कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

गर्भवती उर्मिलाको अन्त्य

त्यहाँको सुनसान माहोलमा गर्भमा रहेको बच्चा बाहिर आउन गुहार मागिरहेथ्यो । तर, कसैले उसको आवाज सुनेन ।
संगीता उराँव

दुःखका कारण अनेक हुन सक्छन् । दुःख त सबैसँग यात्रा गर्दोरहेछ । जब दुःख सहने आत्मबल घट्दै जान्छ, तब जीवनबाट हरेस खाई विश्राम लिन मन लाग्छ । यस्तै कैयन् प्रश्न मनमा बोकेर हिँडेका कल्पना र उर्मिलाहरूको दुःखसँग कैयौं दिन यात्रा गरेको छु ।

गर्भवती उर्मिलाको अन्त्य

घरपरिवारले गरेका हिंसा, अत्याचार, पीडाको बन्धनमा बसेर मनमा गुम्सिएका हजारौं प्रश्नलाई भ्रूण अवस्थामै हत्या गराउँछन् कैयौं कल्पना र उर्मिलाहरू । त्यो हत्या रोक्न अनि कल्पना र उर्मिलालाई आत्मग्लानिसम्म नपुर्‍याउन कसरी दुःखबाट विश्राम गराउन सकिएला ? यही सोचका साथ सल्लाह सुझाव दिन निस्किइयो । कल्पना र उर्मिलाका कुरा सुनिदिए मात्र पनि उनीहरूको मन हलुका हुन्छ होला ∕

शिल्पी थिएटरमा विद्यार्थीको रूपमा र अहिले कलाकारको रूपमा जोडिएपछि मेरा लागि रंगमञ्च नै जीवन भएको छ । म एउटा अविकसित गाउँबाट कसरी काठमाडौंको शिल्पी थिएटरसम्म आइपुगेँ भन्ने लामै कथा छ । तर, मेरो पीडा अभिव्यक्तिको स्वर बन्यो रंगमञ्च । मैले जति पनि नाटक खेलेँ कहीं न कहीं म बाँचेको समाज वा देखिरहेको विभेद र हिंसाको बारेमा नाटकबाट बहस गरेका छौँ ।

शिल्पीको एकमहिने नाट्ययात्रामा मैले गरेको केही अनुभूति थोरै सुनाउँछु । २०७६ को कात्तिकभरि हामी गाउँगाउँमा नाटक ‘कल्पना र उर्मिला दुःखमा छन्’ देखाउँदै हिँडेका थियौँ । नाटकमा मेरो भूमिका उर्मिलाको थियो । उर्मिला घर र खेतको कामले थिचिएकी स्कुल पढ्न संघर्ष गरिरहेकी गाउँकी केटी, जो सही र गलतको अन्योलबीच जिन्दगीलाई संकटैसंकटमा डोर्‍याउँछे । ऊ बाँचेको परिवेशमा जोखिमैजोखिम छन् ।

जतिबेला म नाटकमा उर्मिला भएर दर्शकसामु उपस्थित हुन्थेँ, दर्शकदीर्घामा रहेका अरू उर्मिलासँग एकाकार हुन्थे । त्यसबेला मनमा गुम्सिएका उर्मिलाहरूका दुःख र पीडालाई पोख्न अलिकति भए पनि साहस आउँथ्यो । किनकि धेरै उर्मिलाहरूको आँखामा त्यो दुःख, अपहेलना र कामको जोताइ देख्दा भक्कानिएर भए पनि गुम्सिएको पीडा पोख्न बाध्य हुन्थें । कतिपय ठाउँमा उर्मिलाहरूसँग कुरा गर्दा, उनीहरूका कुरा सुन्दा साँच्चै डर र हुटहुटी बढ्थ्यो । यस्ता हिंसा मैले नदेखेको पनि होइन, तर यो गलत हो भन्ने थाहा थिएन ।

विराटनगरको बुधनगरमा नाटकको कचहरीपछि एक जना दिदीसँग कुरा गर्दा झन् मन थरथरायो । उहाँको नाम कविता तात्मा रहेछ । उमेर २४ वर्ष, बिहे १६ वर्षको हुँदा भएको रहेछ । आमाबुबाको रोजाइको केटा, जो कविताभन्दा १० वर्ष जेठा रहेछन् । ती पुरुषले पहिलो पत्नीलाई वर्ष दिन नबित्दै घरबाट निकालेका रहेछन् । कारण थाहा भएन । र, कवितासँग दोस्रो विवाह भएको रहेछ । उनले एक वर्षपछि छोरी जन्माइछिन् । पहिलो बच्चा छोरी भयो भनेर घरपरिवार र श्रीमान्बाट स्याहार–सुसार पाइनन् । त्यसको दुई वर्षपछि फेरि अर्की छोरीलाई जन्म दिइन् । त्यसपछि परिवार र श्रीमान्को अपहेलित व्यवहारमा घोटिन थालिछिन् उनी । हरेक दिन सानोसानो निहुँमा गालीको वर्षा, झापडको छाप, कपाल लुछाइ ∕ दुई छोरीको स्याहारभन्दा पनि परिवार र लोग्नेको अनुहारमा एक दिन हाँसो देख्न पाउँछु भन्दै मेसिनजस्तो भएर काम गरिरहिन् । तर, कहिल्यै उनीहरूको अनुहारमा उज्यालो देख्न पाइनन् । कुरा गर्दै गर्दा कविता नाटककी कल्पना सम्झँदै रुन थालिन् । ‘त्यो कल्पनाजस्तै म बच्चा जन्माउने मेसिन र लोग्नेको सेवा गर्ने नोकर भएकी छु । मेरा दुई बच्चा पनि खेर गए । मेरो स्वास्थ्य बिग्रियो,’ आफ्नो पेटमा स्पर्श गर्दै भनिन्, ‘त्यै पनि अहिले मेरो गर्भमा चार महिनाको बच्चा बसेको छ । यो पनि छोरी भयो भने मेरो के हालत होला, त्यो म सोच्न पनि सक्दिनँ ।’

त्यही बेला एउटी आठ वर्षकी बालिका हस्याङफस्याङ गर्दै आइन् र बुबाले बोलाउँदै छ भन्ने खबर ल्याइन् । कविताले त्यो बालिकाको टाउको सुम्सुमाउँदै भनिन्, ‘यो मेरी ठूली छोरी हो ।’ त्यसपछि हत्तारिँदै बाटो लागिन् ।

...

जब म राति ओछ्यानमा पल्टिएँ, कविताको अनुहार नाच्न थाल्यो । दिक्क, तनाव सबै एकैपटक थुप्रियो । यो कुराले मेरो आँखामा निद्रा आउन मानिरहेको थिएन ।

इटहरीको तायारिप्ची भवनमा साँझको शोमा हाम्रो नाटकमा कचहरी बसिएन । त्यहाँ पहिलोपटक नाटकको खुला अन्त्य गरिएको थियो । नाटकको अन्त्यमा गर्भवती उर्मिलाको मृत्यु हुन्छ । नाटकमै भए पनि आफू मर्नुपरेकोमा साह्रै नरमाइलो लाग्यो । तर, नाटकमा म होइन, उर्मिला थिइन् । उनको सात महिनाको बच्चा थियो गर्भमा । विडम्बना, त्यो बच्चाले यो संसारमा आफ्नो दृष्टि खोल्नुपूर्व नै आफ्नी आमाले समेत यो संसारबाट बिदा लिइन् । मनमा आँधी चल्यो, मचाहिँ उर्मिला हुँ कि ∕ रणभुल्लमा परें ।

यस कुराको निष्कर्ष नपाउँदै यथार्थमै मेरो जिउँदो शरीरलाई सेतो कात्रोले बेरेर मलामी लैजाँदा साँच्चै म मरेकै हो झैं महसुस भयो । त्यहाँको सुनसान माहोलमा गर्भमा रहेको बच्चा बाहिर आउन गुहार मागिरहेथ्यो सायद, तर कसैले उसको आवाज सुनेन । बच्चाले आफ्नो कोमल खुट्टाले बिस्तारै लात हानिरहेथ्यो, चलमलाइरहेथ्यो सायद । तर, त्यो बच्चालाई कसैले देख्न पाएन, हतारमा थिए उर्मिलालाई माटोमा पुर्न । आतुर थिए आफन्तहरू र आफ्नै लोग्ने भनाउँदा । तर, दर्शकबाट ‘बिचरा’ भनेको मात्र सुनें ।

त्योबेला मेरो मनमा, दिमागमा आमाको अनुहार नाच्न थाल्यो । आमाको दुःख सम्झिँदा अहिले नै गएर आमालाई अँगालो हालूँ र खुब रोऔंजस्तो लाग्यो । मुखलाई सेतो कात्रोले थुन्न खोजें तर नेपथ्यमा पुग्दा आफूलाई रोक्न सकिनँ । सम्हाल्न सकिनँ । मनलाई शान्त होऊ भन्न सकिनँ । आँसुलाई नबग भन्न पनि सकिनँ ।

प्रकाशित : आश्विन २४, २०७७ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?