जरुर साथी म सिंगल- कोसेली - कान्तिपुर समाचार

जरुर साथी म सिंगल

पहिलो शिक्षा घरबाट सुरु भएजस्तै हरेक पहिलो लडाइँ पनि घरबाटै सुरु हुन्छ । आफ्नै परिवारबाट उम्किएपछि बल्ल समाजसँगको घनघोर लडाइँ सुरु हुन्छ ।
शिक्षा रिसाल

‘तिमीलाई न त खाना पकाउन आउँछ, न घरको केही काम । तिमीलाई त जिरा र ज्वानो पनि छुट्याउन आउँदैन । न त घरको जिम्मेवारीबारे थाहा छ । तिमीलाई के लाग्छ— म तिमीसँग बिहे गर्छु ? सरी, मेरो परिवारलाई तिमीजस्तो बुहारी चाहिएको हैन ।’

दुई वर्षअघि मेरो कानमा बज्रिएपछि यी शब्द मेरो शरीर र आत्मा छाडेर अझै गएका छैनन् । यी एकमुष्ट शब्दको आशय यही हो— म घरको काम गर्ने मेसिन बन्न अक्षम छु ।

केही दिनअघि ‘कान्तिपुर’ मा लेखक सावित्री गौतमको ‘विखण्डनकारी महिलाको आँखामा दसैं’ शीर्षकमा लेख पढ्दा झलझली त्यो दिनले रन्थनायो । लेखका हरेक वाक्य, हरेक शब्दमा मैले आफूलाई पाएँ । हाम्रो समाजले केटी मान्छे भएपछि खाना पकाउने, भाँडा माझ्ने, कुचोकसेरो गर्ने, सबैको ख्याल राख्ने हुनैपर्छ भनेर तोकिदिएको छ ।

मलाई सम्झना आउँछ— हरेक चाडपर्वमा आमा र आन्टीको चटारो । पहिले जमानामा पुरुषलाई उनका आमाहरूले ‘छोराले घरको काम गर्दैनन्’ भनेर केही अह्राएनन् । उनीहरूले कहिल्यै गर्न पनि खोजेनन् । यो सिलसिला चल्दै गयो । आमा बिहे गरेर आउनुभयो । आन्टी बिहे गरेर आउनुभयो । बुहारी भएपछि उहाँहरूको जिम्मेवारी बढ्यो ।

दसैंमा हामी आमाका काकाकहाँ जान्थ्यौं । म हरेकपटक देख्थें— एक झुन्डमा लोग्नेमान्छेहरू तास खेलिरहेका हुन्थे । कतै गफ गरिरहेका हुन्थे । उनीहरूका श्रीमती भान्सामा मासुका परिकार पकाइरहेका देखिन्थे । पकाएर श्रीमान्हरूलाई टक्र्याउँथे ।

एक जना माइजू तासको खालमा गएर ‘म पनि खेल्छु’ भनेर बसिछन् । यो कुरा एक–दुई कान हुँदै मैदान पुग्यो । हरेक नातागोतामा आगोझैं फैलियो, ‘त्यो बुहारी कति सोमत नभएकी ! लाजसरम पचेकी ! लोग्नेमान्छेको बीचमा बसेर तास खेल्छु भनी ! उसको लोग्ने लाजले रातोपिरो भयो बिचरा ! बोल्नै सकेन !’

त्यतिबेला मलाई लाग्थ्यो— ती माइजूले त्यसो नगरेको भए पनि हुन्थ्यो ।

अहिले उहाँलाई सम्झेर गज्जब लाग्छ । एक मन मलाई उनीजस्तै हुन मन लाग्छ । अर्को मन भन्छ— कुल शिक्षा कुल ! यु डन्ट वान्ट दिस !

त्यतिबेला मलाई ‘महिलाले त्यसो गर्नु गलत हो’ भनेर बुझाइयो । तर, यो कुराको जड अहिले बुझ्दै छु । पहिलो शिक्षा घरबाट सुरु भएजस्तै हरेक पहिलो लडाइँ पनि घरबाटै सुरु हुन्छ । आफ्नै परिवारबाट उम्किएपछि बल्ल समाजसँगको घनघोर लडाइँ सुरु हुन्छ ।

छोरा र छोरी उही तरिकाले पेटमा ९ महिना हुर्किन्छन् । गर्भभित्र शारीरिक विकास पनि उस्तै गतिमा हुन्छ । जन्म पनि उही प्रक्रियाले हुन्छ । उस्तै यात्रामा यो धरती टेक्ने छोरा र छोरीको बाटो जन्मपछि भने अलग हुन्छ । छोरा र छोरीलाई फरक बाटोमा हिँडाइन्छ । छोराहरूलाई ‘छोरा मान्छेले अलिकति बिगार त गरिहाल्छन् नि’ भन्ने बाटोमा हिँडाइन्छ । छोरीहरूलाई ‘छोरी मान्छे भएर धेरै उफ्रिनु हुँदैन’ शीर्षकको बाटोमा डोर्‍याइन्छ । छोरा वंश धान्ने ‘परिवारको शान’ झैं हुर्काइन्छन् । छोरी ‘अर्काको घरमा जाने नासो’ को रूपमा हुर्काइन्छन् ।

छोरा साथीहरूसँग दिनभर खेल्न जाँदा छोरीहरूलाई ‘घरको काममा आमालाई सहयोग गर्ने’ कामदार बनाइन्छ । छोरालाई काम लगाउनुपरे ‘छोरा मान्छेले त परेपछि जे पनि गरिहाल्छ, किन काम लगाउनू ?’ भनिन्छ । छोरीलाई चाहिँ ‘बिहेपछि बूढोको घरमा काम नजाने बेइज्जत हुन्छ, गाल आमालाई पर्छ’ भनेर धम्क्याइन्छ ।

वास्तवमा छोरीहरूको बाल्यकाल यही तयारीमा बित्छ ताकि उनीहरू कुनै दिन हुर्केर लोग्नेको घरमा सेवा गर्न सकून् । बाल्यकालको अबोधपन र उत्सुकता पछ्याउने समयमा उनीहरूलाई घरको ‘ट्रेनिङ सेन्टर’ मा भर्ती गराइन्छ ।

म मान्छु— अहिले परिस्थिति बदलिएको छ । छोरीहरू शिक्षित छन् । आत्मनिर्भर छन् । तर, भित्रसम्म फैलिएको असमानताको जरो अलिकति पनि हल्लिएको छैन । असमानताको जरोमा उभिएको पितृसत्ताको रूख झांगिएर झन् ठूलो भएको छ । यति ठूलो कि उसले वरपरका स–साना बिरुवाको घाम छेकेको छ । शिक्षा र चेतनाको घाम छेकिएपछि उम्रिने भनेको उही पुरातन समाज हो ।

म अविवाहित छु । समाजका अनुसार मेरो विवाह गर्ने उमेर पुगिसक्यो । मेरा साथीसंगी, दिदीबहिनी, भदै आदि सबैको बिहे भइसक्यो । सबै आ–आफ्नो फेसबुक वालमा ‘विथ माई हबी’ भनेर फोटो हाल्छन् । तीजमा राताम्मे भएर गरगहनाको फोटो राख्छन् । तर, त्यो झकिझकाउ सारीमा, त्यो पोतेमा कति आशा, इच्छा र आकांक्षा दबिएर बसेका होलान् ? म यस्तै प्रश्नको उत्तर खोजिरहन्छु ।

मलाई कहिलेकाहीँ उनीहरू चाहेर वा नचाहेर भन्छन्, ‘कति रमाइलो छ है तँलाई ?’

अनि कहिले ठ्याक्क उल्टो सुन्छु, ‘अब त सेटल हो न, एक न एकचोटि त बिहे गर्न परिहाल्छ ।’

कोही थप्छन्, ‘अहिले नै हो जे–जे गर्न मन लाग्छ गर्, बिहेपछि पाइँदैन ।’

यी मेरा नितान्त व्यक्तिगत भोगाइ हुन् । मलाई यही समाजको चालचलनका कारण विवाह र सम्बन्धप्रति ठूलो वितृष्णा छ । प्राकृतिक नियमअनुसार हामी आमा–बुबालाई आफ्नो इच्छाअनुसार फेर्न वा साट्न सक्दैनौं । तर, छोरीहरूलाई आफ्ना बुबा र आमा नै फेर्नुपर्छ । कोख फेर्न नपरे पनि आमाको काख फेर्नुपर्छ । आफू हुर्केको घर फेर्नुपर्छ । त्यो आँगन छोड्नुपर्छ, जहाँ आफ्नो अमूल्य बाल्यकाल बितेको छ । राम्रोसँग नचिनेकालाई बुबा–आमा मान्नुपर्छ । कहिल्यै नटेकेको घरलाई आफ्नो घर मान्नुपर्छ । बिरानो आँगनलाई आफ्नो मानेर अँगाल्नुपर्छ ।

तपाईं (सम्पूर्ण पुरुष) ले कहिल्यै सोच्नुभएको छ— तपाईंलाई यी सब गर्नुपरे के होला ? बिहे गरेर आफ्नो घर छोडेको, नयाँ घर गएको, नयाँ बुबा–आमा पाएको अवस्था एकपटक कल्पना गर्नुस् त ! एक दिन ससुरालीमा गएर दिनभर बस्नुपर्‍यो भने हरिबिजोग हुन्छ । कोही ज्वाइँ केही दिन ससुराली बसिहाले भने पनि यही समाजले भन्छ, ‘ज्वाइँ भएर नि के लाज नभएको, यति दिन बसेका !’

कोही ज्वाइँ धेरै नबोल्ने भए भलाद्मी, धेरै बोल्ने भए कति रसिला र रमाइला ! बुहारी धेरै नबोल्ने भए घुसघुसे, धेरै बोल्ने भए प्यारप्यारे !

कुरा यहीँ सकिँदैन । घरपछि आउँछ थर । समाजले ठूलै मन गरेर नामचाहिँ बदल्न लगाएको छैन । तर, केही उदाहरण हाम्रै टोलमा देखेकी छु— घरको नाम एउटा, माइतीको नाम अर्को ।

मेरो यो लेख यो समाज, केही दिदीबहिनीको सोच र आमाहरूको धारणासँग पनि पक्कै मिल्दैन, दाजुभाइसँग त परको कुरा । म ढुक्क छु । म छोरी भएर जन्मिएकी हुँ, बुहारी बनेर मर्न चाहन्नँ । मलाई आफ्नो गोत्र फेर्नु छैन ।

म बिहान जतिबेला मनलाग्यो, उतिबेला उठ्न सक्ने जीवन बाँच्न चाहन्छु । कोही उठ्नुअघि आफू उठेर सजिँदै हल्का मुस्कानसहित सबैसामु उपस्थित हुनुपर्ने बुहारी बन्न चाहन्नँ ।

मैले यही कुरा भन्दा धेरैले सुनाउँछन्, ‘चाँडै उठ्नु भनेको आफ्नो जीवनशैलीका लागि राम्रो हो । ढिलासम्म सुत्नु राम्रो होइन । मान्छे एउटा रुटिनअनुसार चल्नुपर्छ ।’

जीवनशैलीको ठेक्काचाहिँ बुहारीहरूको मात्रै हो क्यारे !

म घरभित्र मन लागेको बेला चिच्याएर हाँस्ने जीवन बाँच्न चाहन्छु । न कि खोक्दा पनि समाजले के भन्ला भनेर डराई–डराई बाँच्नुपर्ने बुहारी भएर । छोरी भएर जन्मेकी म बुहारी, भाउजू, माइजू, काकी, जेठानी बन्न कदापि चाहन्नँ । किनभने ती सम्बन्धसँग आउँछन् अनेकौं जिम्मेवारी । अनि ती जिम्मेवारीले चिच्याई–चिच्याई भन्छन्—

‘अब तँ अल्लारे छोरी होइन, कसैको घरकी बुहारी भइसकिस् । घरकी लक्ष्मी, घरकी शोभा होस्, गहना होस् ।’

‘त्यसरी पनि हाँस्ने, बोल्ने, हिँड्ने हो ? तँ त कसैको घरकी इज्जत भइसकिस् । तँ जिम्मेवार हुनुपर्छ, अरूका लागि ।’

मेरा दिदीबहिनी र म बच्चाबेला सँगै खेल्थ्यौं, हामी केहीमा फरक थिएनौं । तर, अहिले म उनीहरूको समाजमै पर्दिनँ । हाम्रो ‘सो–कल्ड’ राम्रो समाजका लागि म बिहे नभएकी, नगरेकी, घर–परिवार र श्रीमान् नभएकी, अल्लारे, हाउडे आदि हुँ ।

जब उनीहरू आफ्ना बालबच्चा लिएर आउँछन्, मेरी आमाको तनाव शिखरमा पुग्छ, ‘हेर् त ! तँभन्दा कान्छी !’

म आमालाई प्रतिप्रश्न गर्छु, ‘आमा ! यस्तो कुन घर छ, जहाँ म घरमा जस्तै जतिबेला मन लाग्यो, त्यतिबेला उठ्न सक्छु ? यस्तो घर, जहाँ मलाई अरूले के भन्लान् भन्ने कुराको ‘अलर्ट’ हुन नपरोस् ? यस्तो परिवार कहाँ छ, जसले मलाई बिहे गरेको भोलिपल्ट राताम्मे फरिया, सिन्दूर–पोते नभई सामान्य पजामा र टिसर्ट लगाएर बेडरुमबाट बाहिर निस्केको देख्न सकोस् ?’

यस्तै कुरा चल्दा एउटा साथीले भनेको थियो, ‘त्यस्तो फरिया गाह्रो भए कुर्ता लगाउँदा भइहाल्छ नि !’

म छक्क परें । पजामा र टिसर्ट लगाउँदा हुनेचाहिँ के हो ? ए अँ, बुहारीलाई सोबर हुनैपर्छ क्यारे ! नजर झुकाउनैपर्छ क्यारे !

बिहेको कुरा चल्दा म आमालाई बेलाबेला भन्छु, ‘यस्तो केटा खोज्नू, जसले बिहे गर्नेबित्तिकै आफ्नो घर–परिवार छोडोस् । उसले पनि आफ्नो गोत्र त्यागोस् । आमा–बुबाप्रति आफ्नो कर्तव्य सधैं हुन्छ तर यो समाजमा बिहे हुनेबित्तिकै छोरीलाई मात्र पराई किन बनाइन्छ ? छोरालाई पनि त बनाइयोस् । ती दुईलाई अलग्गै बाँच्न दिइयोस् । मलाई चाडपर्व, पूजा, तिथि, श्राद्धमा बिहान ४ बजेदेखि उठेर भान्सामा लदारिनु नपर्ने घर खोजिदिनुस् ।’

मेरो कुरा सुनेर आमा ‘यस्ता पागल कुरा नगर् है’ भनेर एक छिन रन्किनुहुन्छ । तर, फेरि सम्झाउन थाल्नुहुन्छ, ‘हेर्, अरू पनि त यस्तै बिहे गरेर गए । घर सम्हालेर बसे । बच्चाबच्ची पाए । त्यो जिन्दगी फरक छ । एकचोटि त्यो जिन्दगीमा पुगेपछि त्यतै रमाइलो लाग्न थाल्छ । त्यसमा चुनौतीसँगसँगै खुसी पनि आउँछ । जिम्मेवारीसँगसँगै परिपक्व हुँदै गइन्छ । समझदारी दुवै परिवारलाई गर्नुपर्छ तर छोरी अलिकति लचिलो हुनुपर्छ ।’

म सोध्छु, ‘अनि यो लचिलो हुनुपर्ने बोध लोग्नेमान्छेलाई किन हुँदैन ?’

आमा एक सासमा भन्नुहुन्छ, ‘किनकि उनीहरू हामीलाई विश्वास गर्छन् । विश्वास गरेर आफ्नो घर–परिवारमा सामेल गराएका हुन्छन् ।’

आमा मलाई एकदम कुशल ‘बुहारी मटिरियल’ बनाउन चाहनुहुन्छ, जुन म हुँदै होइन र बन्न पनि सक्दिनँ ।

एकपटक एक जना भाउजूले मेरी आमाको चित्त दुखाइन् । मेरा यस्तै ‘पागल’ सर्तहरू सुनेपछि उनले आमासँग भनिछन्, ‘त्यसो भए कोही परिवार र खानदान नभएको, जात न थरको अनाथसँग बिहे गरे भइहाल्यो नि !’

त्यो बेलादेखि आमाको ईख तिखारिएको छ । तर, मेरा सर्त उस्तै छन् । आमा र हजुरआमा एकातिर, म एकातिर । हाम्रो जुहारी चलिरहन्छ ।

मलाई सबैले सधैं सोधिरहने प्रश्न यस्तै हुन्छ, ‘भोज कहिले खुवाउने ? अब बिहे गर्नु पर्दैन ? कहिलेसम्म हो यस्तो बैरागिएर बस्ने ?’

सबैलाई आज एकमुष्ट उत्तर दिन चाहन्छु, ‘न म बैरागिएर बसेकी छु, न कसैलाई भोज खुवाउने रहर नै छ । यस्तो संसारमा बिहे गरेर गृहिणी बन्नु मलाई स्वीकार्य छैन, जहाँ मेरो स्वतन्त्रताको रिमोट अरूको हातमा होओस् । जहाँ मैले फेर्ने हरेक श्वासको खबर दिनुपरोस् । फेरि कोही एक जनाले विवाह नगर्दैमा संसार पनि त रोकिँदैन । प्राकृतिक विकासक्रम पनि रोकिनेवाला छैन । पृथ्वीबाट मानव प्रजाति लोप हुनेवाला छैन । एक जनाले बिहे गर्नु र नगर्नुमा सारा अस्तित्वलाई केही फरक पर्नेवाला छैन । ४.५ अर्ब वर्षपछि मेरो बिहे होला भनेर ‘इभोल्युसन’ यहाँसम्म घिस्रीघिस्री आइपुगेको पनि होइन ।

म विवाह, सम्बन्ध र जिम्मेवारीदेखि भागेको देखेर मेरा विवाहित साथी र दिदीबहिनीहरू भनिरहन्छन्, ‘कति भाग्छेस् यार, अब त सेटल हो ।’

म उल्टै सोधिदिन्छु, ‘तिमीहरूलाई म कसरी अनसेटल्ड लाग्छ ?’

उनीहरू अक्क न बक्क भएर आँखा यताउता टहलाउन थाल्छन् । उनीहरूभित्र गडेको पितृसत्ता र सिस्टमले म यो समाजमा कतै अटाउन सकेकी छैन । तर, मलाई बाल !

केही दिनअघि एक जना साथीले फोन गर्‍यो । उसको घरमा बुबा, मम्मी र ऊ छन् । ऊ पढे–लेखेको, राम्रो पेसामा छ । तर, उसको कुराले मेरो पारा तात्यो ।

उसले भन्दै थियो, ‘मम्मीलाई सन्चो नै भएन ।’

मैले सोधें, ‘अनि खाना खान दियौ मम्मीलाई ?’

‘अहँ ! के पकाउनू र मैले ! कहाँ पकाउनू ! यस्तो बेलामा चाहिँ बिहे गरेको भए सजिलो हुन्थ्यो भन्ने लाग्ने रहेछ ।’

रिसको झोंकमा मैले उसलाई के भनें, अहिले सम्झना छैन । मनमनैचाहिँ ‘गो टु हेल’ भनेको धमिलो याद छ ।

भान्सा महिलाको जिम्मेवारी हो भनेर सोचिने संरचनामा अहिले थोरै भए पनि परिवर्तन आएको छ । तर, भान्सामा तरकारी काट्दैमा, लसुन फोकिदिँदैमा सबै कुरा सकिँदैन । भान्सामा सहयोग गरे पुग्छ भन्ने मानसिकता पनि सही होइन । बराबरी र लैंगिक समानताको सुरुआत भान्साबाट हुन सक्छ तर त्यत्तिले पुग्दैन । सुधारको बाटोमा भान्सा नर्सरी कक्षा मात्र हो ।

मेरो एकदम मिल्ने साथी सिड्नीमा बस्छे । उसका दुई छोरी छन् । ऊ छोरीहरूलाई हुर्काउने, पढाउनुका साथसाथै आफ्नो काम पनि गरिरहेकी छ । ऊ आफ्नो वैवाहिक जीवनसँग खुसी थिइनँ । खराब सम्बन्धले गर्दा मानसिक स्वास्थ्यमै असर पर्न थालिसकेको थियो । उसले छुट्टिने निर्णय गरी । त्यो निर्णय अस्ट्रेलियाबाट आँधीतुफानझैं काठमाडौं आइपुग्यो । उसको साथमा कोही उभिएनन् । ऊ परिवारबाट बहिष्कृत भई । अहिले एक्लै संघर्ष गरेर बसेकी छे ।

केही दिनअघि भनेकी थिई, ‘मलाई के–के नराम्रो सोच आयो । त्यसैले ठूली छोरीलाई पुलिसको नम्बर र एम्बुलेन्सको नम्बर कण्ठ पार्न लगाएँ । अनि मलाई केही भयो भने नडराई ती नम्बरमा फोन गर्न अह्राएँ ।’

विवाह तोड्ने निर्णय लिन उसलाई सजिलो थिएन । घरपरिवारसँग बोलचाल बन्द भयो । सम्बन्ध बिग्रियो । ऊ अझै आफूलाई कसरी सम्हालिरहेकी छे भनेर एकवचन कसैले सोधेका छैनन् । बाउले उसका लागि ढोका बन्द गरिसके । आमा चुपचाप छिन् । तर, पनि उसले हारेकी भने छैन ।

पुरुषले छोडेको भए उसलाई बहिष्कार गर्नु त परैको कुरा, उसको लागि दोस्रो श्रीमती खोज्ने तयारी नै चलिसकेको हुन्थ्यो । हाम्रो समाजमा महिलाले निर्णय लिएको कसैलाई पच्दैन । समाजले ‘महिलाको पखेटा पलाएको’ देख्न सक्दैन । उसका चाहना र स्वतन्त्रताले कुनै अर्थ राख्दैनन् । समाजकै लागि भए पनि महिलाले घुट्घुटिएर बाँचिदिनुपर्छ । तर, मेरी साथीले आफूलाई सोची । आफू खुसी भए छोरीहरूलाई खुसी राख्न सक्छु भन्ने ठानी र अघि बढी ।

कहिलेकाहीँ लाग्छ— जति बेला मन लाग्यो, उति बेला फुकाएर फाल्न पाइने भएकाले होला, महिलालाई परिवारका ‘गहना’ भनेको !

‘महिलाको दुश्मन महिला नै हो’ भनेर पितृसत्ता पन्छिन खोज्छ । ‘खराब सासू’, ‘खराब बुहारी’, ‘खराब नन्द–आमाजू’ आदिले नै हो महिलालाई अघि बढ्न नदिने भन्ने बुझाइ लाद्न खोजिन्छ । म मान्छु— सबै असल नहोलान् तर यस्ता पात्रहरू पितृसत्ताले प्रयोग गर्ने कवचमात्र हुन् । आफू चोखिन प्रयोग गर्ने पात्र । यदि सासू खराब देखिन्छिन् भने उनलाई पुस्तौंपुस्ताले त्यसो बन्न बाध्य बनाएको हो । हजुरआमालाई त्यतिबेलाको समाज र चलनले बाध्य बनाएको हुन सक्छ । हजुरआमाले गरेको देखेर आमा पनि बाध्य भइन् होला । आमालाई देखेर छोरी पनि त्यही बाटोमा लाग्छिन् होला । एउटा महिला अर्को महिलाको मित्र नहोलान् तर दुश्मन कुनै हालतमा होइनन् । दुश्मन यो समाजको पितृसत्ता नै हो ।

वंश अगाडि बढाउन विवाह जरुरी होला तर विवाह केवल समझदारीको भण्डार हो । कुण्ठा र तिरस्कारको भकारी हो । र, यो हाम्रो समाजमा मात्र सीमित छैन । हाम्रो धर्ममा मात्र सीमित छैन । भियतनामकी मेरी साथी भन्छे, ‘हाम्रो समाजमा महिलालाई धेरै गाह्रो छ । मेरो काका राजाजस्तो बनेर खान्छ । म त पढाइका लागि सहरमा बस्छु । गाउँमा सबै काम र सबै निर्णयमा पुरुषकै दबदबा छ । महिलाको काम पकाउने र घरको काम गर्ने मात्र हो ।’

मेरी एक जना नजिककी भाउजूलाई दाइले उति वास्ता गर्दैनन् । तर, भाउजूको चौतर्फी सकारात्मक चर्चा हुन्छ । बूढाले वास्ता नगरे पनि सबैलाई हाँसेर स्वागत गर्ने, घरमा आइपर्ने सबै जिम्मेवारी वहन गर्ने ‘कुशल बुहारी’ हुन् उनी ।

बूढी सासू बिरामी हुँदा बुहारी बनाएर भित्र्याइएको थियो उनलाई । उनले सासूको राम्रो हेरविचार गरिन् । सबैले तारिफ गरे । तर, जसका लागि सबै घरबार छोडेर आइन्, ऊ नै आफ्नो हो/होइन, थाहा भएन ।

‘बूढाले जस्तो व्यवहार गरे पनि आमाजू, फुपू, सासू, ससुरासँगै सिंगो खानदानलाई एक ढिक्का बनाएर राखेकी छे । लक्षिणकी रहिछ । घर धानेर बसेकी छे । कति उज्याली । यस्ती पो बुहारी !’

गुणगान उनले सधैं सुन्न पाइन् । तर, उनी भित्रभित्रै कति पिल्सिएकी छन्, उनलाई बाहेक अरू कसैलाई थाहा छैन ।

कोही भन्छन्, ‘छोरी पाइहाली । बूढो कुरा परे राम्रोसँग बोलिहाल्छ । के गरोस् त, उसको बानी नै धेरै नबोल्नेछ ।’

भाउजूको बानी धेरै नबोल्ने भएको भए ? नहाँस्ने भएको भए ? भाउजूले दाइलाई वास्ता नगर्ने भएको भए ? घरको केही हेरविचार नगर्ने भएको भए ?

मैले धेरैपटक भन्छु, ‘भाउजू, छोड्न किन डराउनुहुन्छ ?’

‘कहाँ जाने म ? घरको हालत त्यस्तो छ । अब यही आफ्नो भाग्य सम्झेर बस्नुपर्छ,’ उनी एक सासमा भन्छिन्।

मलाई सबैले ‘भाउजू भड्काइस्’ भनेर गाली गर्छन् । तर, म जे देख्छु, त्यसले मेरो रगत उम्लिन्छ । फेसबुकमा अरूको एनिभर्सरी, जन्मदिनका फोटो हेरेर खिन्न मान्ने भाउजूलाई आफ्नो बिहेको फोटो कहाँ छ भन्ने पनि थाहा छैन । भोलि छोरी ठूली भएर आमा र बुबालाई प्रश्न गरी भने ? ‘बिहेको फोटो हेर्छु नि’ भनी भने ?

यस्ता अरू पात्र पनि छन् । उनीहरूलाई देख्नेबित्तिकै म ‘भाँड्ने’ काम गर्छु । ‘बाँदरले आफ्नो घर नि बनाउँदैन, अरूको पनि बन्न दिँदैन’ भन्ने डायलग धेरैपटक खाइसकें । यस्ता सम्बन्ध र यस्ता पात्रहरूलाई म बाँचुन्जेल भाँडिरहन्छु ।

आफ्ना सासू, ससुरा, देवर, देवरानी सबैप्रतिका कुण्ठा पोखिसकेपछि फेरि उनीहरू नै भन्छन्, ‘माया त एकदम गर्नुहुन्छ श्रीमान्ले तर कहिलेकाहीँ कराउने बानी छ । म पनि त कराउँछु नि ! कसैको नेचर नै यस्तो हुन्छ, अब अलिअलि सम्झौता त गर्न परिहाल्यो नि !’

‘होइन, मेरो सासू मम्मी र बुबा त घरको आमा–बाबाभन्दा बढी माया गरिसिन्छ । कस्तो फ्रिडम दिसिन्छ । तर, आफैंलाई अप्ठ्यारो लाग्ने के, केही कुरा भन्नुपर्दा ! धेरै ढिलोसम्म घर नपुग्दा आफैंलाई कस्तो–कस्तो लाग्ने के !’

म आफ्नो जिन्दगी र स्वतन्त्रता बिर्सन चाहन्नँ । बिहे गर्ने रहर मलाई पनि छ । म पनि बच्चा जन्माउन चाहन्छु । म पनि आमा बन्न चाहन्छु । जिन्दगीमा पाइने हरेक अनुभव बटुल्न चाहन्छु । तर, आफ्नो स्वतन्त्रताको घाँटी निमोठेर म कुनै घर सजाउन सक्दिनँ । आफ्ना खुसी र इच्छाहरू मारेर ठडिएको त्यस्तो घर मेरा लागि घर हुनेछैन ।

म सोच्छु— एकपटक पाएको जिन्दगी घुमेर, रमाएर, नयाँ ठाउँ र मानिस भेटेर बिताऊँ । मलाई कसैकी श्रीमती, बुहारी, नन्द–देवरकी भाउजू बनेर यो जीवन बिताउन मन छैन । मन भन्छ— जा घुम् । बाँच् आफ्नो जिन्दगी । बाँकी म सम्हाल्छु ।

त्यसैले म यो बाटोमा छु । यतिन्जेलसम्म हिँड्दा थुप्रै अपमान, तिरस्कार र अवहेलना भोग्नुपरेको छ । र, यो क्रम रोकिनेछैन । समाजले बिहे नगरेकाहरूलाई बहिष्कारको नजरले हेर्छ । समाजलाई मेरो खुसीबारे न कहिल्यै कुनै मतलब थियो न हुनेवाला नै छ । एउटी अविवाहित केटीलाई समाजमा अटाउनका लागि विवाहवाला परीक्षा पास गर्नुपर्छ भने म त्यस्ता हरेक परीक्षा बहिष्कार गर्छु । मलाई बाल !

मेरो एउटा ‘रेकरिङ ड्रिम’ छ— सबै जना तयार भएर बसेका । म पनि सजिएकी हुन्छु, बेहुली बनेर । तर, जन्तीको बाजा सुनेपछि मलाई एन्जाइटी सुरु हुन थाल्छ । रातो सारी, घुम्टो, मेकअप मलाई भारी लाग्छ । गहनाले मेरो घाँटी निमोठिएको जस्तो हुन्छ । जन्ती आइसकेको खबरले म झन् आत्तिन थाल्छु । के गरौं, कसो गरौं हुन्छ । म बसिरहेको ठाउँबाट उठ्न खोज्छु, सक्दिनँ । जब सबै जन्ती हेर्न गइरहेका हुन्छन्, म सबै छोडेर कता–कता अन्तै पुग्छु, यो समाजबाट धेरै टाढा । मनमा सन्तोष आउँछ । भित्रबाट मेरो आत्मा बोल्छ— कुनै हिन्दी सिनेमामा झैं— ‘यु डन्ट वान्ट दिस !’

(शनिबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘शनिबार विशेष’बाट ।)

प्रकाशित : कार्तिक २१, २०७७ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्

हुइयाँ मोह : जिउँदै श्रद्धाञ्जली

यथार्थ नबुझी हल्लाकै भरमा कसैको मृत्युको समाचार फिँजाइदिन्छौँ । अरू काम ढिलो–ढिलो गरे पनि कसैलाई श्रद्धाञ्जली व्यक्त गर्नचाहिँ हामी निकै हतारिन्छौं ।
लीला लुइटेल

अङ्ग्रेजीको ‘क्राउड बिहेभियर’ पदावलीको प्रकृति र विशेषता केलाउँदा यो नेपालीमा प्रचलित ‘हुइयाँ’ शब्दसँग मेल खाने देखिन्छ । अहिलेको विद्युतीय सञ्चारको युगमा हुइयाँ आतङ्कको नेतृत्व त अनलाइन पत्रिका तथा युट्युबहरूले लिएको अनुभव सबैले गरेकै हुनुपर्छ ।

उच्चशिक्षित र चेतनशील भनिएका कतिपय व्यक्ति पनि आफ्नो सामान्य विवेकसम्म प्रयोग नगरी हुइयाँकै पछि दौडेको दृश्य हाम्रा लागि नौलो होइन । अहिले कोभिड भाइरसको दबदबाका कारण सिङ्गो मानवजाति आतङ्कित भएका बेला अनि २०७२ को भूकम्पका बेला पनि हाम्रो हुइयाँप्रेम सबैले अनुभव गरेकै हो ।

हुइयाँको यसखाले महामारीले नेपाली साहित्यलाई पनि बेलाबेला आतङ्कित बनाएको देखिन्छ । काँधमा काँध मिलाएर हिँडेको व्यक्तिबारे पनि अन्टसन्ट एवं हावादारी कुरा लेखिदिने, महिलालाई पुरुष तथा पुरुषलाई महिला भनी सगर्व घोषणा गरिदिने, एउटा विधा तथा भाषाको पुस्तकलाई अर्कै विधा र भाषाको भनिदिएर लामै विश्लेषणका साथ पाण्डित्य छाँटिदिने, एउटा देशको नागरिकलाई अर्कै देशको नागरिक बनाइदिने आदि अनेक हुइयाँदारी सन्दर्भ त नेपाली साहित्यका पाठकलाई जानकारी नभएको होइन ।

हुइयाँको यसखाले आतङ्कले कतिपय साहित्यकारलाई जीवितै श्रद्धाञ्जली दिन गरेको प्रतिस्पर्धात्मक स्थितिसँग पनि हामी कोही अपरिचित छैनौँ । कविवर माधव घिमिरेले यस संसारबाट बिदा लिएको २०७७ भदौ २ गते हो तर हामीमध्ये अधिकांश साहित्यप्रेमीले माधव घिमिरेलाई २०७४ जेठ १४ मै श्रद्धाञ्जली प्रकट गरिसकेको यथार्थ सबैको सम्झनामा ताजै हुनुपर्छ । अझ पछि परिएला कि भन्ने डरले उनलाई श्रद्धाञ्जली व्यक्त गर्न युद्धस्तरको प्रतिस्पर्धा नै चलेको हो त्यसबेला । अरू त अरू भइगए, मुलुककै मुख्य जिम्मेवार पदमा आसीन गृहमन्त्रीले समेत हुइयाँकै भरमा हतारिएर श्रद्धाञ्जली प्रकट गरेका बेला हाम्रो हुइयाँ मोह नराम्रैसँग छरपस्ट भएकै हो ।

गृहमन्त्रीको यस कार्यलाई उनका भक्तहरूले साहित्यकारप्रति देखाएको आस्थाका रूपमा व्याख्या गर्न पनि सक्लान्, तर सिङ्गो मुलुकको गृहमन्त्रीको पदमा आसीन एउटा जिम्मेवार व्यक्तिले हुइयाँकै भरमा यति हतारिएर समवेदना प्रकट गर्नुअघि वस्तुस्थितिबारे यथार्थ जानकारी लिनुपर्थ्यो कि पर्दैनथ्यो ? यदि उनी आफूलाई साहित्यकारप्रति आस्था राख्ने संवेदनशील व्यक्तिका रूपमा चिनाउन लालसा राख्ने व्यक्ति थिए भने उनी स्वयं माधव घिमिरेका घरमा पुगेर वस्तुस्थितिको जानकारी लिनु र सम्बद्ध परिवारलाई समवेदना प्रकट गर्नु उनको कर्तव्य थियो । त्यति गर्न नसके पनि परिस्थिति बुझ्न कसैलाई पठाउन पनि सक्थे । यति गर्न उनी व्यक्तिकै स्तरमा त सक्षम थिए भने एउटा जिम्मेवार पदमा आसीन अनि सिङ्गो सरकारी साधन एवं सुविधा जुनसुकै बेला जस्तोसुकै अवस्थामा परिचालन गर्न सक्ने हैसियतमा थिए उनी त्यतिबेला । यति पनि भएन रे लौ, एक कल फोन गरेर हल्लाको सत्यतथ्य बुझ्न त सक्थे नि ।

यसबाट हाम्रो साथमा राज्य छ भन्ने सन्देश सम्पूर्ण साहित्यकारमा प्रवाहित हुन सक्थ्यो । यसले व्यक्तिगत रूपमा उनी लोकप्रिय हुनुका साथै उनको प्रतिष्ठामा पनि बढोत्तरी हुन्थ्यो । यहाँ उनका भक्तहरूको प्रश्न हुन सक्छ— कुनै व्यक्तिको निधनमा मन्त्री जानु सम्भव हुन्छ त ? यस प्रश्नको उत्तर मसँगचाहिँ यस्तो छ— माधव घिमिरे एउटा व्यक्ति मात्र नभई राष्ट्रबाटै सम्मान र भत्ता प्राप्त गरेका साहित्यकार हुन् । त्यसैले राष्ट्रको एउटा जिम्मेवार व्यक्तिले उनीप्रति गर्नुपर्ने औपचारिक कर्तव्य पनि थियो त्यो । देशको गृहमन्त्रीजस्तो पदमा आसीन मुख्य जिम्मेवार व्यक्ति त यसरी हुइयाँको पछि दौडन्छन् भने अरूको त के कुरा गर्नु र खै ?

यसरी जिउँदै श्रद्धाञ्जली पाएपछि माधव घिमिरेले यस्तो अभिव्यक्ति दिएका थिए :

अचम्म भो, अचम्म भो, अचम्म भो

यही जुनीमा अर्को जुनी पाएँ

लाखलाख नेपालीको माया पाएँ ।

जिउँदै श्रद्धाञ्जली पाउने व्यक्तिहरूमा माधवप्रसाद घिमिरे मात्र एक्ला साहित्यकार होइनन् । जनकविकेशरी, गायक धर्मराज थापा तथा साहित्यकार भीमनिधि तिवारीजस्ता साहित्यकारले पनि जीवितै छँदा श्रद्धाञ्जली पाएका रहेछन् ।

२०११ सालतिर प्रशासनिक कामको जिम्मा लिएर धर्मराज थापा मुस्ताङको सेरोफेरोमा गएका रहेछन् । लोकगीतको सङ्कलन तथा अनुसन्धान गर्ने अभीष्टबाट प्रेरित भई त्यतिबेला उनको बसाइ त्यता अलि लामै भएछ । यता काठमाडौँमा ‘समाज’ नामक पत्रिकाले उनको निधन भएको समाचार छापेर श्रद्धाञ्जली दिन भ्याइसकेछ । पछि नरप्रताप थापा कामविशेषले पोखरा गएका बेला त्यहाँ धर्मराज थापालाई देखेर जिल खाएछन् । उनले धर्मराज थापालाई काठमाडौँमा उनको मृत्यु भइसकेको भनेर पत्रिकामा समाचार छापिएको कुरा बताएछन् । त्यसको केही समयपछि धर्मराज थापा काठमाडौँ आएर भूगोलपार्कमा एउटा कार्यक्रम गरी आफू जिउँदै रहेको जानकारी दिएछन् । गोविन्द लोहनीको सभापतित्वमा भएको सो कार्यक्रममा धर्मराज थापाले छाती ठोक्दै ‘म मसानबाट ब्युँझेर आएको एउटा मुर्कट्टा हुँ’ भनेर भाषण गरेका थिए रे । धर्मराज थापा स्वयंले एउटा रेडियो अन्तर्वार्तामा यस घटनाको बेलिविस्तार लगाएको यस पङ्क्तिकार स्वयंले सुनेको हो ।

२०२१ साल जेठ ३१ गते साहित्यकार बालकृष्ण समले अर्का साहित्यकार भीमनिधि तिवारीको देहान्त भएको हल्ला सुनेछन् । अझ एक जनाले त उनलाई ‘भीमनिधिको शव पशुपति लगेको मेरै आँखाले देखेको हजुर’ भनेर सुनाइदिएछ । यो सुनेर अत्यन्त दुःखी भएका सम भीमनिधिको परिवारलाई समवेदना प्रकट गर्न तुरुन्तै उनको घरमा पुगेछन् । त्यहाँ पुग्दा चिरिच्याँट्ट परेर बसेकी भीमनिधिकी छोरी बेन्जुले प्रसन्नतापूर्वक आफूलाई स्वागत गरेको देखेर सम तिल्मिलाएछन् र ठाडै खुट्टा घरबाहिरबाटै फर्किन खोजेछन् । सम र बेन्जुको वार्तालाप सुनेर ‘को आएछ’ भनी बुझ्न भीमनिधि स्वयं बाहिर निस्कँदा समलाई देखेछन् । भीमनिधिले बोलाएर भित्र लगेपछि पनि कति बेरसम्म त सम बोल्नै सकेनछन् । निकै बेरपछि सानो स्वरमा समले ‘यो टोलमा भीमनिधि तिवारी भन्ने अर्को मान्छे पनि छ’ भनेर सोधेछन् र अन्त्यमा दुःखी हुँदै आफू त्यहाँ आएको कारण बताएछन् । यस यथार्थ घटनाका आधारमा सम, तिवारी र बेन्जुका बीच छोटोमिठो संवादको आयोजना गरी साहित्यकार बेन्जु शर्माले ‘सत्य घटना’ शीर्षकमा दुई दृश्यको एउटा नाटक पनि लेखेकी छन्, उक्त नाटक २०२१ साल भदौको रूपरेखा (वर्ष ५ पूर्णाङ्क ५३/७) पत्रिकामा प्रकाशित छ ।

जीवितै छँदा मृत्युको हल्ला गरिएका अर्का साहित्यकार लव गाउँले पनि हुन् । ‘यो हल्लैहल्लाको देश हो’ कविताका सर्जक भूपि शेरचनलाई २०३९ सालतिर लव गाउँलेले संसार छोडेको कुरा कसैले सुनाइदिएछ र उनी सोधपुछ गर्न थालेछन् । उक्त हल्ला सुनेर लव गाउँलेका मित्र गोविन्द गिरी प्रेरणा सत्यतथ्य बुझ्न तथा समवेदनाका लागि फोटो खोज्न भनी लव गाउँलेको अफिस पुगेछन् र त्यहाँ लव गाउँलेलाई देखेर जिल खाएछन् । लव गाउँलेको मृत्युको हल्ला यो एकपटक मात्र नभएर अर्कोपटक पनि चलेको रहेछ । २०४३ सालतिर उपचारार्थ मनमोहन अस्पतालमा रहेका बेला पनि लव गाउँलेको मृत्यु भएको हल्ला चलेछ । त्यतिबेला पनि उनलाई श्रद्धाञ्जली अर्पण गर्न कतिपय साहित्यकारले फूलमालासमेत किनिसकेको जानकारी पाइन्छ ।

मिति ठ्याक्कै सम्झना भएन, २०४०–४१ सालतिर हुनुपर्छ, साहित्यकार सीता पाण्डे झापाबाट काठमाडौँ आउँदा सवारी दुर्घटनामा परेकी थिइन् एकपटक । त्यतिबेला उनको निधनको हल्ला नाटककार एवं कलाकार कुबेर गर्तौलाले यस पङ्क्तिकारलाई बडो दुःखपूर्वक सुनाएका थिए । यस्तै हल्ला सुनेर राजेन्द्र शलभ शोकसभाका लागि सरसल्लाह गर्न गोविन्द गिरी प्रेरणाको घरमा पुगेका थिए । पछि यो यथार्थ नभई हल्ला मात्र भएको थाहा पाएर दुवै जना तैँ चुप मै चुप भएर बसेका थिए । साहित्यकार कृष्णप्रसाद पराजुली उपचारार्थ अस्पतालमा भर्ना भएका बेला कसैले फोन गरेर म स्वयंलाई पनि मृत्युको खबर दिएको थियो । उनको घरपरिवारसँग नजिकको सम्बन्ध भएका कारण तुरुन्त फोन गरेर बुझ्दा उक्त खबर झूटो साबित भई त्यतिखेर हामीले सन्तोषको सास फेरेका थियौँ । यसैगरी अम्बर गुरुङ अस्पतालमा हुँदा मृत्युको हल्ला फैलिएर कतिपयले श्रद्धाञ्जली दिएको पनि हामीले बिर्सेका छैनौँ ।

हामी नेपालीको हुइयाँ प्रेम दर्साउन माथिका केही उदाहरण पर्याप्त छन् । अरू त अरू कसैको मृत्युको समाचार पनि हामी यथार्थ नबुझी हल्लाकै भरमा हल्ला फिँजाइदिन्छौँ अनि अरू काम अलि ढिलोढिलो गरे पनि कसैलाई श्रद्धाञ्जली व्यक्त गर्नचाहिँ हामी पछि परिएला कि भन्ने डरले असाध्यै छिटो गर्छौँ । स्रोत र सामग्रीको अभावका कारण समाजमा कहिलेकाहीँ यस्ता भ्रमहरू फैलिनुलाई स्वाभाविक रूपमा लिन सकिएला तर हामी अहिले एक्काइसौँ शताब्दीको विद्युतीय सञ्चारको युगमा छौँ । समाजमा फैलिएका यस्ता भ्रमहरू यथार्थ हुन् कि होइनन् भनेर निष्कर्ष निकाल्नका लागि हामीसँग पर्याप्त सामग्रीको सुलभता छ । यस्ता सामग्री अहिले प्रत्येक व्यक्तिले सहजतापूर्वक हत्केलामा खेलाउने मौका पाएका छन् । आफूलाई एक्काइसौँ शताब्दीको विद्युतीय सञ्चारको युगमा बाँचेकोे मान्छे भनेर गर्व गर्ने होड पनि हामीमा पर्याप्त छ । यसरी आफ्नै पहुँच र नियन्त्रणमा रहेको यति सर्वसुलभ सामग्री प्रयोग गरेर आफूलाई अद्यावधिक राख्न सक्ने स्थितिमा हुँदासमेत विवेकपूर्ण ढङ्गले यसको प्रयोग नगरी हुइयाँको पछि लाग्न मन पराउने यस्तो विरोधाभासपूर्ण स्थितिमा रहेका हामीलाई आउने पुस्ताले दिने विशेषण कस्तो होला कुन्नि ?

प्रकाशित : कार्तिक १५, २०७७ १३:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×