२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

सर्वहारीको बाँच्ने उपक्रम

सुरक्षाप्रति सधैं संवेदनशील हुने, आहारा पाइने क्षेत्र छिटो पत्ता लगाएर नपाएसम्म निरन्तर प्रयास गरिरहने कागका बानी हामीलाई कर्कश लाग्ने आवाजभन्दा बढी महत्त्वका छन् ।
भीम घिमिरे

सर्वत्र सजिलै देखिने, कर्कश आवाजले कराउने भएकाले काग सर्वसाधारणको चासोको चरोमा पर्दैन । चरा मन पराउनेले पनि उति धेरै काग मन पराउँदैनन् ।

सर्वहारीको बाँच्ने उपक्रम

बर्सेनि तिहारको पहिलो दिन आओस्, खाओस् भनेर खानेकुरा मन्साउन खोजी गर्नेबाहेक कागबारे हामी कथा हाल्छौं । मनैबाट भने वरपर देख्न नपाए पनि हुन्थ्यो भन्ने ठान्छौं । तराईको होचा ठाउँदेखि पहाडी र हिमाली उच्च भूभाग, जहाँसम्म मान्छेका बस्ती छन्, काग भेटिन्छन् । यसको अस्तित्व अरू चराजस्तो संकटमा छैन । यसको कारण सिकार खेल्नेहरूले नमार्ने चरा भएकाले भने होइन । यसले आफू कसरी बाँच्ने भन्ने जानेको हुन्छ । वातावरणमा अनुकूलता झट्ट ठम्याउने मामिलामा यो चरो चलाख मात्रै होइन अरू पन्छीका तुलनामा सिकाइ क्षमता अद्भुत रहेमध्येको हो ।

‘लाइभ साइन्स’ मा प्रकाशित अनुसन्धानात्मक एक रिपोर्टका अनुसार, संसारभर काग ४० प्रजातिका पाइएको रेकर्ड छ । अर्न्टाटिकाबाहेक संसारका सबै भूभागमा बाँच्न सक्ने यो चराका प्रजाति भूगोलअनुसार फरक फरक भेटिएका छन् ।

मानव सभ्यताको विकाससँगै कागहरू मान्छेकै बस्ती वरपर छन् । सजिलै आहारा पाइने भएकाले उनीहरूले मान्छेको बसोबास क्षेत्र नछाडेका हुन् । तर, यसको गुँड अरू मसिना चराहरूजस्तो मिहिनेतपूर्वक बनाइएको हुँदैन । सिकारी चरा चिल, बाजहरू, मान्छेका बस्ती आसपास बस्न रुचाउने ढुकुरका प्रजातिजस्तै कागले छेस्काछेस्की समेटेर गुँड बनाउँछ । धेरैपटक कागका जोडीलाई कोइलीले छक्याउँछन् । कागको ध्यान अन्तै मोडेर गुँडमा कोइलीले आफ्नो अण्डा छाड्छन् । आफ्नासँगै कोइलीका बचेरा हुर्काउँदै जाँदा वयस्क हुन लागेपछि मात्रै कागले थाहा पाउँछन् ।

अनुसन्धानहरूले काग सामाजिक प्राणी भएको पुष्टि गरेको छ । यसले एकअर्कालाई हेरविचार गर्छ । जोखिमका अवस्थाको सूचना छिटो दिएर सतर्क गराउँछ । समस्या पर्दा समूहमा जुट्ने बानी हुन्छ । विशेषतः मरेका जीव खाने कागले वातावरणीय प्रदूषण कम गराउन भूमिका खेल्छ । एउटा वयस्क कागलाई एक दिनमा ११ औंस तौल बराबरको आहारा चाहिन्छ । परेवाको आकारका कागलाई पश्चिमी मुलुकमा रेभेन भनिन्छ । यसले २५० थरीका आवाज निकाल्न सक्छ । एउटै जोडीसँग जीवन बिताउँछ । कागमध्ये अरूलाई मार्ने पनि ज्यानमारा समूह हुन्छ, जसले घाइते र बूढा भएकाहरूलाई ठुँगेर मार्छन् ।

सहरी क्षेत्रमा कतिपय प्रजातिका काग बढीमा तीन वर्ष बाँचेको पाइएका छन् तर जीवशास्त्रीहरूको अनुसन्धानले यसको आयु २० वर्षसम्म भएको भेटेका छन् । सामान्यतः खानकै लागि सिकार गरिने पन्छीमा काग पर्दैन । तर, यसले अरू चरालाई दुःख दिने, अण्डा र बचेरा खाइदिने भएकाले त्यस्ता ठाउँमा काग धपाउने उपाय लगाइएका हुन्छन् ।

कागले रुचाउने आहारामा मांसाहार नै प्रमुख हो तर, यसले सबैथोक खान्छ । त्यसैले कागलाई सर्वहारी पनि भनिन्छ ।

...

ललितपुरको सानेपा क्षेत्रमा घरकाग (हाउस क्रो) का चुच्चोको माथिल्लो भाग केही लामो देखेपछि प्राणीशास्त्रका विद्यार्थी मीनबहादुर गुरुङलाई अनौठो लाग्यो । उनले केही दिन पछ्याए । यसको कारण खोजी गरे । ‘आहारामा बढि भएको प्रोटिनको मात्राले त्यस्तो हुँदो रहेछ भन्ने ठहर गरियो । त्यस्तो समस्या धेरैवटालाई भने थिएन,’ चार वर्षअघिको आफ्नो अध्ययनबारे उनले भने, ‘म अहिले सोलुको फाप्लुमा पढाउने काम गर्दै छु । यहाँ पनि फाट्टफुट्ट त्यस्ता काग देख्दै छु ।’

कागको चुच्चो बलियो हुन्छ । यसले उसलाई बाँच्न सजिलो पारेको हुन्छ । ‘चरिको धन चुच्चो भन्ने भनाइ नै छ तर, चुच्चाको आकार समान भएन भने उसले खानेकुरा खान, सिकार गर्न गाह्रो पर्छ । त्यसैले मलाई साइज नमिलेका चुच्चो भएको काग देखेर अनौठो लागेको थियो,’ उनले भने, ‘तैपनि उनीहरू बाँचेकै देखियो । साइज नमिलेका चुचा भएका चरा तुलनात्मक रूपमा अरूभन्दा कम आहारा भेट्नेमा पर्छन् ।’

...

हेल्म फिल्ड गाइड्स्को ‘नेपालका चराहरू’ पुस्तकले नेपालमा पाइएका कर्भस प्रजातिमध्ये घर, कालो र राजा गरेर तीन प्रकारका काग पाइने उल्लेख गरेको छ । टाउको र पखेटा कालो, जीउको बीच भागमा खरानी रङ हुने घरकाग हो । यो समुद्र सतहदेखि १ हजार ५ सय २५ मिटर उचाइसम्मका भूभागमा पाइन्छ । कालो २१ सय मिटर र राजा काग ३५ सयदेखि ५ हजार मिटरसम्मका भूभागमा पाइने पुस्तकमा उल्लेख छ । लाचरज बिल्ड क्रो भनिने काला काग निक्खर काला र आवाज घरकागका तुलनामा आकारमा केही ठूलो र बढी कर्कश हुन्छ । लेकाली क्षेत्रमा पाइने राजा काग यी दुई प्रजातिका तुलनामा आकारमा केही ठूलो मात्रै हुँदैन, आवाज पनि केही फरक हुन्छ ।

कागका सबै प्रजाति वातावरणीय अनुकूलनमा दक्षमात्रै नभई आफ्नो आहारा पाइने क्षेत्र पहिल्याउन छिटो हुन्छन् । सुरक्षाप्रति संवेदनशील र आसपासको क्षेत्रलाई तुरुन्त सतर्क गराउने बानी हुन्छ ।

प्रकाशित : कार्तिक २९, २०७७ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?