१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

गणितको गोलचक्कर

शिक्षा रिसाल

भनिन्छ— संसार गणितीय छ । प्रकृतिका नियमहरू गणितको हिसाब वरपर घुम्छन् । ग्रह, तारा र अरू आकासीय पिण्डहरू गणितका नियम पछ्याउँछन् । दैनिक जीवनका भागदौड, सुख–दुःख, सफलता, असफलता सबै गणितीय छन् । केही अमूर्त कुराहरूबाहेक सबै चीजको हिसाब निकाल्न सकिन्छ ।

गणितको गोलचक्कर

हुन पनि जिन्दगी ‘प्लस–माइनस’ को लेखाजोखा न हो । यिनै चिह्नहरूले हाम्रा पाइलाहरू डोर्‍याउँछन् । सायद गणित हुँदैन थियो भने जीवन भद्रगोल हुन्थ्यो । पानाभरि केरकार गरेको हिसाबजस्तो । मानव प्रजाति सधैं खुसी, सफलता र आनन्द जोड्न खोज्छ, गुणन गर्न खोज्छ । असफलता, दुःख र वेदना भने घटाउन खोज्छ, भाग गर्न खोज्छ । यस्तो लेखाजोखाले जीवन सन्तुलित पार्न खोज्ने मानवीय चेष्टालाई गणितका चिह्नहरूले सघाउँछन् ।

कतिलाई साधारण लाग्ने गणित मेरा लागि भने जीवनभरको बोझ हो । सायद त्यसैले पनि मेरो जीवनको गणित भद्रगोल छ । कसैले सुल्झाउनै नसक्ने इक्वेसन (समीकरण) बनेको छ । यताबाट यो घटाएर त्यो जोड्न खोज्छु तर हिसाब सधैं माइनसमा मात्र आउँछ । म आफैं एउटा सुल्झिन नसक्ने इक्वेसन हुँ । आइन्स्टाइनले ब्रह्माण्डका नियम समेट्ने ‘इ बराबर एमसी स्क्वायर’ त बनाए तर किन मानव जीवनका आरोह–अवरोह सुल्झाउने हिसाब बनाएनन् ? ‘द थियरी अफ एभ्रिथिङ’ किन बनाउन सकेनन् ? वैज्ञानिकहरूले भौतिकशास्त्रका हिसाबहरू आविष्कार गर्दा किन मनशास्त्रका हिसाब सुल्झाउन सकेनन् ? अहँ ∕ गणित सबथोक हुँदै होइन ।

‘ओहो ∕ एक हप्तामा एसएलसीको जाँच छ । म्याथ थोपो केही आउँदैन । अझ अप्सनल म्याथ पनि छ । एसएलसी पास भइएन भने अगाडि पढ्न पाइँदैन । कति धेरै आत्तिइसकें म । ट्युसन कोसँग पढ्ने ? कसरी पास हुने ? केही थाहा छैन । म रुन थाल्छु । निस्सासिन थाल्छु । अनि ऐंठन हुन्छ । बल्ल–बल्ल ऐंठनबाट निस्कन्छु ।’

यो मैले देखिरहने ‘रेकरिङ ड्रिम’ हो । वास्तविकतामा मैले एसएलसी पास गरिसकें— धेरै वर्षअघि । तर, गणितको त्यो भूतले मलाई अहिले पनि बेला–बेला सपनामा तर्साइरहन्छ । हाउगुजी गणितले मेरो पिछा छाड्दै छाड्दैन ।

मलाई अझै याद छ— समाचारको त्यो शीर्षक— ‘एसएलसी फेल भएपछि छोरी १८ वर्षकी हुन्छे ।’

कसले लेखेको याद छैन तर एसएलसी फेल हुने केटीहरू अगाडि पढ्न पाउँदैनन् र परिवारले बिहे गरिदिन्छन् भन्ने समाचारको अभिप्राय थियो । हाम्रो कक्षाका विज्ञान शिक्षकले ‘यो हेडलाइन पढ्यौ नि तिमीहरूले ?’ भनेर खिस्याएको अझै याद छ । मेरो मन त्यतिबेला अमिलो भएको थियो ।

हाम्रो स्कुलमा ‘ट्यालेन्टेड’ विद्यार्थी उही हुन्थे, जसको गणित र विज्ञानमा दखल हुन्थ्यो । बाँकी अंग्रेजी, नेपाली, सामाजिक शिक्षा, लेखा, जनसंख्याजस्ता विषय त ‘सौता’ का छोराछोरीजस्ता हुन्थे । ती विषयहरू अल्पसंख्यक र सीमान्तकृतजस्ता हुन्थे । ती विषयमा राम्रो नतिजा ल्याएको खासै महत्त्व हुँदैनथ्यो । जो गणितमा कमजोर छ या फेल हुन्छ, ऊ कमजोर विद्यार्थी हो । उसलाई केही आउँदैन । न वादविवाद प्रतियोगितामा भाग लिन पाउँछ न हाजिरीजवाफमा । गणितमा आलु खानेहरू नाच्न र गाउन मात्रै पाउँथे ।

नर्सरीदेखि माथि–माथि चढ्दै जाँदा गणितप्रतिको बुझाइ बिस्तारै खिइँदै–खिइँदै गयो । कक्षा ४ र ५ मा पुगिसक्दा स्थितिले भयानक रूप लिइसकेको थियो । त्यतिबेला विद्यालयका लागि यस्ता बच्चाबच्ची निल्नु न फाल्नु हुन्थे । कक्षा १ मा पढ्दा म्याथ पढाउने मिसको थप्पड खाएकी थिएँ । मेरो पोक्चो सेतो गाला रातो भएको थियो । त्यतिबेला जोड–घटाउ सिकाइरहेकी थिइन् मिसले— त्यो सापटी लिने वाला । मेरो दिमागले भ्याएन । सायद मिसलाई लाग्यो— एक थप्पड लगाएपछि यसले सिक्छे । कतिले सिक्छन् पनि तर मैले भने त्यसपछि झन् गणित कहिल्यै सिक्नै सकिनँ । त्यो थप्पडले दिमागको ढक्कन सधैंका लागि बन्द गरिदियो । समय बित्दै गयो । क्लास चढ्दै गएँ । फस्ट टर्म, सेकेन्ड टर्ममा फेल भए पनि फाइनलमा पास हुन्थें या गराइन्थें । फेल भएर क्लास दोहोर्‍याउन भने कहिल्यै परेन ।

पहिले–पहिले जाँच सकिएर कक्षा पुनः सुरु हुँदा प्रायः विषयका सरहरूले परीक्षामा आएको विषयगत अंक सुनाउने गर्थे । कतिले जाँचका कपी नै कक्षामा ल्याएर देखाउँथे । केरकार गर्थे । केरकार गर्दा कतिले धुलाइ पनि भेट्थे । रिपोर्टकार्ड त पछि आउँथ्यो । सर उत्तरपुस्तिकाको बन्डल लिएर कक्षा कोठामा छिर्दा सबैको मन चिसो हुन्थ्यो । लद्दु विद्यार्थी ‘धुलाइ भेटिने भयो’ भन्ने चिन्तामा हुन्थे । औसत विद्यार्थी ‘गाली भेटिने भयो’ भन्ने चिन्तामा हुन्थे । पहिलो र दोस्रो हुने विद्यार्थी एक–अर्काले उछिने भन्ने चिन्ताले खिइन्थे ।

सरहरूले आ–आफ्ना विषयको नम्बर सुनाउने चलन थियो । मलाई अरू विषयका नम्बर सुन्दा साह्रै आनन्द लाग्थ्यो । तर, जब गणितका सरले नम्बर सुनाउने घोषणा गर्थे, त्यतिबेला लाग्थ्यो— जिन्दगीमा यस्तो भयानक दिन कहिल्यै नआओस् । मेरो मनोविज्ञान पूरै ‘कम्प्लिकेटेड’ थियो । स्थितिले भयानक रूप कक्षा ५ मा पुग्दा लियो । गणितमा शून्य आयो । हो— जिरो । तर, म एक्ली थिइनँ । अरू दुई जना पनि थिए । बेइज्जतीको पराकाष्टा एक्लैले सहनु परेन । शून्यमा साथ दिने केही अरू साथी भए पनि त्यो ठूलो लज्जाबोध थियो मेरा लागि । म झन्–झन् चुपचाप हुँदै गएँ ।

गणितमा सय ल्याउने पनि थिए । उनीहरू पनि शून्यदार थिए तर सान बेग्लै थियो । शून्यले जीवनमा इन्ट्री मारेको त्यो पहिलो अनुभव थियो । शून्य जब एक्लै आउँछ, पीडा लिएर आउँछ । शून्य जब साथीभाइहरूसँग आउँछ, खुसी लिएर आउँछ । कक्षाहरू चलिरहे । सर, म्याडमहरू गाली गरिरहन्थे, बेइज्जत गरिरहन्थे । कक्षाका अरू साथीहरू हाँसिरहन्थे, हाम्रो हौसला टुटिरहन्थ्यो । हामी अल्पमतहरू यत्तिकै अरूको नजरबाट हराइरहन्थ्यौं ।

गणितको यो डर हरेक वर्ष बढ्दै गयो । झन्–झन् तर्साउन थाल्यो । ‘यो वर्ष त ध्यान दिएर सिक्छु’ भन्थें तर हरेक वर्ष उही हाल हुन्थ्यो । कहिले बिरामी भएर हप्तौं कक्षा छुट्ने, कहिले पढाएको नबुझ्ने । नेपाली, अंग्रेजीलगायत विषयमा भने म राम्रै थिएँ । तर, गणितका कारण म सधैं कमजोर विद्यार्थीको दर्जामा सूचीकृत भइरहें ।

म साथी लक्ष्मीसँगै कक्षाको पहिलो बेन्चमा बस्थें । उसको पनि गणित भद्रगोल थियो । तर, उसको जिन्दगी पनि गणितले रोकिएन । अहिले यूकेमा मस्त जीवन बिताइरहेकी छे । ८ कक्षा पुगेपछि हामी ‘कमजोर’ विद्यार्थीहरूको दुःख दुई गुणा भयो । किनभने थपिएको थियो अर्को हाउगुजी— अप्सनल म्याथ । वैकल्पिक भनेपछि विद्यार्थीले छान्न पाउनुपर्ने हो तर हाम्रो स्कुलमा छान्न दिइएन । मेरी दिदीलाई मभन्दा पहिले अप्सनल म्याथ छान्न दिइएको थियो । कारण— ऊ पनि मजस्तै गणितले तर्सिन्थी । सहन नसकेपछि उसले एक दिन उत्तरपुस्तिकामै अंग्रेजीमा प्रधानाध्यापकलाई चिठ्ठी लेखी—

‘प्रिय सर,

मैले जति कोसिस गर्दा पनि दिमागमा यी कुनै प्रश्न घुसेनन् । मलाई केही गर्न आएन । हजुरलाई थाहै छ, मेरो कम्पल्सरी म्याथ नै राम्रो छैन । दुई–दुईवटा म्याथको बोझ म कसरी सहन सकूँ ? यही एउटा विषयमा अल्झिरहने हो भने म जिन्दगीमा कहिल्यै पास हुन सक्दिनँ । मेरो अरू विषय पढ्ने र अघि बढ्ने सपना यही अप्सनल म्याथले निर्धारण गर्छ भने ठीकै छ । तर, म यसरी अड्किन सक्दिनँ । मलाई माफ गरिदिनुस् ।’

यो चिठीले सरलाई भावुक बनायो सायद । दिदीलाई अप्सनल अंग्रेजी विषय छान्न दिइयो । अनि जिन्दगी उसले भनेजस्तै ‘साइन ठिटा र कस ठिटा’ मा अल्झिएन । कम्पल्सरी म्याथ कनी–कनी जसोतसो पास गरी । दुर्भाग्यवश मैले त्यो सुविधा पाइनँ । किनकि दिदीजस्तो उत्तरपुस्तिकामा पत्र लेख्ने हिम्मत ममा थिएन । अगाडि गएर बोल्न पनि कहिल्यै सकिनँ ।

लाग्छ— गणित किताब र विद्यालयभन्दा पनि जीवनले सिकाउने रहेछ । नत्र दिनभरि काम गरेर साँझको जोहो गर्नेले भोकको हिसाब कसरी गर्न सक्थ्यो ? आज यति बचाइयो भने भोलि बिहानका लागि पनि पुग्छ भन्ने हिसाब कसरी गर्न सक्थ्यो ? मध्यम र उच्च वर्गका लागि गणित टाउको–दुखाइ भए पनि निम्न वर्गकहाँ ऊ नरम भइदिँदो रहेछ । विद्यालयको मुख पनि देख्न नपाएका र जीवनले सताएका ती मानिसहरू देख्छु र लाग्छ— गणित उनीहरूको टाउको–दुखाइको विषय होइन । भाग र घटाउ नै उनीहरूको गणित हो ।

ऐच्छिक (अप्सनल) गणितको कक्षामा को भित्तामा बस्ने भन्ने कुरामा सधैं लडाइँ हुन्थ्यो । भित्तामा बस्दा मलाई अलि सुरक्षित महसुस हुन्थ्यो । कुनामा बसेपछि गणितको गोली वर्षाबाट ओत मिल्छजस्तो लाग्थ्यो । भित्ताले ढाडस दिएजस्तो लाग्थ्यो । भित्ताको कान मात्र होइन, मन पनि हुने रहेछ ।

कम्पल्सरी र अप्सनलका कक्षा सुरु भए कि भावन्नै हुन्थ्यो । हाई आउँथ्यो, निद्रा लाग्थ्यो । पछि बुझ्दै गएँ— हरेक विद्यार्थीको एउटा कमजोर विषय हुने रहेछ । तर, अरू विषयमा हुने कमजोरीलाई सामान्य रूपमा लिइन्छ ।

‘बोर्डिङमा पढ्नेको नेपाली कमजोरी त भइहाल्छ नि !’

‘सरकारीमा पढ्नेको अंग्रेजी कमजोर त भइहाल्छ नि !’

तर, गणितमा फेल हुनेलाई कसैले सहानुभूतिको नजरले हेर्दैन ।

‘खासै दिमाग छैन जस्तो छ !’

‘दिमाग त आलु नै लिएर जन्मेको रहेछ !’

‘गणितमा कमजोर भए त जीवन बर्बाद हुन्छ !’

गणित यस्तो भाँडो हो, जसको बिर्को खुल्यो भने त्यो जस्तो सजिलो केही हुँदैन (रे) ∕ तर, ढक्कन खुलेन भने जे गरे पनि केही साध्य लाग्दैन । स्वयं गणितेश्वर महादेव भगवान् आएर तथास्तु भने पनि यसको ढक्कन खुल्दैन । कोही एक जना गणितमा कमजोर हुँदैमा पृथ्वीले सूर्य परिक्रमा गर्न ४०० दिन लगाउँदैन ।

कोही एक जनाले ‘साइन ठिटा’ र ‘कस ठिटा’ का सूत्रहरू कण्ठ नपार्दैमा प्रकाशले सूर्यबाट पृथ्वीमा आइपुग्न १५ मिनेट लगाउँदैन । कोही एक जनाले ज्यामितिका कोणहरू नमिलाउँदैमा ग्रहहरू आफ्नो कक्षबाट निस्केर एक–आपसमा ठोक्किँदैनन् र सौरमण्डल विनाश हुँदैन ।

सबै प्रकृतिका नियमहरू गणितीय नै छन् । तर, यसको मतलब यो होइन कि सबै मानिस गणितका धुरन्धर हुनुपर्छ । ‘कमजोरीमा अल्झिएर बस्नुभन्दा आफ्नो क्षमताका अरू चीजमा ध्यान देऊ’ भनेर कसैले भनिदिए पनि सायद राहत मिल्थ्यो । अहिले पनि गणितको अवस्था उस्तै छ, जस्तो मेरो स्कुले जीवनमा थियो । हुन त ग्रेडिङ प्रणाली आएपछि फेलको डरबाट अलिकति राहत त मिल्यो होला ।

धेरै पछि थाहा भयो— हामी कमजोर विद्यार्थीलाई किन मन लागेको विषय छान्न दिइएको रहेनछ भनेर । विद्यालयले हामीलाई ‘फेल हुने’ सूचीमा राखेको रहेछ । अंग्रेजीमा भन्नुपर्दा ‘ब्ल्याकलिस्ट’ । एउटा विषय बदल्दा विद्यार्थीले पाउने मानसिक राहतबारे विद्यालयले कहिल्यै बुझ्न सकेन ।

एक दशक मानसिक यातनाको फाइनल एसएलसी थियो । फाइनलमा ‘साइन ठिटा’, ‘कस ठिटा’ लगायतका बलवान प्रतिद्वन्द्वीहरूसँग लड्नु थियो । फाइनल खेल सोचेजस्तै कठिन र संघर्षमय रह्यो । जसोतसो खेल सकें । केही वर्षअघि गणितमा शून्य ल्याएको मान्छे एसएलसीमा पास हुन्छु भनेर सोचेकी थिइनँ । म मात्र होइन, परिवार र विद्यालयको पनि मप्रति केही आशा थिएन । म मानसिक रूपमा तयार थिएँ— जे पर्ला टर्ला । फेल हुँदैमा असफल भइने होइन भन्दै चित्त बुझाएँ । रिजल्ट नआउँदासम्म भने दिनरात साह्रै कठिनले बिते ।

रिजल्ट आयो । गोरखापत्रमा सिम्बोल नम्बर देखियो । म पास भएछु । अचम्म लाग्यो । मेरो उत्तरपुस्तिका जाँच्नेले पक्कै ५–१० नम्बर थपिदिएको हुनुपर्छ । त्यही थपिदिएको नम्बरका आडमा म कलेज जान पाएँ । अगाडि पढ्न पाएँ । जिन्दगीले अर्कै मोड लियो । म सफल/असफल के भएँ, थाहा छैन तर फेलचाहिँ भइनँ । नतिजापछि सबै घनघोर अचम्मको दलदलमा जाकिए । एक दशकको फाइनल खेल ड्र भएको रहेछ । पेनाल्टी सुट आउटमा एक गोलले जितेजस्तै लाग्यो । गणित मेरो अन्तिम रोजाइ भए पनि गणित शिक्षक मन पर्नुहुन्थ्यो । केही वर्षअघि उहाँलाई न्युरोडमा हिँडिरहेका बेला भेटेकी थिएँ ।

‘सर चिन्नुभयो ?’

‘अँ चिनें !’

‘नाम भन्नुस् त !’

‘शिक्षा । किन नचिन्नु तिमीलाई ?’

‘जिन्दगीकै सबभन्दा ल्वाँदे विद्यार्थीलाई कहाँ बिर्सनु सर, होइन ?’, मैले हाँस्दै भनेकी थिएँ ।

शिक्षकले कि धेरै धुरन्धर विद्यार्थीलाई सम्झिन्छ, कि एकदमै कमजोर । औसतहरूको अस्तित्व मध्यमवर्गीय जस्तै हो— न तल झर्न सक्ने, न माथि उक्लिन सक्ने !

कमजोर र निम्छरो भएर पनि म कसैको सम्झनामा त छु !

प्रकाशित : भाद्र २७, २०७७ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?