२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बौद्धिकी-निर्माणको हर्जा

नेपाली भाषाका पाठक, चिन्तक र अध्येताका लागि गतिलो खुराकी हो– ‘सत्ता र सत्य’ । संग्रौलाको झर्रो स्वादसहितको झरिलो भाषाका कारण यो किताब ‘नेपाली हावापानी सुहाउँदो’ प्रसंगमा पनि उत्तिकै बहसयोग्य छ ।
गुरुङ सुशान्त

नेपाली भाषाका पाठक, चिन्तक र अध्येताका लागि गतिलो खुराकी हो– ‘सत्ता र सत्य’ । संग्रौलाको झर्रो स्वादसहितको झरिलो भाषाका कारण यो किताब ‘नेपाली हावापानी सुहाउँदो’ प्रसंगमा पनि उत्तिकै बहसयोग्य छ ।

बौद्धिकी-निर्माणको हर्जा

हामी बारम्बार प्रश्न गर्छौं– ‘कहाँ उभिएका छौँ ? कता जाँदै छौँ ?’ राज्यको संरचना र चरित्र नबुझी हामी आफ्नो धरातल छाम्न सक्दैनौँ नै । जब राज्यले झुन्ड्याएको ‘होर्डिङ बोर्ड’ र उसले जनतासँग गरेको व्यवहारबीच तालमेल हुँदैन, तब अड्कल काट्छौँ– कहीँ–कतै त गडबडी अवश्य छ । त्यो गडबडी के र कहाँ होला ? राज्यको विश्वदृष्टिमा या शासकको नियतमा ?

थाहै छ, संविधानतः नेपाल धर्मनिरपेक्ष, समावेशी समाजवादोन्मुख र लोकतन्त्रात्मक राज्य हो । संविधान सार्वजनिक खपतका खातिर मात्रै संकलन गरिएको सुन्दर शब्दावली–संग्रह होइन भने साँचो अर्थमा जनताका अनुभूति र अनुभव पनि हेर्नुपर्ला । प्रश्नलाई स्वागत गरौँ– आखिर समाजवादोन्मुख राज्य कस्तो हुन्छ ? व्यक्ति–चेतनालाई पङ्गु बनाउने पुँजीवादी चुत्थो शिक्षा पद्धतिको खराबीबाट हामी कसरी उम्किने ? विद्यार्थीलाई कृत्रिम प्रतिस्पर्धा र लालची सफलताको पुजारी बनाउने प्रशिक्षणको घेरा कसरी तोड्ने ?

अल्बर्ट आइन्सटाइन लेख्छन्, ‘यी गम्भीर खराबीहरूलाई निर्मूल पार्ने उपाय एउटै मात्र छ भन्ने कुरामा म विश्वस्त छु । त्यो उपाय सामाजिक लक्ष्यहहरूतर्फ फर्केको शिक्षा प्रणाली भएको अर्थव्यवस्थाको स्थापना गर्नु हो । यस्तो अर्थव्यवस्थामा उत्पादनका साधनहरू समाजको स्वामित्वमा रहन्छन् र तिनको उपयोग योजनाबद्ध ढंगले गरिन्छ ।’ यी हरफहरू लेखक खगेन्द्र संग्रौलाद्वारा अनूदित पुस्तक ‘सत्य र सत्ता’ बाट उद्धृत गरिएको हो । फूलबुट्टे तारिफबिना भन्न सकिन्छ, ‘सत्ता र सत्य’ का दार्शनिक लेख/निबन्ध खस नेपालीभाषी पाठक, चिन्तक र अध्येताका लागि गतिलो खुराकी हो । संग्रौलाको झर्रो स्वादसहितको झरिलो भाषाका कारण यो पुस्तक ‘नेपाली हावापानी सुहाउँदो’ प्रसंगमा पनि उत्तिकै बहसयोग्य छ । विलियम मोरिस, आन्टोनियो ग्राम्स्की, अल्बर्ट आइन्सटाइन, बर्तोल्ट ब्रेख्त, विलियम हिण्टन, इडुआर्दो ग्यालिआनो, हवार्ड जिन र एडवर्ड सइदका लेखसँगै पाठकले मानवशास्त्री मेरी डेसेन र लेखक सीके लालका वैचारिक टिप्पणी बोनसमा पढ्न पाउनु सुखद अनुभूति हुन सक्छ ।

बुद्धिजीवी, बौद्धिकी, स्वतन्त्रता, राज्य–सत्ता, राजनीतिक विचार, कला–साहित्य र सत्यबीच रहने सम्बन्धको एक समष्टि हो यो पुस्तक, जसले पाठकलाई डिस्कोर्सका लागि परोक्ष आह्वान गर्छ । कतिपय दार्शनिकहरू ‘गाम्भीर्य’ भन्ने नामपदलाई नै रोगको प्रवर्गमा लगेर पन्छाइदिन्छन् । तर, समाज र चेतनालाई गतिशील बनाइराख्ने हो भने उडन्ते ‘भविष्यवाणी’ भन्दा जमिनसँग जोडिएको विमर्शलाई बौद्धिक उचाइ दिनु जरुरी हुन्छ ।

उत्तरऔपनिवेशिक अध्ययनका प्रवर्तक तथा प्यालेस्टिनी–अमेरिकी विद्वान् एडवर्ड सइद बौद्धिकहरूका लागि आधारभूत प्रश्न सोध्छन्, ‘कसरी कोही सत्य बोल्न सक्छ ? कुन सत्य ? कसका लागि र कहाँ ?’ उनी कुनै सञ्चारमाध्यमको तलबी परामर्शदाता बनिदिनु र बन्दकोठे मण्डलीमा बोल्नुभन्दा विश्वविद्यालयमा व्याख्यान दिनुमा रमाउँछन् । कुनै प्यालेस्टिनीलाई सहयोग गर्न वा रङ्गभेदविरुद्ध विद्वत् भाषण दिन अझै स्वीकार्य छ, उनलाई । के नेपालका विश्वविद्यालयहरूमा विभेदविरुद्ध बोल्ने–लेख्ने सहज वातावरण छ ? उत्तर त्यति सहज नहोला । विश्वविद्यालयले प्रायःजसो संकुचित सरकारी, सैनिक वा व्यापारिक हितहरूको सेवा गर्दै आफूले तटस्थता कायम गर्नुपर्ने तर्क अघि सारेर बृहत्तर र व्यापक मूल्यहरूलाई समर्थन गर्न इन्कार गरेको हवार्ड जिनको बुझाइ छ ।

स्वतन्त्र भनिएका प्राज्ञिकहरूले समेत सरकारी प्रलोभनसामु घुँडा टेकेका दृश्यले हामीलाई निराश बनाएकै छ । त्यति मात्रै होइन, सत्तानिकट ठालुवादमाथि नियन्त्रण गर्ने पेसेवर बुद्धिजीवीले स्वतन्त्र बौद्धिकलाई विवादास्पद र असहयोगी पात्रका रूपमा प्रस्तुत गरिदिन्छन् । बौद्धिकहरूको जीवनको ध्येय मानव स्वतन्त्रता र ज्ञानको उन्नत परिष्कार हुनुपर्नेमा स्वार्थप्रेरित दाउपेच भएकोमा सइद चिन्ता व्यक्त गर्छन्, ‘म मात्र जान्ने हुँ भन्दै अरू कसैका समाजमा हुने दुरुपयोगहरूबारे डिङ हाँक्नु र आफ्नै समाजमा चाहिँ ठीक त्यस्तै व्यवहारहरूलाई क्षमा दिनु बौद्धिक दाउपेचहरूमध्ये सबैभन्दा तुच्छ दाउपेच हो ।’ हाम्रा कतिपय बुद्धिजीवीहरूलाई पृथ्वीको अर्को ध्रुवमा चलेको ‘ब्ल्याक लाइभ म्याटर्स’ ले रन्थन्याउँछ तर दैलोमै दलित मारिँदा दुख्दैन । यसको आशय अमेरिकी विभेद दुख्नु हुँदैन भनेको होइन । तर, सइदले भनेजस्तै उस्तै खाले उत्पीडनमा समेत गरिने फरक व्यवहारले भने हाम्रो स्वत्वमा लुकेको खियाग्रस्त सोच र ढोँग उदाङ्गो पारिदिएको छ ।

ल्याटिन अमेरिकामा भोगचलनको स्वामित्व मुठ्ठीभर मानिसमा सीमित भएकै कारण बहुसंख्यक जनता हवाई कल्पना पिएर बाँच्न बाध्य भएपछि इडुआर्दो ग्यालियानो भन्छन्, ‘गरिबहरूलाई धन–सम्पत्तिका भ्रमहरू बेचिन्छन्, उत्पीडितहरूलाई स्वतन्त्रताका भ्रमहरू बेचिन्छन्, हराइएकाहरूलाई जितबाजीका सपनाहरू बेचिन्छन् र अशक्तहरूलाई शक्तिका सपनाहरू बेचिन्छन् ।’ ग्यालियानोले साढे चार दशकअघि व्यक्त गरेका यी विचार र पछिल्लो समय नेपालको राजनीतिक केन्द्रमा उरालिएको समृद्धिको ‘गफ’ बीच साम्य छैन र ?

विलियम हिण्टनका निबन्धले हामीलाई के कुरामा विश्वस्त बनाउन खोज्छ भने शिक्षा र सिद्धान्तलाई श्रमसँग जोडेमा ज्ञान सिर्जनात्मक हुनेछ । लेखले यो पनि बताउँछ कि प्रतिक्रियावादी पुँजीवादको आलोचना गर्नुको उद्देश्य उनीहरूबाट छुट्कारा पाउनु र उनीहरूको सेवालाई पूरापूर परित्याग गर्नु नभई उनीहरूलाई रूपान्तरण गरेर मजदुर वर्गीय राजनीतिको मूलधारमा ल्याउनु थियो । तर, हिण्टनका विचारमा असहमत हुने नेपाली ‘विद्वान्’ तथा पाठकहरू धेरै भेटिन सक्छन् ।

नेपालमा राज्यलाई खबरदारी गर्ने सवालमा बौद्धिकहरूको भूमिकाबारे भएका विमर्शलाई कमलप्रकाश मल्लदेखि हिसाब गर्दा मात्रै पनि आधा शताब्दी पुगिसक्यो । मल्ल नेपाली विद्वत् परम्पराको चारित्रिक विशेषतामाथि टिप्पणी गर्छन्, ‘आलोचनात्मक टिप्पणीको सट्टा सूत्रीय पूर्व–चिन्तन, भौतिकको बदला आध्यात्मिक, साकारको सट्टा उपदेशात्मक प्रवृत्ति अपनाउनु ।’ आफ्नो समाजको मूल्यांकन गर्नुपर्ने बुद्धिजीवीहरू कर्तव्यविमुख भएकोमा उनको विमत्ति छ । डा. हर्क गुरुङको बुझाइ छ, ‘नेपाली बुद्धिजीवीहरू गहन विषयहरूमाथि अध्ययन र प्रकाश पार्नु सट्टा भ्रामक ओठ चलाउने प्रवृत्तिमा अल्झिएका प्रत्यक्ष उदाहरण हो, राष्ट्रिय संस्कृतिबारे उनीहरूको फितलो ज्ञान ।’

बहुसांस्कृतिक समाजको हातेमालोलाई नबुझ्दा हाम्रा विचारहरू एकांगी भएको ठान्छन्, गुरुङ । मल्लले विद्यावारिधिहरू हेरेर बौद्धिक सूची तयार गरेको आरोप लगाउँछन्, जगदीश घिमिरे । शैक्षिक प्रमाणपत्र नभई विचारको सार्वजनिक सञ्चार नै आजको बौद्धिकताको कसी रहेको धारणा राख्दै घिमिरे लेख्छन्, ‘किसानहरू पनि केवल मुढेबलको भरमा सफल हुन सक्तैनन् । सफल किसान हुनका लागि बीउ बिजनको पहिचान, मलको बजार व्यवस्था, कीटाणुनाशक औषधिहरू र सरकारी नीतिलगायत सबै आवश्यक कुराहरूको पर्याप्त ज्ञान हुनु अनिवार्य छ । त्यति ज्ञान हुने किसानलाई बुद्धिजीवी होइन भन्न मिल्दैन ।’ रैथाने बुद्धिजीवीको प्रसंगमा आन्टोनियो ग्राम्स्की झन धेरै गम्भीर र प्रस्ट छन् ।

ग्राम्स्कीको विचारमा सबै मानिस बुद्धिजीवी हुन् तर सबै मानिसले समाजमा बुद्धिजीवीको काम गर्दैनन् । रुसी क्रान्ति, पश्चिम युरोपेली मजदुर आन्दोलन, फासीवाद र पुँजीवादी व्यवस्थालाई नियालेका ग्राम्स्की विचारधारामूलक संघर्षको आवश्यकता देख्छन्, जसमा बौद्धिकहरूको भूमिकालाई पनि औँल्याउँछन् । उनको वर्गीकरणअनुसार बौद्धिक मुख्यगरी दुई प्रकार छन्– पारम्परिक र जैविक । उनी जमिनसँग जोडिएको स्थानीय ज्ञानप्राप्त रैथाने बौद्धिकमा नै बढी जोड दिन्छन् । बौद्धिकहरू पनि वर्चस्वशाली र प्रतिरोधी खेमाका हुन्छन् । पहिलो सत्तानिकट रहन्छन् भने दोस्रोले सत्ताबाट भए गरेका गलत कामहरूको आलोचना गर्छन् ।

यहीँनेँर विचारक सीके लालका व्याख्या प्रासंगिक हुन आउँछ । उनका विचारमा सामान्यतः समाजका मूल्य–मान्यताको परिधिभित्रै रहेर बुद्धिले जीविका चलाउने व्यक्ति बुद्धिजीवी हुन् भने समाजका मूल्य–मान्यताका परिधिलाई चुनौती दिँदै बुद्धिकै प्रयोग गरेर परिवर्तनका लागि फ्रश्न गर्नेहरू बौद्धिक हुन् । समाजसँगको अन्तर्त्रियाबाट जन्मिएको ज्ञानलाई मानवीय हितमै प्रयोग गर्दा माटोमा जरासँग जोडिने भएकाले त्यस्ता ज्ञान उत्पादनका बौद्धिकलाई अर्गानिक मान्छन्, उनी । यस्ता बौद्धिकको न्यूनताले हाम्रो समाजलाई कता लैजान्छ ? फेरि प्रश्न उठ्छ । जब युवा पुस्तामा बौद्धिक खडेरी छाउँछ र समाजले रैथाने बौद्धिकलाई होच्याउँदै जान्छ, तब संस्थापनले आधुनिकीकरणका नाममा ‘विकासे आलु’ फलाउन अभिप्रेरित गर्छ । मेरी डेसेनका शब्द साभार गरी भन्ने हो भने अत्यन्त नोक्सानीपूर्ण कुरा– स्वदेशी ज्ञान र अनुभवको अवमूल्यन र बेवास्ता गरी भूमण्डलीकृत पुँजीवादले थोपरेका विकास मोडेलहरूको गैरआलोचनात्मक स्वीकृति हो ।

समाजलाई अग्रगति दिन सत्यसँग साक्षात्कार गर्नैपर्ने हुन्छ । र, त्यसका लागि प्रश्न गर्ने आँट चाहिन्छ । हिटलरको तानाशाहीमा युरोप–अमेरिकाको निर्वासन जान बाध्य बर्तोल्ट ब्रेख्त सत्य लेख्न अदम्य साहस र कला चाहिने कुरामा बल गर्छन् । चरम उत्पीडनको बेला प्रायः भड्किला विषयमा निकै चर्चा हुने भन्दै लेख्छन्, ‘यस्तो समयमा मजदुरहरूका लागि भोजन र बासजस्ता कथित तल्लो स्तरका र नीच विषयहरूबारे लेख्न साहस चाहिन्छ, अरू सबै मानिसले बलिदानको उच्च महत्त्वबारे बकबक गरिरहेका समयमा यस्ता विषयमा कुरा गर्न साहस चाहिन्छ ।’ यता भुइँतहका जनता रोग र अभावसँगै कुस्ती खेलिरहेका हुन्छन्, उता शासकहरू आफ्नो ‘संघर्षशील’ विगतका कठोर दिनहरूकै परिणाम आजको ‘लोकतन्त्र’ आएको र यो प्रणाली उत्तम रहेको दाबी गर्न पनि भ्याउँछन् । तर, शासकहरूले जिरह गरेको ‘उत्तम’ कसका लागि हो भनेर प्रश्न गर्ने ल्याकत लेखक तथा संस्कृतिकर्मीसँग हुनुपर्नेमा ब्रेख्त जोड दिन्छन् ।

लेख्नकै लागि लेख्ने कलमवाजको मसीको निरर्थकता जानेका ब्रेख्तलाई पढेपछि थाहा लाग्छ— लेखकसँग सत्यलाई चिन्ने उच्च सजगता, सत्यलाई हतियारका रूपमा कुशलतापूर्वक प्रयोग गर्ने सीप, सत्यलाई प्रभावकारीसँग प्रवाह गर्न सक्ने मानिस छनोट गर्ने बुद्धिमता र धेरै मानिसबीच सत्य फैलाउने कौशल हुनैपर्छ । अर्कातिर विलियम मोरिस भन्छन्, ‘डर र आशा— यी दुईवटा महान् तीव्र आवेगका नाम हुन् । यी दुई आवेगले मानव जातिमाथि शासन चलाउँछन् र क्रान्तिवादीहरूले सम्हाल्नुपर्ने कुरा पनि यिनै हुन् । धेरै उत्पीडितहरूलाई आशा र थोरै उत्पीडकहरूलाई डर प्रदान गर्नु नै हाम्रो कर्म हो ।’

खगेन्द्र संग्रौलाको अनुवाद–शिल्पले पाठकलाई मोहित पारे पनि यस किताबमा एकाध प्राविधिक पक्षमा ध्यान नपुगेको देखिन्छ । उदाहरणार्थ— केही लेखमा पूर्वप्रकाशनको जानकारी गराइएको छ भने केहीमा छैन । सबैमा दिइएको भए एकरूपता त हुन्थ्यो नै, जिज्ञासु पाठकलाई थप अध्ययन गर्न पनि सहज हुने थियो । सइदको निबन्धको अन्त्यपछि २०११ मात्रै लेखिएको छ । जब कि यो निबन्ध १९९३ मा दिइएको रेइथ व्याख्यानमा आधारित पुस्तक ‘रिप्रेजेन्टेसन्स अफ इन्टेक्चुअल’ (१९९४) मा संकलित छ । ग्राम्स्कीको चर्चित निबन्धको स्रोत उल्लेख गरिएको छैन । ग्राम्स्कीको पुस्तक ‘प्रिजन नोटबुक’ बाट लिइएको भए फरक–फरक संस्करणका कारण खास स्रोत उल्लेख गर्नु श्रेयस्कर हुँदो हो । आइन्सटाइनको निबन्धको स्रोत ‘मथ्ली रिभ्यु’ लाई समेत उल्था गरी ‘मासिक समीक्षा’ लेखिएको छ । शास्त्रको हवाला नदिई भन्दा पत्रिकाको नाम नै अनुवाद गरिदिनु व्यावहारिक होइन सायद ।

सत्ताको अहंकार, खराब नीति र गलत विश्वदृष्टिविरुद्ध बौद्धिकहरूको खबरदारी सधैँ अपरिहार्य हुन्छ । स्वतन्त्र बौद्धिकी उत्पादन र बौद्धिक भूमिकालाई फराकिलो पार्न पनि विमर्शलाई जिउँदो राख्नुपर्छ । प्रश्न र परिवर्तनलाई केन्द्रमा राखिएका यस्ता लेख/निबन्धहरू आजको युवा पुस्तालाई झनै खाँचो छ । पुरानो बहसलाई पुनर्ताजगी गर्न, नयाँ विमर्शलाई आह्वान गर्न र बौद्धिकी–निर्माणको हर्जा टार्न ‘सत्ता र सत्य’ का शृंखलाहरू आइरहून् ।

प्रकाशित : कार्तिक १५, २०७७ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?