१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बालबालिकालाई ‘कोसेली’

राम्रा, नयाँ, सचित्र किताब हात परेको दिन केटाकेटी किताबसँगै रमाउँछन् । खुसी भएर किताब ओल्टाइपल्टाइ गर्छन् । सक्दो छिटो पढिसक्छन् । ‘ पढ’ भन्नै पर्दैन ।

सानो छँदा ‘चित्र छ कि छैन ?’ भन्दै पाना पल्टाउँदै किताबसँग खेलेको सम्झना मजस्तै धेरैसँग हुनुपर्छ । मेरो समयका किताबमा विरलै हुन्थे चित्र । चित्र भए पनि सामान्यतया रङ्गीन हुँदैनथे । किताबका पानामा चित्र छन् कि छैनन् भन्दै अनुमान गर्ने खेल बडो आनन्दको हुन्थ्यो ।

बालबालिकालाई ‘कोसेली’

आजकाल हामी प्रायः यस्तो सुन्न अभिशप्त छौं, ‘केटाकेटी किताबै पढ्दैनन् ! पढाइमा ध्यानै दिँदैदन् ! भएका किताब पनि पढ्दैनन् !’

अभिभावक/शिक्षकका यस्ता डायलग खारेज गर्न जरुरी छन्– राम्रा, सचित्र किताब । राम्रा, नयाँ, सचित्र किताब हात परेको दिन केटाकेटी किताबसँगै रमाउँछन् । खुसी भएर किताब ओल्टाइपल्टाइ गर्छन् । सक्दो छिटो पढिसक्छन् । ‘पढ’ भन्नै पर्दैन ।

प्रश्न उठ्छ, कुन किताब राम्रो ? राम्रा किताब कहाँ पाइन्छन् ? यसै सन्दर्भमा, सचित्र किताब प्रालिले एकैपटक प्रकाशन गरेको छ, १० सुन्दर बालकिताब– ‘कोसेली’ । ‘३ वर्षदेखि १० वर्षसम्मका बालबालिकाका लागि सचित्र किताबको कोसेली’ भनेर चिटिक्कको प्याकेटमा किताबहरू राखी होम डेलिभरी पनि गरिरहेको छ । तिनै दस किताबमाथि संक्षिप्त चर्चा गरौं ।

‘आकारको घाउ’ रत्न प्रजापतिको कथा हो । चित्रचाहिँ समित श्रेष्ठको । कथामा ग्याजेट नै आकारको साथी हुन्छ । उसका आँखा कमजोर बन्छन् । ऊ हरेक विषयमा पछि पर्दै जान्छ । साथीहरू पनि टाढिन्छन्, ऊ एक्लिन्छ । ग्याजेटको लतले बालबालिकामा पर्ने असरबाट बच्न सचेत गराउँछ कथाले ।

सिर्जना शर्माको लेखन र नीलम भुर्तेलको चित्रमा तयार पारिएको छ ‘उपहार’ । आदित्यको जन्मदिनको विषयमा लेखिएको कथामा ‘के उपहार दिने ?’ भन्ने दुविधा प्रस्तुत छ । मौलिक खानालाई महत्त्व र जङ्क फुडलाई निरुत्साहित गर्न कथाले प्रेरित गर्छ ।

‘कथा भन्ने खाट’ मा शाश्वत पराजुलीले खाटलाई पात्र बनाएर कथा लेखेका छन् । चित्र छ– कृष्णगोपाल श्रेष्ठको । बाआमाले खाट बेच्न लागेको कुरा हजुरबाको कथा सुनेका मिलनलाई मन नपरेको प्रसंगबाट कथा अगाडि बढ्छ ।

‘के पो गर्ने खै ?’ निर्मला चापागाईको लेखन हो । यसमा अविन श्रेष्ठले बनाएका जीवन्त चित्रहरू छन् । बालबालिकाका मनमा उठ्ने प्रश्न र जिज्ञासालाई चित्रकारले आकर्षक रूपमा प्रस्तुत गरेका छन् ।

‘गाउँ खाने कथा’ हरूले शोभितमान बनियाका चित्रसँगै केटाकेटीलाई तान्छन् । किताबले केटाकेटीलाई नयाँ विषयमा प्रश्न गर्न, सोच्न, उत्तर खोज्न प्रेरित गर्छ । हरेक पानामा एउटा प्रश्न सोधिएको छ । अन्तिम पानामा उत्तरको सूची पनि छ ।

‘चकचके खरायो’ लेखक–चित्रकार बियाट्रिक्स पोटरको किताबको नेपाली अनुवाद हो । अनुवाद कृष्णदीप सिग्देलले गरेका हुन् । पोटरकै चित्रहरू भएको किताबमा बादल नाम गरेको साहसी खरायोको कथा छ ।

‘चुलबुले च्यान्टु’ मा कृष्णदीप सिग्देलको लेखन र सोनाम तामाङको चित्र छ । कथामा चकचक गर्ने सानो बाँदरलाई रोचक किसिमले प्रस्तुत गरिएको छ ।

सुशीला खनालको लेखनमा दीपक गौतमका चित्रले सजिएको किताब हो ‘प्यारी’ । आमा र सन्तानको मायालाई मूल विषय बनाइएको किताबका हरेक पानामा भाका हालेर गाउन मिल्ने गरी शब्द बुनिएको छ ।

रोशन पोखरेलको कथा ‘भूत’ मा सुमन महर्जनले चित्र बनाएका छन् । अनिलले राति भूत देखेको प्रसंगले डर लागे पनि अन्तमा रमाइलोसँग कथा टुङ्ग्याइएको छ ।

‘लोभी कुकुर’ इसापूर्व ६२० मा जन्मेका इसप कथाको पुनर्लेखन हो । कृष्णदीप सिग्देलको लेखन भएको किताबमा सोनाम तामाङको चित्र छ । इसपका कथालाई नेपाली परिवेशअनुसार रोचक ढंगले लेखिएको छ ।

‘कोसेली’ का यी १० किताबको सम्पादन कृष्णदीप सिग्देलले गरेका हुन् । छरितो–आकर्षक साजसज्जामा तयार पारिएका किताबहरूका कागज तथा छपाइ अब्बल छ ।

-नगरकोटी मासिक बालपत्रिका ‘बाल उदय’का सम्पादक हुन् ।

प्रकाशित : आश्विन ३, २०७७ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?