इतिहासको गुरुकिल्ली- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इतिहासको गुरुकिल्ली

संशोधन–मण्डल कहिले वेगले दौडियो, कहिले बिस्तारै । यसको कामको सराहनाभन्दा निन्दा ज्यादा भए पनि आफ्नै शक्तिमा उभिएर बौद्धिक अभ्यास गरिरह्यो । मुख्यतः यसले मुलुकको शिक्षापद्धतिमै हस्तक्षेप गर्न खोज्यो । एक व्यक्तिको परिकल्पनाअनुसार झन्डै ७० वर्षसम्म संस्था निरन्तर चलेको छ । मुलुकमा यति लामो समयसम्म यसरी काम गर्ने अर्को संस्था छैन ।
राजकुमार बानियाँ

नेपाली ज्ञानको गुरुकिल्ली (अथोरिटी) कतै छ भने, त्यो इतिहास, संस्कृति र पुरातत्त्वमा मात्रै छ । त्यसको एक मात्र श्रेय जान्छ, संशोधन–मण्डलको गुरु–शिष्य परम्परालाई । उसैले बाहिरिया (विदेशी) बाट फर्काएको हो, इतिहासको आचार्यत्व । अन्यथा यतिबेला पनि हामी ड्यानल राइट, सेसिल बेन्डल, सिल्भाँ लेभीकै अखण्ड गीत गाएर इतिहास भट्याइरहेका हुन्थ्यौं ।

‘नेपालको इतिहासका जे जति तथ्य बाहिर आएका छन्, तिनको सयकडा पचहत्तर संशोधन–मण्डल पाठशालाकै खोजीको परिणाम हो,’ संशोधन–मण्डलका महेशराज पन्तको दाबी छ, ‘यो कुरा संशोधन–मण्डलले खोजी गर्न थाल्नुभन्दा पहिलेका इतिहासका पाठ्यपुस्तक र चलनचल्तीका पाठ्यपुस्तकलाई दाँजेर हेरे थाहा हुन्छ ।’

रैथाने इतिहास र दर्शनको जरोकिलो बुझेर प्रामाणिक इतिहास लेख्न सक्ने सुयोग्य पंक्ति तयार गर्ने यो ६९ वर्षे संस्था खडा गरेका थिए, उद्भट विद्वान् नयराज पन्तले । बनारसको राजकीय संस्कृत पाठशालाबाट विसं १९९५ मा सिद्धान्तज्योतिषमा प्रथम श्रेणीमा आचार्य गरेका नयराजले ल्याएको अविस्मरणीय बौद्धिक क्रान्ति थियो त्यो ।

सम्पूर्ण ग्रन्थ उपस्थित गर्नु नपर्ने, सोधिएका प्रश्नको त्रिखण्डी उत्तर दिए पुग्ने आफूले पाएको शिक्षालाई अपूरो अनुभव गरेका उनी खासमा प्राचीन संस्कृत शिक्षापद्धतिको पुनर्जागरण चाहन्थे । उनको मान्यता थियो, आफूले पढेको विद्यामा शतप्रतिशत दक्खल चाहिने, शस्त्र र शास्त्रलाई निरन्तर साँध लगाइरहने र दीक्षित भएपछि पनि विद्या विस्मृत हुन नदिन नित्य अभ्यास गरिरहने ।

राणाकाल (विसं १९९७) मा उनले चलनचल्तीको शिक्षामा समानान्तर धार दिए, आफ्नै घर वटुमा बेनामे पाठशाला खोलेर । नयराजले आफ्ना र निकटस्थ साथीभाइका छोराहरू बटुलेर एक्ला स्वयंसेवी शिक्षकका रूपमा पढाए । वटुपछि पाठशाला मासंगल्लीको सानो घरमा सर्‍यो ।

आठवर्षे पाठ्यक्रम भए पनि पाठे (विद्यार्थी) तीन वर्षमै लिपि चिन्ने मात्र होइन, तिनको अर्थ गर्न सक्ने हुन्थे । पाठशालामा संस्कृत, गणित र ज्योतिषशास्त्रको पढाइ हुन्थ्यो । आफैं अंग्रेजी पढेर आएका नयराजले पाठ्यक्रममा त्यही विषय समेटेनन् । उनले प्रतिज्ञा श्लोकै बनाए, ‘अंग्रेजी पढ्न खोज्ने जनहरू अब यो पाठशाला त्यजेर, चाँडै जाऊन् सबैले स्वहित विषयले जन्मलाई सपारून् ।’

काशीनाथ तमोटले हालै एक लेखमा ऐश्वर्यधर शर्मा र दिनेशराज पन्तबाहेक अधिकांश शिष्यले अंग्रेजी पढी गुरुवाणीविपरीत विद्याद्रोह गरेको उल्लेख गरेका छन् । तर, शर्मा र दिनेशका पनि अंग्रेजी लेखोट भेटिन्छन्— नेपाल रिसर्च सेन्टरको जर्नल (मानविकी) को अंक १ मा ‘थ्री अनपब्लिस्ड इन्क्रिप्सन्स कन्सर्निङ द देवभाजुज् अफ पाटन’ (सन् १९७७) र दिनेशको ‘द स्टेट, द ल एन्ड एड्मिनिस्ट्रेसन इन क्लासिकल इन्डिया’ मा ‘द इन्स्टिच्युसन अफ स्लेभरी इन नेपाल एन्ड इट्स एनालाइसिस बेस्ट अन द धर्माशास्त्राज्’ (सन् १९९७) ।

‘हाम्रो उद्देश्य र कार्यप्रणाली’ मा नयराजले लेखेकै छन्, ‘संस्कृतभाषा कठोर छ, सात–आठ वर्ष राम्रो परिश्रम नगरी सो भाषामा रहेका शास्त्रीय पदार्थलाई बुझ्ने योग्यता हुँदैन । अंग्रेजी भाषा पनि त्यस्तै कठोर भाषा छ । यसकारण दुवै भाषामा पूर्ण अधिकार गर्न सक्नु अत्यन्त कठोर काम छ । त्यसकारण हामीले अंग्रेजीसँग सम्बन्ध तोड्नुपरेको हो ।’ महेशराज भने सामान्य अंग्रेजी लेखपढमा प्रतिबन्ध नलगाइएको जिकिर गर्छन् । ‘अंग्रेजी ज्ञान लिई विद्यावृद्धि गर्नॅ कसरी गुरुद्रोह हुन्छ ? शिष्यहरू धमाधम सरकारिया शिक्षा पद्धतिमा जान थालेपछि त्यसलाई रोक्न मात्र यस्तो युक्ति गर्नुपरेको हो,’ उनी भन्छन्, ‘नयराज चाहन्थे— चेलाहरू ठूला विद्वान् होऊन् र देशलाई विदेशीको दासताबाट मुक्त गर्न सकून् ।’

बिस्तारै तिनै शिष्य–प्रशिष्यले लोकपरिचित इतिहासकारहरूले गरेका अशुद्धिमाथि धावा बोले । पहिलोपटक २००९ असोज ५ गते छ पृष्ठको ‘इतिहास–संशोधन’ नामक ६ पैसे पर्चा छापियो । त्यतिबेला अंग्रेज र भारतीयका मात्र नभएर नेपाली इतिहासकारका समेत किताबसमेत छापिइसकेका थिए ।

इतिहासका हस्ती रुद्रराज पाण्डे, बालचन्द्र शर्मा, भैरवबहादुर प्रधान, अम्बिकाप्रसाद उपाध्याय, केशरबहादुर केसी, ईश्वरराज अर्याल, काशीप्रसाद श्रीवास्तव, सूर्यविक्रम ज्ञवाली, डिल्लीरमण रेग्मी आदिका अशुद्धिबारे थुप्रै पर्चा छापिए । ‘संशोधन–मण्डलले एउटा राम्रो पद्धति के बसाल्यो भने, आफ्नै (नयराजको समेत) पनि संशोधन गर्न हिचकिचाएन,’ प्राध्यापक राजेश गौतम भन्छन्, ‘नेपालमा इतिहासको क्षेत्रमा संशोधन–मण्डललाई नै विश्वास गर्नॅपर्नेमा देशी–विदेशी विद्वान्हरूबीच मतैक्यता छ ।’

‘इतिहास–संशोधन’ कुनै २०–३० पृष्ठका हुन्थे भने कुनै केवल दुई पृष्ठको । त्यसका हेडलाइन पनि उत्तेजकै हुन्थे । जस्तै : ‘विदेशतिर हेरी स्वेदश देखिँदैन’, ‘श्रीबालचन्द्रशर्मा एम्.ए. साहित्यरत्नले कालुपाँडेको कजाइँको बारेमा गर्नुभएको डेढअक्कलको निराकरण,’ ‘श्रीवास्तव त अवास्तव कुरो पो गर्नुहुँदो रहेछ’ आदि इत्यादि ।

शर्माले ‘ऐतिहासिक रूपरेखा’ मा राज्वल्लदेवीलाई एक ठाउँमा जयस्थिति मल्लकी रानी लेखेछन् भने केही पृष्ठपछि आमा । इतिहास–संशोधकहरू पर्चा बाँड्दै थिए, ‘बालचन्द्र शर्मा स्वास्नीलाई आमा भन्नुहुन्छ’ । एक सज्जनले सम्झाएछन्, ‘ए बाबु, त्यो कुरा ठीकै त हो नि । स्वास्नी भनेको आमाबराबरै हो । पकाउने, खुवाउने, सेवाशुश्रूषा गर्ने आमै होइनन् त ?’

संशोधन–मण्डलले कोसँग बौद्धिक सिँगौरी खेलेन र ? बालचन्द्र शर्मादेखि कमलप्रकाश मल्लसम्म । पुरातत्त्व विभागसँग पनि टकराव चलिरह्यो । २०१९ सालमा नेपाल (राजकीय) प्रज्ञा–प्रतिष्ठानका उपकुलपति सूर्यविक्रम ज्ञवालीको ‘नेपाल उपत्यकाको मध्यकालीन इतिहास’ मा भएको तथ्यगत त्रुटिबारे पनि धूवाँधार आलोचना गर्‍यो, संशोधन–मण्डलले नै ।

त्यतिबेला राजा महेन्द्रको पत्रकार सम्मेलनमा गोरखापत्रका परिशिष्टांक ‘नेपाल पर्स्पेटिक्भ’ का सम्पादक तीर्थराज तुलाधरले सोधेछन्, ‘सरकार कुलपति रहेको एकेडेमीबाट छापिएको किताबको बाहिर घनघोर आलोचना भइरहेको छ, कुलपतिको हैसियतले सरकारलाई के भन्नु छ ?’ राजाले सहजै भनेछन्, ‘जहाँबाट भए पनि सत्य कुरा आउनुपर्छ ।’

कतिपय संशोधन–मण्डलको नाम लिँदा ‘राजावादी’ भनेर सजिलै पन्छाइदिन्छन् । दरबारसँग पन्त परिवारको हिमचिम पुरानै हो पनि । नयराजका मावली बाजे भुवननाथ पाँडेले महेन्द्र, उनकी आमा, भाइ र बहिनीहरूलाई चार–पाँच वर्ष संस्कृत, नेपाली र गणित पढाएका रहेछन् । तिनले पढेका किताब अझै पनि महेशराजको निजी संकलनमा छन् । महेशराजका बाजेसमेत राजपुरोहित हुन् । तर, उनी कहिल्यै शक्तिसम्मुख परेनन् ।

दक्षिण भारतका वाईजी कृष्णमूर्तिले राजा महेन्द्रको अंग्रेजीमा जीवनी र कविताकृति ‘उसैका लागि’ को उल्था र व्याख्या गरेपछि दरबारबाट नयराजलाई खबर आएछ, ‘तपाईंले नेपालीमा यसैगरी लेख्नुपर्‍यो । सरकारबाट घरको पनि निगाह हुन्छ ।’ नयराजले घुमाउरो शब्दमा भद्र अवज्ञा गरेछन्, ‘यो मेरा लागि सौभाग्य हो । गोरखापत्र हेरेर त अरूले पनि लेख्न सक्छन् । सरकारको डायरी टिपोटमा मेरो पहुँच हुन्छ भने मात्र म लेख्छु ।’

तिनै नयराजका ४१ शिष्य–प्रशिष्यमध्ये धनवज्र वज्राचार्य, ज्ञानमणि नेपाल, महेशराज पन्त, दिनेशराज पन्तसहित २४ जना त लेखककै रूपमा चिनिए । उनीहरू प्राचीन, मध्यकालीन र आधुनिक इतिहासका अध्ययनका खम्बा मानिन्छन् । उनको बेनामे पाठशाला इतिहासका भ्रम र अशुद्धि औंल्याउने स्रोतसंस्थाका रूपमा न्वारान भयो, संशोधन–मण्डल ।

काठमाडौं मजिस्ट्रेट अफिसमा विधिवत् दर्ता भएको संशोधन–मण्डलका संस्थापक भोलानाथ पौडेल, धनवज्र वज्राचार्य, देवीप्रसाद भण्डारी, रामजी तेवारी, शंकरमान राजवंशी, गौतमवज्र वज्राचार्य, महेशराज पन्त, नयनाथ पौडेल र दिनेशराज पन्त हुन् । भनिएको थियो, ‘संशोधन—मण्डलको उद्देश्य देशको शुद्ध र सर्वांगीण इतिहास निर्माण गर्दै जानु हो, कसैको मान या अपमान गर्नु होइन ।’

२००९ देखि २०२५ सम्म ‘इतिहास–संशोधन’ का ६८ संख्या र २०१३ देखि २०३८ सम्म छापिएका ३१ वटा ‘सावधान–पत्र’ ले लोक सनसनी फैलाए । त्यसपछि ‘अभिलेख संग्रह’ त्रैमासिक १२ अंक छापिए भने २०२१ मा इतिहासप्रधान त्रैमासिक पत्रिका ‘पूर्णिमा’ को प्रकाशन थालनी भयो ।

संशोधन–मण्डलबाट यसबाहेक नेपालको इतिहास, गणितज्योतिषको इतिहास, संस्कृतसाहित्य, व्याकरण र पञ्चांग संशोधनका साना–ठूला दर्जनौं कृति प्रकाशित छन् । कौटल्य अर्थशास्त्रको ऐतिहासिक व्याख्या पनि भयो । गोर्खाको चार भागको इतिहास पनि यसकै आर्जन हो । लिच्छविकाल, मध्यकाल र शाहकालका १४३ वटा अभिलेख पनि प्रकाशित भए ।

समयक्रममा संशोधन–मण्डलका शिष्य–प्रशिष्य जतिसुकै काम गरे पनि जीवनवृत्ति चलाउन नसकेर लाखापाखा लागे । नयराजले एकल सत्प्रयासमा स्रोतसंस्था त खडा गरे, तर त्यसका लागि अत्यावश्यक भौतिक र आर्थिक स्रोतलगायतका आधारशिला बनाउन सकेनन् । राज्यको सहयोग लिने पहल पनि गरेनन् ।

उचित प्रचारप्रसार गर्न नसकेकाले पाठशाला बन्द भएकै ४८ वर्ष भइसक्यो । त्यो बन्द हुनुको दुर्दशा प्राचीन भाषा र लिपिविज्ञ हम्मेसि फेला पर्दैनन् । त्रिभुवन विश्वविद्यालयले ६० वर्षयता इतिहास विभाग खोलेर एमए, पीएचडी त बाँड्यो तर अभिलेख पढ्ने र देवप्रतिमा चिन्ने विशेषज्ञचाहिँ निकालेन ।

‘जर्मन इतिहासकार लियोपोल्ड वोनको आफ्नै स्कुल छ । भारतमा पनि लेफ्ट र डेमोक्रेटिकहरूको आफ्नै स्कुलिङ छ,’ प्राध्यापक राजेश गौतमको टिप्पणी छ, ‘नयराजले त्यस्ता किसिमका राजनीतिक विचार प्रस्तुत नगरे पनि उनका क्रियाकलाप हेर्दा आफ्नै किसिमको स्कुलिङ खडा गर्न खोजेको देखिन्छ ।’

एकताका पुरातत्त्व विभागका बाबुकृष्ण रिजाल भन्थे रे, ‘तपाईंहरूले मानदेवको पालामै बन्दुक थियो भने भोलि सबैले त्यही सार्छन्, पर्सिपल्ट गल्ती भएको रहेछ भन्यो भने पनि त्यही सार्छन्, तपाईंहरूलाई खान नदिए पनि अथोरिटीचाहिँ मान्छन् ।’

संशोधन–मण्डल कहिले वेगले दौडियो, कहिले बिस्तारै । यसको कामको सराहनाभन्दा निन्दा ज्यादा भए पनि आफ्नै शक्तिमा उभिएर बौद्धिक अभ्यास गरिरह्यो । मुख्यतः यसले मुलुकको शिक्षापद्धतिमै हस्तक्षेप गर्न खोज्यो । एक व्यक्तिको परिकल्पनाअनुसार झन्डै ७० वर्षसम्म संस्था निरन्तर चलेको छ । मुलुकमा यति लामो समयसम्म यसरी काम गर्ने अर्को संस्था छैन ।

संशोधन–मण्डलका केही अंशलाई पछ्याएको भए मानविकी संकायका आठ–दसवटा विषयको कायापलट हुने महेशराजको विश्वास छ । उनलाई अफसोस छ— नयराजकै कार्यशैलीका कारण वंशावलीमा निर्भर इतिहासको आचार्यत्व नेपालीमै रह्यो भने नेपाली, संस्कृत, नेवारी, भूगोल, राजनीतिशास्त्र आदि विषयमा खासै काम भएनन् ।

अहिलेलाई संशोधन–मण्डलको सम्झाउनी–बिर्साउनी भनेकै इतिहासप्रधान पत्रिका हो, ‘पूर्णिमा’ । त्यही पनि पूर्णांक १४४ पछि ननिस्केको दुई वर्ष भइसक्यो । कम्प्युटरको फोल्डरमा पाँच अंकका लागि पुग्ने सामग्री थुप्रिएका छन् । तर, के–के र्‍याङठ्याङ नमिलेर मुद्रणको चाँजोपाँजो मिलेको छैन ।

उसो त ‘पूर्णिमा’ का लेखक पनि महेशराज हुन्, सम्पादक पनि उनै । एक हिसाबले ‘पूर्णिमा’ लाई महेशराजकै एकल किताब भने हुन्छ । महेशराजलाई स्मरण छ, पहिलेपहिले लेख नअटेर अर्को अंकका लागि पहिल्यै बुक गर्नुपर्थ्यो । अहिले उनीबाहेक कसैले लेख्दैन । पहिलेपहिले एक हजार प्रति छापिन्थ्यो, अहिले तीन सय छाप्दा पनि गोदाममै थन्किन्छ ।

साँच्चै भन्ने हो भने यसको नियमित ग्राहक केवल लाइब्रेरी अफ कंग्रेस हो । पहिले १५ वटा लिन्थ्यो, अहिले सात थान मात्र । नयाँ अंक किन्नेभन्दा पनि जम्मै राख्ने बढेका छन् । सम्पूर्ण अंकको १२ हजार रुपैयाँ पर्न आउँछ । एक अंकको खुद्रा मूल्य तीन रुपैयाँदेखि छ सय रुपैयाँसम्म तोकिएको छ ।

पत्रिका प्रकाशन झन्झटिलो मात्र होइन, खर्चालु पनि छ । दिनेशराजको जोडबलमा शिक्षा मन्त्रालयले वर्षको एक लाख दिन थालेको छ । पुस्तकहरू बेचेर वर्षको सरदर १ लाख ५० हजार आम्दानी हुन्छ । त्यतिले सबै खर्च धान्दैन । संशोधन–मण्डलले एक सय अंकसम्म क्याम्ब्रिज विश्वविद्यालयलाई अनलाइन भर्सनमा राख्न अनुमति दिएको छ ।

‘नयराजले गरेको कामको मैले दसांश पनि गर्न सकिनँ, उनले आकाशै पल्टाएको भने पनि हुन्छ,’ महेशराज सुनाउँछन्, ‘पत्रिका सम्पादन, डिजाइन, प्रुफ, प्रेस, बिल आदिको टन्टा एक्लै बोक्नुपर्छ । अखबारमा लेख्न थालेपछि धेरै मान्छेले पढ्न र चिन्न थाले ।’ ३० वर्ष संस्थाको नेतृत्व गरेका उनले आफ्नो कामलाई पनि संशोधन–मण्डलसँगै जोडेका छन् । पत्रिका नियमित नभए पनि उनको खोजिमेली रोकिएको छैन ।

काठमाडौंको डल्लु आवासमार्गस्थित घर नं २७ मा संशोधन–मण्डलको विरासत सम्हालिरहेका महेशराजले आफ्नै गोजीबाट चार कर्मचारीका लागि महिनावारी ६० हजार रुपैयाँ हाल्न थालेको दशकौं भयो । उनको अनुभवमा संशोधन–मण्डललाई अहिलेको मात्र होइन, पहिलेका सरकारले पनि कहिल्यै सघाएनन् । ‘सरकारले सहयोग नगरेकामा मलाई कुनै विस्मात लाग्दैन, किनभने सरकारले हामीलाई यसो गर्नैपर्छ भनेको होइन,’ उनी भन्छन्, ‘मेरो अगाडि पनि कोही छैन, पछाडि पनि कोही छैन, संशोधन–मण्डलको स्थिति इन्डिया इज इन्दिरा, इन्दिरा इज इन्डिया भनेजस्तो छ ।’

संशोधन–मण्डलका ४१ शिष्यमध्ये दुई जनामा खुम्चिएकामा महेशलाई किञ्चित द्विविधा छैन, ‘हामी पनि आफ्नो बाबुले गरेको काम भएर बचेका हौं कि त ?’ २०२८ मा नयराजपछिका सदस्य धनवज्र वज्राचार्य त्रिभुवन विश्वविद्यालयको नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) गए । पछि उनका भतिजा गौतमवज्र वज्राचार्य, ज्ञानमणि नेपाल, शंकरमान राजवंशी पनि संशोधन–मण्डलको नेरोघेरोमा रहेनन् । ‘हामीमध्येमा सर्वश्रेष्ठ र लोकले पनि मानेका धनवज्रले विश्वविद्यालयमा करारमा जागिर पाउनेबित्तिकै छाडिदिए,’ उनी भन्छन्, ‘नयराजले जस्तै सरकारी जागिर खाएर संशोधन–मण्डलमा काम गरेको भए हुने हो ।’

उसो त संशोधन–मण्डललाई परिवारमुखी बनाएको, भृकुटी र जंगबहादुर राणाबारे नलेखेको, अनुसन्धानका नाममा तिथिमितिको शुद्धाशुद्धिमै अल्झिएको, शास्त्रार्थ आक्रामक र गैरप्राज्ञिक हुने गरेको आदि इत्यादि आलोचना भइरहेकै छन् । पन्त दाजुभाइले नयाँलाई पनि आकर्षित गरेनन्, सक्रिय संस्थागत जीवन पनि रहेन । तैपनि सत्कार्यको तराजुमा आलोचना फिक्का लाग्छन् ।

साँच्चै भन्ने हो भने नयराजपुत्रहरूको अथक समर्पणमै जेनतेन धानिएको संशोधन–मण्डल अहिले अस्तित्वको लडाइँमा छ । यसका हर्ताकर्ता महेशराज ७६ र दिनेशराज ७० वर्षे भइसकेका छन् । उनीहरूका छोराछोरीको यस विधामा कुनै साइनो देखिँदैन । पन्त दाजुभाइको सेखापछि इतिहासको गौरवशाली गुरुकिल्ली फेरि विदेशीकै नियन्त्रणमा जाने चिन्ता छँदै छ ।

‘हामी दाजुभाइले उत्तराधिकारी तयार गर्न नसकेकै हौं । पन्त परिवारमा पनि त्यो सम्भावना देखिएन । संशोधन—मण्डलजस्तो विशिष्टीकृत संस्थाको भविष्य नहुनु राष्ट्रका लागि दुर्भाग्य हो,’ प्राज्ञ दिनेशराज पन्तको स्वीकारोक्ति छ, ‘हामीले जति गर्नुपर्ने हो, त्यति गर्न सकेनौं । अब जति दिन सकिन्छ, त्यति काम गर्ने हो । नजानेको कुरा नबोलेर, प्रामाणिक कुरा बोलेर ।’

प्रकाशित : आश्विन १७, २०७७ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्

विज्ञान विचार : सही विचार

दिशा उल्टो परेपछि धेरै कुरा उल्टो हुन्छ । अनि सबै दिशाको ख्याल नगरेर चारवटा मात्र दिशा ख्याल गर्दा अझ धेरै कुरा झूटा हुन्छन्, जसलाई सत्य हो भन्ने ठानी हामी भ्रम बोकिहिँड्छौँ । 
मोहन मैनाली

घरबाहिर निस्कन पाउँदैनस् भनेर सरकारले नभनेको भए डुल्ने रहर त्यति औधी लाग्दैनथ्यो होला । तर, यसपालि कोरोनाको डरले घरभित्र लुक्नुपरेका बेला घरबाहिर निस्कौँ, निस्कौँ लाग्यो । एउटा उपाय निस्कियो– कुर्सीमा बसेर नेपाल घुम्ने । घुम्ने तलतल मेटाउन मलाई मन पर्ने लेखक डा. तीर्थबहादुर श्रेष्ठको पुस्तक पल्टाएँ– नेपाल : नखुलेका पाटाहरू (विचार–विज्ञान लेख संग्रह) । 

मैले सुन्दा सुन्दा गरेको गीतको एउटा गेडाबाट सुरु भएको छ यो किताब । त्यस गीतले भन्छ,

विश्वमा अग्लो हिमाल काखमा हाम्रो नेपाल

हाम्रा राजा ठूला छन्, हाम्रै देश विशाल ।

किताबले भन्छ, नेपालका जडीबुटी खोज्ने जागिर खान थालेका बेला पहाड र हिमाल हिँड्दा डा. तीर्थबहादुर श्रेष्ठ यो गीत मनमनै गुनगुनाउँदा रहेछन् । मनन पनि गर्दा रहेछन् किनभने त्यसले दिएका ज्ञानका आधारमा दिशा छुट्याउँदा रहेछन् । अर्थात्, हिमाल हेरेका बेला मुख भएतिर उत्तर, दाहिने हात भएतिर पूर्व, देब्रे हात भएतिर पश्चिम र घुच्चुक भएतिर दक्षिण ।

माथिल्लो डोल्पाको अग्लो भञ्ज्याङ सेसुला पुगेका बेला यो तरिकाले दिशा छुट्याउने बानीले उनलाई अप्ठ्यारोमा पारेछ । उनी पूर्व जान खोज्थे उनका पाइला पश्चिमतिर सर्थे र उत्तर लाग्छु भन्दा दक्षिणतिर ।

चेत नगुमाएका बेला पनि उनलाई यस्तो किन भयो भने उनी नेपालको त्यस भागमा पुगेका थिए, जहाँबाट हिमाल दक्षिण पर्थ्यो, नेपालका अधिकांश भूभागबाट झैं उत्तर पर्दैनथ्यो । उनी हिमालपारि पुगेका थिए, जहाँबाट हिमाल हेरेका बेला मुख भएतिर दक्षिण र दाहिने हात भएतिर पश्चिम पथ्र्याे । त्यहाँका मानिसले माथिको गीतलाई यसरी सच्याउनुुपथ्र्याे : विश्वमा अग्लो हिमाल ढाडमा हाम्रो नेपाल ।

यसरी डा. श्रेष्ठले नेपालमा स्थापित गलत मान्यताबारे सटीक टिप्पणी गरेका छन् । यसपालि उनको यो लेख पढ्दा मलाई लाग्यो— राजनीति, समाज, अर्थतन्त्रलगायतका नेपालका विभिन्न क्षेत्रमा यस्ता कति र कस्ता गलत मान्यतालाई हामीले अहिले पनि सही मानेका हौंला ? त्यसो गर्दा हामीले हिँड्ने बाटो कति भ्रमित भएको होला ?

दिशा उल्टो परेपछि धेरै कुरा उल्टो हुन्छ । अनि सबै दिशाको ख्याल नगरेर चारवटा मात्र दिशा ख्याल गर्दा अझ धेरै कुरा झूटा हुन्छन्, जसलाई सत्य हो भन्ने ठानी हामी भ्रम बोकिहिँड्छौँ ।

गीतको पहिलो लाइन असत्य ठहरियो । दोस्रो लाइनको पहिलो अंश पनि अब उप्रान्त सही ठहरिएन । बाँकी रह्यो— हाम्रै देश विशाल । सो किताबको दोस्रो लेखमा डा. श्रेष्ठले नेपालको विशालता अर्थात् यसको क्षेत्रफलबारे हामीले बोकिहिँडेको भ्रमबारे बताएका छन् ।

पश्चिम नेपालमा चुच्चो पलाउनुअघिको नक्साअनुसार नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग किलोमिटर भनिन्थ्यो, अहिले १,४७,५१६ वर्ग किलोमिटर भनिन्छ । डा. श्रेष्ठका विचारमा यो ‘नेपालको पीँध कत्रो छ वा यसको जग कति छ अथवा भूतलमा यसको क्षेत्रफल कति छ ?’ भन्ने प्रश्नको उत्तरको हो । नेपालको क्षेत्रफल कति छ भन्ने प्रश्नको उत्तर होइन । डा. श्रेष्ठले यो कुरा बुझाउन घर भएको जमिन र घरको क्षेत्रफल बीचको अन्तरको उदाहरण दिएका छन् । घर कत्रो छ भनेर कसैले सोध्दा कसैले ६ आना (घरको जगको क्षेत्रफल) भन्छ भने उसले घरको होइन जगको मात्र आकार र आकृतिबारे बताएको हुन्छ । त्यही ६ आना जग्गामा एकतले, दुईतले वा तीनतले घर बनेको हुन सक्छ ।

यसलाई स्पष्ट पार्न उनले भनेका छन्, ‘दुई पैतालामा उभिएको मान्छे मरेपछि ...उसको चिता बनाउनुपरेमा दुई पैताला होइन दुई गज जमिन चाहिन्छ... एउटा जिउँदो मान्छेको पूर्ण आयाम पैतालाको नापो मात्र होइन, त्यस निम्ति उसको कदको पनि बोध हुन आवश्यक छ ।’

नेपालको क्षेत्रफल जुन मान्यताका आधारमा निकालिएको छ, त्यस मान्यताका आधारमा कोरोना क्वारेन्टिन घर बनाउँदा एक जना मान्छेका लागि उसको पैतालाको लम्बाइ र चौडाइ बराबरको बेड बनाउनुपर्छ । त्यस्तो क्वारेन्टिन बेड कति उपयुक्त हुँदो हो ?

डा. श्रेष्ठका विचारमा नेपालको प्रतिवर्गकिलोमिटर जनघनत्व र पहाडी भेगको वनको क्षेत्रफलजस्ता आँकडा तथ्यांक होइन ‘झुक्यांक’ हुन् । तिनका आधारमा कुनै काम गर्नु पैताला मात्र अट्ने क्वारेन्टिन बेड बनाउनुजस्तै हो ।

देशको क्षेत्रफल निकाल्ने यो तरिका ती समथर देशका लागि मात्र उपयुक्त छ, जसको उचाइ हुँदैन, चौडाइ र लम्बाइ मात्र हुन्छ । मधेसबाट उत्तर लागेपछि नेपालको क्षेत्रफल नाप्न यसको उचाइ ननापी हुँदैन । यहाँनेर हामीले भन्ने गरेका दस दिशामध्येको ऊध्र्व दिशा अर्थात् अकाशतिरको दिशा पनि ख्याल गर्नुपर्छ ।

‘यो तथ्यांक यकिन नभएसम्म नेपाल कत्रो छ भन्ने प्रश्नको उत्तरमा ‘नेपाल विशाल छ, विशालभन्दा टड्कारो केही पनि छैन’ भन्ने उत्तर नै हाम्रा विद्यार्थीहरूलाई सिकाइयोस् र क्विज मास्टरले त्यसैलाई पूर्णांक दिऊन् । नत्रभने नेपाल कत्रो छ भनेर कसैले कसैलाई नसोधून्,’ डा. श्रेष्ठले सुझाव दिएका छन् ।

कहिलेकाहीँ फुर्सदले, कहिलेकाहीँ बाध्यताले, कहिलेकाहीँ रहरले दोहोर्‍याईतेहेर्‍याई पढ्ने पुस्तकमध्येमा पर्छ यो । जतिपल्ट पढ्यो त्यतिपल्ट नयाँ स्वाद पाइन्छ, जतिपटक पढ्यो त्यतिपटक नेपालका नखुलेका पाटा खुल्छन् । यसपालि यही किताबका पेजमा कालीगण्डकी नदीको तीरमा बसेको कागबेनी गाउँ पुगेँ । आठ हजार मिटरभन्दा अग्ला दुुईवटा हिमाल बीचबाट ती टाकुराभन्दा पाँच हजार मिटर गहिरो ठाउँबाट आफ्नो बाटो खनेर ओरालो लागेको कालीगण्डकीको किनारमा पाइने शालिग्रामसित भेट गराइदिए डा. श्रेष्ठले । अनि दिमागमा प्रश्न हालिदिए, ‘कुन समुद्रको कति गहिराइमा जीवात्माका अवशेषहरू कसरी पत्थररूपी शालिग्राममा परिणत भए ? समुद्रको पीँधबाट यिनीहरू कसरी आकाश छुने भूभाग चुमेर कालीगण्डकीको धारसँग सलबलाउन आइपुगे र त्यहाँबाट बगेर किन समुद्रैतिर लाग्दै छन् ?’

यस किताबमा भएका सुरुका दुईवटा लेखमा भएका केही कुराको चर्चा गर्न मात्र यति बेर लाग्यो भने यस किताबमा भएका पचासैवटा लेखका थोरै कुराको मात्र चर्चा गर्दा पनि धेरै दिन लाग्छ । तिनको अर्थ लगाउन झन् धेरै दिन लाग्छ । नेपालको भू–प्राकृतिक संरचना विषयका लेख पढ्दा म बसेको धर्ती, त्यसका विशेषता, त्यसमा मैले गर्न हुने र नहुने कामको बोध हुन्छ । विज्ञान, प्रविधि र परम्परा तथा जैविक सम्पदाका अथाह भण्डारबारे थाहा पाउँदा प्रकृति र पुर्खाले आफूलाई कस्ता अमूल्य सम्पत्ति र ज्ञान दिएका रहेछन् भन्ने लाग्छ । ती सम्पत्ति र ज्ञान ‘बाँदरका हातमा नरिवल’ भएको देख्दा आफैं र आफ्नो समयलाई धिक्कार्न मन लाग्छ । यी सम्पत्ति र ज्ञानको उपयोग गर्न थोरै मिहिनेत गर्न, त्यसो गरेर आफ्नो जीवन सरल र समृद्ध बनाउन हामीलाई केले रोकेको होला भन्ने विचारले रन्थन्याउँछ ।

विज्ञान पढेका, विज्ञान विषयमा जिन्दगी बिताएका लेखकले प्रकृति र विज्ञानका जटिलताबारे यति सरल र सरस ढंगले बताउन सकेको देख्दा अनौठो लाग्छ । हरेक लेखको सुरुमा कविताका प्रासंगिक गेडा राखिएका छन् । त्यो देख्दा लेखक कविताका गम्भीर अध्येता रहेछन् भन्ने लाग्छ ।

त्यहाँभन्दा तल रहेका जानकारी देख्दा लाग्छ— लेखकमा नेपालका प्रविधि, परम्परा र जैविक विविधताको अथाह भण्डारसम्बन्धी ज्ञानको अथाहै भण्डार छ । गलत परम्परा, गलत तरिकाबारे उनले गरेका प्रश्न देख्दा लाग्छ— यी लेखक सच्चा विद्रोही हुन् । अनि सोच्दा लाग्छ- विज्ञानको ज्ञान भएको, साहित्यमा चुर्लुम्म डुबेको र दिमागमा प्रश्न बोकेको मान्छे लेखक भएपछि यस्तो किताब जन्मँदो रहेछ जसले नेपालका नखुलेका पाटा खुलाउँछ, नसोधिएका प्रश्न सोध्छ र पाठकको मनको अन्धकार हटाउँछ ।

प्रकाशित : आश्विन १७, २०७७ १३:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×