देबन काकाको अपहरण-कथा- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देबन काकाको अपहरण-कथा

गाउँलेहरु सरकारी सेनालाई ५ सरकार, माओवादीका जनसेनालाई ६ सरकारर मधेसी सशस्त्र समूहलाई ७ सरकार भन्थे । बेलाबेला ६ र ७ सरकारबीच झडप हुन्थ्यो । तर, ५ सरकारलाई देखेपछि दुवै टाप कस्थे ।
तुलानारायण साह

२०६५ साल भदौ एक–दोपहरको समय । आफ्नै घरको ढोकामा अडेस लागेर बसिरहनुभएका देबन काकालाई कोही एक जना अपरिचित मानिसले एउटा चिठी थमाएर गयो । चिठीमार्फत मधेसी मुक्ति टाइगर्सले एक लाख रुपैयाँ चन्दा मागेको थियो । बीस दिनको म्याद दिइएको थियो । देबन काकाकै घरसँग टाँस्सिएको हाम्रो घरमा पनि ठ्याक्कै त्यस्तै बेहोराका चिठी आएको थियो ।

छिमेकी गाउँ त्रिकौलका बामनेता जयकृष्ण गोइत ‘जनयुद्ध’ मा होमिएदेखि नै वरिपरिका गाउँहरूमा माओवादी–प्रभाव झांगिएको थियो । गोइतले पृथकतावादी आन्दोलन थालेपछि मधेसैभरि अनेकौं सशस्त्र समूहको उदय भएको थियो । माओवादी शान्ति प्रक्रियामा गइसकेपछि पनि मधेसमा टाइगर, कोब्रा, भाइरस, नागराजजस्ता सशस्त्र समूहको बिगबिगी कायम थियो ।

२०६०/६१ तिर देशमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन थियो । माओवादी ‘जनयुद्ध’ पनि जारी थियो । सँगै हाम्रो गाउँ सप्तरीको गोइठीमा अनेक सशस्त्र समूहको सक्रियता थियो । गाउँलेहरू सरकारी सेनालाई पाँच सरकार, माओवादीका जनसेनालाई छ सरकार र मधेसी सशस्त्र समूहलाई सात सरकार भन्थे । गाउँमा बेलाबेला छ र सात सरकारबीच झडप हुन्थ्यो । पाँच सरकारलाई देखेपछि दुवै टाप कस्थे ।

‘जनयुद्ध’ सकिँदासम्म मैले इन्जिनियरिङको पढाइ सकिसकेको थिएँ भने भाइले भेटेरिनरी डाक्टरको पढाइ सकिसकेको थियो । भाइ सेनामा कार्यरत भएकाले हाम्रो परिवार विशेष जोखिममा थियो । मधेसी टाइगर्सको चिठी आएपछि आमाले फोनमा खबर गर्नुभो, ‘सात सरकारको चिठी आएको छ । एक लाख चन्दा मागेको छ । देबन बाबुको घरमा पनि चिठी आएको छ । तिमीहरू अहिले घरतिर नआउनु, खतरा छ ।’

हामी साह्रै चिन्तित थियौँ । तीन दिनपछि बिहानै फेरि बुबाको फोन आयो । बुबा बोल्न सकिरहनुभएको थिएन । मात्रै धेरैपटक ‘जुलुम भयो... जुलम भयो’ भनिरहनुभयो । निकै बेरपछि बिस्तारै बोल्नुभयो, ‘राति १०/१५ जना सात सरकारहरू आएका थिए । देबनलाई अपहरण गरेर लगे । म रातभरि छिमेकीको घरमा लुकेर बसेँ । अहिले भारदह आइपुगेको छु । अब के गर्ने ?’

बुबा विस्थापित भएर एक महिनासम्म दिदीको गाउँमा बस्नुपरेको थियो ।

***

काकालाई अपहरण गरेर लगिएको थियो । १५ जना जत्तिको समूह आएको थियो रे ∕ काका बरन्डामा सुतिरहनुभएको थियो । नियन्त्रणमा लिनासाथ काकाको आँखामा पट्टी बाँधियो । अपहरणकारीले काकालाई चल्तीको बाटो छोडेर हिँडाउँदै पूर्वतिरको धान खेततर्फ लगिरह्यो ।

‘चन्दा किन नदिएको ? छोराहरू इन्जिनियर, डाक्टर भएर पनि चन्दा नदिने ?,’ बाटोमा अपहरणकारीहरूले सोधेको काकालाई अझै सम्झना छ ।

करिब एक घन्टा हिँडाएपछि अपहरणकारीले काकालाई चौडा पक्की सडक पार गराएको थियो । करिब १० मिनेट थप हिँडाएपछि एक जनाले चिच्याउँदै भन्यो, ‘भाग भाग... पुलिस आयो...’ तर, काकालाई विश्वास लागेन । उहाँलाई लाग्यो— कतै यो नाटक त होइन ? भाग्न खोज्यो भने गोली पो हान्ने हुन् कि ?

केही बेरमा काकाको आँखाको पट्टी फुकाउँदा कोही देखिएनन् । वरिपरि हेर्दा दक्षिणतर्फ कंकालनी मन्दिरमा झिलिमिली बत्ती बलिरहको देखियो । अलिपर कोसी ब्यारेजमा पनि लहरै बत्ती बलेको देखिन्थ्यो । उत्तरतर्फ नजिकै एउटा गाउँ थियो । पश्चिमपट्टिको सडकबाट छिनछिनमै बत्ती बाल्दै, हर्न बजाउँदै बस, ट्रकहरू गुडिरहेका थिए ।

काकालाई आफू भारदह नजिकको भलुवा गाउँछेउछाउ भएको अनुमान भयो । बिस्तारै सडकसम्म पुग्नुभयो । उज्यालो भएपछि फर्केर गाउँ आउनुभयो । काका भन्नुहुन्छ, ‘कंकालिनी माताले त्यस रात मेरो जीवन रक्षा गरेकी थिइन् ।’

मेरो अनुमानमा अपहरणकारीले मान्छे छनोटमा गल्ती गरेका थिए । खासमा उनीहरू हाम्रो बुबालाई अपहरण गर्न आएका रहेछन् । काकाका छोराहरू इन्जिनियर र डाक्टर होइनन् । जब अपहरणकारीलाई यो कुरा थाहा भयो, तब काकालाई छाडेर भागेको हुनुपर्छ । तर, काकाले त्यसै बर्षको दसैँमा कंकालिनी मन्दिरमा राँगा र बोकाको बलि प्रदान गर्नुभयो ।

फेरि अपहरण

अर्को वर्ष अर्थात् २०६६ सालमा काका फेरि अपहरणमा पर्नुभयो । घरदेखि करिब एक किलोमिटर पूर्वको खेतमा पानी लगाउँदै गर्दा राति ११ बजेतिर उहाँको अपहरण भएको थियो । काकाकै अनुमानमा यसपटक पनि उहाँको होइन, उहाँकै छोराको अपहरण गर्ने योजना थियो अपहरणकारीको । तर, संयोगले त्यस रात छोरा खेत नजाँदा काका आफैं अपहरणमा परेका थिए ।

अघिल्लो रात नहरको पानी लाउने क्रममा काकाको जेठो छोरा शंकरको एक केटोसँग भनाभन भएको थियो । केटो छिमेकी गाऊको अर्जी थियो । गाउँमै बसेर सरकारी जागिर, खेती किसानी र राजनीति सबै गर्न भ्याउने केटो खासा चल्तापुर्जा थियो । उसैले काकाको अपहरण गराएको धेरैको अनुमान छ । तर, प्रमाण नजुटेकाले केटोलाई केही कारबाही भएन ।

भनाभन भएको रातभरि शंकर खेतमै बसेको थियो । भोलिपल्ट शंकरलाई आराम गर्न भनेर काका आफैँ खेतमा गएका थिए । दुई बलिया मान्छे आएर काकालाई नियन्त्रणमा लिनासाथ आँखामा पट्टी बाँधेर दक्षिणतर्फ हिँडाउन थाले ।

गोइठीबाट करिब ६/७ किलोमिटर सीधा दक्षिणतर्फ हनुमाननगर बजार पर्छ । हनुमाननगरको पूर्वतर्फ कोसी नदीका विभिन्न धार बग्छन् । त्यहाँका विभिन्न घाटबाट गोबरगाढा गाउँ पुग्न सकिन्छ ।

कोसी ब्यारेजमा उभिएर दक्षिणतर्फ हेर्दा कोसीको पानी एउटै धारमा बगेको देखिन्छ । तर, केही तल पुग्नेबित्तिकै त्यही पानी अनेकौँ धारमा विभाजित भएर बग्छन् । दुइटा तटबन्धको बीच (अर्थात् कोसी नदीको पेट) मा दर्जनौँ गाउँ छन्, जहाँ अहिले पनि लाखौँ जनसंख्याको बसोबास छ । अपहरण गरेकै रात करिब दुई घन्टा हिँडाएपछि काकालाई डुंगा चढाएर कोसी पार गराई गोबरगाढा लगिएको थियो ।

आँखामा निरन्तर पट्टी बाँधिन्थ्यो । शौचालय जानुपरे कहिलेकाहीं पट्टी खोलिन्थ्यो । कहिले खाना दिइन्थ्यो, कहिले भोकै राखिन्थ्यो । अग्लो–अग्लो झाडी भएको चौरमा लगेर हात, खुट्टा बाँधेर मुर्दाजस्तै घन्टौंसम्म दिनैभर घाममा सुताइन्थ्यो । र, त्यसपछि अपहरणकारी गायब हुन्थे । हरेक दुई–चार दिनमा अर्को समूहलाई हस्तान्तरण गरिन्थ्यो । रातिचाहिँ घरमै सुत्न दिइन्थ्यो ।

दुई–चार दिनको फरकमा बेस्सरी कुटिन्थ्यो । कहिले कुट्दाकुट्दै त कहिले कुटिसकेपछि छोरासँग मोबाइलमा कुरा गराइन्थ्यो । ठाउँसारी गर्दागर्दै काकालाई भारततर्फको कुनै गाउँमा पुर्‍याइएको थियो । अन्तिमको आठ दस दिन त्यही ठाउँमा राखिएको थियो ।

काका भन्नुहुन्छ, ‘त्यस घरकी महिला साह्रै दयालु थिइन् । घरमा एउटा पाँच/छ वर्षको बच्चा थियो । बच्चा मलाई दादाजी भन्थ्यो ।’

अपहरणकारीले कहिले दिनैभरि घरमा, कहिले बाहिर घाममा राख्थे । आयो, कुट्यो, तथानाम गाली गर्‍यो अनि फेरि कतै गइहाल्यो– अपहरणकारीको दिनचर्या थियो । दिनैभरि काकाको पहरा दिने काम ती महिलाकै हुन्थ्यो । एक साँझ महिलाले भनिन्, ‘बाबा आज यिनीहरूले तपाईंलाई मार्ने योजना बनाउँदै छन् । सक्नुहुन्छ भने भाग्नुस् ।’

मसँगको अनेकौंपटकको संवादमा काकाको यो बयानमा हल्का हेरफेर हुन्छ । लाग्छ, त्यस रात उहाँ निकै विचलित हुनुहुन्थ्यो । एकपटक भन्नुभयो, ‘अपहरणकारीहरू राति खाना खाएर रक्सीको खोजीमा कतै गएका थिए । ती महिलाले मलाई थुनेर राखिएको घरको ढोका खोलिदिइन् र म भागेँ ।’

अर्कोपटकको संवादमा काकाको भनाइ थियो, ‘खाना खाइसकेपछि अपहरणकारीहरू कतै गएका थिए । मैले हात खोल्ने कोसिस गरेँ । बाँधिएको डोरी सजिलै खुल्यो । आँखाको पट्टी पनि खोलेँ । बिस्तारै ढोका उघारेँ र भागेँ ।’ त्यसपछिका घटनाबारे काका लम्बेतान विवरण सुनाउनुहुन्छ ।

‘रातको समय थियो । २४ दिनपछि मेरा आँखा, हात र खुट्टा एकसाथ खुलेको थिए । जता खुला देख्थेँ उतै दौडिन्थें । १०/१५ मिनेट दौडेपछि थाकेँ । अब कता जाने, कहाँ छु गम्दै थिएँ कि मेरो आँखा लहरै बलेका बत्तीहरूमा पुग्यो । धेरै टाढा लहरै बत्तीहरू बलिरहेको देखिन्थ्यो । कोसी ब्यारेजको बत्ती हो कि जस्तो लाग्यो तर, भरोसा भइरहेको थिएन । तैपनि त्यही बत्ती बलेकोतर्फ जाने सोच बनाएँ । अलिक बेर हिँडेपछि फेरि एउटा सानो नदी आयो । पानी स्थिर थियो । बत्ती बलेको ठाउँ कुन दिशामा छ मलाई जान्नु थियो । बाटोको थोरै घाँसपात उखेलेर नदीमा फालिदिएँ । घाँसपात बिस्तारै बगेर गयो । बत्ती बलेभन्दा ठीक उल्टो दिसामा घाँसपात बगेको थियो । मनले भन्यो— उत्तर दिशामा बलेको बत्ती कोसी ब्यारेजकै हुनुपर्छ । किनभने नदी त उत्तरबाट दक्षिणतर्फ बग्छ । बत्ती बलेतर्फ हिँडियो भने घरतिर पुगिने आशा पलायो । रातभरि हिँडिरहेँ । बिहानीपख एउटा गाउँमा पुगियो । एउटा दरबाजामा घुर बालिएको थियो । तीन जना बूढाहरू आगो तापिरहेका थिए । म त्यहीँ गएर बसेँ । अब बाँच्छुजस्तो लाग्यो ।’

एउटाले सोध्यो, ‘तपाईं को, कहाँबाट आएको ?’

काकाले वृत्तान्त बताउनुभयो । एक बूढाले घुरमा पराल थपिदिए । अचानक तेस्रो मान्छे त्यहाँबाट उठेर गयो ।

काका भन्नुहुन्छ, ‘घरबेटी बूढा गम्भीर भए । उनले तुरुन्तै एउटा घरको आँगनमा लिएर गए । सानो फुसको घर थियो । घरको चौकठमा गुइठाको आगो बालिएको थियो । माछा मार्ने जालको टुकडा झुन्ड्याइएको थियो । त्यहाँ बहिंगां (बाँसको लाठो) पनि गाडिएको थियो । घरभित्र प्रसूति महिला बसेकी थिइन् । उनले मलाई घरको एक–कुनामा बसाएर कम्मलले छोपिदिए ।’

केही बेरमै एक हूल मानिस आइपुगे । वरपरका सबै घरमा खोजतलास गरिसकेपछि आँगनमा आएर हल्ला गर्न थाले । घरमुलीलाई धम्क्याउन थाले । आँगनका रहेका सबैको घरको खानतलासी लिइयो । तर, उनीहरू प्रसूति बसेको घरमा पसेनन् । बच्चा जन्मेको छ दिनमा छठी गरिन्छ । छठी नभएसम्म प्रसूति बसेको घरमा पुरुष पस्न नहुने मान्यताले त्यस घरको तलासी लिइएन ।

त्यस घरमुलीको नाम अधिकलाल यादव थियो । गाउँको नाम दुबियाही थियो । कोसीको पेटमा बसेको दुबियाही भारततर्फको टापुजस्तै थियो । गाउँमा घाट बनाइएको थियो । डुंगा चल्ने निश्चित समय तोकिएको थियो । जहाँ लुके पनि गाउँबाट निस्किन र डुंगा चढ्न घाट पुग्नैपर्थ्यो । अपहरणकारी घाटमा पनि ढुकेर बसेका थिए रे !

अधिकलालको छोराले लुकीछिपी गएर प्रहरीलाई खबर गरेका थिए । केही घण्टापछि करिब दुई दर्जन भारतीय प्रहरी आएर काकालाई उद्धार गरेको थियो । नेपालको प्रहरीलाई हस्तान्तरण गरेपछि बल्ल काका अपहरण मुक्त हुनुभएको थियो ।

अर्को वर्ष काकाले फेरि कंकालिनी मन्दिरमा राँगा र बोकाको बलि प्रदान गर्नुभयो ।

प्रकाशित : भाद्र २७, २०७७ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्

राजनीतिमा स्थिरताको खोजी

सम्बन्ध कानुनी राज्यसँग हुन्छ । कानुनी राज्य कमजोर रहेको देशमा व्यक्तिकेन्द्रित राजनीति हुन्छ । व्यक्तिकेन्द्रित राजनीति भएको ठाउँमा दल विभाजनको सम्भावना बढी हुन्छ ।
तुलानारायण साह

दल विभाजनलाई सहज बनाउने गरी अध्यादेश ल्याएका कारण प्रधानमन्त्री केपी ओली चौतर्फी आलोचनाको पात्र बने । प्रधानमन्त्रीको कदमलाई राजनीतिशास्त्रीहरूले अधिनायकवादी चरित्र, सैतानी दिमागको उपज भन्दै कडा आलोचना गरे ।

प्रधानमन्त्रीको मनसाय राजनीतिक अस्थिरता निम्त्याउनु रहेको भनियो ।

कानुनी व्यवस्था

दलहरू थोरै भए भने मुलुकमा राजनीतिक स्थिरता हुने कल्पनाका साथ नयाँ संविधानमा दलसम्बन्धी केही विशेष कानुनी व्यवस्था गरिएको छ ।

पहिलो, राजनीतिक दलसम्बन्धी ऐन (२०७३) ले राष्ट्रिय स्तरका दलहरूको मात्र कल्पना गरेको छ । क्षेत्रीय दलहरूको व्यवस्था गरियो भने तिनको संख्या धेरै हुने आशंका गरिएको हुनुपर्छ । मुलुक संघीयतामा गएको छ, तर क्षेत्रीय दलको प्रावधान छैन ।

दोस्रो, थ्रेसहोल्डको व्यवस्था । समानुपातिकतर्फ देशभरिमा खसेको कुल मतको कम्तीमा ३ प्रतिशत प्राप्त गरेको हुनुपर्ने र प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेको दललाई मात्र राष्ट्रिय दलको मान्यता दिइने उल्लेख छ । यस्तो गर्नुमा पहिलो र दोस्रो संविधानसभामा असंख्य दल पुग्नाले राजनीति निकै अस्थिर भएको सोचाइले काम गरेको हुनुपर्छ । तेस्रो, दल विभाजन सम्बन्धमा नयाँ व्यवस्था ।

राजनीतिक दलसम्बन्धी नियमावलीमा विभाजित भएर नयाँ दल दर्ताका लागि पुरानोको केन्द्रीय समिति र संसदीय दल दुवैका कम्तीमा ४० प्रतिशत सदस्यले हस्ताक्षर गरेको हुनुपर्छ । यसअघि केन्द्रीय समितिका ४० प्रतिशत सदस्यको हस्ताक्षर बुझाउनुपर्ने कानुनी प्रावधान थिएन । त्यसकारण विगतमा ससाना दलका माननीयहरू पटकपटक विभाजित हुन्थे, नयाँ दल बनाउँथे र गठबन्धन सरकारमा मन्त्री बन्थे । त्यही प्रवृत्तिका कारण पहिलो संविधानसभाको कार्यकालभरि दलहरूको संख्या अचाक्ली बढेको थियो । यसबाटै राजनीतिमा अस्थिरता सिर्जना भएको आम बुझाइ थियो ।

मुलुकको विकासका लागि राजनीतिक स्थिरता अनिवार्य सर्त हो । हाम्रो संविधानले पनि मुलुकमा थोरै दल भए वा दलहरूको विभाजन रोक्न सकिए राजनीति स्थिर हुने कल्पना गरेको छ । लोकतन्त्रको स्वास्थ्य दलहरूको आकार र क्रियाकलापमा निर्भर हुन्छ । त्यसकारण लोकतन्त्रमा दलको संरचनाबारे विमर्श हुनु जरुरी छ ।

हालै फिर्ता अध्यादेशमा दल विभाजनका लागि केन्द्रीय समितिका ४० प्रतिशत सदस्यको हस्ताक्षर हुनुपर्ने प्रावधानलाई हटाइएको थियो । त्यसैको चौतर्फी विरोध भयो । यसलाई फेरि राजनीति अस्थिर बनाउने प्रपञ्चका रूपमा लिइयो तर कुनै पनि दलको केन्द्रीय समिति कुन प्रकारले निर्माण हुँदो रहेछ, त्यो कति सदस्यको हुनुपर्ने हो भन्नेबारे कसैले चासो राखेन ।

हाम्रो देशको कानुन दल विभाजनका लागि केन्द्रीय समितिका सदस्यहरूको निश्चित संख्या हुनैपर्ने त भन्छ, तर त्यो कति सदस्यसम्मको हुने भन्नेबारे मौन छ । हाम्रो कानुनले दलको केन्द्रीय समितिबारे दुइटा कुरा मात्र बोलेको छ । पहिलो, केन्द्रीय समिति वा पार्टीको सर्वोच्च कार्यकारिणी समिति कम्तीमा २१ सदस्यीय हुनुपर्ने । दोस्रो, सामान्यतया कम्तीमा पाँच वर्षको अन्तरालमा हुने दलको महाधिवेशनबाट त्यो समितिको चयन भएको हुनुपर्ने ।

हाम्रा दलहरू

कानुनले दिएको यो सुविधालाई हाम्रा दलहरूले कसरी उपयोग गरेका छन्, यसबारे चर्चा गरौं । पछिल्लो निर्वाचनबाट चार दललाई राष्ट्रिय स्तरको मान्यता मिलेको थियो । तीमध्ये समाजवादी पार्टी (सपा) का १८ सांसद थिए तर त्यस पार्टीको केन्द्रीय समिति थियो करिब साढे ४०० सदस्यको ।

अर्को लगभग त्यति नै सांसद संख्या भएको राष्ट्रिय जनता पार्टी (राजपा) को केन्द्रीय समितिमा ८०० सदस्य थिए । अहिले यी दुवै पार्टी मिलेर जनता समाजवादी पार्टी (जसपा) बनेको छ, जसको केन्द्रीय कार्यसमितिमा करिब ८०० सदस्य रहने समझदारी भएको छ । विभाजनको चर्चा चलेको अर्को दल थियो- नेकपा (नेकपा), जसको केन्द्रीय समिति ४४१ सदस्यीय छ ।

कुन दलको केन्द्रीय समिति कति सदस्यको रहने, प्रस्ट छैन । सबै दलका संसदीय दलका सदस्यहरू प्रत्यक्ष वा समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएर आएका हुन्छन् तर केन्द्रीय समिति सदस्य महाधिवेशनबाट वा अन्य कुनै निर्वाचनबाट आएका हुँदैनन् । नेपाली कांग्रेसबाहेक अहिले संसद्मा रहेका अन्य दल विभिन्न घटकबीचको एकीकरणबाट बनेका छन् । एकीकरणपछि नेकपा (नेकपा) को महाधिवेशन भएको छैन, न त हिजोका राजपा वा सपाको भएको थियो । नयाँ जसपाको त हुने कुरै भएन ।

यी दलका केन्द्रीय समितिमा सदस्य चयनको प्रक्रियालाई अध्यक्षले आफूअनुकूल बनाएको सजिलै बुझिन्छ । यस्तो अवस्थामा दल विभाजनको कानुनमा यदि केन्द्रीय समितिको पनि ४० प्रतिशत सदस्यको सहमति अनिवार्य गरिन्छ भने यसले सोझै दलको अध्यक्षलाई एकलौटी गर्न प्रोत्साहन गरेको मानिन्छ ।

कानुनले दल विभाजनलाई प्रोत्साहन गर्नु हुँदैन भन्ने मान्यता सही हो, तर कानुनले दलविशेषका अध्यक्षलाई पनि त एकलौटी निर्णय गर्न सहयोग गर्नु भएन !

यहाँनिर तर्क गर्न सकिन्छ- दलभित्रका कुरामा संविधान वा कानुनले बोल्न मिल्दैन । त्यसो भए यसबारे अन्य मुलुकको अभ्यास हेरौं ।

अन्तर्राष्ट्रिय अभ्यास

राजनीतिक दलको अवधारणा बेलायतबाट विकसित भएको मानिन्छ । सत्रौं शताब्दीको अन्त्यतिर बेलायतमा पहिलो दल बनेको थियो । वेबसाइटमा प्राप्त जानकारीअनुसार, बेलायतको सत्ताधारी कन्जर्भेटिभ पार्टीको केन्द्रीय समिति (बोर्ड) केवल १९ सदस्यीय छ । लेबर पार्टीको नेसनल एक्जिक्युटिभ कमिटी जम्मा ४१ जनाको छ । तेस्रो ठूलो दल स्कटिस नेसनल पार्टीको नेसनल एक्जिक्युटिभ कमिटीमा १८ जना छन् ।

संयुक्त राज्य अमेरिकाको सबैभन्दा पुरानो डेमोक्रेटिक पार्टीको सर्वोच्च कार्यकारिणी समिति ३१४ सदस्यीय छ भने रिपब्लिकन पार्टीको केन्द्रीय कार्यसमिति १७१ सदस्यीय ।

यी त भए युरोप र अमेरिकाका दलहरू । हाम्रा दललाई युरोपेली वा अमेरिकीसँग तुलना गर्न मिल्दैन भनिएला । नेपाली दलीय राजनीतिमा भारतीय राजनीतिको ठूलो प्रभाव छ । त्यसकारण भारतीय दलहरूको केन्द्रीय समितिबारे विश्लेषण बढी सान्दर्भिक होला ।

भारतमा राष्ट्रिय र क्षेत्रीय दलका लागि छुट्टाछुट्टै कानुनी व्यवस्था छन् । केन्द्रीय संसद्को निर्वाचनमा खसेको कुल मतको कम्तीमा ६ प्रतिशत प्राप्त गरेको र चार प्रान्तबाट कम्तीमा चार सांसद जितेको दललाई राष्ट्रियको मान्यता दिइन्छ । त्यसअनुसार अहिले भारतमा आठ राष्ट्रिय दल छन् । त्यस्तै, प्रदेशसभाको निर्वाचनमा कम्तीमा ६ प्रतिशत मत पाएको र दुइटा सदस्य जितेको पार्टीले प्रदेशस्तरीय दलको मान्यता पाउँछ । पछिल्लो तथ्यांकअनुसार, भारतमा प्रदेशस्तरीय दल ५३ वटा छन् ।

सबैभन्दा पुरानो दल भारतीय राष्ट्रिय कांग्रेसको केन्द्रीय कार्यकारिणी समिति केवल ५१ सदस्यीय छ । सत्ताधारी भारतीय जनता पार्टीको केन्द्रीय कार्यसमितिमा १७१ सदस्य छन् । भारतीय कम्युनिस्ट पार्टीको संरचना अन्यभन्दा फरक रहे पनि केन्द्रीय कार्यकारिणी समितिमा लगभग १५० सदस्य छन् ।

क्षेत्रीय पार्टीहरूमा सबैभन्दा नयाँ मानिएको आम आदमी पार्टीको केन्द्रीय कार्यसमिति केवल २३ जनाको हुने त्यस दलको विधानमा उल्लेख छ । भारतका अन्य राष्ट्रिय र क्षेत्रीय पार्टीहरूको वेबसाइटमा केन्द्रीय समितिबारे पर्याप्त जानकारी छैन । सीमावर्ती बिहारमा नीतीश कुमार नेतृत्वको सत्तारूढ जनता दल (युनाइटेड) को पछिल्लो केन्द्रीय कार्यसमितिको बैठकमा ९१ सदस्य उपस्थित रहेको त्यस पार्टीको वेबसाइटमा उल्लेख छ । अर्थात्, भारतमा राष्ट्रिय वा क्षेत्रीय जुनै प्रकारको दल भए पनि चार, पाँच वा आठ सयको केन्द्रीय समिति देखिँदैन । हाम्रै देशमा पनि सबैभन्दा पुरानो दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति लगभग ९० सदस्यीय मात्र छ ।

तसर्थ दलहरूको निर्माण, कार्यसमिति र कार्यविधिबारे खासै बोल्न नरुचाउने हाम्रो कानुनले विभाजनलाई निरुत्साहित गर्दैमा मुलुकमा राजनीतिक स्थिरता सम्भव छैन ।

स्थिरताका लागि अन्य उपाय

राजनीतिक स्थिरताको कानुनी राज्य (रुल अफ ल) सँग पनि सम्बन्ध रहेको कतिपय राजनीतिशास्त्रीको धारणा छ । जुन देशमा कानुनी राज्य बलियो हुन्छ, त्यहाँ दलकेन्द्रित राजनीति हुन्छ । जहाँ कानुनी राज्य कमजोर छ, त्यहाँ व्यक्तिकेन्द्रित राजनीति हुने हो । व्यक्तिकेन्द्रित राजनीति भएको ठाउँमा दल विभाजनको सम्भावना बढी हुन्छ ।

बेलायत र अमेरिकामा बलियो कानुनी राज्य रहेकाले दलकेन्द्रित राजनीति भइरहेको पाइन्छ । भारतमा पनि पछिल्लो दशकमा त्यस्तै अभ्यासको प्रयास हुँदै छ ।

अहिले हामीकहाँ दल विभाजनलाई सहज हुने अध्यादेश प्रधानमन्त्री ओलीको ठाडो आदेशमा आएको थियो । कमजोर कानुनी राज्य र व्यक्तिकेन्द्रित राजनीतिकै कारण यसमा अपहरण प्रकरण पनि जोडिन पुग्यो । राजनीतिक स्थिरताको खोजी केवल दल विभाजनलाई निरुत्साहित गरेर होइन कि, कानुनी राज्यको मान्यतालाई इमानदारीपूर्वक लागू गर्दा हुन्छ ।

प्रकाशित : जेष्ठ ६, २०७७ ०८:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×