‘निस्कन्छ अर्कै युगभित्रबाट...’
‘भोका छन् जब दाजुभाइ यसरी खाएर पो के भयो
नाङ्गा छन् जब इष्टमित्र यसरी लाएर पो के भयो
खै, उल्लास कहाँ छ यौवन यहाँ आएर पो के भयो
मुर्दातुल्य छ जिन्दगी जब यहाँ बाँचेर पो के भयो ?’
कविवर घिमिरेको निधनपछि ‘तपाईँले पढेको माधव घिमिरेको पहिलो कविता कुन थियो, सम्झिनुहुन्छ ?’ भन्ने मेरो प्रश्नको जवाफमा मेरा बा नरहरि शर्माले सुनाउनुभएको कविता हो यो । ‘साल त बिर्सेँ, तर पारसमणि प्रधानको भारती पत्रिकामा पढेको हुँ’, बाले जानकारी थपिदिनुभयो ।
कविवरको कवितासंग्रह चैत–वैशाखमा संकलित यो कविताका पुछारमा रचना वर्ष २००६ लेखिएको छ । त्यस बेलाको नेपालको सत्ता त्यत्तिको कविता पचाउन सक्दैनथ्यो । त्यसैले कविवर घिमिरेले त्यसलाई भारतबाट छापिने भारतीमा पठाएको हुनुपर्छ भन्ने हाम्रो अनुमान रह्यो ।
मैले छन्दमा कविता पढ्न सानैदेखि, घरबाट नै जानेको हुँ र माधव घिमिरेका कविता मन पराउन मूलतः बाबाटै सिकेको हुँ । मैले आफ्नो ठानेको पहिलो किताब घिमिरेकै ‘घाम–पानी’ थियो । म अहिले पनि त्यसका कतिपय कविता सम्झिन्छु । अरू कविता म आफैँ पढ्थेँ तर ‘ध्रॅबको कथा’ बाले भनिदिएको मन पर्थ्यो । ‘नानी अझै बालक नै रहेछ, के के खेलौना बटुली रहेछ’ भन्नेचाहिँ आमाका स्वरमा सुन्न मन पर्थ्यो ।
आफूले प्राथमिक कक्षामा पढेका कविता अहिले ८० पुग्नलाग्दा पनि कण्ठस्थ सुनाउन सक्ने मेरा बासित अहिले पनि कविताका विषयमा निकै छलफल हुन्छ । उहाँले सम्झेको माथिको कविताले यसपटकको हाम्रो कुराकानीलाई माधव घिमिरेका कवितामा पाइने विद्रोह र क्रान्तिचेततिरै लिएर गयो ।
अनि बाले घिमिरेको ‘नवयुवक’ सम्झिनुभयो...
अग्ला सिंहासनहरू हिले क्रूर अन्याय काँपे
सामन्तीका खँडहरमहाँ क्रान्तिका दूत नाचे
काला धब्बा रगतहरूका खुर्किए स्वार्थ हारे
गर्जी गर्जी जव युवकले ज्यानको आस मारे
(२००९)
फेरि एकपटक यो कविता पूरा वाचन गरिसकेपछि युवाहरूलाई सम्बोधन गरिएको योभन्दा क्रान्तिकारी कविता छन्दमा मात्र होइन, गद्यमा पनि अर्को पढ्न पाएका छैनौँ भन्ने निष्कर्षमा हामी पुग्यौँ । कविवर घिमिरेका धेरै कविता यस्तै छन् । २००४ साल साउनमा भारत स्वतन्त्र भयो र त्यसै वर्ष फागुनमा पद्मशमशेर भारत भासिए । अनि ‘अझ कडा’ मानिएका मोहन शमशेर श्री ३ भए । त्यसबेला ‘सन्तानब्बे साल काण्ड’ भएको सात वर्ष भइसकेको थियो र नेपाली जनताको असन्तुष्टि मुख नखुलेको पिलोजस्तो भित्रभित्रै टनटनाइरहेको थियो । केही हदसम्म त्यो कुरा बुझेका मोहनशमशेरलाई भारतीय स्वतन्त्रता आन्दोलनमा लागेका नेपाली युवा अब यता सल्किन्छन् भन्ने ठूलो डर थियो र त्यस कारण पनि सत्ता झनै असहिष्णु भएको थियो ।
त्यस्तो अप्ठ्यारो बेलामा कविवर घिमिरेले महादेवलाई प्रतीक बनाएर एउटा गीत ‘टाकुराबाट डुक्रियो नन्दी’ लेख्नुभयो–
खल्बल सुन्छु अल्मलजस्तो लाग्दछ समाधि
फड्कार्छु जटा, झड्कार्छु गङ्गा शिरमा नबाँधी
ए तिमी पनि प्रीतिको गीत नगाऊ कोल्टामा
बाटामा निस्क आँसुका दाना टिपेर पोल्टामा
भवानी अब धूलामा राख फूलको जवानी
कुबेरको वैभव पोलेर घस्छु मै पनि खरानी
जब म बन्छु भोकले व्याकुल बाटाको मिखारी
त्यो बेला निस्क नाशकी चण्डी जगेल्टा फिँजारी
अकालमा मर्ने मान्छेको निम्ति रोऔली रातमा
नाचुँला म त ताण्डवनृत्य मसानघाटमा
म कालकूट पिएर आउँछु गोसाईँकुण्डमा
पुतली बनी टाँसिनू तिमी पहाडी ढुङ्गामा
(चैत २००४)
त्यसपछि त उहाँको विद्रोही कलम अझ मुखर भएको देखिन्छ–
सय र घर अघाए पनि एक घर भोकै छ
सबै र तिर सुख भए पनि एक छेउ दुःखै छ
शीतका आासु तपतप खस्छन् धर्तीको माटामा
सुन हे आमा ∕ को आज रुन्छ अँधेरी रातमा
(चैत २००६)
२००७ साल अघिका कैयन् नेपाली कविता हामीले पढ्न बाँकी होला । तर धेरै त पढेका पनि छौँ । आफ्नो सीमित ज्ञानका आधारमा हामी बाबु छोरा राणाकालमा लेखिएको सबभन्दा विद्रोही गीत यही हो भन्ने निष्कर्षमा पुगेका छौँ । ‘भोका छन् जब दाजुभाइ यसरी खाएर पो के भयो, मुर्दातुल्य छ जिन्दगी जब यहाँ बाँचेर पो के भयो ?’ को अर्थ ‘असमानताको जगमा उभिएको तिम्रो शासनमा जनता बाँचेको नबाँच्यै भएका छन् है’ भनेको हो भनेर राणाहरू बुझ्थे । त्यसैले त्यत्तिको ‘चर्को’ कविता स्वदेशमा छपाइसक्नु थिएन र त्यो कालेबुङबाट छापिएको थियो ।
देशमा प्रजातन्त्र आयो तर भनेजस्ता दिन भने आएनन् । अनि देशको साहित्य कलालाई आफ्नो संरक्षणत्व दिन ‘कवि राजा’ महेन्द्रबाट ‘रायल नेपाल एकेडेमी’ स्थापना भयो, जसमा प्रायः सबै साहित्यकारहरूको सहभागिता भयो । त्यसबेला घोषित प्रतिपक्षीहरूबाहेक प्रायः सबै नै सत्तासित नजिकिन खोज्थे । त्यस्तो समयमा सुरुदेखि नै एकेडेमीमा रहेका माधव घिमिरेलाई क्रान्तिकारीहरूले ‘सत्ताका नजिकका कवि’ भन्नुलाई स्वाभाविक मान्न सकिन्छ । तर, जसले उहाँका कविता केलाएर पढेको छ, त्यसले ती कवितामा सत्ताको स्तुतिगान भेट्दैन, बरु भेट्छ, सत्ताप्रतिको गहिरो असन्तुष्टि । मलाई खुसी लाग्छ, म अहिले पञ्चायती व्यवस्था लागू भएको एक वर्षमा यस्ता कविता लेख्ने आँटिला कविका बारेमा यो लेख लेख्दै छु–
दुवै पङ्ख काटिएको एक पन्छी हुँ
सत्य बोल्न नसकेर देख्ने साक्षी हुँ
०००
फेरि अन्धकारमा पर्न हुन्न रे
आज बाँचिरहेछु यत्ति भन्न रे
(फागुन २०१८)
र
तिमी पनि ज्यूँछौ साथी, म पनि त ज्यूँछु
समयको रसलाई विषसरि प्यूँछु
यौटा मर्म बिझाउँछ मुटुभित्र घोची
यहाँ रुन्छन् छायाहरू आफ्नै आत्मा बेची
(फागुन २०१८)
र त्यसको तीन वर्षपछि यस्तो...
०००
गाली गरूँ आफ्नै बोली अपवित्र हुन्छ
यसै बसूँ असत्यको त्यसै जीत हुन्छ
मूर्च्छा परी बर्बराउँछिन् सरस्वती पनि
पैलो गल्ती रमाई रमाई दोस्रो गल्ती रोई
यो पापमा नमुछिने छैन मान्छे कोही
क्षमा गर्न सक्दिन म आफैँलाई पनि
मै रमिता हेरिरैछु रेटिँदैछ आत्मा
को हत्यारा भनूँ खोई रगत छैन हातमा
किन आज डराइरैछु मरेँ भन्न पनि...
(चैत २०२१)
र,
मोल राख्ताराख्तै तिमी बन्छौ यति सस्तो
जहाँ किन्यो त्यहीँ अहो, त्यसै फ्याँकूँ जस्तो
आजै तिमी नबेचिए आफैंलाई मोली
त्यल्ले कहाँ बिझने हो जसको छैन भोलि
(चैत्र २०२१)
२०१३ सालमा प्रकाशित ‘नयाँ नेपाल’ बाहेक मैले कविवर घिमिरेका सबै कृति पढेको छु र मैले पढेका उहाँका कुनै पनि कृतिमा पञ्चायती व्यवस्था र त्यो शासनकालका राजाहरूको वर्णन छैन । सारा देशले राष्ट्र निर्माता मानेका पृथ्वीनारायण शाहका नाममा सिङ्गै खण्डकाव्य ‘राष्ट्रनिर्माता’ लेखिएको छ, तर पढ्नेलाई थाहा छ, त्यो ‘देश बाँडौँ’ भन्ने दलमर्दन शाह र एउटा अखण्ड राष्ट्रको कल्पना गर्ने पृथ्वीनारायण शाह बीचको सम्बाद मात्र हो । अँ, एउटा गीतको एउटा फाँकीमा उहाँले राजा त्रिभुवनको ‘ठाडो प्रशंसा’ गरेको भने मैले पनि भेटेको छु है–
त्रिभुवनजस्ता होवैनन् राजा त्रिभुवनभरिमा
कविवर घिमिरेका खण्डकाव्यहरूका नाम देखेर उहाँलाई ‘राजभक्त’ को पगरी गुताउनेहरूले नबुझेको कुरा के हो भने ‘राजेश्वरी’ रणबहादुर शाहकी रानी भए पनि उनका नामको त्यो खण्डकाव्य ‘सती विज्याय् माल’ भन्ने नेवारी लोकगीतका आधारमा, दरवारी षड्यन्त्र र महिलाहरूलाई ज्युँदै जलाउने कुप्रथाका बारेमा लेखिएको हो । पृथ्वीनारायण शाहकी परित्यक्ता पत्नी इन्द्रकुमारीका नामको खण्डकाव्य एउटी नारीको प्रेम, शक्तिशालीहरूको अहंकार र वियोगको काव्य हो ।
राष्ट्रनिर्माता खण्डकाव्यका पछिल्तिर एउटा निकै कम चर्चित कृति छ, धर्तीमाता । अथर्ववेदको पृथिवीसूक्तका केही मन्त्रहरूका आधारमा रचित यो काव्यकृतिलाई म मेरो हृदयबाट सबभन्दा नजिक पाउँछु । मेरा लागि धर्तीमाताका श्लोकहरू मान्छेको हृदयका सबभन्दा कोमल, सबभन्दा सहानुभूतिशील र सबभन्दा विनम्र भावहरूका गीत हुन् । तर धर्तीमाताको जयगान गर्ने त्यो मन्त्रद्रष्टा यति जागृत छ कि सबैतिरका र सधैँभरिका सत्तासीनहरूलाई गहिरोगरी थर्काउने तागत पनि राख्छ–
जो एक दुखी दिल हुन्छ
शेष त्यहीं कतै भल्भल रुन्छ देश
चियाइ यौटै पनि छिद्रबाट
निस्कन्छ अर्कै युग भित्रबाट
०००
कविवर जानुभयो । नेपाली साहित्यको सबभन्दा अग्लो व्यक्तिका रूपमा धेरै वर्ष टिकेर जानुभयो । अग्लै रूखलाई हावाले हान्छ । अग्ला पहाडमा ढुंगै उडाउने खालका हुरीका प्रहार हुन्छन् । उहाँमाथि पनि त्यस्तै भयो, निकै भयो । त्यसैले म आफूलाई कुनै कुराले असह्य भएका बेला जुन मन्त्र पढेर आश्वस्त हुन्छु, यो लेख पनि त्यही मन्त्रबाट टुंग्याउँछु–
सहूँ, सहूँ, निर्भय भै सहूँ म
सहेर नै उन्नत भै रहूँ म
म क्षुद्रता टेक्तछु पाइलाले
धूलो दबाएसरि नै शिलाले
हिमाल झैँ उत्तरमा रहन्छु
हुरी हजारौं सजिलै सहन्छु
जल्दो र बल्दो, जिउँदो र जाग्दो
म आइलाग्नेसित जाइलाग्दो
चारै दिशा जित्छु र विश्व जित्छु
मैलाइ नै जित्छु र माथि उठ्छु ।
प्रकाशित : आश्विन १७, २०७७ १२:२३