१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

के थियो ग्लुकको मनोकांक्षा ?

विप्लव प्रतीक

लुइस ग्लुकले यसपल्ट साहित्य विधामा नोबेल पुरस्कार पाइन् । साहित्यमा गरिमामयी मानिने पुरस्कार । मलाई विश्वास छ, ग्लुक भने पुरस्कार वा सम्मान होइन, नौलो कविताको खोजीमा रहेकी हुनुपर्छ ।

के थियो ग्लुकको मनोकांक्षा ?

किन लेखिन् होला उनले, पहिलो कविता ? पहिचानका लागि ? समाज बदल्न ? वा आफ्नो मनमा भएका असङ्ख्य खुल्दुलीहरू मेट्न ? जवाफ पाउन मसँग उनीसम्म पुग्ने मार्ग छैन । तर, म निश्चिन्त भन्न सक्छु— उनले लेखिन् होला कविता आफ्नै वरिपरि भइरहेका मानवीय संवेदना, सम्बन्ध र असमानताहरूबारे अलौकिक दृष्टिबाट आफूले महसुस गरेका सोचलाई शब्दमार्फत व्यक्त गर्न । उनको कोमल हृदय समाजमा भएका विसङ्गति, सम्बन्धमा भएका अनौठा जटिलताहरूले आहत भए होलान्, तिनीहरू फर्मेन्ट भए होलान् समय र उनको संवेदनशीलतासँग, अनि सलिच्युडमा जन्मियो होला हृदयस्पर्शी कविता । र, मानिसहरूले आ–आफ्नो तरिकाले आफ्नो समाज र सम्बन्धलाई महसुस गर्न सकून् भन्ने आशय रह्यो होला उनको कविता तयार भइसकेपछि ।

कविताले नोबेल पाएको यो पहिलो घटना होइन । सन् १९०१ मा पाएका थिए सुल्ली पुधोम्मले पहिलो नोबेल । नोबेल अधिकारीहरूका अनुसार, उनले कवितालाई नयाँ आयाम दिएको कारणले उनी चुनिएका थिए त्यसका लागि । बुलन्द आदर्शवाद, कलात्मक पूर्णता एवं मन र ज्ञानको दुर्लभ सङ्गमका कारण उनलाई विशेष मान्यता दिइएको नोबेलले जनाएको थियो ।

सन् २०१६ मा बब डिलनलाई भने अमेरिकी बृहत् गीत परम्पराभित्र नौलो काव्य अभिव्यक्ति सिर्जना गरेको ठहर गरेर सम्मानित गरिएको थियो । र, रवीन्द्रनाथ टैगोरलाई सन् १९१३ मा नोबेल दिँदा भनिएको थियो, ‘उनले पूर्ण कौशलका साथ आफ्नो काव्यात्मक विचार प्रस्तुत गरेका छन् जसबाट गहिरो रूपमा संवेदनशील, नितान्त नौलो र सुन्दर पद्यहरूको जन्म भएको छ ।’ आखिर के हो कविता र के हुनुपर्छ कवितामा ? संवेदनशीलता मात्र काफी छ ?

भन्नेहरूले भन्छन्— कवितामा राजनीतिक चेत हुनुपर्छ । क्रान्तिका निम्ति हतियार हो कविता । भन्नेहरू यो पनि भन्छन् बिनासङ्गीत मनमै गुनगुन गर्ने मधुर गानझैँ मन्त्र हो कविता । कवितामा उपदेश हुँदैन, अहङ्कार हुँदैन, ईर्ष्या हुँदैन र हुँदैन घृणा पनि । बरु, त्यसलाई रूपान्तर गर्छ कविले प्रेममा । सारा वाद, सिद्धान्त र साम्राज्यभन्दा अलग हुन्छ कवि । भेटियोस् वा नभेटियोस् ऊ त जीवनभर खोजीमा रहन्छ र कामना गर्छ यो संसार युटोपियामा परिणत भएको । त्यसैले हो कि कवितालाई साहित्यको अमृत भनिएको ? र, नोबेलद्वारा सम्मानित अन्य विभिन्न कविहरूका कृतिबारे माथि उल्लेख गरिएझैँ संवेदनशीलता, आदर्श र मन एवं ज्ञानबीचको तादात्म्यलाई दोहोर्‍याइएको छ ।

लुइस ग्लुकका कविताहरूमा पनि उही संवेदनशीलता, उही आदर्श र उही मन एवं ज्ञानबीचको अद्भुत तालमेल छ । यौटा कवि पुरस्कार वा सम्मानको प्रतीक्षाभन्दा यौटा सुन्दर कविताको खोजीमा रहन्छ । उनको पुरानो कवितामा भनेकी पनि छन् उनले उहिले नै :

मनोकांक्षा

याद छ तिमीलाई, तिमीले साँचेका थियौ यौटा मनोकांक्षा ?

थुप्रै मनोकांक्षाहरू छन् मसँग पनि ।

त्यस दिन मैले तिमीसँग लुकाएकी थिएँ

पुतली उड्दै गर्दा मैले राखेको मनोकांक्षा । म सधैं सोचिरहन्थेँ

तिम्रा मनोकांक्षा के के थिए होलान् त्यतिखेर ।

त्यतिखेर मेरो मनोकांक्षाचाहिँ के थियो होला ?

मलाई याद छैन । सायद म फर्केर आउनेछु तिम्रैछेउ,

र, अन्तिम कालमा हामी दुवै फेरि सँगै हुनेछौँ ।

जसको चाह मलाई सधैँ भइरहन्छ, मैले त्यसैलाई आफ्नो मनोकांक्षा बनाएँ, मेरो मनोकांक्षा भन्नु नै कविता थियो ।

चर्चा खास ग्लुककै गर्नु छ अहिले । पुरस्कृत भएपछि उनका कविताहरू झन् पढिनेछन् । र, सम्भवतः भेट्नेछन् पाठकहरूले उनका कौशलयुक्त प्रस्तुति काव्यमार्फत । एउटा उदाहरणस्वरूप उनका कविताहरूमध्ये ‘अ फेबल’ :

यौटा नीतिकथा

दुई नारी आए

एउटै दाबाका साथ

बुद्धिमान राजाको चरणमा । दुई नारी,

तर बालक मात्र एक ।

राजालाई थाहा थियो

दुईमध्ये एक झूट बोलिरहेकी थिइन् ।

भने अनि राजाले ‘यस बालकलाई

बीचबाट चिरा पारौँ’, जसले गर्दा

कोही फर्किने छैन यहाँबाट रित्तो हात । उनले

निकाले आफ्नो तरबार ।

त्यसपछि, दुई

नारीमध्ये एकले

आफ्नो भाग छाडिदिइन्:

यो थियो

सङ्केत, र यौटा पाठ, उदाहरण ।

मानिलेऊ

तिमीले आफ्नी आमालाई देख्यौ

दुई छोरीबीच बाँडिएकी :

के गर्थ्यौ तिमी

उनलाई जोगाउन ?

कि अस्त हुने चाह आफैँभित्र हुर्काएकी हुनेथियौ ?–

जुन कुरो उनले पनि पहिचान गर्न सकून्

आफ्नो रक्तअंश को हो भनेर ?

चिनून् उनले कि यही हो मेरी छोरी जसले सहन सक्नेछैन

आफ्नी आमालाई दुई भागमा बाँड्न, चिर्न या चोइट्याउन ।

कवितालाई व्याख्याको खाँचो हुँदैन, विद्यालयमा जाँच दिँदा विद्यार्थीलाई र कापी जाँच्दा शिक्षकलाई बाहेक । कविता त महसुस गर्ने कुरा हो । र, कविताको नशा कविताका अम्मलीहरूलाई मात्रै थाहा हुन्छ । र, कविताको नशा लाग्न संवेदनशीलता चाहिन्छ । लेख्ने संवेदनशील अनि पढ्ने पनि संवेदनशील । बल्ल कवि हृदय र पाठक हृदय जोडिन्छ, झङ्कृत हुन्छ र काव्यको मधुर गान गुन्जिन्छ मौनतामा । तर, त्यसबाहेक अर्को कुरा पनि छ । एक संवेदनशील ती हुन्छन्, जसलाई आफ्नो मात्र पीर हुन्छ— आफू आहत हुन्छु कि भन्ने डर हुन्छ । अर्का संवेदनशील ती हुन्छन्, जो आफ्ना कारण अर्कोलाई ठेस त पुग्दैन/मर्माहत त हुँदैन ऊ भनेर सदा सतर्क रहन्छन् । मेरो यस विश्वासलाई ग्लुकको अर्को कविताले सही थाप्छ । उनी अरूप्रति संवेदनशील नहुँदी हुन् त कहाँ जन्मिन्थ्यो होला र उनको कोमलहृदयबाट यो कविता :

एउटा कल्पना

म तिमीलाई केही कुरा भन्नेछु : प्रत्येक दिन

मानिसहरू मरिरहेका छन् । र, यो कुरा प्रारम्भ मात्र हो ।

प्रत्येक दिन, शोकगृहमा, नयाँ विधवाहरूको जन्म हुन्छ,

नयाँ टुहुराहरूको । हात बाँधेर बस्छन् तिनीहरू,

नौलो जीवनको नक्सा बनाउने कोसिस गर्दै ।

अनि तिनीहरू चिहानछेउ हुन्छन्, तीमध्ये केही

पहिलोपल्ट पुगेका हुन्छन् त्यहाँ । डराउँछन् तिनीहरू रुन,

कहिले रुन नसकेर त्रस्त हुन्छन् । कोही घोप्टिएका हुन्छन्,

त्यतिखेर के गर्ने भनेर सिकाउन आउँछन् कोही, जसको परिणाम

केही शब्द काम लाग्छन् तिनका लागि, कहिलेकाहीँ

एक मुठ्ठी माटो खुला चिहानमा अर्पण गर्नका लागि ।

अनि त्यसपछि, सबै जना घर फर्किन्छन्,

जून अचानक आगन्तुकहरूले भरिएको हुन्छ ।

विधवा काउचमा बस्छिन्, भव्य तरिकाले,

ताकि मानिसहरू आउन् र सीधै उनीसँग आमनेसामने हुन सकून्,

कहिले उनको हात समाउन्, र कहिले उनलाई गरुन् अङ्कमाल ।

सबैसँग केही भन्नका लागि उनीसँग केही शब्द/वाक्य हुन्छन्, धन्यवाद

भन्छिन् सबैलाई, भेट्नका लागि आएकामा अनुगृहीत हुन्छिन् ।

उनको हृदयमा भने, ती सबै गइदिए हुन्थ्यो भन्ने हुन्छ ।

उनको मन भने चाहन्छ जान उतै चिहानमा,

या अस्पतालको बिरामी बिछ्यौनामा ।

उनलाई थाहा छ यो सम्भव छैन ।

तर, ऊनीसँग एउटै चाह हुन्छ,

अतिततिर फर्किने ।

र एकछिन भए पनि

अलि पछिको समयसम्म मात्र पुग्ने–

बिहे भएको बखतसम्म वा

दुवैले पहिलो चुम्बन खाएको बखतसम्म होइन ।

संवेदनशीलताबाट विशेषतातर्फ । ग्लुकले आफ्ना कवितामा एक खालको प्रयोग या भनूँ डिजाइन गरेकी छन् निरन्तर । जुन प्रयोग अधिकांश पाठकका लागि बानी पार्न अभ्यास गर्नुपर्ने पनि हुन सक्छ । उनका कविताका हरफहरू जहाँ टुङ्गिनुपर्ने हो टुङ्गिँदैन । टुङ्गियो भने पनि त्यहाँ अर्को हरफको केही शब्द जोड्छिन् र बाँकी हरफ तल झारिदिन्छिन् ग्लुक । यौटा भनाइ छ, हृदयस्पर्शी कवितामा कविले कमा, पूर्णविराम छुटायो भने पनि पाठकले के कहाँ छ, कहाँ विश्राम छ रिठ्ठो नबिराई थाहा पाउँछ । के ग्लुकलाई पनि यो कुरा थाहा थियो ? कुनै दिन भेट्ने संयोग ‘कस्मस’ ले जुराइदियो भने सोध्नेछु । तर, होइन सोध्दिनँ । उनीसँग भेट्ने दुर्लभ संयोग जुर्‍यो भने म उनको अनुमति लिएर उनलाई केवल नियालिरहनेछु, र सुन्नेछु उनका कविताहरू मौनताभित्र ।

प्रकाशित : आश्विन २४, २०७७ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?