२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

महाभारत युद्ध : मिथक कि यथार्थ ?

भोगीराज चाम्लिङ

के महाभारत युद्ध साँच्चै भएको थियो ? विद्वानबीच लामो समयदेखि छलफल र बहस चलेको विषय हो यो । यो अझै लामो समयसम्म कायम रहनेछ । अन्तिम टुङ्गोमा चाहिँ सायदै पुगिनेछ । यद्यपि यसबारे आजसम्म चलेका छलफलसँग परिचित हुनु अन्यथा हुने छैन ।

महाभारत युद्ध : मिथक कि यथार्थ ?

एकथरी विद्वान् महाभारत युद्धलाई केवल मिथक ठान्छन्, अर्कोथरीचाहिँ यथार्थ मान्छन् । महाभारत युद्धलाई मिथक मान्नेमा भारतीय विद्वानहरू नै अग्रपंक्तिमा छन् । यसको नेतृत्व डीसी सरकारले गरेका छन् । प्रायः युरोपेली विद्वान्हरू महाभारत युद्धलाई यथार्थ नै मान्छन् । त्यस्तै भारतका पुरातत्त्वविद् पनि महाभारत युद्ध भएको हुन सक्छ भन्ने सम्भावनाकै पक्षमा देखिन्छन् ।

महाभारत युद्ध कहिले भएको थियो भन्नेबारे मूलतः दुईथरी मान्यता छ— परम्परागत र आधुनिक । परम्परागत मान्यता राख्नेहरू महाभारत युद्धलाई त्यस्तै ५००० वर्षपहिलेको मान्छन् भने आधुनिक विद्वान्हरूचाहिँ त्यस्तै २९०० वर्षजति प्राचीन मान्छन् । यीमध्ये अलि स्वीकार्य र वस्तुपरक मतचाहिँ एफई पार्जिटर, एससी रायचौधरी र बीबी लालको रहेको छ ।

...

परम्परागत मतअनुसार, महाभारत युद्ध द्वापर र कलि युगको सन्धिकालमा भएको थियो अर्थात् महाभारत युद्धपछि द्वापर युग समाप्त भएर कलि युग सुरु भयो । यहाँ स्मरणीय कुरा के भने संस्कृत साहित्यमा चार युगको परिकल्पना गरिएको छ— कृत (धर्म अथवा सत्य), त्रेता, द्वापर र कलि ।

त्यसो भए कलि युग कहिले सुरु भयो त ? भारतका रविकीर्तिको शक संवत् ५५६ (अर्थात् सन् ६३४–३५) को अइहोल अभिलेखमा लेखिएको छ— महाभारत युद्धदेखि आजसम्म ३७३५ वर्ष बितिसकेको छ । यसलाई आधार मान्दा, इसापूर्व ३१०२ मा महाभारत युद्ध भएको थियो (राय चौधरी, पोलिटिकल हिस्ट्री अफ् एन्सियन्ट इन्डिया, सन् १९५३, पृष्ठ २७) । भन्नुको अर्थ हो, महाभारत युद्ध आजभन्दा ५१२२ वर्षपहिले भएको थियो ।

तर अर्को परम्परागत मान्यताको नेतृत्व गर्ने हिन्दु ज्योतिषशास्त्री तथा इतिहासकार वृद्ध–गर्ग, वराहमिहिर र कल्हणका अनुसार, महाभारत युद्ध कलि युग सुरु भएको ६५३ वर्षपछि तथा शक संवत् सुरु हुनुभन्दा २५२६ वर्षपहिले भएको थियो । अर्थात् महाभारत युद्ध इसापूर्व २४४९ मा भएको थियो (राय चौधरी, पृष्ठ. २७) । भन्नुको अर्थ हो, महाभारत युद्ध आजभन्दा ४४६९ वर्षपहिले भएको थियो । यी दुवै परम्परागत तर्कमा खासै तार्किक आधार भेटिँदैन भन्ने मत रहेको छ राय चौधरीको ।

...

आधुनिक विद्वान्हरूमा केपी जयसवालले इसापूर्व १४२४ मा, एसएस अल्टेकरले इसापूर्व १४०० मा र एसएन प्रधानले इसापूर्व ११५२ मा महाभारत युद्ध भएको थियो भन्ने मान्यता राख्छन् (बीबी लाल, महाभारत ः मिथ एन्ड रियलिटी, सन् १९७६, पृष्ठ ५६) । यो भनेको वैदिक काल हो तर वेदहरूमा महाभारत र महाभारत युद्धबारे केही पनि उल्लेख नभएकाले यो मतमा पनि खासै मान्य आधार पाइँदैन ।

तुलनात्मक रूपमा मान्य तर्क गर्ने पार्जिटर र राय चौधरीले पुराणले दिएको वंशावलीलाई आधार बनाएर महाभारत युद्धको समय आकलन गरेका छन् भने लालले महाभारतसँग सम्बन्धित भूगोलमा गरिएका उत्खननबाट प्राप्त पुरातात्त्विक वस्तुसँग तुलना गरेका छन् ।

पार्जिटरको मत (एन्सियन्ट इन्डियन हिस्टोरिकल ट्राडिसन, सन् १९२२, पृष्ठ. १७९–१८२) । भारतमा चन्द्रगुप्तको शासन इसापूर्व ३२२ मा अथवा लगभग त्यही समयवरपर सुरु भएको थियो । उनीभन्दा अगाडि महापद्म र उनका ८ भाइ छोरा गरी नन्द वंशका ९ जनाले १०० वर्ष शासन गरेका थिए । के भनिन्छ भने महापद्म एक्लैले ८८ वर्ष शासन गरे । पार्जिटरको विचारमा महापद्मले ८८ वर्ष शासन गरे भन्नुभन्दा पनि उनी ८८ वर्ष बाँचेका थिए भन्नु उपयुक्त हुन्छ । उनी २० वर्ष पुगेपछि शासनमा पुगेका थिए भनेर मान्ने हो भने १०० वर्षमा २० वर्ष घटाउँदा ८० वर्ष महापद्म र उनका ८ भाइ छोराहरूले शासन गरे भन्न सकिन्छ । अब यसरी हिसाब गर्दा महापद्मको शासनकाल (३२२+८०) इसापूर्व ४०२ हुन आउँछ ।

संस्कृत ग्रन्थमा दिइएको विवरणअनुसार, महाभारत युद्धदेखि महापद्ले शासन गर्दासम्म इक्ष्वाकु, पाञ्चाल, काशी, हैय, कलिङ्ग, अश्वमक, कुरु (पौरव), मैथिल, सूरसेन र वितिहोत्र गरेर १० वंशका २५७ जना राजाले शासन गरेका थिए । पार्जिटरको विचारमा महापद्मभन्दा पहिलेका यी २५७ राजाले औसतमा हिसाब निकाल्दा २६ पुस्ता शासन गरे । एक जना राजाले १८ वर्ष शासन गरेको मान्ने हो भने महापद्मभन्दा पहिला २५७ राजाले (२६ पुस्ता × १८ वर्ष) ४६८ वर्ष शासन गरे । के भनिन्छ भने महापद्मले यी १० अधिराज्यलाई जितेर एउटै राज्य बनाएका थिए । अब उनी राजा भएको २० वर्षमा यी अधिराज्यमाथि विजय प्राप्त गरेका थिए भनेर मान्ने हो भने महापद्मले इसापूर्व ३८२ मा यी अधिराज्यमाथि विजय प्राप्त गरेको मान्नुपर्ने हुन्छ । यसरी हिसाब गर्दा महाभारत युद्ध (३८२+४६८) इसापूर्व ८५० मा भएको थियो ।

एचसी राय चौधरीको मत (पोलिटिकल हिस्ट्री अफ् एन्सियन्ट इन्डिया, पृष्ठ ३३–३६) । राय चौधरीले गुरु–शिष्य परम्परालाई आधार बनाएर महाभारत युद्धको समय आकलन गरेका छन् । युद्ध समाप्त भएसँगै परीक्षित राजगद्दीमा बसेका थिए भन्ने कुरा महाभारत र पुराणहरूबाट थाहा हुन्छ । ‘कथा–सरित्–सागर’ मा दिइएको वंशविवरणअनुसार, परीक्षितका छोरा जनमेजय उपनिषद्मा उल्लेख हुने गुरु जनक र उनका समकालीन उद्दालक आरुणीभन्दा पाँचौं या छैटौं पुस्तापछाडिका हुन् । उद्दालक आरुणीका चेला कहोल कौशिटकी हुन् र कहोलका चेला हुन् गुणाख्या सांख्यायन । यसरी हेर्दा परीक्षितभन्दा आठ या नौ पुस्ता पछाडिका देखिन्छन् गुणाख्या सांख्यायन । रायस डेबिस र हर्मन ज्याकोबीजस्ता विद्वान्हरूले सामान्यतया एक पुस्ताका लागि औसत ३० वर्ष मान्न सकिन्छ भनेका हुनाले परीक्षितलाई गुणाख्याभन्दा २४० (८ पुस्ता × ३० वर्ष) अथवा २७० (९ पुस्ता × ३० वर्ष) वर्षपहिलेको मान्न सकिन्छ । र, गुणाख्यलाई चाहिँ इसापूर्व छटौं शताब्दीको मानिने भएकाले त्यसमा २४० वर्ष या २७० वर्ष जोड्दा इसापूर्व ८४० या ८७० वर्षपहिले महाभारत युद्ध भएको मान्न सकिन्छ । फराकिलो समयसीमा राखेर भन्ने हो भने इसापूर्व ९औं शताब्दीमा महाभारत युद्ध भएको थियो ।

बीबी लालको मत (महाभारत : मिथ एन्ड रियलिटी, पृष्ठ ५३–६०) । भारतका पुरातत्वविद् बीबी लालका अनुसार, महाभारतमा उल्लेख भएका केही स्थानहरू उत्तर प्रदेशस्थित कौरवहरूको राजधानीे मानिने हस्तिनापुर, पाण्डवहरूलाई लाक्षागृहमा जिउँदै जलाउने प्रयास गरिएको स्थान बर्नावा (प्राचीन नाम वार्णावत), बाघपथ (प्राचीन नाम वृकप्रस्थ) र मथुरामा गरिएको उत्खननमा जमिनमुनि तल्लो सतहमा पुरातात्त्विक वस्तुहरू फेला परेका छन् । त्यस्तै पाण्डवहरू वनबास बसेको मानिने राजस्थानस्थित बैरात् (प्राचीन नाम विराटनगर), हरियाणास्थित पानीपत (प्राचीन नाम पानीप्रस्थ) र युद्धभूमि कुरुक्षेत्र र दिल्लीस्थित इन्द्रपथमा गरिएको उत्खननका क्रममा पनि जमिनमुनि तल्लो सतहमा पुरातात्त्विक वस्तु फेला परेका छन् ।

प्हिलो कुरा, यी क्षेत्रमा धातुका बन्चरो, धनुकाँडमा प्रयोग हुने तीरलगायत हतियार फेला परेका छन्, जुन युद्धमा प्रयोग हुन्छन् । त्यस्तै १, २, ३, ४ अङ्कण गरिएको गोटी आदि पनि फेला परेको छ, जसले चौपर भन्ने खेल खेलिन्थ्यो भन्ने स्पष्ट हुन्छ । त्यस्तै माटोका थाली, कटोरा, लोटा फेला परेका छन्, जुन अहिले पनि प्रयोग गरिँदै छ । आगोमा डढाइएका यी भाँडाहरूलाई ‘पेन्टेड ग्रे वेयर’ (पीजीडब्लू) भनिन्छ । जमिनमुनि सबैभन्दा तल्लो सतहमा भेटिएका यी पुरातात्त्विक वस्तु महाभारतमा वर्णित सबै भूगोलमा प्राप्त भएका हुन् ।

अर्को महत्त्वपूर्ण कुराचाहिँ के भने हस्तिनापुरमा गंगानदीमा आएको बाढीले बगाएको बस्तीको अवशेष पानीमुनि १५ मिटर तल फेला परेको छ । यो कुरा पुराणमा गरिएको वर्णनसँग ठ्याक्कै मेल खान्छ । पुराणमा भनिएको छ– ‘जब गंगा नदीले नागसाह्वय (हस्तिनापुर) लाई बगाइदियो, निशाक्क्षु यो ठाउँ छाडेर कौसाम्बीमा बस्न थाले ।’ यहाँ स्मरणीय चाहिँ के भने कौसाम्बीमा गरिएको उत्खननका क्रममा भेटिएका माटाका भाँडाकुँडाहरू हस्तिनापुरको भन्दा थोरै फरकचाहिँ छ तर त्यो हस्तिनापुरकै निरन्तरतामा विकास भएको हो भन्ने आधार छ । महाभारतमा उल्लेख भएका यी स्थानहरूमा भेटिएको भौतिक संस्कृति समान हुनुले यी क्षेत्र एकआपसमा सम्बन्धित र समकालीन थिए भन्ने बुझिन्छ । दोस्रो कुरा, हस्तिनापुरको भन्दा माटाका भाँडाकुँडा थोरै फरक हुनुले गंगा नदीमा आएको बाढीले हस्तिनापुर बगाएपछि कौसाम्बीमा राजधानी सारिएको थियो भन्ने पुराणको भनाइ सही साबित हुन्छ ।

दोस्रो कुरा, युद्धमैदानमै अभिमन्यु मरेपछि उनका छोरा परीक्षित राजा भए । पुराणमा दिइएको वंशावलीअनुसार, हस्तिनापुर राजधानी सारेपछि परीक्षितदेखि उदयनसम्म २५ पुस्ता राजाले शासन गरे । र, उदयनलाई चाहिँ गौतम बुद्धको समकालीन मानिन्छ । बुद्धको मृत्यु इसापूर्व ४८३ या ४८७ मानिने हुनाले उदयनलाई सामान्य रूपमा इसापूर्व ५०० को मान्न सकिन्छ । भारतका बहुपरिचित रावंश मौर्य, सुङ्ग, कन्व, सतवाहन र गुप्त राजाहरूको औसत शासनकाल १४ वर्ष रहेको देखिन्छ । यसैलाई आधार मान्ने हो भने परीक्षितबाहेक कौसाम्बीमा शासन गर्ने २४ जना कौरव राजाहरूले कुल (२४ राजा ×१४ वर्ष) ३३६ वर्ष शासन गरे । यसरी हेर्दा महाभारत युद्ध सम्भावित रूपमा इसापूर्व ८३६ (५००+३३६ वर्ष) पहिले भएको थियो भनेर अनुमान गर्न सकिन्छ अर्थात् इसापूर्व ९औं शताब्दीमा महाभारत युद्ध भएको थियो ।

अब यो मितिसँग पुरातात्त्विक उत्खननबाट प्राप्त वस्तुको समय मिल्छ कि मिल्दैन भनेर पनि हेर्न जरुरी छ । उत्खननबाट प्राप्त पुरातात्त्विक वस्तुमध्ये ‘पेन्टेड ग्रे वेयर’ (पीजीडब्लू) को ‘कार्बन डेटिङ’ विधि ‘सी–१४’ द्वारा निकालिएको समयअनुसार, उत्तर प्रदेश अत्रन्जिखेरको भाँडा इसापूर्व १०२५ सम्म प्राचीन देखिएको छ । राजस्थानमा इसापूर्व ८२० को हो भन्ने देखिएको छ । र, यी भाँडालाई विस्थापन गर्ने रुपर, पन्जाबमा प्राप्त माटाको भाँडा ‘नर्दन ब्ल्याक पोलिस्ड वेयर’ (एनबीपीडब्लू) चाहिँ इसापूर्व ४८५ को मानिएको छ । भनेपछि ‘पेन्टेड ग्रे वेयर’ नाम दिइएको माटाको भाँडाको समय औसतमा १०००–५०० मान्न सकिन्छ । महाभारत युद्ध भएको थियो या थिएन, यो अलग कुरा हो तर महाभारतसँग सम्बन्धित भूगोलमा उत्खनन गर्ने क्रममा फेला परेका माटाका भाँडाको समय र पौराणिक वंशावलीले बताएअनुसार हिसाब गरेर निकालिएको महाभारत युद्धको समय लगभग मिल्दोजुल्दो देखिन्छ ।

...

तर परम्परागत अथवा आधुनिक विद्वान्हरूभन्दा विछट्टै फरक तेस्रोथरि मत राख्छन् डीसी सरकार (महाभारत ः मिथ एन्ड रियलिटी, पृष्ठ १४०–१४१) । उनका अनुसार, महाभारत युद्ध विशुद्ध मिथक हो, इतिहासको विषय होइन । जब उनले सन् १९७५ मा यस्तो अन्तर्वार्ता दिए तब खैलाबैला मच्चियो । धेरैले उनको खण्डन गरे । उनको भनाइ के हो भने महाभारत युद्ध पारिवारिक या जनजातीय संघर्षको सानो घटना हो, जसका आधारमा युद्धगीत रचना भयो । त्यही युद्धगीतलाई लामो समयको अन्तरालमा यति फुलाइयो कि मूलकथा नै हरायो । उनी के पनि भन्छन् भने ‘महाभारतलाई अन्तिम रूप दिने बखत कौरव र पाण्डवबीच युद्ध भएको देखाइएको छ तर खासमा कौरव र पाञ्चालबीच युद्ध भएको हो । भनेपछि पाण्डव वंशका परीक्षितलाई आधार बनाएर महाभारत युद्धको समय निर्धारण गर्नुको के अर्थ हुन्छ ?’

अन्तिममा यति भन्नैपर्छ– महाभारत युद्धको अस्तित्व अस्वीकार गर्नेदेखि ५००० वर्ष पुरानो मान्ने मतहरूका बीचमा अन्तहीन बहस जारी रहने पक्का छ ।

प्रकाशित : मंसिर २०, २०७७ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?