१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

देबन काकाको अपहरण-कथा

गाउँलेहरु सरकारी सेनालाई ५ सरकार, माओवादीका जनसेनालाई ६ सरकारर मधेसी सशस्त्र समूहलाई ७ सरकार भन्थे । बेलाबेला ६ र ७ सरकारबीच झडप हुन्थ्यो । तर, ५ सरकारलाई देखेपछि दुवै टाप कस्थे ।
तुलानारायण साह

२०६५ साल भदौ एक–दोपहरको समय । आफ्नै घरको ढोकामा अडेस लागेर बसिरहनुभएका देबन काकालाई कोही एक जना अपरिचित मानिसले एउटा चिठी थमाएर गयो । चिठीमार्फत मधेसी मुक्ति टाइगर्सले एक लाख रुपैयाँ चन्दा मागेको थियो । बीस दिनको म्याद दिइएको थियो । देबन काकाकै घरसँग टाँस्सिएको हाम्रो घरमा पनि ठ्याक्कै त्यस्तै बेहोराका चिठी आएको थियो ।

देबन काकाको अपहरण-कथा

छिमेकी गाउँ त्रिकौलका बामनेता जयकृष्ण गोइत ‘जनयुद्ध’ मा होमिएदेखि नै वरिपरिका गाउँहरूमा माओवादी–प्रभाव झांगिएको थियो । गोइतले पृथकतावादी आन्दोलन थालेपछि मधेसैभरि अनेकौं सशस्त्र समूहको उदय भएको थियो । माओवादी शान्ति प्रक्रियामा गइसकेपछि पनि मधेसमा टाइगर, कोब्रा, भाइरस, नागराजजस्ता सशस्त्र समूहको बिगबिगी कायम थियो ।

२०६०/६१ तिर देशमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन थियो । माओवादी ‘जनयुद्ध’ पनि जारी थियो । सँगै हाम्रो गाउँ सप्तरीको गोइठीमा अनेक सशस्त्र समूहको सक्रियता थियो । गाउँलेहरू सरकारी सेनालाई पाँच सरकार, माओवादीका जनसेनालाई छ सरकार र मधेसी सशस्त्र समूहलाई सात सरकार भन्थे । गाउँमा बेलाबेला छ र सात सरकारबीच झडप हुन्थ्यो । पाँच सरकारलाई देखेपछि दुवै टाप कस्थे ।

‘जनयुद्ध’ सकिँदासम्म मैले इन्जिनियरिङको पढाइ सकिसकेको थिएँ भने भाइले भेटेरिनरी डाक्टरको पढाइ सकिसकेको थियो । भाइ सेनामा कार्यरत भएकाले हाम्रो परिवार विशेष जोखिममा थियो । मधेसी टाइगर्सको चिठी आएपछि आमाले फोनमा खबर गर्नुभो, ‘सात सरकारको चिठी आएको छ । एक लाख चन्दा मागेको छ । देबन बाबुको घरमा पनि चिठी आएको छ । तिमीहरू अहिले घरतिर नआउनु, खतरा छ ।’

हामी साह्रै चिन्तित थियौँ । तीन दिनपछि बिहानै फेरि बुबाको फोन आयो । बुबा बोल्न सकिरहनुभएको थिएन । मात्रै धेरैपटक ‘जुलुम भयो... जुलम भयो’ भनिरहनुभयो । निकै बेरपछि बिस्तारै बोल्नुभयो, ‘राति १०/१५ जना सात सरकारहरू आएका थिए । देबनलाई अपहरण गरेर लगे । म रातभरि छिमेकीको घरमा लुकेर बसेँ । अहिले भारदह आइपुगेको छु । अब के गर्ने ?’

बुबा विस्थापित भएर एक महिनासम्म दिदीको गाउँमा बस्नुपरेको थियो ।

***

काकालाई अपहरण गरेर लगिएको थियो । १५ जना जत्तिको समूह आएको थियो रे ∕ काका बरन्डामा सुतिरहनुभएको थियो । नियन्त्रणमा लिनासाथ काकाको आँखामा पट्टी बाँधियो । अपहरणकारीले काकालाई चल्तीको बाटो छोडेर हिँडाउँदै पूर्वतिरको धान खेततर्फ लगिरह्यो ।

‘चन्दा किन नदिएको ? छोराहरू इन्जिनियर, डाक्टर भएर पनि चन्दा नदिने ?,’ बाटोमा अपहरणकारीहरूले सोधेको काकालाई अझै सम्झना छ ।

करिब एक घन्टा हिँडाएपछि अपहरणकारीले काकालाई चौडा पक्की सडक पार गराएको थियो । करिब १० मिनेट थप हिँडाएपछि एक जनाले चिच्याउँदै भन्यो, ‘भाग भाग... पुलिस आयो...’ तर, काकालाई विश्वास लागेन । उहाँलाई लाग्यो— कतै यो नाटक त होइन ? भाग्न खोज्यो भने गोली पो हान्ने हुन् कि ?

केही बेरमा काकाको आँखाको पट्टी फुकाउँदा कोही देखिएनन् । वरिपरि हेर्दा दक्षिणतर्फ कंकालनी मन्दिरमा झिलिमिली बत्ती बलिरहको देखियो । अलिपर कोसी ब्यारेजमा पनि लहरै बत्ती बलेको देखिन्थ्यो । उत्तरतर्फ नजिकै एउटा गाउँ थियो । पश्चिमपट्टिको सडकबाट छिनछिनमै बत्ती बाल्दै, हर्न बजाउँदै बस, ट्रकहरू गुडिरहेका थिए ।

काकालाई आफू भारदह नजिकको भलुवा गाउँछेउछाउ भएको अनुमान भयो । बिस्तारै सडकसम्म पुग्नुभयो । उज्यालो भएपछि फर्केर गाउँ आउनुभयो । काका भन्नुहुन्छ, ‘कंकालिनी माताले त्यस रात मेरो जीवन रक्षा गरेकी थिइन् ।’

मेरो अनुमानमा अपहरणकारीले मान्छे छनोटमा गल्ती गरेका थिए । खासमा उनीहरू हाम्रो बुबालाई अपहरण गर्न आएका रहेछन् । काकाका छोराहरू इन्जिनियर र डाक्टर होइनन् । जब अपहरणकारीलाई यो कुरा थाहा भयो, तब काकालाई छाडेर भागेको हुनुपर्छ । तर, काकाले त्यसै बर्षको दसैँमा कंकालिनी मन्दिरमा राँगा र बोकाको बलि प्रदान गर्नुभयो ।

फेरि अपहरण

अर्को वर्ष अर्थात् २०६६ सालमा काका फेरि अपहरणमा पर्नुभयो । घरदेखि करिब एक किलोमिटर पूर्वको खेतमा पानी लगाउँदै गर्दा राति ११ बजेतिर उहाँको अपहरण भएको थियो । काकाकै अनुमानमा यसपटक पनि उहाँको होइन, उहाँकै छोराको अपहरण गर्ने योजना थियो अपहरणकारीको । तर, संयोगले त्यस रात छोरा खेत नजाँदा काका आफैं अपहरणमा परेका थिए ।

अघिल्लो रात नहरको पानी लाउने क्रममा काकाको जेठो छोरा शंकरको एक केटोसँग भनाभन भएको थियो । केटो छिमेकी गाऊको अर्जी थियो । गाउँमै बसेर सरकारी जागिर, खेती किसानी र राजनीति सबै गर्न भ्याउने केटो खासा चल्तापुर्जा थियो । उसैले काकाको अपहरण गराएको धेरैको अनुमान छ । तर, प्रमाण नजुटेकाले केटोलाई केही कारबाही भएन ।

भनाभन भएको रातभरि शंकर खेतमै बसेको थियो । भोलिपल्ट शंकरलाई आराम गर्न भनेर काका आफैँ खेतमा गएका थिए । दुई बलिया मान्छे आएर काकालाई नियन्त्रणमा लिनासाथ आँखामा पट्टी बाँधेर दक्षिणतर्फ हिँडाउन थाले ।

गोइठीबाट करिब ६/७ किलोमिटर सीधा दक्षिणतर्फ हनुमाननगर बजार पर्छ । हनुमाननगरको पूर्वतर्फ कोसी नदीका विभिन्न धार बग्छन् । त्यहाँका विभिन्न घाटबाट गोबरगाढा गाउँ पुग्न सकिन्छ ।

कोसी ब्यारेजमा उभिएर दक्षिणतर्फ हेर्दा कोसीको पानी एउटै धारमा बगेको देखिन्छ । तर, केही तल पुग्नेबित्तिकै त्यही पानी अनेकौँ धारमा विभाजित भएर बग्छन् । दुइटा तटबन्धको बीच (अर्थात् कोसी नदीको पेट) मा दर्जनौँ गाउँ छन्, जहाँ अहिले पनि लाखौँ जनसंख्याको बसोबास छ । अपहरण गरेकै रात करिब दुई घन्टा हिँडाएपछि काकालाई डुंगा चढाएर कोसी पार गराई गोबरगाढा लगिएको थियो ।

आँखामा निरन्तर पट्टी बाँधिन्थ्यो । शौचालय जानुपरे कहिलेकाहीं पट्टी खोलिन्थ्यो । कहिले खाना दिइन्थ्यो, कहिले भोकै राखिन्थ्यो । अग्लो–अग्लो झाडी भएको चौरमा लगेर हात, खुट्टा बाँधेर मुर्दाजस्तै घन्टौंसम्म दिनैभर घाममा सुताइन्थ्यो । र, त्यसपछि अपहरणकारी गायब हुन्थे । हरेक दुई–चार दिनमा अर्को समूहलाई हस्तान्तरण गरिन्थ्यो । रातिचाहिँ घरमै सुत्न दिइन्थ्यो ।

दुई–चार दिनको फरकमा बेस्सरी कुटिन्थ्यो । कहिले कुट्दाकुट्दै त कहिले कुटिसकेपछि छोरासँग मोबाइलमा कुरा गराइन्थ्यो । ठाउँसारी गर्दागर्दै काकालाई भारततर्फको कुनै गाउँमा पुर्‍याइएको थियो । अन्तिमको आठ दस दिन त्यही ठाउँमा राखिएको थियो ।

काका भन्नुहुन्छ, ‘त्यस घरकी महिला साह्रै दयालु थिइन् । घरमा एउटा पाँच/छ वर्षको बच्चा थियो । बच्चा मलाई दादाजी भन्थ्यो ।’

अपहरणकारीले कहिले दिनैभरि घरमा, कहिले बाहिर घाममा राख्थे । आयो, कुट्यो, तथानाम गाली गर्‍यो अनि फेरि कतै गइहाल्यो– अपहरणकारीको दिनचर्या थियो । दिनैभरि काकाको पहरा दिने काम ती महिलाकै हुन्थ्यो । एक साँझ महिलाले भनिन्, ‘बाबा आज यिनीहरूले तपाईंलाई मार्ने योजना बनाउँदै छन् । सक्नुहुन्छ भने भाग्नुस् ।’

मसँगको अनेकौंपटकको संवादमा काकाको यो बयानमा हल्का हेरफेर हुन्छ । लाग्छ, त्यस रात उहाँ निकै विचलित हुनुहुन्थ्यो । एकपटक भन्नुभयो, ‘अपहरणकारीहरू राति खाना खाएर रक्सीको खोजीमा कतै गएका थिए । ती महिलाले मलाई थुनेर राखिएको घरको ढोका खोलिदिइन् र म भागेँ ।’

अर्कोपटकको संवादमा काकाको भनाइ थियो, ‘खाना खाइसकेपछि अपहरणकारीहरू कतै गएका थिए । मैले हात खोल्ने कोसिस गरेँ । बाँधिएको डोरी सजिलै खुल्यो । आँखाको पट्टी पनि खोलेँ । बिस्तारै ढोका उघारेँ र भागेँ ।’ त्यसपछिका घटनाबारे काका लम्बेतान विवरण सुनाउनुहुन्छ ।

‘रातको समय थियो । २४ दिनपछि मेरा आँखा, हात र खुट्टा एकसाथ खुलेको थिए । जता खुला देख्थेँ उतै दौडिन्थें । १०/१५ मिनेट दौडेपछि थाकेँ । अब कता जाने, कहाँ छु गम्दै थिएँ कि मेरो आँखा लहरै बलेका बत्तीहरूमा पुग्यो । धेरै टाढा लहरै बत्तीहरू बलिरहेको देखिन्थ्यो । कोसी ब्यारेजको बत्ती हो कि जस्तो लाग्यो तर, भरोसा भइरहेको थिएन । तैपनि त्यही बत्ती बलेकोतर्फ जाने सोच बनाएँ । अलिक बेर हिँडेपछि फेरि एउटा सानो नदी आयो । पानी स्थिर थियो । बत्ती बलेको ठाउँ कुन दिशामा छ मलाई जान्नु थियो । बाटोको थोरै घाँसपात उखेलेर नदीमा फालिदिएँ । घाँसपात बिस्तारै बगेर गयो । बत्ती बलेभन्दा ठीक उल्टो दिसामा घाँसपात बगेको थियो । मनले भन्यो— उत्तर दिशामा बलेको बत्ती कोसी ब्यारेजकै हुनुपर्छ । किनभने नदी त उत्तरबाट दक्षिणतर्फ बग्छ । बत्ती बलेतर्फ हिँडियो भने घरतिर पुगिने आशा पलायो । रातभरि हिँडिरहेँ । बिहानीपख एउटा गाउँमा पुगियो । एउटा दरबाजामा घुर बालिएको थियो । तीन जना बूढाहरू आगो तापिरहेका थिए । म त्यहीँ गएर बसेँ । अब बाँच्छुजस्तो लाग्यो ।’

एउटाले सोध्यो, ‘तपाईं को, कहाँबाट आएको ?’

काकाले वृत्तान्त बताउनुभयो । एक बूढाले घुरमा पराल थपिदिए । अचानक तेस्रो मान्छे त्यहाँबाट उठेर गयो ।

काका भन्नुहुन्छ, ‘घरबेटी बूढा गम्भीर भए । उनले तुरुन्तै एउटा घरको आँगनमा लिएर गए । सानो फुसको घर थियो । घरको चौकठमा गुइठाको आगो बालिएको थियो । माछा मार्ने जालको टुकडा झुन्ड्याइएको थियो । त्यहाँ बहिंगां (बाँसको लाठो) पनि गाडिएको थियो । घरभित्र प्रसूति महिला बसेकी थिइन् । उनले मलाई घरको एक–कुनामा बसाएर कम्मलले छोपिदिए ।’

केही बेरमै एक हूल मानिस आइपुगे । वरपरका सबै घरमा खोजतलास गरिसकेपछि आँगनमा आएर हल्ला गर्न थाले । घरमुलीलाई धम्क्याउन थाले । आँगनका रहेका सबैको घरको खानतलासी लिइयो । तर, उनीहरू प्रसूति बसेको घरमा पसेनन् । बच्चा जन्मेको छ दिनमा छठी गरिन्छ । छठी नभएसम्म प्रसूति बसेको घरमा पुरुष पस्न नहुने मान्यताले त्यस घरको तलासी लिइएन ।

त्यस घरमुलीको नाम अधिकलाल यादव थियो । गाउँको नाम दुबियाही थियो । कोसीको पेटमा बसेको दुबियाही भारततर्फको टापुजस्तै थियो । गाउँमा घाट बनाइएको थियो । डुंगा चल्ने निश्चित समय तोकिएको थियो । जहाँ लुके पनि गाउँबाट निस्किन र डुंगा चढ्न घाट पुग्नैपर्थ्यो । अपहरणकारी घाटमा पनि ढुकेर बसेका थिए रे !

अधिकलालको छोराले लुकीछिपी गएर प्रहरीलाई खबर गरेका थिए । केही घण्टापछि करिब दुई दर्जन भारतीय प्रहरी आएर काकालाई उद्धार गरेको थियो । नेपालको प्रहरीलाई हस्तान्तरण गरेपछि बल्ल काका अपहरण मुक्त हुनुभएको थियो ।

अर्को वर्ष काकाले फेरि कंकालिनी मन्दिरमा राँगा र बोकाको बलि प्रदान गर्नुभयो ।

प्रकाशित : भाद्र २७, २०७७ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?