मनमा बलिरहेको सम्झनाको मधुरो दियो

विप्लव प्रतीक

म थिएँ र यौटा साइकल थियो ।

सिलुएटमा मैले डोर्‍याइरहेको साइकल र मेरो आकृति
यतिखेर मेरो सम्झनाको क्यानभासमा कोरिएको छ ।

मनमा बलिरहेको सम्झनाको मधुरो दियो

म सानो छँदा मसँग साइकल थिएन,

तर, बजारमा भाडाको साइकल थियो,

र, जुक्ति लगाएर पैसा बटुल्ने अक्किल पनि मसँग थियो,

अहिले सम्झिँदा ओठमा मायालाग्दो मुस्कान झुल्किन्छ,

मानौँ कलिलो घाम शीतको थोपामा झुल्किएको छ ।


जब पहिलोपल्ट साइकलको ह्यान्डल समातेँ

मलाई लाग्यो आकाश मेरो पाइतालामुनि छ ।

र, कैँची मार्दै आखिर साइकल सिक्न थालेँ मैले,

साइकलको जन्जिरमा परेर धेरैपल्ट ताछियो गोलीगाँठो,

कतिपल्ट आलो घाउमै घाउ लाग्यो, मैले यादै गरिनँ,

जसरी दुःखमाथि दुःख थपिँदा

कति दुःख थपियो याद रहँदैन ।


हेर्दाहेर्दै म काठीमा बसेर

साइकल चलाउन सक्ने भएँ,

एक हातले चलाउन सक्ने भएँ

दुवै हात छाडेर चलाउन सक्ने भएँ,

यस्तो लाग्थ्यो साइकलबाहेक

संसारमा अर्को कुनै खुसी छैन, कुनै सुख छैन ।


साइकलमा चिठीको पोका लिएर हुलाकी दाइ आउँथे,

बाका साथीहरु आँगनमा आएर

साइकलको घण्टी बजाउँदै बालाई बोलाउँथे,

शनिबारको दिन पल्लाघरे चम्फी दिदी

साइकलको डन्डीमा बसेर कृष्ण दाइसँग घुम्न जान्थिन्,

सहरमा साइकलको घण्टीको समूह गान सुनिन्थ्यो,

सिनेमा हेर्न जाँदा हिरोहिरोइनहरु

साइकलमा चढेर घुम्न जान्थे, गीत गाउँथे,

पसलमा घण्टीजडित साइकलको गुडाउने पाङ्ग्रा हुन्थ्यो

मेरो मन लोभको रसायनले भरिन्थ्यो,

बासँग किनिदिन पैसा हुँदैनथ्यो ।

धेरै दिनपछिको कुरा हो,

बाले मलाई यौटा साँचो दिनुभयो, त्यो साइकलको साँचो थियो ।


कहाँ पुगिनँ म त्यो साइकल लिएर,

स्कुल गएँ, वनभोज गएँ,

कहिले एक्लै गएँ, कहिले डबल लोड

र, कहिले तेब्बर लोडसम्म गएँ,

सिनेमा हेर्न गएँ, सङ्गिनीलाई भेट्न गएँ,

मावल गएँ, साथीभाइको घरघर पुगेँ,

बाको काममा गएँ, आमाको काममा गएँ,

सानी बहिनीलाई घुमाउन गएँ,

कहाँ पुगिनँ म त्यो साइकल लिएर

कहिले मन्दिर र कहिले मसान गएँ ।


यो त्यो समयको कुरा थियो–

जाडोमा पन्जा लगाएर म साइकलसँग हुन्थेँ

गर्मीमा गन्जी लगाएर म साइकलसँग हुन्थेँ

वर्षामा बर्सादी लगाएर म साइकलसँग हुन्थेँ ।


साइकल म थियो, म साइकल थिएँ

भनेको ठाउँ मलाई पुर्‍याउने मेरो साइकल थियो,

जहाँ गए पनि मलाई फर्काएर

घरसम्म ल्याउने पनि मेरै साइकल थियो,

बा मलाई साइकलको साथी लगाएर ढुक्क हुनुहुन्थ्यो ।


एक दिनको कुरा हो,

मेरो जिन्दगीबाट साइकल हरायो,

बगेर गयो त्यो बाढी आएको खोलामा

जसरी लोभलाग्दा फूलहरु बगेर जान्छन्,

यसरी गयो त्यो कहिल्यै नफर्किने गरी

जसरी ऋण लागेको छिमेकी बस्ती छाडेर जान्छ ।


जिन्दगीको यस मोडमा

आरोहअवरोहको राजमार्गमा

साइकल हराएको यौटा मान्छे

हिँडिरहेछु जब समयको यो अक्करजस्तो डाँडोमा

अक्सर साइकलको याद आउँछ,

त्यसको तस्बिर मेरा आँखामा आइरहन्छ

र, सम्झनाको क्यानभासमा प्रस्ट देखिन्छ—


सिलुएटमा मैले डोर्‍याइरहेको

मेरो साइकल र मेरो आकृति ।

प्रकाशित : मंसिर ६, २०७७ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?