भारत विभाजनको वृत्तान्त- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारत विभाजनको वृत्तान्त

भारतका विदेश, अर्थ र रक्षामन्त्री रहिसकेका जसवन्त सिंहको हालै (२७ सेप्टेम्बर) ८२ वर्षको उमेरमा निधन भएको छ । सिंहको किताब ‘जिन्नाह : इन्डिया–पार्टिसन–इन्डिपेन्डेन्स’ माथि एक आलेख :
विष्णु रिजाल

भारतका विदेश, अर्थ र रक्षामन्त्री रहिसकेका जसवन्त सिंहको हालै (२७ सेप्टेम्बर) ८२ वर्षको उमेरमा निधन भएको छ । भारतको परमाणु परीक्षण, कारगिल युद्ध, अमेरिकासँगको सम्बन्ध, इन्डियन एअरलाइन्सको विमान अपहरण प्रकरणलगायत विदेश नीति, अर्थतन्त्र र रक्षा मामिलामा उनले गरेका योगदानको समकालीन, सहकर्मी र शिष्यहरूले चर्चा गरिरहँदा मलाईचाहिँ उनले लेखेको पुस्तक ‘जिन्नाह : इन्डिया–पार्टिसन–इन्डिपेन्डेन्स’ को प्रभावले तानिरहेको छ ।

सदावहार राजनीतिज्ञले विवादित विषयमा हात हाल्नु, त्यसबापत दण्ड भोग्नु र त्यसका पक्षमा निरन्तर उभिनु आम विषयभित्र पर्दैन । किनभने, राजनीति आफैँमा विवादित र संवेदनशील विषय हो, जहाँ एउटा घटनाले शिखर वा पीँधमा पुर्‍याउने क्षमता राख्छ । अझ जन्मिँदै शत्रुका रूपमा उभिएका भारत र पाकिस्तानजस्ता मुलुकमा एकअर्का देश वा त्यहाँका नेताका बारेमा कलम चलाउनु सामान्य विषय होइन । जसवन्त सिंहले त्यही असामान्य काम गरेका थिए, जसको उनले ठूलो मूल्य चुकाए ।

इतिहासका पीडादायी घटनामध्येमा पर्ने सन् १९४७ को भारत र पाकिस्तानबीचको विभाजनको इतिहास लेख्नु आफैँमा कठिन काम छ भन्ने जसवन्त सिंह (जनवरी ३, १९३८–सेप्टेम्बर २७, २०२०) जस्ता भारतीय जनता पार्टीका संस्थापक र सक्रिय राजनीतिज्ञलाई थाहा नभएको कुरा थिएन । भारतमा आम रूपमा र अधिकांश पुस्तकहरूमा त्यस विभाजनका मुख्य योजनाकारका रूपमा चित्रित गरिएका मोहम्मद अली जिन्नाहका बारेमा कलम चलाउनु एक भारतीयका लागि कति जोखिम हुन सक्छ भन्ने जान्दाजान्दै उनले ‘जिन्नाह ः इन्डिया–पार्टिसन–इन्डिपेन्डेन्स’ पुस्तक लेखेका थिए । सन् २००९ मा पुस्तक सार्वजनिक भएपछि पाकिस्तानका संस्थापक/राष्ट्रपिता (क्वयद–ए–आजम) जिन्नाहको प्रशंसा गरेको भनेर भारतमा पुस्तकको चर्को विरोध मात्र भएन, आफैँले स्थापना गरेको भारतीय जनता पार्टीले सिंहलाई पार्टी सदस्यबाट निष्कासनसमेत गर्‍यो । यतिसम्म कि, भाजपाकै नरेन्द्र मोदीले नेतृत्व गरेको गुजरातमा प्रान्तीय सरकारले त्यस पुस्तकमाथि प्रतिबन्ध नै लगायो । ‘इतिहासमाथि न्याय गर्ने’ भनेर जसवन्त सिंहले लेखेको जिन्नाहको जीवनीले उनी स्वयम्लाई कति न्याय गर्न सक्यो/सकेन तर विवादपछिका अन्तर्वार्ता र लेखहरूमा उनले कहिल्यै पनि आफूले पुस्तक लेखेर गल्ती गरेको ठानेनन् । एक जना लेखक, इतिहासको विद्यार्थी र देशभक्त भारतीयका रूपमा आफूमाथि कसैले प्रश्न गर्न नसक्ने भन्दै आफ्नो पुस्तकका पक्षमा उभिएबापत राजनीति समाप्त हुँदा पनि जसवन्त सिंह टसमस भएनन् ।

जसवन्त सिंहले पुस्तकमा भारत विभाजनका कारणलाई विभिन्न कोणबाट केलाएका छन् । व्यापारिक कम्पनीका रूपमा भारत (हालको भारत, पाकिस्तान र बंगलादेश) मा प्रवेश गरेका अंग्रेजहरूले कसरी दुई सय वर्ष शासन गरे र त्यसबाट मुक्ति पाउनका लागि जनताले कति मूल्य चुकाउनुपर्‍यो भन्ने विषयमा इतिहासकार र राजनीतिज्ञका करिब–करिब समान धारणा रहे पनि स्वतन्त्रता आन्दोलनमा कसको भूमिका कस्तो रह्यो भन्ने विषयमा चाहिँ भिन्नाभिन्नै मत छन् । खासगरी, भारत विभाजन हुनुमा मोहम्मद अली जिन्नाहलाई मुख्य कारक ठान्ने भारतीयहरूको जमातमा जसवन्त सिंह फरक देखिए र उनले ‘इतिहासको वस्तुनिष्ठ समीक्षा गर्ने’ क्रममा सबैले त्यसको जिम्मेवारी लिनुपर्ने धारणा पुस्तकमा उल्लेख गरे ।

भारतको विभाजनमा मोहम्मद अली जिन्नाह, भारतीय राष्ट्रिय कांग्रेस वा अंग्रेज– को मुख्य जिम्मेवार थिए भन्ने प्रश्नको एकल उत्तर दिन सकिँदैन भन्ने निष्कर्ष जसवन्त सिंहले निकालेका छन् । अर्थात्, यी तीनैथरीका कारण भारत विभाजन हुन पुगेको हो भन्ने उनको धारणा छ । भारतीय स्वतन्त्रता संग्रामको मूल नेतृत्व गरेको भारतीय राष्ट्रिय कांग्रेस, मुस्लिमहरूलाई अलग्गै संगठित गरिरहेको अल इन्डिया मुस्लिम लिग, हिन्दुहरूलाई संगठित गरिरहेको हिन्दु महासभाजस्ता संस्थाहरू भारतीय स्वतन्त्रता संग्राममा संलग्न थिए । तर, मुख्य र प्रभावकारी संस्थाका रूपमा भारतीय राष्ट्रिय कांग्रेसलाई नै भारतीय स्वतन्त्रता संग्रामको नेता मानिन्छ, जसको नेतृत्वमा महात्मा गान्धी, पण्डित जवहारलाल नेहरू, सरदार बल्लभभाइ पटेल, मौलाना अबुल कलाम आजाद, राजेन्द्र प्रसाद, लालबहादुर शास्त्री, सी राजागोपालाचारीजस्ता नेताहरू थिए । सुरुमा हिन्दु–मुस्लिम सद्भावना दूतका रूपमा सतहमा देखिएका मोहम्मद अली जिन्नाह एकाएक कसरी मुस्लिम लिगका नेता भए र पाकिस्तान नामक मुस्लिमहरूको अलग्गै राज्यका संस्थापक बन्न पुगे भन्ने विवेचना जसवन्त सिंहले पुस्तकमा आलोचनात्मक रूपमा गरेका छन् ।

कुनै बेला ‘सूर्य नअस्ताउने साम्राज्य’ का रूपमा चिनिने बेलायतलाई भारतबाट बिदा गर्ने आन्दोलनको लामो इतिहास छ । महात्मा गान्धीजस्ता अहिंसा पक्षधर नेता नभइदिएको भए त्यस आन्दोलनले कुन रूप लिन्थ्यो भन्ने विषय बहसमै छ । तथापि, त्यसक्रममा भूमिका खेल्ने प्रमुख पात्रका रूपमा जिन्नाह पनि एक हुन् भन्नेमा दुईमत छैन । गान्धीले झैँ बेलायतमै उच्च शिक्षा हासिल गरेर फर्किएका जिन्नाहको नाम स्वतन्त्रता पक्षधर वकिलका रूपमा जसरी चलेको थियो, त्यसले नबाब, जमिनदारजस्ता मुस्लिमहरूले बनाएको अल इन्डिया मुस्लिम लिगको ध्यानाकर्षण गराएको थियो । प्रभावकारी नेता नपाएर धनाढ्य मुस्लिमहरूको क्लबका रूपमा सीमित रहेको मुस्लिम लिगलाई जिन्नाहजस्ता महत्त्वाकांक्षा बोकेका, संसार बुझेका र स्वतन्त्रता आन्दोलनलाई उचाइ दिन सक्ने नेताको सख्त आवश्यकता थियो । त्यही भएर नै मुस्लिम लिगले आफ्नो नेताका रूपमा उनलाई सहजै ग्रहण गर्‍यो र भारत हिन्दु र मुस्लिम गरी दुई राष्ट्रको संघ मात्रै हो भन्ने कुरालाई बढावा दियो । भारतमा हिन्दुहरू अत्यधिक बहुमतमा थिए । त्यही भएर अल्पसंख्यक मुस्लिमलाई आफ्नो अस्तित्व के हुन्छ भन्ने डर थियो । एकातिर श्यामाप्रसाद मुखर्जीजस्ता हिन्दुवादी नेताहरूले हिन्दु महासभामार्फत हिन्दुहरूको एकताको कुरा अघि बढाइरहेको, सबैको हित र एकतामा जोड दिए पनि सर्वस्वीकार्य नेताका रूपमा रहेका गान्धी पनि हिन्दु नै भएको र भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्वमा एकाधबाहेक हिन्दु नेताहरू रहेको पृष्ठभूमिमा जिन्नाहले दीर्घकालीन रूपमा मुस्लिमहरूको अस्तित्व र प्रभाव नरहने ठानेको हुन सक्ने आकलनलाई जसवन्त सिंहले अस्वीकार गरेका छैनन् । तर, यति भनेर उनी जिन्नाहलाई मात्र दोष दिँदैनन् । भारत छाडेर जानै परेमा यसलाई एक रहन नदिने, हिन्दु–मुस्लिमलाई विभाजन गरेर दुई देश बनाउने, विभाजन गरेर शासन गर्ने पुरानै नीतिलाई कुनै न कुनै रूपमा निरन्तरता दिने र नवस्थापित राज्यहरूले हिंसा थेग्न सकेनन् भने फेरि आफैँ फर्किन पाइन्छ भन्ने अंग्रेजको नीतिलाई अन्तिम भायसराय लर्ड माउन्टबेटनले चलाखीपूर्वक कार्यान्वयन गरेको विषयलाई जसवन्त सिंहले महत्त्वका साथ विश्लेषण गरेका छन् ।

पुस्तकमा विभिन्न प्रसंगमा उनले गान्धी, नेहरू र पटेलको आलोचना गरेका छन् । अझ खासगरी, पटेलको कठोर नीतिलाई भारत विभाजन हुनुको एउटा प्रमुख कारणका रूपमा पुस्तकमा चित्रित गरिएको छ । यसैलाई आधार बनाएर गुजरातमा पुस्तकमाथि प्रतिबन्ध लगाइएको थियो ।

हिन्दु र मुस्लिम अलग–अलग राष्ट्रियता हुन् र यी अलग–अलग राष्ट्रका रूपमा मात्र रहन सक्छन् भन्ने सैद्धान्तिक मान्यता नै भारत विभाजनको प्रमुख कारण हो भन्नेमा दुईमत छैन । २३ मार्च, १९४० मा अल इन्डिया मुस्लिम लिगले पाकिस्तान नामक मुस्लिमहरूको अलग्गै देश बनाउने संकल्प प्रस्ताव पारित गरेपछि भारतीय स्वतन्त्रतासँगै विभाजन पनि अनिवार्य छ भन्ने करिब–करिब निश्चित भइसकेको कुरा जवसन्त सिंहले आफ्नो पुस्तक ‘जिन्नाह : इन्डिया–पार्टिसन–इन्डिपेन्डेन्स’ मा सविस्तार उल्लेख गरेका छन् । त्यसबीचका सात वर्षमा भारतमा भएका राजनीतिक एकएक दाउपेचलाई उनले पुस्तकमा आलोचनात्मक रूपमा विवेचना गरेका छन् ।

विभाजनको एउटा पक्ष त जिन्नाह भए नै, के त्यसका लागि अरू पक्ष जिम्मेवार थिएनन् भन्ने कुरा केलाउन उनले भारतीय राष्ट्रिय कांग्रेसका एक–एक बैठकका निर्णय, संकल्प प्रस्ताव, नेताहरूका भाषण, अंग्रेजले बनाएका विभिन्न मिसनहरूलाई लेखेका पत्र, पत्रपत्रिकामार्फत सार्वजनिक भएका अडान आदिलाई मिहिन रूपमा विश्लेषण गरेका छन् । जसरी मुस्लिम र हिन्दु अलग–अलग राष्ट्रियता भएकाले एक राष्ट्रमा बस्न सक्दैनन् भन्ने सिद्धान्त प्रतिपादन गरेर भारतलाई विभाजन गरियो, त्यही सिद्धान्तलाई सन् १९७१ मा पाकिस्तान विभाजन हुँदा पनि लागू गरिएको विषयलाई जिन्नाहले ब्याख्या गरेका छन् । उनी लेख्छन्, ‘पाकिस्तानले सुरुमा मुस्लिमहरू भनेका अलग राज्य हुन् भन्ने धारणालाई आत्मसात् गर्‍यो, पछि आफैँ भाषामा विघटन भयो– उर्दू र बंगालीका नाममा पाकिस्तान र बंगलादेश निर्माण भए (पृष्ठ ५१७) ।’ जिन्नाहको राजनीतिक जीवनी लेख्ने क्रममा जसवन्त सिंहले कहीँकतै पनि भारतको विभाजनलाई सही ठहर्‍याएका छैनन् र आवश्यक परेको ठाउँमा जिन्नाहको आलोचना गर्न छाडेका छैनन् ।

जिन्नाहको व्यक्तित्व भारतीय स्वतन्त्रता आन्दोलनबाट पृथक् रहन सक्ने कुरै भएन । त्यही भएर यो पुस्तक जिन्नाहको व्यक्तिगत जीवनसँग मात्र नभएर भारतको स्वतन्त्रता आन्दोलनको इतिहासमा केन्द्रित छ । महात्मा गान्धी जन्मले हिन्दु थिए तर उनले आफूलाई सधैँभरि हिन्दु–मुस्लिम एकताका पक्षधरका रूपमा उभ्याइरहे तर जिन्नाहचाहिँ मुस्लिम राष्ट्रका पक्षमा उभिए । यी दुईबीच विचारमा भिन्नताहरू थिए तर भारतीय स्वतन्त्रता संग्रामका लागि दुवै अपरिहार्य व्यक्ति थिए । भारतमा जसरी गान्धीलाई राष्ट्रपिता भनिन्छ, पाकिस्तामा जिन्नाहलाई पनि राष्ट्रपिता (क्वायद–ए–आजम) भनिन्छ । दुःखद संयोग कस्तो भने यी दुवैले सन् १९४७ मा आ–आफ्नो देश स्वतन्त्र बनाए र तर त्यस स्वतन्त्र देशमा धेरै बाँच्न पाएनन् ।

भारत स्वतन्त्र भएको पाँच महिनामै जनवरी ३०, १९४८ मा नाथुराम गोड्से नामक हिन्दु अतिवादीले भारतको राजधानी दिल्लीमा महात्मा गान्धीको गोली हानी हत्या गरिदिए भने पाकिस्तान स्वतन्त्र भएको १३ महिनामा सेप्टेम्बर ११, १९५८ मा त्यहाँको राजधानी कराँचीमा अस्वस्थ मोहम्मद अली जिन्नाहको हृदयाघातबाट निधन भयो । जसवन्त सिंहले शताब्दीका उत्कृष्ट सन्तानका रूपमा यी दुईबीचको तुलना गरेका छन्, जुन भारतीय मनोविज्ञानलाई पाच्य भएन ।

मुलुक विभाजन कसैलाई पनि प्रिय हुँदैन । त्यतिबेलाको परिस्थिति के थियो र भारत कसरी विभाजन भएको थियो भन्ने विषय आज आएर भावुकताका आधारमा मूल्यांकन गर्नु त्यति न्यायसंगत हुँदैन । फुटाएर शासन गर्ने सिद्धान्तका अनुयायी बेलायतीहरू निर्णायक ठाउँमा भएको सम्झना नगरेर यसलाई खाली नेहरू–जिन्नाहको व्यक्तित्वको टकराव, हिन्दु–मुस्लिम अतिवादीहरूको काम वा गान्धीको असफलताका रूपमा चित्रित गर्नु न्यायसंगत हुन्न ।

जसवन्त सिंहले आफ्नो राजनीतिलाई दाउमा राखेर यस पुस्तकमा नयाँ कोणबाट भारत विभाजन, जिन्नाहको भूमिका, नेताहरूबीचको टक्कर, तत्कालीन विश्व परिस्थिति, बेलायती भूमिकाजस्ता विषयलाई विश्लेषण गरेका छन् । पाँच वर्ष लगाएर ६ सय ५८ पृष्ठको पुस्तक तयार गर्ने क्रममा जसवन्त सिंह स्वयम्ले यसबाट उत्पन्न हुन सक्ने प्रतिक्रियाका बारेमा आकलन गरेको कुरा भूमिकामा उल्लेख गरेका छन् । भारत–पाकिस्तानको स्थापनाका बारेमा आलोचनात्मक रूपमा अध्ययन गर्नमा पुस्तक आज मात्र होइन, भोलिका दिनमा पनि उत्तिकै उपयोगी हुनेछ । राजनीति र विद्वताका संगम दिवंगत जवसन्त सिंहप्रति श्रद्धाञ्जली !

प्रकाशित : आश्विन १७, २०७७ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्

अन्तर्यात्राका तपस्वी

मनुजबाबु मिश्रले देवकोटालाई मुटुमा, भैरव अर्याललाई आँखामा र तारानाथ शर्मालाई जिब्रोमा राखेको भान हुन्छ । यति भएर पनि उनका निबन्धमा रगत उनको आफ्नै छ । रगतको प्रवाह पनि आफ्नै ।
अमर न्यौपाने

८३ औं जन्मदिनका लागि कलाकार मनुजबाबु मिश्रले बनाएको आफ्नै स्केच, जुन अपूरै रह्यो ।

कलाकार मनुजबाबु मिश्र एक अनौठा चित्रकार, वैचारिक लेखक र बौद्धिक व्यक्तित्वका त्रिवेणी हुन् । ०४६ सालपछि झन्डै तीन दशक एकान्तवास बसेर दुई वर्षअगाडि अनन्तयात्रामा हिँडेका मनुजबाबु अन्तर्यात्राका तपस्वी हुन् । एकान्तमा बसेर पनि उनले संसार चियाइरहे र त्यही संसारको बारेमा कहिले रङमा, कहिले अक्षरमा लेखिरहे ।

उनको ध्यानमग्न लेखनमा कल्पनाको उडान र अवतरण, भावनाको वेग र विश्राम, विचारको अडान र गहिराइ पाइन्छ । कतैकतै भावनामा उडे पनि तिनले आफ्नै धरातलमा अवतरण गर्छन् । उनी शैलीमा कतै क्लिष्ट कतै सरल भएर बग्छन् । जे होस्, उनको लेखनले मनमस्तिष्कका केही तार झङ्क्रित पारिदिन्छन् । उनका चित्रहरू त झन् मस्तिष्कका मदानी हुन् ।

उच्च बौद्धिक चिन्तन, प्राज्ञिक विचार, भावनात्मक अभिव्यक्ति, केही वस्तुगत र धेरै निजात्मक अनुभूतिले सिञ्चित उनका निबन्धहरू ध्यानबाट जन्मिएजस्तो लाग्छ ।

पढ्दै जाँदा उनी प्रभाववादी पनि लाग्छन्, स्वच्छन्दवादी पनि । प्रकृतिवादी पनि लाग्छन्, प्रगतिवादी पनि । यी सबैको चास्नीमा आफूलाई डुबाएर उनले सूक्ष्म दृष्टिगोचर गरेका छन् । उनले देवकोटालाई मुटुमा, भैरव अर्याललाई आँखामा र तारानाथ शर्मालाई जिब्रोमा राखेको भान हुन्छ । यति भएर पनि उनका निबन्धमा रगत उनको आफ्नै छ । रगतको प्रवाह पनि आफ्नै । त्यही प्रवाहमा बाँध बाँधेर उनले निबन्धको बिजुली बालेका छन् ।

उनका ६ निबन्धसङ्ग्रह प्रकाशित छन्— मेरो चित्र मेरो छाया— २०४२, अन्तर तरङ्ग—२०४९, तरङ्ग तरेली— २०५२, दुरान्तर— २०५३, अनुहारका पानाहरू—२०५९, म र मेरो परम्परा— २०६३ । यी सङ्ग्रहमा जम्मा ११८ निबन्ध छन् ।

सुरुका निबन्धहरू प्रायः वस्तुगत छन् भने पछिका निजात्मक । विशेषतः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाको उच्च बोध र ज्ञानले सिर्जना भएका कलासम्बन्धी निबन्धहरू छन् । ती निबन्धहरू प्रायः प्रबन्धात्मक छन् ।

उनका निबन्धहरूले भन्छन्— कलाकारको परिचय उसको कलाकृति हो । त्यसैमा उसको पहिचान र भित्री रूप हुन्छ । उसको चेतना र अनुभूत गरेको परिवेश हुन्छ । चेतना सूक्ष्मग्राही एन्टेना हो । एन्टेना जति सूक्ष्मग्राही हुन्छ त्यति नै उसले विश्व ब्रह्माण्ड र त्यसका तरङ्गहरूलाई आफूभित्र समाहित गर्न सक्छ । यति भएर पनि मानिस अपूर्ण छ भन्दै आफ्नो सभ्यता र पूर्वजको प्राचीनतालाई आजको मानिसले बिर्सेकाले आज हाम्रो परिचय हराउादै गएको भाव उनले आफ्ना निबन्धमा अभिव्यञ्जित गरेका छन् ।

नदीको मुहान परम्परा हो भने विशाल नदी आधुनिकता । मुहान बग्दै जाँदा विशाल नदी हुन्छ । आफ्नो परम्परा अर्थात् मुहानलाई बिर्सिए जतिसुकै ठूलो नदी भए पनि त्यो आधुनिक बन्न सक्दैन ।

उनी चित्रकार र निबन्धकार मात्र होइनन् उपन्यासकार पनि हुन् । ‘स्वप्न सम्मेलन’ नामक उनको उपन्यास प्रकाशित छ । साहित्यकार डा. तारानाथ शर्माले स्वप्न सम्मेलनको भूमिकामा लेखेका छन्, ‘...उपन्यास त धेरैले लेखेका छन्, आकर्षण गर्ने गरी लेखेका छन्, तिरीमिरी झ्याइँ पार्नेगरी लेखेका छन् तर जुन नौलोपना, जुन ज्ञानको गहिराइयुक्त चिन्तन र जुन विलक्षण बौद्धिकता मिश्रले आफ्नो यस उपन्यासमा देखाएका छन्, त्यस्तो नेपाली उपन्यासमा त कतै पाइँदैन नै अन्तर्राष्ट्रिय साहित्यमा पनि दुर्लभ छ ।’

०४६ सालपछिको राजनीतिक व्यवस्था र अवस्थाप्रति अस्वीकार देखाउन तीन दशक घरमै एकान्तवास बसेका मनुजबाबुका बारेमा उनका जेठा छोरा लेखक तथा राजनीतिज्ञ रवीन्द्र मिश्र लेख्छन्, ‘...सुन्दा पनि कतिपयलाई अचम्म लाग्ला, रूखैरूखले भरिएको बुबाको बगैंचामा बुबाले हातमा चारा राखेर ‘आ...आ...’ भनेपछि जंगली ढुकुर र भागेराहरू हातका औंलामा बस्थे र चारा खान्थे । तिनै चराचुरुंगी, रूखपात, रङ र मसीसँग खेल्दै मेरो बुबाले डेढ दर्जनभन्दा बढी खासगरी निबन्धात्मक पुस्तकहरू लेख्नुभयो र हजारौंको संख्यामा कलाकृतिहरू बनाउनुभयो, जुन नेपाललगायत संसारका विभिन्न देशका कला संग्रहकर्ताहरूमा छरिएका छन् ।’

उनलाई जान्नेहरू भन्छन्, ‘कला, साहित्य, संस्कृति, इतिहास, भूगोल, राजनीति, दर्शन आदि धेरै विषयमा घण्टौं धाराप्रवाह तिथिमितिसहित बोल्न सक्थे । नेपालको मात्र होइन, विश्वव्यापी रूपमा नै बोल्न सक्थे । उनको चित्रकारिता जत्तिकै शक्तिशाली लेखन पनि हो । तर, लेखन ओझेलमा परेको छ ।’

यस्ता अनौठा र सिर्जनशील कलाकार तथा लेखक मनुजबाबु मिश्रलाई सशरीर भेट्ने अवसर त कहिल्यै जुटेन । अब त्यो सम्भव पनि छैन । भेटेको भए केही कुरा हुँदो हो । उनको बारेमा केही संस्मरण लेख्दो हुँ ।

तर, सर्जकसँग भेट्नुभन्दा उसको सिर्जनासँग भेट्नु ठूलो कुरा हो । भेट्ने अवसर नपाउनुमा पनि चित्त बुझाउँछु— भेट र सम्बन्ध तथा पूर्वाग्रहभन्दा पर रहेर सर्जकलाई चिन्नु अझ महत्त्वपूर्ण कुरा हो । आखिर सर्जकले आफ्नो सिर्जनमा आफ्नो जीवनको अंश हालेको हुन्छ ।

मनुजबाबु मिश्र । तस्बिर : कुमार आले

उनीसँग कुरा गर्न नपाएको क्षतिपूर्ति उनका चित्रकला र सबै निबन्धहरूलाई प्रश्न गर्दै पूरा गरेको छु । उत्तर उनका निबन्ध–अंशले नै दिन्छन् । उनका निबन्धसँग गरेको कुराकानीका केही अंश :

सुखको बेला लाग्छ, समयलाई यहीं रोकिरहूँ । मलाई समयका बारेमा बताइदेऊ न !

आज विगत र भविष्यको उपज हो । विगत अनादि छ, भविष्य अनन्त । कुनै रेखाद्वारा हिजो र भोलिबाट आजलाई छुट्याउन सकिन्न । यो पारदर्शक जलरङचित्र जस्तै छ अथवा इम्प्रेसनिस्ट कलाकारको रङविन्यास जस्तै (कलाकार र कलाकृति) ।

म एकै ठाउँमा उभिएर संसार हेर्न खोज्छु, तर सानो टुक्रा हेरेर चित्त बुझाउनुपर्छ । संसारलाई अक्षरमा व्यक्त गर्न खोज्छु । आँखाले देखे जति पनि उतार्न सक्तिनँ । भनिदेऊ न, म आँखालाई कसरी काम लगाऊँ ?

आँखाले हेरेर वा मुखले बोलेर चित्र बनाउन सकिँदैन । आँखा त कुनै पनि प्राणीको बाह्य विश्वलाई ऊभित्रको अन्तर ब्रह्माण्डसँग जोडिदिने पुल मात्र हो (राँगामाटीकी तरूनी रुप–कथाकी परी) ।

ईश्वरले बनाउने कला र मानिसले बनाउने कलामा के फरक छ ?

ईश्वरले बनाएको चित्र साह्रै क्षणिक हुन्छ । यही हो ईश्वरको कमजोरी । त्यो क्षणिक सौन्दर्यलाई अमर बनाउने कलाकार त मानिस नै हो (राँगामाटीकी तरुनी रूप–कथाकी परी) ।

म अज्ञानी छु । ज्ञान कस्तो हुन्छ ? मलाई ज्ञानको बाटोमा डोर्‍याऊ न !

ज्ञान गह्रौं हुन्छ । त्यसैले त्यो गहिराइमा डुबेर बसेको हुन्छ । अज्ञान हलुको हुन्छ । त्यसैले त्यो उडेर माथितिर स्वर्गमा पुग्छ, मृतात्मा, शून्यात्मा अथवा अज्ञानताको देशतिर (त्यो अल्को चोटि ) ।

यति धेरै मानिसका यति धेरै भावना छन् । तिनको भावनालाई बुझेर कसरी पाप र पुण्य छुट्याउने ?

मान्छे पो एउटाजस्तै अर्को हुँदैन, भावना त धेरै मान्छेको एउटै पनि त हुन सक्छ नि । सत्ययुगले सिकाओस् कि कलियुगले । साहसको कुरा हो । साहस भए दहीदेखि लिएर अर्काकी चेलीबेटी र अर्काको आत्मासम्म चोरे हुन्छ । पच्यो मात्र भने पुण्यप्राप्ति भइहाल्छ । नपचे पो पाप (चोरी) ।

कसैको नाम र ठेगाना जान्नु उसलाई चिन्नु होइन । मान्छेलाई कसरी चिन्ने ?

मान्छे मुस्काएको मात्रै हेरेर मान्छे चिनिँदैन । मान्छेको चित्र चिन्न मान्छे रोएको, कराएको पनि हेर्नुपर्छ ।

मलाई आकाशमा उडेर ठूलो संसार हेर्न मन छ, तर जहाज चढेर होइन । के गरुँ ?

आकाशमा उड्ने पाइलटले भन्दा जमिनमा गुड्ने ड्राइभरले आफ्नो गतिलाई बढी बुझेको हुन्छ । किनकि दायाँबायाँका वस्तुहरू विपरीत दिशातिर दौडिरहेको देखेर ऊ आफ्नो गतिको सहज अनुमान गर्न सक्छ (समसामयिक कला) ।

सौन्दर्य त सधैं रहँदैन र सृष्टि पनि । यिनलाई जोगाएर सन्ततिका आँखालाई कसरी देखाउने होला ?

सौन्दर्यको महत्त्व सधैं स्रष्टामा र सृष्टिको महत्व सधैं द्रष्टामा रहेको हुन्छ । सिर्जनामा नै सौन्दर्य सुरक्षित हुन्छ (केही युरोपेली अनुहार) ।

संसारमा मानिसहरूबीच विशेषगरी गाँस, बास, कपासका सन्दर्भमा यति ठूलो विभेद छ । सबैभन्दा ठूलो समानता के हो ?

हाम्रो मुखबाट रातो परोस् कि कालो, हिल्टन होटलको कबाब पसोस् कि रत्नपार्क होटलको आलुदम, लखनौको लड्डु परोस् कि ढिँडाको डल्लो, हाम्रो शरीरको सेफ्टी ट्याङ्कीमा पस्नासाथ त्यो त्यहाँको तातोले पाक्न थाल्छ । त्यो वादशाहले, राजाले खाऊन् कि म आफैं खाऊँ, त्यो पाक्ने प्रक्रिया उही हो । पाकेपछि बाहिर झर्ने प्रक्रिया पनि उही नै हो । ...दिसालाई मान्छेले जतिसुकै घृणा गरे पनि, म सभ्य छु भनेर जतिसुकै फुर्ती गरे पनि झिसमिसेमा उठेर भान्सामा भन्दा पहिले जसले जानैपर्ने ठाउा चर्पी हो । त्यहाँ प्रत्येक दिन गएर उसले दिसाको दुर्गन्ध ग्रहण नगरी कफी र अन्डाको सुवास पाउन सक्दैन । सिङ्गो मानव विश्व नै हाल्ने र फाल्ने चक्रमा घुमिरहेको छ (दिसा) ।

आँखा छन् तर म हेर्न जान्दिनँ । मलाई हर्ने तरिका सिकाइदेऊ न दुरान्तर !

आजसम्म कुनै वस्तुलाई पनि मेरा अन्तर एवं चर्मचक्षुले ठीक दूरी, ठीक सतह, ठीक कोण, ठीक समयमा हेरेर अनुभूत गर्न सकेको रहेनछ, जेलाई अग्लो ठानेको थिएँ, त्यो त पुड्को रहेछ । जेलाई लामो ठानेको थिएँ, त्यो छोटो रहेछ । जेलाई अति गह्रौं ठानेको थिएँ, त्यो त कपासको ह्रास रहेछ । ...मैले आफ्नै श्रीमतीका अनेकौं प्रकारका रूपहरू देख्दै आएको छु, टाढाबाट हेर्दा, नजिकबाट हेर्दा, टाँसिएर हेर्दा, दायाँबाट हेर्दा, बायाँबाट हेर्दा इत्यादि । ...कहिले उनी विश्वसुन्दरीभन्दा बढी राम्री देखिन्छिन् भने कहिलेचाहिँ बीभत्स कुरूप देखिन्छिन् । ...प्रकृतिको अध्ययन गर्ने, रहस्योद्घाटन गर्ने अनेकौं तरिकाबाट मानिसले पत्तो लगाइसकेको छ, प्रकृतिकै अध्ययन गरेर । तीमध्येमा एउटा अत्यन्तै महत्त्वपूर्ण नियम हो, ‘दुरान्तर’, टाढानजिकको नियम । नजिकबाट हेर्दा आफ्नै सानो औंला पनि विश्वब्रह्माण्डभन्दा ठूलो लाग्छ, अनि टाढाबाट हेर्दा भने सिङ्गै पृथ्वी पनि एउटा विन्दुजत्रो देखिन्छ (दुरान्तर) ।

एक दिन सुख पाउन सयौं दिन दुःख किन सहनुपर्छ ?

सुखको सिमाना हुन्छ, सभ्यताले कायम गरिदिएको । दुःखको कुनै सिमाना हुँदैन, असभ्यताको संसारमा । त्यसैले सुख सधैं हाँसिरहन सक्दैन तर दुःख सधैं रोइरहन सक्छ (दुःखको रङ) ।

तिमी भित्र छौ कि बाहिर ?

सबै भन्छन्, ‘म’ भित्र थिएँ । जब म बाहिर आएँ आमाको गर्भभित्रबाट, मेरी आमा मभित्र पसिन् । (भित्र कि बाहिर ?)

जतासुकै अनैतिकता र अशान्ति छ । यस्तो संसारमा नैतिकता र शान्तिलाई गाह्रो परिरहेछ । अब के गर्नु एकलानुभूति ?

हरेक आदर्शको जन्म अनादर्शबाट, हरेक नैतिकताको जन्म अनैतिकताबाट, हरेक शान्तिको जन्म युद्धबाट हुँदै आएको छ । क्रसमा किला ठोकेर झुन्ड्याइएको क्राइस्टको त्यो रक्तपूर्ण, अमानवीय अवस्था नै इसाई धर्मदर्शनको बीउ थियो । रोगी, भोका, नाङ्गा र मृतकको दर्शनबाट नै शान्तिका अग्रदूत बुद्ध जन्मेका थिए (एकलानुभूति) ।

हामी चक्काको चक्करमा कसरी नियन्त्रित भएका छौं ?

चक्काको लीला अपरम्पार नै छ । आधुनिक मानिस जतिसुकै फुर्ती गरोस् न, उसलाई चक्काले आफ्नो निरङ्कुश नियन्त्रणमा राखेको छ । ...चक्का नहुने हो भने आधुनिकता नै नाङ्गेझार हुने थियो । सहरका चक्लाचाक्ला सडकहरू खाली हुने थिए । ...यो चक्का मात्र नभइदिएको भए सायद विश्वयुद्ध नै हुने थिएन, भए पनि यति धेरै विनाशकारी त किमार्थ हुने थिएन (चक्काको चक्कर) ।

८३ औं जन्मदिनका लागि कलाकार मनुजबाबु मिश्र बनाएको आफ्नै स्केच, जुन अपूरै रह्यो ।

‘गार्गान्तुवा’ कसरी बन्न पुग्छ मान्छे ?

यथार्थमा दाँत भनेको हतियार नै हो । मान्छे जन्मिँदा बिनादाँतको ईश्वरकै रूपमा जन्मिन्छ । अनि जतिजति अगाडिका दाँत उम्रिँदै जान्छन्, ऊ क्रमशः मान्छे बन्दै जान्छ र जति बढी बङ्गारा बढ्न लाग्छन् उति बढी मान्छे हिंस्रक, हत्यारा र पशु बन्दै जान्छ अनि जे पायो त्यही चपाएर निल्ने, कहिल्यै खाएर नअघाउने ‘गार्गान्तुवा’ नै बन्न पुग्छ (आफ्नै दाँतको कथा) ।

तिमी त मोनोलिसाको प्रेमी । आफ्नी प्रेमिकालाई कसरी भेट्छौ ?

म सत्तरी वर्षको बूढो, उनी पाँच सय वर्षकी तरुनी, लभ पर्‍यो त कसरी भनूँ ∕ फेरि उनी संसारभरिकी, मेरो हृदय भने मेरै हत्केलाजत्रो सङ्कुचित र सानो । उनको सम्झना मात्र पस्दा पनि म फुट्न खोज्छु, मेरो सानो कलाको अस्तित्व नै मेटिन खोज्छ । उनलाई अँगालोमा बाँधेर आफ्नै हिमाली गाउँपाखाको पृष्ठभूमिमा उभिएको अर्को चित्र रचना गरें ∕ अझ बढी गहनागुरियाले उनलाई झकिझकाउ पारेर । अहिले त्यो चित्र मेरै अगाडि छ । मेरो कार्यकक्षको ढोका पनि खुलै छ । कुनै दिन विश्व भ्रमणमा निस्किँदा उनी यता पनि आउनेछिन् र मेरो यो चित्रसँग एकात्मकता कायम गर्नेछिन् भन्ने विश्वास लिएर म मोनालाई कुरिरहेको छु र कुरिरहनेछु (हेलो मोनालिसा) ।

(मनुजबाबु मिश्रका ६ निबन्धसङ्ग्रहका ११८ निबन्धबाट चुनिएका २९ निबन्धको सङ्ग्रह ‘एकलानुभूति’ प्रकाशित हुँदै छ ।)

प्रकाशित : आश्विन १०, २०७७ १२:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×