आफ्नै मानसिक भुमरीहरूको इतिहास- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आफ्नै मानसिक भुमरीहरूको इतिहास

डोनाल्ड ट्रम्प भन्ने नामको एउटा बिम्ब छ । मलाई प्रेसर दिने यही बिम्ब हो ! अहिले यो नाम इज्जतिलो, सभ्य, इमानदार र विनम्र भएको भए कविताको पाण्डुलिपि तयार गर्ने मेरो जाँगर पूरा हुन्थ्यो ।
राजव

आख्यानको समानान्तर, नाटकको समानान्तर, निबन्धको समानान्तर, संस्मृतिको समानान्तर म कविता पनि लेखिरहन्छु । कविता मेरो सर्जनमनको उग्र बाध्यता हो । बाध्यताको यो लतबाट छुटाउने अहिलेसम्म मेरा लागि कुनै रिह्याव अर्थात् उपचार केन्द्र बनेको छैन ।

कविताको यो लतले मलाई कथा, उपन्यास, नाटक, संस्मरण, संस्मृति वा गद्यका अन्य स्वरूपहरू लेख्न सघाइरहेछ । म यी विधाको लागि कविताको संवेदना, सूक्ष्म दृष्टि र त्यसको मार्मिक कोणहरूबाट धेरै ग्रहण गर्छु । र, कथा लेख्छु, निबन्ध लेख्छु, उपन्यास, नाटक लेख्छु । विशेषतः आख्यान लेखनका लागि मलाई कविताको आत्माले सुरुदेखि नै निकै सघाएको छ । कविता मेरो आख्यान र गद्य लेखन उध्याउने साधन हो । कसैले सोधे, म एकै वाक्यको जवाफ दिन्छु, कविताको सूक्ष्म पर्यावरणले मेरो सम्पूर्ण लेखनलाई सघाएको छ ।

छापिन लायकको मेरो पहिलो कविता ‘एउटा बूढो’ शीर्षकको थियो । यो छापिएको हुनाले यसलाई प्रसंगत छापिन लायक भन्नुपरेको हो । नत्र छापिन लायक यस्तै अरू पनि थिए । तर, ती लायक सम्पादकहरूका नालायकीमा परेर लायक भएनन् । यो त्यसबेलाको मभित्रको चर्को युवा कविको आक्रोश थियो । अबको दुःखको कुरा– छापिने उत्कट अभिलाषामा छटपटिएका मेरा ती कविताहरू मेरो डायरीसहित कता बेपत्ता भए, भए । यो संस्मृति लेख्दै गर्दा मलाई ती हराउनुको चुकचुकी औधी लागिरहेछ । दुःखको थप कुरा मसँग ती हराउनुको सम्झना मात्र छन् । तिनको हुबहु स्वरूपको सम्झना छैन । नत्र तिनलाई पुनर्जीवन दिनुहुन्थ्यो । अथवा तिनको विषयलाई अर्को स्वरूपमा लेख्नुहुन्थ्यो । केही नभए पनि ती भएका भए म आफ्नो मानसिक भुमरीहरूको इतिहास जान्न पाउँथेँ । अथवा कविताका आफ्ना प्रस्थान कस्ता–कस्ता थिए भन्ने बुझ्थें । यसका लागि अब मसँग ‘एक बूढो’ शीर्षकको कविता मात्र छ । यो कविता २०३१ सालमा ‘विदेह’ द्वैमासिकमा छापिएको थियो । त्यसदेखि यता मैले थुप्रै कविता लेखें । ती अनेक पत्रपत्रिकामा छापिए । छापिएका मध्ये पनि कति छाँटिए ।

किताबमा राख्न रोजिएका ती कविता मेरा तीन कवितासंग्रह ‘असमर्थ श्लोक’, ‘एक्काइसौं शताब्दीका भासहरू र बीसौं शताब्दीको ह्याङओभर’ र ‘क्रूरको सौन्दर्यप्रेम’ मा सञ्चित छन् । २०५१ सालमा निस्केको ‘एक्काइसौं शताब्दीका भासहरू र बीसौं शताब्दीको ह्याङओभर’ पुस्तकको आकारमा प्रकाशित नेपाली साहित्यको पहिलो शृंखलाबद्ध कवितासंग्रह मानिएको छ । यो खुसी मेरो लेखनको खातामा जम्मा छ । कहिलेकाहीं म यसको ह्याङओभरमा डुब्छु । त्यसदेखि यता प्रकाशित भएको ‘क्रूरको सौन्दर्य प्रेम’ मेरो तेस्रो कवितासंग्रह हो । यसको प्रकाशन २०६४ सालमा भएको थियो । अब यस संग्रहको उमेर पनि बाह्र वर्षको भइसकेको छ । ‘क्रूरको सौन्दर्यप्रेम’ प्रकाशित भएयता पनि मेरो कविता लेखनको अभ्यास जारी छ । यस क्रममा अरू थुप्रै कविता लेखेँ । तीमध्ये कतिपय विभिन्न पत्रपत्रिकाहरूमा छापिएका छन् । र, छरिएको अवस्थामा छन् । यता केही दिनदेखि मलाई कालक्रममा ती हराउलान्, अननोटिस होलान् भन्ने चिन्ताले घोचिरहेको थियो । ती सबै कविता उत्कृष्ट वा विचारोत्तेजक वा मारक वा कलात्मक वा मर्मभेदी वा उचाइका होलान् वा नहोलान् वा के हुन् भन्ने आत्मज्ञान तिनलाई केलाउने दृष्टिले घोत्लेपछि मात्र प्राप्त हुन्छ । कोरोना भाइरसले घरभित्र थन्किनुपरेको यो त्रासद समयको लुकामारीमा म यही ज्ञान प्राप्तिमा ध्यानस्थ छु ।

यस ध्यानस्त घडीमा आफ्ना प्रकाशित, अप्रकाशित कविताको पुनर्पाठ गर्ने, हेर्ने, केलाउने र मर्मले ठीक लागेका कविता छनोट गर्दै छु । उद्देश्य हो फेरि अर्को कवितासंग्रह निकाल्ने । यस सिलसिलामा म तिनलाई विषय र स्वरूपअनुसार छोटा–कविता, लामा–कविता, अमेरिकी परिवेशका कविता र कोरोनाकालका कविता गरी चार उपशीर्षकमा विभाजित गरेर राख्दै छु । यो काम करिबकरिब सक्दै गर्दा एउटा कविताले बोकेको आपत्तिजनक विम्बले गर्दा रोक्किएको छु । त्यस विम्बले ब्लक नगरेको भए मेरो चौथो कवितासंग्रहको पाण्डुलिपि तयार भइसक्ने थियो । र, म पाण्डुलिपि तयार गर्ने आत्मप्रेसरबाट मुक्त हुन्थें । लेखक, कविको अन्तरहृदयलाई सताउने यस्तै प्रेसरले हो । यो प्रेसरले मलाई मजा पनि दिएको छ, पीडा पनि । मलाई यस्तो विलखबन्दको प्रेसरमा पारिरहेको कविताको शीर्षक हो– पाइतालाको गीत । सुरुमा यो कविता ‘रचना’ त्रैमासिकमा छापिएको थियो । त्यसपछि केही संशोधनसहित ‘मधुपर्क’ मा छापियो । त्यसपछि यो कविता मेरा राम्रा पाँच कवितासँगै साझा प्रकाशनको मासिक पत्रिका ‘गरिमा’ मा छापियो । यसको विषय र संरचनाको कारणले आफैंलाई पनि सन्तुष्ट पारेको कविता हो यो । यसकारण पनि यसलाई संग्रहमा राख्न जरुरी लाग्यो । अर्को कारण यस कवितालाई संग्रहमा नराख्दा अमेरिकी परिवेशका मेरा कविताहरूको खण्ड अपुरो हुन्छ । यसकारण यसलाई संग्रहभित्र समावेश गर्न अनिवार्य नै छ । तर, मनमा फेरि त्यै विम्ब तगारो बनेर तेर्सिन्छ । यो आपत्तिको विम्बलाई पो के गरौँ भन्ने प्रश्नको प्रेसरले सताइरहन्छ । त्यस विम्बलाई हटाऊँ, यथावत् राखूँ वा त्यसको सट्टा अर्को सुहाउँदो विम्ब राखौं कि के गरौं ? यस्ता प्रश्नको दबाबले म खल्बलिएको छु । यसको निजात खोज्दै छु । यहाँ म त्यस कविताका केही पंक्ति उद्घृत गर्दै छु, जसमा मलाई दिगमिग लागिरहेको त्यो क्रूर विम्ब परेको छ ।

बेरोजगार युवाहरू घण्टौं उसलाई सुन्छन्

रातभर कतै निदाउँछन्

र बिहान फेरि

डोनाल्ड ट्रम्प हुने योजनामा निस्कन्छन्

र, खोज्न थाल्छन् कोलम्बियाबाट आउने गाँजा

तर म निकारागुवाको तितो कफीमै चित्त बुझाउँछु ।

चौथो पंक्तिमा देख्नुभयो नि डोनाल्ड ट्रम्प भन्ने नामको विम्ब ? हो मलाई प्रेसर दिने यही नामको विम्ब हो । यो नामधारक अहिले अमेरिकाको राष्ट्रपति छ । हाल यो नाम इज्जतिलो, सभ्य, इमानदार र विनम्र भएको भए पाण्डुलिपि तयार गर्ने मेरो जाँगर पूरा हुन्थ्यो ।

डोनाल्ड ट्रम्पलाई मैले पहिलोपटक देखेको एनबीसी टीभीले प्रसारण गर्ने गरेको मार्क बर्नेटको रियालिटी शोमा हो । त्यस शोको नाम थियो– अप्रेन्टिस । ट्रम्प त्यसको निकै प्रभावशाली प्रमुख होस्ट थियो । बजारमा निकै चर्चा हुन थालेपछि सन् २००४ को जुलाईमा मैले पहिलोपटक अप्रेन्टिस हेर्न सुरु गरेको थिएँ । बिहीबारको दिन रातको मुख्य समयमा यसको प्रसारण हुन्थ्यो । प्रायः म यसका एपिसोडहरू नबिराई हेर्न थालेको थिएँ । डोनाल्ड ट्रम्प एक सफल रियलस्टेट व्यापारी, बिलियनार, ट्रम्प ट्रावर नामले प्रख्यात ५८ तले स्काइस्क्यापरको मालिक, देश, विदेशमा गरेर थुप्रै गल्फ कोर्स, अनेक स्टार होटलहरूको मालिक र टीभी शो अप्रेन्टिसको प्रभावशाली निर्णायक होस्ट । ‘पाइतालाको गीत’ लेखिरहँदा म यस्तै एक धनीमानी पपुलर व्यक्तित्वको उदाहरणात्मक विम्ब राखेर कविता टुंग्याउन चाहन्थें । र, त्यस्तै विम्ब खोज्दै, सोच्दै थिएँ, यो क्रममा फ्याट्ट मेरो सम्झनामा अप्रेन्टिसको यही डोनाल्ड ट्रम्प आइपुग्यो । र, ‘पाइतालाको गीत’ कवितामा ‘डोनाल्ड ट्रम्प हुने योजनामा निस्कन्छन्’ भन्ने पंक्ति लेख्न पुगो । त्यसपछिका केही पंक्तिमा कविता टुंगियो, छापियो पनि ।

जब अप्रेन्टिसको त्यही डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति भयो, जब उसका फोहोरी आचरणहरूका फुँडो इतिहास, बेइमानीका फेहरिस्त बाहिर आउन थाले, जब उसको मुखबाट सांस्कृतिक, साहित्यिक अभियन्ताप्रति, आफ्ना आलोचकप्रति, पत्रकार, स्तम्भकारप्रति असंयमित दुर्वचन निस्कन थाल्यो अनि म यस्तो फासिस्ट प्रवृत्तिको नामलाई आफ्नो कविता ‘पाइतालाको गीत’ को विम्ब किन बनाएछु भन्ने सोचले झस्केको थिएँ । अहिले जब म आफ्ना कविताहरूको संग्रह निकाल्न पाण्डुलिपि तयार पार्न बस्दै छु, मलाई आफ्नो त्यस कवितामा परेको त्यो नाम डोनाल्ड ट्रम्पको विम्ब यथावत् रहन दिनु बिलकुल हास्यास्पद र बेइमानी हुने लाग्दै छ ।

अब के गर्ने ? सोच्दै छु राम्रो मानिएको कवितालाई नै संग्रहबाट हटाउने निर्णय गर्नु पनि बेइमानी नै हुन्छ । इमानदार हुने हो भने गलत विम्ब फेरर असल कविता जोगाउन जरुरी छ । त्यसकारण त्यो विम्ब हटाएर ‘पाइतालाको गीत’ को रेस्क्यु गर्ने निधो गरें । त्यसका लागि अर्को कुनै असल विम्ब सोच्दै छु । निश्चित छ पाठकहरू फेरि त्यो फोहोरी विम्ब त्यस कवितामा पाउनुहुने छैन ।

छापिएर पाठक, समीक्षकको मूल्यांकनमा गैसकेका कविताहरूलाई हेरेफेर गर्नु, त्यसको विम्ब, प्रतीक, वाक्य फेरफार गर्नु, हटाउनु, थपघट गर्नु हुन्न भन्ने धेरैको धारणा छ । प्रायः यस्तो गरिँदैन पनि । तर, यस्तो गर्नै हुन्न भन्ने पनि छैन । शब्द सम्प्रेषणको कलामा उजिल्याउने, कलात्मक बनाउने सम्भावना रहेसम्म संशोधन, परिमार्जनको प्रयास गरिरहनु नै पर्छ । अमेरिकी महाकवि वाल्ट ह्विटम्यानले आफ्नो प्रख्यात कवितासंग्रह ‘लिफ अफ ग्रास’ मा संग्रहित कविताहरू संस्करणैपिच्छे परिमार्जन गरिरहे, त्यसमा नयाँनयाँ कविताहरू पनि थपिरहे र पुरानालाई उजिल्याइरहे । अर्का अमेरिकी कवि रोबर्ट लोयल पनि आफ्ना प्रकाशित कविताहरू संशोधन गरिरहन्थे । र, समालोचक, आलोचकहरूलाई हैरान पारिरहन्थे । उनका कविताको जुन पंक्ति अघि सारेर उनको आलोचना, प्रशंसा हुन्थ्यो अर्को संस्करणमा त्यो पंक्ति बिलकुल गायब हुन्थ्यो । त्यसको सट्टा उनले त्यसमा अर्कै पंक्ति जोडेका हुन्थे । यस मामलामा उनी हैरान गर्ने कवि मानिन्थे । कत्तिले उनलाई संशोधनका लागि कुख्यात नै भन्थे ।

तर, हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटा संशोधन, परिमार्जनमा अल्झिनुभएको देखिएन । भनिन्छ, एकपटक लेखेपछि त्यसको परिष्कारको सम्भावनालाई उहाँ टारिदिने गर्नुहुन्थ्यो । कवितालाई साँध लाउने काम माधव घिमिरे बराबर गरिरहनुहुन्थ्यो । तर, उहाँ साँध लाउँदालाउँदा विचार मुठारिदिनुहुन्थ्यो र आफ्ना कविता सत्ताप्रिय सुन्दर लालित्यपूर्ण बनाइदिनुहुन्थ्यो । त्यसकारण उहाँ फासिस्ट पञ्चायती, प्रजातान्त्रिक र लोकतान्त्रिक हरेक कालखण्डको नेपाली सत्ताको प्रिय भैरहनुभयो ।

सत्ताको आँखालाई समयको आवाज र हुंकार गर्ने कविता सुन्दर लाग्दैनन्, मन पर्दैनन् । झूटो लालित्यले भरिएको चाकरीपरस्त पदलोलुप पंक्तिहरू नै सत्ताका प्रिय कविता हुने गर्छन् । नत्र लोकतान्त्रिक चरणमा आएर फासिस्ट युगमा स्वतन्त्रताको वकालत गर्ने, नेपाली कविताको धार बदल्ने कवि गोपालप्रसाद रिमालको स्थान मामुली भइरहने थिएन । महाकवि लक्ष्मीप्रसाद देवकोटाबाट अत्यन्त विद्रोही कथ्यको ‘पागल’ कविता त्यसै सिर्जित भएन । जनप्रिय कवि गोपालप्रसाद रिमाल त्यसै विक्षिप्त भएका होइनन् । वैचारिक चिन्तन र स्वप्नविपरीतका शासकीय प्रकटहरूका परिणाम थिए उहाँहरूका नैराश्यता र विद्रोहहरू ।

आफ्ना विचारअनुकूलको शासन आउँदा पनि शासकीय रवैया र प्रवृत्ति उस्तै फासिस्ट प्रवृत्तिको देखिँदा स्वभावतः सर्जकहरू कि विद्रोही हुन्छन् कि विक्षिप्त । यही कारण आफ्नो क्रान्तिकारी विचारअनुकूलको शासन हुँदाहुँदै पनि रुसी कवि व्लादमिर माइकोवस्कीले आत्महत्या गर्नुपर्‍यो । कवि ओसिप मन्डेलस्टाम्प, अन्ना आख्मातोवालगायतका थुप्रै रुसी कविहरूले यातना खपिरहनॅपर्‍यो । किनभने यी नामहरू कविताको जनदायित्वप्रति निकै सचेत र इमानदार थिए । सत्ता यिनलाई आफ्नो चाकर बनाउन चाहन्थ्यो । तर, यिनका लेखन आत्मसचेत थिए । यी सत्ताको भयले झुकेनन् । उदाहरणीय रूपमा उहाँहरू आफ्नो कवित्वको दायित्व पूरा गरेर बित्नुभयो ।

वास्तवमा कलाकर्मको तेज निर्लोभी साहसिक दायित्वपूर्ण चेतनाबाट नै निस्कन्छ । हाम्रा अग्रज कविहरू देवकोटा, रिमाल, भूपि शेरचन, गोकुल जोशी, युद्धप्रसाद मिश्र, पारिजात, वानीरा गिरी, मोहन कोइराला, द्वारिका श्रेष्ठ, कृष्णभक्त श्रेष्ठलगायतका थुप्रै कविले आफ्नो कलालाई लोभमा खेर जान दिएको भए नेपाली कविताको सही स्वरूपको गर्वपूर्ण चर्चा गर्न पाइने थिएन । यी कविहरू नेपाली कविताका सही मार्गनिर्देशक पुस्ता हुन् । विरोधभित्र पनि सौन्दर्य र कलाचेत हुन्छ र त्यो कस्तो हुन्छ उहाँहरूका कविताभित्र पस्ने कोसिस गर्ने हरएक पाठकले सहज बुझ्छन् । आत्मा भन्छ, साहित्यको भलोका लागि लेखक, कविहरू चाकर हुनबाट जोगिएको हुनुपर्छ ।

प्रकाशित : कार्तिक २२, २०७७ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्

मासग्रेभ

राजव

काठमाडौँ — हामी एकसाथ सत्र जना मरेका थियौं । सत्रै जना आइसियुमा थियौं । सबैको नाक, मुख, घाँटीमा भेन्टिलेटरबाट निस्किएको स्वास नली र पाइपहरू जोडिएको थियो । दस दिन हामी आइसियुमा संघर्षरत रहृयौं । र, हिजो एघारौं दिनमा हाम्रो संघर्ष सफल भयो । अन्ततः डाक्टरहरूले आफ्नो विफलता घोषणा गरे । हाम्रो सकस समाप्त भयो । हामीले मृत्युको गति प्राप्त गर्‍यौं । 

हाम्रो नाक, मुखमा जोडिएका ती स्वासनली र पाइपहरू थुतियो । हामी 'डेड बडी' भयौं। यसपछि मेरो होस खुलेको थियो । अनि मलाई यो युनिटको गतिविधि थाहा हुन थाल्यो । हामी मृत घोषित भएपछि सिरदेखि पाउसम्म पूरै प्रोटेक्टिभ गिएर (सुरक्षात्मक वस्त्र) लगाएका डेड बढी ओसार्ने अस्पतालका कामदारहरू भित्र पसे । उनीहरू भित्र पसेपछि हाम्रो मृत्युको खबर बाहिर निस्क्यो । बाहिर स्टेचरमा आफ्नो पालो पर्खिरहेका कोरोना अशक्त बिरामीहरू खुसी भए । ती भयङ्कर खोक्दै घ्यार्र घ्यार्र गर्दै थिए । दस दिन अगाडिको हाम्रो हाल पनि यस्तै थियो । उनीहरूलाई झैँ हामीलाई पनि बाहिर पालोमा राखिएको थियो ।

भित्र डेड बढी ओसार्नेहरू पसेपछि त्यस बेला हामी पनि खुसी भएका थियौं । किनभने हामीभित्र भेन्टिलेटरमा सास फेर्न पाउने भएका थियौं । मरेका हामीहरुलाई बाहिर निकाल्दा बाहिर प्रतीक्षामा रहेका उनीहरूको स्टेचर भित्र ल्याइँदै थियो । हामी सत्र जना लगभग दूई चार मिनेटको अन्तरमा मरेका थियौं । आइसीयुबाट निकाल्दै क्रमशः हामीलाई डेड बढीको लागि बनाइएको वातानुकूलित चिस्यान गोदाममा लगियो । कोभिड १९ भाइरसबाट पराजित हुनेहरूलाई राख्ने यो अस्थायी रुपको विशाल गोदाम (हल) बनाइएको रहेछ । यसभित्र लगेपछि हामी सातै जनालाई गोदाम हलमा बाँकी रहेको खाली ठाउँ हेरेर लहरै लडाइयो । यस हलमा कोभिडले मरेका अरु पचासौं लासहरू पसारिएका थिए । गणनामा ती सैयौंको संख्यामा हुनसक्थे । तीमध्ये नजिकका केहीले हामीलाई एकसाथ भने,

‘वेलकम होम ।’

प्रतिक्रियामा हामी सत्रै जना करायौं,

‘थ्याक्यु अल ।’

मसँगैको लासले आफ्नो बन्धनलाई खुकुलो पार्दै मतिर औंलो ल्याएर मेरो कम्मर कोट्यायो । मलाई निकै झोंक चल्यो । मेरो मुखबाट चेतावनीको छोटो वाक्य निस्क्यो,

‘हे ।’

त्यस लासले विनम्रतासाथ भन्यो,

‘सरी ।’

‘इट्स ओके ।’ मैले भनें ।

त्यसले फेरि पूर्ववत् मेरो कम्मर कोट्यायो ।

फेरि झोक्किँदै मैले सोधें,

‘किन ?’

आतुरी परे झैं त्यसले सोध्यो,

‘हामी कहाँ छौं ?’

मैले भनें,

‘लास गोदाममा ।’

‘हो मलाई पनि यस्तै लागेको थियो, वास्तवमा म कन्फर्म्ड हुन चाहन्थें ।’

‘किन ?’

‘मरेपछि पनि मानिसलाई आफ्नो जमिनको बारेमा थाहा हुन जरुरी छ ।’

मैले पनि उसलाई आफ्नो दर्शन दिएँ,

‘हो नि, मानिसले आफ्नो जमिन नबिर्सोस् भनेर उसको लासलाई जमिनमा गाडिन्छ ।’

‘यु आर राइट माइ फेलो डेड म्यान ।’

‘थ्यांक्यु ।’

धेरै धेरै स्वागत छ भन्दै ऊ सोध्छ,

‘अब हामीलाई कहिले गाडिन्छ होला?’

‘थाहा छैन, किन ?’

‘यो चिस्यानमा मलाई धेरै बस्न मन छैन ।’

‘मलाई पनि ।’

‘के नाम ?’

‘कसको ?’

‘तिम्रो ।’

मैले एकसाथ भनें र सोधें

‘टोनी मिलर, एण्ड यु ?’

उसले भन्यो,

‘म ज्याक स्मिथ ।’

‘नाइस टु टक यु ।’

ज्याकले पनि मलाई भन्यो,

‘नाइस टु टक यु ।’

रिस्पोन्समा मैले भनें,

‘थ्यांक्यु ।’

यसपछि हामी बोलेनौं । पूरै हलभरि मुर्दा मौन छाइरहृयो । यो हाल केही बेरलाई चलिरहृयो । म ज्याकलाई केही कुरा सोध्न खसखसाइरहेको थिएँ । तर, एकाएक लास बोक्ने केही स्टेचरका पांग्राहरूको घ्यार्र घ्यार्र आवाज आउन थाल्यो र रोक्किन पर्‍यो । ज्याकले मलाई भन्यो,

‘नयाँ लासहरू ल्याउँदै छन् जस्तो छ ।’

‘मलाई पनि त्यस्तै लाग्दै छ ।’ मैले भनें ।

नजिकैको हामीभन्दा पुरानो कुनै मुर्दाले भनेको सुनियो,

‘घण्टा घण्टामा ओसारिरहेका छन् ।’

सायद ऊ ज्याक र मेरो संवाद सुनिरहेको थियो । हाम्रो संवादमा ऊ पनि जोडिन चाहन्थ्यो । प्रोटेक्टिभ गिएरले पूरै शरीर र अनुहार छोपेका डेड बढी ओसार्ने अस्पतालका कामदारहरू आ–आफ्ना स्टेचरकासाथ एक–एक गरेर हलभित्र पसे । र, टक्क अडिएर लास बिसाउने खाली ठाउँ कता छ को खोजी मुद्रामा चारैतिर घुर्न थाले । लाग्थ्यो ती मृत्युका दुत होऊन् । यस्ता दुत हुन्छन् हुँदैनन् मलाई थाहा छैन । म त्यस्तो धार्मिक र बाइबल प्रेमी हैन । तथापि मेरो दिमागमा तीबारे त्यस्तो गलत चित्र किन उत्र्यो ? मैले तीसँग क्षमा माग्नुपर्छ । वास्तवमा ती लास ओसार्ने अस्पतालका साधारण कामदार हुन् । कोरोनाको यो महामारीमा तिनको भूमिका डाक्टरको भन्दा कम छैन । डाक्टरले बचाउन नसकेका सयौं मृतलाई यिनले तह लगाइरहेका छन् । ज्याकले पनि मलाई यस्तै सुनायो,

‘यी नभएको भए लास उठाउने काम पनि डाक्टर, नर्सहरूले गर्नुपर्थ्यो ।’

‘हो नि महामारीका यी सहासिक योद्धा हुन्, डाक्टरले झैं यिनले पनि आफ्नो ज्यान जोखिममा राखेका छन् ।’

‘यी पनि डाक्टरहरू जत्तिकै श्रध्देय र महान् छन् ।’

‘यिनको सम्बन्ध मरेकासँग हुन्छ, डाक्टरको जीवनसँग, फरक यत्ति हो, दुवैले भाइरसको सामना गर्नु पर्छ ।’

पल्लो मुर्दा सुकसुकाउन थाल्यो । ज्याकलाई झर्को लागेछ । त्यसलाई झपार्‍यो,

‘मर्ने मरिसकिस् अब केको सुकसुक ?’

विनम्र हुँदै त्यसले भन्यो,

‘म आफ्नो मृत्युमा रोएको हैन, तिमीहरू झैं म पनि कष्टबाट छुट्कारा पाएकोमा खुसी छु ।’

‘अनि ?’

‘दाजु सम्झेर मलाई रुन आएको हो ।’

‘ओ !’

‘मेरो दाइ पनि न्युयोर्कको माउन्ट साइनाइ हस्पिटलमा लास उठाउने यस्तै काम गर्थ्यो ।’

‘गर्थ्यो को मतलब, अब गर्दैन ?’

‘कोभिड लागेर हामी जस्तै मरेकाहरूको लास उठाउँदा उठाउँदा ऊ पनि कोभिडको सिकार भयो ।’

‘ओहो !’

‘यस्तो बेला साहसपूर्वक यस्तो ज्यान जोखिमको काम गर्ने त्यरो दाजु वास्तवमा महान् हो ।’

‘थ्यांक्यु ।’

‘तँ के गर्थिस ब्रदर्स ?’

‘म सीटी बस चलाउँथे ।’

‘ओ !’

‘मलाई पेसेंजरहरूबाटै कोरोना सर्‍यो ।’

‘तैंले पनि अरु पेसेंजरलाई सारिस होला ।’

‘हुन सक्छ, पेसेन्जरहरू खोक्दै चढ्थे, खोक्दै ओर्लन्थे नसर्ने त कुरै भएन ।’

‘जेहोस् तँ पनि जनसेवा गर्दा गर्दै कोरोनाको शिकार भएको रहेछस् ।’

‘यु थिंक सो ?’

‘एब्सुलिट्ली ।’

ड्राइभरले भन्यो,

‘यु मेक मी प्राउड ।’

हामीबीचको यी संवाद सुनेर हाम्रो लाइनको छैटौं मुर्दा पनि जागरुक भयो । त्यसले ड्राइभरलाई सोध्यो,

‘कुन रुटमा बस चलाउँथ्यौ ब्रदर ?’

‘थ्रि टेन हार्डभर्ड–मेडफोर्ड ।’

‘म पनि त्यै रुटको बस चढ्छु । ’

ज्याकले उसलाई हप्कायो,

‘के भनेको त्यो चढ्छु? चढ्छु भन्ने जीवनाधिकार तैंले गुमाइसकिस्, अब चढ्थें भन । ’

‘हो म चढ्थें ।’

ड्राभरले सोध्यो,

‘के काम गर्थिस् ब्रदर्स?

‘सर्टिफाइड नर्सिङ असिस्ट्यान्ट ।’

‘सिएनए ?’ ड्राइभर सोध्छ ।

ऊ भन्छ,

‘यस ।’

‘ओ माइ गड, कहाँ ?’

‘फुलमुन नरसिङ होम, क्याम्ब्रिज ।’

‘तब त तैले त्यहाँका बूढाबूढीलाई पनि सारिस ।’

‘मैले के सार्नु ? तिनलाई तिनकै भिजिटरले सारे, बूढाबूढीबाट मलाई सर्‍यो ।’

ड्राइभर झोक्कियो,

‘अनि तँबाट बसका फेलो पेसेन्जरलाई सर्‍यो, मलाई सर्‍यो ।’

‘डन्ट ब्लेम मी ।’

‘आएम नट ब्लेमिङ यु ।’

‘देन ?’

‘भाइरस कसरी चेन तयार गरेर यात्रा गर्छ भन्न खोजेको हुँ ।’

‘ओके ।’

‘सरी ब्रदर आइ एम नट पिन्चिङ यु ।’

‘नो प्रोब्लेम ।’

‘कोभिड चाइनाको वुहानबाट आएको हो ।’

हाम्रो हारको पाँचौं मुर्दा बोल्यो,

‘यसलाई कम्युनिष्ट भाइरस भन्नु पर्छ ।’

ड्राइभर कड्क्यो,

‘भाइरस क्यापिटलिष्टमात्र हुन्छ, जसरी भाइरसले मानिसको फोक्सो चुस्छ, त्यसरी नै क्यापिटलिष्टले हामी मजदुर डस्छ ।’

ज्याक फेरि कड्क्यो,

‘नो पोलिटिक्स हेर, वि अल आर डेड, वेटिङ फर ग्रेभ ।’

ड्राइभर झन् चर्कियो,

‘तर थाहा छ यो क्यापिटलिष्ट पोलिटिक्सले गर्दा कोरोना भाइरसले मर्नेहरूमा बढी मजदुर छन् ।’

सिएनए ड्राइभरको पक्षमा बोल्यो,

‘हो मर्नेहरू बढी मजदुर नै छन् । मिलिनाएर, बिलिनायरहरू त आ–आफ्ना फार्म हाउस, म्यान्सनमा सुरक्षित बसेका छन् ।’

‘यु आर राइट ब्रदर्स, मर्नेहरू मजस्ता ड्राइभर, कुल्ली, गार्वेज म्यान, ग्रोसरी स्टोरमा काम गर्ने क्लर्कजस्ता मजदुर हजारौं छन् ।’

‘वर्गीय कुरा नगर, भाइरसले कसैलाई छोड्दैन ।’

‘हो, तर बाहिर हामीजस्ता मजदुर, कामदारहरूलाई दलाएर ऐस, आराम र आनन्दमा आ–आफ्ना महल, पेन्टहाउसमा बसेर मृत्युको जात्रा हेरिरहेका बिलिनायर, मिलिनायरहरूको झ्यालको सिसासम्म पनि पुग्न सकेका छैनन् यी चुतिया भाइरस ।’

अघिन छिरेका लास ओसार्ने कामदारहरू आ–आफ्नो खाली स्टेचर खडखड गुडाउँदै हलबाहिर निस्के । गोदाम हलमा लासहरू राख्ने खाली ठाउँ एकदम कम हुँदैछ । डिबेटमा चर्किरहेको ड्राइभरले भन्यो,

‘यसरी लास ओसार्दा ओसार्दा उ त्यसको दाइलाई झैं एक दिन यिनलाई पनि कोरोना लाग्नेछ ।’

‘मैले भनि नै हालें मर्ने त यस्तै निम्न मजदुरीका कामदार नै हुन्, हस्पिटलको सिइओ थोडै मर्छ ।’

ज्याक खसखसाउँदै बोल्यो,

‘हामीले ती मजदुरहरू, कामदारहरूको लागि प्रे गर्नु पर्छ ।’

ड्राइभर कड्क्यो,

‘अब मलाई प्रार्थनासँग विश्वास छैन ।’

‘मेरो मतलब तथाकथित ईश्वरसँग हैन, आफ्नै मनसँग,’ म पनि नास्तिक हुँ भन्न खोज्दै ज्याक बोल्यो ।

ड्राइभरले भन्यो,

‘मरेपछि मानिसलाई ईश्वर छैन भन्ने ज्ञान हुन्छ ।’

‘एक्ज्याट्ली, भएको भए त यहाँ हुन्थ्यो ईश्वर ? हामी मुर्दा, हामी मुर्दालाई नै देखिरहेका छौं, सत्य यै,’ सिएनए बोल्यो ।

‘हृयुम्यानिज्म ग्रेट, गडइजम फेक ।’

ड्राइभरको यो भनाइमा ताली बज्नु पर्ने थियो । तर, मुर्दाहरूका हात उचालिएनन् । मुर्दाहरू बोले मात्र ।

केहीले भने, ‘यस ब्रो, हृयुम्यानिज्म इज ग्रेट, गडइजम फेक ।’

मलाई पनि खसखस लाग्यो । र, भनें,

‘यस ब्रो, गडइजम फेक, कम्युनिज्म ग्रेट ।’

‘नो, नो हि मिन हृयुम्यानिज्म ग्रेट, गडइजम फेक ।’

‘आइ नो,’ मैले भनें ।

फेरि बाहिरबाट स्टेचरको खडखडको कर्कश आवाज आउन थाल्यो ।

ज्याक बोल्यो,

‘अरु लासहरू आउँदै छन् जस्तो छ ।’

‘आउँदै हैन, ल्याउँदै छन् ।’

‘सेम थिंग्स ।’

ड्राइभर जोडले हाँस्यो । किन हाँस्यो थाहा भएन । हाम्रो कुरा सुनेर पनि हुनसक्छ । वा कुनै अर्को मुर्दाको चुटकुला सुनेर हाँसेको पनि हुनसक्छ । ज्याकले फेरि मलाई भन्यो,

‘यु नो टोनी ?’

‘हृवाट ?’

‘आज मेरो जन्मदिन हो ।’

‘हिजो मरिस, आज जन्मिस ।’

‘नट किडिङ ।’

‘आइ नो ।’

हल्का उदासी पोख्दै ज्याकले भन्यो,

‘सतचालिस वर्ष पहिले आजकै दिन जन्मेको थिएँ म ।’

‘मरेको भोलिपल्ट तेरो जन्म दिन पर्‍यो दुःखद कुरा हो मुर्दालाई हृयापी वर्थ डे कसैले भन्दैन ।’

‘मलाई हृयापी वर्थ डे भन्ने घरमा छन् ।’

‘घरकाले पनि भन्दैनन्, सम्झेलान मात्र ।’

बाहिर फेरि स्टेचरहरूको खडखड आवाज चल्दै थियो । एकछिनमा ती सबै स्टेचरहरू भित्र पसे । स्टेचरहरू ठेल्दै आएका ती छ जनै कामदारहरू भित्र पस्नासाथ एकछिन चारैतिर घुर्न थाले । र, एउटा निर्क्यौल पाएर ती सबै स्टेचर धकेल्दै परको कुनातिर बढे । सायद तिनले त्यतै खाली ठाउँ देखे । त्यता पुगेर तिनले स्टेचरका लास फटाफट झारे । त्यसपछि तिनका दृष्टि चारैतिर विस्फारित हुन थाले । तीमध्ये पछिल्लोले भन्यो,

‘नाउ फुल, नो मोर प्लेस ।’

‘अबका लास फ्रिजर ट्याक्टर ट्रेलरमा राख्नु पर्छ ।’ यसो भन्दै उनीहरू बाहिर निस्के ।

तिनको कुरो बुझेर ज्याकले मलाई सुनायो,

‘यसको मतलब हल भरियो ।’

‘आइ थिंक सो ।’ मैले भने ।

चिन्तित हुँदै ज्याकले भन्यो,

‘घरकाले हामीलाई कहिले क्लेम गर्न आउने हुन् ?’

‘ती बाँचेका भए आउलान, नत्र हामी अन्क्लेम्ड हुन्छौं ।’

ज्याकले रुन्चे स्वरमा भन्यो,

‘ओ माइ गड ।’

मैले हप्काएँ,

‘अरे मुर्दार, गड इज फेक, यु आर डेड ।’

यहाँ भएका लासहरू सब पारिवारिक क्लेम पर्खिरहेका छन् । जसको जत्ति छिटो क्लेम हुन्छ त्यो त्यत्ति नै छिटो सिमेट्री जान पाउँछ । ज्याक बोल्यो,

‘होपफुल्ली भोलि मेरो क्लेम हुनेछ ।’

‘तँलाई क्लेम गर्न आउने घरमा त छन् ?’

‘किन ?’

‘ती पनि कोभिडले तँ झैं इन्तु न चिन्तु भएर आइसियुमा धकेलिएका हुन् सक्छन् अथवा घरभित्रै मरिसकेका हुनसक्छन् ।’

यो मैले आफ्नै परिवारको सम्भावित हालतको कल्पना गर्दै उसलाई भनेको हुँ । म जिउँदै हुँदा आफ्नो स्ट्रिटका कतिपय घरहरूको यो दारुण हालत थियो । अखबारहरूमा यस्ता खबर अहिले झन् बढिरहेका होलान् । ती खबरमा मेरो, ज्याकको घरको खबरको पनि रिपोर्टिङ हुनसक्छ । मैले भनेको यो कुरा भइरहेको र हुन सक्ने यथार्थ हो । तर, ज्याकलाई मेरो भनाइ दुर्वाक्य लागेछ कि के हो ऊ बिलकुल रन्थनिए झैं मौन भयो ।

‘ज्याक ?’

ज्याक बोलेन । म एक्लै बरबराउने कुरो भएन । म पनि मौन भएँ । यो मौनमा परको कुनै कुनाको मुर्दा केही बोलिरहे झैं लाग्यो । के भन्दै छ यो ? म सुन्ने कोसिसमा लागें । निकैबेरपछि उसको भनाइ मेरो कानको पकडमा आयो !

‘इतिहासले भनेकै थियो जसको अस्तित्व देखिँदैन त्यो भयंकर खतरनाक हुन्छ ।’

‘इतिहासले भनेकै थियो जसको अस्तित्व देखिँदैन त्यो भयंकर खतरनाक हुन्छ ।’

‘इतिहासले भनेकै थियो जसको अस्तित्व देखिँदैन त्यो भयंकर खतरनाक हुन्छ ।’

ऊ एकोहोरो भन्याभन्यै थियो,

‘इतिहासले भनेकै थियो जसको अस्तित्व देखिँदैन त्यो भयंकर खतरनाक हुन्छ ।’

‘इतिहासले भनेकै थियो जसको अस्तित्व देखिँदैन त्यो भयंकर खतरनाक हुन्छ ।’

यो भनाइमा पछुतो छ, ग्लानी छ, व्यंग्य छ र यो सबैको मेलको दर्शन छ । ऊ यो कसलाई सुनाइरहेछ ? आफैंलाई ? सँगैको मुर्दालाई ? हावालाई ? संसारका शासकलाई ? कि लिच्चड डोनाल्ड ट्रम्पलाई ? कि कुनै वैज्ञानिकलाई ? कि बतासलाई ? वा कसलाई ? ऊ थामिएको छैन । भनिनैरहेछ,

‘इतिहासले भनेकै थियो जसको अस्तित्व देखिँदैन त्यो भयंकर खतरनाक हुन्छ ।’

‘इतिहासले भनेकै थियो जसको अस्तित्व देखिँदैन त्यो भयंकर खतरनाक हुन्छ ।’

ऊ नजिकैको कसैलाई झर्को लागेछ । करायो,

‘स्टप ।’

‘स्टप ।’

तर ऊ बेपर्वाह भनिरहेछ,

‘इतिहासले भनेकै थियो जसको अस्तित्व देखिँदैन त्यो भयंकर खतरनाक हुन्छ ।’

‘इतिहासले भनेकै थियो जसको अस्तित्व देखिँदैन त्यो भयंकर खतरनाक हुन्छ ।’

ऊ आफ्नो तालमै भट्याइरहेको थियो । कुन बेला रोक्कियो थाहा भएन ।

म घर सोच्न थालेको थिएँ । स्याम्सन स्ट्रिट स्टकटनमा छ मेरो घर । हाम्रो सन्तानको खातामा दुईटी छोरी छन् । अक्सर शनिबारको दिन हामी बुढाबूढी छोरीहरू लिएर बाहिर कतै घुम्न निस्कन्छौं । साँझ हामी कुनै रेष्टुरेन्टमा डिनर गरेर घर फर्कंछौं । म एक महिना अगाडिको कुरो सम्झदै छु । त्यस साँझ पनि अक्सर हामी जाने गरेको रेष्टुरेन्ट मड आइमा डिनरको लागि पसेका थियौं । यो रेष्टुरेन्ट डाउनटाउनको रिभर स्ट्रिटमा छ। निकै मीठो खाना पस्कनेमा चर्चित र प्रख्यात छ मड आइ । लन्च र डिनरको समयमा यसका टेबुलहरू खचाखच भरिएका हुन्छन् । त्यस साँझ पनि खाली हुने टेबुल भेट्न हामीले पच्चीस मिनेट कुर्नु परेको थियो । हामी दूई घण्टा बिताएर रेष्टुरेन्टबाट निस्केका थियौं । त्यसपछि मेरो लागि त्यस्तो अर्को साँझ आएन । त्यस साँझ मैले दूई मग ड्राट बियर पिएको थिएँ । मेरी श्रीमतीले मार्गरिटा मगाएकी थिई । छोरीहरूले उनीहरूको फेभरेट फ्रेन्च भ्यानिला आइसक्रिमको मजा लिएका थिए । त्यो साँझ नै मेरो अन्तिम सुखद साँझ थियो । त्यस विकिन्पछिको मंगलबारसम्म म आफ्नो काममा गएको थिएँ । बुधबार बिहान मेरो जिउ भयानक काम्न थाल्यो । मलाई ओढ्नेमाथि ओढ्ने खाप्न पर्ने भयो । मेरी बूढीले मेरो ज्वरोको नाप लिई । र, भनी,

‘हनी एक सय तीन डिग्री छ ।’

आत्तिँदै मैले भनें,

‘जिउ पनि भयंकर दुखिरहेछ ।’

तुरुन्तै मेरी श्रीमतीले मेरो प्राइमरी किएर डक्टरलाई फोन लगाई । र, आफ्नो फोन मलाई दिई । फोनमा मेरो कुरा सुन्नासाथ डक्टर रोबर्ट फिल्डम्यानले मलाई भनिहाल्यो,

‘नआत्तिकन अहिले तुरुन्तै आइसोलेसनमा अलग बस, माइट बि कोभिड ।’

डक्टरले बाँकी कुरो मेरी श्रीमतीलाई भन्यो । त्यसपछि श्रीमतीले छोरीहरू आफ्नो भाइको घरमा पुर्‍याई । आफू मेरो कोठाबाट अलग भई । र, तल बेस्मेन्टको कोठामा बसेर डिस्ट्यानसिङमा मेरो मनिटरिङ गर्न थाली । खाने पिउने कुरा ऊ मेरो ढोकामा ल्याएर छोडिदिन्थी । त्यसपछिका हाम्रा कुरा फोनमा हुन्थे । म उसलाई बारबार सोद्धथें,

‘हनी आर यु अल राइट ।’

ऊ भनिरहन्थी,

‘डन्ट वरी अबाउट मी ।’

मेरो कानमा उसको आतंकित स्वर परिरहन्थ्यो । म उसलाई भन्थे,

‘हनी टेक किएर योरसेल्फ ।’

यथार्थ भन्ने हो भने हामी अलग-अलग कोठामा बसेर रुन्थ्यौं । फोनमा स्वर बदल्थ्यौं । मेरो हालत असहृय हुँदो थियो । आइतबारको बिहानसम्ममा म बाथरुम जान नसक्ने भएँ । छातीको दुःखाई निकै बढिरहेको थियो । सास फेर्न निकै गाह्रो भइरहृयो । यो कठिनाइ बढ्दै थियो । सायद म आधामात्र सास फेरिरहेको थिएँ । मेरी श्रीमतीले अत्यासको स्वरमा डाक्टरलाई फोन गरी । एम्बुलेन्स डाकी । ९११ को आस्वासन आयो । तर, एम्बुलेन्स आएन । एम्बुलेन्स कुर्दाकुर्दा दिन बित्यो । रात बित्यो । मेरी श्रीमतीले पटक–पटक एम्बुलेन्सलाई फोन गरी रही । मेरो अनुमानमा ऊ फोनमै झुण्डिरहेकी हुन्थी । ऊ रिस्पोन्समा आस्वासन पाउँथी । तर, मेन रोडमा जोडतोडको साइरन बजाएर कुदिरहेका एम्बुलेन्सहरू हाम्रो घरतिर मोडिदैनथे । वरिपरि एम्बुलेन्सहरू लगातार भ्याइनभ्याइ कुदिरहेका हुन्थे । तिनको आतंकित साइरन हामी सुनिरहेका हुन्थ्यौं । त्यसरी कतै कुदिरहेको एम्बुलेन्सको साइरन सुनीसुनी मेरी श्रीमती मलाई सुनाउँथी, ‘हनी दे आर कमिङ नाउ ।’

उसले यसो भनेपछि कोरोनाले चिथोरिरहेको मेरो छातीमा अलिकता सास भरिन्थ्यो । तर, वास्तविकता उल्टो हुन्थ्यो । त्यसरी साइरन घन्काएर कुदिरहेका एम्बुलेन्समध्ये कुनै पनि मलाई लिन आउँदैनथ्यो । दिनभर, रातभर यस्तै चलिरहृयो । एम्बुलेन्सले हामीलाई पर्खाइरहृयो । मेरी श्रीमतीले लगातार ९११ मा फोन गरि नै रही । एम्बुलेन्सको लागि मेरो पालो आउँदा सोमबारको मध्यान्ह भैसकेको थियो । मलाई घरमै मर्ने भएँ भन्ने भइसकेको थियो । जब त्यो मध्यान्ह मेरो घर अगाडि एम्बुलेन्सको साइरन बज्यो मलाई जीवनको आशा हुन हुन थाल्यो । अझ जब प्यारामेडिकले मलाई एबुलेन्सभित्र हुले अब म बाँच्ने भएँ भन्ने मलाई लागेको थियो । तर, केको बाँच्नु ? दस दिनपछि लासको यो गोदाम घरमा थुप्रिन आउनु पर्‍यो ।

अस्पताल प्रशासनले क्लेम कुरिरहेको अठारौं दिनको मध्यान्ह हामीलाई लडाइएको यो लास गोदामको विशाल सटर अहिले भर्खर खुल्यो । त्यही आकारको एउटा भयानक उज्यालो पनि हृवात्त भित्र पस्यो । त्यससँगै एउटा अजंगको क्याटपिलर स्काभेटर दैंत्य आवाज ओकल्दै भित्र आयो । त्यसको ड्राइभरको सिरदेखि पैतालासम्म प्रोटेक्टिभ वश्त्रले ढाकिएको छ । ड्राइभरले स्काभेटरमा जडान गरेको लाम्चो चौडाइको बकेट भूइँमा ओराल्यो र नजिकका लासहरू हृवात्तै सोरेर उचाल्दै स्काभेटर बाहिर लग्यो । बाहिर कुरिरहेको ट्याक्टर ट्रेलर ट्रकको खुला ट्रेलरमा गएर बकेटका लासहरू हृवार्र खन्यायो । ड्राइभर फेरि स्काभेटर हाँक्दै गोदामभित्र आयो । त्यसको बकेटले दसआठ लास सोरेर फेरि उचाल्यो । त्यसैगरी ट्रेलरमा खन्याउन स्काभेटर बाहिर निकाल्यो । स्काभेटरको यो क्रम चलिरहेछ ।

ज्याक सोध्छ,

‘के हुँदैछ ।’

‘अनक्लेम्ड लासहरु निकालिँदै छन् ।’

‘हो र ?’

‘हेर आफैं ।’

‘ओ, अब ?’

‘हेर्दै जा ।’

‘अनि हामी ?’

‘हाम्रो पनि क्लेम्ड अवधि सकिएको हुनुपर्छ ।’

‘यसको मतलब ?’

‘त्यो मेसिन हामीतिर पनि आउन सक्छ ।’

‘यसको मतलब हामी पनि सोरिने छौं ?’

यसको जवाफमा म ‘यस’ जस्तै केही भन्न खोज्दै थिएँ बाहिर लास खन्याएर भित्र फर्किएको स्काभेटर हामीतिर सोझिन थाल्यो । अनि मैले भनें,

‘त्यो हामीतिर आउँदै छ सोर्न ।’

मैले यत्ति भन्दानभन्दै ड्राइभरले स्काभेटरको बकेट हाम्रो नजिक ओरालिसकेको थियो । बकेटले हामी अगाडिका केही लास सोर्दै बाँकी म, ज्याक, सिएनए, ड्राइभर र अरु केहीलाई उचालेर स्काभेटर बाहिर निस्क्यो । बाहिर ट्रकको ट्रेलरमा पुगेर बकेटमा सोरिएका हामी सब मुर्दाहरूलाई बेपर्वाहसँग हृवार्र खनायो । हामी खनिएपछि ट्रेलर चुलियो । हामी लासहरूको चाङको सबभन्दा माथि पर्‍यौं ।

हाम्रो लासको रासलाई लिएर ट्रक स्काइस्क्यापरका सहरको सुनसान सडकमा कुद्न थाल्यो । उसै पनि मरेको सहर झन् मर्दै थियो । लास बोकेका अरु ट्रक पनि देखिए । ट्रक हामीलाई लिएर मासग्रेभतिर कुँदिरहेको थियो । ज्याकले सोध्यो,

‘अब ?’

‘अब हाम्रो सामूहिक संस्कार हुनेछ ।’

‘लास्ट डेस्टिनेसन ?’

‘हो ।’

हाम्रो मुनिबाट फेरि त्यै श्लोकेको स्वर आयो । यसको मतलब यो मुर्दा हामीमुनि थिचिएको रहेछ । ऊ फेरि त्यै कुरो भट्याइरहेछ !

‘इतिहासले भनेकै थियो जसको अस्तित्व देखिँदैन त्यो भयंकर खतरनाक हुन्छ ।’

ट्रक कुनै निर्जन स्थानमा खनेर राखेको विशाल खाल्डोमा गएर रोकियो । ट्रकको ड्राइभरले ट्रेलर घोप्ट्याएर हामी सब मुर्दाहरूलाई त्यस खाल्डोमा निर्ममतापूर्वक खन्यायो । खनिँदै गर्दा पनि त्यो भनिनैरहेको थियो,

‘इतिहासले भनेकै थियो जसको अस्तित्व देखिँदैन त्यो भयंकर खतरनाक हुन्छ ।’

ट्रकको टेलरबाट झर्दै गर्दा केही मुर्दा जिसस् क्राइस्ट, अल्ला हु अकबर, राम राम भनिरहेका थिए । तर, तीभन्दा ऊ चर्को स्वरमा भनिरहेको थियो,

‘इतिहासले भनेकै थियो जसको अस्तित्व देखिँदैन त्यो भयंकर खतरनाक हुन्छ ।’

‘इतिहासले भनेकै थियो जसको अस्तित्व देखिँदैन त्यो भयंकर खतरनाक हुन्छ ।’

म, ज्याक, सिएनए, ड्राइभर र अरु केही खाल्डोको पिंधमा माटो सुँघ्दै छौं ।

(२६ जना लेखकको हालै बजारमा आएको कोभिडकालका अनुभूति, संस्मरण र कथाहरुको संगालो 'कोभिड १९' बाट ।)

प्रकाशित : आश्विन १३, २०७७ १५:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×