विस्मृति कथनमा ख्याक- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विस्मृति कथनमा ख्याक

नेवार वास्तुविद्का अनुसार नाग, कंकाल, बेताल र ख्याक घरका रक्षक हुन् । सहरमा तीसको दशकसम्मै ख्याकका आख्यानहरू यत्रतत्र सुनिन्थे । तर, आज कंक्रिटका भौतिक संरचनाको जंगल बन्दै गएको उपत्यकाभित्र ख्याकहरू श्रुति र स्मृतिमा पनि रहेनन्, केवल विस्मृतिका कथनका सीमित छन् ।
मल्ल के. सुन्दर

क्षेत्रपाटीको जुद्धोदय पब्लिक हाइस्कुलको कम्पाउन्डसँगै पूर्वमा उत्तरतिर लाग्ने एउटा सानो बाटो थियो । दुवैतिर खुला खेत, किनारामा नीलकाँडाका झाडीले ढाकेको, सुनसान, खासै चहलपहल नभएको, बटुवाका दिसा–पिसाबले रछ्यानसरह बनेको दुर्गन्धित ठाउँ । त्यस ठाउँको नाम थियो— चलचा गल्ली !

‘...गएको रात त्यसै गल्लीमा घम्साघम्सी परेको रहेछ । एकले अर्कोलाई पछार्ने, लछार्ने, घिसार्ने ! निकै लामो समयसम्म भिडन्त पर्‍यो । निष्पट्ट अँध्यारो, केही देखिन्न । तर, बाटोमा एक जना अगाडि बढ्न खोज्ने, अर्कोले बाटो छेकेर पाइला चाल्नै नदिने । दुवै जना आ–आफ्ना पाखुरा सुर्कंदै प्रतिद्वन्द्वीलाई माटो चखाउने सुरमा थिए । ठेलमठेल, पेलमपेलमा निकै समय बित्यो । भाले बास्यो, झिसमिसे हुनै लाग्दा एकले अर्कोलाई पछार्‍यो । मिर्मिरे उज्यालोमा दुवैले एकअर्काको जीउडालको खाका देखे, अनुहार देखे । दुवैले दुवैलाई चिने । भिडन्तमा पछारिने त ख्याक पो रहेछ । आखिर हार मानेर ख्याक त्यहाँबाट सुइँकुच्चा ठोक्यो । ख्याकसँग जुध्ने मान्छे बल्ल आफ्नो बाटो लाग्यो ।’

सहरभरि चर्चा भयो— गएको राति चलचा गल्लीमा ख्याकलाई पछार्ने अरू कोही थिएन, चाक्सीबारी निवासी हीराकाजी थियो । हीराकाजी अर्थात् गणेशमान सिंह !

भद्रगोल जेलको पर्खाल नाघेर भागेदेखि गणेशमानको साहस, कारनामा र बहादुरीका अनेकन कथा त्यतिबेला मान्छेहरूका माझ चर्चित थिए । बिस्तारै ती कथा मिथक बन्दै थिए । तीमध्ये एक कथा थियो— ख्याकसँगको भिडन्त । तर, आजसम्म कसैले पनि ख्याकसम्बन्धी त्यस कथनपछाडिको सत्यता केलाउने जमर्को गरेन ।

त्यसो त उपत्यकाभित्रको लोकजीवनमा ख्याकका अनेकन कथाहरू अनपेक्षित र अप्रत्याशित भने थिएनन् ।

तीसको दशकसम्म पनि यस्ता लोकचर्चाहरू यत्रतत्र सुनिन्थे । एकाबिहानै पँधेरोमा पानी थाप्दाथाप्दै होस् वा चिया गफ होस् वा टोलछिमेकीको बसीबियाँलो होस् ख्याक, भूतप्रेत, किचकन्या सम्बन्धित विभिन्न चटपटे विवरणहरू प्रस्तुत हुन्थे :

नरदेवीतिरको एउटा घर किनेर त्यहाँ सुत्न गएका घरधनीलाई बिहानीपख कसैले कोठाको ओछ्यानबाटै घिसारेर छिँडीमा ल्याइ पछार्‍यो । प्रत्येक रात दोहोरिने एकैखाले घटना सहरभरि चर्चित थियो । मानिसहरू भन्थे— घरमा ख्याकको बास भएकैले यसो भएको हो ।

पाटनको च्यासलको एउटा गल्लीमा साँझ अबेर एक्लै हिँडेको मान्छेलाई अचानक कसैले गालामा चड्काइदिन्थ्यो । वरपर हेर्दा कतै कोही फेला पर्दैनथ्यो । स्थानीय भन्थे— त्यहाँ ख्याकको रजाइँ चल्थ्यो ।

काठमाडौं म्हैपी डाँडामुनिको खेतमा एकाबिहानै खनजोत गरिरहेका एक जना तगडा ज्यापू यताउति लड्दै–भिड्दै, कहिले आफैँ पछारिँदै, कहिले कसैमाथि जाइलागिरहेजस्तो हात–खुट्टा चलाउँदै असिनपसिन अवस्थामा भेटिए । उनको जीउभरि हिलो माटो थियो । धेरै बेरपछि उनी शान्त भए । उनी साह्रै थकित देखिन्थे । मानिसहरूले सोधे— के भएको थियो ? ज्यापूले ख्याकसँग जुधिरहेको विवरण सुनाउन थाले । यद्यपि, त्यहाँ कसैले पनि ख्याक देखेका थिएनन् ।

जनजिब्रोमा रहेको अर्को एउटा कथा यस्तो छ । भक्तपुरको भित्री बस्तीको एउटा घरमा जोकोही पस्ने साहस गर्दैनथे । त्यस घरमा पुगेर राति सुत्ने कुरा कल्पनै गर्न सकिन्नथ्यो । तर, एक जना सुरो मान्छे रक्सीको मातमा त्यसै घरमा सुत्न पुगे । मात्तिएकाले सुरुमा उनले केही थाहा पाएनन्, सुतेको सुत्यै भए । बिहानीपख बुइँगलको एउटा कुनाबाट कसैले ‘थाप, थाप, थाप !’ भन्दै कराएको सुने । पटकपटक कराउन थालेपछि उनले अलिअलि मातको सुरमा, अलिअलि थाहा पाएको धूनमा लवेदाको फेर तानेर थापे । अचम्म के भने उनको लवेदामा असर्फीहरू झरे । ती असर्फी सोरसार पारेर उनी त्यहाँबाट टाप कसे । त्यसपछि उनी भक्तपुरकै सम्पन्न मान्छे बने ! ती असर्फी ख्याकले फालेको रहेछ ।

बाटोमा हिँड्दाहिँड्दै छोपिन आउने लँपंख्याः, जीउभरि भुत्ला नै भुत्ला भएको धापलांख्याः, कतै जाँदा खुट्टामा गुल्टिन आउने भकुंग्वाराख्याः, औंलामा आगो सल्काएर हिँड्ने मिप्वाःख्याः आदि उपत्यकाका लोकजीवनमा चर्चा हुने ख्याक हुन् ।

विज्ञान यस्ता अभौतिक पक्षमा विश्वास गर्दैन । ख्याकजस्ता अधिस्वाभाविकको अस्तित्वलाई पत्याउँदैन पनि । यता परामनोविज्ञानले भने मानिसभित्रको अचेतन तथा अवचेतन पक्षको विश्लेषण गर्दै ब्यक्ति हुर्केको सामाजिक परिवेश, लोकसंस्कार–संस्कृति र आस्थाजन्य पक्षबाट विकसित हुने विभ्रमले अनेकन अस्वाभाविक, अप्राकृतिक र अभौतिक पक्षसँग जम्काभेट गराउने सम्भावना देख्छ । परामनोविज्ञानले ख्याकको प्रसंगलाई पनि त्यसरी नै व्याख्या गर्ने गर्छ ।

नेवार लोक आख्यान र संस्कृतिको चर्चा गर्दा भने अनेकन प्रसंगमा ख्याक भेट्टाउन सकिन्छ । प्रचलित शास्त्रीय नाचहरूमध्ये भक्तपुरको महाकाली नाचका ख्याक सबैको स्मृतिमा ताजा रहने पात्रका रूपमा छन् । त्यस्तै कात्तिक नाचको एक प्रमुख अंश देवी नाचको आकर्षक पात्रका रूपमा ख्याकले भूमिका निर्वाह गर्छ । उपत्यकाभित्र नचाइने अन्य गंप्याखं (सर्वगणसहितको नाच) हरूमा पनि ख्याक एक पात्रको रूपमा आउँछ । यद्यपि, नाचहरूमा ख्याक मूल पात्र होइन, सहायक वा हास्य चरित्रका रूपमा सीमित छ ।

एउटा अति चर्चित लोकश्रुतिका अनुसार देवादिदेव महादेव र महामाया स्वरूपा पार्वतीबीच कुरैकुरामा भनाभन भएछ । रिसको झोंकमा एकले अर्कोलाई घुर्क्याउँदै स्त्रीबिना पनि सन्तानोत्पत्ति सम्भव छ भनेर दाबी गरेछन् । पार्वतीले पनि पुरुषसँगको संसर्गबिनै बच्चा जन्माउने घुर्की लगाइन् । नभन्दै दुवैले एक्लाएक्लै प्रयत्नमा बच्चाहरू जन्माए । महादेवले पार्वतीको सहभागिताबिना सृष्टि गरेको शिशु रगत, मासु, छाला नभएको केवल कंकालको आकृतिमा देखियो । पार्वतीको तर्फबाट महादेवको सहभागिताबिना जन्माइएको नवजात हाडखोर नै नभएको मासुको डल्लो मात्र भयो । मासुको डल्लोको रूपमा जन्मिएको त्यही बच्चा नै कालान्तरमा ख्याकका रूपमा चिनियो ।

यस लोकश्रुतिलाई दार्शनिक पक्षले विश्लेषण गर्नेहरूले प्रकृति र पुरुषका प्रतीकका रूपमा व्याख्या गर्छन् अनि भन्छन्— जीवन स्त्री र पुरुषको सह–अस्तित्वबिना सम्भव छैन । ख्याक र कंकाल तिनै जीवन दर्शनको साकार प्रस्तुतिभन्दा अरू केही होइन । त्यसैले उपत्यकाभित्र सबैजसो शक्तिपीठका मन्दिरमा ख्याक र कंकालका आकृति अनिवार्य रूपमा दायाँ–बायाँ अंकित गरिन्छ ।

हिन्दु पुराण र मिथमा भने ख्याकलाई कुवेरसँग जोडेर चर्चा गरिएको पाइन्छ । रामायणको कथा सन्दर्भमा विश्रवाका पुत्रका रूपमा कुवेरको उल्लेख छ । कुवेर, रावण, कुम्भकर्ण र विभीषण दाजुभाइ हुन् । रावणले सत्ताच्युत गरेपछि उत्तर हिमालको कैलाश पर्वतसँगैको गन्धमादन पर्वतको अलकापुरीमा अधिपति भएर बसे, कुवेर । यक्षराज, किन्नरराज पनि भनिने कुवेर लोकपाल/दिक्पालका रूपमा पनि चिनिन्छन् । देवगणको सम्पत्तिका अधिकारी कुवेरका रक्षकहरूका रूपमा ख्याकको भूमिका उल्लेख गरिएको छ । यस अर्थमा ख्याक यक्ष हुन्, किन्नर हुन् ।

सम्भवतः यिनै मिथकले कुवेर र ख्याकलाई नेवार समुदायको ढुकुटीसम्म ल्याइपुर्‍याएको होला । तिहारमा पुजिने नेवार समुदायकी लक्ष्मी फरक हुन्छिन् । कमलको फूलमाथि नभई कछुवालाई आफ्नै वाहन बनाइएको तथा दायाँ हातमा ज्वलान्हायकँ र देब्रे हातमा सिन्हःमू (महिला शृंगारका विशेष साधनहरू) समाएकी लक्ष्मी अनि त्यसको एकछेउमा कुवेर तथा सेवार्थ भावमा समर्पित धनको थैली बोकेको ख्याक अनिवार्य रूपमा हुन्छ ।

धान्यपूर्णिमाको दिन धन्सारमा नयाँ अन्न भित्र्याएर पूजा गरिने योमरी पुन्हीको पर्वमा नयाँ चामलको पिठोबाट बनाइएको केवल योमरी रोटी मात्रै हुन्न । त्यसमा लक्ष्मी, कुवेरका साथै चामलको पिठोले बनाइएका ख्याकहरू पनि हुन्छन् । अनि ती सबको विधिपूर्वक प्राण प्रतिष्ठासहित ढुकुटीभित्र चार दिनसम्म पूजा आराधना गरिन्छ ।

ख्याकसँग नेवार लोकसंस्कृतिको गठिलो सम्बन्धको अर्को दृष्टान्त हो— नेवार कन्या केटीको बाह्रा कर्मकाण्ड । नेवार परिवारमा छोरीले बाल्यकाल पार गर्दै यौवनावस्थामा प्रवेश गर्न लागेको उमेरमा रजस्वला हुनुअगावै एउटा कर्मकाण्ड सम्पन्न गरिन्छ । बाह्र दिनसम्म पुरुषहरूबाट अलग्गै गोप्य कोठाभित्र रीतिपूर्वक कन्या केटीलाई राखिने यस संस्कार मूलतः यौवनावस्थामा जिज्ञासा जाग्ने यौनभाव र अन्य जीवन व्यवहारका सम्बन्धमा प्रशिक्षित गराउने विधि हो । बाह्र दिनको त्यो बसाइमा परिवारजनका महिला सदस्यका अतिरिक्त कन्या केटीका सहपाठी पनि कोठाभित्रका गतिविधिमा सहभागी हुन्छन् । नाचगान, खेल तथा रमाइलो पनि त्यत्तिकै गरिन्छ । तर, त्यस कोठाभित्र पस्न योग्य महिला परिवार सदस्यका अतिरिक्त अर्को एउटा पात्र पनि हुन्छ— त्यो हो ख्याक ! कोठाको खोपाभित्र कपास वा कपडाबाट आकार दिइएको एउटा मूर्ति प्रतिस्थापन गरिन्छ । त्यसको अगाडि श्रद्धापूर्वक दिनहुँ दियो बालिन्छ । बाह्रा बसेकी बालिकालाई केही खुवाउनुपूर्व त्यस मूर्तिमा चढाइन्छ । तीन दिनसम्म नुन–तेल बारिन्छ, चौथो दिन त्यसै मूर्तिको आराधना गरेर नुन–तेल फुकुवा गरिन्छ । भनिन्छ, बाह्रामा राखिएका कन्यामाथि आउन सक्ने अफ्ठ्यारा तथा संकटबाट बचाउन ख्याकलाई रक्षकका रूपमा राखिएको हो । ख्याकलाई रक्षकको विशेष स्थान दिइने यो प्रचलन नेवार समाजमा अद्यापि छ ।

नेवार वास्तुविद्का कथनअनुसार नाग, कंकाल, बेताल र ख्याक घरका रक्षकसरह हुन् । सेतो ख्याक लुकेको घर सदैव धन सम्पत्तिबाट मालामाल हुन्छ भन्ने पनि विश्वास गरिन्छ ।

तर, आज कंक्रिटका भौतिक संरचनाको जंगल बन्दै गएको उपत्यकाभित्र ख्याकहरू श्रुति र स्मृतिमा पनि रहेनन्, केवल विस्मृतिका कथनका सीमित छन् ।

प्रकाशित : कार्तिक २९, २०७७ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्

कर्पोरेट लोकतन्त्रमा भुनभुनाइरहेको सत्ता !

विमला तुम्खेवा

सुन्नुहोस्,धर्मका ठेकेदारहरू समाजका भद्रभलाद्मी देशको संविधान निर्माताहरू छोरा चाहने तमाम बाउहरूसबै सबैलाई एउटा प्रश्न !

झरेर कहिल्यै नसकिने आँसुझैं यो दुःखको चाङ

आकाशतिर फर्किएर दाउराको हारझैं उभिएको छ

जो कतिबिघ्न अत्यासलाग्दो छ

सबै सबैको हिसाब चाहियो सबै सबैको कारण चाहियो ।


त्यो

दुर्घटनामा परेकी स्वास्नी मान्छेलाई सोध्नुहोला

बलात्कारपछि पलपल मरेर बाँच्नुको उदासीनता

सोध्नुहोला समाजको भालाले घोपेजस्तो अचाक्ली दुख्ने शब्दहरू

सरकार !

आफ्नै बाउबाट बलात्कृत

आमाको काखमा लडिरहेकी दूधे बालिकाको लास

योनीबाट बगिरहेको रगतको आहाल

तपाईंको कानुनलाई कुरीकुरी गररिहेको

उसको मृत शरीर कति शान्त छ कति ध्यानमग्न छ ।


प्रशासनको उजुरीपेटीमा पेन्डिङ निवेदन

अदालतको कुनै माकुरा लागेको पुरानो कोठामा

थन्किएको मुद्दाको फायल मैले बाँचेको समाज हो ।


सिंहदरबारअघि

सधैं सडकपेटीमा बसेर कराइरहने

बहुलाई आइमाईको शरीरबाट

निस्किएको वीर्यको दुर्घन्ध कतिबिघ्न गनाएको

इतिहासको सबभन्दा बदनाम यो रातको भोलिपल्ट

त्यो,

बहुलाई आइमाईको लास सडकको किनारमा भेटिएको थियो ।


सरकार ,

उसलाई तपाईंकै पार्टीको नेताले बलात्कार र हत्या गरेको हो !


हरेक दिन,

अखबारमा आउने आङै सिरिंग हुने

समाचारहरूले हृदय कामेर आउँछ

त्यो,

कक्षा सातमा पढ्ने बालिकाको बलात्कार आफ्नै बाजेले गरेको थियो

त्यो बोली नआउने महिलाको बलात्कार

मन्दिरको पुजारीले गरेको थियो

स्तनभरि चिथोरिएका घाउका दागहरू

लुछिएको कपाल र रगत लतपतिएको मृत शरीर

जसमा कति डरलाग्दो गरी गनाइरहेछ मानवता ।


मार्क्सवादका कुरा गर्ने

समाजवादको कुरा गर्ने

लोकतन्त्रको कुरा गर्ने

समानताको व्याख्या गर्ने सम्पूर्णलाई एउटा प्रश्न ?

छिः

त्यो कोटको गलामा

कस्तरी बेप्रवाह लिबिस्टिक लतपतिएको

छिः

हजुरको अनुहारमा

कस्तोबिघ्न अश्लीनता आफैं सर्माएको ।


सुन !

छोरा चाहने धर्मका गुरुहरू

छोरा चाहने समाजका लोग्नेमान्छेहरू

छोरा चाहने संस्कारका दासहरू

जुन दिन धर्म, संस्कार, कानुन कोरियो

यो पृथ्वीको सभ्यताको कालो इतिहास त्यही दिन कोरिएको हो

मेरो देशमा सरकार भन्नु लोग्नेमान्छे हो ।

प्रकाशित : कार्तिक २९, २०७७ १३:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×