विज्ञान विचार : सही विचार- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विज्ञान विचार : सही विचार

दिशा उल्टो परेपछि धेरै कुरा उल्टो हुन्छ । अनि सबै दिशाको ख्याल नगरेर चारवटा मात्र दिशा ख्याल गर्दा अझ धेरै कुरा झूटा हुन्छन्, जसलाई सत्य हो भन्ने ठानी हामी भ्रम बोकिहिँड्छौँ । 
मोहन मैनाली

घरबाहिर निस्कन पाउँदैनस् भनेर सरकारले नभनेको भए डुल्ने रहर त्यति औधी लाग्दैनथ्यो होला । तर, यसपालि कोरोनाको डरले घरभित्र लुक्नुपरेका बेला घरबाहिर निस्कौँ, निस्कौँ लाग्यो । एउटा उपाय निस्कियो– कुर्सीमा बसेर नेपाल घुम्ने । घुम्ने तलतल मेटाउन मलाई मन पर्ने लेखक डा. तीर्थबहादुर श्रेष्ठको पुस्तक पल्टाएँ– नेपाल : नखुलेका पाटाहरू (विचार–विज्ञान लेख संग्रह) । 

मैले सुन्दा सुन्दा गरेको गीतको एउटा गेडाबाट सुरु भएको छ यो किताब । त्यस गीतले भन्छ,

विश्वमा अग्लो हिमाल काखमा हाम्रो नेपाल

हाम्रा राजा ठूला छन्, हाम्रै देश विशाल ।

किताबले भन्छ, नेपालका जडीबुटी खोज्ने जागिर खान थालेका बेला पहाड र हिमाल हिँड्दा डा. तीर्थबहादुर श्रेष्ठ यो गीत मनमनै गुनगुनाउँदा रहेछन् । मनन पनि गर्दा रहेछन् किनभने त्यसले दिएका ज्ञानका आधारमा दिशा छुट्याउँदा रहेछन् । अर्थात्, हिमाल हेरेका बेला मुख भएतिर उत्तर, दाहिने हात भएतिर पूर्व, देब्रे हात भएतिर पश्चिम र घुच्चुक भएतिर दक्षिण ।

माथिल्लो डोल्पाको अग्लो भञ्ज्याङ सेसुला पुगेका बेला यो तरिकाले दिशा छुट्याउने बानीले उनलाई अप्ठ्यारोमा पारेछ । उनी पूर्व जान खोज्थे उनका पाइला पश्चिमतिर सर्थे र उत्तर लाग्छु भन्दा दक्षिणतिर ।

चेत नगुमाएका बेला पनि उनलाई यस्तो किन भयो भने उनी नेपालको त्यस भागमा पुगेका थिए, जहाँबाट हिमाल दक्षिण पर्थ्यो, नेपालका अधिकांश भूभागबाट झैं उत्तर पर्दैनथ्यो । उनी हिमालपारि पुगेका थिए, जहाँबाट हिमाल हेरेका बेला मुख भएतिर दक्षिण र दाहिने हात भएतिर पश्चिम पथ्र्याे । त्यहाँका मानिसले माथिको गीतलाई यसरी सच्याउनुुपथ्र्याे : विश्वमा अग्लो हिमाल ढाडमा हाम्रो नेपाल ।

यसरी डा. श्रेष्ठले नेपालमा स्थापित गलत मान्यताबारे सटीक टिप्पणी गरेका छन् । यसपालि उनको यो लेख पढ्दा मलाई लाग्यो— राजनीति, समाज, अर्थतन्त्रलगायतका नेपालका विभिन्न क्षेत्रमा यस्ता कति र कस्ता गलत मान्यतालाई हामीले अहिले पनि सही मानेका हौंला ? त्यसो गर्दा हामीले हिँड्ने बाटो कति भ्रमित भएको होला ?

दिशा उल्टो परेपछि धेरै कुरा उल्टो हुन्छ । अनि सबै दिशाको ख्याल नगरेर चारवटा मात्र दिशा ख्याल गर्दा अझ धेरै कुरा झूटा हुन्छन्, जसलाई सत्य हो भन्ने ठानी हामी भ्रम बोकिहिँड्छौँ ।

गीतको पहिलो लाइन असत्य ठहरियो । दोस्रो लाइनको पहिलो अंश पनि अब उप्रान्त सही ठहरिएन । बाँकी रह्यो— हाम्रै देश विशाल । सो किताबको दोस्रो लेखमा डा. श्रेष्ठले नेपालको विशालता अर्थात् यसको क्षेत्रफलबारे हामीले बोकिहिँडेको भ्रमबारे बताएका छन् ।

पश्चिम नेपालमा चुच्चो पलाउनुअघिको नक्साअनुसार नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग किलोमिटर भनिन्थ्यो, अहिले १,४७,५१६ वर्ग किलोमिटर भनिन्छ । डा. श्रेष्ठका विचारमा यो ‘नेपालको पीँध कत्रो छ वा यसको जग कति छ अथवा भूतलमा यसको क्षेत्रफल कति छ ?’ भन्ने प्रश्नको उत्तरको हो । नेपालको क्षेत्रफल कति छ भन्ने प्रश्नको उत्तर होइन । डा. श्रेष्ठले यो कुरा बुझाउन घर भएको जमिन र घरको क्षेत्रफल बीचको अन्तरको उदाहरण दिएका छन् । घर कत्रो छ भनेर कसैले सोध्दा कसैले ६ आना (घरको जगको क्षेत्रफल) भन्छ भने उसले घरको होइन जगको मात्र आकार र आकृतिबारे बताएको हुन्छ । त्यही ६ आना जग्गामा एकतले, दुईतले वा तीनतले घर बनेको हुन सक्छ ।

यसलाई स्पष्ट पार्न उनले भनेका छन्, ‘दुई पैतालामा उभिएको मान्छे मरेपछि ...उसको चिता बनाउनुपरेमा दुई पैताला होइन दुई गज जमिन चाहिन्छ... एउटा जिउँदो मान्छेको पूर्ण आयाम पैतालाको नापो मात्र होइन, त्यस निम्ति उसको कदको पनि बोध हुन आवश्यक छ ।’

नेपालको क्षेत्रफल जुन मान्यताका आधारमा निकालिएको छ, त्यस मान्यताका आधारमा कोरोना क्वारेन्टिन घर बनाउँदा एक जना मान्छेका लागि उसको पैतालाको लम्बाइ र चौडाइ बराबरको बेड बनाउनुपर्छ । त्यस्तो क्वारेन्टिन बेड कति उपयुक्त हुँदो हो ?

डा. श्रेष्ठका विचारमा नेपालको प्रतिवर्गकिलोमिटर जनघनत्व र पहाडी भेगको वनको क्षेत्रफलजस्ता आँकडा तथ्यांक होइन ‘झुक्यांक’ हुन् । तिनका आधारमा कुनै काम गर्नु पैताला मात्र अट्ने क्वारेन्टिन बेड बनाउनुजस्तै हो ।

देशको क्षेत्रफल निकाल्ने यो तरिका ती समथर देशका लागि मात्र उपयुक्त छ, जसको उचाइ हुँदैन, चौडाइ र लम्बाइ मात्र हुन्छ । मधेसबाट उत्तर लागेपछि नेपालको क्षेत्रफल नाप्न यसको उचाइ ननापी हुँदैन । यहाँनेर हामीले भन्ने गरेका दस दिशामध्येको ऊध्र्व दिशा अर्थात् अकाशतिरको दिशा पनि ख्याल गर्नुपर्छ ।

‘यो तथ्यांक यकिन नभएसम्म नेपाल कत्रो छ भन्ने प्रश्नको उत्तरमा ‘नेपाल विशाल छ, विशालभन्दा टड्कारो केही पनि छैन’ भन्ने उत्तर नै हाम्रा विद्यार्थीहरूलाई सिकाइयोस् र क्विज मास्टरले त्यसैलाई पूर्णांक दिऊन् । नत्रभने नेपाल कत्रो छ भनेर कसैले कसैलाई नसोधून्,’ डा. श्रेष्ठले सुझाव दिएका छन् ।

कहिलेकाहीँ फुर्सदले, कहिलेकाहीँ बाध्यताले, कहिलेकाहीँ रहरले दोहोर्‍याईतेहेर्‍याई पढ्ने पुस्तकमध्येमा पर्छ यो । जतिपल्ट पढ्यो त्यतिपल्ट नयाँ स्वाद पाइन्छ, जतिपटक पढ्यो त्यतिपटक नेपालका नखुलेका पाटा खुल्छन् । यसपालि यही किताबका पेजमा कालीगण्डकी नदीको तीरमा बसेको कागबेनी गाउँ पुगेँ । आठ हजार मिटरभन्दा अग्ला दुुईवटा हिमाल बीचबाट ती टाकुराभन्दा पाँच हजार मिटर गहिरो ठाउँबाट आफ्नो बाटो खनेर ओरालो लागेको कालीगण्डकीको किनारमा पाइने शालिग्रामसित भेट गराइदिए डा. श्रेष्ठले । अनि दिमागमा प्रश्न हालिदिए, ‘कुन समुद्रको कति गहिराइमा जीवात्माका अवशेषहरू कसरी पत्थररूपी शालिग्राममा परिणत भए ? समुद्रको पीँधबाट यिनीहरू कसरी आकाश छुने भूभाग चुमेर कालीगण्डकीको धारसँग सलबलाउन आइपुगे र त्यहाँबाट बगेर किन समुद्रैतिर लाग्दै छन् ?’

यस किताबमा भएका सुरुका दुईवटा लेखमा भएका केही कुराको चर्चा गर्न मात्र यति बेर लाग्यो भने यस किताबमा भएका पचासैवटा लेखका थोरै कुराको मात्र चर्चा गर्दा पनि धेरै दिन लाग्छ । तिनको अर्थ लगाउन झन् धेरै दिन लाग्छ । नेपालको भू–प्राकृतिक संरचना विषयका लेख पढ्दा म बसेको धर्ती, त्यसका विशेषता, त्यसमा मैले गर्न हुने र नहुने कामको बोध हुन्छ । विज्ञान, प्रविधि र परम्परा तथा जैविक सम्पदाका अथाह भण्डारबारे थाहा पाउँदा प्रकृति र पुर्खाले आफूलाई कस्ता अमूल्य सम्पत्ति र ज्ञान दिएका रहेछन् भन्ने लाग्छ । ती सम्पत्ति र ज्ञान ‘बाँदरका हातमा नरिवल’ भएको देख्दा आफैं र आफ्नो समयलाई धिक्कार्न मन लाग्छ । यी सम्पत्ति र ज्ञानको उपयोग गर्न थोरै मिहिनेत गर्न, त्यसो गरेर आफ्नो जीवन सरल र समृद्ध बनाउन हामीलाई केले रोकेको होला भन्ने विचारले रन्थन्याउँछ ।

विज्ञान पढेका, विज्ञान विषयमा जिन्दगी बिताएका लेखकले प्रकृति र विज्ञानका जटिलताबारे यति सरल र सरस ढंगले बताउन सकेको देख्दा अनौठो लाग्छ । हरेक लेखको सुरुमा कविताका प्रासंगिक गेडा राखिएका छन् । त्यो देख्दा लेखक कविताका गम्भीर अध्येता रहेछन् भन्ने लाग्छ ।

त्यहाँभन्दा तल रहेका जानकारी देख्दा लाग्छ— लेखकमा नेपालका प्रविधि, परम्परा र जैविक विविधताको अथाह भण्डारसम्बन्धी ज्ञानको अथाहै भण्डार छ । गलत परम्परा, गलत तरिकाबारे उनले गरेका प्रश्न देख्दा लाग्छ— यी लेखक सच्चा विद्रोही हुन् । अनि सोच्दा लाग्छ- विज्ञानको ज्ञान भएको, साहित्यमा चुर्लुम्म डुबेको र दिमागमा प्रश्न बोकेको मान्छे लेखक भएपछि यस्तो किताब जन्मँदो रहेछ जसले नेपालका नखुलेका पाटा खुलाउँछ, नसोधिएका प्रश्न सोध्छ र पाठकको मनको अन्धकार हटाउँछ ।

प्रकाशित : आश्विन १७, २०७७ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्

छोरी, जिन्दगी कहाँ सानो स्कुल हो र ?

महामारीको मारमा परेका विद्यार्थीले आफ्नो पढ्न पाउने, घरमै पढिरहेकाले परीक्षा दिन पाउने अधिकारबाट वञ्चित हुनैपर्ने हो त ? स्कुलले नगरे होम स्कुलिङ गरिरहेका विद्यार्थीको मूल्यांकन कसले गर्ने  ?
संगीता श्रेष्ठ

‘...यो स्कुलको मिनिमम चार्ज हो । स्कुलले पनि घरभाडा तिर्नुपर्छ । यसमा हामी केही गर्न सक्दैनौं । आई एम सरी !’

यूकेजीमा पढ्ने छोरीको अनलाइन कक्षाबारे कुरा गर्दा प्रिन्सिपलले यही भनेकी थिइन् । त्यतिखेर महसुस भयो, म शिक्षकसँग होइन, कुनै व्यापारीसँग कुरा गरिरहेकी छु । स्कुललाई विद्याको मन्दिर र आफूलाई देवी सरस्वतीको पुजारी भन्ने शिक्षकको मुखबाट नाफाखोर व्यापारीको भाषा निस्किरहेको थियो । स्कुलकी प्रिन्सिपलसँग फोनमा कुराकानी गरिरहेकी मलाई आफ्नै कानमा शंका लागिरहेको थियो ।

स्कुलले तोकेको र मैले तिर्न सक्ने शुल्कमा कुराकानी मिलेन ।

‘यो रेन्जमा तपाईंलाई भएन भने यो लग्नुस् न त !’ मोलतोल गर्दा व्यापारीले आफ्ना ग्राहकलाई भनेजस्तै प्रिन्सिपलले पनि मलाई विकल्पको सुविधा दिइन् । ‘स्टेसनरी फी तिर्नुस्, किताब होम डेलिभरी गरिदिन्छौँ, घरमै पढाउनुहोस्,’ उनले भनिन् ।

वैशाख २२ मा नेपाल सरकारले अनलाइन कक्षाबापत शुल्क उठाउन नपाउने निर्णय गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयमा भनिएको छ– ‘नेपाल सरकारको अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयको कुनै पनि तहमा नयाँ विद्यार्थी भर्ना नगर्नू /नगराउनूका साथै भर्नाका नाममा कुनै पनि शुल्क लिने, अनलाइन पठनपाठनको नाममा शुल्क लिने वा बैंक खातामा रकम जम्मा गर्न लगाउनेजस्ता कार्यहरू नगर्नू/नगराउनू ।’

‘बार्गेनिङ पावर’ हुँदाहुँदै पनि मैले त्यसको उपयोग गरिनँ । किनकि, शिक्षा मेरा लागि सामान होइन । वस्तु होइन । शिक्षा किन्नका लागि होइन, छोरीलाई ज्ञानसम्पन्न बनाउन स्कुल पठाएकी हुँ । कम्तीमा अवधारणाको तहमा म स्पष्ट छु ।

तर, स्कुलकी प्रिन्सिपल महोदयासँग संवाद गरेपछि मलाई सन्त कबिरको दोहा अर्थहीन लाग्यो–

‘गुरु बिन ज्ञान न उपजै, गुरु बिन मिलै न मोष ।

गुरु बिन लखै न सत्य को गुरु बिन मिटै न दोष ।।’

(अज्ञान रूपी अन्धकारलाई गुरुले चिर्छन् । गुरुले नै सत्य र असत्य, उचित र अनुचितको ज्ञान दिन्छन् ।()

सन्त कबिरले भनेझैँ विद्यार्थीको जीवनमा उच्च स्थान र शक्तिशाली प्रभाव राख्ने गुरुले ‘पैसाको बार्गेनिङ’ गर्न सुहाउँछ त ∕ त्यसको कल्पना मात्रले पनि लज्जाबोध भयो । तैपनि, गुरु भन्ने एउटा आदर्शको सम्मानमा तत्कालका लागि स्कुलले उपलब्ध गराएको दोस्रो विकल्प रोजेँ ।

कोभिड–१९ को नमिठो कोसेलीका रूपमा बेरोजगारी प्राप्त गरेकी छु । (यति ‘मेटाफोरिकल्ली’ बोल्न आवश्यक त थिएन, तर ‘मेरो जागिर गयो’ भन्ने छारो किन उडाउनु भनेर यसो गरेकी हुँ ।)

आफूले काम गरिरहेको मिडिया हाउसले पत्रिका बन्द गर्ने निर्णय गरेपछि फुर्सदमा थिएँ । छु । समय सदुपयोग पनि गर्नुपर्‍यो । वर्षौंदेखि कलम, कपी र कम्प्युटरसँग अभ्यस्त भएकाले केही नगरी यसै बस्न पनि मन नलाग्दो रहेछ ।

त्यसमाथि कोरोनाका समाचारले अति–भरिभराउ दिमागलाई डिप्रेसनबाट बचाउने चुनौती एकातिर थियो भने अर्कोतिर दस–बाह्र वर्षदेखि गरिरहेको ‘अफिसको काम’ को सट्टामा केही खोज्नु पनि थियो । छोरीको होम स्कुलिङ मनासिब लाग्यो ।

वैशाखदेखि असारसम्म सातामा तीनपटक ‘असाइन्मेन्ट’ पठाइरहने स्कुलले साउनमा अनलाइन कक्षा सुरु गरेयता वास्तै गर्न छाड्यो । विद्यार्थी र शिक्षकबीच सम्पर्क भइरहोस् भनेर बेला–बेलामा छोरीका शैक्षिक क्रियाकलापका फोटो स्कुलको ह्वाट्स एपमा पठाइराख्थेँ । यसै क्रममा एक दिन स्कुलबाट चाँडै ‘फर्स्ट टर्म असस्मेन्ट’ सुरु हुने जानकारी पाएँ । ‘गरेको कामको प्रतिफल पाउने भएँ’ भनेर खुसी भएँ । तर, त्यो खुसी केही मिनेट पनि टिकेन । परीक्षाबारे जानकारी लिन फोन गर्दा यसपटक पनि पहिलेजस्तै निराशा हात लाग्यो– ‘अनलाइन कक्षा लिइरहेका विद्यार्थीको मात्र परीक्षा लिनेछौँ ।’

त्यस क्षण संस्कृतको श्लोक सम्झिएँ–

‘गुरुर्ब्रह्मा, गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।

गुरु: साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः ।।’

‘यस्तै गुरुलाई ‘परब्रह्मा’ भनिएको हो त ?’ मनमा अनेकन प्रश्न उब्जिए– ‘स्टेसनरीका नाममा पैसा बुझाएर स्कुलकै कोर्स बुक पढिरहेकी छोरीको पढाइको मूल्यांकन कसले गर्ने त ?’, ‘कि यस्तो कुनै ‘रुल बुक’ छ, जसले ‘अनलाइन नपढ्ने विद्यार्थीको परीक्षा लिनु हुन्न’ भन्छ ?’, ‘महामारीका समयमा गुरुले विद्यार्थीप्रति गरेको यो व्यवहार उचित हो त ?’

पत्रकार मन (पूर्वपत्रकार मन भन्नु अझ सटीक हुन्छ) छट्पटाइरह्यो । जिज्ञासाको तलतल मेट्न शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालासँग कुरा गरे ।

‘अनलाइन, अफलाइनको कुरै भएन,’ शिक्षाविद् कोइरालाले मसँग भने, ‘होम स्कुलिङमा विद्यार्थीलाई अभिभावकले पढाउँछन् । स्कुलले केही गर्नु पर्दैन । स्कुलको केही खर्च हुँदैन । तर, परीक्षाचाहिँ स्कुलले लिनुपर्छ ।’ विपत्तिमा घर–घरमै पढ्ने–पढाउने कुरामा जोड दिँदै आएका शिक्षाविद् कोइराला यसलाई स्कुलको बदमासी ठान्छन् । ‘विद्यार्थीको शैक्षिक प्रगतिको मूल्यांकन गर्नु स्कुलको जिम्मेवारी हो,’ उनले भने, ‘स्कुलले आफ्नो जिम्मेवारीबाट पन्छिन पाउँदैन ।’

अमेरिकामा ‘घरमै पढाइ’ लाई कानुनी मान्यता दिइएको छ । कोभिड–१९ को महामारीको समयमा अमेरिकाका लाखौँ विद्यार्थी घरमै पढिरहेका छन् । घरमै पठनपाठन गरिरहेका विद्यार्थीको शैक्षिक प्रगति बुझ्न स्कुलले मूल्यांकन गर्ने गर्छ । कतिपय राज्यले ‘स्ट्यान्डर्ड टेस्ट’ समेत लिने गर्छन् । अमेरिकामा मात्र होइन, अहिले महामारी झेलिरहेका संसारभरिका विभिन्न देशले होम स्कुलिङमा जोड दिइरहेका छन् ।

‘शिक्षा विद्यार्थीको नैसर्गिक अधिकार हो,’ नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले भने, ‘विद्यार्थीको पढाइको क्रमभंग हुन नदिन होम स्कुलिङ आवश्यक छ । ‘होम स्कुलिङ गरिरहेका विद्यार्थीको परीक्षा स्कुलले लिन हुन्न’ भन्ने कहीँ–कतै लेखिएको छैन ।’

हालै भारत, महाराष्ट्र, सोलापुर गाउँको एउटा भिडियो भाइरल भएको थियो, जसमा गाउँका भित्ता ब्ल्याक बोर्डमा परिवर्तित भएका छन् । घरमा टीभी, इन्टनेट र अभिभावकसँग स्मार्टफोन नभएका बालबालिकाका लागि स्कुलले गाउँभरिका भित्तामा शैक्षिक जानकारी लेख्ने निर्णय गर्‍यो । अंग्रेजी, हिन्दी, गणितलगायत विषयका आधारभूत ज्ञानले भित्ता रंगिए । स्कुलकै कोर्स भित्तामा लेखियो । यस कामको जिम्मा स्वयं शिक्षकले लिए । यसबाट विद्यार्थीले स्कुलकै जस्तो शिक्षा लिइरहेको उनीहरूको बुझाइ छ । ‘मुख्य कुरा यसो गर्दा कम्तीमा विद्यार्थीले शिक्षाबाट वञ्चित हुनुपरेको छैन,’ भिडियोमा एक शिक्षकले भनेका छन्, ‘विद्यार्थीले ज्ञानआर्जन गर्न पाएका छन् । यही हाम्रो लागि ठूलो उपलब्धि हो ।’

महामारीको मारमा परेका विद्यार्थीले आफ्नो पढ्न पाउने, घरमै पढिरहेकाले परीक्षा दिन पाउने अधिकारबाट वञ्चित हुनैपर्ने हो त नेपालमा ? स्कुलले नगरे होम स्कुलिङ गरिरहेका विद्यार्थीको मूल्यांकन कसले गर्ने ? विद्यार्थीको शैक्षिक प्रगतिको मूल्यांकन गर्ने कुनै निकाय हुनुपर्ने हो कि ?

यो प्रश्न मैले कसलाई गर्ने हो ? मलाई थाहा छ, किनभने पूर्वपत्रकार हुँ । यसको जवाफ कुनै जिम्मेवार निकायले दिनेवाला छैन, त्यो पनि मलाई थाहा छ ।

जवाफ त मैले पनि दिनुपर्छ । छोरीलाई दिनुपर्छ । नर्सरी, एलकेजी गरी दुई वर्ष पढेपछि पास/फेलको दशकौँ लामो परम्परा ऊभित्र पनि गढिसकेछ । ऊ मलाई सोधिरहन्छे– ‘मामु, इक्जाम कहिले ? म पास कि फेल ?’

म उसलाई आश्वस्त तुल्याउन खोज्छु– ‘तिमी त फस्ट हौ नि !’ ऊ पत्याउँदिन ।

‘कहिले स्कुल जाने ?’ उसको निरन्तर प्रश्न हुन्छ ।

म अचेल उसले नबुझ्ने गरी, उसले नबुझ्ने भाषामा बोल्न थालेकी छु, ‘छोरी, जिन्दगी कहाँ सानो स्कुल हो र ?’

प्रकाशित : आश्विन १७, २०७७ १२:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×