१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

स्मृतिलेखको राजनीति

सङ्गीत

सहरी आकाशमा कोरोना–आतंकका विस्फोटक बेलुन बढ्दै गरेका बेला माधव घिमिरेको निधनको खबर जब फैलियो, अनलाइन–मिडिया र पत्रपत्रिका शताब्दी लामो शोकमा रुन थालिहाले । कवि घिमिरे ठूला कवि थिए नै, नेपालको सत्ताधारी प्रतिबद्धतामा सायद उनी एक नम्बरै हुन् ।

स्मृतिलेखको राजनीति

राजतन्त्रको राजनीतिक अन्त्य ज्ञानेन्द्र शाहको पदीय बिदाइसँगै भएथ्यो तर त्यस थितिको साहित्यिक विरासतचाहिँ घिमिरेको वरिपरि पंक्तिबद्ध थियो । जब सय वर्ष नाघेका घिमिरे बिते, राजतन्त्रका सांस्कृतिक अनुयायीहरूले आँसु मात्रै झारेनन्, बरु चिच्याउन र डाँको छाड्न थाले । कतिले त गणतन्त्रवादी कवि–लेखकतिर फर्केर आँसु र सिँगान मुछिएको भाषामा गाली पनि गरे ।

घिमिरेका गीत–कविताको लेखनशैली मिठो अवश्य थियो, उनको अभिव्यक्ति कौशलमा शान्तिप्रियता पक्कै थियो तर उनको राजनीतिक पक्षधरता निकै क्रूर थियो र उनले काँधमा बोकेको व्यवस्था भयानक हिंस्रक थियो । पितृसत्ता, जातसत्ता र भाषासत्ताको ढिकी–जातोले थिल्थिलिएको जनपंक्ति अहिले पनि ऐया–आत्थामै छ । त्यो ऐया–आत्था आउँदा दिनमा आक्रोश–आवेगमा फेरिएला, खस्रो–नमिठो काव्यमा अझै लेखिँदै जाला । मार्क्सेली फाँटका समीक्षक–समालोचक अझै बोलेका छैनन्, तुरुन्ता–तुरुन्तै बोल्न जरुरी पनि सायद छैन । तर, शोक सन्तप्त राष्ट्रवादीहरू दुई जना युवाका फेसबुक स्टाटसबाटै घनघोर विचलित भएका पाइए । त्यसयताको डेढ महिनामा जति पनि ओबिच्युरी (स्मृतिलेख) हरू छापिए, तिनको मुख्य उद्देश्य कवि घिमिरेप्रति श्रद्धाञ्जली दिनु देखिएन, बरु मार्क्सवादी धाराका कवि/समालोचकहरूतिर धारेहात लगाउनु बेसी देखियो । कवि घिमिरे बित्नु जति राजनीतिक घनत्वको घटना हो, उनका अनुयायीहरूको आराजनीतिक विक्षिप्तता त्योभन्दा अर्थपूर्ण परिघटना हुन पुग्यो ।

अब डिस्क्लेमर गरौं– यो लेख माधव घिमिरेको निधन, उनको सत्तावर्गीय प्रतिबद्धता वा उनका रचनाको राजनीतिका विषयमा होइन, हुने छैन । तर, सुरुआत उनीबारेका स्मृतिलेखहरूको सन्दर्भबाट गर्नुपर्ने खण्ड आइलाग्यो । किनभने स्मृतिलेखहरूको राजनीति कस्तो हुन्छ भन्ने पछिल्ला साक्ष्यहरू घिमिरेउपर चढाइएका अक्षरहरूले देखाइरहेका छन् । अर्थात् स्मृतिलेख एउटै मान्छेले तीनपटक किन लेखिरहेको छ ? अर्थात् स्मृतिलेख एउटै पत्रिकाले दुई महिनासम्म किन छापिरहेको छ ? अर्थात् स्मृतिलेखको आधाभन्दा बढी अंशमा उनका आलोचकहरूप्रति ‘देख्लास्–पख्लास्’ भाषा किन छ ? अर्थात् स्मृतिलेखका नाममा आत्मप्रशंसाको लहर किन छ ?

अंग्रेजीमा ओबिच्युरी भनिने स्मृतिलेख सामान्यतः ख्यातिप्राप्त मान्छेको मरणको बखत लेखिने शोक–सम्झना मानिन्छ । यस्ता लेखहरूमा प्रायशः मृत्यु भएका व्यक्तिको सार्वजनिक योगदान, सामाजिक–राजनीतिक भूमिका, पेसागत वा विधागत विशिष्टताबारे छरितोमा विवेचना गरिन्छ । मरिसकेको मानिसका लागि बाँचेकाहरूले गर्ने गतिविधि, संस्कार, श्रद्धाञ्जली, श्राद्धले कुनै अर्थ राख्दैन, बरु बाँचेकाहरूबीच नै त्यसले आफ्नो राजनीति गरिरहेको हुन्छ । त्यसकारण जसको भौतिक अस्तित्व छैन, उसको जीवनबाट जीवितहरूले लिनुपर्ने प्रेरणा र शिक्षाको पनि स्मृतिलेखहरूमा चर्चा हुने गर्छ ।

कसैको मृत्युले निकटस्थहरूको जीवित जमातलाई संवेदनशील त बनाउँछ नै । परिवारका सदस्य, आफन्त वा मित्रको अवसानले गहिरो शोकमा पुर्‍याएको हुन्छ । त्यस्तो बेला शोकसन्तप्त जनलाई सान्त्वना दिनु, सम्झाउनु र जीवनको महत्त्वबारे चिन्तन–मनन् गर्नु आवश्यक हुन्छ । हरेक सभ्यतामा मृत्युको विछोड–पीडाबाट मुक्त हुन गरिने किसिम–किसिमका संस्कारहरू छन् । लेखपढको संस्कृति आम भइसकेपछि र छापाखाना प्रविधिको आविष्कारपछि पत्रपत्रिकामा समवेदना, श्रद्धाञ्जली प्रकाशन गर्ने चलनले संस्कृतिको रूप लिएको देखिन्छ । सँगसँगै पत्रिकाहरूमा स्मृतिलेख, श्रद्धाञ्जली–लेख, सम्झना छाप्न थालियो । यहीँनेर भन्न सकिन्छ– जसरी किताब वा पत्रपत्रिकाहरूमा उपलब्ध हुने ज्ञान, सूचनाले राजनीति गर्छ ∕ जसरी किताब वा पत्रपत्रिकामा पहुँच हुने/नहुनेबीच विभेद हुन्छ ∕ जसरी किताब वा पत्रपत्रिकाको पनि पक्षधरता हुन्छ ∕ ठीक त्यसरी नै स्मृतिलेख वा स्मृतिकथाको पनि राजनीति हुन्छ, पक्षधरता हुन्छ । जस्तै ः श्यामप्रसादको निधनमा खगेन्द्र संग्रौला लेख्छन्, माधव घिमिरेको निधनमा केदार शर्मा अघि सर्छन् ।

श्रद्धाञ्जली, समवेदना र स्मृतिलेखको शक्ति–सम्बन्ध पहिल्याउन नेपाली इतिहासका पछिल्ला केही मृत्यु, हत्या, दुर्घटना वा महामारीकै सामान्य अध्ययन पनि गर्न सकिन्छ । दासढुंगा, दरबार हत्याकाण्ड, जनयुद्धजस्ता घटनाले मृत्युको पनि वर्ग हुन्छ र शोकको पनि पक्षधरता हुन्छ भन्ने सत्य नेपाली समाजमा एक हदसम्म स्थापित गरिदिएकै हो । उही मारमृत्युको घटना कसैलाई गौरवमय हुन्थ्यो, उही घटना कसैलाई नृशंस वा क्रूर ∕ जस्तै– एउटा संयोगपूर्ण मितिकै कुरा गरौं— २०५८ जेठ १९ ∕ राजनीतिक इतिहासमा चासो हुने धेरैलाई सम्झना भइरहने मिति हो यो । तत्कालीन राजा वीरेन्द्र शाह र उनको परिवारका अधिकांश सदस्य सोत्तर पर्ने गरी भएको दरबार हत्याकाण्ड यही दिनको थियो । यसपछि नेपाली राजनीतिमा के–कस्ता मोड आए, धेरैलाई थाहै छ । तिनताका अखबारहरूमा श्रद्धाञ्जलीहरू कति छापिए ? समवेदनाले कति पृष्ठ भरिए ? स्मृतिलेख (ओबिच्युरी) कति दिनसम्म प्रकाशित भए ? पत्रपत्रिकाका विशेषांकहरू कतिवटा निस्के ? यसको कुनै व्यवस्थित लेखाजोखा वा अध्ययन भएकै छैन । एकजना फोटो पत्रकारले केही दिनअघि मसँग भनेका थिए— तिनताकाको एउटा अखबारले १५ दिनभित्र छापिएका श्रद्धाञ्जली र समवेदना (विज्ञापन) को पैसाबाट मात्रै तीनवटा अतिसुविधासम्पन्न गाडी किनेको थियो ।

तर, त्यही दिन बिहान अर्थात् २०५८ जेठ १९ मा नेपाली कम्युनिस्ट आन्दोलनका योद्धा रूपलाल विश्वकर्माको पनि निधन भएको थियो । पुराना राजाको शोक र नयाँ राजाको स्वागतमा होस गुमाएको सहरले रूपलाल विश्वकर्मालाई सम्झने वा उनका ओबिच्युरीहरूको शृंखला छाप्ने दरकार नै देखेन । उनीबारे न कुनै पत्रिकाले विशेषांक निकाल्यो, न कुनै व्यापारीले श्रद्धाञ्जली विज्ञापन छाप्यो । वामपन्थी धाराको म्यागजिन ‘मूल्यांकन’ ले पनि राजा वीरेन्द्र र उनको वंशनाशबारे धारावाहिक सामग्रीहरू प्रकाशन गरिरह्यो । राजपरिवारकै श्रद्धाञ्जलीका व्यावसायिक विज्ञापन पनि छापिरह्यो तर रूपलालको निधनको खबर पाठक–पत्र प्रकाशित हुने स्तम्भभित्र दुई कोलममा टिप्पणी गरेर मात्रै सूचना दियो । राजखलकको सम्झनाका किताब (ओबिच्युरी स्टाइलमै) दुई दशकपछि पनि छापिइरहेका छन्, तर रूपलालको स्मृति नेपाली राजनीतिको झन्डै विस्मृतिमा छ र त्यो केवल पारिवारिक चासो र मित्रमण्डली चिन्ताको रेखोभित्र परेको देखिन्छ ।

एकातिर ‘ठूला’ नामहरूको मात्रै सम्झना गर्ने, शक्तिशालीहरूलाई मात्रै श्रद्धाञ्जली दिने, पदासीनहरूका लागि मात्रै समवेदना सुनाउने संस्कृति परम्पराजस्तो बनिसकेको छ, अर्कोतिर वर्ग–राजनीति गर्छु भन्ने नेतागणदेखि वैचारिक पक्षधरता देखाउने कवि–लेखकसम्मले मृत्यु र शोकलाई निवर्गीय व्यवहार गर्ने समस्या पनि उस्तै छ । अझ स्मृतिलेखहरूको बहानामा आफ्नै प्रचार–प्रसार गर्ने आत्ममुग्ध ढोंग पनि विशेषतः साहित्यजगत्मा छ । यस्ता स्मृतिलेखहरू रूपमा अति नै शिष्ट, शान्त र शोकविह्वल देखिन्छन् तर तिनको अन्तर्वस्तु त्यति नै वर्गीय, विद्रूप र विभेदी हुन्छन् ।

स्मृतिलेखका सन्दर्भमा अर्को पक्ष के छ भने सामान्यतः सामान्य मान्छेका स्मृतिलेख पत्रपत्रिका वा अनलाइनहरूमा प्रकाशित नै हुन्नन्, ती लेखिन जरुरी नै ठानिन्नँ । लेखक वा पत्रकारहरूको ‘पेसागत नियति’ नै कति निरीह छ भने आफ्ना बाउआमाको बिदाइ (मृत्यु) मा शोक व्यक्त गर्नसमेत उनीहरू उछार पाउँदैनन् तर शक्तिशाली पदमा बस्नेहरूको टाउको दुख्यो भने पनि त्यसको कार्य–कारण सम्बन्धको खोजीमा आफूलाई समर्पित गर्छन् । आफ्नै सेरोफेरोका सक्रिय पत्रकार र सम्पादकहरूका जिन्दगीका नलेखिएका/नभनिएका यस्ता थुप्रै सत्यकथाका साक्षी छौं, हामी । हामी आफ्ना आफन्तलाई क्यान्सरले लगिसक्दा पनि कुनै सेलिब्रिटीको क्यान्सर जित्ने कथामा फूलबुट्टा भर्न अभिशप्त हुन्छौं ।

सामान्य मान्छेबारे स्मृतिलेख लेख्न सामान्य मान्छेकै पक्ष लिने वैचारिकीको खाँचो पर्दोरहेछ । मृत्यु र शोक सम्बन्धमा नेपाली भाषाको पुस्तकाकार वाङ्मय घना छैन । नेपालको पहाडी खसारे (खस–आर्य) जगत्ले शोकको समयमा सर्वाधिक पढेको (पढाइएको) आख्यान गरुड पुराण हो । गरुड पुराणले बाँचेका मान्छेलाई अन्धविश्वास, पुनर्जन्म, रुढी, पितृसत्ता, ब्राह्मणसत्तामा प्रतिबद्ध हुन डर, त्रास र शास्त्रीय धम्की दिन्छ । त्यही पीडक आख्यानलाई हाँक दिँदै र त्यसको चिरफार गर्दै खगेन्द्र संग्रौलाले आफ्नी आमाको स्मृतिमा ‘आमा र यमदूतहरू’ स्मृति–कथा लेखेका छन् । गरुड पुराणले कथ्ने तथाकथित यमराजहरूको क्रूरताको कथालाई चुनौती दिने गरी पुस्तकाकारमै ओबिच्युरी लेख्ने संग्रौला सायद पहिलो स्रष्टा हुन् । पछि अर्का लेखक विजयराज आचार्यले पनि आफ्ना पिताको मृत्युपछि ‘संस्कार’ भन्ने पुस्तकको सम्पादन/संकलन गरेर आफ्ना पिताप्रति सम्मान दर्साएका थिए । यस्ता अपवाद नमुना अरू पनि हुन सक्छन्, जसले आममान्छेलाई पनि स्मृतिलेखको विषय बनाए । अन्यथा, हाम्रो चल्तीको स्मृतिकथा भने शक्तिशालीहरू अर्थात् ‘ठूलाठालु’ कै वरिपरि मृत्युपछि पनि चाकडीकै भाँतिमा घुमिरहेको पाइन्छ ।

एउटा भनाइ छ— मृतकहरू भोट हाल्न त आउँदैनन् तर उम्मेदवारहरूचाहिँ उठाइरहन्छन् । लेखको बिट मार्ने बेला फेरि माधव घिमिरेकै भौतिक अवसान सम्झेर भनौं— घिमिरे बाजे फेरि ‘राष्ट्रनिर्माता’ लेखेर पृथ्वीनारायण शाहको बढाइचढाइ गर्न वा महेन्द्र शाहको शासनलाई गीतिलय दिन त आउने छैनन्, तर राष्ट्रवादीहरूलाई संगठित हुनचाहिँ उनका रचनाहरूले आउने केही दशकसम्म उकासिरहनेछन् । यसैलाई घिमिरेका रचनाको शक्ति मान्न सकिन्छ । उनको स्मृतिको बहानामा प्रगतिवादी कित्तालाई गाली गर्न एकै ठाउँ उभिएका राष्ट्रवादी, नवराष्ट्रवादी र गणतन्त्रविरोधीहरूको रुवावासी पनि त्यही राजनीतिको उपज हो ।

प्रकाशित : आश्विन १७, २०७७ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?