हराएको सुरुवाल- कोसेली - कान्तिपुर समाचार

हराएको सुरुवाल

महारानी आत्तिइन्, ‘राति त सुरूवाल लगाएरै कुरा गर्न जानुभएको थियो । खोइ त्यो सुरूवाल ?’ 
शरच्चन्द्र वस्ती

नगरमा अकस्मात् हल्ला फैलियो, ‘शत्रुदेशको सैनिक रथ नगरमा प्रवेश गरेको छ ।’ शुरूमा नागरिकले पत्याएनन् । नगरमा रथ प्रवेश गर्न सक्ने एउटा मात्र द्वार थियो र त्यो एक वर्षदेखि बन्द थियो । यसबीच मित्रदेशका सामान्य रथ समेत नगरमा प्रवेश गरेका थिएनन्, न त नगरको कुनै रथ बाहिर गएको थियो ।

नगर–द्वारका कब्जा, चुकुल र ताल्चामा खिया लागिसकेको थियो । त्यसमाथि सेनाको अहोरात्र कडा पहरेदारी । नागरिकहरूलाई लाग्यो— यस्तो बेला सैनिक रथ, त्यो पनि शत्रुदेशको, कसरी नगरमा प्रवेश गर्न सक्छ ?

एक घडी बित्न नपाउँदै देखी जान्नेहरूले खबर ल्याए, ‘छिमेकी देशको सैनिक रथ आइपुग्नासाथ महाराजका सैनिकहरूले ससम्मान द्वार खोले र शानदार सलामी दिए । रथको अग्रभागमा छिमेकी राजाको नोकर शानका साथ बसेको थियो । ‘जय होस् सामन्तज्यूको’ भन्दै महाराजका प्रतिनिधिले ताजा फूलको माला लगाइदिएर उसको स्वागत गरे । उसले मुस्कुराउँदै ‘महाराजको सेवामा भरे हाजिर हुन्छु’ भन्यो र तीव्र गतिमा नगरको भित्री भागतिर लाग्यो । ऊ अहिले राजपरिवारका सदस्यहरूसँग पालैपालो भेटघाट गर्दैछ ।’

ऊ घाम अस्ताएपछि दरवार छिर्‍यो र मध्यरातसम्म महाराजसँग एकान्त वार्तामा व्यस्त भयो । रातको तेस्रो प्रहरमा महाराजले दरवारको ढोकासम्मै गएर उसलाई हात जोडेर विदाइ गरे । ऊ घाम झुल्केपछि रथ चढेर आफ्नो देश फर्क्यो । नगरको द्वार फेरि पहिले झैं बन्द भयो ।

दरवारको विदेश सचिवले तुरुन्तै झ्याली पिटायो ‘छिमेकी राजाको नोकर सैनिक रथमा चढेर आएको र उसले राति महाराजसँग एकान्त वार्ता गरेको कुरा सरासर झूट हो । त्यस्तो कुनै रथ नगरमा प्रवेश गरेको छैन, विदेशबाट कुनै व्यक्ति हाम्रो देशमा पसेको छैन र महाराजले शत्रुदेशको कुनै मान्छेसँग एकान्त वार्ता गर्नुभएको छैन । महाराजबाट यस्तो काम हुन्छ भनेर कल्पना पनि गर्न सकिंदैन ।’

यसैबीच महाराजको जीउबाट सुरुवाल गायब थियो । महारानी आत्तिइन्, ‘राति त तपाईं सुरुवाल लगाएरै कुरा गर्न जानुभएको थियो । खोइ त्यो सुरुवाल ?’

‘यतै कतै होला नि । हेर न,’ महाराज भित्तातिर आँखा डुलाउन थाले ।

‘सुरुवाल लगाएर गएको मान्छे सुरुवाल नलगाई फर्कनुभएको छ । मैले यहाँ के हेर्नु ?’ महारानी महाराजका सामुन्ने उभिइन् र आँखामा आँखा जुधाएर सोधिन्, ‘कि लग्यो तपाईंको सुरुवाल फुकालेर, त्यही साइँदुवाले ?’

महाराज केही बोलेनन् । ट्वाल्ल महारानीको मुखमा हेरी मात्र रहे ।

‘कस्तो हुतिहारा तपाईं पनि । अब दुनियाँका सामु के लगाएर उभिनुहुन्छ ?’ उनले रुन्चे स्वरमा भनिन् ।

महाराज केही नबोलेपछि उनले विश्वस्त मन्त्रीहरूलाई बोलाउन पठाइन् । महारानीबाट इतिवृत्त सुनेपछि वरिष्ठ मन्त्रीले भारी शब्दमा चिन्ता जाहेर गर्‍यो, ‘राष्ट्रवादको सुरुवाल अपहरण हुनु राष्ट्रिय अस्मितामाथि गम्भीर खतरा हो ।’

‘धेरै चिन्ता नगर । राजकाजमा कहिलेकाहीं यस्तै हुन्छ,’ महाराज चीसो स्वरमा बोले, ‘सुरुवाल लगे पनि उसले धोती उपहार दिएर गएको छ । यही लगाउँला न ।’

‘अर्को सुरुवाल सिलाए हुँदैन ?’ यो महारानीको स्वर थियो ।

‘तिमी राजकाज बुझ्दिनौ । म रातभरि त्योसित गुच्चा खेलेर बसेको त होइन नि,’ महाराजले भने, ‘अब राजगद्दी जोगाउन यही लगाउनुपर्ने भएको छ ।’

‘जो हुकुम सरकार,’ वरिष्ठ मन्त्रीले भन्यो, ‘तर, शत्रुको नोकरलाई आफू सरह मानेर स्वागत गरेको, सामन्त भनेर चाकरी गरेको, ऊसँग एकान्त वार्ता गरेको भनेर जनताले असन्तोष व्यक्त गर्न थालेका छन् । त्यसमाथि सुरुवाल छोडेर धोती लगाउन थालेको देखे भने तिनको विरोध थामी नसक्नु हुन्छ ।’

‘धोती नलगाएको थाहा पायो भने उसले त्योभन्दा डरलाग्दो संकट खडा गरिदिन्छ,’ महाराज ङिसिक्क हाँसे । उनको स्वर थोरै मधुरो थियो, तर त्यसमा निराशा थिएन । उल्टो उनी आश्वस्त र दृढ प्रतीत हुन्थे ।

‘किन रोइस् मंगले, आफ्नै ढंगले,’ महारानीले ओठ छड्के पारिन्, ‘यति मात्र हो कि अरू पनि आदेश दिएको छ त्यसले ?’

‘हेर्दै जाऊ न । सबै कामकुरा तिम्रै सामु हुने त हो,’ महाराजको मुस्कान रहस्यमय थियो ।

मन्त्रीहरूले निकैबेर माथापच्ची गरेर सर्प पनि मर्ने, लठ्ठी पनि नभाँचिने उपाय आविष्कार गरे— महाराजको दौराको फेर लम्ब्याएर गोलीगाँठासम्म पुर्‍याउने ।

भोलिपल्टदेखि महाराज किशोरीहरूले लगाउने ‘वन पीस ड्रेस’ जस्तो लाग्ने दौरा लगाएर हिंड्न थाले । सुरुवालको सट्टा धोती लगाएका हुन्थे, जसलाई दौराले छोपिदिन्थ्यो । जनताले ठान्थे, उनले सुरुवाल नै लगाएका छन् । माथिदेखि तलसम्म सोलोडोलो एउटै दौरामाथि कोट, टोपी र जुत्ताको पहिरन अद्भुत देखिन्थ्यो ।

तीन दिन पछि एउटा सार्वजनिक कार्यक्रममा ‘सामन्त’ का दुई साथी देखिए । दौराको नयाँ अवतार देखेर उनीहरू छक्क परेका थिए । कार्यक्रम सकिएपछि महाराजले तिनलाई मञ्च पछाडि एकान्तमा बोलाए र दौरा उचालेर धोती देखाए । एउटाले आँखा चम्काउँदै दाहिने हातको चोर औंला र बूढी औंलाका टुप्पा जोडेर स्याबासी दिएजस्तो गर्‍यो र अर्काले दुवै हात शिरमा पुर्‍याई ढोगेजस्तो गर्‍यो । उनीहरू प्रसन्न भएको देखेर महाराजको जीउ चंगा भयो ।

अर्को दिन महाराज सदर टुँडिखेलमा दशैंको पीङ उद्घाटन गर्न गएका थिए । रातो रिबन काटेपछि तालीको गडगडाहटबीच जोशैजोशमा पीङ मच्चाउन थाले । दुई–चार सर्को त राम्रै भयो, त्यसपछि हावाको एउटा झोक्काले उनको दौरा ह्वात्तै उल्टाइदियो र दौरामुनिको धोती सार्वजनिक गरिदियो । चचहुई गर्दागर्दै मुजा खुस्किइसकेको रहेछ, सेतो धोती लामो झण्डासरि आकाशमा लहराउन पुग्यो । समारोहका विशिष्ट अतिथिहरू र सर्वसाधारण त्यो दृश्य देखेर एक छिन त स्तब्ध भए, त्यसपछि ठूलो हाँसो उठ्यो । महाराज हतारहतार पीङबाट ओर्लेर केही नबोली दरवार फर्के ।

अकस्मात् आइलागेको यस दुर्घटनाले भारदारहरू किंकर्तव्यविमूढ हुन पुगे । यसलाई के भन्ने, कसरी रफ्फू गर्ने, कसैलाई थाहा थिएन । यस्तो वेला आपसमा सल्लाह गरेर एउटै बोली बोल्नुपर्छ भन्ने पनि तिनलाई हेक्का रहेन । फलस्वरूप आआफ्नै बुद्धि बमोजिम परस्परविरोधी वक्तव्य दिन थाले ।

बेलुका वरिष्ठ भारदारले नगरको एउटा चोकमा उभिएर घोषणा गर्‍यो, ‘सुरुवाल धरि विदेशीले खोसेर लैजानु र महाराज नांगिनु भनेको सारै लाजमर्दो कुरा हो । इतिहासमै यस्तो घटना भएको थिएन । यो शत्रुदेशको षड्यन्त्र हो । हामी एक भएर यसको भण्डाफोड गर्नुपर्छ ।’

अर्को चोकमा अर्को भारदार भन्दैथियो, ‘सुरुवाल विदेशीले खोसेको होइन, महाराजले आफैं जिम्मा लगाउनुभएको हो । अगाडि, पछाडि दुवैतिर च्यातिएर सुरुवाल च्याङ्लो भइसकेको थियो । त्यसले महाराजको लाज बचाउन सक्तैनथ्यो । त्यसैले मगन्तेलाई दिई पठाउनुभएको हो । यो हाम्रा लागि गौरवको विषय हो ।’

तेस्रो भारदारले वक्तव्य दियो, ‘महाराजको सुरुवाल हराएको भन्ने हल्ला भ्रामक, कपोलकल्पित र दुराशयप्रेरित छ । सुरुवाल कतै गएको छैन, महाराजले स्वयं धारण गर्नुभएको छ । महाराजको कुशल नेतृत्वमा देशले हासिल गर्न लागेको समृद्धिबाट आँखा तिरमिराएकाहरूले मात्र सुरुवाल नदेखेका हुन् । तिनले आफ्नो आँखाको उपचार गराउन् ।’

चौथो भारदार बढी नै उप–बुज्रुक थियो । उसले भाषण गर्‍यो, ‘राजाको नोकरलाई पनि हामीले राजा नै मान्नुपर्छ । त्यसैले महाराजले नोकरसँग होइन, राजासँगै कुराकानी गर्नुभएको हो भन्ने बुझ्नु उचित हुन्छ । यस घटनाले महाराजको अतुलनीय शक्ति, सामर्थ्य एवं पराक्रम प्रकट गरेको छ, जसबाट दुनियाँ चकित भएको छ । यति महान उपलब्धिसामु सुरुवाल हराउनु र महाराजले धोती लगाउन थाल्नु तपसिलका कुरा हुन् । तिनको कुनै अर्थ छैन ।’

राजपरिवारको एक सदस्यलाई भने महाराजले धोती उपहार पाएको थाहा पाएर प्रचण्ड छटपटी भयो । ऊ ‘सामन्त’ का साथीहरूको डेरामा पुग्यो र अकमकाउँदै गुनासो गर्‍यो, ‘धोती त म पनि लगाइहाल्थें नि । पहिले पनि लगाएकै हो । किन मलाई बेवास्ता गर्नुभएको ?’

‘तिम्रो भर छैन,’ उसले जवाफ पायो, ‘हामीसँग धोतीको कुरा गर्छौ, अर्काको जडाउरी मागेर पाइन्ट लगाउँछौ । यस्तालाई कसरी पत्याउनु ?’

त्यहाँबाट निराश भएपछि उसले राजपरिवारका अरू सदस्यहरूसँग चोचोमोचो मिलायो । सुरुवालको बहानामा महाराजलाई घेराबन्दी गर्न पक्ष–विपक्ष सबैको सल्लाह मिल्यो । सबै जना आआफ्नो घरको झ्यालबाट मुन्टो निकालेर कराउन थाले, ‘महाराजले सुरुवाल गुमाइसकेका छन् । सुरुवाल नभएको मान्छे राजा हुन सक्तैन ।’

मानिसहरू तिनको अनुहार हेर्थे, फिस्स हाँस्थे र आफ्नो बाटो लाग्थे ।

जति कराउँदा पनि कसैले वास्ता नगरेपछि उनीहरू घरबाट निस्केर चोकमा जम्मा भए र ‘गद्दी कसको ? सुरुवालको,’ ‘नांगा महाराज, गद्दी छोड’ नारा लगाउँदै दरवारतिर लागे । जनता तिनलाई हेरेर हाँसिरहेका थिए । ताली बजाइरहेका थिए । त्यसलाई आफूप्रतिको समर्थन ठानेर उनीहरू दंग परिरहेका थिए ।

दरवार सामु पुगेपछि उनीहरूको स्वर झन् उच्च भयो । जनता त हाँसिरहेकै थिए, महाराज पनि कौसीमा निस्के र उनीहरूलाई देखेर अट्टहास गर्न थाले । सडक पेटीमा नाङ्लोपसल थापेर बसेकी बूढीआमै धारे हात लगाउँदै च्याँट्ठिइन्, ‘गतिछाडा हो, महाराजलाई मात्र के गाली गर्छौ ? पहिले आफैंलाई हेर ।’

उनीहरू झस्किए, र आफ्नो जीउतिर हेर्दा भए ।

कसैको जीउमा पनि सुरुवाल थिएन !

प्रकाशित : कार्तिक १५, २०७७ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल नाम : अर्को एउटा परिभाषा 

एउटा अंग्रेजी शब्द छ– एक्रोनिम । सटीक नेपाली छैन यसको । यसरी बुझाऊँ— जंगबहादुर राणालाई जबरा भन्नु एक्रोनिम हो, एब्रिभिएसन पनि नभनिहालौं । यही एक्रोनिम र संयुक्ताक्षर भन्ने संस्कृतको परम्परा अवचेतन मनमा फ्युजन हुन पुगेर घरी नेमा मुनि जोड्ने घरी पाल जोड्ने गरेर हाम्रा अतीतका अग्रजहरूले धेरै कागजको भार थपे ।
सौरभ

काठमाडौँ — नेपाल नाम कसरी रह्यो ? भन्ने प्रश्नका अघिल्ला उत्तरहरू सूचीबद्ध गर्ने हो भने यस अखबारका दुई पानाले पनि पुग्दैन । अनगिन्तीले अनगिन्ती तर्क विगतमा प्रस्तुत गरिसके । सबैभन्दा पछिल्लो उल्लेखनीय तर्क ‘नेपाल निरुक्त’ हो, ज्ञानमणि नेपालको ।

अंग्रेजी शब्द प्रयोग गर्ने हो भने ‘नेपाल निरुक्त’ लाई ‘म्याग्नम अपस’ भनिदिए पनि हुन्छ लेखकको ।

तर, यो लेख त्योसँग सम्बन्ध राख्दैन । कतिबाहेक भने पौराणिक कालमा उल्लिखित निपहरूका आधारमा नेपाल नाम रहेको हो भन्ने निर्क्योल पंक्तिकारलाई अन्तिम सत्य लागेन ।

समयशास्त्र अर्थात् क्रनोलजी

२२०० वर्षअघिका पतञ्जलिको निपको अर्थ गराइका आधारमा नेपाल निरुक्तको तर्क अडेको छ । यद्यपि निप वेदमै उल्लेख छ, तर बेग्लै अर्थमा पनि नभनिएको छैन ।

तर, नेपाल नाम उल्लेख गर्ने सुश्रुतलाई कम्तीमा २४०० वर्षअघि स्थापित गर्‍यो नेटले । पतञ्जलि कान्छा भए यसै पनि सुश्रुतभन्दा २०० वर्षले । अर्थात् नेपाल नाम बनिसकेपछि फेरि निपबाट नेपाल बन्नुपर्ने कुनै दरकारै परेन ।

यद्यपि नेटले २६०० वर्षअघिका हुन् र २७०० वर्षअघिका हुन् सुश्रुत भन्ने निर्क्योलहरू पनि नदिएको छैन । त्यसमाथि यो पंक्ति पढौं— पाणिनिको समय इपू आठौं शताब्दी मानिएको छ । पाणिनि, कात्यायन, बाग्भट आदिले सुश्रुतको मात्र होइन, उनको वंश र शिष्य परम्परालाई बुझाउने सौश्रुत शब्दको प्रयोग गरेका छन् । (यसपछि संस्कृत भाषाका व्याख्या) यसरी सुश्रुतका दरसन्तान र शिष्य–प्रशिष्य परम्पराको समेत निर्देशन गर्ने पाणिनिभन्दा सुश्रुत कम्तीमा सात, आठ सय पूर्वका हुन आउँछन् । (पेज ३७, नेपाल र नेपाली, गोविन्दप्रसाद भट्टराई) त्यसमाथि अर्को वाक्य पनि जोडिएको छ— तिनले प्राचीन ग्रन्थको आधारमा नै ‘नेपाल जाता’ आदि शब्द प्रयोग गरेका हुन् भन्ने निधो हुन्छ ।

यो विवरणले नेपाल नामलाई झन्डै ४००० वर्षअगाडि पुर्‍याउँछ । पाणिनि २४ देखि २६ सय वर्षअघिका भनेर नेटले स्थापित गरिदिएपछि भट्टराई उति गलत पनि भएनन्– सौश्रुत शब्दमा अडिँदा ।

ङ कि न ?

‘ङातपोल’ भन्छन् नेवारहरू हामीले न्यातापोल भनिरहेकोलाई । भूपतिन्द्र मल्लकालीन एउटा भजनमा ङेपाल नै लेखिएको छ, नेपाल होइन पनि । (पुलागुं म्ये मुना– सम्पादक मानदास तुलाधर) अर्थात् उपत्यकाका रैथाने नेवारहरूको जिब्रोले जे र जस्तो उच्चारण गर्छ, त्यसतर्फ नगएर आफ्नो जिब्रोअनुरूप साराका साराले ‘न’ को पछि लाग्दा आएको समस्या हो यो गएको सत्तरी वर्षदेखिको । भनौं झन्डै एक शताब्दीको ।

‘ङा’ को अर्थ पानी पनि हो, माछा पनि हो नेवारीमा । भक्तपुरे नेवारहरू ‘ना’ भन्छन् पानीलाई, काठमाडौंका नेवारहरूको ‘ल’ का सट्टा । त्यही ‘ङा’ हुने हो । ‘ङा’ खाम मगरदेखि राईहरू सबैका निम्ति माछा हो । तर, ङादी खोला छ लमजुङमा, २६ किलोमिटर लामो, २८.२२ अक्षांश र ८४.२८ देशान्तरमा । यही ङादी नेपालीको नदी हुने हो । मर्स्या+ङादी हुने हो । गाङादी+की (गुरुङको पानीबोधक क्यु जोडिएपछि गण्डकी), चर+ङादी, दर+ङादी, चु+ङादी हुने हो । गाङरी भन्छन् कैलाशलाई तिब्बतमा, पानीको मूल स्रोत । यही गा+ङादी र गंगा हुने हुन् भन्ने कुरा स्पष्ट छ ।

न्हायकं भन्छन् नेवारहरू ऐनालाई । वर्षौं घोटेर तयार हुने कांशको ऐना आउनुअघि मानिसहरूले आफ्नो अनुहार हेर्ने भनेको पानी नै हो । यही ‘कं’ अर्थात् ‘कांश’ पछि ‘काँच’ हुने हो ।

‘हाल आनुवंशिक डीएनए परीक्षणको एक अनुसन्धानबाट आजका नेवारका मूल पुर्खा करिब १०,००० वर्षपहिले चीनको पहेंलो नदीको बेसिनबाट आएको (पेज ३९९, अबको नेपाल ः सम्भावना र कार्यदिशा) मा परेको पहेंलो नदीको नाम हो– ह्वाङहो । पहेंलोलाई त्यतिबेलाका नेवारहरूले रातो ठानेर आज पनि ह्याङ्गु भन्नु अनौठै भएन । अर्थात् नेवारहरूले नदी बुझाउने ङा यसै पनि १०००० वर्षदेखि प्रयोग गरेका छन् भन्न मात्र खोजेको हो यहाँ ।

र, भक्तपुरमा ‘ना’ भनिनुको कारण पनि सामान्य कुरा हो । कथित टिबेटो–बर्मन भाषामा जाने हो भने बोद हो पुरानो नाम भोटबोधक । जो पछि भादगाउँ हुन पुग्यो । जब भोटगाउँ बिग्रिएर भातगाउँ हुन थाल्यो, सम्भवतः अपमानजनक लागेर भक्तपुर बनाइदिए संस्कृतज्ञहरूले, अचेल गोकर्ण पुग्नुअघिको माकबारी (बाँदरबारी) लाई माकलबारी बनाइदिएजस्तै ।

पलेस्वाँ र पलेपुखु

पलेस्वाँको अर्थ कमलको फूल हो नेवारीमा । अब स्वाँ अर्थात् फूललाई पलेबाट छुट्याइदिऊँ । पलेबाट पनि ‘को’ भनेर बुझाउने एकारलाई फेरि छुट्याइदिऊँ । रहन जान्छ पल मात्र ।

कथित इन्डो–युरोपियन भाषा परिवारभित्र जाने हो भने संस्कृतको पल्वल (सानो पोखरी) र अंग्रेजीको पुल (पोखरी) समानार्थी हुन् । यहाँ पलले कमल भन्ने बुझाएन, पानी मात्रै बुझायो । अब पलेस्वाँको अर्थ भयो पानीफूल । पलेपुखुको अर्थ पनि पानीपोखरी नै भयो ।

निर्क्योल

ङापलको अर्थ अब हुन जान्छ नेवारीमा पानीपोखरी । ज्ञान र विज्ञान दुवैले भन्दै आइरहेको सत्य नै यही हो— उपत्यका पानीको विशाल तालको रूपमा थियो ।

ङावल भन्ने अर्को ठाउँ पनि छ मनाङमा, मर्स्याङ्दी उपत्यकाको किनारमा बसेको एक गाउँ हो । तिब्बतीहरू नेपाललाई वल भन्छन् । तर, वल एवं पल उच्चारण भेद मात्रै हो भन्ने स्वयं नेपाल निरुक्तका विद्वान् लेखकको भनाइ छ पनि ।

औपचारिक वर्गीकरणमा ‘व’ व्यञ्जनमा परे पनि स्वर हो । शब्दमा ‘व’ लोप हुनु सामान्य कुरा हो । यसैले भक्तपुरको च्यामासिंह पूर्वको स्थान नाला पनि खोलो मात्रै बुझाउने शब्द भएन । नाङ्लेभारे पनि नाङ्लोको भारी भन्ने मात्रै लाग्दैन ।

भौगर्भिक विश्लेषणले ठिमीलाई १८,००० वर्षअघि नै पानी बाहिर निस्किसकेको बताएपछि त्यहाँबाट केही किलोमिटर मात्र परको नाला सुश्रुतको समयभन्दा कति परको होला ? विज्ञानले साबित नगरी अहिले भन्न सकिने कुरा पनि भएन ।

कथित भनियो टिबेटो–बर्मन र इन्डो–युरोपियनलाई माथि । विलियम जोन्स, अटोस्राडर, टमस यङ, जोन मेटिसफ आदिले गरिदिएका भाषा परिवारको न्वारन आधारभूत कारणले पंक्तिकारलाई मान्य नभएर कथित भन्नुपरेको हो । त्यस्तो सिमाना नै छैन यथार्थमा । ध्वनि विज्ञानकै भरमा मात्रै अलग देखाउन खोजेर हुँदैन । नोट्स अन कुसुन्डा ग्रामर ः एन आइसोलेट ल्याङ्ग्वेज अफ नेपाल– डेभिड वाटर्स र सहयोगीको ग्रन्थले उपसर्गहरू पहिल्याउन नसकेकोबाटै त्यो स्पष्ट हुन्छ ।

नेपालेच्छु

यसको अर्थ हो नेपाली उखु, जुन सुश्रुतसंहितामा लेखियो (अध्याय ४५, श्लोक १४९, अनु. अत्रिदेव गुप्त) । उखु नेपालको होइन, दक्षिण पूर्व एसिया (बर्मादेखि गायना) को रैथाने हो । जंगली अवस्थाबाट खेती हुन थालेको ६००० वर्ष भएको मानिएको छ । त्यहीँ नजिकैको बर्माबाट खेती भइसकेको २००० वर्षमा पनि नेपाल नआइपुग्ने हुनै सक्दैन– नेपालेच्छु भन्ने शब्द परेको सुश्रुतसंहिताको अंश क्षेपक मान्नलाई । यसैले ४००० वर्षअघि नै नेपालमा उखु खेती हुन्थ्यो ? भन्ने प्रश्न आफैंमा कुनै प्रश्न होइन ।

उपत्यकामा टोखा उखुको प्राचीन पर्यायवाची स्थान हो । नेवारीमा ‘टु’ को अर्थ उखु हो । आज पनि टोखा उखुको एक सहउत्पादन चाकुका निम्ति प्रसिद्ध छ । उखुलाई गर्मी र प्रशस्त पानी चाहिन्छ । यसैले उखु (साकरम अफिसिनारम) को भाइ कांस (साकरम स्पन्टनाटम, संस्कृतमा इच्छुबालिका) लाई हामी हपहपी गर्मी र प्रशस्त पानी हुने खोलाको बगर र बीचोबीचको खाली ठाउँमा लहलहाइरहेको देख्छौं । यसको अर्को भाइ मुंज (साकरम बेङ्गालेन्सिस) लाई हामी धेरै अगाडिदेखि जान्दछौं । नामै बेङ्गालेन्सिसबाट थाहा हुन्छ गर्मी र पानी भएको ठाउँको रैथाने हो ।

यहाँ गर्मी र पानीको कुरा किन गरिएको हो भने १३४६ मिटर उचाइको टोखाभन्दा उत्तरमा छ पानीको अजस्र स्रोत भएको शिवपुरी २७३२ मिटरमा । आफूकहाँ पानी अपुग भएमा पनि नागी हुँदै कुलो ल्याउन सकिन्थ्यो त्यहाँबाट— उपत्यकाको पानीको टेबल ६००० वर्षअघि नै टोखाभन्दा धेरै तल पुगिसकेको थियो भनिदिने हो भने पनि । चोभारको गल्छी छेउका ढिस्काहरू १४४० मिटरमा भएपछि त्यो कुरा गरिरहनै परेन ।

नेपालजाता

यो शब्द उल्लिखित छ सुश्रुतसंहिताको अध्याय २१, श्लोक १७ मा (अनु. अम्बिकादत्त शास्त्री) । इन्डियन विद्वान् शिवराम आप्टेले नेपालजाताको अर्थ हरिताल अर्थात् आर्सेनिक बिष गरेकोलाई सबै अग्रजहरूले मान्यता दिएका छन् । त्यसैलाई मानौं ।

आर्सेनिकको उत्पादन हुन थालेको पनि विश्वमा ६००० वर्ष नै भयो । आर्सेनिक यौगिकहरू तामालाई कांसमा परिणत गर्नलाई चाहिन्छ । यो खनिज हो ।

ताम्रयुग सुरु भएको नै ७००० वर्ष भयो । त्यसैले ४००० वर्षअघि आर्सेनिकको उत्पादन सामान्य कुरा हो ।

ताडपत्र, नीलपत्र, भोजपत्र र कागजमा कीरा नलागोस् भनेर दलिन्छ पनि यो । ब्रिटिसहरूले नेपोलियनलाई मराइदिन प्रयोग गरेको आर्सेनिक अर्थात् काठमाडौंको भाषामा हरिताल, तराईको भाषामा संखिया र संस्कृतमा मनशिला ४००० वर्षअघि नै व्यापक उत्पादन नहुने कुरा आएन नेपालमा । तराईको आर्सेनिकबाट दूषित पानी विश्वका उल्लेखनीय बिषालु पानी भएका ठाउँ जनाउने आधार बनिसक्यो यतिबेला ।

एउटा रहस्यचाहिँ यहाँनेर लेख्नैपर्ने हुन्छ । नैपालम (५०.१९), नैपाली (२२.१६), नेपालये (१४.४), नेपालजा (२१.४), नेपाली (२९.२३६) सबैको अर्थ अनुवादकले मनशिला नै गरेका छन् । तर, नेपालीको अर्थ आर्सेनिक नै हो भने त्यति धेरै रूप भेद किन भएको ? र फेरि सुश्रुतले छपल्ट नेपाल लेखिसकेपछि त्योभन्दा डेढीले बढी अर्थात् नौपटक मनशिला (१७.१८, २७, ३९, ९८/१८.१००/२६.३३, ३६.८, ५२.२३) बारम्बार किन लेखेका ? फेरि नैपाली हरितालञ्च ६०.४८ मा किन दिएका ? अर्थात् विभिन्न रूप भेदहरूको अर्थ न आर्सेनिक हो, न एउटै अर्थ हो । तर, अहिले हामीसँग इन्डियन अनुवादकहरूले जे–जे भन्छन् त्यसलाई नमानी सुख पनि छैन । एक ठाउँमा नैपाली हरितालञ्च लेखिदिएकोलाई शिवराम आप्टेलगायत सबै इन्डियनहरूले आर्सेनिक लेखेर झारा टारेको स्पष्टै छ ।

नैपाली आदिको गलत अर्थ लगाइदिँदा कैयन् पछिल्ला वैद्यहरूले औषधिको अनुपानमा हरितालजस्तो बिष मिलाउन पुगे होलान् र कैयन् लाख मानिसको ज्यान अकालमा गयो होला भन्ने आज अनुमानै गर्न सकिन्न ।

सुश्रुतले वस्तु जोगाउने (प्रिजर्भेटिभ) को रूपमा मात्रै प्रयोग गरेका पनि हुन सक्छन् । पंक्तिकारले उहिल्यै प्रत्यक्षदर्शीबाट सुनेको पंक्ति— शान्तभवन अस्पतालका डक्टर रबर्ट फ्लेमिङ सिनियरले पूरै चन्द्रयात्रीले लगाउनेजस्ता पोसाक लगाएर संकलित तर मृत चराहरूको शरीर जोगाउन आर्सेनिक प्रयोग गर्ने गर्थे । त्यत्रो सावधानी अपनाउँदा पनि उनको जीवनको अन्त्यकालमा आर्सेनिक पोइजनिङ भएको देखियो । अर्थात् अरूलाई जीवन दिन स्वयं दीर्घजीवी हुनुपर्ने लाखौं वैद्यहरू नांगो हातले मात्रा मिलाउँदा मिलाउँदा स्वयं अकालमै बिते होलान् । जनसंख्या धेरै भएकाले हुनुपर्छ जीवनको मूल्य हल्का लिने परम्पराले गर्दा इन्डियनहरूमा हरितालप्रति कत्रो हचुवाको दृष्टिकोण छ भन्ने पी.बी. काणेको अर्थ गराइबाट पनि बुझिन्छ । एक ठाउँ उनले लेखेका छन्— शिवको मूर्तिमा हरिताल दलेर वरिपरि नाच्ने भएकाले तीजको नाम हरितालिका रहेको हो ।

अब हाम्रा अत्याधुनिक पाठकहरूको टाउको दुख्नेछ— एक्काइसौं शताब्दीमा यी वैद्य र पाचकहरूका कुरा किन उठाइरहेको ? तिनले के बुझ्नुपर्छ भने हिप्पोक्रेटसलाई छोडेर पश्चिमले सुश्रुतलाई फादर अफ सर्जरी औपचारिक रूपमै स्विकारिसकेको छ । र, कोलम्बिया विश्वविद्यालयछेउ सालिक उभ्याइसकेको पनि छ । त्यो उचाइको पात्रले उल्लेख गरिसकेपछि ‘नेपाल’ यसै पनि घना विश्लेषणबाहिरको कुरा हुनै सक्दैन ।

नेपाल माने ताँवा

माथि लेखियो ताम्रयुग । यद्यपि यो सुश्रुतको शब्द होइन । यहाँ प्रसंग आएकाले मात्रै हो । यसको अर्थ दिने पात्रहरू हुन् आप्टे र मनियर विलियम्स ।

अंग्रेजीमा ताम्रयुगलाई भनिन्छ चाल्कोलिथिक युग । रुचाल तामा हो बागलुङ, पर्वत भेगका मगरहरूको भाषामा । मगरहरू तामा खनिक नै हुन् मूलमा । रुना तामाको टुक्रा हो अन्य मगरहरूका निम्ति पनि । रोहानी, रोङखामी थरहरू यसैबाट उत्पत्ति भएर आउने हुन् ।

रुचाल आजका एक दलित धातुकर्मीको थर पनि हो । यो चाल र चाल्कोलिथिकको टड्कारो सम्बन्ध छ नेपालका निम्ति । अब ताँवाको पर्यायवाची नेपाल नहुने कुरै भएन आदिसंस्कृत ग्रन्थमा । त्यसका निम्ति अनेक अर्थहरूलाई पर्खनै परेन । ताम्रयुग सुरु भएको ५००० वर्षपछि मात्र नेपालमा तामा उत्खनन हुने कुरै आउँदैन ।

कोपरा खाम मगरहरूमा वस्तुभाउलाई खोले ख्वाउने भाँडा हो । काठमाडौंको काँठ भेगमा केही अघिसम्म पहिला मल–मूत्र त्याग गर्ने, त्यसपछि माझेर लुगा धुने भाँडा हो । सहरी केन्द्र र दरबारमा मल–मूत्र त्याग मात्रै गर्ने भाँडा हो । वस्तुको उपयोगिता कसरी गिर्न पुग्छ भन्ने कुराको उदाहरण हो यो । तर, नरिवलको खवटा पनि कोप्रा हो र कोप्रा अंग्रेजी मौलिक होइन । किनभने नरिवलसँग सम्बन्धित कुनै पनि शब्द मौलिक हुनका निम्ति इंग्ल्यान्ड मात्रै होइन पूरै युरोप उष्ण प्रदेशीय भूभाग होइन ।

यसैले कपर शब्द नै पनि पश्चिमको मौलिक होइन भन्ने स्पष्ट छ । साइप्रसबाट तामा उत्पत्ति भएको हो भने कसरी कपर बन्न पुग्छ ? सिप्रियम हुन्थ्यो होला नि बरु !

प्रोटो इन्डो–युरोपियन भाषावादीहरूलाई यो कुरा पच्ने छैन । तर, खाम मगर भाषामा खास तामाको नाम हो नाकरो । यसैबाट नेवारहरूको नकर्मी बनेको देखिन्छ । ‘न’ को अर्थ नेवारीमा चाहिँ फलाम हुने हुँदा लौहकर्मी भन्ने बुझिन्छ । न+कर्मी अर्थ लगाइदिने संस्कृतज्ञहरूले के बुझ्नुपर्छ भने ताम्रयुगपछि मात्रै फलाम युग आएको हो । नकर्मीहरूका पुर्खाले फलाम युग कहिले आउँछ भनेर पर्खेर बसेका थिए त ? धातुबोधक मात्रै हो ‘न’, जसरी अगाडि लेखिसकियो ‘आइखम्यान प्रज्ञा’ मा तैमुजिन (लौहपुरुष) हुन पुगेको कारण तामा भन्ने नाम नै फलामका निम्ति प्रयोग गरिएकाले हो । बाजश्येनीसंहितामा परेको लोह

(तामा) भन्ने अर्थ गरेका छन् किथ र म्याकडनेलले पनि । कोप्रा र करो धेरै नजिक छ । करोको व्युत्पत्तिमा पुगेपछि प्रोटो भन्ने भाषै रहँदैन । टिबेटो–बर्मन र इन्डो–युरोपियनको सीमै भत्किन्छ । त्यो धेरै परको कुरामा नजाऊँ ।

ने कसरी ना बाट ?

छें (घर) हुन्छ नेवारीमा नेपालीको छाना । जेटुं हुन्छ नेवारीमा संस्कृतको जलद्रोणी, हें हुन्छ नेवारीमा नेपालीको हाँस, धौ हुन्छ संस्कृतको दधी, हेरा हुन्छ नेपालीको हीरा, खें हुन्छ नेपालीको खस, घेवारे हुन्छ नेपालीको घ्यू व्यापारी, झेल्ला हुन्छ नेपालीको जाली, येले हुन पुग्छ इन्द्र, ढेवा हुन्छ (तामाको) डल्लो, टे (बहाल) हुन पुग्छ तब, तफ हुँदै नेपालीको ठूलो, नेकु, ङेकु (काँडा, सिङ) हुन पुग्छ संस्कृतको अंकुश ।

दर्जन उदाहरण दिइयो । यसैबाट थाहा हुन्छ नेवारीमा अक्षर लोप हुने प्रकृति पनि छ । अर्थात् ‘नेपा’चाहिँ शुद्ध नेवारी हो र त्यसैमा आलयबोधक ‘ल’ जोडिएर ‘नेपाल’ भएको हो भन्ने तर्क पनि पूरै गलत हो । बरु बनेपाको अर्थ वारिको खाल्डो, सानेपाको अर्थ साँढे चराउने खाल्डो भन्ने (नेपाली निर्वचन– पोखरेल) तर्कमा दम छ, व्युत्पत्तिको अर्थमा नभए पनि । हिम+आलय बनाउन मिल्नेबित्तिकै नेप+आलय हुनु जरुरी छैन । त्यसै हो भने सैपाल हिमालमा परेको ‘सै’ को अर्थ खोज्नुपर्‍यो पहिला । स्याङ्जाको वालिङ र रोल्वालिङ (पहाड) बीचको वलको व्युत्पत्ति खोज्नुपर्‍यो पहिला ।

उल्टो हो

नेवाङ हुँदै नेपार र नेवार, अनि त्यसैबाट नेपाल भएको हो भन्ने एउटा तर्क पनि बेलाबेला अखबारमा छापिने गर्छ । तर, के कमन सेन्ससम्म पनि राखिँदैन भने पहिला जमिनको सृष्टि भएको हो, त्यसपछि बोटबिरुवा, अनि प्राणी जगत्को उत्पत्ति भएको हो । अर्थात् पहिला त पानीको तालकै नाम बन्नुपर्‍यो, जो कहिल्यैदेखि बनेर आउँछ आउँछ, मानव बुझाउने नाम बन्नुअघि ।

स्पष्टै छ— नेपालबाट बरु नेवार भएको हो, नकि नेवारबाट नेपाल । नेपाल निरुक्तका लेखकले पल र वलमा भेद छैन भनिसकेपछि ‘प’ कसरी ‘व’ हुन पुग्यो ? भन्ने प्रश्नको उत्तर खोज्नै परेन । अब ‘ल’ कसरी ‘र’ हुन पुग्यो होला भन्ने कुराका अरु दर्जन उदाहरण दिऊँ ।

तोर लेखिएको छ अनेकनपटक टोललाई पुरानो नेवारीमा (काठमाण्डू सहर–जगदीशचन्द्र रेग्मी), बहार लेखिएको छ अनेकनपटक त्यसैमा आफ्नै बहाललाई समेत, भुरुङखेल हुन गएको छ आफ्नै भुलाँख्य, धरिंख्य भन्छन् धुलिखेललाई, करुवा (भुइँमा ठोक्ने) हुन पुग्छ नेपालीको किला, करुवा (पानी खाने) हुन पुग्छ संस्कृतको कलश, ग्वारा हुन पुग्छ नेपालीको गोलो, एउटै शब्द कतै थकुर, कतै थाकुली, कतै थकाली लेखिएको छ, ग्वार भनिन्छ ग्वालालाई, एकातिर त्यही शब्दलाई पोरे भनिन्छ अर्कोतिर पुलु, इरिपु भनिन्थ्यो आफ्नै भाषाको आल्तालाई, फर्पिङ भनिन्छ फल्लबिङलाई ।

तर, नेवारीमा धाले पनि भएको छ नेपालीको दारिम, भैल हुन पुग्छ भैरव, भिलाय स्वां हुन पुग्छ संस्कृतको भृंगराज भन्ने पनि बिर्सन मिल्दैन ।

यसले बेल विवाहको प्रथा मिल्न जाँदैमा दक्षिण इन्डियाका नायरहरूबाट नेवार भएको हुन सक्छ भन्ने (नेपालको सांस्कृतिक परम्परा– कोइराला) मतको अर्थचाहिँ नरहेको देखिन्छ । बरु त्यही नायरहरू नेवारहरूमा मिसिएका भने हुन सक्छन् ।

ङालाङ

माथि दुइटा कुरा गरियो— अक्षर लोप हुन जाने, शब्द नै अपभ्रंस हुने । अब ङालाङ भन्ने शब्दमाथि जाऊँ ङावलको पुच्छर लाग्दै ।

ङालाङ भन्ने ठाउँहरू छन् उपत्यकासँगै जोडिएको धादिङमा पनि । पछाडिको ङा लोप भएपछि त्यो भक्तपुर सहर पूर्वको नाला हुन पुग्छ । यसले स्पष्टै भन्छ— नेपाल नाम खाल्डोबाहिरका स्थान नामहरूमा पनि रूपान्तरण हुन पुगे ।

कथित टिबेटो–बर्मनमा लाङका अर्थ धेरै लाग्छन् । गत्लाङ, लोलाङ, लापिलाङ त स्थान नाम नै पनि हुन् । यसैले हचुवामा अहिले लाङका अर्थान्तरणतिर जानु सही हुँदैन । कथित इन्डो–आर्यनमा जाँदा पनि पा (ठूलो)+लाङ (ढुंगा) पालुङ भन्ने अर्थ लाग्छ । राई, लिम्बू, शेर्पाले भन्ने लुङ (ढुंगा), नेवारीको लोहं

(ढुंगा) र संस्कृतको लौह (फलामे ढुंगा) को मूल एउटै हो । त्यसैले पनि भाषा परिवार भन्ने सीमा छैन भनेको ।

यद्यपि तामाङ भाषामा लाङको अर्थ बाफ हो । र, बाफ पानीबाटै बन्ने हो । त्यता नगएर सोझै कुरा गर्ने हो भने पनि १९७० को दशकमा हट्टेलले मुस्ताङको खिङ्गामा गरेको उत्खननमा प्राप्त कांसको ऐनालाई भनिन्छ— कालोङ । कांसको ऐना नै नेवारीको न्हायकं हो लेखिसकियो माथि । दुइटैमा ‘ङ’ साझा अक्षर छ । यसैले लाङले फेरि पनि पानी नै बुझाइरहेको छ । संस्कृतमा नारको अर्थ पानी नै हो । यसैबाट ग्रीकमा नार्सिसस हुन जाने हो । फेरि दोहोर्‍याऊँ भाषा परिवार भन्ने सीमा छैन ।

तर, यहाँनेर जाजरकोट, दैलेख र जुम्लामा रहेका तीनवटा नेपाहरू नेपालबाटै बनेका हुन् भनिहाल्न अहिले कठिन छ । त्यसै हो भने जाजरकोट र उपत्यकाबीचका जिल्लाहरूमा पनि नेपा नाम ठाउँठाउँमा भेटिनुपर्थ्यो । भलै नेपाल थर भएका मानिसहरूको बिर्ता हो त्यो भन्ने (पूर्णप्रकाश नेपाल)े एउटा तर्क होस् ।

अन्त्यमा

ने नाम थियो मुनिको अर्थात् मागेर हिँड्नुपर्ने बाध्यता भएका एक पात्र । आफैंलाई त कसले पालिदेला ? उसले देशैलाई पाल्ने कसरी ?— भन्ने प्रश्नसम्म पनि गर्न सक्दैनन् हाम्रा पाठकवृन्द ।

ने भनेको घर, पाल भनेको ऊन भन्ने कथित चिनियाँ अर्थ लगाइदिए एकथरीले । (एल.ए. वाडेल अर्थात् ब्रिटिस इन्डियाकालका एक नम्बरका कुख्यात उपनिवेशवादी, ह्वाइट्सम्यान बर्डेन लेख्ने रुडयार्ड किप्लिङजस्तै) तर त्यत्रो मंगोलिया र चीनको आफ्नै मैदान छ भेडापालन र ऊन उत्पादनका निम्ति भने, उसले किन नेपालको लागि त्यस्तो नाम राख्ने ?— भन्ने प्रश्न पनि गर्दैनन् हाम्रा पाठकवृन्द, ज्ञानमणिजस्ता अपवादलाई छोडेर ।

कसैले आफ्ना छोराछोरीको नाम आँखिभौं र परेला राख्छ कहिल्यै ? र भृकृटी (आँखिभौं) नाम हुन सक्छ ?— भनेर प्रश्नसमेत गर्दैनन् हाम्रा पाठकवृन्द ।

हाम्रा अग्रजहरूले सुब्बा नन्ददासलाई सुवानन्द दास लेख्दा यसको अर्थ के ? भनेर सोधेनन् यिनले कहिल्यै । यिनले हीनव्याकरणी विद्यापति पनि सक्कली नाम हुन्छ ? भनेर प्रश्न नै गरेनन् कहिल्यै । मेलवा त अस्ट्रेलियन गायिकाको नाम हो, कसरी सक्कली नाम हुन सक्छ मेलवादेवी ? भन्ने प्रश्न नै न कुनै दिन गरे ।

अंग्रेजी शब्द छ एउटा एक्रोनिम भन्ने । सटीक नेपाली छैन यसको । यसरी बुझाऊँ— जंगबहादुर राणालाई जबरा भन्नु एक्रोनिम हो, एब्रिभिएसन पनि नभनिहालौं । यही एक्रोनिम र संयुक्ताक्षर भन्ने संस्कृतको परम्परा अवचेतन मनमा फ्युजन हुन पुगेर घरी नेमा मुनि जोड्ने घरी पाल जोड्ने गरेर हाम्रा अतीतका अग्रजहरूले धेरै कागजको भार थपे मात्रै । ४००० वर्षअघिका रैथाने नेवारहरूलाई एक्रोनिम र संयुक्ताक्षरबाट शब्द सिर्जना गर्ने ज्ञान थियो ? हाम्रा पाठकवृन्दले प्रश्न नै कहिल्यै गरेनन् । नीरस छन् पाठकवृन्द यथार्थमा । त्यहाँ ज्ञानको उत्पादन हुन्छ पनि कसरी ?

समयशास्त्र दोस्रो

भूगर्भ विज्ञान भन्छ— उपत्यकाको पानी ३५ हजार वर्षअघि सुक्यो ।

जनकलाल शर्माले लेखे— सन् १९७८ मा रुसी वैज्ञानिक सेतेन्कोसँग मिलेर उनले बूढानीलकण्ठमा फेला पारेको पूर्व पाषाणयुगीन हतियार ३२ हजार वर्ष पुरानो हो ।

अर्थात् पानीको घट्दो तहसँगै मानव बस्ती उपत्यकाको केन्द्रतर्फ खिचिने प्रक्रिया थालनी भएको कम्तीमा ३२ हजार वर्ष भइसक्यो ।

र, के पनि भने जब ताल नै ३५ हजार वर्षअघि सुक्यो, त्यसपछि तालबोधक नेपाल नाम बन्ने कुरा आएन । अर्थात् नेपाल नाम ताल छँदाकै बेलाको हो ।

तर, यसो लेख्दा भाषाको अस्तित्व पूर्वपाषाण युगमा थियो ? भन्ने प्रश्न आउँछ । थियो भनेर लेख्दा नेपाली चेतनाको वर्तमान स्तरले त्यसलाई थेग्न सक्दैन अहिले भन्नेचाहिँ पंक्तिकार अवश्य जान्दछ ।

(शनिबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘शनिबार विशेष’बाट ।)

प्रकाशित : कार्तिक १४, २०७७ १८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×