२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

एक खेलाडी ! एक जादुगर !

विवादास्पद हातेगोलले क्वाटरफाइनलमा इङ्ल्यान्डलाई हराएपछि अर्जेन्टिनी रेडियोसँगको अन्तर्वार्तामा नेपालीलाई थप दंग पार्दै उनले भने, ‘इङ्ल्यान्डजस्तो चोरको देशलाई ढाँट्दा ईश्वरले पनि सयपटक माफी दिन्छन्, मैले अझै ९९ पटक ढाँट्न बाँकी छ । त्यसमाथि इङ्ल्यान्डलाई फुटबलको मैदानमा हराउन सजिलो छ, किनभने त्यहाँ गोर्खाली हुँदैनन् ।’
मुकुन्द दाहाल

गोरु बेचेको साइनो पनि गाँसिएको थिएन, अर्जेन्टिनासँग नेपालको । इंगल्यान्डसँगको सदियौं पुरानो सम्बन्धले दुई देशबीचको सम्बन्ध जहिले पनि न्यानो मानियो । फुटबलको मैदानमा भने नेपालीको साइनो अर्जेन्टिनासँग बढी जोडियो, इङ्ल्यान्डसँग कम । नेपाली र अर्जेन्टिनीबीच साइनो बाँध्ने लमी बने फुटबलका महानायक डिएगो अर्मान्डो म्याराडोना । उनै सूत्रधार बुधबारदेखि सदाका लागि अस्ताए । उनको निधनमा नेपालीहरूको भिजेको परेलीले प्रस्ट पारेको छ, म्याराडोनाले जोडेको दुई देशबीचको साइनो कहिल्यै पनि नझुक्ने गरी सगरमाथाझैं अग्लो रहिरहनेछ ।

एक खेलाडी ! एक जादुगर !

निश्चय नै फुटबल विश्वको साझा र सरल भाषा हो । यही साझा भाषामा जादुमयी शब्दहरू थप्ने पेलेपछिका अर्का जादुगर बने म्याराडोना र फुटबलको शाश्वत लोकप्रियतालाई थप चुचुरोमा पुर्‍याए । फुटबल भनेपछि हुरुक्क हुनेमा नेपाली पनि पर्छन् । विश्वकप फुटबलको पहिलो प्रत्यक्ष प्रसारण आम नेपालीले नेपाल टेलिभिजनबाट हेर्न पाए, त्यो पनि म्याराडोनाको उदय भएको वर्ष सन् १९८६ को मेक्सिको विश्वकपदेखि ।

पहिलोपटकमै म्याराडोनाको चमत्कार र उपाधिमाथि अर्जेन्टिनाको कब्जा देख्न पाएका नेपालीको मन म्याराडोनाले चोरेरै छाडे । विवादास्पद हातेगोलले क्वाटरफाइनलमा इङ्ल्यान्डलाई हराएपछि अर्जेन्टिनी रेडियोसँगको अन्तर्वार्तामा नेपालीलाई थप दंग पार्दै उनले भने, ‘इङ्ल्यान्डजस्तो चोरको देशलाई ढाँट्दा ईश्वरले पनि सयपटक माफी दिन्छन्, मैले अझै ९९ पटक ढाँट्न बाँकी छ । त्यसमाथि इङ्ल्यान्डलाई फुटबलको मैदानमा हराउन सजिलो छ, किनभने त्यहाँ गोर्खाली हुँदैनन् ।’ फकल्यान्ड युद्धमा अर्जेन्टिनाले गोर्खालीको उपस्थितिमा भोगेको अपमानजनक पराजयपछि वास्तवमा ठूलो बदला थियो मेक्सिको विश्वकपको क्वाटरफाइनलको २–१ को नतिजा ।

१९८६ पछि म्याराडोनाले १९९४ को विश्वकप खेल्दासम्म अर्जेन्टिना र इङ्ल्यान्डको भेट भएन । यसपछि भएको भेटमा पनि नेपालीको समर्थन अर्जेन्टिनालाई बढी र इङ्ल्यान्डलाई कम हुँदै आएको छ । १९९८ को फ्रान्स विश्वकप नै यसको उदाहरण बन्यो । राउण्ड १६ को खेलमा पेनाल्टीमा इङ्ल्यान्डमाथि अर्जेन्टिना ३–४ ले हाबी हुँदा ताली नेपालीले उही म्याराडोनाको टोलीको पक्षमा नै बजाए । कस्तो अवस्थासम्म आइपुग्यो भने समूहमा बसेर टेलिजिभनमा अर्जेन्टिना र इङ्ल्यान्डको खेल हेर्दा इङ्ल्यान्डको पक्षमा हुटिङ गर्नेहरूले कुटिनुपर्‍यो । खेल पूरा नहुँदै भाग्नुपर्ने पनि भयो । लाहुरे बनाउनेदेखि नेपालीसँगको सदियौं पुरानो सम्बन्धका कारण निश्चय नै इङ्ल्यान्डसँग नेपालको भावनात्मक सम्बन्ध छ । तर, नेपाली र अर्जेन्टिनाको साइनो बाँध्ने मियो बनेका म्याराडोनाले यति बलियो डोरीले सम्बन्ध गाँसेका रहेछन्, त्यो हम्मेसि चुँडिने सम्भावना कहीं देखिँदैन ।

१९९४ मा अमेरिकामा भएको विश्वकपमा अमेरिकाको किलकिलेमा अड््किएको हड्डी बनेका क्युबाली नेता फिडेल क्यास्ट्रोको ट्याटु पाखुरामा खोपेर उत्रिएका म्याराडोना आकर्षणका पात्र थिए सबैका लागि । तर, ट्याटुलाई कसिंगर ठानिसकेको अमेरिकाले यी जादुगरको कला पस्कने खुट्टामा कोकिन प्रयोग गरेको अभियोग लगाएर काँटी ठोकिदिएपछि म्याराडोना खेलबाट वञ्चित बने । फलतः अर्जेन्टिना अन्तिम १६ को खेलभन्दा अगाडि बढ्न सकेन । म्याराडोनामाथिको

अभियोगलाई थाहा छैन अर्जेन्टिनीहरूले कसरी लिए, तर नेपालीहरूका लागि भने षड्यन्त्रको सबभन्दा कुरूप चाल बन्यो र लाग्यो काठमाडौं उपत्यकादेखि देशभरका सहरहरूमा ‘अमेरिकी षड्यन्त्र मुर्दावाद’ को नारा । भित्ता भित्तामा अक्षरहरू पोतिए– तिमीमाथिको षड्यन्त्रविरुद्ध हामी पनि तिमीसँगै उभिएका छौं, म्याराडोना ।

एक खेलाडी, एक अम्मली !

८० को दशकमा विश्व फुटबलमा एकछत्र राज चलाएका म्याराडोनालाई एकपटक एक सञ्चारकर्मीले सोधेछन्, ‘कति कमायौ फुटबलबाट ?’ कूटनीतिक भाषा प्रयोग गर्न माहिर म्याराडोनाको जवाफ थियो, ‘स्वर्ग भन्ने नाम सुनेको छु देखेको छैन । तर, त्यो स्वर्ग कसैले देखाइदिए त्यही स्वर्ग किनेर मेरो बाबु आमा र परिवारलाई त्यहीं लगेर राख्थेँ ।’ यसबाट पनि अनुमान लगाउन सकिन्छ, उनको कलाले कति कमाएको थियो !

धेरैका लागि प्रिय म्याराडोनाको अप्रिय विषय थियो– लागूऔषधको अत्यधिक सेवन । यो दुर्व्यसन रोक्न उनी आफैंले र उनको परिवारले धेरै प्रयास गरे । उनका करोडौं प्रशंसकको पनि उनीसँग बारम्बार यही आग्रह हुन्थ्यो । तर, न म्याराडोना सुध्रिए न प्रशंसकहरूको आग्रह नै थामियो । २००२ मा एसियाली महाद्वीपमा पहिलोपटक भएको विश्वकपमा जापानले उनलाई लागूऔषध दुर्व्यसनी भनेर भिसा दिन अस्वीकारसमेत गरेको थियो । हक्की म्याराडोनाले त्यहाँ पनि आफ्नो मुखलाई रोकेनन् । उनको प्रश्न थियो, ‘हिरोसिमामा आणविक बम त अमेरिकाले खसालेको हो मलाई भिसा नदिनुपर्ने कारण के छ ?’

अन्ततः उनको खेल जीवनलाई मात्र नभई समग्र जीवनलाई नै बर्बाद पार्ने माध्यम लागूऔषध बन्यो । ६० वर्षको उमेरमै उनलाई धर्तीबाट बिदा गर्ने काल यही लागूऔषध बन्यो ।

म्याराडोना भनेपछि युवतीको लस्कर लाग्थ्यो । युवतीप्रतिको उनको आसक्ति पनि उनलाई बदनाम बनाउने माध्यम बन्यो । बार्सिलोनाबाट खेल्दा वार्सिलोनाको एक वेश्यालय ‘रिजर्भ’ नै गरेर हप्तौं एक्लै बस्नु उनलाई बदनाम बनाउने सबैभन्दा श्रेष्ठ पक्ष बन्यो, जसले उनको बार्सिलोना बसाइलाई छोट्याएको थियो । उनका कति सन्तान छन् भन्ने अझै स्पष्ट हुन सकेको छैन । केहीअघिसम्म आफु म्याराडोनाको सन्तान भएको दाबी गर्न आउनेको संख्या पनि उत्तिकै थियो ।

‘पेलेभन्दा माथि’

म्याराडोनालाई सन्की मान्छको रूपमा चिन्ने पनि कम छैनन् । शताब्दीको महान् फुटबलर घोषणा गरिंदा पनि आफू र पेलेलाई समान स्थानमा राखिएकोमा चरम असन्तोष जनाउँदै उनले आफ्नो महानता पेलेभन्दा माथि रहेको बताएका थिए । यस्ता अवगुणले उनको गुणलाई होच्याउने काम गरे पनि आफ्नो जादुमयी खेलले सबैको मन जितेका म्याराडोनाको यही महान् गुणलाई सबैले सम्मान गर्दै आएका छन् ।

निश्चय नै ब्राजिलका पेलेको पुस्तापछिका निर्विकल्प महान् फुटबल खेलाडी हुन् म्याराडोना । यी दुईको खेलमा धेरै समानता पाइन्छ पनि । यद्यपि, आफ्नो मुलुकलाई उपाधि दिलाउने विषयमा भने यिनी पेलेभन्दा पछाडि नै रहे । शारीरिक उचाइ धेरै थिएन म्याराडोनाको तर विश्व फुटबललाई अकल्पनीय उचाइ प्रदान गरे । अत्यन्तै लय मिलाएर दौडने होचो कदका यी छरिता खेलाडी अब सदाका लागि बिदा भएका छन् । विश्वभरका करोडौं खेलप्रेमीलाई एकैपटक रुवाएर अस्ताएका म्याराडोनाको जादु नमेटिने गरी विश्व फुटबलको इतिहासमा सुरक्षित रहनेछ जुगौंजुगसम्म ।

प्रकाशित : मंसिर १३, २०७७ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?