‘प्रतीक’ प्रोफाइल- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘प्रतीक’ प्रोफाइल

साँझ परेपछि वीरगन्ज आइपुग्ने ‘गोरखापत्र’र भारतीय अखबार पढ्ने बानी थियो मानिसहरुको । ‘प्रतीक’को टिम गल्ली–मोहल्ला, सडक घुम्थ्यो र हातमा ‘प्रतीक’ लिएर यो आजै कोअखबार हो, यसमा आफ्नै समाचार छ भनी मानिसहरुमा विश्वास भर्न लागिपर्थ्यो ।
खिमलाल देवकोटा

कोरोनाले निम्त्याएको तनावबीच ‘प्रतीक’ दैनिकले भदौ १ गते आफ्नो ३४औं वार्षिकोत्सव अन्य वर्षझैं धुमधामले होइन, अति सामान्य प्रकारले मनायो । यो लेख काठमाडौंबाहिरबाट छापिने एउटा पत्रिकाको जीवन–संषर्घ हो । एक पत्रिकाको प्रोफाइल ।

२०४४ साल साउन २८ गते ‘प्रतीक’ को पहिलो अंक प्रकाशन भएको थियो । ‘प्रतीक’ को संघर्षसँग मेरो जीवनका पनि केही हिस्सा जोडिएका छन् । मेरो मस्तिष्कमा पुरानो समय ओहोरदोहोर गर्छ ।

वीरगन्जबाट प्रकाशित हुने ‘प्रतीक’ का सम्पादक जगदीश शर्मासँग भेट नभएको भए सम्भवतः पाठकहरूसँग मेरो यस रूपमा भेट हुँदैनथ्यो । उहाँसँग चिनाउने काम कलेजका मित्र बझाङबाट वीरगन्ज पढ्न आएका धर्मदेव जोशीले गरे । ठाकुरराम क्याम्पसमा स्नातक पढ्दा हामी एकै घरमा डेरा बस्थ्यौं ।

२०६० सालतिर डा. दीपक शाक्यको अनुरोधमा वीरगन्ज पब्लिक कलेजमा अर्थशास्त्र अध्यापन गर्न वीरगन्ज जाँदा धर्मदेव जोशी ‘प्रतीक’ मा जागिरे थिए । जोशीको सल्लाह र जगदीश शर्माको अनुरोधमा मैले ‘प्रतीक’ मा आर्थिक विषयमा लेखहरू लेख्न सुरु गरें । सम्पादक जगदीश शर्माले औद्योगिक–व्यावसायिक नगरी वीरगन्जलाई लक्षित गरी हरेक साता अर्थ–पृष्ठ निकालौँ भन्ने प्रस्ताव ल्याउनुभयो र पृष्ठ संयोजनको जिम्मा मलाई दिनुभयो । ‘प्रतीक’ मा प्रत्येक शुक्रबार अतिरिक्त दुई पृष्ठ प्रकाशित हुन्थ्यो– अर्थ, वाणिज्य विषयमा । अध्ययनका निम्ति २०६४ सालमा मैले वीरगन्ज छाडेँ । आफ्नो विषयमा निपुण, पेसाप्रति इमानदार र समर्पित जगदीश शर्मा अनि उहाँको टिमबाट पूर्ण लाभान्वित हुने अवसर मैले प्राप्त गरेँ । उबेलाका साथीहरू शत्रुधन नेपाल, प्रताप श्रेष्ठ, आरके पटेलजस्ता पुराना र स्थापित पत्रकार अहिले पनि ‘प्रतीक’ मा आबद्ध छन् ।

***

२०४४ सालमा अरूकै लेटर प्रेसमा छापिने ‘प्रतीक’ पछि आफ्नै लेटर प्रेसबाट प्रकाशित हुन थालेको थियो । जगदीश शर्माले त्यसबेला काठमाडौंबाट पुरानो फ्ल्याट मेसिन खरिद गरी दैनिक पत्रिका निकाल्ने प्रयास गर्नुभयो तर त्यस प्रविधिले नभ्याउने देखेर साप्ताहिक प्रकाशनमै सन्तोष मान्नुभएको थियो । २०४६ सालको परिवर्तनपश्चात् थुप्रै पत्रपत्रिका प्रकाशित हुन थाले । २०५३ सालमा बैंकबाट ऋण लिएर ‘प्रतीक’ दैनिक रूपमा छाप्न थालियो ।

वीरगन्जका लागि त्यो पहिलो डेस्कटप प्रिन्टिङको सुरुआत थियो । थुप्रै प्राविधिक कठिनाइ थिए । जनशक्ति थिएन, पाठकलाई समाचार ताजा हो भन्ने विश्वास दिलाउन कठिन थियो । साँझ परेपछि वीरगन्ज आइपुग्ने ‘गोरखापत्र’ र भारतीय अखबार पढ्ने बानी थियो मानिसहरूको । ‘प्रतीक’ को टिम गल्ली–मोहल्ला, सडक घुम्थ्यो र हातमा ‘प्रतीक’ लिएर यो आजैको अखबार हो, यसमा

आफ्नै समाचार छ भनी मानिसहरूमा विश्वास भर्न लागिपर्थ्यो ।

मानिसहरू राजनीतिक समाचार बढी चाहन्थे । तर, प्रतीकले समाचार र विभिन्न किसिमका अन्य पठनीय सामग्री पस्केर सबै स्वादका पाठकको चाहना तथा रुचिलाई केही हदसम्म भए पनि परिवर्तन गर्‍यो । अब पाठकहरू बिहानीको चियासँगै प्रतीकको प्रतीक्षा गर्न थाले । माओवादी ‘जनयुद्ध’, राजा वीरेन्द्रको वंश नासका खबरलाई विश्वसनीय रूपमा पस्किन्थ्यो प्रतीकले । र, बिस्तारै पत्रिका जनजनसम्म पुग्न सफल भयो । पर्सा, बारा र रौतहट जिल्लाका कुनाकाप्चासम्म यो पहिल्यै पुगिसकेको थियो । पूर्वमा दमकसम्म पुगेको थियो भने सिन्धुलीमा स्थानीय अखबारजस्तै मान्यता पाएको थियो । एकाबिहानै जनकपुर पनि पुग्थ्यो भने पश्चिममा चितवनसम्मै बजार विस्तार गरेको थियो । माओवादी युद्धताका विभिन्न पक्षबाट निरन्तर यातायात बन्द हुन्थ्यो । त्यसबेला बारा–रौतहटका अधिकांश गाउँमा रक्सौल हुँदै भारतीय रेलबाट पत्रिका पुर्‍याइन्थ्यो । यस काममा भारतीय संवाददाताले सघाउँथे । भारतको रक्सौलसम्मै प्रतीकको गहिरो प्रभाव थियो । म पत्रिकामा रहँदासम्म एक जना कम्युटर अपरेटर थिए, रक्सौलबाट काम गर्ने ।

मोसफलको पत्रिका भए पनि यसमा विद्वान्, लेखक, पत्रकार, सांसदहरू, अधिवक्ता, मन्त्रीहरूले आफ्नो संलग्नता जनाएका छन् । बाराबाट प्रतिनिधित्व गर्ने सांसदद्वय फरमुल्लाह मन्सुर र पुरुषोत्तम पौडेल (दुवै जना मन्त्रीसमेत भए), रामनारायण बिडारी, लेखकहरू ध्रुवचन्द्र गौतम, वेदव्यास न्यौपाने, पत्रकारहरू चन्द्रकिशोर र गिरीश गिरी एक कालखण्डमा प्रतीकसँग संलग्न थिए ।

प्रतीक साप्ताहिकबाट दैनिक बनेपछि मात्रै राष्ट्रिय ‘क’ वर्गको पत्रिकामा दरिएको होइन, साप्ताहिक छँदै सम्भवतः मोफसलबाट प्रकाशन हुने पत्रिकामध्ये पहिलो ‘क’ वर्गको पत्रिका थियो । मोफसलमा राससको अनलाइन समाचार खरिद गर्ने, फोटो छाप्ने पहिलो पत्रिका पनि हो यो ।

पञ्चायतकालमा जन्मेको यो पत्रिका शून्यबाट आरम्भ भएको हो । जगदीश शर्मा भन्नुहुन्छ– त्यसबेला अभिव्यक्ति दिने स्वतन्त्रताका लागि मात्र केही कालसम्म पत्रिका चलाउने सोच थियो । किनभने पत्रिकामा लगानी गर्न पर्याप्त पैसा थिएन । पछि पत्रकारिता बानी बन्यो । तर, पत्रिकाका लागि पर्याप्त विज्ञापन थिएन । विज्ञापनलाई कृपा ठानिन्थ्यो । त्यसैले कृपास्वरूप राजाको जन्मदिन, दसैंजस्ता पर्वमा मात्र शुभकामना विज्ञापन हात लाग्थ्यो । संवाददाताहरू निःशुल्क काम गर्थे । आफ्नो पारिश्रमिक यस्तै ‘कृपा–विज्ञापन’ बाट असुल गर्थे । धेरै प्रयासपछि विज्ञापन आउन थाल्यो तर त्यसको रूप बार्टर–शैलीको थियो । अर्थात् ‘विज्ञापन छाप, उत्पादित वस्तु लेऊ ।’

तत्कालीन शाही नेपाल वायु सेवा निगमले विज्ञापन तथा उसका एयरक्राफ्टमा अखबार राखेबापत केही टिकट दिन्थ्यो । वीरगन्जका हालका मेयर विजय सरावगीका पिता चिरञ्जीवी सरावगीले साबुन कारखाना खोलेका थिए, विज्ञापन छापेबापत पत्रिकालाई केही दर्जन साबुन दिन्थे । एक फर्निचर उद्योगले विज्ञापन छापेबापत एउटा पलङ नै दिएको थियो । तर, समस्या आयो स्व. बिहारीलाल लाठको समयमा । उनको बिँडी बनाउने उद्योग थियो । बिँडी लिने कुरा आएन, वर्षभरि विज्ञापन छापेबापत १२ सय रुपैयाँ दिएका थिए । ‘यो नै पत्रिकाको पहिलो वर्षको पहिलो व्यावसायिक विज्ञापन थियो’ जगदीश शर्मा भन्नुहुन्छ ।

सरकारले लोककल्याणकारी विज्ञापनबाहेक अरू सहयोग गर्दैन, त्यो पनि ६ महिना, वर्ष दिनपछि भुक्तानी दिन्छ । भुक्तानीको ठेगान हुँदैन । देशका ठूला औद्योगिक घराना वीरगन्जकै हुन् तर वीरगन्जका अखबारहरूमा तिनका विज्ञापन छापिँदैनन् । एउटालाई दियो भने बाँकी दैनिकले दिक्क पार्न थाल्छन्, विज्ञापन नपाएपछि तथानाम लेख्न सुरु गर्छन् । त्यसैले न कुनै अखबार उँभो लाग्न पाएको छ न पत्रकारहरूको नै सम्मान भएको छ ।

२०५३ साल साउनमा प्रकाशित भएको प्रतीकको नमुना अंकदेखि नै शनिवारीय परिशिष्टांक ‘वाटिका’ पनि छापिन सुरु भयो । यसमा विद्यालयका साना बालबालिकादेखि लेखक, साहित्यकारहरूका लेखहरू प्रकाशित हुँदै आएका छन् । यसै संस्थाको कार्यालयमा गजलकार घनश्याम परिश्रमी, धर्मेन्द्र भट्टराई, चन्द्रकिशोरलगायतको उपस्थितिमा २०५३ सालमा प्रत्येक महिनाको अन्तिम शनिबार सुरु भएको ‘प्रभात काव्ययात्रा’ आजपर्यन्त जारी छ । सुरुको दिनमा प्रतीकले ‘जमर्को’ साहित्यिक पत्रिका पनि सुरु गरेको थियो तर दुई अंक प्रकाशित भएर त्यो थन्कियो ।

पत्रकारिता, यसमा संलग्न व्यक्तिहरूका लागि लोकधर्म हो भन्ने मान्यता राख्ने जगदीश शर्माले प्रतीक साप्ताहिकको पहिलो अंकको पहिलो पानामा आफ्नो आचारसंहिता छाप्नुभएको थियो । नेपाल पत्रकार महासंघले २०५३ सालमा वीरगन्जमा सम्पन्न अधिवेशनमा मात्रै पत्रकारहरूको आचारसंहिता निर्माण गरेको हो । यस धर्ममा अडिग रहँदा उहाँले गरेको संघर्षको म पनि साक्षी छु । जस्तोसुकै प्रलोभनमा पनि कहिल्यै नझुक्ने नैतिक बल, त्यही आचारसंहिताका कारण प्राप्त गरेको उहाँ बताउनुहुन्छ । राजा ज्ञानेन्द्रको शासनकालमा उहाँलाई वीरगन्जको मेयर बन्ने प्रस्ताव आएको थियो, जसलाई उहाँले तत्काल अस्वीकार गरेर बरु पत्रकारिताबाट हुन सक्ने राम्रो काममा सहयोग र सुझाव दिन्छु भनेको मलाई राम्ररी स्मरण छ ।

पत्रकारिताप्रति यसै अडानका कारण माओवादी युद्ध, मधेस आन्दोलनताका पनि निर्भय र तथ्यगत समाचार सम्प्रेषण गर्न सजिलो भएको जगदीश शर्माको ठम्याइ छ । एकपटक माओवादीहरूले आफूविरुद्ध समाचार लेखेको भनेर अनकण्टार स्थानमा उहाँलाई बोलाएका थिए । उहाँ निर्भीक भएर जानुभयो र आफ्नो पक्षको कुरा राख्नुभयो ।

माआवादीले राखेको आफ्ना लागि काम गर्नुपर्ने सर्त उहाँले अस्वीकार गर्नुभयो । उहाँले भन्नुभयो— समाचार जसको होस्, लोकहितमा छ भने लेख्छु, होइन कारबाही गर्नु छ भने म आएको छु गर्नुस् । त्यसपछि माओवादीले उहाँलाई खाना खुवाएर बिदा गरे ।

पछि ‘सूर्य नेपाल’ कम्पनीका तीन जनाको अपहरणपछि, उनीहरूको सकुशलताको साक्षी बनाउन अन्य व्यक्तिका साथ जगदीश शर्मालाई पनि बोलाएको मलाई सम्झना छ । एकातिर माओवादीको यस्तो चेप थियो भने अर्कोतिर सरकारको दृष्टि जहिले पनि प्रतीकप्रति सन्देहात्मक बनिरह्यो । यहाँसम्म कि रौतहटमा २०५६ साल चैत १५ गते नेपाली कांग्रेसका तत्कालीन मन्त्री आफताब आलमको घरमा माओवादीले आक्रमण गर्दाको खबर छापेबापत सो सम्बन्धमा गठन भएको छानबिन आयोगले समेत उहाँलाई समाचार कसरी प्राप्त भयो, माओवादीसँग के सम्बन्ध छ भनी व्यापक सोधखोज गरेको थियो ।

केही पक्षबाहेक दोस्रो मधेस आन्दोलनलाई समर्थन गरेको प्रतीकको कार्यालयमा, आफूअनुसार नलेखेको भन्दै आन्दोलनकारीले तोडफोड गर्दा लाखौं रुपैयाँको क्षति भएको थियो । त्यस बेलाको त्रासले धेरैले प्रतीकसँग आफ्नो सम्पर्क नै तोडेका थिए । तर पछि तिनै मधेस आन्दोलनका पक्षधरहरूले सार्वजनिक मञ्चबाट प्रतीकको तारिफ गरेका थिए ।

जगदीश शर्मा उमेरले सत्तरी पुगिसके । तर, सम्पादकीय काममा अहिले पनि निरन्तर खट्छन् । मोफसल पत्रकार जगत्का लागि उनी धरोहर हुन् । प्रतीकले बनाएको बेग्लै पहिचान जोगाउन यसको स्थायित्व र निरन्तरताको जरुरी छ ।

प्रकाशित : आश्विन ३, २०७७ १२:११
प्रतिक्रिया
पठाउनुहोस्

छोप्‍न खोजेका विषय उघारिँदै गए

कान्तिपुर संवाददाता

अर्थशास्त्रका प्राध्यापक विश्वम्भर प्याकुर्‍याल संगीत, साहित्यका पारखी हुन् । नारायणगोपालले गाएको ‘तिमीले भनेका सारा देव छोएर’ गीतका गीतकार प्याकुर्‍यालको आत्मकथा ‘आफैंलाई खोज्दा’ हालै प्रकाशित छ ।

माल्दिभ्स र श्रीलंकाका लागि नेपाली राजदूत रहिसकेका अर्थशास्त्रका पीएचडी प्याकुर्‍यालका यसअघि अर्थशास्त्रलगायतका विषयमा १३ पुस्तक प्रकाशित छन् । उनीसँग गरिएको किताब वार्ता–

तपाईंका विचारमा पढ्नु के–का लागि होला ?

पढ्न एकाग्रताको आवश्यकता पर्छ । लेख–पुस्तक लेख्न, विचार तिखार्न अध्ययनले मद्दत गर्छ । अध्ययनले आत्मविश्वास बढाउँछ, तर्क, संवाद गर्ने ताकत दिन्छ ।

हालसालै पढेको हृदयस्पर्शी कुनै किताब ?

किताब पुरानै हुन् तर ती मैले लकडाउनमा पढें । जेम्स ए. डोर्न र बरुण यस. मित्राले सम्पादन गरेको ‘पिटर बउर एन्ड द इकोनोमिक्स अफ प्रस्पेरिटी’ र सन् २०१९ मा प्रकाशित पल मेसनलिखित ‘क्लियर ब्राइट फ्युचर– अ र्‍याडिकल डिफेन्स अफ द ह्युमन बिइङ’ पढिरहेको छु ।

तपाईं अन्तर्राष्ट्रिय मामिलाको जानकार पनि हुनुहुन्छ । अन्तर्राष्ट्रिय मामिलामा लेखिएका असाध्यै मन परेका किताब पाठकलाई सिफारिस गर्नुस् न !

यस्ता किताब अनगिन्ति छन् । तर, मलाई साह्रै मन परेको र अन्तर्राष्ट्रिय मामिलामा रुचि राख्ने विद्यार्थीले वालेस थिजको ‘ह्वेन गभरमेन्ट्स कोलाइड’ अनि थमस सेलिङको ‘द स्ट्राटेजी अफ कन्फ्लिक्ट’ पढ्दा राम्रै ज्ञान हासिल होला ।

मन परेका किताबलाई के गर्नुहुन्छ ? देखिने ठाउँमा सजाउनुहुन्छ या सिरानीछेउ राख्नुहुन्छ ?

मन परेका किताब देखिने ठाउँमा सगर्व सजाएर राख्छु । तर, समयअनुसार र प्राथमिकताअनुसार सजाउने स्थान र पुस्तक भने परिवर्तन भइराख्छन् ।

नेपाली साहित्यमा प्रकाशित पछिल्ला आख्यान/ गैरआख्यान/ आत्मकथा कत्तिको पढ्नुहुन्छ ?

पछिल्लो समय प्राविधिक कारणले अर्थशास्त्रका भन्दा अन्य पुस्तक पढ्ने समय खासै मिलेको छैन । तर, पढेका केही किताबमा ‘अन्तर्मनको यात्रा’, ‘पल्पसा क्याफे’, ‘मेरो समय’, ‘खुशी’, ‘महको म’, ‘नथिया’ मन पर्छन् ।

तपाईंले पढेका सामाजिक–राजनीतिक किताबमध्ये पाठकलाई कस्ता किताब रिफर गर्न चाहनुहुन्छ ?

मैले स्नातकोत्तर तहमा प्राध्यापन गरेको थोर्सटिन भेबलिनको ‘द थिअरी अफ् लिजर क्लास’ रिफर गर्न चाहन्छु । यो सामाजिक–राजनीतिक व्यङ्ग्यको अनुपम उदाहरण हो ।

नेपालीमा कस्ता किताब लेखिएका छैनन् ? कस्ता लेखिनुपर्छ ?

अन्य विधामा नबोलूँ किनभने मेरो अध्ययन पुगेको छैन । तर, अर्थशास्त्रमा बोल्न सक्छु । महेशचन्द्र रेग्मीले लेखेका केही उल्लेखनीय किताबबाहेक नेपालमा हिस्टोरिकल इकोनोमिस्ट नै छैनन् । र, यसको महत्त्व हामी धेरैले बुझेकै छैनौं । यसअलावा इन्स्टिट्युसनल अर्थशास्त्रमा किताब पनि अभाव छन् ।

नेपाली समाज र इतिहासमाथि लेखिएका किताबका कमजोर पक्ष के होलान् ?

समाज र इतिहासका विषयमा लेखिएका धेरैजसो किताब राम्रै लाग्छन् । कमजोर पक्ष केलाउनतिर नलागौं । बरु मलाई लाग्छ– सूचनाको उपलब्धताको जटिलताले लेखक अन्योलमा पर्नु स्वाभाविकै हो ।

पढ्नु तपाईंका लागि के हो ? आनन्द, बाध्यता कि ज्ञानको अभीप्सा ?

यो जीवनमा परीक्षा दिनुपर्ने दिन अब सकिएकाले किताब पढ्नु मेरा लागि आनन्द र ज्ञानको अभीप्सा हो । बाध्यता कदापि होइन ।

स्कुल–क्याम्पसमा पढेका कस्ता किताब जीवनमा उपयोगी भए ?

स्कूले जीवनमा हाम्रा पुस्तकालय भनेकै शिक्षक हुन्थे । हाम्रो समयमा जे पढे पनि कोर्समा भएका ओरिजिनल किताब नै हुन्थे । स्कूल–क्याम्पसमा पढेका किताब सैद्धान्तिक ज्ञानका लागि अहिलेसम्मै उपयोगी छन् ।

घरमा तपाईंसँग कति किताब छन् ? तीमध्ये प्रिय पाँचको लिस्ट बनाउनुस् न !

घरमा, कौसीमा, थिङ्क ट्यांक कार्यालयको मेरो कोठामा, नेपाल अर्थिक संघको कार्यकक्षमा गरी हजारौं किताब छन् । तीमध्ये यीचाहिँ प्रिय हुन् भनेर लिस्ट बनाउनु सम्भव छैन । पाँच प्रिय किताबको सूची तयार पार्ने विषय साना छोरा–छोरीलाई बा र आमामध्ये को प्रिय भनेर जिस्क्याउनुजस्तो सजिलो होइन ।

तपाईंको आत्मकथा ‘आफैंलाई खोज्दा’ को कभरमै लेखिएको छ– ‘केही छोपिएका, केही उघारिएका’ । ‘छोपिएका’ विषय उघार्नुपर्छ भन्ने किन लाग्यो ?

यो मैले आफैंलाई खोज्दाको कथा हो– जीवनभरका सुख–दुःखको संकलन । आफ्ना भोगाइलाई आफैंसँग किरिया खाएर जस्ताको तस्तै लेखेको छु । लेखक पनि स्वयं, पात्र पनि आफैं । कतिपय विषय भन्न सकिन्न । त्यसैले लाग्यो– लेख्ने आँट गर्नुपर्छ ।

लेख्दै गएँ, छोप्न खोजेका विषय उघारिँदै गए, उघार्न खोजेका विषय पनि आवश्यकताभन्दा बढी उघारिए । यो कुरा मैले किताबको ‘आरम्भ’ मा पनि लेखेको छु ।

प्रकाशित : आश्विन ३, २०७७ १२:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×