कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

चाडबाडको संग्राम शृंखला

संस्कृतिको उत्पादन र विकासलाई बुझ्न तीन ‘कृति’ लाई गाँसेर बुझ्नुपर्ने हुन्छ : प्रकृति, संस्कृति र विकृति । प्रकृतिले दिएका कुराले मात्रै नपुगेपछि मान्छेले जे सुरु गर्छ, त्यो संस्कृति हो । संस्कृतिलाई प्रकृतिको विरुद्ध छाँटकाँट गरियो भने त्यो विकृति हो ।
गनेस पौडेल

पहिलो प्रसंग तिहारको बारेमा होइन ।
तीन वर्षपहिले दक्षिण भारतको लामो भ्रमणमा थिएँ । हामी चढेको मोटरको स्पिकरमा घनाघन मादल घन्किन थाल्यो । बिल्कुल नेपाली झ्याउरे गीतको ‘इन्ट्रो’ सुनेर मैले सोचेँ, क्याब ड्राइभरले हामीलाई नेपाली भनेर चिनेछन् र हाम्रो गीत बजाइदिएछन् । तर, जसै गीतको बोल सुरु भयो म अचम्भित भएँ । त्यहाँ नेपाली होइन उतैको मलयालम गीत बजिरहेको थियो । तर, बिल्कुल नेपाली लय र बान्कीमा ।

चाडबाडको संग्राम शृंखला

भनेपछि यताका लोकगीतमा पनि मादल घन्किदोरहेछ, होइन ? आत्मप्रश्नको जवाफ एउटा सांगीतिक संग्रहालयमा मिल्यो, जहाँ पुराना साजहरू सजाइएका थिए । हाम्रो मादललाई त्यता मृदंगम भन्दा रहेछन् । कुरा संगीतकै मात्रै थिएन । त्यहाँका कतिपय परम्परागत नाच पनि हाम्रैजस्ता चालढालका थिए । नृत्यको चाल मात्रै होइन दक्षिण भारतको भात पनि बिल्कुल नेपाली स्वादकै थियो । खाने पनि हातैले मुछेर, (हामीतिर किरियापुत्रीले मात्रै खाने भए पनि) त्यो पनि केराको पातमा ।

होटलमा फर्केपछि मानवशास्त्री सुरेश ढकाललाई फोनमा सोधेँ, ‘के हामी पहाडी नेपाली र दक्षिण भारतीयका बीचमा कुनै ऐतिहासिक सम्बन्ध छ, भन्नाले पुर्ख्यौली सम्बन्ध छ ?’ उनले त्यसको सम्भावना नभएको बताउँदै स्वाद र संगीत अथवा कुनै सांस्कृतिक सम्पदाको समानता अरू धेरै कारणले पनि देखिन सक्छ भनिदिए । संस्कृतिको समकालीन उत्पत्ति, विकास र प्रसारणका अनेक सम्भावना पो हुँदा रहेछन् ।

घर फर्केपछि पनि मलाई दक्षिण भारतीयसँगको हाम्रो सांस्कृतिक (स्वाद र सांगीतको) समानताको चक्करले छोडेन । यसका बारे लेखिएका सामग्री खोज्न थालेँ । अनलाइन पुस्तकालय चहारेँ । र फेला पारेँ, कहिलेकाहीँ भौगोलिक, जातीय वा भाषिक रूपमा भिन्न समाजमा पनि एकै समयमा एउटै सांस्कृतिक सम्पदा उत्पन्न हुन सक्दारहेछन् । सांस्कृतिक मात्रै नभएर वैज्ञानिक आविष्कारै पनि हुन सक्दा रहेछन् । जस्तो कि हेर्नुस्, कोलम्बस अमेरिका पुग्दा उनले त्यहाँका आदिवासी रेड इन्डियनहरूले डुंगा चलाइरहेको देखेका थिए । अब आफैँ भन्नुस्, डुंगाको आविष्कारक कसलाई भन्ने ? कुन जाति वा व्यक्तिले पहिलो डुंगा बनायो भनेर तथ्य राख्ने ? यस्ता समकालीन र समतुल्य आविष्कार र उत्पादनको प्रतिलिपि अधिकार कसलाई हस्ते गर्ने ?

अझ कुरा अर्कै छ । म गीत, संगीत र नृत्यकै कुरामा फर्किन्छु । तपाईं–हामीले वास्तै नगरेको एउटा तथ्यमा एक छिन गम्नुस् । संसारभरका हिमप्रदेश (अल्पाइन रिजन) का गीत, बाजागाजा र नृत्यलाई ध्यानपूर्वक हेर्नुस् (सजिलोका लागि हाम्रै हिमाली क्षेत्रका जनजातिका नृत्य सम्झिनुस्) । उनीहरू कहिल्यै एक्लै नाच्दैनन् । समूहमा नाच्छन् । त्यो पनि एकअर्काको हात वा कम्मर पक्रेर । नाचमा हात होइन बढी खुट्टा चलाउँछन् । नृत्यको ताल पनि एकनासको र धीमा गतिको हुन्छ । सबैले एकसाथ दाहिने खुट्टा उचाल्यो अनि भुइँमा राख्यो । त्यसपछि देब्रे खुट्टा उचाल्यो अनि भुइँमा राख्यो । सकेसम्म गोलाकार भएर हलुका चालले फन्को मार्दै नृत्य सम्पन्न गर्‍यो ।

संसारभरका शीतक्षेत्रमा एकसमानको चालढालमा किन नाचिन्छ होला ? त्यस्तो संगीत र नृत्यको आविष्कार कुनै जाति, भाषा वा धर्मविशेषको कारणले नभएर भौगोलिक र प्राकृतिक कारणले भएको हो । हावाहुरी चलिरहने, हिउँ परिरहने यस्ता क्षेत्रमा एक्लै हिँड्न प्रायः सम्भव हुँदैन । हिँडिहाले ज्यान जाने खतरा रहन्छ । बाक्लो कपडा लगाएर एकले अर्काको साथ दिँदै सुस्तसुस्त चालमा हिँड्नु यहाँको भौगोलिक आवश्यकता हो । प्रकृतिले सुम्पेको यही आवश्यकताले नै यहाँको नृत्यको आविष्कार भएको हो ।

अब हिमालबाट अलिक तल पहाडमा ओर्लिनुस् । यहाँ एकल, दोकल वा सामूहिक सबै खाले नाच हुन्छन् । तर, संगीतको गति हिमालमा जस्तो धीमा हुँदैन । एकअर्कालाई (पूरै समय) नछोडीकन च्याप्प समातेर वा सम्हालेर नाच्ने पनि हुँदैन । मादलको घन्काइसँगै फन्फनी घुम्ने, बुरुक्क उफ्रिने, खुरुर्र कुद्ने नेपालका सबैखाले पहाडी नाचको समान विशेषता हो । नेपाल मात्रै नभएर संसारभरका पहाडी नाचमा उस्तै चालढालले फुर्तीसाथ किन नाचिन्छ ? कारण उही प्राकृतिक र भौगोलिक अवस्थाले हो । हाम्रैमा हेर्नुस् । पहाडका छरिता खोला तर्न होस् वा उच्चाल भीर उक्लिन होस् । वा कुनै टारीको एउटा आलीबाट बाख्रा खेद्दै अर्कोमा हाम्फालेर कुद्न नै किन नहोस् कसैको हात वा कम्मर समातेर फत्ते गर्न सम्भवै हुँदैन । पहाडले एउटा छरितो गति माग्छ । त्यो पनि एकल प्रयासको ।

अब तराईमा ओर्लिनुस् र त्यहाँका परम्परागत नाचलाई हेर्नुस् । पहाडमा जस्तो एकल नृत्य छैन । तर, हात वा कम्मर समातेर पनि नाचिन्नँ । संगीतको आवाज पनि चर्को चर्को छ । भाला, लाठीको प्रयोग छ । नाचमा आगोसमेत मिसिएको छ । त्यस्तो कसरी भयो ? कारण उस्तै छ । घना जंगलका बीचमा झुप्पा–झुप्पा गाउँमा बसोबास गर्ने जनजातिलाई जहिल्यै जंगली जनावरबाट आफू जोगिने अनि आफ्ना वस्तुभाउ तथा खेती जोगाउने सुर्ता भइरहने भयो । जंगली जनावरलाई तर्साएर खेद्न यस्ता ठूल्ठूला, तिखा र कर्कश आवाज निकाल्ने वाद्ययन्त्र चाहिए । लाठा–भाला चाहिए । आगोको प्रयोग अनिवार्यजस्तै भयो ।

गीत, संगीत र नृत्य मात्रै नभएर हाम्रा अन्य सांस्कृतिक सम्पदाको निर्माण र विकासमा पनि खासमा प्रकृतिले प्रभाव पारेको हुन्छ । खाने कुराको स्वाद, लगाउने पोसाक, बनाउने घर, चिन्ने चोक र चौतारामा पनि यसैको प्रभाव हुन्छ ।

दोस्रो प्रसंग तिहारको बारेमा हो ।

नेपालमा लामो समयदेखि ‘तिहार कसरी सुरु भयो ?’ भन्ने विषयमा लामो बहस चलेको छ । जातीय पहिचानको बहसको छेकोमा दसैँ र तिहारजस्ता चाडबाडहरू कतिले मनाउनै छोडेका छन् भने कतिले यस (तिहार) लाई हिन्दुकरण गरिएको निश्चित जनजातिको चाडबाड भएको अर्थमा व्याख्या पनि गरेका छन् । तिनको छिनोफानो गर्ने विज्ञता र सक्यता ममा छैन । इतिहास, संस्कृति र मानवशास्त्रका विज्ञहरूले यसका बारेमा बढी सामर्थ्य राख्लान् ।

इतिहासले ठूला राज्य भनेर बढाइँ गरेको भए पनि खासमा हाम्रा पहाडी राज्यहरू त्यस्ता ठूला थिएनन् । प्रशासनिक केन्द्र रहने दरबारदेखि एक दिनको पैदलयात्रा वा घोड–सवारीमा छिचोलिने क्षेत्रभित्रै हिजोका पहाडी राज्यहरू फैलिएका थिए । हाराहारीमा भन्दा अहिलेका एक जिल्ला बराबर एक राज्य थिए । राज्यका सीमाहरू वैज्ञानिक थिएनन् र स्थायी पनि थिएनन् ।

जति धेरै राज्य उति धेरै अन्तरद्वन्द्व, उति धेरै असुरक्षा, उति धेरै युद्ध ।

नेपालका पहाडी चाडबाडलाई युद्धको पृष्ठभूमिबाट अवलोकन गर्ने प्रयास यो आलेखको हो । उसो त हिन्दुहरूले मनाउने अधिकांश चाडबाडको पृष्ठभूमि युद्ध नै छ । राम, कृष्ण र विष्णुका अन्य अवतारले अरू कुनै आसुरिक प्रतिद्वन्द्वीमाथि गरेको विजयको सन्दर्भमा चाडबाड मनाउन थालिएका व्याख्या भएकै छन् । तर, ती युद्धलाई समकालीन समाजमा हुने युद्धसँग तौलेर अध्ययन गरियो भने संस्कृतिको उत्पादन, प्रशारण र वितरणमात्रै होइन, त्यसको मनाई (प्रस्तृति) मा हुने भौगोलिक विविधताको कोणबाट बुझ्न अझ मद्दत पुग्छ ।

देउसी–भैलोका टोलीहरू राज्यबाट खटाइएका हुन्थे । त्यसैले ‘बलि राजाले पठाएको’ भनिएकाे हो । उहिले हरिबोधिनी एकादशीको दिनसम्म देउसी–भैलो खेलिन्थ्यो । तर, तिहार सकिएपछिको देउसी–भैलो घरघरमा नभएर खेत–खलामा गएर खेलिन्थ्यो ।तिहारपछिको दान खलेगह्रामा थुपारिएको अन्नको नयाँ रासबाट झिकेर दिइन्थ्यो ।

विशेष कारण र अपवादलाई बेवास्ता गर्ने हो भने तिनताकाका अधिकांश युद्धहरू हिउँदमा हुन्थे । आउँदो हिउँदमा हुने वा हुन सक्ने युद्धको छायामा हाम्रा अधिकांश ठूला चाडबाडहरू मनाइएका हुन् । त्यसको सुरुआत तीजबाट हुन्थ्यो । ऋषिपञ्चमी अन्यत्र पनि मनाइएला तर तीज मनाइने नेपालमा मात्रै हो । मुख्य बाली धान रोपिसकी थकाई मारेर बसेको बेला पर्छ तीज । हिउँदको सम्भावित युद्धमा मरिने वा बाँचिने पक्को नभएपछि पुरुष सदस्यहरूले विवाहपछि परिवारबाट छुटेका महिला सदस्यलाई बोलाएर भेटघाट गर्ने र दुःखसुख साट्ने काम तीजमा हुन्छ । उता जन्मघर आएका विवाहित महिला सदस्यले कर्मघरमा छोडिआएको लोग्नेको दीर्घायुका लागि व्रत बस्नाको कारण पनि त्यही हो । (महिनावारी सुरु नहुँदै बिहे गरिने तत्कालीन चलनलाई मध्यनजर गर्दा) महिनाबारी भएका महिलाले मात्रै तीजको व्रत लिनुपर्ने भन्नुको अर्थ बिहे गरेका महिलाले मात्रै तीजको व्रत लिन्थे भनेर बुझ्नुपर्छ । पछि व्रतको अर्थ फेरियो र अविवाहित महिलाका लागि पनि त्यसलाई अनिवार्य गर्न थालियो । यस्तै महिनाबारी बन्द भएपछि पतिको दीर्घायु–व्रत लिनु पर्दैन भन्नुको अर्थ त्यो बेलासम्म महिलाको लोग्ने बूढो भइसक्ने र बृद्ध सदस्यहरूलाई युद्ध नलाग्ने कारणबाट बुझ्न सकिन्छ ।

तीजपछि लाग्छ १६ श्राद्ध, जसमा युद्धमा दिवंगत भएका आफ्ना पुर्खाहरूलाई सम्झिइन्थ्यो । श्राद्ध भनेको श्रद्धा न हो । त्यो १६ दिनमा उनीहरूलाई श्रद्धाञ्जली दिइन्थ्यो । कालगतिले बितेका पुर्खालाई सामान्य तिथिमा श्रद्धाञ्जली दिइन्थ्यो भने युद्धमा वा अकालमा बितेकालाई १६ श्राद्धमा । अहिले सबैखाले पुर्खालाई दुइटै श्राद्ध गर्ने चलन बसेको छ ।

१६ श्राद्ध लगत्तै शक्तिपूजा अर्थात् बडा दसैँ सुरु हुन्छ । व्याख्यामा युद्ध विजयको पर्व भनिए पनि खासमा बडादसैँ युद्ध तयारीको चाड हो । त्यसका लागि हातहतियारको जोहो गर्ने, तिनमा सान लगाउने, तिनको पूजा गर्ने आदि काम हुन्थ्यो । राज्यका सैनिक र प्रशासनिक सेवामा पजनी गर्ने काम यसै बेला हुन्थ्यो । युद्धको तालिम गर्ने, पौष्टिक आहार खाएर हृष्टपुष्ट हुने बेला पनि त्यही थियो । वृद्ध सदस्यसँग विजयको आशीर्वाद त्यसै मागिएको होइन ।

घटस्थापनादेखि तिहारको अघिल्लो दिनसम्म युद्धका अधिकांश तालिमहरू सकिन्थेँ । मुख्य बाली धान भित्र्याउन योग्य हुने तरखरमा रहन्थ्यो तर अघिल्लो वर्षको जगेडा अन्नपात अझै भकारीमै हुन्थ्यो । बारीको काट्नयोग्य अन्न र भकारीमा जगेडा अन्नको मूल्याङ्कनका आधारमा परिवारले आउने वर्ष खर्चिने खान्कीको हिसाबकिताब हुन्थ्यो । अर्को वर्षका लागि यतिसम्म चाहिएला भनी अनुमान गरी जगेडा देखिने सम्पत्तिलाई प्रयोग गरिने चाड भएको हुनाले नै तिहारलाई धनलक्ष्मीको चाड भनिएको हो । यही अतिरिक्त बच्ने मूल्याङ्कन गरिएको अन्नपातलाई दुई भाग लगाइन्थ्यो— जुवा तास खेल्ने र देउसी–भैलोमा दान गर्ने । देउसी–भैलोका टोलीहरू राज्यबाट खटाइएका हुन्थे । ‘बलि राजाले पठाएको’ भनेको त्यही हो । हामी सानो छँदासम्म काग तिहार र कुकुर तिहारको दिनमा भैली खेल्ने चलन थिएन । अन्तिमका तीन दिनमध्ये तेस्रो दिन भैली खेलिन्थ्यो भने चौथो र पाँचौं दिन देउसी । आजकाल गाउँका सबै घरमा खेल्न नभ्याएपछि तिहारका पाँचै दिनले समेत नपुगेर छैटौँ, सातौँ वा अझै बढी दिनसम्म पनि (सामाजिक कामको लागि आँटिएका) देउसी खेल्ने गरिन्छ । कतिपयले तिहारपछि किन भैलो खेलेको भनेर आलोचना पनि गर्छन् । तर, उहिले त झन् हरिबोधिनी एकादशीको दिनसम्म देउसी–भैलो खेलिन्थ्यो । तर, तिहार सकिएपछिको देउसी–भैलो घरघरमा नभएर खेत–खलामा गएर खेलिन्थ्यो । तिहारका ५ दिनभित्रको भैलीदान अघिल्लो वर्षको अन्नबाट दिइन्थ्यो भने तिहारपछिको दान खलेगह्रामा थुपारिएको अन्नको नयाँ रासबाट झिकेर दिइन्थ्यो ।

हरिबोधिनी एकादशीलाई फुल तार्ने एकादशी पनि भनिन्छ । फुल तार्नु भनेको खोला तर्न योग्य भयो भनेर निर्क्योल गर्नु हो । हेलिएर तर्नयोग्य नभएको खोलालाई डोरी (अहिलेको तुइनझैँ) को माध्यमबाट तर्न योग्य बनाउनु हो । त्यसपछि खोला तरेर पराई देशमा आक्रमण गर्न जाने साइत आउने भयो ।

तिहारको बेलामा आफ्ना दाजुभाइलाई झट्टै नसड्ने सुख्खा फलफूल, तेलमा तारिएका सेलरोटीलगायतका पोषिला परिकार त्यसै दिइएको होइन । तिहारमा दाजुभाइको पूजा गरेमा उनीहरूको दीर्घायु हुन्छ भन्ने अर्थ यहीँ निहित हुन्छ । दाजुभाइलाई यस्ता मिष्ठान्न उपहार त्यही दिनमै खान भनेर दिइएका होइनन् । भोलि युद्धमा छँदा भाइ भोकै पर्ला भनेर जगेडा राख्न दिइएका हुन् ।

हिउँदभरिको युद्ध सकिएपछि सिपाहीहरू चैतमा घर फर्किन्थे । हार्नेहरू या त मारिन्थे या त दासदासी बनाइन्थे । घर फर्किने भनेको जित्ने सिपाही नै हो । यसरी विजय उल्लासमा घर फर्केको सिपाहीको स्वागतार्थ चैतेदसैं अर्थात् रामनवमी मनाइएको हो । खासमा भन्ने हो भने चैतेदसैं मात्रै विजयादशमी हो । बडादसैँ भनेको युद्ध तयारीको चाड हो ।

तेस्रो प्रसंग नेपालका पहाडमा हिन्दुहरूले मनाउने चाडबाड किन भारत वा अन्य ठाउँका हिन्दुहरूले मनाउने चाडभन्दा फरक भए वा फरक तरिकाले मनाइए भन्नेबारेमा छ ।

नेपालका धेरै इतिहासकार र संस्कृतिविद्हरूले चाडबाड, मेला, जात्रा आदिलाई कुनै अमुक राजाले चलाएको चलनका रूपमा व्याख्या गर्छन् । जनश्रुति पनि त्यसरी नै बनेका वा बनाइएका हुन्छन् । यो हास्यास्पद र अल्छे व्याख्या हो, जसका लागि कुनै अनुसन्धानको आवश्यकतै पर्दैन । सयौँ वा हजारौँ वर्षदेखि चलेका यस्ता चाडबाड–जात्रा–पर्वहरू कुनै सानो देशको एउटा शासकको उर्दीका भरमा चलेका हुन् भन्ने कुरामा कम्तीमा म त विश्वास गर्दिनँ । चल्थ्यो भने आफूलाई सर्वशक्तिमान् सम्झने संसारका हरेका शासकले त्यसो गर्दा हुन् । हाम्रा प्रधानमन्त्री केपी ओली त झन् आफ्नो नामको जात्रा चलाउन उहिल्यै कम्मर कस्दा हुन् ।

कुनै राजाले दिएको उर्दीका भरमा त्यो देश मात्रै नभएर सारा छिमेकी (सम्भवतः शत्रु) मुलुकभर कुनै चाड मनाउने चलन चल्यो भन्नु कदाचित वैज्ञानिक व्याख्या होइन । त्यस्तो हुन्थ्यो भने शासकले चलाउने यस्ता चलन शासकको राजनीतिक सीमाबाहिरका क्षेत्रमा पनि किन स्थापित हुन्थ्यो ? हामीले चाडबाडहरूको उत्पत्ति र विकासका बारेमा नयाँ वैज्ञानिक विधिबाट सोच्ने सकेनौँ भने यो गल्ती गरिरहनेछौँ । मलाई के लाग्छ भने यस्ता सांस्कृतिक सम्पदाको सामाजिक, आर्थिक, लैङ्गिक, मानवशास्त्रीय व्याख्या हुनु जरुरी छ । अझ जरुरी छ त्यस्ता सम्पदा चलनकै रूपमा स्थापित गरिन आवश्यक ठानिनुको भौगोलिक र प्राकृतिक कारण खोज्न ।

मैले पहिलो प्रसंगमा हिमाल, पहाड र तपाईंका नाचको ताल–चाल–ढालमाथि प्राकृतिक व्याख्या यसैले गरेको हुँ ।

चाडबाड मनाउन चाहिने यस्तै भौगोलिक र प्राकृतिक कारणले गर्दा नै एउटै धर्मका एउटै चाड पनि सबै ठाउँमा मनाइँदैनन् । कम्तीमा उही तरिका र अर्थले मनाइँदैनन् । मुम्बईमा ‘दिवाली’ का दिन एउटा प्रेमीले आफ्नी प्रेमिकालाई ‘ह्याप्पी दिवाली’ भन्दै प्रेम प्रस्ताव राख्न सक्छ । तर, के हामीले ‘तिहारको शुभकामना’ भनेर आफ्नो प्रेमी वा प्रेमिकालाई प्रेमपत्र थमाउन सक्छौं त ? यस्तो फरक कसरी भयो त ?

किनभने हाम्रा सांस्कृतिक पर्वले धर्म अर्थात् मिथक (कथा) को आडेस लागेको मात्रै हो । खासमा संस्कृतिको उत्पादन र विकासलाई बुझ्न तीन ‘कृति’ लाई गाँसेर बुझ्नुपर्ने हुन्छ : प्रकृति, संस्कृति र विकृति । प्रकृतिले दिएका कुराले मात्रै नपुगेपछि मान्छेले जे सुरु गर्छ, त्यो संस्कृति हो । संस्कृतिलाई प्रकृतिको विरुद्ध छाँटकाँट गरियो भने त्यो विकृति हो (किनकि संस्कृतिको निर्धारण प्रकृतिले गरेको हुन्छ ।)

जंगली खाद्यान्नले नपुगेपछि, जंगली जनावरको सिकारले नधानेपछि कृषि संस्कृति सुरु भयो । यसरी संस्कृतिका अनेकन आयाम बने । भाषा, वेशभूषा, आहार, निवास, जीवनशैली, कला, गीत, संगीत, नृत्य, साहित्य, धर्म, चाडबाड, जात्रा, मेला, पर्व... ।

हिन्दुइतरका नेपालका पहाडी जनजातिहरू कृषि संस्कृतिका उपासक हुन् । उनीहरूका चाडबाड, पर्व, जात्रा, मेला, गीत–संगीत, नृत्य आदि सबै कृषिसापेक्ष उत्सव हुन् । कृषि उत्पादनमा फरक पार्ने ऋतु परिवर्तन, मौसम, वर्षा, खडेरी आदिको प्रभावका आधारमा उनीहरूका धार्मिक विश्वास र अन्धविश्वासको निर्माण भएको छ । जीवनशैली बनेको छ ।

तर हिन्दुहरूको संस्कृति युद्ध संस्कृति हो । हिन्दुका सबै चाडबाडहरू मनाउन पर्नुका कारण स्वरूप सदैव एउटा युद्ध, लडाइँ वा संग्रामको पृष्ठमूमि छ । राम, कृष्ण, वामनलगायत विष्णुका अनेक अवतार, महादेव वा दुर्गा आदिले जितेका लडाइँको स्मृतिमा हिन्दुका चाडबाडहरू मनाइएका छन् ।

नेपालका खसहरूको हिन्दुकरण भएपछि (यसो भन्नेहरू पनि भएकाले) होस् अथवा नेपालमा हिन्दुहरूको प्रवेश भएपछि होस् (यसो भन्नेहरू पनि भएकाले) वा नेपालमा हिन्दु र प्रकृतिपूजक गैरहिन्दुले एकैसाथ बास बसेपछि (यसो भन्नेहरू पनि हुन सक्ने भएकाले) युद्ध संस्कृतिका उपासक हिन्दुहरूको घुलमिल यहाँका आदिवासी प्रकृतिपूजकहरूसँग भयो । युद्ध संस्कृति र कृषि संस्कृतिको अन्तरद्वन्द्व, संवाद र सहमतिका आधारमा नेपाली पहाडमा नयाँ संस्कृतिको निर्माण भएको हो । किनकि प्रकृतिलाई अपहेलना गर्ने हिम्मत कसैलाई हुँदैन । यहाँका हिन्दुका चाडबाडहरू आदिवासीका प्राकृतिक चाडबाडसँग मिसिए, घुले । यसरी घुल्दा दुवैतर्फ केही नयाँ चाडबाड निस्किए वा भनौँ चाडबाड मनाउने नयाँ तरिका निस्किए । नभए भारतीय हिन्दुले ‘दिवाली’ मा नखेल्ने भैलो नेपाली हिन्दुले किन खेल्थे ? दसैँमा अक्षता र जमरा किन लगाउँथे ? गोठ र खर्कपूजा किन चल्थ्यो ? लुतो किन फालिन्थ्यो ? धानको पहिलो पुला हिमाललाई किन चढ्थ्यो ? गाउँको पुछारमा झाँक्रीको थान किन बसालिन्थ्यो ? हरेलो किन हालिन्थ्यो ? साउने–पुसे–माघे संक्रान्ति, असार १५, किन मनाइन्थ्यो ?

जसरी नेपालका गैरहिन्दु प्रकृतिपूजकमाथि हिन्दु धर्मको प्रभाव पर्‍यो, उसै गरी यहाँका हिन्दुमा प्रकृति पूजकहरूको पनि प्रभाव परेको छ । नेपालका (त्यसमा पनि पहाडी) हिन्दुहरू प्रकृतिपूजक हिन्दु भएका छन् । प्रकृतिपूजकहरू भने हिन्दु प्रकृतिपूजक भएका छन् । यसको अनुपात र विस्तृतिमा भने अवश्य फरक छ । यहाँ यतिखेर संस्कृतिलाई धर्मसँग जोड्ने शासकीय यत्न, हिन्दु धार्मिक शासकहरूको ऐतिहासिक वर्चस्व र तिनले लादेको धार्मिक एकलौटीपनका कारणले हाम्रो सांस्कृतिक अन्तरघुलनमा परेको/पारिएको अप्राकृतिक प्रभाव र त्यसले जन्माएको अल्पसंख्यक जातिको सांस्कृतिक र धार्मिक पहिचानमाथिको अपमानको जालोलाई बिर्सनु भने अवश्य हुँदैन ।

त्यसो त अहिले संस्कृति कम विकृति ज्यादा चल्तीमा छ ।

प्रकाशित : कार्तिक २९, २०७७ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?