फर्केर हेर्दा थकथक त लाग्छ !

सीके लाल

आत्मपरक वर्णन लेख्नु कठिन काम हो । विषय आफैं हुने भएपछि भावुकताले तटस्थ हुन दिँदैन । तथ्यभन्दा तर्कले महत्त्व पाउने जोखिम बढ्छ । व्याकरणमा ‘म’ शब्दलाई ‘उत्तम पुरुषको एकवचनलाई बुझाउने सर्वनाम’ भनेर त्यसै व्याख्या गरिएको होइन । उत्तम पुरुषको एकवचन सर्वनाममा मूल संस्कृतको पर्यायवाची शब्दले जनाउने ‘अहम्’ भाव सन्निहित छ ।

फर्केर हेर्दा थकथक त लाग्छ !

सायद त्यसैले जति नै वस्तुनिष्ठ हुन प्रयत्न गरे पनि आफ्नो बारेमा आफैँले गरेको व्याख्यालाई अहंकारबाट मुक्त राख्न अलिकति अप्ठ्यारै हुन्छ । प्रस्तुत विवरण पनि आत्मश्लाघाबाट पूर्णतः मुक्त छ भन्ने मेरो कुनै दाबी छैन । व्यक्तिपरक कथनको प्रामाणिकता सुधी पाठकले वाक्यको गठन एवं अप्रत्यक्ष अभिप्रायबाट सहजै ठम्याउन सक्छन् ।

स्वकेन्द्रीयताको आत्मस्वीकृतिपछि दोस्रो चेताउनी अनुभवजन्य लेखनमा छिर्ने प्रख्यात व्यक्तिसँग जोडिन पुग्ने प्रसंगहरूको हो । अखबारी लेखनको विवशता के हो भने समाजका स्वनामधन्य व्यक्तित्वहरूसँग बेलाबखत साक्षात्कार हुन्छ । शिष्टाचारवश त्यस्ता यशस्वी व्यक्तिहरू समसामयिक टिप्पणी–लेखकसँग पनि उदार व्यवहार गर्ने गर्छन् । आत्मपरक प्रसंगमा त्यस्ता कीर्तिमान व्यक्तिहरूको उल्लेख गर्ने प्रवृत्तिलाई अंग्रेजीमा ‘नेम्ड्रापिङ’ (नामासक्ति) भन्दा रहेछन् । ठूला मान्छेको नाम लिएर आफ्नो आधिकारिकता स्थापित गर्ने लोभ संवरण गर्न पनि सहज छैन । अहम् एवं नामासक्तिबारे आफ्नो लाचारी सुरुमै खुलासा गरिसकेपछि विषयवस्तुमा प्रवेश गर्न अब केही सजिलो हुनेछ ।

महाव्याधिको प्रकोपले समयावधि ठम्याउने मापदण्डलाई नै उलटफेर गरिदिएको छ । घटना दुई–तीन वर्षअघिको हो, तर एक युग बितिसकेको जस्तो लाग्छ । प्रसंग पोखराको साहित्य महोत्सवको हो । महोत्सव आयोजकमध्ये नीरज भारीले सायद कार्यक्रमको भौतिक पक्ष व्यवस्थापनमा बढी ध्यान दिने गर्छन् । साहित्यकार, कलाकार एवं पत्रकारजस्ता सार्वजनिक व्यक्तित्वहरू प्रायः भाउ खोज्ने खालका हुन्छन् । पाहुनाहरूलाई उपेक्षित महसुस हुन नदिने जिम्मा मृदुभाषी अजित बरालले लिन्छन् । स्वागत–भोजको साँझ एकपटक सबै टेबुलमा पुग्ने क्रममा उनी नामदार पत्रकार विजय कुमारले मोर्चा सम्हालेको गफगाफ टोलीमा एक छिनलाई जोडिन आइपुगेका थिए । औपचारिकतावश अजितले पंक्तिकारलाई भने, ‘दाइले पनि संस्मरण लेख्नुपर्‍यो !’ आत्मवृत्तान्तमा इमानदारी कायम राख्न गाह्रो हुन्छ भन्ने पंक्तिकारको जवाफ भर्खर आफ्नो अनुस्मरण प्रकाशित गरेर वाहवाही कमाइरहेका विजयलाई चित्त बुझेनछ । बहसमा अल्झिनुको साटो उनले विषयान्तर गरेर अजितलाई अर्को टेबुलतिर हाजिर बजाउने मौका जुराइदिए ।

फेरि अर्को पोखराकै साहित्य महोत्सव र चर्चा फेरि संस्मरण लेखनको आवश्यकता, औचित्य र उपयोगिताकै गर्दै छु । अपरम्परागत जीवनशैली एवं असाधारण अभिनय क्षमताद्वारा दक्षिण एसियामा आफ्नो स्वतन्त्र पहिचान स्थापित गर्न सफल एवं हाल आएर आफ्नो राष्ट्रवादी छवि निर्माणमा तल्लीन मनीषा कोइरालाले लेखक नीलम कुमारको सहयोगमा अंग्रेजी भाषामा अर्बॅद रोगसँग आफ्नो संघर्षको कथा भर्खरै प्रकाशित गरेकी थिइन् । स्वागत–भोज आयोजन गरिएको स्थलमा एउटा ठूलो टेबुलमा कोइराला परिवार विराजमान थियो । स्वभावले प्रगतिशील सामाजिक चिन्तक भए पनि प्रदीप गिरिको सार्वजनिक पहिचान भने उदार राजनीतिकर्मीको रूपमा स्थापित छ । कोइराला परिवारसँग उनको आत्मीयता आधा शताब्दीभन्दा पनि पुरानो हो । मूल टेबुलमा मनीषाले आफ्नी आमासँग परिचयन गराउन लाग्दा सांसद प्रदीपले हल्का ठट्टा पनि गरे, ‘बनारस बासले गर्दा उहाँलाई मैले तपाईंको जन्म हुनुभन्दा पहिलेदेखि चिन्दछु !’

एकान्त–भोजनमा रमाइरहेको पंक्तिकारलाई मुख्य टेबुलतिर डोर्‍याउने राजनीतिकर्मी रवीन्द्र मिश्र थिए । अब यति धेरै नामासक्ति दर्साइसकेपछि विषयवस्तुबारे धेरै भन्नुपरेन । उपस्थित सबैजसोले संस्मरणको महत्त्वलाई मनीषाको पुस्तकको पृष्ठभूमिमा चर्चा गर्दै थिए । सम्भ्रान्त समूहमा मलाई अहिले पनि केही असहज महसुस हुन्छ । उदाराशय सहभागीहरू भने चर्चामा उपस्थित लगभग सबैको विचार जान्न इच्छुक हुन्छन् । मेरो बोल्ने पालो आएपछि मैले भने, ‘झूट बोल्न हिचकिचाहट छ भने संस्मरण लेख्नतिर नलागे हुन्छ ।’ मनीषाले तत्काल असहमति जनाइन् । अरूले सायद मलाई मूर्ख वा अहंकारी ठानेर बहसलाई अगाडि बढाउने रुचि देखाएनन् । हुन त मूर्खता र अहंकार प्रायशः जोडिएरै आउँछ । तर, मलाई त्यो साँझ त्यसपछि शान्त भोजन गर्न सहज भयो ! प्रशंसा पाउने आकुलता नभएपछि श्रोताको मौनता त के मुखर निन्दाले पनि विक्षुब्ध बनाउन सक्दैन ।

मनीषाका पितामह एवं महामानवको उपमाले सम्मानित बीपी कोइराला निःसन्देह नेपालका प्रबोधन व्यक्तिहरूमध्ये अग्रणी पात्र हुन् । समाज, राजनीति, कूटनीति एवं साहित्यमा उनको उल्लेख्य योगदानले गर्दा उनको आत्मवृत्तान्तलाई त्यस कालखण्डको प्रामाणिक दस्तावेज मानिन्छ । मातृकाप्रसाद कोइरालाको ‘बेलायती अंग्रेजी’ मा लेखिएको ‘अ रोल इन रेवलुसन’ पुस्तकले सन् १९५० दशकको उथलपुथललाई अर्थ्याउन सहयोग गर्छ । पूर्वप्रधानमन्त्रीद्वय बीपी वा मातृका झूट बोल्नुपर्ने खालका पात्र होइनन् । त्यस्तो आक्षेप तिनका प्रखर आलोचकले पनि लगाउन सक्दैनन् । तर, त्यसो हुँदैमा के तिनका वृत्तान्तहरू सन्देहमुक्त बन्न पुग्छन् ? सीमितता प्रतिष्ठित कोइराला बन्धुको इच्छा, ज्ञान वा क्षमताको नभएर संस्मरण विधाको हो । भनिन्छ, जसलाई हामी सम्झना भन्छौं त्यो पूरा सम्झनाहरूको ताजा र पुनरावर्ती सम्झना हो ।

महत्त्वपूर्ण लागेका प्रसंग मस्तिष्कमा पटक–पटक आइरहन्छन् । मनले हरेकपटक त्यसलाई आफ्नो अभिरुचिअनुसार अर्थ्याउँछ । आफ्नो विवरणलाई पुष्टि गर्ने जानकारी पनि स्मृतिको निरन्तर उत्खननबाट जम्मा गरिन्छ । सम्झन चाहेको कुरालाई खण्डन गर्ने तथ्य कालक्रममा धमिलो हुँदै जान्छन् । कहिलेकाहीँ आत्म–औचित्यको लोभ संवरण गर्न सकिँदैन । स्मृतिको रचना र पुनर्रचना सृजनात्मक प्रतिभा भएका व्यक्तिहरूले अझ बढी गर्छन् । अनि विगतोपाख्यान लेखन आफ्नै महिमागानको माध्यम भइदिन्छ । कतिसम्म भने आत्मालोचना एवं विनम्रताका दृष्टान्तहरू पनि एउटा आँखा पाठकको सम्भाव्य प्रतिक्रियातिर राखेर लिपिबद्ध गरेको जस्तो लाग्न सक्छ । अर्को आँखा त भविष्यको इतिहासतिर हुने नै भयो । सायद त्यसैले भनिएको हुनुपर्छ— आत्मकथाको वर्णन इतिहासका अगाडि सम्बन्धित पात्रको व्यक्तिगत बयान मात्र हो । स्वतन्त्र अध्येताले लेखेका जीवनी सार्वजनिक स्रोतहरूबाट इतिहासका लागि ‘कच्चा पदार्थ’ उपलब्ध गराउँछन् । लिखित इतिहास त विजेता पक्षको कथा हुने भइहाल्यो ।

कुनै बेला राजतन्त्र अन्त्यको कामना गर्नु बच्चाको खेलौना भाँच्न चाहनुजस्तै हो भन्ने एक बेलायती दार्शनिकको विचार उद्धृत गरेर संवैधानिक राजाको वैचारिक प्रतिरक्षा गर्ने गर्थेँ । अब नग्न बहुसंख्यकवादमा आधारित परम्परागत गणतन्त्र पनि अल्पतन्त्रको पर्याय लाग्न थालेको छ ।

यथार्थसँग सही साक्षात्कार काल्पनिक वृत्तान्त (फिक्सन) वा महागाथाले मात्र गराउन सक्छ । संस्मरण पनि साहित्यकै विधा भए तापनि व्यक्तिपरक केन्द्रीयताले गर्दा स्मृति लेखन समाजका लब्धप्रतिष्ठित व्यक्तिहरूको व्यसन हुने गर्छ । ‘कोसेली’ संयोजकले आत्म–समीक्षा लेख्न उक्साएका थिए । संस्मरण विधाको समीक्षामै आधाउधी शब्दसीमा नाघिसक्यो ! आत्ममुग्धता संस्मरणसँग स्वाभाविक रूपले जोडिएर आउने रहेछ । अरूलाई ऐना देखाउँदा भावशून्य रहन सकिन्छ, तर त्यसै दर्पणलाई आफूतिर फर्काउँदा आफ्नो अनुहार सुन्दर, साहसी वा सत्यवादी देखिन थाल्छ । आफ्नो तर्क–क्षमताको बखान अरू बढी गरिरहनुभन्दा अब बरु मेरा विचारहरूसँग जोडिएका केही उहापोह प्रस्ट्याउनेतिर लाग्दा उचित होला ।

आदतले लाचार

मधेसतिर राज्यका संयन्त्रहरूको व्यवहारले प्रतिरोधको राजनीतिसँग छिट्टै साक्षात्कार गराउने रहेछ । सायद त्यसैले पटक–पटक मधेसमा विद्रोह भइरहन्छ । नेपाली कांग्रेससँग म ठोक्किन पुग्नुको अनौठो संयोग छ । ठ्याक्क तिथिमिति ठोकुवा गर्न सक्दिनँ, तर घटना सन् १९६० दशकको सुरुतिरको हुनुपर्छ । त्यतिबेला पनि धूले सडकमा चल्ने जलेश्वर–जनकपुर बस सेवा त थियो, तर मेरो गाउँबाट छोटो बाटो हुँदै पैदल छिटो पुगिन्थ्यो । जनकपुरको गंगासागरमा पूर्णिमा नुहाउन जाने प्रचलन व्यापक रहेकाले अंगोछा (गम्छा) लिएर स्नान गर्न जानेमा मजस्तै केटाकेटी पनि हुन्थे । जलेश्वरबाट निस्कनासाथ परिकौली ब्यारेक छ । आजभोलि त्यहाँको सन्तरीले बाटो हिँड्नेलाई केरकार गर्दैनन् । सन् ६० को दशकतिर काम नपाएका जवानहरू बटुवासँग सोधपुछ गरेर मनोरञ्जन लिन्थे । एकपटक त्यस्तै प्रश्नोत्तरमा म पनि पर्न पुगेँ । नाउँ–ठेगाना बताउन गाह्रो भएन । त्यसपछि ‘नेपाली बोल’ भनेपछि आपत् आइलाग्यो । भारततिरको मिथिला क्षेत्रमा सेतो तकिया खोलमा रंगीन धागोले ‘जय हिन्द’ टाँक्ने चलन थियो । त्यसैको सिको गरेर नेपालीय मिथिलाका महिलाहरूले ‘जय नेपाल’ लेख्न थालेका थिए । मैले ठूलो स्वरमा ‘जय नेपाल’ भने । त्यसपछिको मेरो अनुभवमा घवराहट एवं लज्जा मिसिएको छ । सिपाहीले छातीमा संगीन तेर्स्याएपछि मैले तीनपटक ‘जय देश, जय नरेश’ चिच्याएँ । अलिअलि राजनीति बुझ्ने भएपछि त्यो नारा कहिल्यै दोहोर्‍याइएन । यस प्रकार ‘जय नेपाल’ नारासँगको मेरो लगाव वचनबद्धताभन्दा पनि नितान्त परिस्थितिजन्य थियो ।

सन् ७० को दशकदेखि मौन समर्थक रहे पनि नेपाली कांग्रेससँग औपचारिक सम्बन्ध बनाउने आवश्यकता भने कहिल्यै देखिनँ । त्यस धिपधिपे दललाई प्रतिबन्धित अवस्थामा तनले अलि कम, तर मन र धनले आफ्नो क्षमताभन्दा बढी नै सहयोग गरियो होला । सन् २००६ सम्म नेपाली कांग्रेस परिवर्तनकामी दल नै लाग्थ्यो । कहिलेकाहीं व्यक्तिगत रूपमा चित्त नबुझे पनि दलका गतिविधिहरूको विचार, वाणी एवं कर्मले बचाउ गर्ने गर्दथेँ । पहिलो मधेस विद्रोहलाई पार्टीले सहानुभूतिपूर्वक सम्बोधन गर्न खोजेको पनि हो । दोस्रो मधेस विद्रोहपछि महसुस गरेँ– मधेसमा ‘आन्तरिक उपनिवेशवाद’ कायम राख्ने मामिलामा नेपाली कांग्रेस तथाकथित ‘माले–मण्डले–मसाले’ समूहका उग्र राष्ट्रवादीहरूभन्दा खासै फरक रहेनछ । गजेन्द्रनारायण सिंह, रामचन्द्र मिश्र एवं मेरो आफ्नै परिवारका कृष्णदेव लालले सन् १९८५ तिर नै ठम्याइसकेको कुरा बुझ्न मलाई थप झन्डै दुई दशक लागेको रहेछ । स्पष्ट कुरा पनि ढिलो बुझ्ने मेरो सीमितताले मलाई अझै पनि लज्जित तुल्याउँछ । नेपाली कांग्रेसको प्रजातान्त्रिक विकल्पको निर्माण सन् ९० कै दशकमै सुरु हुनुपर्ने थियो । भविष्यद्रष्टा गणेशमान सिंहले त्यस्तो प्रयोगका लागि अग्रसरता पनि लिएका हुन् । तर, सामान्य व्यक्तिको आदतले उसको गलत र सही ठम्याउने क्षमतालाई निस्तेज गरिदिने रहेछ । आफ्नो अदूरदर्शितामा मलाई कुनै पछुतो छैन, तर प्रजातान्त्रिक विकल्प निर्माणसँग जोडिन नपाएकोमा खेद भने छ । राजनीतिक छनोटसँग ‘खराबमध्ये कम खराब रोज्ने बाध्यता’ जोडिएर आउँछ । तर, राजनीतिक महत्त्वाकांक्षा नराख्ने व्यक्तिले प्रश्न गर्ने एवं विकल्प खोज्ने प्रयत्न भने छोड्न नहुने रहेछ ।

मेरो भाषिक भ्रमको अन्तरकथा पनि कम अवसादपूर्ण छैन । मातृभाषा मैथिली हो । विद्यालयका प्रायःजसो शिक्षक सीमापारिको महाविद्यालयका उत्पाद थिए । अरू विषयको त के कुरा गराइ भो र, नेपालीसमेत हिन्दी माध्यममा पढाइ हुन्थ्यो । शिक्षकहरूले मैथिलीको साटो हिन्दी बोलेको मलाई किन मन पर्दैनथ्यो भन्ने कुरा मैले अहिलेसम्म ठम्याउन सकेको छैन । सायद हिन्दी स्थानीय धनीमानीको भाषा भएकाले अपेक्षाकृत कमजोर व्यक्तिको अशक्त रोष पनि हुन सक्छ । राज्यको भाषा भएकाले नेपाली महत्त्वाकांक्षीहरूको रोज्जा माध्यम हुने भइहाल्यो । सीमापारजस्तो अंग्रेजीको चलन हाम्रोतिर थिएन । भारतीय मिथिलामा हिन्दीले मैथिलीलाई सुस्तरी विस्थापित गर्दै लगिरहेको थियो । उतातिरका नातेदारकहाँ जाँदा गण्यमान्यले हिन्दी नै बोलेको सुन्नुपर्थ्यो । नेपालीय मैथिलको पहिचान मातृभाषामार्फत मात्र सम्भव छ भन्ने लागे पनि औपचारिक पढाइ जम्मै अरू भाषामा भइरहेको थियो ।

सन् ७० अन्ततिर काठमाडौंमा केही महात्त्वाकांक्षी मधेसीहरू मैथिलीलाई हिन्दीको विकल्पका रूपमा स्थापित गर्न लागिपरेका थिए । मातृभाषा आन्दोलनले भर्खर गति लिन लागेको थियो । सत्तासँग जोडिएकाहरूको उदासीनताले गर्दा राजनीतिक प्रतिरोधको मञ्चको रूपमा पनि भाषा आन्दोलनको उपयोगिता थियो । अहिले विचार गर्दा उबेलाको मेरो आफ्नै कुतर्क हास्यास्पद लाग्छ । अखिल नेपाल मैथिली साहित्य परिषद्को मञ्चबाट म कुर्लिने गर्थें, ‘मैथिली र नेपाली पानी र तेलजस्तो हो, जति गरे पनि एउटाले अर्कोको अस्तित्व समाप्त गर्न सक्दैन तर हिन्दीको समुद्रले मैथिली नदीको अस्तित्वलाई नामेट गरिदिन सक्छ ∕’ त्यस्तो वाहियात गफमा डम्बरनारायण यादव (उनी भर्खरै बिते । असल व्यक्ति थिए । हार्दिक श्रद्धाञ्जली) एवं कुञ्ज विहारीप्रसाद सिंहजस्ता वरिष्ठ मातृभाषा अभियन्ताहरू ताली बजाउँथे । मातृकाप्रसाद कोइराला एवं तुलसी गिरीजस्ता पहाडी मूलका शक्तिशाली राजनीतिकर्मीहरू मसँग मैथिलीमा कुरा गरेको प्रसंग म शानसाथ साथीभाइलाई सुनाउने गर्थें । सामान्यतया हिन्दीमा छलफल गर्न रुचाउने महेश्वरप्रसाद सिंह एवं रामराजाप्रसाद सिंहजस्ता राजनीतिक हस्तीहरू पनि मसँग मैथिलीमै कुरा गर्थे । तत्कालीन सद्भावना पार्टीसँग मेरो असहमति मूलतः भाषा मुद्दाले गर्दा थियो ।

उपराष्ट्रपति परमानन्द झाको शपथग्रहण प्रकरणपछि मात्र मलाई अनुभूत भयो, मेरो मातृभाषा प्रेमले मैथिलको सम्मान वा मैथिलीको उन्नतिमा खासै मद्दत नपुर्‍याउने रहेछ । मधेसमा नेपाली भाषाको एकाधिकार कायम गर्न राज्यसत्ताले मैथिलीलाई छद्म अश्व (ट्रोजन हार्स) बनाएको कुरा बुझ्न पनि मलाई झन्डै तीन दशक लाग्यो । म साँच्चै नै सुस्त सिकारु (स्लो लर्नर) रहेछु ।

हिन्दीले पहाड र मधेस जोड्ने भएकाले नै कृष्णप्रसाद भट्टराई एवं गिरिजाप्रसाद कोइराला हिन्दी बोल्न कत्ति पनि अप्ठ्यारो मान्दैनथे । कर्णालीपारिका पहाडिया सम्भ्रान्तहरू आवश्यकताले गर्दा नेपालीभन्दा पहिले हिन्दी सिक्ने गर्थे । काम खोज्न कालापहाड जानेहरूका लागि नेपालीभन्दा हिन्दी उपयोगी भाषा हो । कसैले माने पनि नमाने पनि राज्यको भाषा नेपाली, बजारको भाषा हिन्दी, अन्तर्राष्ट्रिय सम्पर्कको भाषा अंग्रेजी एवं घरभित्र आ–आफ्नो मातृभाषाको प्रयोग सँगसँगै जान सक्ने रहेछ । अधिकार सम्पन्न स्थानीय सरकारले आफ्नो क्षेत्रको भाषालाई कामकाजको भाषा बनाउन सक्छन् । मधेसको एकसूत्रीकरण एवं मधेस तथा पहाडबीच समतामूलक भाषिक सम्बन्ध स्थापित गर्न पनि हिन्दीको राजकीय मान्यता जरुरी छ ।

भारतमा अंग्रेजी मातृभाषा भएका व्यक्तिहरूको जनसंख्या नगण्य छ एवं बोल्ने र बुझ्नेहरूको आकार पनि दस प्रतिशतभन्दा बढी छैन । तर, अंग्रेजी भारतको प्रमुख कामकाजी भाषा हो । अंग्रेजीका पछाडी ज्ञान, विज्ञान र सारा संसार छ । नेपालमा हिन्दीले अस्तित्वको पहिचान मात्र खोजेको हो । हिन्दीलाई मान्यता भए पुग्छ, त्यसको संवर्द्धन गर्नका लागि खर्बौं डलरको विश्वव्यापी बजार छ । नेपालमा नेपाली भाषाको प्रभुत्वलाई कसैले चाहेर पनि चुनौती दिन सक्दैन । प्रहरी, सेना, शिक्षक, पुरोहित, पण्डित, प्रशासक एवं मिडियाकर्मी गरेर कम्तीमा ३० लाख भाषाकर्मीले दिनरात सेवा गरिरहेको एउटा स्वतन्त्र देशको राज्यभाषालाई थप प्रवर्द्धन गर्न अन्य मातृभाषा भएकाहरूको सक्रियताको कुनै खास आवश्यकता छैन । हिन्दीको मान्यता एवं मैथिलीको सक्रियता सँगसँगै लैजान सम्भव छ । कुनचाहिँ एउटा हिन्दी फिल्मको संवाद प्रसिद्ध भएको थियो– ‘मेरे पास माँ है !’ मैथिली त्यस्तै गौरव गर्ने मातृभाषामा सीमित हुन पुगेको छ । आमाको सेवामा लाग्ने काम ठूलीआमा वा सानीआमासँग द्वेष राख्नु कदापि होइन ।

परम्परा मोह

निरन्तर अभ्यास आदत बन्न पुग्छ भने परम्पराको अनवरत पालन समयक्रममा रुढीमा बदलिने रहेछ । व्यावहारिक तवरले सोच्ने हो भने राजसंस्थासँग सामान्य मधेसीको अनुराग हुनुपर्ने कुनै कारण छैन । आफूलाई महोत्तरीको ‘राज बनौली’ सँग जोड्ने केही मैथिल बाहुनहरूले रानी कान्तवतीलाई छोरी, राजा रणबहादुर शाहलाई ज्वाइँ एवं उनीपछिका शाह राजाहरूलाई भान्जा खलक भनेर फुर्ती लाए पनि राजपरिवारका अन्य नातागोतासरह तिनीहरूसँग नारायणहिटी दरबारले व्यवहार गरेको कुनै प्रमाण छैन । जात उकास्न पहाडका हरितन्नम ठकुरी एवं गंगा मैदानका विपन्न राजपूतहरूसँग बिहेवारी चलाए पनि शाह र राणा परिवारले मधेसका कुलीन जमिनदारलाई रैतीभन्दा बढी मान्यता कहिल्यै दिएनन् । तापनि मधेसमा राजसंस्थाप्रतिको सम्मान बढ्नुका पछाडि केही धर्म र संस्कारजन्य कारणहरू छन् । पहाडतिर बढी प्रचलित हिन्दुहरूको शैव एवं शाक्त सम्प्रदायमा विष्णु अवतारको धारणा उत्तिसाह्रो महत्त्वपूर्ण रहेको देखिँदैन ।

मिथिला एवं अवध गरी मधेसका दुवै सांस्कृतिक प्रदेशमा वैष्णव सम्प्रदायको प्रभाव व्यापक छ । अधिकांश वैष्णवले देवता एवं गुरुको दैहिक रूपलाई स्वीकार गर्छन् । सायद त्यसैले एकथरी मधेसी राजनीतिकर्मीहरू पनि राजतन्त्र समाप्तिको संघर्ष एवं ‘राजा राम’ आराधनाका बीच कुनै अन्तरद्वन्द्व देख्दैनथे । जात, वर्ग एवं सामाजिक स्थितिले मध्यम श्रेणीको पृष्ठभूमिले गर्दा होला, राजसंस्थाको शुचि (सैंगक्टिटी) मलाई अनुल्लंघनीय लाग्ने गर्थ्यो । नेपाली कांग्रेसले पनि संवैधानिक राजतन्त्रलाई स्वीकार गरेकै थियो । शासन गर्ने इच्छा भए श्रीपेच फुकालेर चुनावी मैदानमा उत्रिन गद्दीनसीन राजालाई हाँक दिने ‘कम्युनिस्ट’ नेता मदन भण्डारीले पनि ‘जनताको बहुदलीय जनवाद’ भन्ने शब्दावलीको टेको समातेर संवैधानिक राजतन्त्रलाई स्वीकार गरिसकेका थिए । सन् १९९० दशकको अन्त्यसम्म राजाको अधिकार सुस्तरी सीमित गर्दै लगे पनि राजतन्त्र नेपालको स्वाभाविक संस्था हो भन्ने मान्यतामा म अडिग थिएँ ।

नेपाली समाजको रूपान्तरणका लागि प्रशासन, राजनीति, गैसस, लेखन एवं नागरिक आन्दोलनजस्ता विभिन्न मोर्चामा नेतृत्वदायी भूमिका निर्वाह गरेका देवेन्द्रराज पाण्डे राजसंस्थालाई आधुनिक युगको विगतावशेष (अनैक्रनिज्म) ठहर्‍याउने गर्थे । मलाई उनको विचार अलि बढी नै उग्र लाग्ने गर्थ्यो । परम्परागत समाजमा राजसंस्थाले प्रजातन्त्रलाई मौका पायो कि मास्छ भन्ने सन् १९९० दशकका उदीयमान बौद्धिक कृष्ण हाछेथुको तर्क त झनै भयोत्पादक (अलार्मिस्ट) सुनिन्थ्यो । नारायणहिटी हत्याकाण्डजस्तो युगान्तक घटनाले समेत राजसंस्थालाई समाप्त गर्न नसकेपछि संवैधानिक राजतन्त्रमा मेरो विश्वास बलियो भएको थियो । त्यसपछि त्यस्तो अविचल आस्था धेरै दिन भने टिकेन । राजा ज्ञानेन्द्र (विगतको घटना विवरणमा राजा संज्ञासँग पूर्वविशेषण जोड्न मलाई अनुपयुक्त लाग्छ) दोस्रोपटक महाराजाधिराज भएका थिए । तर, राज्यशक्तिको अभ्यास गर्नॅअगाडि औपचारिक राज्याभिषेकसम्म कुर्ने धीरता पनि उनमा देखिएन । महत्त्वाकांक्षी राजनीतिकर्मी शेरबहादुर देउवाको आकुलतालाई प्रयोग गरेर स्थानीय निर्वाचनको स्थगन, संकटकाल घोषणा एवं प्रतिनिधिसभा विघटन गर्दै उनले चरणबद्ध ‘शाही–सैनिक कू’ मञ्चन गर्न सुरु गरे ।

राजा ज्ञानेन्द्रसँग ‘दर्शन भेट’ गर्ने निर्मल निवासको निम्तो आउँदासम्म पनि संवैधानिक राजतन्त्रबाट मेरो विश्वास समाप्त भइसकेको थिएन । झन्डै एक घण्टा राजा ज्ञानेन्द्रसँग एक्लाएक्लै छलफलपछि भने मेरो आस्था अविचलित रहन सकेन । राजा ज्ञानेन्द्रलाई राजनीतिक दल एवं राजनीतिकर्मीमा पटक्कै विश्वास थिएन । उनी पेसाकर्मी एवं विषयविद्हरू (टेक्नक्रैट्स) सम्मिलित संरचनाको सहयोग लिएर राज गर्न प्रतिबद्ध देखिन्थे । जति नै बदनाम भए पनि संसदीय व्यवस्थाका राजनीतिक दलहरू संवैधानिक राजतन्त्रका भरपर्दा रक्षाकवच हुन् भन्ने सिद्धान्त उनलाई हास्यास्पद लागिरहेको जस्तो देखिन्थ्यो ।

राजतन्त्र एवं लोकतन्त्रका विरोधाभासहरूबारे गणतन्त्रका अभियन्ता एवं सन् १९९० को जनआन्दोलनमा पेसाकर्मीहरूको अगुवा रहिसकेका नरहरि आचार्यसँग बरोबर छलफल हुने गर्थ्यो । उनको ‘लोकतन्त्र’ अवधारणामा निर्वाचित कार्यकारी प्रमुखको प्रस्ताव सन्निहित थियो । मलाई निर्वाचित राजा बनाउने धारणा वंशाणुगत उत्तराधिकारीको परम्पराभन्दा पनि जोखिमपूर्ण लाग्थ्यो । तर, मेरा राजनीतिक मान्यता एवं संवैधानिक राजतन्त्रप्रति मेरो धारणाका बीच प्रत्यक्ष असंगति रहेको कुरा झन्डै ५–६ घण्टाको उत्तेजित बहसपछि राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनालले निर्णायक तवरले औंल्याएका थिए । निष्कर्षहरूको संक्षेपीकरण एवं शब्दान्तरण (पेरफ्रैजिङ) मेरो हो, व्याख्या भने राजनीतिशास्त्री खनालका हुन् । पहिलो असंगति, राजतन्त्र र बहुराष्ट्रवाद सँगै जान सक्दैन । राजसंस्था भनेकै सांस्कृतिक राष्ट्रवादको अनुप्रतीक (आइकन) हो । सांस्कृतिक राष्ट्रवादले बहुराष्ट्रियताको अवधारणालाई निषेध गर्छ । दोस्रो विरोधाभास, संघीयता एवं राजतन्त्र परस्पर विरोधी प्रस्तावना हुन् । राजा एकतन्त्र एवं एकल केन्द्रका संवाहक हुन् । संघीयताले संस्थागत गर्ने बहुकेन्द्रीयता संवैधानिक राजतन्त्रमा समेत सम्भव छैन । तेस्रो अन्तर्विरोध, सहभागितामूलक लोकतन्त्र तथा सकारात्मक विभेद एवं वंश परम्परामा आधारित राज्य व्यवस्था सँगै काम गर्न कठिन हुन्छ । चौथो एवं अन्तिम बेमेल, अप्ठ्यारो परेका बेला वंशाणुगत शासकको निरन्तरता निर्णायक ठहरिन सक्छ (राजा एवं निर्वाचित सरकारका बीच रोज्नुपरे सेनाले पहिलोलाई प्राथमिकता दिन्छ) । प्राध्यापक खनालको अन्तिम तर्क सन् २००६ मा गलत ठहरियो एवं गणतन्त्रमा हाबी नग्न बहुसंख्यकवादले उनको तेस्रो व्याख्यालाई पनि निस्तेज गरिदिएको छ । तर, गणतान्त्रिक व्यवस्थाबेगर संघीयता एवं बहुराष्ट्रिय समभावमा आधारित राष्ट्रिय एकता स्थापित गर्न सकिँदैन भने उनको आधारभूत तर्क सही ठहरिएको छ ।

तर्कले भावनालाई सहजै पछार्न नसक्ने रहेछ । वर्गीय एवं जातीय पृष्ठभूमिले विचारलाई लामो समयसम्म प्रभावित गरिरहन्छ भन्ने मान्यताको प्रमाण सन् २००७ सम्म मभित्र कायम रहेको समारोहिक राजतन्त्रप्रतिको आसक्तिपूर्ण अवशेषलाई लिन सकिन्छ । संविधानसभाको चुनाव अनिश्चित थियो । माओवादीको निरन्तर घुर्कीले नेपाली कांग्रेस आजित थियो । सशस्त्र द्वन्द्वको राप र ताप बोकेका अध्यक्ष प्रचण्डको राजनीतिक प्रतापका अगाडि अन्य राजनीतिकर्मी अक्क न बक्क देखिन्थे ।

एक दिन बिहान जान्ने भएर ‘समारोहिक राजतन्त्र’ स्वीकार गरे राजनीतिक निकास सहज हुन्छ भन्ने प्रस्ताव बोकेर म प्रचण्ड निवास पुगेको थिएँ । राजालाई राज्यमन्त्रीसरह मर्यादाक्रममा राखेर सांस्कृतिक गतिविधिमा सीमित गरे फरक पर्दैन भन्ने मेरो विचार माओवादी अध्यक्षलाई पक्कै पनि हास्योत्पादक लागेको हुनुपर्छ । तर, उनी धैर्यपूर्वक मेरा कुरा सुने । मैसुर र गढवाली राजाका दृष्टान्तमा असहमति जनाएनन् । काठमाडौं खाडलमा कुनै कुरा गोप्य रहँदैन । भोलिपल्टदेखि मेरो प्रस्तावको सीमितता बुझ्दै नबुझी राजावादीहरू मेरो आँटको प्रशंसा गर्न थाले । गणतन्त्रवादीहरूको आलोचनाको ओइरो लाग्यो । अहिले विचार गर्दा जुनसुकै बहानामा राजालाई मान्यता दिइएको भए समावेशिता एवं संघीयताजस्ता आकांक्षाहरू हावा खाने नै रहेछ ।

प्रख्यात अर्थशास्त्री जान मेनार्ड किन्सको बहुचर्चित प्रश्न छ, ‘परिस्थिति परिवर्तित भएपछि म मेरो विचारलाई संशोधन गर्छॅ, तपाईं के गर्नॅहुन्छ नि ?’ व्यक्तिगत आस्था अपेक्षाकृत स्थायी हुन्छ । अध्ययन, अनुभव, अन्तरक्रिया एवं आत्मचिन्तनको आलोकमा आफ्नो विचारबारे पुनर्विचार गर्न नसक्ने व्यक्ति त जड जीवमा रूपान्तरित हुँदै जाने न हो । सबै कुरा गतिशील छ, सबथोक बदलिन्छ भन्ने मान्यताका प्रवर्तक युनानका भौतिकवादी दार्शनिक हेराक्लिटसले भनेका छन्, ‘एउटै खोलामा दुईपटक खुट्टा टेक्न सकिँदैन किनभने न त्यो खोला त्यही रहन्छ न त त्यो व्यक्ति सदैव उही ।’ कुनै बेला राजतन्त्र अन्त्यको कामना गर्नॅ बच्चाको खेलौना भाँच्न चाहनुजस्तै हो भन्ने एक बेलायती दार्शनिकको विचार उद्धृत गरेर संवैधानिक राजाको वैचारिक प्रतिरक्षा गर्ने गर्दथेँ । अब नग्न बहुसंख्यकवादमा आधारित परम्परागत गणतन्त्र पनि अल्पतन्त्रको पर्याय लाग्न थालेको छ । समयसँगै परिपक्व हुँदै गएको हुन सक्छ । बुढ्यौलीले छुन थालेको सम्भावना पनि उत्तिकै छ । तर, आत्म–मीमांसाका आधारमा भन्नुपर्दा हिन्दी कवि गजानन मुक्तिबोधको पंक्ति बरोबर मनमा आइरहन्छ, ‘जो है उससे बेहतर चहिए ।’

आत्ममूल्यांकन कठिन काम हो, तर निरर्थकताको अनुभूतिले कहिलेकाहीं विकल बनाउने रहेछ । मेरा छनोटहरूले के फरक पर्‍यो र ? मैले अरू केही गरेको भए सकारात्मक असर हुन्थ्यो कि ? आफ्नै गतिविधि, धारणा एवं चरित्रबारे गम्भीर चिन्तन सहज छैन । थकथक लाग्ने कुरा त कति छन कति ! सशस्त्र द्वन्द्वताका माओवादीहरूको मुखर आलोचक थिएँ । शान्तिपूर्ण राजनीतिमा आएपछि पूर्वमाओवादीहरू परिवर्तनकामी शक्तिजस्तो लाग्न थालेको थियो । अन्ततः दुवै निष्कर्ष गलत ठहरियो । पूर्व मालेको अनुवांशिकीमै मधेस र मधेसीप्रति द्वेष भाव रहेकाले बरु नेपाली कांग्रेसले समावेशिताका लागि केही गर्छ कि भन्ने भ्रम झन्डै तीन दशकसम्म कायम रह्यो । टुट्नु सबै भ्रमको स्वाभाविक परिणति हुने रहेछ ।

तर, शंकैशंकामा अल्झिएर निष्क्रिय पनि रहन सकिँदैन । गल्ती हुन्छ कि भन्ने संशय हुँदाहुँदै पनि मनमा लागेको गतिविधिमा संलग्न हुँदै जाने हो । अरूको प्रशंसा वा आलोचना गौण हो, स्वमूल्यांकन नकारात्मक लाग्यो भने छटपटी भने हुने रहेछ । गल्ती सबैले गर्छन् । मैले अलि बढी गरेको हुँला । तर, सबै उस्तै हुनुपर्छ भन्ने पनि त छैन । मेरो दोषभाग स्वीकार गर्न मलाई कुनै संकोच छैन । सिक्दै छु र सिक्दैरहन प्रतिबद्ध छु ।

प्रकाशित : मंसिर १३, २०७७ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?