छोरी, जिन्दगी कहाँ सानो स्कुल हो र ?- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोरी, जिन्दगी कहाँ सानो स्कुल हो र ?

महामारीको मारमा परेका विद्यार्थीले आफ्नो पढ्न पाउने, घरमै पढिरहेकाले परीक्षा दिन पाउने अधिकारबाट वञ्चित हुनैपर्ने हो त ? स्कुलले नगरे होम स्कुलिङ गरिरहेका विद्यार्थीको मूल्यांकन कसले गर्ने  ?
संगीता श्रेष्ठ

‘...यो स्कुलको मिनिमम चार्ज हो । स्कुलले पनि घरभाडा तिर्नुपर्छ । यसमा हामी केही गर्न सक्दैनौं । आई एम सरी !’

यूकेजीमा पढ्ने छोरीको अनलाइन कक्षाबारे कुरा गर्दा प्रिन्सिपलले यही भनेकी थिइन् । त्यतिखेर महसुस भयो, म शिक्षकसँग होइन, कुनै व्यापारीसँग कुरा गरिरहेकी छु । स्कुललाई विद्याको मन्दिर र आफूलाई देवी सरस्वतीको पुजारी भन्ने शिक्षकको मुखबाट नाफाखोर व्यापारीको भाषा निस्किरहेको थियो । स्कुलकी प्रिन्सिपलसँग फोनमा कुराकानी गरिरहेकी मलाई आफ्नै कानमा शंका लागिरहेको थियो ।

स्कुलले तोकेको र मैले तिर्न सक्ने शुल्कमा कुराकानी मिलेन ।

‘यो रेन्जमा तपाईंलाई भएन भने यो लग्नुस् न त !’ मोलतोल गर्दा व्यापारीले आफ्ना ग्राहकलाई भनेजस्तै प्रिन्सिपलले पनि मलाई विकल्पको सुविधा दिइन् । ‘स्टेसनरी फी तिर्नुस्, किताब होम डेलिभरी गरिदिन्छौँ, घरमै पढाउनुहोस्,’ उनले भनिन् ।

वैशाख २२ मा नेपाल सरकारले अनलाइन कक्षाबापत शुल्क उठाउन नपाउने निर्णय गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयमा भनिएको छ– ‘नेपाल सरकारको अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयको कुनै पनि तहमा नयाँ विद्यार्थी भर्ना नगर्नू /नगराउनूका साथै भर्नाका नाममा कुनै पनि शुल्क लिने, अनलाइन पठनपाठनको नाममा शुल्क लिने वा बैंक खातामा रकम जम्मा गर्न लगाउनेजस्ता कार्यहरू नगर्नू/नगराउनू ।’

‘बार्गेनिङ पावर’ हुँदाहुँदै पनि मैले त्यसको उपयोग गरिनँ । किनकि, शिक्षा मेरा लागि सामान होइन । वस्तु होइन । शिक्षा किन्नका लागि होइन, छोरीलाई ज्ञानसम्पन्न बनाउन स्कुल पठाएकी हुँ । कम्तीमा अवधारणाको तहमा म स्पष्ट छु ।

तर, स्कुलकी प्रिन्सिपल महोदयासँग संवाद गरेपछि मलाई सन्त कबिरको दोहा अर्थहीन लाग्यो–

‘गुरु बिन ज्ञान न उपजै, गुरु बिन मिलै न मोष ।

गुरु बिन लखै न सत्य को गुरु बिन मिटै न दोष ।।’

(अज्ञान रूपी अन्धकारलाई गुरुले चिर्छन् । गुरुले नै सत्य र असत्य, उचित र अनुचितको ज्ञान दिन्छन् ।()

सन्त कबिरले भनेझैँ विद्यार्थीको जीवनमा उच्च स्थान र शक्तिशाली प्रभाव राख्ने गुरुले ‘पैसाको बार्गेनिङ’ गर्न सुहाउँछ त ∕ त्यसको कल्पना मात्रले पनि लज्जाबोध भयो । तैपनि, गुरु भन्ने एउटा आदर्शको सम्मानमा तत्कालका लागि स्कुलले उपलब्ध गराएको दोस्रो विकल्प रोजेँ ।

कोभिड–१९ को नमिठो कोसेलीका रूपमा बेरोजगारी प्राप्त गरेकी छु । (यति ‘मेटाफोरिकल्ली’ बोल्न आवश्यक त थिएन, तर ‘मेरो जागिर गयो’ भन्ने छारो किन उडाउनु भनेर यसो गरेकी हुँ ।)

आफूले काम गरिरहेको मिडिया हाउसले पत्रिका बन्द गर्ने निर्णय गरेपछि फुर्सदमा थिएँ । छु । समय सदुपयोग पनि गर्नुपर्‍यो । वर्षौंदेखि कलम, कपी र कम्प्युटरसँग अभ्यस्त भएकाले केही नगरी यसै बस्न पनि मन नलाग्दो रहेछ ।

त्यसमाथि कोरोनाका समाचारले अति–भरिभराउ दिमागलाई डिप्रेसनबाट बचाउने चुनौती एकातिर थियो भने अर्कोतिर दस–बाह्र वर्षदेखि गरिरहेको ‘अफिसको काम’ को सट्टामा केही खोज्नु पनि थियो । छोरीको होम स्कुलिङ मनासिब लाग्यो ।

वैशाखदेखि असारसम्म सातामा तीनपटक ‘असाइन्मेन्ट’ पठाइरहने स्कुलले साउनमा अनलाइन कक्षा सुरु गरेयता वास्तै गर्न छाड्यो । विद्यार्थी र शिक्षकबीच सम्पर्क भइरहोस् भनेर बेला–बेलामा छोरीका शैक्षिक क्रियाकलापका फोटो स्कुलको ह्वाट्स एपमा पठाइराख्थेँ । यसै क्रममा एक दिन स्कुलबाट चाँडै ‘फर्स्ट टर्म असस्मेन्ट’ सुरु हुने जानकारी पाएँ । ‘गरेको कामको प्रतिफल पाउने भएँ’ भनेर खुसी भएँ । तर, त्यो खुसी केही मिनेट पनि टिकेन । परीक्षाबारे जानकारी लिन फोन गर्दा यसपटक पनि पहिलेजस्तै निराशा हात लाग्यो– ‘अनलाइन कक्षा लिइरहेका विद्यार्थीको मात्र परीक्षा लिनेछौँ ।’

त्यस क्षण संस्कृतको श्लोक सम्झिएँ–

‘गुरुर्ब्रह्मा, गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।

गुरु: साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः ।।’

‘यस्तै गुरुलाई ‘परब्रह्मा’ भनिएको हो त ?’ मनमा अनेकन प्रश्न उब्जिए– ‘स्टेसनरीका नाममा पैसा बुझाएर स्कुलकै कोर्स बुक पढिरहेकी छोरीको पढाइको मूल्यांकन कसले गर्ने त ?’, ‘कि यस्तो कुनै ‘रुल बुक’ छ, जसले ‘अनलाइन नपढ्ने विद्यार्थीको परीक्षा लिनु हुन्न’ भन्छ ?’, ‘महामारीका समयमा गुरुले विद्यार्थीप्रति गरेको यो व्यवहार उचित हो त ?’

पत्रकार मन (पूर्वपत्रकार मन भन्नु अझ सटीक हुन्छ) छट्पटाइरह्यो । जिज्ञासाको तलतल मेट्न शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालासँग कुरा गरे ।

‘अनलाइन, अफलाइनको कुरै भएन,’ शिक्षाविद् कोइरालाले मसँग भने, ‘होम स्कुलिङमा विद्यार्थीलाई अभिभावकले पढाउँछन् । स्कुलले केही गर्नु पर्दैन । स्कुलको केही खर्च हुँदैन । तर, परीक्षाचाहिँ स्कुलले लिनुपर्छ ।’ विपत्तिमा घर–घरमै पढ्ने–पढाउने कुरामा जोड दिँदै आएका शिक्षाविद् कोइराला यसलाई स्कुलको बदमासी ठान्छन् । ‘विद्यार्थीको शैक्षिक प्रगतिको मूल्यांकन गर्नु स्कुलको जिम्मेवारी हो,’ उनले भने, ‘स्कुलले आफ्नो जिम्मेवारीबाट पन्छिन पाउँदैन ।’

अमेरिकामा ‘घरमै पढाइ’ लाई कानुनी मान्यता दिइएको छ । कोभिड–१९ को महामारीको समयमा अमेरिकाका लाखौँ विद्यार्थी घरमै पढिरहेका छन् । घरमै पठनपाठन गरिरहेका विद्यार्थीको शैक्षिक प्रगति बुझ्न स्कुलले मूल्यांकन गर्ने गर्छ । कतिपय राज्यले ‘स्ट्यान्डर्ड टेस्ट’ समेत लिने गर्छन् । अमेरिकामा मात्र होइन, अहिले महामारी झेलिरहेका संसारभरिका विभिन्न देशले होम स्कुलिङमा जोड दिइरहेका छन् ।

‘शिक्षा विद्यार्थीको नैसर्गिक अधिकार हो,’ नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले भने, ‘विद्यार्थीको पढाइको क्रमभंग हुन नदिन होम स्कुलिङ आवश्यक छ । ‘होम स्कुलिङ गरिरहेका विद्यार्थीको परीक्षा स्कुलले लिन हुन्न’ भन्ने कहीँ–कतै लेखिएको छैन ।’

हालै भारत, महाराष्ट्र, सोलापुर गाउँको एउटा भिडियो भाइरल भएको थियो, जसमा गाउँका भित्ता ब्ल्याक बोर्डमा परिवर्तित भएका छन् । घरमा टीभी, इन्टनेट र अभिभावकसँग स्मार्टफोन नभएका बालबालिकाका लागि स्कुलले गाउँभरिका भित्तामा शैक्षिक जानकारी लेख्ने निर्णय गर्‍यो । अंग्रेजी, हिन्दी, गणितलगायत विषयका आधारभूत ज्ञानले भित्ता रंगिए । स्कुलकै कोर्स भित्तामा लेखियो । यस कामको जिम्मा स्वयं शिक्षकले लिए । यसबाट विद्यार्थीले स्कुलकै जस्तो शिक्षा लिइरहेको उनीहरूको बुझाइ छ । ‘मुख्य कुरा यसो गर्दा कम्तीमा विद्यार्थीले शिक्षाबाट वञ्चित हुनुपरेको छैन,’ भिडियोमा एक शिक्षकले भनेका छन्, ‘विद्यार्थीले ज्ञानआर्जन गर्न पाएका छन् । यही हाम्रो लागि ठूलो उपलब्धि हो ।’

महामारीको मारमा परेका विद्यार्थीले आफ्नो पढ्न पाउने, घरमै पढिरहेकाले परीक्षा दिन पाउने अधिकारबाट वञ्चित हुनैपर्ने हो त नेपालमा ? स्कुलले नगरे होम स्कुलिङ गरिरहेका विद्यार्थीको मूल्यांकन कसले गर्ने ? विद्यार्थीको शैक्षिक प्रगतिको मूल्यांकन गर्ने कुनै निकाय हुनुपर्ने हो कि ?

यो प्रश्न मैले कसलाई गर्ने हो ? मलाई थाहा छ, किनभने पूर्वपत्रकार हुँ । यसको जवाफ कुनै जिम्मेवार निकायले दिनेवाला छैन, त्यो पनि मलाई थाहा छ ।

जवाफ त मैले पनि दिनुपर्छ । छोरीलाई दिनुपर्छ । नर्सरी, एलकेजी गरी दुई वर्ष पढेपछि पास/फेलको दशकौँ लामो परम्परा ऊभित्र पनि गढिसकेछ । ऊ मलाई सोधिरहन्छे– ‘मामु, इक्जाम कहिले ? म पास कि फेल ?’

म उसलाई आश्वस्त तुल्याउन खोज्छु– ‘तिमी त फस्ट हौ नि !’ ऊ पत्याउँदिन ।

‘कहिले स्कुल जाने ?’ उसको निरन्तर प्रश्न हुन्छ ।

म अचेल उसले नबुझ्ने गरी, उसले नबुझ्ने भाषामा बोल्न थालेकी छु, ‘छोरी, जिन्दगी कहाँ सानो स्कुल हो र ?’

प्रकाशित : आश्विन १७, २०७७ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्

भारत विभाजनको वृत्तान्त

भारतका विदेश, अर्थ र रक्षामन्त्री रहिसकेका जसवन्त सिंहको हालै (२७ सेप्टेम्बर) ८२ वर्षको उमेरमा निधन भएको छ । सिंहको किताब ‘जिन्नाह : इन्डिया–पार्टिसन–इन्डिपेन्डेन्स’ माथि एक आलेख :
विष्णु रिजाल

भारतका विदेश, अर्थ र रक्षामन्त्री रहिसकेका जसवन्त सिंहको हालै (२७ सेप्टेम्बर) ८२ वर्षको उमेरमा निधन भएको छ । भारतको परमाणु परीक्षण, कारगिल युद्ध, अमेरिकासँगको सम्बन्ध, इन्डियन एअरलाइन्सको विमान अपहरण प्रकरणलगायत विदेश नीति, अर्थतन्त्र र रक्षा मामिलामा उनले गरेका योगदानको समकालीन, सहकर्मी र शिष्यहरूले चर्चा गरिरहँदा मलाईचाहिँ उनले लेखेको पुस्तक ‘जिन्नाह : इन्डिया–पार्टिसन–इन्डिपेन्डेन्स’ को प्रभावले तानिरहेको छ ।

सदावहार राजनीतिज्ञले विवादित विषयमा हात हाल्नु, त्यसबापत दण्ड भोग्नु र त्यसका पक्षमा निरन्तर उभिनु आम विषयभित्र पर्दैन । किनभने, राजनीति आफैँमा विवादित र संवेदनशील विषय हो, जहाँ एउटा घटनाले शिखर वा पीँधमा पुर्‍याउने क्षमता राख्छ । अझ जन्मिँदै शत्रुका रूपमा उभिएका भारत र पाकिस्तानजस्ता मुलुकमा एकअर्का देश वा त्यहाँका नेताका बारेमा कलम चलाउनु सामान्य विषय होइन । जसवन्त सिंहले त्यही असामान्य काम गरेका थिए, जसको उनले ठूलो मूल्य चुकाए ।

इतिहासका पीडादायी घटनामध्येमा पर्ने सन् १९४७ को भारत र पाकिस्तानबीचको विभाजनको इतिहास लेख्नु आफैँमा कठिन काम छ भन्ने जसवन्त सिंह (जनवरी ३, १९३८–सेप्टेम्बर २७, २०२०) जस्ता भारतीय जनता पार्टीका संस्थापक र सक्रिय राजनीतिज्ञलाई थाहा नभएको कुरा थिएन । भारतमा आम रूपमा र अधिकांश पुस्तकहरूमा त्यस विभाजनका मुख्य योजनाकारका रूपमा चित्रित गरिएका मोहम्मद अली जिन्नाहका बारेमा कलम चलाउनु एक भारतीयका लागि कति जोखिम हुन सक्छ भन्ने जान्दाजान्दै उनले ‘जिन्नाह ः इन्डिया–पार्टिसन–इन्डिपेन्डेन्स’ पुस्तक लेखेका थिए । सन् २००९ मा पुस्तक सार्वजनिक भएपछि पाकिस्तानका संस्थापक/राष्ट्रपिता (क्वयद–ए–आजम) जिन्नाहको प्रशंसा गरेको भनेर भारतमा पुस्तकको चर्को विरोध मात्र भएन, आफैँले स्थापना गरेको भारतीय जनता पार्टीले सिंहलाई पार्टी सदस्यबाट निष्कासनसमेत गर्‍यो । यतिसम्म कि, भाजपाकै नरेन्द्र मोदीले नेतृत्व गरेको गुजरातमा प्रान्तीय सरकारले त्यस पुस्तकमाथि प्रतिबन्ध नै लगायो । ‘इतिहासमाथि न्याय गर्ने’ भनेर जसवन्त सिंहले लेखेको जिन्नाहको जीवनीले उनी स्वयम्लाई कति न्याय गर्न सक्यो/सकेन तर विवादपछिका अन्तर्वार्ता र लेखहरूमा उनले कहिल्यै पनि आफूले पुस्तक लेखेर गल्ती गरेको ठानेनन् । एक जना लेखक, इतिहासको विद्यार्थी र देशभक्त भारतीयका रूपमा आफूमाथि कसैले प्रश्न गर्न नसक्ने भन्दै आफ्नो पुस्तकका पक्षमा उभिएबापत राजनीति समाप्त हुँदा पनि जसवन्त सिंह टसमस भएनन् ।

जसवन्त सिंहले पुस्तकमा भारत विभाजनका कारणलाई विभिन्न कोणबाट केलाएका छन् । व्यापारिक कम्पनीका रूपमा भारत (हालको भारत, पाकिस्तान र बंगलादेश) मा प्रवेश गरेका अंग्रेजहरूले कसरी दुई सय वर्ष शासन गरे र त्यसबाट मुक्ति पाउनका लागि जनताले कति मूल्य चुकाउनुपर्‍यो भन्ने विषयमा इतिहासकार र राजनीतिज्ञका करिब–करिब समान धारणा रहे पनि स्वतन्त्रता आन्दोलनमा कसको भूमिका कस्तो रह्यो भन्ने विषयमा चाहिँ भिन्नाभिन्नै मत छन् । खासगरी, भारत विभाजन हुनुमा मोहम्मद अली जिन्नाहलाई मुख्य कारक ठान्ने भारतीयहरूको जमातमा जसवन्त सिंह फरक देखिए र उनले ‘इतिहासको वस्तुनिष्ठ समीक्षा गर्ने’ क्रममा सबैले त्यसको जिम्मेवारी लिनुपर्ने धारणा पुस्तकमा उल्लेख गरे ।

भारतको विभाजनमा मोहम्मद अली जिन्नाह, भारतीय राष्ट्रिय कांग्रेस वा अंग्रेज– को मुख्य जिम्मेवार थिए भन्ने प्रश्नको एकल उत्तर दिन सकिँदैन भन्ने निष्कर्ष जसवन्त सिंहले निकालेका छन् । अर्थात्, यी तीनैथरीका कारण भारत विभाजन हुन पुगेको हो भन्ने उनको धारणा छ । भारतीय स्वतन्त्रता संग्रामको मूल नेतृत्व गरेको भारतीय राष्ट्रिय कांग्रेस, मुस्लिमहरूलाई अलग्गै संगठित गरिरहेको अल इन्डिया मुस्लिम लिग, हिन्दुहरूलाई संगठित गरिरहेको हिन्दु महासभाजस्ता संस्थाहरू भारतीय स्वतन्त्रता संग्राममा संलग्न थिए । तर, मुख्य र प्रभावकारी संस्थाका रूपमा भारतीय राष्ट्रिय कांग्रेसलाई नै भारतीय स्वतन्त्रता संग्रामको नेता मानिन्छ, जसको नेतृत्वमा महात्मा गान्धी, पण्डित जवहारलाल नेहरू, सरदार बल्लभभाइ पटेल, मौलाना अबुल कलाम आजाद, राजेन्द्र प्रसाद, लालबहादुर शास्त्री, सी राजागोपालाचारीजस्ता नेताहरू थिए । सुरुमा हिन्दु–मुस्लिम सद्भावना दूतका रूपमा सतहमा देखिएका मोहम्मद अली जिन्नाह एकाएक कसरी मुस्लिम लिगका नेता भए र पाकिस्तान नामक मुस्लिमहरूको अलग्गै राज्यका संस्थापक बन्न पुगे भन्ने विवेचना जसवन्त सिंहले पुस्तकमा आलोचनात्मक रूपमा गरेका छन् ।

कुनै बेला ‘सूर्य नअस्ताउने साम्राज्य’ का रूपमा चिनिने बेलायतलाई भारतबाट बिदा गर्ने आन्दोलनको लामो इतिहास छ । महात्मा गान्धीजस्ता अहिंसा पक्षधर नेता नभइदिएको भए त्यस आन्दोलनले कुन रूप लिन्थ्यो भन्ने विषय बहसमै छ । तथापि, त्यसक्रममा भूमिका खेल्ने प्रमुख पात्रका रूपमा जिन्नाह पनि एक हुन् भन्नेमा दुईमत छैन । गान्धीले झैँ बेलायतमै उच्च शिक्षा हासिल गरेर फर्किएका जिन्नाहको नाम स्वतन्त्रता पक्षधर वकिलका रूपमा जसरी चलेको थियो, त्यसले नबाब, जमिनदारजस्ता मुस्लिमहरूले बनाएको अल इन्डिया मुस्लिम लिगको ध्यानाकर्षण गराएको थियो । प्रभावकारी नेता नपाएर धनाढ्य मुस्लिमहरूको क्लबका रूपमा सीमित रहेको मुस्लिम लिगलाई जिन्नाहजस्ता महत्त्वाकांक्षा बोकेका, संसार बुझेका र स्वतन्त्रता आन्दोलनलाई उचाइ दिन सक्ने नेताको सख्त आवश्यकता थियो । त्यही भएर नै मुस्लिम लिगले आफ्नो नेताका रूपमा उनलाई सहजै ग्रहण गर्‍यो र भारत हिन्दु र मुस्लिम गरी दुई राष्ट्रको संघ मात्रै हो भन्ने कुरालाई बढावा दियो । भारतमा हिन्दुहरू अत्यधिक बहुमतमा थिए । त्यही भएर अल्पसंख्यक मुस्लिमलाई आफ्नो अस्तित्व के हुन्छ भन्ने डर थियो । एकातिर श्यामाप्रसाद मुखर्जीजस्ता हिन्दुवादी नेताहरूले हिन्दु महासभामार्फत हिन्दुहरूको एकताको कुरा अघि बढाइरहेको, सबैको हित र एकतामा जोड दिए पनि सर्वस्वीकार्य नेताका रूपमा रहेका गान्धी पनि हिन्दु नै भएको र भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्वमा एकाधबाहेक हिन्दु नेताहरू रहेको पृष्ठभूमिमा जिन्नाहले दीर्घकालीन रूपमा मुस्लिमहरूको अस्तित्व र प्रभाव नरहने ठानेको हुन सक्ने आकलनलाई जसवन्त सिंहले अस्वीकार गरेका छैनन् । तर, यति भनेर उनी जिन्नाहलाई मात्र दोष दिँदैनन् । भारत छाडेर जानै परेमा यसलाई एक रहन नदिने, हिन्दु–मुस्लिमलाई विभाजन गरेर दुई देश बनाउने, विभाजन गरेर शासन गर्ने पुरानै नीतिलाई कुनै न कुनै रूपमा निरन्तरता दिने र नवस्थापित राज्यहरूले हिंसा थेग्न सकेनन् भने फेरि आफैँ फर्किन पाइन्छ भन्ने अंग्रेजको नीतिलाई अन्तिम भायसराय लर्ड माउन्टबेटनले चलाखीपूर्वक कार्यान्वयन गरेको विषयलाई जसवन्त सिंहले महत्त्वका साथ विश्लेषण गरेका छन् ।

पुस्तकमा विभिन्न प्रसंगमा उनले गान्धी, नेहरू र पटेलको आलोचना गरेका छन् । अझ खासगरी, पटेलको कठोर नीतिलाई भारत विभाजन हुनुको एउटा प्रमुख कारणका रूपमा पुस्तकमा चित्रित गरिएको छ । यसैलाई आधार बनाएर गुजरातमा पुस्तकमाथि प्रतिबन्ध लगाइएको थियो ।

हिन्दु र मुस्लिम अलग–अलग राष्ट्रियता हुन् र यी अलग–अलग राष्ट्रका रूपमा मात्र रहन सक्छन् भन्ने सैद्धान्तिक मान्यता नै भारत विभाजनको प्रमुख कारण हो भन्नेमा दुईमत छैन । २३ मार्च, १९४० मा अल इन्डिया मुस्लिम लिगले पाकिस्तान नामक मुस्लिमहरूको अलग्गै देश बनाउने संकल्प प्रस्ताव पारित गरेपछि भारतीय स्वतन्त्रतासँगै विभाजन पनि अनिवार्य छ भन्ने करिब–करिब निश्चित भइसकेको कुरा जवसन्त सिंहले आफ्नो पुस्तक ‘जिन्नाह : इन्डिया–पार्टिसन–इन्डिपेन्डेन्स’ मा सविस्तार उल्लेख गरेका छन् । त्यसबीचका सात वर्षमा भारतमा भएका राजनीतिक एकएक दाउपेचलाई उनले पुस्तकमा आलोचनात्मक रूपमा विवेचना गरेका छन् ।

विभाजनको एउटा पक्ष त जिन्नाह भए नै, के त्यसका लागि अरू पक्ष जिम्मेवार थिएनन् भन्ने कुरा केलाउन उनले भारतीय राष्ट्रिय कांग्रेसका एक–एक बैठकका निर्णय, संकल्प प्रस्ताव, नेताहरूका भाषण, अंग्रेजले बनाएका विभिन्न मिसनहरूलाई लेखेका पत्र, पत्रपत्रिकामार्फत सार्वजनिक भएका अडान आदिलाई मिहिन रूपमा विश्लेषण गरेका छन् । जसरी मुस्लिम र हिन्दु अलग–अलग राष्ट्रियता भएकाले एक राष्ट्रमा बस्न सक्दैनन् भन्ने सिद्धान्त प्रतिपादन गरेर भारतलाई विभाजन गरियो, त्यही सिद्धान्तलाई सन् १९७१ मा पाकिस्तान विभाजन हुँदा पनि लागू गरिएको विषयलाई जिन्नाहले ब्याख्या गरेका छन् । उनी लेख्छन्, ‘पाकिस्तानले सुरुमा मुस्लिमहरू भनेका अलग राज्य हुन् भन्ने धारणालाई आत्मसात् गर्‍यो, पछि आफैँ भाषामा विघटन भयो– उर्दू र बंगालीका नाममा पाकिस्तान र बंगलादेश निर्माण भए (पृष्ठ ५१७) ।’ जिन्नाहको राजनीतिक जीवनी लेख्ने क्रममा जसवन्त सिंहले कहीँकतै पनि भारतको विभाजनलाई सही ठहर्‍याएका छैनन् र आवश्यक परेको ठाउँमा जिन्नाहको आलोचना गर्न छाडेका छैनन् ।

जिन्नाहको व्यक्तित्व भारतीय स्वतन्त्रता आन्दोलनबाट पृथक् रहन सक्ने कुरै भएन । त्यही भएर यो पुस्तक जिन्नाहको व्यक्तिगत जीवनसँग मात्र नभएर भारतको स्वतन्त्रता आन्दोलनको इतिहासमा केन्द्रित छ । महात्मा गान्धी जन्मले हिन्दु थिए तर उनले आफूलाई सधैँभरि हिन्दु–मुस्लिम एकताका पक्षधरका रूपमा उभ्याइरहे तर जिन्नाहचाहिँ मुस्लिम राष्ट्रका पक्षमा उभिए । यी दुईबीच विचारमा भिन्नताहरू थिए तर भारतीय स्वतन्त्रता संग्रामका लागि दुवै अपरिहार्य व्यक्ति थिए । भारतमा जसरी गान्धीलाई राष्ट्रपिता भनिन्छ, पाकिस्तामा जिन्नाहलाई पनि राष्ट्रपिता (क्वायद–ए–आजम) भनिन्छ । दुःखद संयोग कस्तो भने यी दुवैले सन् १९४७ मा आ–आफ्नो देश स्वतन्त्र बनाए र तर त्यस स्वतन्त्र देशमा धेरै बाँच्न पाएनन् ।

भारत स्वतन्त्र भएको पाँच महिनामै जनवरी ३०, १९४८ मा नाथुराम गोड्से नामक हिन्दु अतिवादीले भारतको राजधानी दिल्लीमा महात्मा गान्धीको गोली हानी हत्या गरिदिए भने पाकिस्तान स्वतन्त्र भएको १३ महिनामा सेप्टेम्बर ११, १९५८ मा त्यहाँको राजधानी कराँचीमा अस्वस्थ मोहम्मद अली जिन्नाहको हृदयाघातबाट निधन भयो । जसवन्त सिंहले शताब्दीका उत्कृष्ट सन्तानका रूपमा यी दुईबीचको तुलना गरेका छन्, जुन भारतीय मनोविज्ञानलाई पाच्य भएन ।

मुलुक विभाजन कसैलाई पनि प्रिय हुँदैन । त्यतिबेलाको परिस्थिति के थियो र भारत कसरी विभाजन भएको थियो भन्ने विषय आज आएर भावुकताका आधारमा मूल्यांकन गर्नु त्यति न्यायसंगत हुँदैन । फुटाएर शासन गर्ने सिद्धान्तका अनुयायी बेलायतीहरू निर्णायक ठाउँमा भएको सम्झना नगरेर यसलाई खाली नेहरू–जिन्नाहको व्यक्तित्वको टकराव, हिन्दु–मुस्लिम अतिवादीहरूको काम वा गान्धीको असफलताका रूपमा चित्रित गर्नु न्यायसंगत हुन्न ।

जसवन्त सिंहले आफ्नो राजनीतिलाई दाउमा राखेर यस पुस्तकमा नयाँ कोणबाट भारत विभाजन, जिन्नाहको भूमिका, नेताहरूबीचको टक्कर, तत्कालीन विश्व परिस्थिति, बेलायती भूमिकाजस्ता विषयलाई विश्लेषण गरेका छन् । पाँच वर्ष लगाएर ६ सय ५८ पृष्ठको पुस्तक तयार गर्ने क्रममा जसवन्त सिंह स्वयम्ले यसबाट उत्पन्न हुन सक्ने प्रतिक्रियाका बारेमा आकलन गरेको कुरा भूमिकामा उल्लेख गरेका छन् । भारत–पाकिस्तानको स्थापनाका बारेमा आलोचनात्मक रूपमा अध्ययन गर्नमा पुस्तक आज मात्र होइन, भोलिका दिनमा पनि उत्तिकै उपयोगी हुनेछ । राजनीति र विद्वताका संगम दिवंगत जवसन्त सिंहप्रति श्रद्धाञ्जली !

प्रकाशित : आश्विन १७, २०७७ ११:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×