काकाकुल कोइलाबास- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काकाकुल कोइलाबास

बुटवलदेखि पश्चिम र नेपालगन्जदेखि पूर्वको मूल नाका कोइलाबास गुमनाम भएको छ । काकाकुल भएको छ । ‘कोमा–नाका’ भएको छ । के यहाँको क्रन्दन सिंहदबार नपुगरै कोइलाबास ‘उठीबास’ भएको हो ?
नवीन विभास

लोककथन छ, ‘सुन नभए नि हुन्छ, मानिसलाई नुन नभई हुन्न ।’
सञ्जोग ! नहुँदा पनि हुने ‘सुन’ यतिबेला जुगकै सर्वाधिक महँगो छ ।


रापती, रोल्पा, लुङ्रीखोला सुनछहारी वरपर स्थानीय बालुवा चालेर ‘सुन जोहो’ गर्न सक्छन् । तर, मानिसलाई नभई नहुने ‘नुन जोहो’ गर्न भने सिंगो रापती (कम्तीमा वर्षको एकपालि) आधा महिनाको समय सँगालेर कोइलाबास झर्छ, जुन नुनथला दाङ सदरमुकाम घोराहीदेखि ५६ किलोमिटर दक्षिण–पूर्व नाका (भारतसँग) मा छ, जो कुनै जुगको व्यापारिक ‘साल्ट सिटी’ र नेपालको एक मुख्य निर्यात नाका पनि हो ।

सबभन्दा नजिकको नाका कोइलाबासबाट भित्रिने सामान रापतीवासीलाई छरितो, सस्तो र सुलभ हुन्छ । कोइलाबासनजिक छन्, भारतीय सहर कानपुर, लखनउ, बनारस आदि ।

दुःखद कुरो, बुटवलदेखि पश्चिम र नेपालगन्जदेखि पूर्वको मूल नाका कोइलाबास भने गुमनाम भएको छ । काकाकुल भएको छ । ‘कोमा–नाका’ भएको छ ।

के कोइलाबासको क्रन्दन सिंहदरवार नपुगेरै कोइलाबास ‘उठीबास’ भएको हो ?

तथ्य छ–

  • कोइलाबासवाल दाङको छिमेकी रोल्पाबाट पुष्पकमल दाहाल प्रचण्ड नेपालको कार्यकारी प्रमुख प्रधानमन्त्री पदधारण गर्छन् ।
  • कोइलाबास रहेको जिल्ला दाङकै शंकर पोखरेल पाँच नम्बर प्रदेश मुख्यमन्त्री छन् ।
  • रोल्पाका ओनसरी घर्तीमगर र कृष्णबहादुर महरा सभामुख बन्छन् । बालाराम घर्तीमगर र परशुनारायण चौधरीहरू पञ्चायतकालमा मन्त्री ।
  • कोइलाबासको प्रत्यक्ष भोटबाट खुमबहादुर खड्का सिंहदरबार पुग्छन् । पटकपटक मन्त्री बन्छन् ।

खैर, यी तथ्य तपसिलमा राखौँ । सिर्फ एक सेकेन्ड कल्पौँ कि, ‘मान्नाम उल्टिएर’ कोइलाबासको लाली जोवन फर्किएछ भने कस्तो बास होला, कोइलाबास ?

सिर्फ सेकेन्ड सही, कल्पना गरौँ । र, मिल्छ भने मेसो मिलाम्, एक बास भए नि, कोइलाबास बासको ।

...नलाऊ सारी कोइलाबास बजारको

लाऊ सारी हजारको

नलाऊ सारी कोइलाबास बजारको

रोल्पाली वनपाखामा दाउरा काट्दाखेरिको टाक्कटुक्क ट्युन र सोत्तर सोर्दा सारामसोरम सुरमा सुसेलिने ‘गीत गेडा’ हो, यो । ‘बाला जोवन’ मा सुनेको कोइलाबास लोरी सिलुक अहिले पनि खुटुखुटु ‘बारुली (बाडुल्की)’ लाग्छ । जस्तो– साना आँखावाल भारेडोकाको मुख मसिनो डोरीले बुनेको जाली (जालजस्तो) ले ढाक्छ । जालीले छोपेको भारेडोकाभित्र हुन्छ— जडीबुटी, घिउ, गाँजा रेसाबाट बुनेका बोल्ला । कम्तीमा आधा महिनालाई पुग्ने सिन्की, मारेको साग (सागको सुकुटी), खाजा (मकै, भटमास, भाङ (गाँजाको फल) भुटेर मिसाएको) र पिठो (मकै र गहुँको पिठो) । खाना खाने र पकाउने भाँडाबर्तन ।

भरिभराउ भारेडोका हटारु टाउकोमा बर्रे (नाम्लो) र कुममा खकन्नाले बोकेर घंघारुको लौरो टेक्दै (तिहार सेलाएको केही दिनपछि, कम्तीमा घरको एक जना) रोल्पाको सुदूर जैपा गाउँ नै कोइलाबास ‘हटारु हाट’ हिँड्छ । पश्चिम नेपालतिर नुन बोक्न जाने मान्छेलाई ‘हटारु’ भन्छन् त जानुलाई ‘हाट’ ।

हटारु बास बस्छ— दुब्लो चुनबाङगार (खोला) तरेर पहिलो बास चप्का, ओबाङ, सिस्ने वा तार्केबाङ । त्यसपछि क्रमशः घर्तीगाउँ, थुर्पा, तिला, कल्चुओडार, राइबाङ, भाङ्ङुबारी, धुम्बास, खुम्बास, होलेरी, काकपानी, दाङछिरी, कोइलाखानी, दुईखोली, बगाले, घोराही, कुइरेपानी, मस्कोट, कुलमोर, लमही ।

ढाङ्ढुङ्गारसँग दुईखोलीमा पार्टी एकता गरेको त्यो दुब्लो चुनबाङ्गार त तार्केबाङमा चिउरागारसँग मिसिएर मारी बन्छ । झिम्रुकसँग मिसिएर तन्नेरिँदै गढवा टेक्न हटारुले तर्दा मारी त रापती भइसकेको हुन्छ ।

हटारु हूल रापती तरेर तीन हवा (सेमरहवा, गढवा र कक्रहवा) र तीन बास (ज्याम्नेबास, आमबास र इमिलीबास) मा बास बस्छ । पेदी, सिसुवारा, चोरखोली, बुर्निया पुग्छ ।

अनि ?

झन्डै एक हप्ता वरपर हटारु हुल (दङाली वामनेता देवी पोखरेलको शब्दमा) ‘खनेर होइन, हिँडेर बनेको बाटो’ भएर कोइलाबास पुग्छ ।

दर्जनभन्दा माथिको संख्यावाल हटारु हूल कतै ओढारमा बास बस्छ कतै ठूलो रूखमुनि त कतै सम्म (सुत्न मिल्ने) पाखामा ।

रुकुम, रोल्पा, प्यूठान, सल्यान, दाङबाट झरेको हटारु हूल कोइलाबासमा भारेडोका खन्याउँछ— (ओढ्ने लुगा, खानेकुरा र खाने, पकाउने भाँडाबर्तन बाँकी राखेर) रित्तिएको भारेडोकामा एकेक गरी भरिन्छ–

  • वर्ष दिन धान्ने नुनले ।
  • किसानगिरी गर्ने (कुटो, कोदालो, फरुवा, आँसी (हँसिया), हलोको फाला, गैती, बेल्चा बनाउने फलाम), तामाको गाग्रा र खाना खाने थाल, बुट्का (कचौरा) ले ।
  • कम्तीमा एक वर्षका लागि परिवारको आङ ढाक्ने लुगालत्ताका साथै ‘माथि’ जाने बाटो (कात्रो) ले ।
  • गुर (भेली) र सिद्राले ।

‘कोइलाबास’ बोकेर हटारु हूल गाउँ फर्कन्छ, ‘कतै साइली बरै त कतै स्यानीमाय गीत’ ले तान्दै ।

यसरी, कम्तीमा वर्षको एकपालि रापती कोइलाबासखोला किनारमा अवस्थित कोइलाबास नुन लिन झर्छ ।

रोल्पा राङ्कोट जैपाबाट झर्ने हटारु हूल मेरो च्याप्जुको हो । जिजुको हो । बाजेको हो । बाबैको हो । (दाजुको पालामा त कोइलाबास घोराही सरिसकेको हुन्छ ।)

हटारुसँगै राँगा र घोडा कोइलाबास लर्को लाग्छ । यति ठूलो लर्को कि, बूढापाकाहरू त राँगा र घोडाका पिसाबको ‘भल (बाढी)’ बग्थ्यो भन्छन् ।

लर्को लाग्छ, ज्याला मजदुरी गर्न कालापार (भारत) जाने कालापारे, भारतीय सेनामा भर्तीवाल लाहुरेका । लेखपढ गर्न जाने (प्रायः बाहुन ठिटा) र काशीबास जाने (सबैजसो बाहुन वृद्धवृद्धा) लर्को पनि लाग्छ ।

घोडा, राँगा र मानिसका काँध चढेर जडीबुटीजस्ता सम्पदासहित तोरी, धान, मकै, गहुँ पनि कोइलाबास पुग्छ ।

स्थानीय पत्रकार राधेश्याम गुप्ता लेख्छन्, ‘सेतो कपडाको सिंगै थान किनेको देखेर अचम्म लाग्यो । सोधेपछि हटारुले भने— सिरक छेउला बनाए पनि भयो, मरेपछि कात्रो बनाए पनि भयो । मान्छे परानीको के भर ? मरेपछि सेतो कपडा चाहियो । कोइलाबास टाढा छ ।’

घोराही चौघेरास्थित मन्दिरबाट हरेक चैतमा रत्ननाथ पैदल (माओवादी जनयुद्धका कारण गाडीमा जान थाल्छन्) पुग्छन्, भारतको पाटन । भन्छन्, चौघेराबाट रत्ननाथ दाजु पाटनमा बहिनी भेट्न गएकाले यस्तो चलन चलेको हो । देवी पोखरेलका अनुसार, ८/१० दिने पाटनदेवी मेलामा बम्बई र कानपुरबाट समेत व्यापारी पुग्छन् । नेपालबाट पनि धान, तोरीलगायतका समान लिएर जान्छन् । चौघेराबाट पाटन (कोइलाबासबाट २५ किलोमिटर) जानेक्रम जारी छ ।

कोइलाबासमा भन्सार, प्रहरी ठाना, दूरसञ्चार, साल्ट ट्रेडिङ कम्पनी, हुलाक, विद्युत्, सटही काउन्टर, स्वास्थ्य चौकीलगायतका सरकारी अड्डा हुन्छन् ।

नेपालपट्टि २०३० देखि कोइलाबास–लमही बस चल्छ भने भारतपट्टि बसका साथै जरुवा (कोइलाबासबाट चार किलोमिटर) रेल । कोइलाबासबाट नजिकको भारतीय सहर तुलसीपुर (कोइलाबासबाट २४ किलोमिटर) । नजिक छन्, कानपुर, लखनउ, बनारस आदि सहर । जरुवा र तुलसीपुरबाट नेपालीहरू भारतका विभिन्न भागमा छरिन्छन् ।

कोइलाबासले सबभन्दा बढी तोरी निर्यात गर्छ । भनिन्छ, त्यसताका नेपालको मुख्य निर्यात नाकामध्ये कोइलाबास एक हो ।

‘खोलाको ढुंगाभन्दा बढी नुनको ढेर हुन्थ्यो । ढेर ढलेर केटाकेटी चाँपिएरै मर्थे,’ गोडा राख्ने ठाउँसमेत नहुने ‘त्यो’ कोइलाबास सम्झेर कोइलाबास डाँडागाउँका जितकुमारी रोकामगर (७४) र राधिका सिंह (७१) नोस्टाल्जिक हुन्छन्, ‘झिलिमिली कोइलाबास त हेर्दाहेर्दै हाम्रै आँखामा सुनसान भयो ।’

लेखक निमबहादुर थापा लेख्छन्, ‘कोइलाबास नाका दुई सय वर्ष पुरानो छ ।’

नुनथलो कोइलाबास

लेखक छविलाल कोपिला र कोइलाबासे वडा सदस्य नारायणसिंह थापामगरलाई पछ्याएर फागुन पहिलो साता पुर्खाको नुनथलो कोइलाबास पुग्छु ।

एक वृद्ध मध्याह्न घाममा पावर एकदमै कम भएको बेला बल्ने बल्बजसरी आँखा चिमचिमाउँदै उठ्छन् । जुन आँखा कोइलाबासखोलाजसरी भासिएका छन् त कोइलाबासे कुवाजसरी सुक्खा । चाउरिएको गाला समाएर कति दारी उभिएका छन् त कति सुतेका ।

एकचौथाइ छानोले छाडिसकेको खरछाने कटेरोअगिल्तिर सडकमै बूढो काठको खाटमा ती वृद्ध र कलेजीरङे पाठो विपरीत दिशातिर फर्केर सुतेका हुन्छन् । छेवैमा उत्तानो थोत्रो साइकल मस्त निद्रामा हुन्छ ।

वडा सदस्यको गला गाँस्दै ती वृद्धले कोइलाबासी छाती, मुटु, आँखा, नाक, गल्ली, भित्ता, रूख, घर, मन्दिर, मस्जिद देखाउँछन् ।

सुन्दै/हेर्दै खोज्छु–

जेई (आमा) ले नुनको भारी बिसाएको । ठूल्दाजुलाई पढाउन जेईले बुनेको बोल्ला (गाँजाको रेसाले बुनेको लुगा) र सोमा (जडीबुटी) बेचेको बान्ने (भारतीय मूलका व्यापारीलाई रापतीतिर बान्ने वा बनिया भन्छन्) को दुकान । बाजेले बोईलाई मसुरे गुन्ने (गुन्यु) किन्देको । पुर्खाका सपना र रहर मौवा (महुवा) मा मौलाउँदै लैबरी खेलेजसरी खोज्छु ।

कान थाप्छु, जेईबाबैले नुन बोक्दा सुसेलेका सुस्केरा सालका पातसँगै फर्फराइरहेछन् जसरी । आँखाले उही हटारु लर्कोमा जेईबाबै खोज्छ, जसरी तिर्खाएको ऊँटले मरुभूमिमा पानी खोज्छ ।

‘कोइलाबास बजार र कोइलाबासखोला सुके । पानीबिना कहाँ कहार ? कहार पनि सुक्यो,’ थोत्रो खाटमा बसी वृद्ध हरिराम कहार (६५) उदासिन्छन् ।

कहार कविता पानीमै फुल्छ । पानीमै झुल्छ । पानीले नै कहार कथा लेख्छ । त्यसैले कहारको घाम भने पनि पानी भने पनि, पानी नै पानी हो । कुल मिलाएर, कहार कहानी नै पानी हो ।

पानीमै जिन्दगानी हुने भएकाले नै होला, कहारलाई दिइएको ‘पानीको जिम्मा’ (मधेसतिर भोजभटेरमा पानीको सम्पूर्ण जिम्मा कहारलाई दिने चलन छ) ।

‘पानीको एक आना पैसा दिन्थे,’ बाँसको बाँका नामक डाँडीमा दुईतिर डोरीमा टिनको बाकसमा कोइलाबासमा घरघर पानी पुर्‍याएको हरिराम सम्झन्छन् ।

कहारको कोइलाबास बजारले पनि कोइलाबासखोला नामक भेन्टिलेटर सहाराले सास फेरेको हो । भलै, १३ पक्कीसहित २२ कुवा कोइलाबासमा हुन्छन् ।

स्कुलछेवैको एउटा कुवामा पानी पालो कुरिरहेछन्, झन्डै दर्जन महिला । भन्छन्, ‘केही दिनपछि त मध्यरातमै पानी भर्ने लाइन लाग्छ । कहिले दुई–चार लोटा बाँड्छौँ कहिले रित्तै फर्कन्छौँ ।’

कोइलाबासखोलासँग सति जान अन्कनाएका कुवाका पानी पनि भारतीय सीमा सुरक्षा बलको बोरिङले तानेपछि ‘कोइलाबासे पानी, एकादेशको ‘कहानी’ भएको छ ।

‘कोइलाबासखोलामा घुँडामाथिमाथि पानी हुन्थ्यो,’ भासिएको कोइलाबासखोलामा हिँडिरहेका कमिला देखाउँछिन् जितकुमारी रोकामगर, ‘ढुंगा, गिट्टी र बालुवा बेचेपछि पानी पत्तालियो, गहिरो कुवाभन्दा पनि तल कहाँ हो कहाँ ।’

स्कुले पाठ्यपुस्तकमा पढेको चल्तीको बालगीत ‘कुखुरी काँ’ वाल पाना पल्टन्छ ।

जितकुमारीलाई सोध्छु, ‘खै खोला ?’

भन्छिन्, ‘सुक्यो ।’

ढुङ्गा, गिट्टी, बालुवा, माटो र वनस्पतिसँगै कोइलाबासखोला पनि हिँडेछ । खोलाबिना कोइलाबासमा कसरी जिउनु कुवामा पानी ? हिँडेछ, कुवाको पानी पनि ।

मानव सभ्यता नै नदी किनारमा झुल्किएर झुलेको हो । कोइलाबासखोलासँगै कुवा पनि सुकेपछि कसरी हराभरा होऊन्, हरिराम कहार ∕ पानी र कहार त नङमासु पो हुन् त !

५३,१५९ जनसंख्यावाल (२०६८ को जनगणनाअनुसार) अल्पसंख्यक मधेसी समुदाय हो । पत्रकार बेचु गौडका अनुसार, कोही कहार गौड लेख्छन् कोही महरा त कोही महतो । पूर्व कोसीदेखि पश्चिम नेपालगन्जसम्म छरिएको कहारको अलि बाक्लो थलो बारा, पर्सा, नवलपरासी र कपिलवस्तुमा भेटिन्छ ।

पत्रकार गौड भन्छन्, ‘अहिलेसम्म कुनै कहार गाउँपालिका अध्यक्ष कुर्सीमा समेत पुगेका छैनन् ।’

पानीसँगै कहार पनि कोइलाबासबाट उठिबास भएका छन् । बचेका जम्मा हरिरामसहित तीन घरधुरी । कोइलाबासमा कहाँ कहार बास छ र ? हरिराम पाँचपुत्र भारतमा मजदुरी गर्छन् । तीन छोरीका बिहेवारी पनि भारतमै भएको छ । कहारपुत्र कोइलाबासमै आठ कक्षा पढेका हुन् । नौ कक्षा उक्लन त गढवा पुग्नुपर्छ । गाउँपालिका राजधानी गढवा कोइलाबासबाट चुरे काटेर २६ किलोमिटर टाढा रापती नदी किनारमा छ ।

हरिराम खलक र उनका छिमेकी कसैले घर त कसैले घडेरी त कसैले खुसी कोइलाबासमै छाडेर लाखापाखा लागेका छन् । बान्ने आफ्नै थलो (प्रायः बहराइच र लखनउ) फर्केका छन् त कति गढवा, लमही, घोराही पुगेका छन् ।

सांसद इन्द्रजित चौधरीका अनुसार, कोइलाबास बजारको आधा जमिन त नेता रणबहादुर शाहको छ । त्यसपछि परशुनारायण चौधरीको । थोरै घरजग्गावाल पनि कति दाङको तुलसीपुरमा छन् त कति नारायणपुर ।

‘चुनावमा आधाभन्दा बढी मतदाता त बसमा बोकेर कोइलाबास लानुपर्छ,’ सांसद चौधरी भन्छन् ।

कोइलाबासबजारमा ६५ घरधुरी छन्– तीन कहार, एक भङ्ङी, सात दलित, दुदुई बाहुन र मगर, एक तामाङ, तीन नेवार । बाँकी घरधुरी मुसलमान । कोइलाबासखोलापारि डाँडागाउँमा दलित, मगर, क्षत्री, बाहुन र गुरुङ गरी ३६ घरधुरी छन् ।

४४९ मतदातावाल साबिक कोइलाबास गाविस अहिले गढवा गाउँपालिका वडा नम्बर ८ भएको छ ।

***

वृद्ध हरिरामको वृद्ध खाटनजिक रातो भालेले मुन्टो तन्काउँछ । लाग्छ, बास्न खोज्दै छ । हरिराम ‘तुरतुर तुरतुर’ भन्दै डाक्छन् । त्यसपछि आग्रह गर्छन्, ‘बास ।’ भाले बासेका याम उभिन्छन्– २००७, २०३६, २०४६, २०५२, २०६२/६३ ।

पहिलो पालि (२००७) भाले बास्दा कोइलाबास विद्रोहीले कब्जा गरेको हो, जुन माओवादी ‘जनयुद्ध’ मा पनि दोहोरिन्छ ।

दाङ देउखुरी गोबरडिहाका भक्तनारायण चौधरी नेतृत्व मुक्तिसेनाले २००७ मा कोइलाबास कब्जा गरेको हो ।

२०१८ फागुन ९ गते राति गणेशकुमार शर्मा नेतृत्व उही मुक्ति सेना आक्रमणमा घाइते पञ्चायत घर अहिले पनि उसैगरी उभिएको छ । वडा सदस्य थापामगर भुइँतलाको झ्यालको सरिया बांगिएको ठाउँमा खाल्टोजस्तो देखाउँछन्, ‘कांग्रेसी गोली खत ।’

पञ्चायत घरछेवैमा छ, भत्कन साइत कुरेको पुलिस कार्यालय । जुन हो, २०५९ पुस ३ गते जनमुक्ति सेना आक्रमणमा परेको । आक्रमणमा छ जना पुलिस मारिएका हुन् भने आठ जना घाइते । इलाका प्रहरी कार्यालय कब्जा गरी विद्रोही सेनाले हातहतियार लगेको हो ।

कोइलाबासमै हो, कुनै बेला डा. केशरजंग रायमाझी (नेपाल कम्युनिस्ट पार्टी महासचिव) ले औषधि पसल थापेको । अनुसन्धाता सुदीप गौतमका अनुसार, मुक्ति सेना र भारतबाट फर्कने नेपालीलाई रायमाझीले नै ‘प्लेग’ को उपचार गरेका हुन् ।

हुलाकी बाटो खन्न भनेर एउटा डोजर उभिएको छ । कोइलाबासजस्तै कहालीलाग्दो छ, हुलाकी मार्गको कहानी पनि ।

सिंगो कोइलाबासमा सिर्फ एउटा निजी घर बन्दै छ । जुन सानो काँटीको कच्ची घर हो । जनयुद्धकालीन कोइलाबासे माओवादी जयबहादुर बुढामगरको घर ।

खण्डहर घर माकुराले जालो लगाएको छ । ती घर कति भत्केका छन् कति भत्कन ठिक्क परेका ।

अहिले कोइलाबासमा वडा कार्यालय, सशस्त्र र नेपाल प्रहरी, स्वास्थ्य चौकी, आँखा अस्पताल, हुलाक, भेटेनरी, मदरसा र आधारभूत स्कुल छन् ।

दाङमा २६ नाका छन् । राजपुर गाउँपालिकाका २२ र गढवा गाउँपालिका चारवटा । माओवादीले जनयुद्धकालमा तिनै नाकाबाट घाइते, कार्यकर्ता र नेता भारत ओहोरदोहोर गराएको हो । कपिलबस्तुका कमरेड कल्याण मारिएपछि फोहोरी नाका नाउँ नै कल्याणपुर भएको छ ।

लेखक निमबहादुर थापा लेख्छन्, ‘नाकामा नपर्ने चुरेको उत्तर र दक्षिणमा रहेका सानाठूला गाउँहरू पनि राज्यको पहुँचमा छैनन् ।’

आजसम्म कोइलाबासी आँखा, नाक, मुख र गोडावाल एउटा रैथाने पनि न कुनै अस्पतालमा कर्मचारी छन् कुनै अदालतमा त न अन्य सरकारी कार्यालयमा । बुटवल संसद् र सिंहदरबार संसद्मा पुग्ने कुरा त धेरै परको हो ।

हरिराम बसेको थोत्रो खाटछेवैमा भाले नबासी ‘कोट्कोट्’ आवाज निकाल्छ । अलि पर जान्छ । फरक्क फर्केर हरिरामलाई हेर्छ । खाटनेरको थोत्रो साइकलछेवैमा सिउर हल्लाउँछ । बास्न खोज्छ ।

‘भाले नबासी कसरी उज्यालो हुन्छ र ?’

लोकवचन छ, ‘साठी पुगे बाँच्नु कति, भाले बासे

सुत्नु कति ।’ भलै, अहिले नेपालीको आयु साठी वर्ष असान्दर्भिक होला !

हरिराम भन्छन्, ‘बासेर के खालास् ?’

हरिराम प्रश्नको जवाफ बालगीत दिन्छ, ‘बासी भात ।’

गीतले भन्छ, ‘कुखुरी काँ, बासी भात खा । खै बासी भात ? बिरालोले खायो ।’

नेपालको राजनीतिक इतिहास बदल्ने भालेलाई बासी भातसमेत नदिई खाने बिराला सम्झाउँछ । जसले बास्ने ती भाले–भर्‍याङ बनाएर बालुवाटार–सिंहदरबार गरिरहेछन् ।

द वेस्ट ल्यान्ड

कोइलाबास ‘कोमा नाका’ मा परिणत हुनुका खास कारण छन्, जो राज्यको उपेक्षा त हो नै । सँगै बनारस, काठमाडौं र महेन्द्र राजमार्गसँगको रापती (रोल्पा, रुकुम, सल्यान, प्यूठान र दाङ) सम्बन्धमा आएको बदलाव पनि हो ।

१.राज्य उपेक्षा

गणतन्त्रपछि पुष्पकमल दाहाल रोल्पाबाट देशको प्रमुख कार्यकारी पद (प्रधानमन्त्री) मा पुग्छन् । सभामुख बन्छन्, कोइलाबास छिमेकी रोल्पाका ओनसरी घर्तीमगर र कृष्णवहादुर महरा । पाँच नम्बर प्रदेश मुख्यमन्त्री शंकर पोखरेल दाङका हुन् ।

२००७ सालमा भरतमणि शर्मा मन्त्री भएयता रापती (पञ्चायत, बहुदल कुनै पनि राजनीतिक व्यवस्थामा) मन्त्री ‘युक्त’ छ । जस्तो : परशुनारायण चौधरी, बालाराम घर्तीमगर, वर्षमान पुन, युवराज ज्ञवाली, खुमबहादुर

खड्काहरू । देशको कार्यकारी प्रमुखले नै पहल गरेको भए, कोइलाबास कसो ‘कोमामुक्त’ नहुँदो हो र ?

२.बनारस होइन, काठमाडौं

बीपी कोइराला र पुष्पलाल श्रेष्ठ वनारस बास बस्छन् । कांग्रेस र कम्युनिस्टहरूको बनारस लर्को लाग्छ । बनारस नेपालको वैकल्पिक राजनीति केन्द्र बन्छ ।

विशेषतः बाहुन बूढाबूढी काशीबास जाने चलन । रेखदेख गर्दै पढलेख गर्ने बाहुन युवा पनि बनारसिने चलन चल्छ ।

बनारस राजनीतिक, शैक्षिक र धार्मिक केन्द्र बन्छ भने बनारस पस्ने रापतीको मूलढोका बन्छ, कोइलाबास । विसं २०२४ मा कोइलाबास भएर बनारस पुगी वाम खलकीय पुस्तकहरूको ‘बनारसी जननेपाल

पुस्तक पसल’ चलाएको सम्झनामा अहिले पनि देवी पोखरेल बल्झिन्छन् ।

बिस्तारै नेपालमै स्कुल/कलेज खुल्छन् । राजनीति केन्द्र मात्र होइन, सरकारी कामकाज, मुद्दामामिला र अस्पताल पनि रापती त काठमाडौं जान थाल्छ ।

३.महेन्द्र राजमार्ग

२०२०/२२ तिरबाट महेन्द्र राजमार्ग खुल्न थाल्छ । भालुबाङमा पुल बन्छ । त्यसपछि कोइलाबास होइन, कृष्णनगर सुगम हुन्छ ।

कोइलाबास हुँदै भारत भएर काठमाडौं जाने चलन हट्छ । महेन्द्र राजमार्गले रापतीलाई सोझै काठमाडौंसँग जोड्छ ।

४.हिन्दी कहर र भारतीय हेपाइ

हिन्दी बोल्नुपर्ने बाध्यता र भारतीय व्यापारीको हेपाइ । हिन्दी पनि बोल्न नपर्ने र हेपाइ पनि नखाने ‘विकल्प’ भेटेपछि को जानु कोइलाबास ?

५.खासा माल

खासा सामान अर्थात् चाइनिज सामान काठमाडौं पुग्छ । झिलिमिली र सस्तो खासा मालले नेपाली बजार लिन्छ ।

६.बान्ने जति भारतीय ।

कोइलाबासमा कमाएर भारत लाने कोइलाबासे बान्नेहरू अन्यत्र सर्छन् । जो प्रायः बहराइच र लखनउवाले हुन्छन् ।

७.नुन हाट कोइलाबासबाट सर्छ ।

नुन हाट घोराहीलगायतका थलोतिर सर्छ ।

टुङ्ग्याउनी

पानी र प्रतिनिधित्व तिर्खा अनि प्रकृति–दोहन र राज्य–उत्पीडनजस्ता जलनै जलनले कोइलाबास टीएस इलियटको ‘द वेस्ट ल्यान्ड’ भएको छ ।

उसो भए, कोइलाबासको लाली जोवन फर्कन्न त ?

फर्कन्छ । तर, सञ्जीवनी बुटी खुवाउनुपर्ने हुन्छ ।

बुटी हो– नाका, मधेस र भुइँमान्छे हेर्ने राज्यको आँखा बदल्नु । सरकारले भारतलाई भन्सार राख्न लगाउनका लागि सार्थक पहल । नाका सुचारु भएपछि कोइलाबास (घोराहीबाट ५६ किलोमिटर) छाडेर रापती त किन जान्छ, नेपालगन्ज (घोराहीबाट १५३ किलोमिटर) र कृष्णनगर (१०६ किलोमिटर) !

अर्को बुटी हो– सुकेको कोइलाबासखोला फर्काउने पर्यावरण प्रवर्द्धन र कोइलाबासबजार पुनर्निर्माण ।

कोइलाबासलाई थारू र अवधीभाषी कोइलहवा भन्छन् । ‘हवा’ ले ‘ठाउँ वा थलो’ भन्छ भने ‘कोइल’ ले कोइला । कोइलहवाको खस नेपालीमा लिटरल अनुवाद हो, कोइलाबास ।

कोइला पाइने ठाउँ भएकाले भएको होला, कोइलहवा । र, खस नेपालीमा कोइलाबास ।

स्मरणीय त के छ भने, थारूले नै कोइलहवालाई जोगाएका हुन् । तत्कालीन इस्ट इन्डिया कम्पनी (अंग्रेज) ले विक्रमसंवत १९३० मा कोइलहवालाई बलरामपुर (भारत) राज्यमा गाभेको हुन्छ ।

अंग्रेजले एकतर्फी देउखुरी चुरे पर्वत शृंखला नै सीमा बनाएपछि नेपालले कर्नेल सिद्धिमान सिंह र माल्नेटा राजा वीर शाही टोली खटाएको हुन्छ । त्यसबेला थारूले बलियो तर्क सार्छन्, ‘पुस्तौंदेखि बस्तुभाउ चराएको चरन हो कोइलहवा । चरन नै गुमे जीविकोपार्जन कसरी गर्ने ? समस्या हुन्छ ।’

थारूले खाना पकाउने ठाउँ खन्दाखन्दै आफूहरूले कोइला भेटेको भनेर पनि देखाउँछन् ।

थारु तर्कले फिरंगी अंग्रेज सरकारको मन पग्लन्छ । चुरे फेदीको कोइलाबास नेपाली भूभागमा फर्कन्छ (थारू लोकवार्ता तथा लोकजीवन/४०) ।

कोइलहवा जोगाएबापत सरकारले देउखुरीका स्थानीय थारूलाई कोइलाबाससहित गोबरडिहा, पर्सिया र खङ्रा नाकाबाट निकासी पैठारी हुने सामानमा कर उठाउने जिम्मा दिन्छ । थारू सट्गौआ थरकाले उठाएको

गोबरडिहाका परशुरानारायण चौधरी र मटेरियाका लोकमणि चौधरीलाई उद्धृत गरिएको छ, ‘थारू लोकवार्ता तथा लोकजीवन’ किताबमा ।

पछि त थारू भाषाको कोइलहवाको ‘हवा’ ले हावा खाएर ‘कोइलाबास’ मात्र हुन्न, विक्रम संवत् १९५४ देखि त कर उठाउने जिम्मा पनि खोसिन्छ ।

अहिले त थारु र अवधिभाषी मात्र कोइलहवा भन्छन् ।

त्यसबेला ‘हात्ती दाँत, ब्याग्रचर्म, मृगचर्म, खयर, सिलाजित, जडीबुटी, मह, खाद्यान्न आदि निर्यात र भेली, कपडा, नुन, तेल आयात’ हुने ‘थारू लोकवार्ता तथा लोकजीवन’ मा उल्लेख छ ।

देउखुरी उपत्यकाका थारू समुदाय कोइलाबासमा चैतमा फुल्ने महुवा फूल (रक्सी बनाउन) टिप्न जाने चलन टुटेको धेरै समय भएको छैन ।

कोइला भएकाले कोइलहवा हुँदै कोइलाबास नाउँ रहे पनि कोइला नभई नुन बास बस्छ ।

उत्तरको भोटे नुन नेपाल ओर्लन बन्द भएपछि पाकिस्तानी नुन हुँदै दक्षिण समुद्री नुन नेपाल पस्छ । इस्ट इन्डिया कम्पनी भारत पसेपछि समुद्री नुन नेपाल पसेको हो ।

कोइलाबास जानुअघि पश्चिम रापती नुन हाट नेपालगन्ज गएको हो भने पूर्व रापती बटौली/खसौली (बुटवल) ।

‘पानी पानी’ भनिरहेका हुम्लाको तोत्पा (निन्ब उपत्यका), दाङको मानपुर, कपिलबस्तुको पत्थरकोट, खोटाङको ऐंसेलुखर्क, उदयपुरको बेल्टार, कटारी, घुर्मी, भोजपुरको खिकामाछा (टक्सार), हतुवागढी, दिङ्ला, धरानको फुस्रे, धनुषाको गोदार, कैलालीको मालाखेतीहरू जस्ता नुन बजार (साल्ट सिटी) का ‘कोइलाबास क्रन्दन’ चर्को छ ।

नुन बोक्न हजारौं हटारु झर्ने, कालापार जाने मानिसको लर्को, बनारस जाने र लाहुरेको लर्को लाग्ने कोइलाबासजस्तै ती नुनबजार सुनसान छन् ।

धन्न ∕ कुन ‘जोग’ ले जोगिएछन्, कोइलाबास ‘बिजोग’ बाट बटौली/खसौली (बुटवल) र नेपालगन्ज !

***

फागुन पहिलो साता कोइलाबासे आकाश तुँवालोले ढाकिएको छ भने कोइलाबासे तन/मनचाहिँ अभाव, अशिक्षा, बेरोजगारी, गरिबी, प्रकृति दोहन र राज्य उपेक्षा कुहिरोले ।

जेईबाबै (आमाबा) नुन हाट झरेको त्यो हराभरा कोइलाबास त बालगीतको खोलाजस्तै कोइलाबासबजार र कोइलाबासखोला चक्रक्क सुकेका छन् ।

नदी नै सुके मानव सभ्यता कसरी जिउला ? सायद यसैले होला, ‘काकाकाका कुली, काका कुली’ आवाज झन् चर्कन्छ । कोइलाबास आकाशमा चर्को चीत्कारसहित काकुली (काकाकुल) उडिरहेछ ।

काकुलीको पानी प्यासवाल ‘मिथ’ थपिएपछि झन् ऐठन हुन्छ–

माथि काकुली तल कोइलाबास । (कोइलहवा त कहाँ हो कहाँ !) काकाकुल कोइलाबास, कोइलाबास काकुली ! कोइलाबास कि काकुली ? काकाकुल कि कोइलाबास ?

प्रकाशित : भाद्र २७, २०७७ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्

आफ्नै विरोधाभासहरूमा

विगतका आफ्ना पुस्तकका केही प्रसंग पढ्दा अहिले असहज लाग्छ ! अचम्म लाग्छ ! मानौं त्यो अरू कसैले लेखेको हो, मैले होइन । मनोविश्लेषक कार्ल युंगले अटल गहिराइमा आफूभित्र रहने त्यस्ता पुरानो सत्त्वलाई (सेल्फ) स्याडो भनेका छन् । यहाँ त्यो स्याडोलाई समयको यो विन्दुबाट नियाल्ने यत्न गरिएको छ ।
रोशन शेरचन

काठमाडौँ — आफू हिँडेको बाटोलाई कहिलेकाहीँ फर्केर हेर्नुपर्छ । एकोहोरो हिँडी मात्रै रहँदा धेरै कुरा छुट्छ । शिक्षाविद् पाओलो फ्रेरेले रोकिँदै र फर्केर हेर्ने विधिलाई स्टेपिङ ब्याक भनेका थिए । कर्म समीक्षा, कर्म समीक्षा र कर्म समीक्षाको यो चक्र (एक्सन रिफ्लेक्सन साइकल) वास्तवमै उपयोगी विधि छ । आफू हिँडेको साहित्यिक यात्रालाई कहिलेकाहीँ मैले पनि फर्केर हेर्ने गरेको छु ।

कोभिड– १९ ले आक्रान्त–समयमा त्यसो गर्न झन् सुविधा छ ।

ज्ञान आर्जन, समीक्षा र परिमार्जनको शृंखला डुंगा चलाएजस्तो हिँड्दै छ, पाइला मेट्दै छ, हुनु हुँदैन । जोडिँदै थपिँदै जानुपर्छ । हजार माइलको यात्रा पहिलो पाइलाबाट प्रारम्भ हुन्छ भन्ने वाक्यांश हामीले यति धेरैपटक सुन्यौँ कि, त्यो सामान्य लाग्छ । सामान्य सुनिए पनि त्यो सामान्य होइन, अन्तरदृष्टि हो भनेर म आफैंलाई सम्झाइराख्छु । विगतमा सत्य मानेका आफ्नै विचार समयक्रममा असत्य र अधुरा लाग्न सक्छन् । केन्द्रीय कुरा छुटेको तर परिधिको कुरा मात्रै समातिरहेको लाग्न सक्छ । अहिले ती लेख पुनः लेख्नुपरे, त्यसरी लेख्दिनथेँ, यसरी लेख्थेँ भन्ने मनमा विचार उठ्ने गर्छ । मेरा पनि केही त्यस्ता अनुभव छन् ।

पहिलो कवितासंग्रहलाई आधार मान्दा मेरो लेखन–यात्राले पच्चीस बर्ष नाघेछ । विगतका आफ्ना पुस्तकहरूका चारवटा प्रसंग (दर्जनौं छन् तर यहाँ चारवटा मात्र) छन्, जसलाई पढ्दा मलाई असहज लाग्छ । हाँसो उठ्छ । अचम्म लाग्छ । मानौं त्यो अरू कसैले लेखेको हो, मैले होइन । मनोविश्लेषक कार्ल युंगले अटल गहिराइमा आफूभित्र रहने त्यस्ता पुरानो सत्त्वलाई (सेल्फ) स्याडो भनेका छन् । यो छोटो लेख, त्यो स्याडोलाई समयको यो विन्दुबाट नियाल्ने यत्न हो । स्याडोसँगको संघर्षको संक्षिप्त लेखोट । यहाँ किताबको नाम, लेखको शीर्षक र पृष्ठ संख्या उल्लेख गर्दै, आफ्ना धारणा राखेको छु ।

१. कविताको समाप्ति संसारको समाप्ति हो । संसारको समाप्तिको विचार अस्वस्थ छ– यद्यपी विश्वास तर्क पर छ– तसर्थ जीवन विसंगत छ । (कविताको समाप्ति संसारको समाप्ति हो, पृष्ठ ४०, मस्तिष्कहरूको मृत्यु, २०५८)

‘मस्तिष्कहरूको मृत्यु’, मेरो पहिलो निबन्ध संगालो । प्रकाशित भएको २० वर्ष पुगेछ । ‘कविताको समाप्ति संसारको समाप्ति हो’ शीर्षकको लेख आजभोलि पढ्दा, कसरी त्यस्तो अति (एक्स्ट्रिम) लेखेछु भन्ने लाग्छ । कुन मनोविज्ञानबाट डोहोरिएर त्यस्तो लेखेँ ? विसं २०५० तिर कवितासँग अत्यन्त लगाव थियो । अभिभूतै थिएँ । कुनै वस्तु वा घटनासँग एकाकार हुँदा त्यस्तै धारणा लेखिने रहेछ । एकाकार हुँदा वस्तुगत दूरी बन्दैन र त्यो विशाल ठूलो हुँदै विश्वरूपजस्तो बन्दो हो । अहिले अलिक परबाट (उचाइबाट ?) हेर्ने कोसिस गर्दै छु । धारणा अत्यन्त मनोगत भएकाले विज्ञानसम्मत दृष्टि थोरै उघ्रँदा पनि त्यस्ता धारणा गर्ल्यामगुर्लुम्म भत्कँदो रहेछ । इतिहास साक्षी छ, अतिशय भावुकताको परिणति त्यस्तै हुन्छ । कवितालाई नै संसारको दर्जामा राखेर बराबरी मान्नु कदाचित परिपक्व विचार थिएन । फर्केर हेर्दा, अतीव लगावको कारण अनुपातमा हेर्ने (सेन्स अफ प्रोपर्सन) क्षमता गुमेको रहेछ ।

मेरो ‘कविताको समाप्ति, संसारको समाप्ति हो’ मा निहित कमजोरी देख्न विश्वव्यापी कोरोना महामारीले थप सघाएको छ । कोभिड–१९ ले विश्वलाई थिलोथिलो बनाएको छ । आर्थिक क्रियाकलाप धराशायी बनाउँदै त्राहिमाम् मच्चाइरहेको छ । लाखौंको ज्यान लिँदै, समुदायमा प्रवेश गरेर प्रत्येक मान्छेको जीवनको लय नै भत्काइदिँदा त संसारको समाप्ति भएको छैन । केही हजार कविले आस्था राख्ने कविता समाप्त हुँदा, सात अर्बभन्दा बढी मानिस बसोबास गर्ने संसार समाप्त भएको कसरी मान्ने ? त्यो अनुपातमा हेर्ने क्षमता गुमाउँदा निकालेको निष्कर्ष लाग्छ अहिले फर्किहेर्दा ।

मान्छेको आशावादिता सजिलै कहाँ निभेको छ र अब निभ्नलाई ? मान्छे विश्वयुद्ध, अनिकाल, महाभूकम्प र कारोनाजस्ता हरेक विपत्मा आशावादितालाई जोगाउँदै पर्खिबस्छ । ऊ सुदूर भविष्यतिर हेर्दै पर्खन्छ तर रोकिँदैन । यस्तोमा कविताको समाप्तिलाई संसारकै समाप्ति मान्नु एक कविताप्रेमीको भावुक अभिव्यक्तिभन्दा बढी केही होइन । संसार छ र त कविताको महत्त्व छ । फर्केर हेर्दा, त्यो बेअर्थको विचार भेट्छु ।

२. जीवनका पाठशालाहरूका गुरुहरू अनुभवहरू, भोगाइहरू हुन् भने पाठ्यक्रमका पाठशालाहरूका गुरु, ज्ञान र विचारहरू हुन् । ज्ञान र विचारका अनुभवहरूका सापेक्षमा जहिलेसुकै सेकेन्ड ह्यान्ड हुन्छन् । सेकेन्ड ह्यान्ड कुरालाई लिएर लामो समयसम्म लड्न सकिन्न । (जीवनका पाठशालाहरू, पृष्ठ ५९, मस्तिष्कहरूको मृत्यु) ।

‘मस्तिष्कहरूको मृत्यु’ निबन्धसंग्रहमै जीवनका पाठशालाहरू निबन्धमा यस्तो लेखेको थिएँ । अन्य स्रोतबाट प्राप्त ज्ञान र आफ्नै अनुभवबाट प्राप्त ज्ञानको तुलना गर्ने क्रममा अनुभवप्रदत्त ज्ञानलाई श्रेष्ठ र त्यसैले भरपर्दो भनेको रहेछु । अनुभवमा आफैं संलग्न हुने भएकाले त्यो फस्ट ह््यान्ड हुन्छ र त्यसैले भरपर्दो भन्ने निष्कर्ष निकालेको रहेछु । अन्य ज्ञानहरू सेकेन्ड ह्यान्ड भएकाले भर पर्न सकिन्न भनेको रहेछु ।...लामो समयसम्म लड्न सकिन्न भन्नाले जीवनलाई युद्ध नै मानेको रहेछु ।

पुस्तकबाट प्राप्त ज्ञान भर पर्नयोग्य छैन, कारण त्यो आफ्नो अनुभव होइन, साह्रै मनोगत तर्क लाग्छ अहिले । भरपूर सतही । अनुभवबाट प्राप्त ज्ञान मात्र भरपर्दो हुन्छ भन्ने मान्दा, मान्छेको ज्ञानको सीमा धेरै खुम्चन्छ, कारण मान्छेको अनुभवको सीमा छ । आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक यथार्थले (मटेरियल कन्डिसन) प्रभावित गर्ने भएकाले मान्छेले खासखाले अनुभव मात्र गर्न सक्छ । सबै अनुभव गर्न सम्भव हुँदैन । मध्यमवर्गीय ठिटोले उच्चवर्गको अनुभव गर्न सक्दैन ? गैरदलितले दलितको । पुरुषले महिलाको । अध्ययनको हकमा त्यस्तो सीमा हुँदैन । गैरदलित युवाले दलितको अनुभव पढेर समानुभूति राख्न सक्छ । नेपालको पाठक अफगानी लेखकसँग उनको काल्पनिक यात्रामा निस्कन सक्छ । थरीथरीका लेखकको, विभिन्न कालखण्डमा लेखिएका विविध विषयको पुस्तक पढेर जानकारी, ज्ञान र अन्तरदृष्टि पाउन सकिन्छ । मान्छेको छोटो जीवनमा ज्ञान लिने पुस्तकभन्दा सजिलो माध्यम सायदै अर्को छ । बित्थामै फस्ट ह्यान्ड र सेकेन्ड ह्यान्डको रस्साकस्सीमा अल्झेछु ।

महत्त्वपूर्ण कुरो बरु कति अलोचनात्मक चेत वा वस्तुगत भएर पढ्न सकेँ, त्यो पो रहेछ । यी हरफलाई अहिले लेख्न परे, यसरी लेख्नेछु— अनुभवभन्दा बुद्धि (तर्कपद्धति) सधैँ उच्च छ । अनुभवबाट आउने ज्ञानलाई पनि तर्कको कसीमा नघोटेसम्म त्यसमा भर पर्नु हुँदैन । इतिहास पढ्दा बुझ्छौं, तर्क पद्धतिले सधैं जितेको छ ।

३. ...मैले दोस्रो प्रश्न गरेँ, आर्थिक दृष्टिले चीनले विकास त धेरै गर्‍यो तर गरिब र धनीबीचको खाडल पनि बढ्दै गएको छ नि ? नेपालमै अत्यन्त सोधिने तर चित्तबुझ्दो जवाफ नभेटिएकाले म उक्त प्रश्नको जवाफ अनुभव भोगेका चिनियाँबाट सुन्न चाहन्थेँ । जवाफमा उनले भनिन्, ‘गरिब र धनीबीचको खाडल त बढ्दो छ । तर, अहिलेका गरिब उहिलेका गरिबभन्दा धनी छन् (वेटर अफ, उनले प्रयोग गरेको शब्द)...। (देङ सियाओपिङ्को आत्मा, अन्नपूर्ण पोस्ट, १६ पुस, २०७३) ।

चीनको आर्थिक प्रगतिबारे बुझ्न नचाहने कमै होलान् । आर्थिक प्रगतिले निम्त्याउने गरिब र धनीवीचको खाडल (इनकम इनइक्वालिटी) पनि उत्तिकै चासोको विषय हो । एक अध्ययनअनुसार, सन् २०१९ मा चीनको कुल गार्हस्थ्य उत्पादन करिब १४.१ ट्रिलियन हाराहारी छ । चीनको विगतको ३१ वर्षको (१९७९–२०१०) कुल गार्हस्थ्य उत्पादन नै वार्षिक ९.९ प्रतिशत छ, जुन आश्चर्यजनक आँकडा हो । सन् २०७३ मा बेइजिङ भ्रमणमा मैले एक जना चिनियाँलाई यसै सेरोफेरोमा प्रश्न गरेको थिएँ । देङ सियाओपिङ्को नीतिकै कारण धेरै चिनियाँ गरिबीबाट मुक्त भएको र विगतका गरिबभन्दा अहिलेको गरिब राम्रो (वेटर अफ) रहेको भन्दै उनले देङको प्रशंसा गरेका थिए ।

सन् ८० को दशकबाट सुरु भएको चीनको आय–असमानता विश्वकै अग्रपङ्क्तिमा पर्छ । सन् २०१३ मा, चीनको जिनी कोफिसियन्ट ५० अंक रहेको थियो । अघिल्लो नेतृत्वको पालामा (१९८०–२००८) चीनको उपल्लो २०, ३० प्रतिशतले अधिकांश लाभ लिएको देखिन्छ । यद्यपि वर्तमान सरकारले थालेको संरचनागत सुधार, ग्रामीण कृषि योजना, न्यूनतम तलब वृद्धि र कर प्रणालीमा सुधारजस्ता कार्यक्रमले सन् २००८ बाट भने आय–असमानता घटेको तथ्याङ्कले देखाउँछ ।

आर्थिक वृद्धि मात्र हेरेर नहुने रहेछ । त्यसको पुनर्वितरण कसरी भएको छ ? त्यस वृद्धिले धनी र गरिबको खाडल कम गरेको छ, छैन ? विपन्न समुदायलाई सामाजिक सुरक्षा उपलब्ध गराएको छ, छैन ? शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायातमा सरकारको लगानी र स्वामित्व छ, छैन ? प्रगतिशील कर प्रणाली लागू छ, छैन ? कर उन्मुक्ति पो छ कि ? जस्ता प्रश्न महत्त्वपूर्ण रहेछन् । ऐतिहासिक विश्लेषणको निचोड नै छ— असन्तोष र विद्रोह जन्मने एक प्रमुख कारण नै विपन्न र धनी वर्गबीचको खाडलमा हो ।

सीमित वर्गकहाँ अथाह पुँजी थुपि्रँदै जाने र तर अर्कोतिर श्रमजीवी वर्गको ठूलो हिस्सा बाँच्नकै लागि जीवनभर लडिरहनुपर्नेजस्तो खराब व्यवस्था कुनै छैन । अर्थशास्त्री ब्रान्को मिलानोभिजका लेखहरू पढेपछि असमानताको गुरुत्वबारे केही थाहा पाएँ ।

चिनियाँको जवाफबाट धेरै प्रभावित बनेछु । आजको दिनमा त्यो हरफ लेख्न परे, म चीनको आय असमानताबारे थप सोध्ने थिएँ । त्यो लेख निकै अधुरो लाग्छ ।

४. सरुभक्तहरू/दर्शनका अनुयायीहरू मात्रै भएकाहरूको देशको/सायद एक दार्शनिक हुन्

(सरुभक्तहरू, लामो कविता, पृष्ठ. ५७) ।

विसं २०५६ सालमा प्रकाशित ‘सरुभक्तहरू’, मेरो लामो कवितासंग्रह हो । मनमा उठेकै भरमा, कुनै सर्वेक्षणबिना नै, नेपालमा दर्शनका अनुयायीहरू मात्रै छन् भन्ने निष्कर्ष लेखेँ । त्यतिविधि निश्चित कसरी हुन सकेछु ? दर्शन मेरो प्रिय विषय हो । ओशो, यूजी कृष्णमूर्ति, जे कृष्णमूर्ति हुँदै अघि बढेको पठनमा पछिल्लो समयमा विविध विषयका दार्शनिक, चिन्तक र वैज्ञानिकहरू थपिएकै छन् । ओशोजस्ता रहस्यमयी द्रष्टा र बाबाहरूलाई छाडेको दुई दशक नाघेको छ । पछिल्लो समय स्टोइक दार्शनिक मार्कस एरिलिअस्, सेनेका, एपिकटिटसमा रुचि बढेको छ । कोरोनाकालमा एरिलिअस्को ‘मेडिटेसन्स्’, सेनेकाको ‘अन द सर्टनेस अफ लाइफ’ र एपिकटिटसको ‘डिस्कोर्स अफ एपिकटिटस’ र ‘इनकारिडियन’ पढेपछि चमत्कृत भएँ ।

मानव जातिको नैसर्गिक जिज्ञासा र ज्ञानप्रतिको भोक कुनै कालखण्डको मात्र रहेनछ । त्यो अनन्तदेखि बग्दै आएको नदीजस्तै रहेछ । जीव वैज्ञानिकहरू चार्ल्स डार्विन, रिचर्ड डकिन्स, एल्डो लिओपल्ड र एडवर्ड इ विलसन मेरा प्रिय लेखक भइगए । भौतिकशास्त्री रिचार्ड फेमेन, फ्रिमन डायसनका अन्तर्वार्ता सुन्दा म अवाक बन्छु । बहुविधात्मक ज्ञानप्रणालीमा (मल्टी डिसिप्लिनरी) विश्वास गर्ने चार्ली मंगरले जहिल्यै छक्क पार्छ । दार्शनिक शब्दले धेरै विशद (सीमित क्षेत्रमा तर गहिरो) आयाम समेटेको पाउँछु ।

‘सरुभक्तहरू’ सायद एक दार्शनिक हुन्, लेखेको थिएँ । शब्द चयन उपयुक्त भएन भन्ने लाग्छ । दार्शनिक शब्दको महत्त्व, २२ वर्ष अघि सोच्न सकेभन्दा, धेरै विशद पाउँछु । संग्रहमै लेखेको थिएँ, सरुभक्तहरू व्यक्तिभन्दा पनि संरचना हुन् । कुनै एक संवेग (यहाँ अहम्) लाई सर्वोच्च (प्राथमिक) मान्ने र सृजनात्मक लेखनमार्फत त्यसको सत्ता स्थापित गर्न उद्यत रहने संरचना (प्याटर्न) हुन् । सरुभक्तहरूलाई विचारक (अहम्केन्द्रित मानवतावाद अवधारणाको सापेक्षमा) भन्नु उपयुक्त हुन्छ ।

आजभोलि आफैंलाई प्रश्न गर्छु, दार्शनिक को हो ? को होइन ? भनेर मूल्याङ्न गर्ने तिम्रो क्षमता पुग्छ ? वैधानिकता के ? त्यो तहको दुस्साहसले आफ्नै मूढताको कथा भन्दैन ? नाजवाफ हुन्छु ।

विगततिर फर्केर हेर्दा माथि उल्लिखित चार प्रसंगले असहजभाव, अल्लारेपन र हाँसो उत्पन्न गराउँछ । तर, पश्चत्ताप छैन । बुझ्ने, सिक्ने क्रममा गरिएका कमी–कमजोरीमा (आफूले भेटेभरिको) हाँस्ने हो, ग्लानि अनुभव गर्ने होइन । विगतबाट धेरै प्रभावित हुने होइन, बरु त्यसलाई शिक्षक (मेन्टर) बनाउँदै भविष्ययात्रामा थप ऊर्जासाथ अघि बढ्ने हो । रिद्म देसाई सही भन्छन्- मान्छे मूलतः भविष्यउन्मुख (फरवार्ड लुकिङ) जीव हो ।

(शनिबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : भाद्र २६, २०७७ १८:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×