१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

न्यूनवाद : एक आन्दोलन

प्लास्टिक प्रयोग कम होस् भनेर किनमेल गर्दा झोला आफूसँगै लैजाँदैमा, वातावरण उद्योगपतिहरूले नै बिगारेका हुन् भनेर बहस गर्दैमा वातावरणमैत्री बनिने हाेइन रहेछ ।
प्रतीक्षा कट्टेल

हाम्रो घरछेउमा टनेल खेती गर्ने सङ्गीता दिदीले एक दिन भन्नुभयो, ‘केही अनावश्यक कपडा भए दिनु न बहिनी, हाम्रो गाउँकी बहिनी सुत्केरी भएकी छ । लाउने लुगा छैन भन्थी । तपाईं जत्रै छ ऊ पनि ।’

न्यूनवाद : एक आन्दोलन

घर आएँ र कपडाको दराज खोलें । सबै लुगा निकालेर मलाई टाइट भएका केही कुर्ती—लेगिन्ज छुट्याएँ र अरू लुगा पट्याउन बसेँ । जति पट्याए पनि मेलो सर्दैन त ! हुन पनि सात–आठ वर्षदेखिका लुगाहरू दराजको जरैदेखि थाक लागेर बसेका थिए । प्रत्येक बर्खामा बाढीपीडित र हिउँदमा जाडोपीडितलाई छानीछानी पठाउँदासमेत लुगाको थाक एक इन्च घटेको थिएन । कारण महिनामा कम्तीमा दुई–तीनपटक लालच बोकेर बजार चहार्ने एक जोर आँखाबाहेक अरू केही होइन । यतिसम्म भएछ कि केही लुगाले त मेरो शरीरमा पहिरिने पालो कुर्दाकुर्दै तीन–चार वर्षदेखि नै पर्खिरहेका रहेछन् । लाग्यो, कति नाङ्गा आङले लुगा कुरिरहेछन् ! मेरोचाहिँ लुगाले आङ कुरिरहेछन् । लुगाको थाक देखेपछि पहिलोपल्ट मलाई आफैंसँग अप्ठेरो लागेर आयो ।

अङ्ग्रेजी विषय, स्नातकोत्तर सेकेन्ड सेमेस्टरमा एउटा पेपर ‘इन्भाइरोनमेन्टल लिटरेचर एन्ड क्रिटिसिजम’ पढ्दा र पछि विद्यावारिधि गर्दाताका ‘इन्भाइरोन्मेन्टल डिस्कोर्स’ पढ्दै गर्दा विकसित देश र ठूलाठूला कम्पनीहरूले कसरी वातावरण ध्वस्त पार्दै छन् भन्ने जान्न पाएकी थिएँ ।

यसपटक कपडा पट्याउँदै गर्दा आफूजत्रै लुगाको चाङ देखेर आफूले अहिलेसम्म अलिअलि सुनेको–पढेको विषय न्यूनवाद (मिनिमलिजम) को याद ताजा भएर आयो अनि त्यसबारे थप केही जान्ने इच्छा भयो । न्यूनवादका बारेमा, उनीहरूले आफूलाई जीवन निर्वाह गर्न चाहिने केही जोर सामानबाहेक अरू केही पनि किन्दैनन्/राख्दैनन् भन्ने मात्रै थाहा थियो । त्यही क्रममा नेट्फ्लिक्समा ‘मिनिमलिजम : अ डकुमेन्ट्री अबाउट द इम्पोर्टेन्ट थिङ्स’ भन्ने डकुमेन्ट्री भेटेँ । डकुमेन्ट्री हेरेपछि ‘म त मान्छे वातावरणमैत्री नै छु’ भन्ने भ्रमले एक झापु भेट्यो । प्लास्टिक प्रयोग कम होस् भनेर किनमेल गर्दा झोला आफूसँगै लैजाँदैमा, वातावरणचाहिँ यी उद्योगपतिहरूले नै बिगारेका हुन् भनेर बहस गर्दैमा, जलवायु परिवर्तनबारे हरेक नयाँ समाचार पच्छ्याएर मन कुँड्याउँदैमा वातावरणमैत्री नहोइने रहेछ भन्ने यथार्थले पर्दा खोलेपछि ‘म त मान्छे वातावरणमैत्री नै छु’ भन्ने भ्रम लजाएर यसै डल्लो पर्‍यो । किनभने जति कपडा मैले थुपारेकी थिएँ ती मध्ये ८० प्रतिशत मलाई नभए पनि हुने खालका थिए । यसको हिसाबकिताब ठ्याक्कै निकाल्न नसके पनि आफूलाई त्यो कुराको महसुस गर्ने समय दिएँ र ती लुगा पन्छाएर सरक्क एउटा लगेजमा राखेँ । काठमाडौंका केही कपडा बैंकबारे थाहा त थियो । तर, लकडाउनको समयमा त्यहाँ पुग्न सम्भव थिएन । भोलिपल्ट गएर सङ्गीता दिदीलाई भनें, ‘मसँग अझै लुगा छन्, जो मेरा साइजभन्दा साना र ठूला पनि छन् । कसैलाई आवश्यक छ भने भन्नुहोला है ।’

अचेल मेरो दराज जति चिटिक्क छ, त्यति नै मन हल्का छ । औंलामा गन्न पुग्ने लुगा सम्हाल्न घण्टौं छुट्याएर बसिराख्न परेको छैन । त्यो हिसाबले मेरो घडी पनि हल्का छ अचेल ।

न्यूनवाद अहिले अमेरिका, जापान तथा युरोपका धेरैजसो देशमा प्रचलित एक व्यावहारिक आन्दोलन हो, जुन ‘मिनिमलिस्ट मुभमेन्ट’ को नामले चिनिन्छ । यो कुनै निश्चित सत्ता या व्यवस्थाको विरुद्वमा नभएर अहिलेको समयमा चरम विन्दुमा पुगेको उपभोक्तावादी जीवनशैलीको विपक्षमा र व्यक्तिगत सन्तुष्टि अनि स्वस्थ वातावरणको पक्षमा छ । आफूलाई जीवन चलाउन चाहिने आवश्यक सामान, जस्तै : लुगा, जुत्ता, चप्पल, भाँडाकुँडा, फर्निचरलगायतका सामान कमभन्दा कम प्रयोग गर्ने र त्यसबाहेकका सामान छन् भने कुनै संस्था वा चाहिएको व्यक्तिलाई दान दिन, या थ्रिफ्ट सप (सेकेन्ड हेन्ड कपडा र घरायसी सामानलगायतका सामानहरू किनेर बेच्ने र नाफाको पैसा दान गर्ने उद्देश्यले चलाइएको व्यापार) मा बेच्न सकिन्छ । त्यस्तो गर्नुलाई न्यूनवादीहरू डिक्लटर गर्नु भन्छन्, जसको मतलब छाँट्नु : आफूलाई चाहिने मात्र सामान राखेर अरू सामानको अन्तै व्यवस्थापन गर्नुहुन्छ । उनीहरू ‘केही अपवादबाहेक कुनै सामान तपाईं ४५ देखि ९० दिनसम्म पनि प्रयोग गर्नुहुन्न भने त्यो सामान तपाईंको आवश्यकताको होइन’ भन्ने सिद्धान्तमा विश्वास गर्छन् ।

एक अमेरिकन न्यूनवादी जोसुवा बेकर आफ्नो वेबसाइट बिकमिङ मिनिमलिस्ट डटकम मा लेख्छन्, ‘अहिलेको बजारिया संस्कृतिले जति धेरै सामान थुपार्‍यो त्यति राम्रो जीवन हुन्छ भन्ने झूट फैलाएको छ । मानिसको खुसी डिपार्टमेन्ट स्टोरहरूमा किन्न सकिन्छ भन्ने एकदमै गलत भ्रममा विश्वास गराइएको छ ।’ उनको ‘सिम्प्लिफाई : सेभेन गाइडिङ प्रिन्सिपल्स टु हेल्प एनिवान डिक्लटर दियर होम एन्ड लाइफ’ भन्ने किताबमा कसरी अनावश्यक सामानहरू छाँटेर आफ्नो जीवनशैलीलाई सफा र सुन्दर बनाउन सकिन्छ भनेर सातवटा सिद्धान्त लेखेका छन् ।

त्यसैगरी, अमेरिकाको क्यालिफोर्नियामा मारी कोन्डो नामकी एक जना जापानी न्यूनवादी छिन्, जो कोनमारी मिडियाकी सीईओ पनि हुन् । उनी न्यूनवादी व्यवस्थापन परामर्शदाता हुन्, जसलाई डिक्लटर लेडी भनेर चिनिन्छ । उनी आफ्ना किताब र च्यानलको माध्यमबाट मानिसहरूलाई कसरी सामानहरूको व्यवस्थापन गरेर खुसी जीवन बिताउन सकिन्छ भनि सिकाउँछिन् ।

अरू विभिन्न प्रकारका न्यूनवादी आन्दोलन पनि अहिले अमेरिका र युरोपमा प्रचलित छन् । ‘प्रोजेक्ट थर्टी थ्री’ भन्ने एउटा आन्दोलन छ, जसअन्तर्गत तीन महिनासम्म तेत्तीसवटा मात्रै सरसामानको प्रयोग गरेर वस्तुवादी बानीलाई चुनौती दिइन्छ र यही चुनौतीलाई बानीको रूपमा विकास गरिन्छ । त्यसैगरी अमेरिकामा ‘लाइफ एडिटेड’ भन्ने एउटा कम्पनीले साना घर (टाइनी हाउस) हरू डिजाइन गरिदिन्छ । हामीले जति ठूलो घर बनायौँ, कच्चा पदार्थ, उर्वर जमिनलगायत घरमा राख्ने सरसामानको त्यति नै धेरै खपत हुने भएकाले साना घरहरू नै आर्थिक र वातावरणीय हिसाबले उत्तम हुने कुरामा यस कम्पनीका संस्थापक ग्राहम हिल विश्वास गर्छन् ।

यो जीवनशैलीले सबैभन्दा खुसी प्रकृति र वातावरण हुन्छ । अहिलेको जल्दोबल्दो विश्वव्यापी समस्या जलवायु परिवर्तनलाई समेत हाम्रो जीवनशैलीले प्रत्यक्ष असर पारिरहेको छ । कपडाको मात्रै कुरा गर्नुपर्दा अपलिफ्ट भन्ने वेबजिन (वेब म्यागजिन) को एउटा लेखमा सारा रिपरले लेखेअनुसार, हामी २० वर्षभन्दा पहिले जति कपडा किन्थ्यौं त्यसको ४०० प्रतिशत बढी कपडा अहिले किन्छौं । त्यत्रो कपडा उत्पादन हुन कति कच्चा पदार्थ कहाँकहाँबाट जम्मा गर्नुपर्छ, त्यसको प्याकेजिङ र ढुवानी गरेर हामीसम्म आइपुग्न कति ऊर्जा खपत हुन्छ, त्यसले वातावरणमा कति रसायन र ग्यास उत्सर्जन गर्छ अनि हाम्रो वातावराणलाई कति प्रदूषित गर्छ भन्ने कुरा हामी आफैं आकलन गर्न सक्छौं ।

त्यसैगरी, एउटा जिन्सको पाइन्ट बनाउन मात्रै ७,००० लिटर पानी खपत हुन्छ । जिन्स हामीले प्रयोग गर्ने कपडाहरूमा एकदमै धेरै खपत हुने प्रख्यात कपडामध्ये पर्छ । साइन्टिफिक रिपोर्टस भन्ने एउटा जर्नलका अनुसार, अहिले कार्बनडाइअक्साइडको मात्रा २.५ पीपीएम प्रतिवर्षका दरले बढ्दै छ । यसको मतलब सन् २०२५ मा उक्त ग्यासको मात्रा बढेर ३.३ मिलियन वर्षअघिकै तहमा पुग्नेछ, जतिबेला मानव जीवनको सुरुआत नै भएको थिएन । जति धेरै हरित ग्यास उत्सर्जन भयो त्यति नै धेरै पृथ्वीको तापक्रम बढ्छ र अहिले यो क्रम द्रुत गतिमा बढ्दै छ । पृथ्वीको तापक्रम जति बढ्दै छ, समुद्रमा पानीको सतह त्यति नै बढ्दै छ । यसले निकट भविष्यमा निकै विकराल रूप लिँदै छ भनेर वातावरणविद्हरू भन्छन् । जस्तै, सन् २०५० सम्ममा भारतको कोलकाता सहरलगायत विभिन्न ठाउँहरू डुब्ने आकलन वातावरणविद्हरूले गरिसकेका छन् । वर्ल्ड इकोनोमिक फोरमका अनुसार, उत्तरी भागको आर्कटिक क्षेत्रको सबैभन्दा बाक्लो हिउँको समुद्र पग्लिएर अब पाँच प्रतिशत मात्रै बाँकी छ ।

त्यसो त हामीलाई कोरोनाले हाम्रा असीमित इच्छा पूर्ति गर्न सीमित स्रोतसाधन भए पुग्ने रहेछ भन्ने बोध गराइदिएको छ । सम्भवतः यो न्यूनवादको अभ्यास गर्ने उपयुक्त समय हो । कोरोनाका कारण लकडाउनका बखत कति लुगा, भाँडाकुँडा, सरसामान किनिएन र पनि जीवन चलिरहेकै छ । त्यही कारणले त उद्योग, पसलहरू चलेनन् र वातावरणले राहत पायो । अब एक छिन सम्झनुस् त, तपाईंको घरमा ९० दिनसम्म प्रयोगमा नआएका सामान तथा लुगाहरू कति छन्, जसले तपाईं र तपाईंका जस्ता हातहरूलाई पर्खिंदापर्खिंदा मक्किनुपरेको छ, ढुसी या खिया पालेर बस्नुपरेको छ ? अथवा प्रयोगमा नआएरै ठाउँ मात्र ओगटेर बस्नुपरेको छ ? यदि छ भने तपाईंले पनि न्यूनवादको अभ्यास अँगाल्न जरुरी छ । त्यसो गर्न सके हाम्रो वातावरणले भोगिरहेको जटिल समस्या पूर्ण रूपमा सामाधान गर्न नसके पनि त्यसको न्यूनीकरणमा भने ठूलो योगदान पुर्‍याउन सक्छौं ।

प्रकाशित : मंसिर ६, २०७७ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?