कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भुइँतला : डेरा–संसारको पाताललोक

मलाई घर र डेराको भेद थाहा थिएन । ‘डेरा’ शब्द त हाम्रो घरमा आजसम्म पनि नौलो छ । त्यसको सट्टा हामी ‘किरायाको घर’ भन्छौं । ‘किरायाको घर’ भन्दा त्यसको ‘घर’ शब्दले मलाई डेराको परायापन बिर्साइदिएको हुन सक्छ । वा ‘घर’ को भ्रम पलाइदिएको हुन सक्छ । त्यसैले मैले आफूसित नेपालगन्जबाट लुगाभन्दा ज्यादा बाल्यकाल गुटमुट्याएर ल्याएँ ।
शिवानीसिंह थारू

काठमाडौँ — मध्यमवर्गीय दुःखहरू शास्त्रीय अर्थमा बुझिएको ‘दुःख’ को कोटीमा पर्दैनन् । त्यसैले सायद नेपाली साहित्यमा मध्यमवर्गीय दुःखका ‘दुःखभरि’ कहानी भेटिँदैन । मध्यमवर्गीयका कथा ध्रुवचन्द्र गौतमले नै धेरै लेखेका छन्, त्यो पनि व्यङ्ग्यात्मक ध्वनिमा । सायद मध्यमवर्गीयहरूको दुःखजिलो हास्य र व्यङ्ग्यमै ठीक सुनिने गर्छ । यसो हो भने यसको सौन्दर्य पनि यही हो र दुःखान्त पनि । खैर, त्यही सही !     

भुइँतला : डेरा–संसारको पाताललोक

यो कथन काठमान्डुमा भाडामा बस्ने डेरावालमा समर्पित । डेरा प्रायः भुइँतलामै पाइने हुनाले संसारका सबै भुइँतलेहरूमा अर्पित ।

तर, काठमान्डुको डेरा हिजोआज ‘फ्ल्याट’ भएको छ । र, धेरैले डेरालाई ‘फ्ल्याट’ भनेको सुन्दा, म सुविधायुक्त बसाइको अनुमान लगाउन थाल्छु । जस्तो ‘फ्ल्याट’ धनी ‘भलाद्मी दाइ’ हुनन् वा ‘मिलनसार दिदी’ । फ्ल्याटेहरूका लागि बिजुलीको सबमिटर राखिएको होला । नराखे पनि आफूले तिरेजत्तिकै प्रत्येक युनिटको पैसा लिने होलान् । पानीको बाँडफाँट व्यवस्थित बनाइएको होला । हरेक वर्ष पैसा बढाएर भाडा आतंक मच्चाइँदैन । यसो गर, उसो नगर भन्दै बसाइजन्य टिप्पणी गरिराखिइँदैन । फलामे गेटको हरेक कुइँयऽऽ मा घरबेटीको माथ्लो तलाको पर्दा चलमलाउन थाल्दैन । घरबेटीको चियोले आफूलाई अस्वाभाविक बनाइरहे पनि स्वाभाविक भएको नाटक गरिराख्न पर्दैन ।

ए हउ ! ‘फ्ल्याट’ पो त !

डेरा कसरी ‘फ्ल्याट’ मा परिणत भयो वा हुँदै छ ! समाजशास्त्रीय अध्ययनभन्दा समाजशास्त्रीय आँखाले हेर्दा यस्तो देखिन आउँछ । विसं २०५८ मा माओवादी ‘जनयुद्ध’ उत्कर्षमा पुग्यो । चरम द्वन्द्वकालताका काठमान्डुमा बसाइँसराइँ व्यापक भयो । रिङरोडभन्दा बाहिर बसाइ फैलिन थाल्यो । हेर्दाहेर्दै चक्रपथको घेराबाहिर नयाँ काठमान्डु बिस्तार भयो । बाहिरकाहरू त्यहाँ थपिए नै, भित्री काठमान्डुको साँघुरो हुँदै गएको गल्ली र चोकमा बस्नेहरू पनि आकर्षित भए । त्यताका जग्गा तुलनात्मक रूपमा सस्तो हुने नै भयो । यही मौका छोपी त्यसमै थपिए काठमान्डुमा वर्षौंवर्ष भाडामा बसिआएका डेरावाल पनि ।

अब भने बनिरहेका धेरैजसो घर बंगलाभन्दा फ्ल्याट शैलीमा बन्न थाले । यसबीच काठमान्डुमा वर्षौवर्ष भाडागरी बस्ने डेरावाल र डेरालाई आयस्रोत बनाएका घरपति वर्गले बुझिसकेका थिए, राजधानीमा डेराको उच्च माग । यसले गर्दा डेराप्रति व्यापारिक सोचमा परिवर्तन आयो । नयाँ बनिरहेका घरमा दुईतीन तलासम्म फ्ल्याटैफ्ल्याट थपिन थालिए । प्रत्येकमा एक परिवारलाई हुने र सबैभन्दा माथिल्लो फ्ल्याटमा आफू बस्ने ।

डेरालाई भरपर्दो व्यापारको रूपमा हेर्न थालेपछि यसप्रतिको रवैयामा पनि परिवर्तन आयो । डेरावाललाई गर्ने व्यवहार, दिइने सुविधा, बढाउने भाडामा समझदारी अपनाउन थालियो । यसरी डेरा ‘फ्ल्याट’ मा परिणत हुँदै गयो । यसो भन्दा योचाहिं भन्न खोजेको होइन, भाडावालको डेराजन्य समस्या सबै छुमन्तर भयो । एउटै घरको बीचको तला र भुइँतलाको बसाइ एकै हुने गर्दैन भने सबै डेरावालको अनुभव कसरी सामान्यीकरण गर्नु ! यत्तिचाहिं हो, बसाइ चित्त नबुझे विकल्पहरू ‘टु बेडरुम विथ किचन’ सहित स्वागत गर्न तयार छन् । फ्ल्याट सार्ने झमेला एक छिन बिर्सिदिए, ‘घर खाली छ ?’ भन्दै आजभोलि काठमान्डुमा भौंतारिनु पर्दैन ।

तर, विसं २०३८ मा यस्तो थिएन । यही साल नै किन भनेर गम्नुहोला । यसकारण किनकि ०३८ सालमा नेपालगन्जबाट एकजोडी तराईली काठमान्डु आएका थिए । ती जोडी मेरा आमा–बा थिए । आमाले आफूसँगै तराई बोकेर आएकी थिइन् । जुटका बोरामा चामल, चामलको बोरामा गुलाबी रङले लेखिएका नाम, माटोको भुड्कीमा खटाई, आँपको काठले बनेको चटनी कुट्ने डोकनी, सखुवाको बिँड भएको हँसिया, टुक्रुक्क बस्न परालको बेढ्ना, लुगा झुन्ड्याउन डोरी र डोरीकै खटोली, ठटेरन टोलमा बनाइएका टिनका बाकस ।

डोकनी, खटोली र टिनका बाकसहरू अहिले पनि छन् । बाँकीको तराई डेरा सर्दासर्दै भुलिएर, छाडिएर, थन्किएर काठमान्डुको काठमान्डुपनमा मिसिन पुग्यो । र, हामीमा झल्किन थाल्यो – ‘तराईमान्डु’ पन !

यसरी नै पूर्व, पश्चिम र मध्यमाञ्चल पहाडका पहाडीहरूले आफूसँग उतैको पहाडीपन ल्याउँदा हुन् । मधेसीहरूले मधेसको सुनौलोपन र हिमालीहरूले स्फटिकपन मिसाउँदा हुन् । काठमान्डुको मुटुमा उतैको ढुकढुकी जोड्दा हुन् । यसरी नै एउटा राजधानीले आफ्नो चरित्र पाउँदो हो । विभिन्न भाषाका लय र तानले राजधानीय सोनाटा बन्दो हो, सांस्कृतिक कोलाज खिचिँदो हो ।

०३८ सालमा आमा–बासँगै म काठमान्डु आउन पाइनँ । ०३९ सालको फागुनमा मात्र म काठमान्डु ल्याइएँ । रात्रिबसमा नारायणघाट आइपुग्दा रातको एक बजिरहेको थियो । र, यता सिमसिम पानी परिरहेको थियो । नारायणी पुल तयार हुँदै थियो, पुरा भइसकेको थिएन । त्यसैले काठमान्डु पुग्न नारायणीपारी फेरि अर्को बस फेर्नुपर्थ्यो । वारिबाट पारि रोकिराखेको अर्को बससम्म पुग्न पटला डुंगा चल्थ्यो । मामाको काँधमा म लोलाइरहेकी थिएँ । जब थाहा भयो पटलामा चढेर नदी पार गर्ने कुरा, म रोमाञ्चित भएँ । आफूलाई काँधबाट तल झारिदिन भनें । सिमसिम पानीमा रुझ्दै नदी तर्न पालो पर्खिरहँदा म उत्साहित नै थिएँ । जसै डुंगामा चढेर नदी तर्न थालियो, हामीबाट टाढा हुँदै गयो नेपालगन्जको बस । बगरमा रोकिराखेको त्यो बस रित्तोरित्तो एकातिर लच्किएर उभिएको थियो । बगरमा ठड्याइएको थियो काठको पोलमा बत्ती । त्यसको पित्तले प्रकाशमा हामी आएको बस परित्यक्त लागिरहेको थियो । बसबाट टाढिँदै जाँदा बल्ल पो नेपालगन्ज छुट्दै गइरहेको भान भयो । निन्याउरिएको बसको साह्रो माया लाग्यो । त्यो न्यास्रो काठमान्डु बसेको धेरै वर्षसम्म मनमै धुम्मिरह्यो । सायद अन्तरआत्मालाई बोध भइसकेको थियो, अबको बसाइ ‘घर’ होइन डेरैडेरा भौंतारिन लेखेको छ । त्यो पनि वर्षौंवर्ष होइन, दशकौंसम्म !

स्यानैमा यहाँ ल्याइएको हुनाले मलाई घर र डेराको भेद थाहा थिएन । ‘डेरा’ शब्द त हाम्रो घरमा आजसम्म पनि नौलो छ । त्यसको सट्टा हामी ‘किरायाको घर’ भन्छौं । ‘किरायाको घर’ भन्दा त्यसको ‘घर’ शब्दले मलाई डेराको परायापन बिर्साइदिएको हुन सक्छ । वा ‘घर’ को भ्रम पलाइदिएको हुन सक्छ । त्यसैले मैले आफूसित नेपालगन्जबाट लुगाभन्दा ज्यादा बाल्यकाल गुटमुट्याएर ल्याएँ ।

घसियारिनहरूले बनाएको कपडाको गुड्डागुडिया र कुम्हारन टोलको माटोको चकिया (जाँतो) लडिया (गोरुगाडा) ल्याएकी थिएँ । बस् मलाई काठमान्डु पुगेर ‘किरायाको घर’ भएको टोलको पर्खाइ थियो । किनभने बाल्यकाल एउटा रमाइलो टोलबिना अपुरो हुन्छ । मलाई के थाहा डेरामा बस्नेहरूको आफ्नो भन्ने टोल हुँदैन । जता गए पनि ऊ आफैंमा सिंगो टापु भएर एक्लिरहेको हुन्छ ।

काठमान्डुमा आजसम्म मैले तीन किसिमका डेरावाललाई नजिकबाट अनुभूत गरेको छु । डेरामा संघर्ष गरी बालबच्चा पढाइरहेका दम्पती, ‘कोठा’ मा दुःखम–सुखम गरी पढ्ने त्रि.वीका किर्तिपुरे विद्यार्थी र डेरैडेरामा हुर्केका केटाकेटी । पहिलो र दोस्रो किसिमको डेरावाल जिन्दगी धेरथोर लेखिँदै आएको छ । कहिले चियागफ त कहिले दारुगममा पोखिइँदै पनि आएको छ । तर, केटाकेटीको डेरा जिन्दगी कसैले ख्याल गरेको छ ? डेरैडेरामा हुर्केर वयस्क बनेका मान्छेको मनस्थिति एउटा ‘स्पेस’ लाई लिएर कस्तो हुन्छ थाहा छ ?

सुरु हुन्छ खेल्ने ‘स्पेस’ को अभावबाट ।

हुन त आजभोलिको बाल्यकाल मोबाइलको स्क्रिनमा हुर्किराखेको छ । केटाकेटी चाहे बंगलावाल हुन् वा एककोठे डेरावाल, मोबाइल गेममै जड भएको देख्दा लाग्छ, यो पुस्तालाई खेल्ने ठाउँको अभावसित खासै गुनासो छैन । गेमको रोबोटलाई उछिन्न आफैँ अर्धमानव हुँदै गएको देख्दा लाग्छ, उनीहरूको बाल्यकाललाई ‘बाल्यकाल २.०’ भन्दा हुन्छ ।

यसो हुँदैमा डेरामा हुर्किरहेका केटाकेटीका लागि यही एउटा विकल्प हुनु हुँदैन । न यो खेल्ने ठाउँ नहुँदा हुने समस्याको समाधान हो । सीमित परिधिमा संकुचित हुँदै गएको आजको बाल्यकाललाई फराकिलो बनाउन झनै जरुरी छ ।

म हाम्रै पालाका केटाकेटीका डेरा जिन्दगीमा फर्किन्छु । त्यतिबेलाका भुइँतले डेरा जिन्दगानीमा सामान्यभन्दा बेसी कानुन र नियम लादिने गर्थे । घरबेटीको कानुन, आमाको नियम । जस्तो ः ट्वालेट जाँदा पानी खलखली नचलाउने, बरान्डामा लुगा सुकाउँदा नजाने, घरपछाडि घरबेटीको करेसाबारीसम्म नपुग्ने, आँगनमा फुलेको फूलनजिक नजाने, हाहु नगर्ने । त छुट्टीमा गर्ने के ? आफ्नो कोठामा थपक्क पढ्ने, खेलकुद गर्न मन लागे कोठाहरूबीचको गल्लीमा गर्ने, खेल होस् या झगडा स्यानो स्वरमा गर्ने, भान्छामा बोलाएपछि मात्र जाने । पालना गर्न सकिने नियमभन्दा तोडिने नियम बनाएपछि उल्लंघन हुने नै भयो । त्यसैले सामान्यभन्दा बेसी हकार र झपार खाँदै भुइँतले डेरा जिन्दगीमा हामी हुर्कियौं ।

हामीजस्ता भुइँतले केटाकेटीका बाल्यकालबाट सबैभन्दा पहिला लुकामारी गायब भयो । त्यसैगरी पानीको अभावले होलीको रङ छ्याप्ने रमाइलो पनि सक्कियो । सबैभन्दा बेसी आफ्नो जरा फैलिन पाएको टोल नहुनुले खट्कन्थ्यिो । डेरा सरिरहँदा हरेक टोल नयाँ/नौलो भएकाले सुनसान लाग्थे । बल्लतल टोलका पर्खाल चिन्न थाल्दा, टोलका बाटोले ‘बाईबाई’ भन्ने बेला आइसक्थ्यो । त्यसैले डेरामा हुर्किनेहरूका टोले साथी हुँदैनन् । तिनै टोले साथीहरू नहुँदा हैदर अलीको ‘पुरानी जिन्स और गितार, मुहल्ले कि वो छत और मेरे यार’ भन्ने गीतको बोलले कल्पनातीत बनाउँथे ।

खेल्नलाई टोले साथी नभए पनि कुद्नलाई आँगनको अभाव भए पनि ‘खेल्ने मन’ ले जुगाड त गरिहाल्दो रहेछ । यही जुगाडले हामी (म, बहिनी, दाइ र भाइ) ले डेराको परिवेश र परिस्थिति केही कडा केही नरम रूपमा बाँच्न पायौं ।

यही क्रममा के देखियो भने– कुनै डेराका घरबेटी टेढिएका हुने रहेछन्, कुनै डेराको बनोट नै निहुँ खोजुवा शैलीको हुने रहेछ, कुनै डेरा अचम्मले नाटकीय ठाउँमा अवस्थित रहेछन् ।

किरायाको घर–१

यो डेरा झम्सिखेलमा थियो ।

एसएलसी नदिउन्जेल हामी जावलाखेल वरिपरि नै घुमिरह्यौं । त्यो भनेको दस वर्षमा पाँचवटा डेराको चक्कर । विस्तृतमा नगईकन यहाँ म खासखास डेराको किस्सा मात्र कहनेछु । जावलाखेलमै फनफनिनुको कारण थियो हाम्रो स्कुल । स्कुल नजिक डेरा लिँदा स्कुलबसको भाडा बचोस् र जुत्ताको सोल चाँडो नखिइयोस् भनेर आमाले बचत गरेकी थिइन् । मध्यमवर्गीय गृहिणीको जुक्ति !

तर, डेरावाल जिन्दगीमा जहाँ बसे पनि ठ्याक्कै ठेगान भन्नुपर्दा कपाल कन्याउनुपर्ने । उसो त डेरावालको सकस नै यही । कुनै पनि डेरावाललाई फारम भर्दा डेराको पोस्ट बक्स नम्बर, घर नम्बर वा गल्ली नम्बर लेख्नुपर्‍यो भने स्यानोमा मास्टरले उन्नाइसको गुणन सोधिदिएझैं हुन्छ । त्यसैले काठमान्डुको मोटामोटी ठेगान भन्यो, कि त घर जिल्लाको पितृ बुझाइदियो, छुट्टी !

डेरावाललाई फारममा ठेगानाको ठाउँ भर्दा ठसठस भए पनि डेराको बाटो देखाउन खरीको बोट, पीपलबोट र बाटोको देउताथानले नक्साको काम गर्ने गरेको छ । सबैभन्दा चल्तु भनेको ‘गणेशथान’ । काठमान्डुमा गणेशका थानहरूले धेरैलाई हराउनबाट बचाएको छ । प्रायःलाई उनीहरूको डेराको ठेगान सोध्नु कुनै न कुनै गणेशथानको दायाँ, बायाँ वा सीधा जानुपर्ने दिशानिर्देश हुन्छ ।

यहाँ डेराको ठेगानमाथि विशेष चर्चा गर्नुको कारण छ । र, त्यो कारण बडो नाटकीय छ ।

डिल्लीबजारबाट हामी झम्सीखेलको डेरामा सरेका थियौं । बुबा राष्ट्रिय पञ्चायतमा थिए । ठूलो परिवार र कार्यकर्ताको छ–छमहिने बास हुने भएकाले पूरै घर भाडामा लिइएको थियो । सरेको केही महिना भएको थियो, एक रात डेराको गेट कसैले डामेर गयो । भोलिपल्ट हेर्दा गेटको फलामे पातामा यामानको अक्षरले लेखिएको थियो– ‘थाहा’ । कसले लेख्यो, किन लेख्यो, कुन अर्थमा लेख्यो– घरमा कसैलाई थाहा नाइँ । त्यसैले त्यत्तिकै बेवास्ता गरियो । बस् हरेकचोटि गेटबाट छिर्दा ‘थाहा’ ले हामीलाई घुरिरहेको हुन्थ्यो र हामी ‘थाहा’ लाई मनैमन प्रश्न गरिरहेका हुन्थ्यौँ । ‘के थाहा !?’

सामाजिक आन्दोलन ‘थाहा’ बारे हामी कसैलाई थाहा थिएन । न यसका अभियन्ता रूपचन्द्र विष्टको बारेमा कसैले चर्चा गरेको सुनियो । जुन मकसदले त्यो हाम्रै गेटमा लेखिएको थियो, त्यसले राष्ट्रिय पञ्चायतका सदस्य हाम्रा बाबुलाई कतिको छोयो, त्यो पनि थाहा छैन । ‘थाहा’ को थाहाबारे हामीलाई थाहा नभए पनि अरूलाई ठेगानाको थाहा दिन यो बडो काम लाग्यो । त्यहाँ बसुन्जेल ‘थाहा’ लेखिएको गेट हाम्रो पहिचान बन्यो । कसैलाई डेराको बाटो देखाउनुपर्‍यो भने हामी नक्सा दिन्थ्यौँ– पुल्चोकबाट झम्सिखेल आउनू । झम्सिखेलमा दायाँबायाँको घर हेर्दै जानू । तीमध्ये एउटामा ‘थाहा’ लेखिएको गेट छ, त्यहींबाट छिर्नू । यसरी ‘थाहा’ ले हाम्रा मान्छेलाई हामीसम्म पुर्‍याइरह्यो ।

यो ‘थाहा’ लेखिएको घरले कम्तीमा मलाई के थाहा दियो भने– डेरावाल केटाकेटीलाई खेलौना थुपार्ने सुविधा हुँदैन ।

एक त डेरामा खेल्ने ठाउँ नहुने । दोस्रो, खेल्ने सामान जम्मा गर्ने कुनो नपाउने । तेस्रो, डेरा सरिरहने भएकाले सार्न पनि दिक्कत । पाँचौं, मन परेर साँचिराखेका खेलौना पनि सर्दासर्दा कता पुग्ने कता । खेल र खेलौनाले ‘गरिब’ हुँदा हामी केटाकेटीले एउटा जुगाड गर्‍यौँ । झम्सिखेलवरिपरि विदेशीहरू बस्ने गरेका थिए । तिनीहरूले पर्खालबाहिर रद्दी फ्याँक्ने गर्थे । रद्दीमा विदेशी खान्कीका बट्टाहरू फालिएका हुन्थे । हामी फोहोरका खात खोस्रिने खातेझैं तिनका रद्दी खोस्रिन्थ्यौँ । माछाका बट्टा, बिस्कुटका टिन, क्रिमका क्यान, प्लास्टिकका ससाना चम्चा आदि भेटाउँथ्यौँ । तिनलाई टिपीवरी हामी सुटुक्क घरमा लुकाउँथ्यौँ । त्यसपछि ती बट्टा र टिनलाई सफा गरीवरी काटकुट पाथर््यौँ । तिनले लिएका नयाँ आकारमा आफ्ना कल्पना जड्थ्यौँ र ती हाम्रा भाँडाकुटी बन्थे ।

डेरामा अडुन्जेल खेल्यो, डेरा सर्दा उतै फालेर हिँड्यो । अनि अर्कोतिर फेरि यस्तै बटुलबाटुल गर्‍यो । त्यतिबेला त क–कसको जुठो ल्याइस् भनेर गाली खाइन्थ्यो । आजभोलि भइदिएको भए ‘रिसाइकल’ गरिस् भनेर स्याबासी पाइन्थ्यो कि ?

यी जुगाडवाला खेलौना हामी झ्यालका खापाखापामा राखिछाड्थ्यौँ । खेल्ने सामान किनाइमाग्दा ‘घरमा ठाउँ छैन’ भनेर हाम्रा रहरलाई टाक्सिन लगाइन्थे । तर, ठूलाहरूले ओगट्ने ठाउँबाट हामीले आफ्नो कुनो आफैं झिकेका थियौँ । डेरावाल जिन्दगीमा आफू कहाँ अट्ने भन्ने कुरा बुझ्दै गयौं सायद ।

किरायाको घर–२

यो डेरा धोबीघाटमा थियो ।

सानेपामा तीन वर्ष बसेर हामी यहाँ सरेका थियौँ । यो चौथो नम्बरको डेरा थियो । यहाँ आइपुगुन्जेल हामी किशोरावस्थाका भइसकेका थियौँ ।

यो डेराको बनोट नै निहुँखोजुवा शैलीको थियो । गेटदेखि ट्वाइलेटसम्मले झगडा निम्त्याउँथ्यो । कर्कटपाताको गेट कब्जाले कस्नुपर्ने ठाउँमा तारले बाँधबुँध पारिएको थियो । खोल्दा, बन्द गर्दा अर्थोपेडिक डाक्टरले भाँच्चिएको हड्डीको जोड समाएझैं ध्यान पुर्‍याउनुपर्ने । बाहिरकाहरू आउँदा गेटको सानो ढोका बन्द गर्न सक्दैनथे । झिँझो मानेर त्यत्तिकै छाडेर हिंड्थे । ढोका ह्वाङ्ङ छाडेर जाँदा गाई पसिदिन्थ्यो । त्यसपछि गाई र हामीले सँगसँगै गाली खानुपर्थ्यो । भुइँतले नियति !

त्यो गेट डेरा सर्दा वा छाडेर जाँदा मात्र पूरै खोलिने अनुमति थियो । बीचमा हामीलगायत त्यहाँ बस्ने अरू डेरावालले पलङ वा दराजजस्तो सामान ल्याउनुपर्दा गेट खोल्न पाउँदैनथ्यौँ । जे छिराउने हो गेटको सानो ढोकाबाट छिराउनुपर्ने रे । हे कलि ! रिसले कुँडिँदै यो अड्बाङ्गेपनको पालना गरिन्थ्यो । त्यत्रात्यत्रा सामानलाई गेटमाथिबाट तार्नुपर्दाको सकस !

हामीजस्ता भाडावाल सुविधाभन्दा सस्तो भनेर बसेका थियौँ । सस्तोलाई घरबेटीले सित्तैमा बुझिदिएर उनको पितुर्के व्यवहार सहनुपर्थ्यो ।

काठमान्डुमा डेरावालको साझा समस्या भनेको पानी त भई नै हाल्यो । यो डेरामा आएपछि थपिएको थियो ट्वाइलेटको समस्या पनि । त्यो किनभने घरको बनोट घरबेटीजस्तै अड्बाङ्गे थियो । सुविधायुक्त घरमा सुत्ने कोठासित ट्वाइलेट अट्याच हुन्छ । तर, त्यो डेरामा भान्छासित ट्वाइलेट अट्याच थियो । अनि के हुनु थियो, शौच बस्दै खानाको मिठो बास्ना नमिठो मानेर सुँघ्दै घिन मर्नु हुन्थ्यो ।

खासमा हामीलाई त्यो ट्वाइलेट नुहाउनका लागि मात्र भनिएको थियो । र, बाहिरको स्यानो ट्वाइलेट देखाएर शौच आदिको लागि छुट्याइएको थियो । सुरुसुरुमा त्यसै गरिन्थ्यो । भरे त बाहिरको ट्वाइलेट घरबेटीहरूले पनि प्रयोग गर्दा रहेछन् । त्यसमाथि त्यो डेराको सेफ्टी ट्याङ्की नि डमाडम भरिएको रहेछ । पछिपछि घरबेटीले हामीले त्यो ट्वाइलेट प्रयोग गर्दा कचकच गर्न थालिन् । सुरुमा भन्नलाई जे भने पनि पछि कुरा बटारेर उनले भित्रकै ट्वाइलेट प्रयोग गर भन्न थालिन् । तर, त्यसो गर्दा न ठीकसित शौच गर्न सकिने, न ठीकसित खानै ।

यसपछि हामी साइत मिलाएर बाहिरको ट्वाइलेट जान थाल्यौँ, दिउँसो दिउँसो घरबेटीले प्रयोग नगर्ने समय पारेर । कहिलेकाहीं घरबेटी र हाम्रो साइत जुधिरहेको हुन्थ्यो । त्यसपछि सुरु हुन्थ्यो हगन बखेडा । उनी बाहिर उभिएर गालीगोली बर्साउन थाल्थिन् । हामीचाहिं ढंगको चुकुल नभएको त्यो ट्वाइलेटको ढोका समाएर सुनिरहन्थ्यौँ । एकातिर निवृत्त भइरहेका हुन्थ्यौँ, अर्कोतिर रिसले भरिँदै जान्थ्यौँ ।

अहिले फर्केर हेर्दा यो डेराको बसाइ सोच्नै नचाहने धेरै कारणहरू छन् । तर, एउटै कारण छ जसले आज पनि धोबीघाट हुँदै गुज्रिँदा टाउको आफ से आफ त्यही गल्लीतिर फर्किहाल्छ । र, त्यो हो डेरा जिन्दगीमा पहिलोचोटि आफूले पाएको निजी कुना । खाटसहितको आफ्नै भूगोल जहाँ भित्तातिर फर्केर कल्याङमल्याङबीच पनि एकान्त महसुस गर्न सकिन्थ्यो ।

डेरामा हामी बच्चाबच्चीको सुत्ने कोठा पहिला पनि नभएको होइन । तर, त्यो पाहुना आउँदा छोड्नुपर्थ्यो । बुबाको राजनीतिक कार्यकर्ताहरू पाहुनाबाट परिवारको स्थायी सदस्यमा परिणत नहुन्जेल जिल्ला फर्कदैनथे । त्यतिन्जेल घरी एउटा कोठा, घरी अर्को कुना सरिरहनुपर्थ्यो । हामीलाई खासै गुनासो हुन्थेन । हामी त राजनीति गफिरहेका ‘अङ्कल’ हरूबीच आफ्नो गृहकार्य सक्काउँथ्यौँ । धेरै हल्ला नहोस् भनेर डेराको पिछ्वाडतिरै खेल्ने जुगाड गर्थ्यौं । ठूलाहरूले हाम्रो ‘स्पेस’ अतिक्रमण गरिरहँदा, हामीलाई लाग्थ्यो हामीले पो ठूलाहरूको ‘स्पेस’ अतिक्रमण गर्दै छौँ ।

तर यो डेरामा सरेर आउँदा म र बहिनी किशोरी भइसकेका थियौँ । उमेरले एउटा छुट्टै कोठाको माग गरिरहेको थियो । महिनावारी हुँदा पेट दुखेको बेला छट्पटाउन, कथा र उपन्यास पढेर टोलाउन, आफ्ना गोप्य कुराहरू उन्न र उधार्न । बल्लतल हामी दुइटीले एउटा कोठा पाउने भयौँ, पाहुना पनि मिलाएर राख्नुपर्ने सर्तमा । चलेगा ! भन्दै हामीले खुसीसाथ मञ्जुर गर्‍यौँ ।

कोठाको भागबन्डा यसप्रकार थियो । दाहिने खाट, खाट सटिएको भित्ता, भित्ता सँगैको झ्याल– मेरो । देब्रे खाट, खाट सटिएको ठूलो झ्याल र झ्यालको खापा– उसको । खाटको पुछार उता फराकिएको ढोकासम्मको भाग हामी दुवैको । र, दुवैको खाटतलको भाग गाउँबाट ल्याएको आलु र प्याजको ।

आफ्नो भागमा परेको रङहीन खस्रो भित्तालाई हामी सपनाको प्रोजेक्टर–स्क्रिन बनाउँथ्यौँ । भुइँतले कोठाको आकाश नदेखिने झ्यालबाट हामी उडान भर्थ्यौं– एसएलसीमा फर्स्ट डिभिजन ल्याउने, त्यसउता धेरै पढेर ठूलो मान्छे बन्ने । त्यो ‘ठूलो मान्छे’ को उपलब्धिमा किन हो किन आफ्ना लागि एउटा छुट्टै कोठा भएको कल्पना मात्र आउँथ्यो । त्यो भौतिक ‘स्पेसमा’ आफू ‘आफू’ हुन पाउनुको स्वतन्त्रताको चाहना थियो । अहिले आएर सोच्दा, हो त नि ! भन्ने लाग्छ । ‘ठूलो मान्छे’ हुनु भनेको आफू ‘आफू’ हुन सक्नुको आत्मविश्वास पनि त हो नि !

बच्चाबेला खेल्नका लागि फराकिलो ठाउँको चाहना हुन्थ्यो । किशोरी भएपछि स्वतन्त्रताको पहिलो खुड्किलोको रूपमा आफ्नै कोठाको चाहना हुन थाल्यो । वयस्क भएपछि जब त्यो कोठा हासिल भयो, बिहा गरेर कोठाबाट बाहिरिनुपर्ने बेला आयो । कोठा त फेरि पनि पाइयो तर आफ्नो ‘स्पेस’ कसैसित बाँड्नुपर्ने भयो । छोडिआएको कोठा केवल भौतिक ‘स्पेस’ मात्र थिएन, मानसिक भूगोल पनि थियो ।

घर, घरौंदा र डेरा

डेरावाललाई एक डेराबाट अर्को डेरा सरिरहँदा रैनबसेराको अस्थायीपनले गाँजिरहन्छ । डेराभित्रको घर सारिरहँदा भने उसलाई स्थिरता बोध गराउने केही कुराहरू हुन्छन् । जस्तो– आफूसँग टिकेका काठका फर्निचर, ‘शुभलाभ’ लेखिएको फलामको दराज, किराले ठाउँठाउँमा टोक्दै गएको देउताको फोटोफ्रेम, ‘घर’ को स्वाद बोकेका बटुलीबटुला, ल्यामिनेसन गरिएका केही यादगार फोटा । सत्ते ! ठेगाना चाहे जुनसुकै होस् यिनलाई देखेपछि लाग्छ घरको अँगालोमा आइपुगेको छु ।

डेरैडेराको चक्करमा एकपटक हामी यस्तो ठाउँमा बस्न पुग्यौँ, जहाँ रातको दुई बजे पानी भर्नुपर्ने हुन्थ्यो । हाम्री आमा भूतजस्तो उठेर रातिराति पानी भर्थिन् । त्यो पनि घरबेटीले चाल नपाउन् भनेर आस्तेआस्ते । त्यैबेलादेखि हामी ग्यालिन, ड्रम, बाल्टी, बोतल, बटुका आदिमा पानी भरेर राख्ने पानीबौला भइम् । काठमान्डुमा डेरावाल नियति (वर्गअनुसार) भनेको आफूसँगसँगै जहाँ सरे पनि पानीको हाँडाचिन्डा पनि बोकिरहनु हो । यसैले होला हरेक दोस्रो वा तेस्रो दिन गाडी धुने महानुभावहरूलाई देख्दा हामीजस्तालाई सकस हुन्छ । पानी फारो गर्न कसैले भेट्रान डेरावालबाट सिकोस् !

काठमान्डुमा पानीको समस्या भनेको नेताका लागि जनतासित खेलिने ‘माछा माछा, भ्यागुता !’ खेल हो । घरबेटीका लागि पानीको बाँडफाँट भनेको झगडाको बीउ हो । डेरावालका लागि फारो गरी चलाउनुपर्ने पानी भनेको चाँदी हो । घरको भाडा सोध्नुअघि ऊ पानीको व्यवस्था केकसो छ भनेर बुझ्छ । घरबेटीले पानीको सर्त लिटरमा सम्झाए पनि डेरावालले पानीलाई तोलामा बुझ्नुपर्ने हुन्छ ।

हरेक नयाँ डेरा आफ्नोजस्तो लाग्न डेरावाललाई केही समय लाग्छ । पहिला त नयाँ डेरालाई पुरानो डेरासित तुलना गरिराखिन्छ । अनि जब देख्न थालिन्छ– ट्वाइलेटको ऐनामा लागेका छिटा, किनारमा टाँसिएको भेलभेटी टीका, भान्छाको भित्तामा तेल उछिट्टिएका, बेसिनमा जर्रो गरी टाँसिएका टमाटरका बियाँ, फोटोफ्रेमका दाग भित्ताहरूमा बसेका ः लाग्छ नयाँ डेरामा पुराना डेरावालका छाया अझै पनि रहिरहेको छ ।

यो आभास पातलिँदै जान्छ जब हाम्रा सामानहरू कोठाका भित्ताकुनामा टम्मगरी मिल्छन् । ती त्यही सरसामानहरू हुन्छन् जसले हामीलाई रैनबसेरा जिन्दगीमा स्थायित्व बोध गराउँछन् । त्यसपछि लाग्छ, हामी यो ‘घर’ मा वर्षौंदेखि बस्दै आएका छौँ ।

तैपनि डेरावालले काठमान्डुमा घरैघर हेर्दा नकल्पेको क्षण हुँदैन । कतै पुग्ने हतारो छैन भने ऊ बाटोका घरहरू हेर्दै हिँड्छ । धेरै ठूला घर देखिँदा मनमा नजानिँदो ईर्ष्या जाग्छ– मान्छे बस्ने ठाउँ हो कि म्युजियम ! चिटिक्क परेको घर देखिँदा मनले खान्छ– होऽऽ यत्रै घर ठिक्क हुन्छ ! यही कल्पनामा मन कहिले उदास हुन्छ, कहिले उत्साही बन्छ, कहिले संकल्पको मुठ्ठी कस्छ । त्यसै निर्माण भएको होइन– काठमान्डुमा घर बनाउने सपना !

तर, काठमान्डुमा सबैलाई घर नै किन बनाउनुपर्‍यो ?

आफ्नो घर भनेको आफ्नै हुन्छ– सबैभन्दा सटीक उत्तर यही नै हो । अझ भुइँतले डेरावालको बसाइ हेरी त लाग्छ, घर बनाउने पहिलो हकदार ऊ नै हो । घाम नछिर्ने चिसा कोठा, झ्यालबाट अरूका घरका ढाड्बाहेक केही नदेखिने नजारा, बारीसारी छ भने मुसाको बिगबिगी आदिले लाग्छ, यो भुइँतलासित आउने ‘प्याकेज’ हो । भनुम् भने डेरा संसारको पाताललोक नै यही हो ।

काठमान्डुमा घर बनाउने सपना पाल्न जो कोहीलाई छुट छ । त्यो सपना पूरा गर्न सबैलाई अधिकार छ । मेरो शुभेच्छा ती सबैलाई छ । तर, मचाहिँ मैले काठमान्डुमा घर नै बनाउनुपर्छ भन्ने आवश्यक्ता देख्दिनँ । भाडा सस्तो भएको डेरामा पनि आत्मसम्मानसाथ बस्न पाइयोस्, म घर ठड्याउँदिनँ । निजी सीमाको अतिक्रमण नहोस्, व्यक्तिगत स्वतन्त्रताको सम्मान होस्, म खोलाछेउको तीन आना जग्गामा घर बनाउन व्याकुलता देखाउँदिनँ । जथाभावी भाडा वसुल गर्ने मनपरीतन्त्रको राज्यले नियन्त्रण गरोस्, म काठमान्डुको मलिलो खेतमा घर फलाउँदिनँ ।

ती सबै हुने हो भने डेरैडेरामा हुर्के–बढेर वयस्क भएका मान्छेलाई आफ्नै जग्गामा घर नबनाए पनि कसैको बारीको आरुबखाडा र भोगटेले लोभ्याउँदैन । ऊ कुनै पनि फ्ल्याटको सानो ‘स्पेस’ मा आफ्नो ठूलो संसार ठड्याउन सक्छ । उसलाई आफ्ना रहरहरू तहतह पट्याएर राख्न आउँछ । थपिँदै गएका सम्झौटोहरू समेट्न आउँछ । हो ! यस्ता मनुवाले पृथ्वीमा एकदमै स्यानो ठाउँ ओगट्ने गर्छन् ।

उपसंहार

काठमान्डु वरिपरिका कुनै पनि डाँडामा उक्लेर तल उपत्यका हेर्नू । त्यहाँबाट देखिने दृश्यले दन्त्यकथाको पहिलो लाइन सर्रर्र फुराउँछ– ‘एकादेशमा आकाश नजिक एउटा सुन्दर ठाउँ थियो... ।’ त्यसपछि आँखा जब घरैघर भवनैभवनमा गएर ठोक्किन्छ, कथावाचक स्वयं कथाको पात्र बन्न पुग्छ । बस्तीहरूको बीचबीचमा देखिने टुक्रे हरियालीमा उसलाई एउटा भए पनि रूख थप्न मन लाग्छ । कथामा द्वन्द्व यहीँबाट सुरु हुन्छ । उसलाई काठमान्डुको हरियाली नमासी आफ्नो लागि पनि घर बनाउनु छ । के यो सम्भव छ ?

(शनिबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘शनिबार विशेष’बाट ।)

प्रकाशित : मंसिर १२, २०७७ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?