मार्खेजको हुलाक टिकट- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मार्खेजको हुलाक टिकट

मार्खेजको यस अन्तर्वार्ताका लागि पत्रकार डेबिड स्ट्रेटफेल्डले निकै समय निकै ठाउँमा हारगुहार गर्नुपरेको थियो । अन्ततः सन् १९९३ मा भेटघाट, कुराकानीका लागि मार्खेजले उनलाई अनुमति दिएका थिए । त्यसलगत्तै डेबिड अमेरिकाबाट प्लेनमा मेक्सिको सिटी गए । यो अन्तर्वार्ता ‘मेलभिल पब्लिसिङ हाउस’ ले निकालेको ‘द लास्ट इन्टरभ्यु’ सिरिजको किताबमा प्रकाशित छ, जहाँ मार्खेजको अन्तिम अन्तर्वार्तालगायत अरू कुराकानीहरू संग्रह गरिएका छन् ।
कुमार नगरकोटी

प्राक्कथन/पार्श्व–कथन
‘मोजार्ट अफ् पेन’ भनेर चिनिइने डेबिड स्ट्रेटफेल्ड अमेरिकी पत्रकार हुन् । सन् १९८७ देखि १९९८ सम्म उनी ‘द वासिङ्टन पोस्ट’ का साहित्यिक संवाददाता थिए । जगत् जान्दछ, सन् २०१३ मा उनले पुलित्जर प्राइज ‘पनि’ पाएका थिए ।

केका निम्ति पाएका थिए, हाललाई हाम्रो चासोको विषय भने होइन । चासोको विषय बरु उनले गाब्रियल गार्सिया मार्खेजसित लिएको अन्तर्वार्ता हो, जसलाई म तपाईंसमक्ष पेस गर्ने नै छु ।

यो अन्तर्वार्ताका लागि डेबिडले निकै समय निकै ठाउँमा हारगुहार गर्नुपरेको थियो । अन्ततः सन् १९९३ मा भेटघाट, कुराकानीका लागि मार्खेजले उनलाई अनुमति दिएका थिए । त्यसलगत्तै डेबिड अमेरिकाबाट प्लेनमा मेक्सिको सिटी गए । र, मार्खेजको घर फेला पारे ।

घरपछाडि मार्खेजको अफिस थियो, जुन निकै भद्रगोल थियो । त्यही भद्रगोल वातावरणमा मिस्टर स्ट्रेटफेल्डले यो अन्तर्वार्ता टेप रिकर्डरमा रेकर्ड गरेका थिए : एक पटक । र, अर्कोपटक चाहिँ वासिङ्टन डीसीमा । लगभग चार वर्षपछि । एउटा बुकस्टोर क्याफेमा, जहाँ मार्खेजका किताबहरू चाङ–का–चाङ मिलाइवरी राखिएका थिए । यो प्रसंगलाई अन्तर्वार्ताकार यसरी सम्झन्छन्, ‘ती किताबहरूका लेखक गाब्रियल गार्सिया मार्खेज त्यही क्याफेको एउटा कुनामा मसित बातचितमा तल्लीन भई बसेका छन् भन्नेचाहिँ कसैलाई थाहा हेक्का थिएन ।’

यो अन्तर्वार्ता ‘मेलभिल पब्लिसिङ हाउस’ ले निकालेको ‘द लास्ट इन्टरभ्यु’ सिरिजको किताबमा प्रकाशित छ, जहाँ मार्खेजको अन्तिम अन्तर्वार्तालगायत अरू कुराकानीहरू संग्रह गरिएका छन् ।

उन्नाइस पानाको अन्तर्वार्तामा भएका सम्पूर्ण सवाल–जवाफ अनुवाद गर्नु शोभनीय देखिएन । मार्खेजका ती जवाफहरूलाई मात्र मैले अनुवादयोग्य ठानेँ, जसलाई मैले औधी मन पराएँ । ‘दिल को छु गई’ भन्छन् नि ! त्यस्तै ।

यहाँ तिनै सेलेक्टेड प्रसंग, सवाल–जवाफ पेस गरिएको छ । आगे तपाईंको मर्जी !

टेप रिकर्डर

मार्खेज : यो अन्तर्वार्तामा त्यो टेप रिकर्डर प्रयोग गर्नैपर्ने हो र ? म टेप रिकर्डरको बैरी हुँ । मन पर्दैन । त्यसको कान त जरुर हुन्छ, तर हृदयचैं मरु ! हाम्रो कुराकानीलाई तपाईंले नोटबुकमा उतार्दा हुँदैन ?

डेबिड : म औधी सुस्त गतिमा लेख्छु । टेप रिकर्डर त हामीले प्रयोग गर्नैपर्ला । नत्र त हाम्रो कुराकानी, यो अन्तर्वार्र्ता एक हप्ता लम्बिएला ।

मार्खेज : त्यसो भए ठीकै छ । तर, म अंग्रेजी बोल्ने होइन क्यारे ! यसका निम्ति मलाई क्षमा गरियोस्, ल ? मेरो जीवनको सबैभन्दा ठूलो गल्ती के हो भन्देखिन्, मैले अच्छा किसिमले अंग्रेजी बोल्न सिक्नुपर्छ भन्ने सुझबुझ मलाई कहिल्यै भएन । अंग्रेजी भाषामा त म गएगुज्रेको ग्वाँज भएँ ।

हेमिङ्वेको लाइब्रेरी

डेबिड : दुइटा कुरामा तपाईं एकदमै प्रख्यात हुनुहुन्छ । कुरा नम्बर एक : किताब लेख्दा तपाईं अथाह रिसर्च गर्नुहुन्छ । कुरा नम्बर दुई : आफूले गरेको रिसर्चबारे कसैलाई बताउनुहुन्न । त्यसको चुँसम्म गर्नुहुन्न ।

मार्खेज : म अहिले पनि केही स्रोतहरूको खोजीमा छु, जसले मलाई भ्याटिकन लाइब्रेरीमा कार्यरत कर्मचारीहरूले गर्नुपर्ने कामबारे बताइदेओस् । अनि मध्ययुगीन उपचार पद्धतिबारे मैले गरेको अनुसन्धानलाई पनि पुनरावलोकन गर्नुपर्‍या छ । त्यसैले त यतिका ग्रन्थहरू यो कोठामा छरपस्ट छन् ।

जब मैले क्युबामा हेमिङ्वेको लाइब्रेरी देखेँ, म त चकित–ओ–चकित परिगएँ । त्यो लाइब्रेरीमा हेमिङ्वेको आत्मा बसेको थियो । किताबहरूमा हेमिङ्वेको हंस अल्झेको थियो । कुरा के हो भन्देखिन्, एउटा उपन्यासकारले हरेक चीजको अनुसन्धान गर्नुपर्छ ।

डेबिड : र, त्यो अनुसन्धानबारे कसैलाई सुइँकोसमेत दिनुहुन्न, राइट ?

मार्खेज : सोह्रै आना राइट ! उपन्यास समाप्तिएपश्चात् सम्पूर्ण नोट–ड्राफ्टहरूलाई नष्ट गरिदिनुपर्छ । जादुगरले आफ्नो गुप्त कला कहिल्यै बताउँदैन । लेखक पनि जादुगरजस्तै गुप्त–लुप्त हुनुपर्छ ।

नोबेल प्राइज

डेबिड : नोबेल प्राइजले तपाईंलाई दैनन्दिनका स–साना कुराहरूबाट मुक्त गरेको हुनुपर्छ !

मार्खेज : नोबेल प्राइजको एउटै राम्रो कुरा के भन्देखिन्, मलाई अब लामो लाइनमा उभिरहनु पर्दैन । कसैले मलाई कहीँ–कतै लाइनमा उभिएको देख्नेबित्तिकै टपक्क टिपेर अगाडि पुर्‍याइहाल्छ ।

डेबिड : यत्ति एउटा ? नोबेल प्राइजको फाइदा यत्ति एउटा ?

मार्खेज : प्रसिद्धि भनेको जम्बोजेट उडाउनुजस्तै हो । ज्यादै सावधानी अपनाउनुपर्ने नाजुक अवस्था ! नोबेल प्राइजले मलाई प्रतिष्ठा–गौरव त दियो, त्यसले मेरो मनमौजी स्वभाव भने लुट्यो ।

‘वान हन्ड्रेड इयर्स अफ् सोलिच्युड’ छापिएपछिको एउटा इन्ट्रेस्टिङ बात कहन्छु, ल ! एक यस्तो प्रसंग, जसले मेरो जीवन परिवर्तन गरिदियो । तिनताक म साथीभाइहरूलाई चिठ्ठी–पत्र पठाउने गर्थें । एकपटक भइदियो के भन्देखिन्, मेरो एक जना साथीले मेरो चिठ्ठी युनाइटेड स्टेट्स अफ अमेरिकाको लाइब्रेरीलाई बेचिदिएछ । त्यसपछि मैले साथीहरूलाई चिठ्ठी लेख्ने काम सदाका लागि बन्द गरिदिएँ ।

मेरा निम्ति प्रसिद्धि दैवी विपत्तिजस्तै भइदियो, जसले मेरो जीवनलाई नर्कतुल्य बनाइदियो । यसले मेरो सर्वप्रिय एकान्त बासलाई नष्ट गरिदियो । मेरो दुर्भाग्य हेर्नुस्, एकान्त एवं एक्लोपनलाई मैले मान्छेहरूको भीडमा पो खोज्नुपर्ने भयो ।

डेबिड : दशकौंदेखि तपाईं प्रख्यात हुनुहुन्छ । मूलतः त्यस बेलादेखि जुन बेला ‘वान हन्ड्रेड इयर्स अफ् सोलिच्युड’ छापियो मात्र होइन, त्यसले साहित्यिक जगत्मा चामत्कारिक सनसनी ल्याइदियो । प्रसिद्धिसित त तपाईं अभ्यस्त भइसक्नुपर्ने !

मार्खेज : म प्रसिद्ध त थिएँ तर मानिसहरूले मलाई त्यतिसाह्रो वास्ता गर्दैनथे । नोबेल प्राइजपछि भने सबै कुरा बदलियो । जस्तो कि, लामो समयदेखि म एउटा साहित्यिक प्रोजेक्टमा काम गरिरहेको थिएँ । मलाई कोलोम्बियाको एउटा सानो सहरमा जानुपर्ने थियो । कारबाट निस्कनु थियो, सहर चहार्नु थियो र नोट उतार्नु थियो । तर, भइदियो के ?

तेस्रो दिनमा त कोलोम्बियाका सारा–का–सारा पत्रकार एवं संवाददाताहरू टुपुल्किहाले । मलाई पछ्याएर हैरानै पारे । उपन्यास लेख्न हिँडेको मान्छे, म त पत्रिकाहरूमा समाचारको शीर्षक पो बनेँ ।

ड्राकुला

डेबिड : फिडेल क्यास्त्रोसित तपाईं कत्तिको नजिक हुनुहुन्छ ?

मार्खेज : हवानाको मेरो घरमा क्यास्त्रो मिलेसम्म आइरहनुहुन्छ । हामी अनेक विषयमा लामा–लामा कुराकानी गर्छौं । काँसम्म भने उहाँ मलाई राज्यका गोप्य कुराहरू पनि निस्फिक्री सुनाउनुहुन्छ ।

डेबिड : अनि किन राजदूत भएर क्युबा नगएको ? तपाईं क्युबाको कोलोम्बियन राजदूत हुनुपर्छ भनी मानिसहरू भन्ने गर्छन् !

मार्खेज : त्यसो भए त झुरै हुन्छ नि ! म राजदूत बनेपछि क्यास्त्रो मेरो घरमा पाहुना लाग्ने कुरा भएन । त्यसबाहेक राजदूत त म गएगुज्रेकै बनुँला नि ! कतैबाट अफर आइहालेछ भने हुन्न–नो–हुँदैन भन्नुपर्ला । जीवनभर म सांस्कृतिक–साहित्यिक राजदूत भएँ, बनेँ । त्यही पर्याप्त छ ।

डेबिड : साहित्यले क्यास्त्रो र तपाईंबीचको सम्बन्धलाई सुमधुर बनाएको हुनुपर्छ । साहित्यले नै तपाईंहरूलाई एकार्काप्रति आत्मीय बनाएको होला !

मार्खेज : जरुर, जरुर । हामी एकदमै आत्मीय छौं । हामी दुवै जना साहित्यिक संस्कारमा हुर्के–बढेका हौं । साहित्यकै कारण हामी एकार्कासित नजिकिएका हौं । क्यास्त्रो निकै असल पाठक हुनुहुन्छ । म उहाँलाई प्रायः हल्काफुल्का किताबहरू दिने गर्छु ।

मैले फिडेल क्यास्त्रोलाई दिएको पहिलो किताब ‘ड्राकुला’ हो, जसलाई उहाँले निकै मन पराउनुभएको थियो ।

ब्रोथेल र मनुस्क्रिप्ट

डेबिड : अचेल तपाईं अतीतमुखी भएझैं लाग्छ । कथा, उपन्यासहरूको साटो धमाधम संस्मरण लेखिरहनुभएको छ !

मार्खेज : मेरा मनप्रिय लेखक विलियम फोकनरले एउटा घतलाग्दो कुरा भनेका छन् : द बेस्ट प्लेस फर अ राइटर टु लिभ इन अ ब्रोथेल ।

मेरा निम्ति यो निकै अविस्मरणीय वाणी हो । वेश्यालयतिर तपाईं जानुभएको छ कि छैन, तपाईं जान्नुस् । म भने गएको छु । मलाई त्यहाँको वातावरणले मुग्ध बनाउँछ ।

वेश्यालयमा हरेक साँझ रमझम हुन्छ, पार्टी चल्छ । अनि बिहान चकमन्न हुन्छ । त्यो चकमन्नतामा लेख्न बस्दा अलौकिक आनन्द प्राप्त हुन्छ ।

गजबको कुरा त के भन्देखिन्, ब्रोथेलमा प्रहरीहरूसित पनि तपाईंको राम्रो मिल्ती हुन्छ । उनीहरूसित गतिलै हिमचिम बढ्छ । युवा छँदा म बारान्किया सहरको एउटा सस्तो होटलमा बस्ने गर्थें, जहाँ नगरवधूहरू आफ्ना ग्राहक लिएर आउने गर्थे । त्यो सहरभरिकै झुर–खत्तम होटल थियो, तर मैले त्यहीँ जीवन–जगत्का महत्त्वपूर्ण कुराहरू सिकेँ ।

वेश्यालयबारे फोकनर एकदमै सही भन्छन् । त्यहाँ निस्फिक्री बाँच्नु गज्जब हुन्छ । ती दिनहरूमा म निकै भोकालु हुन्थेँ । यो सन् १९५० तिरको कुरा हो । ब्रोथेलको रिसेप्सनिस्ट ज्यादै दुब्लो काँटको मान्छे थियो । एउटा आँखा फुटेको । कोठा–भाडा एक डलर जति पर्थ्यो । कोठा फेरिरहनुपर्थ्यो ।

ब्रोथेलको रिसेप्सनिस्टलाई एकपटक मैले आफूसित चुनदाम केही नभएको बताएँ । आफू लेखक–उपन्यासकार भएको जिकिर गर्दै पैसा कहिल्यै पर्याप्त नहुने आफ्नो दयनीय दशाबारे उसलाई भनेँ ।

त्यसबेला म आफ्नो जीवनको पहिलो उपन्यास ‘लिफ र्स्टोर्म’ लेखिरहेको थिएँ । रिसेप्सनिस्टलाई उपन्यासको मनुस्क्रिप्ट देखाउँदै बिन्ती बिसाएँ, ‘यो पाण्डुलिपि मेरो जिन्दगी हो । यसबाहेक मसित केही छैन । यो जिन्दगी बन्दगी राख्नुस् र आजको साँझ मलाई एउटा कोठा दिनुस् ।’ उसले मेरो पाण्डुलिपि ड्रअरभित्र राख्यो र मलाई कोठाको साँचो दियो ।

त्यसपछि त त्यो क्रम नियमित आकस्मिकताजस्तै भइहाल्यो नि ! जब–जब मसित पैसा हुँदैन थियो, तब–तब म उसलाई मनुस्क्रिप्ट दिन्थेँ । र, बदलामा कोठाको साँचो लिन्थेँ । खल्ती रित्तो हुँदा जिन्दगीलाई ब्रोथेलमा बन्दगी राख्थेँ ।

पाब्लो इस्कोबार

डेबिड : तपाईंबारे अनेक गाइँगुइँ हल्लाहरू चलिरहन्छन् । तीमध्ये कतिपय त अत्यन्त अप्रिय खालका समेत हुने गर्छन् । जस्तोकि ड्रगलर्ड पाब्लो इस्कोबार ! भनिन्छ, इस्कोबारले तपाईंलाई उपन्यास लेख्न पैसा दिएका थिए !

मार्खेज : त्यो ज्यादै झुर, मूर्खतापूर्ण हल्ला हो । इस्कोबारसित मैले पैसा नै किन लिनुपर्‍यो ? जबकि मसित इस्कोबारभन्दा बढी पैसा छ ।

डेबिड : इस्कोबार त खर्बपति पो हुन् त !

मार्खेज : ए, है ! ओके, फाइन ! म त्यति धनीचैं होइन । म खर्बपति नहुँला, लखपति पनि नहुँला । हजारपति त अवश्यै हुँला । खासमा म अलिकति पैसा भएको गरिब मान्छे हुँ ।

स्लिपिङ ब्युटिज

डेबिड : अचेल केमा व्यस्त हुनुहुन्छ ? के लेख्दै हुनुहुन्छ ?

मार्खेज : ट्रिलोजी लेख्दै छु । तीन भागको उपन्यास । सबै किताबमा दुई सय पाना हुनेछन् । तीनवटै किताबलाई जोड्ने एउटा धागो हुनेछ : बूढाबूढीबीचको प्रेमकथा ।

के तपाईं बूढो भएसि प्रेम पनि फरक भइजान्छ ? यो विचार मभित्र ‘लभ इन द टाइम अफ कोलेरा’ लेख्नेताका विकसित भएको हो ।

कसोकसो यासुनारी कावाबाताको अद्भुत उपन्यास ‘द हाउस अफ् द स्लिपिङ ब्युटिज’ बाट म अग्घोरै प्रभावित भएँ । जब म कुनै लेखकको अच्छा किताब पढ्छु, तब उक्त लेखकप्रति मभित्र सच्चा अनुराग जागृत भइहाल्छ । प्रेमभाव उत्पन्न हुन्छ । प्रेम त भइहाल्यो, त्यो लेखकप्रति मुग्ध–मोहित भइहाल्छु ।

‘द हाउस अफ् द स्लिपिङ ब्युटिज’ मेरो जीवनको एक मात्र त्यस्तो किताब हो, जसले मलाई लेखकप्रति ईर्ष्यालु बनायो । यासुनारी कावाबाताप्रति डाहा लाग्यो । त्यो उपन्यास पढेपछि मैले आफैंलाई प्रश्न गरेँ : यस्तो किताब मैले किन लेखिनँ ?

डेबिड : त्यो किताब केको बारेमा रहेछ ?

मार्खेज : स्लिपिङ ब्युटिजबारे ।

डेबिड : स्वप्निल सुन्दरीहरूबारे ?

मार्खेज : ज्यु, ज्यु !

डेबिड : इन्ट्रेस्टिङ !

मार्खेज : क्वाइट इन्ट्रेस्टिङ ! इजन्ट इट ?

डेबिड : तपाईंलाई त्यो उपन्यास त्यतिबिघ्न मन पर्नुको कारण ?

मार्खेज : जापानको क्योटो सहरमा एउटा मनोरञ्जन–गृह छ, जहाँ एरिस्टोक्रेटिक वृद्ध मनुवाहरू अत्यन्त सुन्दर एवं बैंसालु स्त्रीहरूलाई हेर्नका निम्ति जाने गर्छन् । ती स्त्रीहरू सर्वांग नग्न छन् । नशालु, लठ्याइएका एवं निद्रालु !

पुरुषहरूले छुँदा ती आइमाई ओइलाइजान्छन् । ‘टच–मी–नट’ का झारझैं मर्झाइहाल्छन् । तसर्थ, ती स्वप्निल मैयाँहरूलाई वृद्ध मनुवाज्ले केवल अवलोकन गर्न पाउँछन् । छुन, छाम्न कदापि पाउँदैनन् । स्पर्श वर्जित छ ।

वृद्ध मनुवाज्लाई केवल स्त्रीहरूको चक्षुपान गरेर मायावी आनन्दको भोगचलन गर्नु छ ।

‘द हाउस अफ् द स्लिपिङ ब्युटिज’ सुन्दर किताब हो । एक दिन मैले आफैंलाई भनेँ : म पनि एउटा यस्तै सुन्दर एवं मायावी किताब लेख्नेछु । क्यारिबियन सेटिङमा । तर, जापानिज युवतिज्लाई क्यारिबियन परिवेशमा ल्याउँदा भने समस्या उत्पन्न हुने देखियो ।

कावाबातियन लेडी पात्रहरूलाई मार्खेजियन उपन्यासको सेटिङमा चित्रण गर्दा सांस्कृतिक गडबडी हुने देखियो किनभने ‘द हाउस अफ द स्लिपिङ ब्युटिज’ का स्वप्न–मैयाँहरूलाई लागूऔषधिले लठ्याइएको हुन्थ्यो । यो त एकदमै जापानिज मटेरियल भइगयो, जो जापानिज ल्यान्डस्केपमा स्वाभाविक नै लाग्थ्यो । तर, त्यसलाई क्यारिबियन ल्यान्डस्केपमा चित्रण गर्दा भने अस्वाभाविक जस्तो लाग्ने भयो । मैले भन्ने कथा त तौबा–तौबा हुने देखियो ।

प्रेमपत्र

डेबिड : अनि छ नि मार्खेज मियाँ ! कोलोम्बियामा तपाईंको मुहार–चित्र अंकित हुलाक टिकट जारी भएको रहेछ !

मार्खेज : त्यही त, हगि ! मेरो मुहारको हुलाक टिकट !

डेबिड : कस्तो लाग्छ ?

मार्खेज : कस्तो लाग्छ भने, मेरो मुहार–चित्र भएको हुलाक टिकट प्रेमपत्रहरूमा मात्र टाँसियोस् ।

उपसंहार/परा–कथन

१७ अंकसित मेरो विशेष लगाव, अनुराग र अभिरुचि छ । आख्यान लेखनमा १७ अंकसित खेल्न मलाई अत्यन्त मन पर्छ । मेरा अधिकांश रचनाहरूमा सत्रांक कुनै–न–कुनै रूपमा प्रकट भइहाल्छ । १७ मेरो मनप्रिय अंक हो ।

केही समयअघिको मात्र कुरा हो । एउटा बुकस्टोरमा मार्क जेड दुयानिलेब्स्कीको अल्ट्रा एक्सपेरिमेन्टल उपन्यास ‘हाउस अफ लिभ्स’ देखेँ, जुन ‘रिमास्टर्ड फुल–कलर एडिसन’ मा छापिएर आएको रहेछ । लिने भइहालेँ किनभने यो किताबलाई मैले काठमान्डुका लगभग सम्पूर्ण बुकस्टोरहरूमा खोजी गर्दा पनि नपाएर केही काल हत्तु हैरान भएको थिएँ ।

डिस्काउन्ट गरेर दयालु पसल्नीले मसित किताबको मूल्य मागिन्, ‘१६ सय दिनुभए हुन्छ ।’ मैले फ्याट्ट भनेँ, ‘किन १६ सय ? १७ सय दिन्छु ।’

१६ सयको किताब मैले १७ सयमा किनिछाडेँ ।

तपाईंको उत्सुक मनमा एउटा स्वाभाविक प्रश्न उठ्न सक्छ, ‘१७ सित किन यस्तो अनुराग, मिस्टर नगरकोटी ?’ मेरो जवाफ पनि अत्यन्त स्वाभाविक नै हुनेछ, ‘किनकि १७ मेरो जन्मांक हो नि त !’

म १७ गते जन्मेको थिएँ, मंसिरमा । बुबा मर्नुभएको थियो १७ मै, वैशाखमा । र, १७ मै मरेका थिए मेरा मनप्रिय लेखक गाब्रियल गार्सिया मार्खेज ।

१७ अप्रिल २०१४ मा मार्खेजको देह नष्ट भएको थियो, मेक्सिको सिटीमा । मर्नका निम्ति मार्खेजले अरू कुनै ‘तारिख’ नभटेको हो ? १७ मै मर्नुपर्ने ? हद होती है यार !

यी त भए १७ का कुरा ! आउनुस् अब वाग्मती किनारमा अवस्थित पचली भैरव मन्दिरको घाटमा जाऔं, जहाँ हरेक वर्षको अप्रिलमा म पितास्मरण (पिता–मरण)को पुण्यतिथि सेलिब्रेट गर्छु, बिथ् ज्वन्ट भ्राताश्री एन्ड ब्राह्मण ।

मार्खेजको देहान्त भएको केही दिन मात्र भएको थियो । बुबाको श्राद्ध–उत्सव मनाउन घाटमा जम्मा भएका थियौं । पिण्डदान गर्नुअघि संस्कृतका अब्स्ट्राक्ट श्लोकहरू उच्चारण गर्दै ब्राह्मणले मसित भने, ‘लौ त जजमानजी । को–को मरेका छन् ? पितृहरूलाई सम्झनुस् र उनीहरूको नामोच्चारण गर्नुस् ।’

मैले बुबाको नामसितै गाब्रियल गार्सिया मार्खेजको नामोच्चारण गरेँ ।

अनौठो किसिमको नाम सुनेर ब्राह्मणजी केही हच्किए । र, आश्चर्य प्रकट गर्दै भने, ‘जजमानजी ! यस्तो नाम धारण गरेको मान्छे तपाईंको कुलघरानमा छजस्तो त मलाई लाग्दैन ।’

नलागेर के भयो ? साहित्यका कारण हामी एउटै कुलघरान हौं । यस्तो कुरा ब्राह्मणलाई बताइरहने कुरा भएन । तैपनि भनेँ, ‘गुरुज्यू ! रगतको साइनो नभए पनि गाब्रियल गार्सिया मार्खेज मेरा आत्मीय हुन् । केही दिनअघि मात्र उनले देहत्याग गरे । मैले अत्यन्त श्रद्धा गर्ने लेखक हुन् । श्रद्धा गरिइने मान्छेको श्राद्ध गर्नु राम्रो कुरा हो ।’

यसरी गाब्रियल गार्सिया मार्खेजलाई मैले आफ्नो पितृ या सोसरह ठानेँ । बुबासितै उनको पनि श्राद्ध गर्दै नदीमा पिण्डदान गरेँ । यो श्रद्धा–लेख नभई श्राद्ध–लेख हुन गएकोमा अब के नै पो गर्न सकिन्छ र !

अन्त्यमा, हुलाक टिकटबारे थोरबहुत चर्चा गर्दै बिदा हुन्छु ।

म हुलाक टिकट संग्रह गर्न रुचाउने फिलाटेलिस्ट त होइन, तर यो श्राद्ध–लेखको शीर्षक ‘मार्खेजको हुलाक टिकट’ मुताबिक मैले कोलोम्बियन लेखकको हुलाक टिकट संग्रह गर्नुपर्ने विषम परिस्थिति आइलाग्या छ ।

मार्खेजका सारा–का–सारा किताबहरू मैले संग्रह गरेको छु । यहाँसम्म कि उनीबारे सिल्भाना पतेरनोस्त्रोद्वारा लिखित हालसालै प्रकाशित ‘सोलिच्युड एन्ड कम्पनी : द लाइफ अफ् गाब्रियल गार्सिया मार्खेज टोल्ड विथ हेल्प अफ हिज फ्रेन्ड्स, फेमिली, फ्यान्स, आर्जुअर्स, फेल्लो प्राङ्कस्टर्स, ड्रङ्कर्स, एन्ड अ फिड रेस्पेक्टेबल सोल्स’ नामक किताब पनि आफ्नो संकलनमा थुपारिसक्या छु ।

तर, हुलाक टिकट ? यसले मलाई थर्ड डिग्रीको टेन्सन दिएको छ । हुलाक टिकट किन्न कहाँ जाने ? कहाँ आउने ? मलाई निकै मर्का पर्‍या छ । पर्नु पीर पर्‍या छ ।

त्यसका निम्ति मसित अब एउटै मात्र उपाय छ । त्यो के भन्देखिन्, कुनै कोलोम्बियन युवतीसित हिमचिम बढाउने । फेसबुक रिक्वेस्ट होइन, निजलाई प्रेमपत्र नै लेखेर पठाउने । र, निजबाट पनि प्रेमपत्रकै अपेक्षा गर्ने, किनभने मार्खेजले भनेकै थिए, ‘मेरो मुहार–चित्र भएको हुलाक टिकट प्रेमपत्रहरूमा मात्र टाँसियोस् ।’

यसबाहेक अरू के नै पो गर्न सकिन्छ र ? उपाय नास्ती !

अचेल म ‘हिप्स डोन्ट लाई’ गाउँदै बारुली कम्मर मर्काई–मर्काई इलेक्ट्रिक डान्स गर्ने गायिका साकिराजस्तै कुनै कोलोम्बियन सेन्योरिताको तलासमा छु, एउटी स्पेनिस मय्जुको आसमा छु, : जसले मलाई हवाई–खामभित्र प्रेमपत्र हालेर पठाओस् ।

र, त्यो खाममा मार्खेजको हुलाक टिकट होस् ।

प्रकाशित : आश्विन १०, २०७७ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्

‘प्रतीक’ प्रोफाइल

साँझ परेपछि वीरगन्ज आइपुग्ने ‘गोरखापत्र’र भारतीय अखबार पढ्ने बानी थियो मानिसहरुको । ‘प्रतीक’को टिम गल्ली–मोहल्ला, सडक घुम्थ्यो र हातमा ‘प्रतीक’ लिएर यो आजै कोअखबार हो, यसमा आफ्नै समाचार छ भनी मानिसहरुमा विश्वास भर्न लागिपर्थ्यो ।
खिमलाल देवकोटा

कोरोनाले निम्त्याएको तनावबीच ‘प्रतीक’ दैनिकले भदौ १ गते आफ्नो ३४औं वार्षिकोत्सव अन्य वर्षझैं धुमधामले होइन, अति सामान्य प्रकारले मनायो । यो लेख काठमाडौंबाहिरबाट छापिने एउटा पत्रिकाको जीवन–संषर्घ हो । एक पत्रिकाको प्रोफाइल ।

२०४४ साल साउन २८ गते ‘प्रतीक’ को पहिलो अंक प्रकाशन भएको थियो । ‘प्रतीक’ को संघर्षसँग मेरो जीवनका पनि केही हिस्सा जोडिएका छन् । मेरो मस्तिष्कमा पुरानो समय ओहोरदोहोर गर्छ ।

वीरगन्जबाट प्रकाशित हुने ‘प्रतीक’ का सम्पादक जगदीश शर्मासँग भेट नभएको भए सम्भवतः पाठकहरूसँग मेरो यस रूपमा भेट हुँदैनथ्यो । उहाँसँग चिनाउने काम कलेजका मित्र बझाङबाट वीरगन्ज पढ्न आएका धर्मदेव जोशीले गरे । ठाकुरराम क्याम्पसमा स्नातक पढ्दा हामी एकै घरमा डेरा बस्थ्यौं ।

२०६० सालतिर डा. दीपक शाक्यको अनुरोधमा वीरगन्ज पब्लिक कलेजमा अर्थशास्त्र अध्यापन गर्न वीरगन्ज जाँदा धर्मदेव जोशी ‘प्रतीक’ मा जागिरे थिए । जोशीको सल्लाह र जगदीश शर्माको अनुरोधमा मैले ‘प्रतीक’ मा आर्थिक विषयमा लेखहरू लेख्न सुरु गरें । सम्पादक जगदीश शर्माले औद्योगिक–व्यावसायिक नगरी वीरगन्जलाई लक्षित गरी हरेक साता अर्थ–पृष्ठ निकालौँ भन्ने प्रस्ताव ल्याउनुभयो र पृष्ठ संयोजनको जिम्मा मलाई दिनुभयो । ‘प्रतीक’ मा प्रत्येक शुक्रबार अतिरिक्त दुई पृष्ठ प्रकाशित हुन्थ्यो– अर्थ, वाणिज्य विषयमा । अध्ययनका निम्ति २०६४ सालमा मैले वीरगन्ज छाडेँ । आफ्नो विषयमा निपुण, पेसाप्रति इमानदार र समर्पित जगदीश शर्मा अनि उहाँको टिमबाट पूर्ण लाभान्वित हुने अवसर मैले प्राप्त गरेँ । उबेलाका साथीहरू शत्रुधन नेपाल, प्रताप श्रेष्ठ, आरके पटेलजस्ता पुराना र स्थापित पत्रकार अहिले पनि ‘प्रतीक’ मा आबद्ध छन् ।

***

२०४४ सालमा अरूकै लेटर प्रेसमा छापिने ‘प्रतीक’ पछि आफ्नै लेटर प्रेसबाट प्रकाशित हुन थालेको थियो । जगदीश शर्माले त्यसबेला काठमाडौंबाट पुरानो फ्ल्याट मेसिन खरिद गरी दैनिक पत्रिका निकाल्ने प्रयास गर्नुभयो तर त्यस प्रविधिले नभ्याउने देखेर साप्ताहिक प्रकाशनमै सन्तोष मान्नुभएको थियो । २०४६ सालको परिवर्तनपश्चात् थुप्रै पत्रपत्रिका प्रकाशित हुन थाले । २०५३ सालमा बैंकबाट ऋण लिएर ‘प्रतीक’ दैनिक रूपमा छाप्न थालियो ।

वीरगन्जका लागि त्यो पहिलो डेस्कटप प्रिन्टिङको सुरुआत थियो । थुप्रै प्राविधिक कठिनाइ थिए । जनशक्ति थिएन, पाठकलाई समाचार ताजा हो भन्ने विश्वास दिलाउन कठिन थियो । साँझ परेपछि वीरगन्ज आइपुग्ने ‘गोरखापत्र’ र भारतीय अखबार पढ्ने बानी थियो मानिसहरूको । ‘प्रतीक’ को टिम गल्ली–मोहल्ला, सडक घुम्थ्यो र हातमा ‘प्रतीक’ लिएर यो आजैको अखबार हो, यसमा

आफ्नै समाचार छ भनी मानिसहरूमा विश्वास भर्न लागिपर्थ्यो ।

मानिसहरू राजनीतिक समाचार बढी चाहन्थे । तर, प्रतीकले समाचार र विभिन्न किसिमका अन्य पठनीय सामग्री पस्केर सबै स्वादका पाठकको चाहना तथा रुचिलाई केही हदसम्म भए पनि परिवर्तन गर्‍यो । अब पाठकहरू बिहानीको चियासँगै प्रतीकको प्रतीक्षा गर्न थाले । माओवादी ‘जनयुद्ध’, राजा वीरेन्द्रको वंश नासका खबरलाई विश्वसनीय रूपमा पस्किन्थ्यो प्रतीकले । र, बिस्तारै पत्रिका जनजनसम्म पुग्न सफल भयो । पर्सा, बारा र रौतहट जिल्लाका कुनाकाप्चासम्म यो पहिल्यै पुगिसकेको थियो । पूर्वमा दमकसम्म पुगेको थियो भने सिन्धुलीमा स्थानीय अखबारजस्तै मान्यता पाएको थियो । एकाबिहानै जनकपुर पनि पुग्थ्यो भने पश्चिममा चितवनसम्मै बजार विस्तार गरेको थियो । माओवादी युद्धताका विभिन्न पक्षबाट निरन्तर यातायात बन्द हुन्थ्यो । त्यसबेला बारा–रौतहटका अधिकांश गाउँमा रक्सौल हुँदै भारतीय रेलबाट पत्रिका पुर्‍याइन्थ्यो । यस काममा भारतीय संवाददाताले सघाउँथे । भारतको रक्सौलसम्मै प्रतीकको गहिरो प्रभाव थियो । म पत्रिकामा रहँदासम्म एक जना कम्युटर अपरेटर थिए, रक्सौलबाट काम गर्ने ।

मोसफलको पत्रिका भए पनि यसमा विद्वान्, लेखक, पत्रकार, सांसदहरू, अधिवक्ता, मन्त्रीहरूले आफ्नो संलग्नता जनाएका छन् । बाराबाट प्रतिनिधित्व गर्ने सांसदद्वय फरमुल्लाह मन्सुर र पुरुषोत्तम पौडेल (दुवै जना मन्त्रीसमेत भए), रामनारायण बिडारी, लेखकहरू ध्रुवचन्द्र गौतम, वेदव्यास न्यौपाने, पत्रकारहरू चन्द्रकिशोर र गिरीश गिरी एक कालखण्डमा प्रतीकसँग संलग्न थिए ।

प्रतीक साप्ताहिकबाट दैनिक बनेपछि मात्रै राष्ट्रिय ‘क’ वर्गको पत्रिकामा दरिएको होइन, साप्ताहिक छँदै सम्भवतः मोफसलबाट प्रकाशन हुने पत्रिकामध्ये पहिलो ‘क’ वर्गको पत्रिका थियो । मोफसलमा राससको अनलाइन समाचार खरिद गर्ने, फोटो छाप्ने पहिलो पत्रिका पनि हो यो ।

पञ्चायतकालमा जन्मेको यो पत्रिका शून्यबाट आरम्भ भएको हो । जगदीश शर्मा भन्नुहुन्छ– त्यसबेला अभिव्यक्ति दिने स्वतन्त्रताका लागि मात्र केही कालसम्म पत्रिका चलाउने सोच थियो । किनभने पत्रिकामा लगानी गर्न पर्याप्त पैसा थिएन । पछि पत्रकारिता बानी बन्यो । तर, पत्रिकाका लागि पर्याप्त विज्ञापन थिएन । विज्ञापनलाई कृपा ठानिन्थ्यो । त्यसैले कृपास्वरूप राजाको जन्मदिन, दसैंजस्ता पर्वमा मात्र शुभकामना विज्ञापन हात लाग्थ्यो । संवाददाताहरू निःशुल्क काम गर्थे । आफ्नो पारिश्रमिक यस्तै ‘कृपा–विज्ञापन’ बाट असुल गर्थे । धेरै प्रयासपछि विज्ञापन आउन थाल्यो तर त्यसको रूप बार्टर–शैलीको थियो । अर्थात् ‘विज्ञापन छाप, उत्पादित वस्तु लेऊ ।’

तत्कालीन शाही नेपाल वायु सेवा निगमले विज्ञापन तथा उसका एयरक्राफ्टमा अखबार राखेबापत केही टिकट दिन्थ्यो । वीरगन्जका हालका मेयर विजय सरावगीका पिता चिरञ्जीवी सरावगीले साबुन कारखाना खोलेका थिए, विज्ञापन छापेबापत पत्रिकालाई केही दर्जन साबुन दिन्थे । एक फर्निचर उद्योगले विज्ञापन छापेबापत एउटा पलङ नै दिएको थियो । तर, समस्या आयो स्व. बिहारीलाल लाठको समयमा । उनको बिँडी बनाउने उद्योग थियो । बिँडी लिने कुरा आएन, वर्षभरि विज्ञापन छापेबापत १२ सय रुपैयाँ दिएका थिए । ‘यो नै पत्रिकाको पहिलो वर्षको पहिलो व्यावसायिक विज्ञापन थियो’ जगदीश शर्मा भन्नुहुन्छ ।

सरकारले लोककल्याणकारी विज्ञापनबाहेक अरू सहयोग गर्दैन, त्यो पनि ६ महिना, वर्ष दिनपछि भुक्तानी दिन्छ । भुक्तानीको ठेगान हुँदैन । देशका ठूला औद्योगिक घराना वीरगन्जकै हुन् तर वीरगन्जका अखबारहरूमा तिनका विज्ञापन छापिँदैनन् । एउटालाई दियो भने बाँकी दैनिकले दिक्क पार्न थाल्छन्, विज्ञापन नपाएपछि तथानाम लेख्न सुरु गर्छन् । त्यसैले न कुनै अखबार उँभो लाग्न पाएको छ न पत्रकारहरूको नै सम्मान भएको छ ।

२०५३ साल साउनमा प्रकाशित भएको प्रतीकको नमुना अंकदेखि नै शनिवारीय परिशिष्टांक ‘वाटिका’ पनि छापिन सुरु भयो । यसमा विद्यालयका साना बालबालिकादेखि लेखक, साहित्यकारहरूका लेखहरू प्रकाशित हुँदै आएका छन् । यसै संस्थाको कार्यालयमा गजलकार घनश्याम परिश्रमी, धर्मेन्द्र भट्टराई, चन्द्रकिशोरलगायतको उपस्थितिमा २०५३ सालमा प्रत्येक महिनाको अन्तिम शनिबार सुरु भएको ‘प्रभात काव्ययात्रा’ आजपर्यन्त जारी छ । सुरुको दिनमा प्रतीकले ‘जमर्को’ साहित्यिक पत्रिका पनि सुरु गरेको थियो तर दुई अंक प्रकाशित भएर त्यो थन्कियो ।

पत्रकारिता, यसमा संलग्न व्यक्तिहरूका लागि लोकधर्म हो भन्ने मान्यता राख्ने जगदीश शर्माले प्रतीक साप्ताहिकको पहिलो अंकको पहिलो पानामा आफ्नो आचारसंहिता छाप्नुभएको थियो । नेपाल पत्रकार महासंघले २०५३ सालमा वीरगन्जमा सम्पन्न अधिवेशनमा मात्रै पत्रकारहरूको आचारसंहिता निर्माण गरेको हो । यस धर्ममा अडिग रहँदा उहाँले गरेको संघर्षको म पनि साक्षी छु । जस्तोसुकै प्रलोभनमा पनि कहिल्यै नझुक्ने नैतिक बल, त्यही आचारसंहिताका कारण प्राप्त गरेको उहाँ बताउनुहुन्छ । राजा ज्ञानेन्द्रको शासनकालमा उहाँलाई वीरगन्जको मेयर बन्ने प्रस्ताव आएको थियो, जसलाई उहाँले तत्काल अस्वीकार गरेर बरु पत्रकारिताबाट हुन सक्ने राम्रो काममा सहयोग र सुझाव दिन्छु भनेको मलाई राम्ररी स्मरण छ ।

पत्रकारिताप्रति यसै अडानका कारण माओवादी युद्ध, मधेस आन्दोलनताका पनि निर्भय र तथ्यगत समाचार सम्प्रेषण गर्न सजिलो भएको जगदीश शर्माको ठम्याइ छ । एकपटक माओवादीहरूले आफूविरुद्ध समाचार लेखेको भनेर अनकण्टार स्थानमा उहाँलाई बोलाएका थिए । उहाँ निर्भीक भएर जानुभयो र आफ्नो पक्षको कुरा राख्नुभयो ।

माआवादीले राखेको आफ्ना लागि काम गर्नुपर्ने सर्त उहाँले अस्वीकार गर्नुभयो । उहाँले भन्नुभयो— समाचार जसको होस्, लोकहितमा छ भने लेख्छु, होइन कारबाही गर्नु छ भने म आएको छु गर्नुस् । त्यसपछि माओवादीले उहाँलाई खाना खुवाएर बिदा गरे ।

पछि ‘सूर्य नेपाल’ कम्पनीका तीन जनाको अपहरणपछि, उनीहरूको सकुशलताको साक्षी बनाउन अन्य व्यक्तिका साथ जगदीश शर्मालाई पनि बोलाएको मलाई सम्झना छ । एकातिर माओवादीको यस्तो चेप थियो भने अर्कोतिर सरकारको दृष्टि जहिले पनि प्रतीकप्रति सन्देहात्मक बनिरह्यो । यहाँसम्म कि रौतहटमा २०५६ साल चैत १५ गते नेपाली कांग्रेसका तत्कालीन मन्त्री आफताब आलमको घरमा माओवादीले आक्रमण गर्दाको खबर छापेबापत सो सम्बन्धमा गठन भएको छानबिन आयोगले समेत उहाँलाई समाचार कसरी प्राप्त भयो, माओवादीसँग के सम्बन्ध छ भनी व्यापक सोधखोज गरेको थियो ।

केही पक्षबाहेक दोस्रो मधेस आन्दोलनलाई समर्थन गरेको प्रतीकको कार्यालयमा, आफूअनुसार नलेखेको भन्दै आन्दोलनकारीले तोडफोड गर्दा लाखौं रुपैयाँको क्षति भएको थियो । त्यस बेलाको त्रासले धेरैले प्रतीकसँग आफ्नो सम्पर्क नै तोडेका थिए । तर पछि तिनै मधेस आन्दोलनका पक्षधरहरूले सार्वजनिक मञ्चबाट प्रतीकको तारिफ गरेका थिए ।

जगदीश शर्मा उमेरले सत्तरी पुगिसके । तर, सम्पादकीय काममा अहिले पनि निरन्तर खट्छन् । मोफसल पत्रकार जगत्का लागि उनी धरोहर हुन् । प्रतीकले बनाएको बेग्लै पहिचान जोगाउन यसको स्थायित्व र निरन्तरताको जरुरी छ ।

प्रकाशित : आश्विन ३, २०७७ १२:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×