‘अद्वितीय रिमाल’ बारे भूगोलविद्को चिठी- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘अद्वितीय रिमाल’ बारे भूगोलविद्को चिठी

गोपालप्रसाद रिमालको निधनलगत्तै सन् १९७३ अगस्ट २३ मा पीताम्बर शर्माले आहत भएर चिठी लेखेका मात्र होइनन्, रिमालबारे समालोचकहरुले अहिलेसम्म व्यक्त गरेका अधुरा विचारभन्दा निकै गहिरो गरी रिमालको महत्त्वलाई यस सानो चिठीमा रेखांकित गरेका छन् ।
श्यामल

डा. पीताम्बर शर्मालाई एक विशिष्ट वर्गले चिन्ने धेरै कारण छन् । विश्वविद्यालयका प्राध्यापक, नेपालविज्ञ र योजनाविद् । मसिनो स्वरमा खरो बोल्ने प्राज्ञ । सत्यलाई ओझेलमा पर्न नदिन सतत् प्रयत्नशील अनुसन्धानकर्ता । १२ वर्षसम्म एकीकृत पर्वतीय विकाससम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) मा क्षेत्रीय योजनाकार ।

नियुक्तिकर्ताका दृष्टिमा थोरै समय राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बनेर चित्त नबुझी पदत्याग गरेका ‘घमण्डी’ वा केहीको दृष्टिमा त्यस्तो ठाउँमा नबसेर ठीक गरेको ‘स्वाभिमानी व्यक्ति’ । संयुक्त अधिराज्यको एडिनबर्ग विश्वविद्यालयबाट सहरी योजना डिजाइन तथा क्षेत्रीय योजनामा एमएस्सी गरेका र अमेरिकाको कोर्नेल विश्वविद्यालयबाट सहरी तथा क्षेत्रीय योजनामा पीएचडी गरेका विद्वान् । स्वभावले अत्यन्त सरल र सहृदयी तर केहीका दृष्टिमा ‘अरूलाई सजिलै नटेर्ने’ मानिस ।

हर्क गुरुङका चेला यिनै भूगोलविद्/योजनाविद्/प्रोफेसर डाक्टर पीताम्बर शर्मामा आजभन्दा ४७ वर्षअघि नै कति गहिरो कलाचेत थियो, कति बलियो समालोचकीय दृष्टि थियो र समाजको परिवर्तनप्रति कति बलियो निष्ठा थियो भन्नेबारे कमैलाई थाहा होला । ‘द राइजिङ नेपाल’ मा उनले सम्पादकलाई लेखेको चिठीबाट उनको व्यक्तित्वको अर्को पाटो पनि उघ्रिन्छ ।

गोपालप्रसाद रिमालको निधनलगत्तै सन् १९७३ अगस्ट २३ मा शर्माले आहत भएर चिठी लेखेका मात्र होइनन्, रिमालबारे समालोचकहरूले अहिलेसम्म व्यक्त गरेका अधुरा विचारभन्दा निकै गहिरो गरी रिमालको महत्त्वलाई यस सानो चिठीमा रेखांकित गरेका छन् । उनले रिमाललाई उनका समकालीनभन्दा पृथक् र अद्वितीय प्रतिभा मानेका छन् । उनले अद्वितीय भन्नुका तीन कारण छन् ।

पहिलो, रिमाललाई नेपाली युवाहरूसँग हृदयबाटै संवाद गर्न सक्ने प्रतिभा मान्छन् शर्मा । हुन पनि उनको ‘आमाको सपना’ ले युवाहरूको मनमस्तिष्कलाई जसरी तरंगित तुल्याएको थियो, त्यसरी न लेखनाथजस्ता पूर्वीय शास्त्रीयतावादी कविका रचनाले गर्न सकेका थिए, न आधुनिक चेतका पश्चिमा साहित्यका ज्ञाता देवकोटाजस्ता सर्वतोमुखी प्रतिभाका कविताले । समका नाटकमा कहीं कतै नभएको विद्रोह रिमालको मसानले आधुनिकतातर्फ प्रवेश गरेकी नेपाली युवा नारी हेलेनमा छ । यी महान् त्रयीका तुलनामा रिमाललाई यसरी विशिष्ट देख्छन् शर्मा ।

दोस्रो, रिमालको भाषामा पहिलोपल्ट नेपाली समाजको दैनन्दिनी र सरल भाषाले प्रवेश पाएको ठम्याइ छ शर्माको । ‘आमाको सपना’ लगायत ‘.......प्रति’ र ‘परिवर्तन’ जस्ता कवितामा प्रयुक्त भाषाबाट यसको पुष्टि हुन सक्तछ । ‘छोरा, त्यो हुरी भएर आउने छ, तिमी पात भएर पछ्याउनेछौ’ जस्ता जनभाषाको प्रयोग यिनमा भएको छ । परिवर्तन शीर्षकको कविताको भाषाले यस्तै बलशाली काव्य भाषाको प्रतिनिधित्व गर्छ । तसर्थ शर्मा भन्छन्, ‘उहाँका कविताले सुन्दर, सरल र क्रान्तिकारी जोसका बलशाली भाषा बोल्छन् ।’ रिमालका कविताले मानिसलाई कायर हुनबाट बचाउँछन् र तिनका मानसमा बृहत् मानवताको हितका निमित्त बलिदानको भावना भर्छन् ।

तेस्रो, शर्मा भन्छन्, ‘रिमालको निधनबाट २००७ सालअघिको आत्माको महान् प्रतिपादक सदाका लागि मौन भएको छ ।’ त्यो आत्मा के थियो र किन शर्माले रिमाललाई ‘२००७ सालअघिको आत्माको महान् प्रतिपादक’ माने ? के लेखनाथको ‘पिँजडाको सुगा’, देवकोटाको ‘शाहजहाँको इच्छा’ वा बालकृष्ण समको ‘इच्छा’ अथवा यस्तै अन्य कृतिले त्यस आत्मालाई यति बलियो गरी प्रस्तुत गरेका छन् जति रिमालकी आमाले समातेकी छन् ?

बाहिरी विश्वबाट अलग राखिएको नेपाल जहानियाँ राणातन्त्रको कालकोठरीमा बन्द थियो । मानिसको कुनै भाउ थिएन । न्याय र कानुन राणाका तजबिजमा थियो । एक भयानक उकुसमुकुसमा नेपाल निस्सासिइरहेको घोर अमानवीय समय थियो त्यो । त्यस्तो अव्यवस्थालाई आमूल परिवर्तन गर्न उद्यत अगुवामध्ये थिए रिमाल । त्यसैले रिमाल त्यस युगको विद्रोही आत्मा थिए । उनले विद्रोहको कलात्मक पुनर्सिजन गरे कविता र नाटकका माध्यमबाट, उनले सामाजिक जागरणका विभिन्न कार्यक्रमका माध्यमबाट विद्रोहको भावलाई संगठित गरे, उनले राजनीतिक दलका माध्यमबाट त्यस आत्मालाई प्रकाशित गरे । उनले सात सालअघिको कुण्ठित आत्माको उद्धार गरे । यसरी एक साधारण नागरिक असाधारण विद्रोहीमा रूपान्तरित भयो । डा. शर्माले आजभन्दा ४७ वर्षअघि लेखेको यस चिठीले हामीलाई रिमाललाई हेर्ने परम्परागत समीक्षकीय दृष्टि बदल्न प्रेरित गर्छ, उनको पुनर्मूल्यांकनको माग गर्छ र उनको सपनाको पुनरुत्थानको सम्भावना देखाउँछ ।

वर्षौंअघि जनआन्दोलनको जुलुसबाट हामी सँगै पैदल घरतर्फ फर्किरहेका बेला मैले डा. शर्मासँग यस पत्रलाई प्रस्तुत गर्न अनुमति लिएको थिएँ । विलम्बका लागि म क्षमा चाहन्छु । अंग्रेजी भाषामा लेखिएको यो चिठीको नेपाली अनुवाद प्रस्तुत छ । मेरो कमजोर

अनुवाद कौशलका कारण अन्यथा हुन गएमा डा. शर्माले मलाई क्षमा गर्नुहुनेछ भन्ने विश्वास गरेको छु । रिमालप्रति श्रद्धाञ्जली !

000

तर, एक्ला नक्षत्र

द राइजिङ नेपालको ‘सम्पादकलाई चिठी’ मा पीताम्बर शर्मा

महोदय,

व्यक्तिगत रूपमा स्व. गोपालप्रसाद रिमाललाई नचिने तापनि मैले उहाँको निधनबाट यस देशलाई र अझ भन्ने नै हो भने मलाई व्यक्तिगत रूपमा क्षति पुगेको अनुभव गरेको छु ।

कवि र नाटककारका रूपमा रिमाल निःसन्देह नेपालका महान् साहित्यकारहरूमध्येमा हुनुहुन्थ्यो । देवकोटाको झैं सर्वतोमुखी प्रतिभा नभए पनि अथवा लेखनाथका झैं शास्त्रीय विवेकका हृदयबाटै संवाद गर्न सक्ने प्रतिभा नभए पनि रिमाल नेपाली युवाहरूसँग आफ्ना कुनै पनि समकालीनहरूभन्दा बढी हुनुहुन्थ्यो । ठेलीका हिसाबले भलै उहाँको योगदानलाई सजिलै बिर्सन सकिएला, तर उहाँको अपवादजन्य गुणलाई बिर्सन सकिँदैन । उहाँका कवितामा त्यसरी निपुणताका साथ अभिव्यक्त भएका आशा, विचार, निराशा, र अझ त्यसभन्दा माथि उहाँको अति बलियो आशावादलाई आधुनिक नेपाली कविहरूले अनुकरण गर्नुपर्छ । उहाँका हातबाट नेपाली भाषा र नेपालका सामान्य दैनन्दिनीका वस्तुहरूले प्राधान्यता पाएका छन् जसले बहुधा यसअघि वा पछि यस स्तरमा पाएका थिएनन् । उहाँले आफ्नो एउटै कविता ‘आमाको सपना’ बाट आधुनिक नेपाली कविहरूमा सम्मानित स्थान आर्जन गरेको हुनुपर्थ्यो ।

उहाँजस्तै उहाँको शैली र उपमा, मुहावरा र व्यंग्य पनि सबै विशिष्ट नेपाली छन् । गद्य कविताका प्रथम प्रयोक्तामध्येका एक उहाँका कविता त्यस परम्परामा उत्कृष्ट श्रेणीमा रहनेछन् । नाटककारका रूपमा उहाँको ‘मसान’ ले नेपाली नाटकको इतिहासमा विशिष्ट स्थान राख्नेछ । आखिर, यी दशकहरूमा पनि उपयुक्त ढंगले ‘मसान’ को मञ्चन हुन सकेको छैन र यो नाटक हाम्रो कलाको टाटपल्टाइबारे हामीले जब सोच्ने बेला आउला, त्यसका लागि खुराक बनिरहनेछ ।

कविका रूपमा रिमाल पूर्ण रूपमा क्रान्तिकारी हुनुहुन्थ्यो । र, यस अर्थमा उहाँ सदैव इमानदार हुनुहुन्थ्यो । उहाँका कविताले सुन्दर, सरल र क्रान्तिकारी जोसका बलशाली भाषा बोल्छन् । उहाँ खोक्रो प्रचारवादी हुनुहुन्थेन । रिमाल यस्ता कवि हुनुहुन्थ्यो जसले बुद्धि र मुटु दुवैलाई प्रदीप्त तुल्याउनुभयो । मलाई लाग्छ, रिमालले खिचेको आमाको दिमागको चित्र मातृत्वप्रति कुनै पनि मानिसले प्रकट गरेको एक महान् श्रद्धाञ्जलीका रूपमा रहनेछ । कविका रूपमा रिमालका अत्यावश्यक मानवीय गुणहरूले जीवनलाई सिञ्चित तुल्याउँछन् । मानसिक रोगले गर्दा उहाँको साहित्यिक जीवन असमयमै छोटिनु हाम्रो दुर्भाग्य हो । त्यसका लागि पनि आंशिक रूपमा हामी आरोपित हुन सक्छौं । पछिल्ला वर्षहरूमा उहाँ आफ्नै दुनियाँमा सीमित हुनुभयो तथापि कविका रूपमा उहाँको स्वर स्वतन्त्रताका खातिर अद्वितीय थियो ।

मैले स्वर्गीय रिमालजत्तिकै आफ्नो उद्देश्यप्रति यति गहिरो संवेदनशीलता, नैतिकता र बौद्धिक निष्ठा भएका अन्य कवि देखेको छैन । त्यसैले उहाँ नेपाली युवाहरूको हृदयको स्पन्दनको अति नजिक हुनुहुन्छ । उहाँको काव्यिक र बौद्धिक उडानले देवकोटाका झैं बाटो बिराएन । उहाँले लेखनाथले जस्तो नैतिक विमर्श हराउनुभएन । उहाँका नाटकहरू समका नाटकजस्तो बनिबनाउ विश्वासको बौद्धिक अभ्यासमा रुमल्लिएका छैनन् । देवकोटा, लेखनाथ र समको त्रयी निश्चय नै नेपाली साहित्यका ज्वाजल्यमान नक्षत्र थियो तर एक्ला नक्षत्र रिमाल ज्वाजल्यमान रहनुहुनेछ र हामीलाई बाटो देखाइरहनुहुनेछ ।

निश्चय नै, भावी दिनमा हाम्रो साहित्यिक परम्पराका उत्तराधिकारीहरूले नेपाली साहित्यलाई योगदान गर्ने रिमालजस्ता कुनै साहित्यकार पनि थिए भनी गर्व गर्नेछन् । हाम्रा कथित ‘कविहरू’ मध्ये धेरै विस्मृतिमा गइसकेको धेरै कालपछि पनि त्यसरी गर्व गरिनेछ ।

रिमालको निधनबाट २००७ सालअघिको युगको आत्माको महान् प्रतिपादक सदाका लागि मौन भएको छ । हाम्रा युवा कविहरूले रिमाललाई सुहाउँदो श्रद्धाञ्जली दिने हो भने रिमालले ल्याउन योगदान गरेको पुनर्जागरणको अर्को थालनी गर्नुपर्छ । अहिलेलाई उहाँको स्मृतिमा एक साहित्यिक मञ्चको सिर्जना गर्न सकिन्छ र उहाँको नाममा उहाँको टोलको नाम राख्न सकिन्छ । यसले हामीलाई अझैं यथार्थ नबनिसकेको ‘आमाको सपना’ लाई सम्झाउनेछ ।

भवदीय,

पीताम्बर शर्मा, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर

अक्टुबर २५, १९७३

प्रकाशित : भाद्र २७, २०७७ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना रिपोर्ट नआउँदै शव हस्तान्तरण, दाहसंस्कारपछि कोरोना पुष्टि

‘अस्पताल प्रशासनले गरेको गल्तीले गर्दा शुक्रबार मलामी गएका व्यक्तिमा संक्रमणको जोखिम देखियो भने त्यसको जिम्मेवारी फिस्टेल अस्पतालले लिने कि नलिने ?’ - स्वास्थ्य निर्देशनालय
दीपक परियार

पोखरा — पोखराको फिस्टेल अस्पतालमा शुक्रबार बिहान मृत्यु भएकी एक महिलाको कोरोना रिपोर्ट पोजिटिभ आएको छ । ती महिलाको कोरोना रिपोर्ट नआउँदै अस्पतालले शव आफन्तलाई बुझाएको खुलेको छ । पोखरा–५ मालेपाटनकी ४५ वर्षीया उक्त महिलाको शुक्रबार बिहानै आफन्तले दाहसंस्कार गरिसकेका छन् ।

तस्बिर : फिसटेल अस्पतालको फेसबुक पेजबाट

ब्लड क्यान्सरबाट पीडित उनी बिहीबार गैह्रापाटनको फिस्टेल अस्पतालमा भर्ना भएकी थिइन् । बिहीबार नै उनको स्वाब संकलन गरी क्षेत्रीय क्षयरोग केन्द्रको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । उनको शुक्रबार बिहान १:१५ बजे भेन्टिलेटरमा राखेको अवस्थामा मृत्यु भएको थियो । अस्पतालले कोरोनाले नभई अन्य कारणले मृत्यु भएको भन्दै बिहान परिवारलाई शव हस्तान्तरण गर्‍यो । परिवारले पोखराको रामघाटमा मृतकको अन्त्येष्टि गरे । महिलाको अन्त्येष्टिमा ठूलो संख्यामा मलामीको उपस्थिति थियो ।

अस्पतालले शव लैजान भनेकाले आफूहरुले ल्याएर अन्त्येष्टि गरेको मृतकका श्रीमानले बताए । उनले भने, ‘हामीले सोध्दा मृत्युको कारण कोरोना होइन, फरक हो, लैजानु भनेपछि रिपोर्ट नआउँदै अन्त्येष्टि गरेका हौं ।’

प्रदेश स्वास्थ्य निर्देशनालयअन्तर्गत प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले नमुना परीक्षणका लागि पठाएपछि रिपोर्ट नआउँदै शव हस्तान्तरण गर्नु अस्पतालको गम्भीर लापर्बाही भएको बताए । ‘अस्पताल प्रशासनले गरेको गल्तीले गर्दा शुक्रबार मलामी गएका व्यक्तिमा संक्रमणको जोखिम देखियो भने त्यसको जिम्मेवारी फिस्टेल अस्पतालले लिने कि नलिने ?,’ उनले भने, ‘यो गल्तीमा प्रदेश सरकारले गर्ने सजाय स्वीकार गर्ने कि नगर्ने ?’ जनस्वास्थ्यको विषयमा महामारीको अवस्थामा अस्पतालले मनपरी गर्न नपाउने उनी बताउँछन् । नमुना संकलन गरेपछि रिपोर्ट नआइञ्जेल कुर्नुपर्छ भन्ने जान्दाजान्दै अस्पताले प्रदेश सरकारलाई अटेर गर्दै शव हस्तान्तरण गरेको उनले बताए ।

अस्पतालका अध्यक्ष भोला श्रेष्ठको मोबाइल अफ छ । फिस्टेल अस्पतालकी प्रवक्ता मधु ज्ञवालीले भने आफूहरु छलफलमै रहेकोले यस विषयमा थप बोल्न नचाहने बताइन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या २४ पुगेको छ ।

प्रकाशित : भाद्र २७, २०७७ १२:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×