कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बाजेले सोध्नुभो, ‘राजा सन्चै छन् ?’

इन्द्रजात्राकै दिन काठमाडौं उपत्यकालाई गोर्खाली सेनाले कब्जा गरेको इतिहास छ । भनिन्छ, कुनै जनधन क्षति नभई बडो सहजताका साथ हात पारेका थिए, उनीहरूले काठमाडौं उपत्यका । र, त्यत्तिकै सहजताका साथ स्विकारेका थिए रैथाने जनताले पृथ्वीनारायण शाहलाई ।अचम्म ! कहीँ कतै हताहत हुन पाएन । फेरि कहिल्यै कुनै विद्रोह उठेन ।
भूपाल राई

मेरा बाजे सबैका लागि असल हुनुहुन्नथ्यो । यसो भन्दा मलाई कुनै लज्जाबोध हुँदैन । तर, त्यस्तो खराब पनि होइन, जसको बयान सधैँ अप्रिय होस् । मैले आज बाजेका नाममा थोरै प्रिय कुराहरू पनि गर्नु छ, जसलाई अप्रिय शब्दभण्डारबाट निचोरेर निकाल्नु छ । र, यी सबै गर्नुभन्दा अगाडि मैले यहाँ सर्वप्रथम काठमाडौं उपत्यकाका हाल सालैका केही सांस्कृतिक घटनाहरूको सिलसिला जोड्नु छ ।

बाजेले सोध्नुभो, ‘राजा सन्चै छन् ?’

२०७७ भदौ १८ गते । काठमाडौंमा ‘यें याः’ (इन्द्र जात्रा) स्थगित भइसकेको थियो । ललितपुर, पुल्चोकमा एउटा गजबको परिदृश्य देखियो । कोभिड महामारीका कारण जिल्ला प्रशासनले रथ यात्रामा रोक लगाएको थियो । तर, स्थानीय जनता प्रशासनको त्यो रोक्का आदेश तोडेर स्वतःस्फूर्त रूपले भेला हुन पुगे । कोरोना संक्रमणको पर्वाह नगरी सम्बन्धित आस्थाको मानव सागर उल्टियो । रथ नतानी नछाड्ने आस्थावान जनता र प्रशासनबीच निकै ठूलो झडप भयो । केही प्रहरी जवानहरू घाइते भए ।

त्योभन्दा अगाडि । ललितपुरकै खोकनामा त्यस्तै प्रकृतिको अर्को घटना भएको थियो । काठमाडौं–निजगढ फास्ट ट्र्याकको विकासे परियोजनाका कारण खोकनाका फाँटहरूमा सरकारले रोपाइँ गर्न रोकिरहेको थियो । कृषकहरूले सरकारको आदेशलाई अवज्ञा गर्दै झडपकै बीचमा रोपाइँ गरे ।

अझ त्योभन्दा अगाडि । गुठीको बारेमा ल्याउन लागेको सरकारी नयाँ विधेयकको विरुद्धमा उठेको जनलहर झन् हेर्नलायकको थियो । काठमाडौं माइतीघर मण्डला परिसरमा उत्रिएको नेवाः समुदायको विशाल जनसागरले सरकारको एकतर्फी निर्णयलाई एकै दिनमा उल्ट्याइदिएको थियो ।

यी घटनाहरूको शृंखलाबद्ध परिदृश्य हेरिरहेको मैले एक साक्षीको रूपमा भदौ १८ गते फेसबुकमा एउटा स्टाटस लेखेँ– ‘उपत्यकाका नेवार समुदाय साँच्चि नै सलामका हकदार छन् । उनीहरू एक दिन मात्र जागिदिए भने सबै खाले शक्ति घुँडा टेक्न बाध्य हुन्छन् । तर, दुःखको कुरा, उनीहरू नितान्त सांस्कृतिक प्राणी छन् । त्यसैले उनीहरूले पटक–पटक सांस्कृतिक दुःख झेलेका छन् । उनीहरूले अब बुझ्नुपर्छ, यो दुःखको एक मात्र निदान घोर सांस्कृतिक प्राणी भैरहनुमा होइन बरु आफूलाई राजनीतीकरण गर्नुमा छ ।’

आक्षेप वा अतिशयोक्ति होइन तर आम मानिसको बुझाइ पनि यही छ— काठमाडौं उपत्यकाका नेवाः समुदायको शक्ति समसामयिक राजनीतिक मुद्दामा यथेष्ट रूपले खपत हुन सकिरहेको छैन । माथि उल्लिखित घटनाको अनुपातमा यदि त्यो शक्ति उठिदिने हो भने एक रातमा धेरै कुरा उलटफेर हुन सक्छ । सांस्कृतिक मुद्दामा देखिएको उनीहरूको पटक–पटकको शक्ति प्रदर्शन राजनीतिक आन्दोलनमा समेत खर्चिने हो भने कुनै पनि जनविरोधी राज्यसत्ताले एक पलकमा घुँडा टेक्नुपर्छ । त्यो निर्णायक हैसियतको शक्ति छ नेवाः समुदायसँग । त्यसका लागि आवश्यक सबै आधारभूत सुविधा पनि उनीहरूलाई प्राप्त छ । त्यसैले नेवाः समुदाय सलामका हकदार छन् । तर, अपेक्षाकृत त्यसो हुन सकिरहेजस्तो लाग्दैन ।

२००७ सालदेखि यताका आंशिक परिघटना मात्रै हेर्ने हो भने पनि कता–कता केही अपुग वा उदासीन नै प्रकट भइरहेझैँ लाग्छ । जस्तो कि गणतन्त्रको युगीन आन्दोलनमा जस्तै संघीयताको अपार जनआकांक्षा र अझ खासगरी प्रदेशको पहिचानजनित नामांकनको अभियानमा उनीहरूले अगुवाइ नै गर्न सक्थे, तर त्यसले उनीहरूलाई गहिरो गरी छोएको देखिएन । यही उदासीनता या राजनीतिक निरपेक्ष भावको फाइदा उठाएर एकात्मक नस्लवादी राज्यले उनीहरूलाई ‘वाग्मती’ नामको पहिचानद्वेषी प्रदेशको नाम उपहारमा दियो । उनीहरूले कडा विरोध गर्नुको सट्टा सहजै स्वीकार गरे । त्यो विराट समुदाय सांस्कृतिक अधिकारको मुद्दामा जति अगाडि छ, त्यसको तुलनामा राजनीतिक मुद्दामा कमी भएको महसुस हुन्छ । अंश–अंशमा लडिरहनुपर्ने सांस्कृतिक मुद्दाहरू राज्य सत्तामाथिको निर्णायक पहुँचले एकैचोटि प्राप्त हुन सक्छ भन्ने कुरा उनीहरूले नबुझेको पनि होइन होला । तर, यस्तो किन भइरहेको छैन ? व्यक्तिगत स्तरमा त्यत्रो राजनीतिक सहभागिता र नेतृत्व जन्माउने काठमाडौं उपत्यकाले समुदायलाई राजनीतीकरण गर्न भने किन सकेन ? एउटा कौतुकमय प्रश्न खडा हुन्छ ।

इन्द्रजात्राकै दिन काठमाडौं उपत्यकालाई गोर्खाली सेनाले कब्जा गरेको इतिहास छ । त्यसैले एक ऐतिहासिक संयोग पनि हुन पुगेको छ यो दिन काठमाडौंका लागि । उपत्यकाका मानिसहरू जात्रामा रमाइरहेका बेला या भोज खाइरहेका मौका छोपी बडो चलाखीपूर्वक हमला गरेका थिए गोर्खाली शासकहरूले । भनिन्छ, कुनै जनधन क्षति नभई बडो सहजताका साथ हात पारेका थिए, उनीहरूले काठमाडौं उपत्यका । र, त्यत्तिकै सहजताका साथ स्विकारेका थिए यहाँका रैथाने जनताले गोर्खाली शासनलाई । स्विकारेका थिए– नयाँ राजाको रूपमा पृथ्वीनारायण शाहलाई ।

अचम्म ! कहीँ कतै हताहत हुन पाएन । फेरि कहिल्यै कुनै विद्रोह उठेन । मानौँ त्यो घटना यस्तो थियो, जो पूर्वनियोजित रूपले सबैको इच्छाअनुरूप भएको थियो । यस्तो कसरी भयो होला ? के यहाँका रैथाने मानिसहरूका लागि राजतन्त्र एउटा अपरिहार्य सांस्कृतिक अंश थियो ? अथवा लगभग दुई हजार वर्षअगाडिदेखिको अविच्छिन्न अभ्यासले निर्माण गरेको चेतना ? के यही सांस्कृतिक अन्तर्चेतना र अविच्छिन्न राजतन्त्रतात्मक अभ्यासको कारणले उपत्यकावासीहरूले एक नयाँ राजालाई पनि सहज रूपले स्विकारेका थिए ? के यही ऐतिहासिककै कारणले उनीहरूमा गणतन्त्रको चेत गौण देखिएको हो ?

‘राजा’ को सांस्कृतिक स्वीकारोक्तिबारे यति कुरा कोट्याइसकेपछि बल्ल अब म बाजेको स्मृतिविम्बतिर लाग्नु उचित सम्झिन्छु ।

...

मेरा बाजे ९४ वर्षको उमेरमा २०४८ सालमा बित्नुभयो, जो आफैँ एक शताब्दी लामो इतिहास हुनुहुन्थ्यो । स्मृतिबिम्बमा उहाँका जीवनका अरू पनि अनेक आयाम खिच्न सकिन्छ । तर, यहाँ म ती कुराहरू मात्र राख्ने कोसिस गर्छु, जो यस बयानबाजीका लागि सान्दर्भिक छन् ।

पृथ्वीनारायण शाहले किरात भूमि (माझ किरात) कब्जा गरेको लगभग १२४/२५ वर्षपछि बाजेको जन्म भएको थियो । औसतमा हिसाब गर्दा त्यसको छैटौं या सातौं पुस्तापछि जन्मिनुभएका मेरा बाजेले तर कहिल्यै त्यो हिसाबको फेहरिस्त हामीलाई सुनाउनुभएन । कहिल्यै त्यो दुर्दान्त घटनाको हिसाब–किताबले उहाँ पिरोलिनुभएको पनि हामीलाई थाहा भएन । उहाँको छैटौं वा सातौं पुस्ताअगाडिको पुर्खाले इतिहासको त्यो निर्मम क्षणसँग कसरी लड्यो ? वा लडेन ? कहिल्यै बताउनुभएन । के उहाँलाई त्यो कुराको ज्ञान थिएन ? अथवा सय, सवा सय वर्ष लामो समयको डंगुरभित्र उहाँभित्रको त्यो संज्ञान पुरिइसकेको थियो ?

तर, मलाई लाग्छ— मेरा बाजेमा त्यो इतिहासको बोध भरपूर मात्रामा थियो । मात्र उहाँलाई लाग्थ्यो होला इतिहासले दिएको करार चोट बाँडेर आफ्ना भावी पुस्तालाई घाइते किन बनाउनु ? दुनियाँका सबै बाजेहरू सायद यस्तै हुन्छन् । पुराना यन्त्रणाहरू सबै बिर्सेर होइन बरु स्मृतिको बन्द खोपीभित्र जागा राखेर आफ्ना भावी सन्तानको सुखद समयको उत्खननमा अहोरात्र जुटिरहन्छन् । भावी समयसँगै बाँच्ने कलाको परख गरिरहन्छन् ।

यही कारण हुन सक्छ, बाजेले हामीलाई कहिल्यै कुनै राजा, महाराजाको इतिहास सुनाउनुभएन । राजा वा राजतन्त्र सम्भवतः उहाँको सांस्कृतिक चेतभित्रको विषय नै थिएन । यसको सट्टा बरु उहाँ अक्सर आफ्नै पुर्खाहरूको गौरवगाथा कोट्याउने गर्नुहुन्थ्यो । यसले सायद उहाँलाई आवश्यकताभन्दा बढी कठोर बन्न सघाएको थियो । हामीलाई सानोमा लाग्थ्यो, उहाँ आफैँ (यतिखेर हामीले वर्णन गर्ने गरेको) एक पृथ्वीनारायण शाह हुनुहुन्थ्यो । यस्तो हुनु सायद उहाँको वंशजवृत्तिका लागि आवश्यक पनि थियो । किनभने समय त्यस्तो कठोर थियो, जसले पुर्खाहरूमा धेरथोर निर्ममताको माग गर्थ्यो ।

हामी केटाकेटीका लागि बाजे हाम्रो घरको सबभन्दा खतरनाक दुश्मन हुनुहुन्थ्यो । किनभने बाजे हाम्रोअगाडि साह्रै कठोर मिजासमा प्रस्तुत हुने गर्नुहुन्थ्यो । सानोभन्दा सानो गल्तीमा पनि हामी उहाँले टेकिरहेको लठ्ठीको मारमा पर्नुपर्थ्यो । बाजेले हँसिलो मुहार पारेर बोलाएको वा खुसी भएर आफ्नो छेउमा राखेको हामीलाई कहिल्यै थाहा भएन । हामी सधैँ बाजेबिनाको घर–आँगनको कल्पना गर्थ्यौं । तर, जब उहाँ हाम्रोसामु उभिनुहुन्थ्यो हाम्रो सातोपुत्लो उड्थ्यो । आफ्नै नाति नातिनीहरूका लागि उहाँ किन पृथ्वीनारायण बन्नुहुन्थ्यो ? त्यस्तो खतरनाक रोव–रवाफमा उहाँले किन प्रकट हुनुपर्थ्यो ? त्यो हामीले कहिल्यै बुझेनौं । हामी मसिना भुराभुरीहरू आँगनमा हल्ला गर्दै खेल्थ्यौँ । तर, बाजेलाई किन हो त्यो हमेसा अप्रिय लाग्थ्यो । उहाँ माथिल्लो घरको पर्खालमाथि चढेर हामीलाई गुलेलीले हान्नुहुन्थ्यो । हामी कत्तिपटक मट्याङ्ग्राले लागेर बिरामीसमेत पर्थ्यौं (यो प्रसंग मैले अन्त कतै पनि उल्लेख गरिसकेको छु) । हामीलाई हान्दाहान्दा मट्याङ्ग्रा सकिएपछि उहाँ फेरि हामीलाई नै माटो बोक्न लगाउनुहुन्थ्यो । मट्याङ्ग्रा बाट्न लगाउनुहुन्थ्यो । हामी यो थाहा पाउँदापाउँदै पनि आफ्नो कलिलो हातले बाजेका लागि मट्याङ्ग्रा बाटिदिन्थ्यौं, जसको प्रहार भोलि आफैँमाथि आइलाग्ने निश्चित थियो ।

हाम्रो गाउँको देब्रे पाटोमा ठूलो क्षत्री गाउँ थियो । दाहिनेतिर थियो कामी गाउँ । क्षत्रीहरू प्रायःले बाजेलाई आदरसाथ निधार झुकाएर दर्शन गर्ने गर्थे । कतिलाई एक बोतल रक्सीमा उहाँले जग्गा राजीनामा दिनुभएको थियो । कसैले अदबका साथ उहाँको अगाडि निधार थापेन भने निश्चित थियो, उसले बाजेको हातमा हल्लिरहेको डन्डाको भागीदार बन्नुपर्थ्यो । उहाँ हिँडिरहेको बाटोमा अचानक गाउँको कुनै दलित भेटिए तुरुन्त उसले बाटोको छेउ लागेर उभिनुपर्थ्यो । तर, बाजेले दलितहरूको निधारमा भने कहिल्यै आफ्नो हात थाप्नुभएन । किनभने उनीहरू बाजेका नजरमा अछुत जो थिए । सानो छँदाको एउटा अर्धविस्मृत घटना सम्झिन्छु । एक दिन हाम्रो घरमा एक हूल मान्छेहरू आए, घोडा चढेर । तिनीहरू हाम्रा बाबालाई भेट्न आएका थिए । तर, बाबा घरमा हुनुहुन्नथ्यो । बाजे हाम्रो पाली–घरको सिकुवामा हुक्का तान्दै खाटमाथि बसिरहनुभएको थियो । बाबा नभएपछि तिनीहरूले बाजेसँगै सामान्य चिनजानको कुरा अघि बढाइरहेका थिए । एक छिनको सामान्य भलाकुसारीपछि एक्कासि बाजेले भनेको सुनियो, ‘उहिले त भेनाजु (मलाई जहाँसम्म लाग्छ, बाजेले यही साइनोको दाबी गर्नुभएको थियो) भनेर ढोग्थ्यौ । तर, अहिले त मन्त्री भयौ, के चिन्थ्यौ होला र... !’

बाजेको कुराबाट थाहा हुन गयो तिनीहरूमध्ये एक जना हाम्रै जिल्लावासी, कुनै बहालवाला मन्त्री थियो, जो सम्भवतः तत्कालीन राजाको विश्वासपात्र थियो र जो हाम्रा बाबाको चिनारु थियो । पञ्चायतकालमा यस्तै हुन्थ्यो मन्त्री, अञ्चलाधीश या बडाहाकिम यस्तै के–के हुनका लागि राजाको कृपापात्र हुनैपर्थ्यो । बाजेको त्यस्तो दाबीसहितको चेतावनी आएपछि तत्कालै त्यो मन्त्रीले उहाँको हातमा निधार थमाइदियो । त्यसपछि मात्रै बाजेले खुसी भएर उनीहरूलाई बस्ने अनुमति दिनुभएको थियो । बाजेका जीवित दुई छोराहरू (हाम्रा बाबासहित) प्रति झन् उहाँ किन हो असाध्यै असहिष्णु हुनुहुन्थ्यो, कहिल्यै आफ्ना छोराहरूसँग प्रत्यक्ष संवाद गर्न नचाहने । केही आवश्यक काम परे उहाँ बोजुमार्फत सूचना प्रवाह गर्नुहुन्थ्यो । बाजेलाई लाग्थ्यो, ती दुई छोराहरू उहाँले आर्जेका जग्गाजमिन बेच्दै जाँड, रक्सी र राजनीतिमा स्वाहा पार्ने बदमासहरू हुन् । त्यही भएर होला हाम्रा बाबा कहिल्यै पनि बाजेको सम्मुखमा पर्नुहुन्नथ्यो । आमा भन्नुहुन्थ्यो, तिमेरका बाउ र काकाले बेचेर पनि कहिल्यै सकिएनन् बाजेका जेथाहरू ।

यस्तो थियो हाम्रा दुश्मन बाजेको स्मृतिचित्र जतिखेर उहाँ सक्रिय उमेरमा हुनुहुन्थ्यो । र, जसले सायद कुनै इतिहासको पृथ्वीनारायणलाई बिर्साउँथ्यो । अथवा सम्झाउँथ्यो । तर, बाजेको त्यो कठोरता, त्यो निर्ममता, उहाँमा प्रकट हुने त्यो निरंकुशतामा के कुनै पृथ्वीनारायण भन्ने राजाको प्रभाव थियो ? मलाई लाग्छ, त्यस्तो कदापि थिएन । यो कुनै व्यक्तिविशेषद्वारा प्रदत्त अवदान थिएन । यो त लामो समय र कालखण्डको दौरान मानव इतिहासले निर्माण गरेको एक यस्तो परिच्छेद थियो, जो स्वाभाविक रूपले बाजेको हातमा हस्तान्तरण हुनपुगेको थियो ।

वर्ण व्यवस्थाले उमारेको छुवाछूतको विभेदकारी उकुच किरात भूमिमा ठ्याक्कै कहिलेदेखि पल्टिन पुग्यो ? जो पहिले कहिल्यै थिएन (खोजकै विषय छ) । तर, मेरा बाजेले पनि यसको नकारात्मकतासहितको कालो कर्तुतलाई आफ्नो जीवनमा अवश्य प्रयोग गर्नुभयो । छुत–अछुतजस्तो कलंकको दुष्प्रभाव बाजेमा पनि त्यति नै पर्न गयो, जति अरूमा परेको थियो । र, मलाई लाग्छ— यो मेरा बाजेको जीवनमा कथित नेपाल एकीकरणले सार्न पुगेको पहिलो संक्रामक रोग थियो, जसबाट उहाँ पनि ग्रसित हुनुहुन्थ्यो । तर, यसको अर्थ यो कदापि होइन कि एकीकरणको कथित भाष्यले जन्माएको कुनै चक्रवर्ती राजाले मेरा बाजेको दिमागमा शासन पनि गरेको थियो । वास्तवमा त्योबाट बाजे बिल्कुल सुरक्षित हुनुहुन्थ्यो ।

खासमा भन्ने हो भने कुनै ‘राजा’ वा राजासहितको कुनै राज्यसत्ता बाजेको पुर्ख्यौली अभ्यास र चिन्तनभन्दा बिल्कुल फरक कुरा थियो । छुवाछूतको पहिलो संक्रमणबाहेक एक अर्को अतिरिक्त कुरा पनि थियो, जसले बाजेको जीवनलाई निकै प्रभाव पारेको थियो । त्यो थियो— रामायण पाठ । उहाँले खस भाषाको त्यतिका शिक्षा कहाँ कसरी प्राप्त गर्नुभो थाहा भएन । तर, उहाँ रामायणको अधिकांश श्लोक कण्ठस्थ सुनाउन सक्नुहुन्थ्यो । जतिजति बुढ्यौलीतिर जाँदै हुनुहुन्थ्यो त्यतित्यति त्यसको संक्रमण उहाँमा बढिरहेको थियो ।

बुढ्यौलीले निस्तेज पारेपछि जब आफैँ काम गरेर खान नसक्ने अवस्थामा पुग्नुभयो, त्यसपछि मात्र बाजे–बोजु हामीसँग बस्न थाल्नुभएको हो । पाली–घरको सिकुवाको खटियामा उहाँहरू बस्ने–सुत्ने गर्नुहुन्थ्यो । बोजु त धेरै अगाडिदेखि नसाको रोगले हलचल गर्न सक्नुहुन्नथ्यो । उहाँको बाँकी जीवन ओछ्यानमै बित्यो । बाजे कहिल्यै घरभित्र प्रवेश गर्नुहुन्नथ्यो । वर्षको दुई तीनचोटि पितृ पूजा गर्दाबाहेक उहाँ कहिल्यै चुल्हामा पसेको हामीलाई थाहा छैन । त्यसैले खाने कुरादेखि सम्पूर्ण आवश्यकीय चीज खटियामै लगिदिनुपर्थ्यो । तमाखु मात्र होइन, जाडो याममा मकलमा आगोसमेत बालेर उतै पुर्‍याइदिनुपर्थ्यो । उहाँ राति सुत्दाबाहेक हमेसा मृगको पूर्णकायी छाला ओछ्याएर खटियामा आराम गर्नुहुन्थ्यो । त्यही मृगको छालामा बसेर उहाँ हामीलाई रामायणको मुखाग्र श्लोक सुनाउनुहुन्थ्यो ।

अब बाजे हामीलाई गुलेलीले ताक्न नसक्ने उमेरमा पुग्नुभएको थियो । हामी पनि बढिरहेका थियौँ । स्कुल जाने भइसकेका थियौं । आँगनमा उसैगरी खेल्थ्यौं । हाम्रो हो—हल्लाप्रति बाजेको प्रतिक्रिया उस्तै थियो । गुलेलीले हान्न नसकेपछि अब उहाँले हामीलाई श्लोकको झटारो हान्न थाल्नुभएको थियो । रामायण मात्र होइन वधूशिक्षाको उपदेश पनि उहाँलाई प्रायः कण्ठस्थ थियो । दिदीहरूलाई आँगनमा हाँस्दै जिस्किएको देख्नुभयो भने ‘हाँस्नु छैन कदापि नारीहरूले, बेश्या हुने हाँस्दछन्’ भनेर तुरुन्तै वधूशिक्षाको मट्याङ्ग्राले हानिहाल्नुहुन्थ्यो ।

यसरी बाजे हाम्रा लागि भानुभक्त पनि हुनुहुन्थ्यो, जो उहाँलाई अर्को नेपाल एकीकरणको भाष्यले दिएको अनुपम उपहार थियो । आधुनिक नेपालका विद्वान्हरू यसलाई सायद भाषिक एकीकरण भन्छन् क्यार ! तर, यसको निर्दोष सिकारको रूपमा भने मेरा बाजे आजीवन परिरहनुभयो ।

बाजे उमेरको डाँडामा पुग्दै गर्दा म किशोरवयको रफ्तारमा थिएँ । उहाँ अब पहिलेको जस्तो हुनुहुन्नथ्यो । उहाँभित्रको पृथ्वीनारायण सेलाइसकेको थियो । त्यसमाथि थप वृद्धावस्थाको शरीरमा उहाँ केहीअगाडि घाइते पनि हुनुभएको थियो । बाटोमा जुधिरहेको गोरुले घचेटेर उहाँलाई एक कान्लामुनि पछारिदिएको थियो । त्यसैको कारणले उहाँको खुट्टा स्थायी रूपले घाइते हुन पुग्यो । उहाँ धेरै टाढासम्म हिँड्न सक्नुहुन्नथ्यो । म स्कुलको लामो बिदामा घर फर्केको बेला अक्सर बल्छी बोकेर खोला झर्ने गर्थें । पहाडी गाउँ । खोला धेरै टाढा पर्थ्यो । त्यसैले खोलाबाट फर्किन मलाई कहिलेकाहीँ अबेर हुन्थ्यो । म खोला झरेको थाहा पाएपछि बाजे म नफर्किएसम्मै खाना खान मान्नुहुन्नथ्यो । उहाँ भन्नुहुन्थ्यो, ‘नाति आओस् । अनि मात्रै खान्छु ।’ यसरी बाजेकै लागि मात्र भए पनि मैले बल्छीमा केही न केही माछा पार्नैपर्थ्यो, जसका लागि उहाँ मलाई राति अबेलासम्म पर्खेर बसिराख्नुहुन्थ्यो ।

राति सुत्दा पनि त्यो रित्तो पालीको सिकुवामा अक्सर बाजेको स्वरबाट रामायणको श्लोक गुन्जिन्थ्यो । यसको अर्थ बाजेमा अब पृथ्वीनारायणको सट्टा भानुभक्त हाबी हुँदै आइरहेको थियो । मानिसलाई बाँच्नका लागि कथा चाहिन्छ । गीत, काव्य आदि चाहिन्छ । यो सत्य हो । तर, उहाँले जे गर्नुभएको थियो, त्यो कथित एकीकरण नामको भाष्यले दिएको दोस्रो अनुदान थियो । कथित भाषिक एकीकरणको शताब्दीयौं लामो छायामा आफ्ना भाषा, कथा र सम्पूर्ण शैक्षिक सत्ता गुमेपछि मानिसले के गर्छ ? बस् मेरा बाजेले त्यही गर्नुभयो ।

तर, यति हुँदाहुँदै पनि उहाँभित्रको एउटा चेत भने कहिल्यै मरेन । त्यो हो गणतान्त्रिक चेत । यसकारण कि त्यो उहाँभित्र हुर्किरहेको एक अक्षुण्ण संस्कृति थियो ।

...

यतिन्जेलसम्म कहिले पृथ्वीनारायण शाह, कैले भानुभक्त आचार्यको रूपमा हामीले बाजेलाई बुझ्यौं । तर, बाजे खास के हुनुहुन्थ्यो ? अब म त्यतातिर मोडिन चाहन्छु ।

२०३४ सालतिर म कलेज पढ्न काठमाडौं आएँ । भोजपुरमा उतिबेला एयरपोर्ट बनेकै थिएन । त्यसैले काठमाडौं आउँदा दुई दिन अरुणको अक्करैअक्कर हिँडेपछि पुगिने धरान हुँदै आउनुपर्थ्यो ।

कलेज बिदाको बेला एक हिउँद म घर फर्केको थिएँ । अचानक बाजेले सोध्नुभो, ‘के छ नेपालका राजाको हालखबर ?’

बाजेको यस्तो प्रश्नले एक छिन त म हतप्रभ बनेँ र उत्तर दिएँ, ‘ठीकै छ बाजे ।’

फेरि सोध्नु भो, ‘राजा सन्चै छन् ?’

भनेँ, ‘सन्चै छन् ।’

‘कैलेकाहीँ भेट हुन्छ ?’

‘हुँदैन... ।’

‘किन एउटै देशमा पनि भेट नभाको त ?’

‘आ–आफ्नो काममा व्यस्त हुन्छौं, त्यसैले बाजे... ।’

बाजेले यस्तो चाखलाग्दो प्रश्न सोध्नुभएको पनि आज लगभग चारौं दशक नाघिसक्यो । उहाँ बित्नुभएकै पनि तीन दशक त बिती नै सक्यो । यत्रो लामो समयसम्म पनि त्यो छोटो वार्तालाप मभित्र यस्तरी सुरक्षित छ कि आज बल्ल लागिरहेछ, त्यो सामान्य लाग्ने प्रश्नभित्र त स्वयं बाजे बाँचिरहनुभएको रैछ । वास्तवमा त्यो सामान्य प्रश्नमा बाजेको खास रूप अभिव्यक्त भएको रैछ ।

यतिखेर अर्थ केलाउँदा, बाजेको त्यो हठाथ प्रश्नबाट पहिलो त यो बुझ्न सकिन्छ कि नेपाल भन्ने एउटा यस्तो देश छ, जुन उहाँको देश होइन । दोस्रो, नेपाल भन्ने देशमा कोही एउटा राजा छ तर उहाँको देशमा राजा छैन । तेस्रो, त्यो जुनसुकै राजा होस् ऊ बाजेको समकक्षी हो । र चौथो, राजा जोसुकै होस् ऊ सामान्य नागरिक बराबर हो । यसरी बाजेभित्र एक यस्तो अनपेक्षित चीज बाँचिराखेको थियो, जसको बारेमा सोच्दा पनि यतिखेर हामीलाई अनौठो लाग्न सक्छ ।

अब हामी एउटा गाँठी प्रश्नतर्फ एक छिन विचार गरौँ । त्यो अनौठो लाग्ने विचार, जो बाजेभित्र आफ से आफ बाँचिराखेको थियो के त्यो त्यत्तिकै प्रकट भएको मजाक थियो ? अवश्य थिएन । किनभने त्यो हजारौं वर्षको समयखुट्टीले निर्माण गरेको एउटा छुट्टै सांस्कृतिक कडी थियो । इतिहासले वर्णन गर्छ, लिच्छविहरूको आक्रमणपछि तिनीहरूको शासनमा बस्न नचाहने अथवा लिच्छवि राजतन्त्रात्मक व्यवस्था अस्वीकार गर्ने किरातीहरू अनेकपटक काठमाडौं छाडेर पूर्वतर्फ लागेका थिए । नेपाल खाल्डोमा पहिलोचोटि स्थापित हुन गइरहेको राजतन्त्रसँग केही किरातीहरूले त्यतिबेलैदेखि सम्बन्धविच्छेद गरेका थिए । तब यो स्वयंसिद्ध छ कि उनीहरू त्यतिबेलैदेखि कुनै पनि राजालाई चिन्दैनथे । लिच्छवि शासनलाई स्विकारेर बस्ने बाँकी मान्छेहरू यतै छुटे पनि पूर्व जानेहरूले गणतान्त्रिक चेत बोकेरै गएका थिए । त्यही भएर यता छुट्ने मान्छेहरू एउटा संस्कृतिमा बाँचे, उता जानेहरूले अर्को संस्कृति बँचाए । यता छुट्नेहरू त्यसपछि अविच्छिन्न राजतन्त्रमा हुर्किए उता लाग्नेहरूले स्वायत्त जीवन हुर्काए । पछि सेनकालमा समेत पूर्वेलीहरूले स्वशासित जीवनकै अकण्टक अभ्यास गरेका थिए । यहाँसम्म कि नेपालको पहिलो ३२ पुस्ते किरातकालमा समेत उनीहरू राजाको प्रत्यक्ष शासनअन्तर्गत थिएनन् । किनभने यलम्बर होस् या गस्ती कोही पनि वंशानुक्रमका राजा थिएनन् । उनीहरू सबै गण नायकहरू थिए ।

अब प्रश्न उठ्छ । त्यसो भए के मेरा बाजे लिच्छविकालमा पूर्व पसेका किराती पुर्खाका सन्तान हुनुहुन्थ्यो ? अथवा त्यो नभए के ती पुर्खाहरूको सांस्कृतिक र वैचारिक समकक्षी हुनुहुन्थ्यो ? यदि त्यसो हो भने ठोकेर भन्न सकिन्छ, पृथ्वीनारायण त के पूरै पाँच हजार वर्षदेखि मेरा बाजेको चेतनामा कुनै राजा थिएन । त्यही भएर उहाँ सार्वकालिक र आजीवन गणतन्त्रवादी हुनुहुन्थ्यो ।

अहिले पनि जब देशमा राजाको बासी कुण्ठा यदाकदा पुनरावृत्त हुन खोज्छ र काठमाडौं उपत्यका उही पुरानै राजनीतिक निरपेक्षतामा निदाउँछ, मलाई लाग्छ— गणतन्त्र भनेको त वास्तवमा विचार मात्रै होइन रैछ । यो त अविच्छिन्न संस्कृति पनि रैछ । जुन संस्कृति चाहेर पनि सबै कोहीमा नहुन सक्छ । त्यही नहुनुको कारणले अहिले पनि कसैलाई संघीयता दुख्छ । कसैलाई कसैको पहिचान अपच लाग्छ । र, कसै कसैले चाहिँ गणतान्त्रिक देशमै पनि राजारानीको नक्कल गर्नुपर्छ ।

सन्दर्भ बाजेको थियो । फेरि बाजेमै फर्किन चाहन्छु । मेरा बाजे कुनै विद्रोही हुनु हुन्नथ्यो । मात्र राजा नामक पुरानो भाष्यका लागि निरक्षर हुनुहुन्थ्यो । त्यो निरक्षरता उहाँको संस्कृति पनि थियो । अहिलेको भाषामा भन्ने हो भने त्यो राजनीति पनि थियो । त्यही संस्कृतिलाई अद्यावधिक गरेर वा राजनीतीकरण गरेर देश अहिलेको अवस्थामा आइपुगेको हो । किनभने रूपान्तरणका लागि समयअनुसार आफूलाई अद्यावधिक गर्न जरुरी छ । आवश्यक पर्दा संस्कृतिलाई पनि निर्णायक शक्तिमा बदल्न सक्नुपर्छ । यसैमार्फत अंशअंशमा लडिरहनुपर्ने मुद्दा मुष्टमा प्राप्त हुन्छ । र, त्यो अद्यावधिक हुनु भनेको अर्को भाषामा राजनीतीकरण हुनु पनि हो । त्यही राजनीतीकरणको अरू थप आशा र भरोसामा काठमाडौं उपत्यकाका नेवाः समुदायलाई सलाम पनि भनिएको हो ।

अन्त्यमा, अब सबैलाई थाहा भइसक्यो । मेरा बाजे सबैका लागि असल हुनु हुन्नथ्यो । यसो भन्दा मलाई कुनै लज्जाबोध हुँदैन । मात्र यति छुटाउनु हुँदैन, उहाँले प्राप्त गर्नुभएको विरासत भने लगभग पाँच हजार वर्षदेखि नै राजाविहीन थियो ।

प्रकाशित : मंसिर ६, २०७७ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?