं आफैँमा डुबेर यति धेरै बेर टोलाएर बस्नुभयो कि मलाई तपाईंको मौनतामा डिस्टर्ब गर्न मन लागेन । बरु त्यही मौका छोपेर ताल र चराहरूको २, ४ वटा फोटो पो खिचेर आएँ म त !’ सामुन्नेमा एलिफ सफाक होइन, राधिका कँडेल थिइन् । उमेरले बैनी तर बैनी कम, साथी बढी ।

राधीसित पहिले पनि यो ठाउँमा म धेरैपटक कफी पिउन आइसकेकी छु । ऊसितको चाखलाग्दो कुरा के भने फगत एक कप कफी पिएर राधीसित म घण्टौं समय बिताइदिन सक्छु । बोल्न पनि पर्दैन हामीलाई एकअर्कासित । चुपचाप वरपरको प्रकृतिको आनन्द लिएर हामी एकअर्काको साथ इन्जोय गर्न सक्छौं ।

अघिसम्म जुन टेबलमा बसेर म एलिफ सफाकसित कुरा गर्दै थिएँ, त्यही टेबुलमा अहिले राधी थिइन् । म न पूर्ण यथार्थमा थिएँ, न पूर्ण कल्पनामा । यथार्थ र कल्पनाको बीचमा कतै झुलिरहेकी थिएँ ।

भर्खरै एलिफसित मातृत्व कहरका विषयमा कुरा भएको थियो । मेरैसामु एउटी यस्ती युवती थिइन्, जो कहिल्यै बिहे नगर्ने, बच्चा नपाउने प्रण गरेर बसेकी थिइन् । बाँच्नलाई सम्बन्धको थाक्रोमा झुन्डिनैपर्ने र देखाउनका लागि भए पनि साथमा लोग्ने हुनैपर्छ भन्ने सोच्ने हाम्रोजस्तो समाजका लागि राधी खुला चुनौती हुन् । भर्भराउँदो उमेरमा एक्लो बाँच्न सक्छु भन्ने सोच राख्न सानोतिनो आँटले पुग्दैन । ‘जरुर साथी म सिंगल’ भन्दै कसैकी बुहारी होइन, छोरी नै भएर मर्न चाहन्छु भन्ने शिक्षा रिसाल र शिक्षा रिसालहरू जन्मिरहेको समय हो यो ।

‘दिदी, लगातार दुईवटा बच्चा जन्माएकी मेरो एउटी पत्रकार साथी घनघोर डिप्रेसनमा छिन् अचेल । सधैं फिल्डमा रिपोर्टिङ गर्न हिँड्ने एउटी निडर र साहसी पत्रकार कसरी यति कमजोर र असन्तुलित भइन् ? मैले त कुरै बुझिरहेकी छैन । आजकल त चरम निराशामा कहिले आफैंलाई र कहिले आफ्ना बच्चाहरूलाई चिथोर्ने, कोपर्ने गर्छिन् रे’, बिनाप्रसंग राधीले डिप्रेसनको अमिलो कथा सुनाइन् । छक्क परेँ– एक छिनअघिसम्म म एलिफसित मनमनै मातृत्व कहरकै सन्दर्भमा संवाद गर्दै थिएँ भन्ने राधीलाई टेलिप्याथी त भथेन ?

टर्कीकी एलिफ सफाक हुन् कि नेपालकै आइतीमाया विक, मातृत्व कहर धेरै स्वास्नीमान्छेहरूको साझा व्यथा हो । बाहिर आए पनि, नआए पनि मातृत्व कहर घर–घरको कथा हो ।

(एलिफ सफाकको किताब ‘ब्ल्याक मिल्क’ मा आधारित)

प्रकाशित : मंसिर २०, २०७७ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?