आफ्नै विरोधाभासहरूमा- कोसेली - कान्तिपुर समाचार

आफ्नै विरोधाभासहरूमा

विगतका आफ्ना पुस्तकका केही प्रसंग पढ्दा अहिले असहज लाग्छ ! अचम्म लाग्छ ! मानौं त्यो अरू कसैले लेखेको हो, मैले होइन । मनोविश्लेषक कार्ल युंगले अटल गहिराइमा आफूभित्र रहने त्यस्ता पुरानो सत्त्वलाई (सेल्फ) स्याडो भनेका छन् । यहाँ त्यो स्याडोलाई समयको यो विन्दुबाट नियाल्ने यत्न गरिएको छ ।
रोशन शेरचन

काठमाडौँ — आफू हिँडेको बाटोलाई कहिलेकाहीँ फर्केर हेर्नुपर्छ । एकोहोरो हिँडी मात्रै रहँदा धेरै कुरा छुट्छ । शिक्षाविद् पाओलो फ्रेरेले रोकिँदै र फर्केर हेर्ने विधिलाई स्टेपिङ ब्याक भनेका थिए । कर्म समीक्षा, कर्म समीक्षा र कर्म समीक्षाको यो चक्र (एक्सन रिफ्लेक्सन साइकल) वास्तवमै उपयोगी विधि छ । आफू हिँडेको साहित्यिक यात्रालाई कहिलेकाहीँ मैले पनि फर्केर हेर्ने गरेको छु ।

कोभिड– १९ ले आक्रान्त–समयमा त्यसो गर्न झन् सुविधा छ ।

ज्ञान आर्जन, समीक्षा र परिमार्जनको शृंखला डुंगा चलाएजस्तो हिँड्दै छ, पाइला मेट्दै छ, हुनु हुँदैन । जोडिँदै थपिँदै जानुपर्छ । हजार माइलको यात्रा पहिलो पाइलाबाट प्रारम्भ हुन्छ भन्ने वाक्यांश हामीले यति धेरैपटक सुन्यौँ कि, त्यो सामान्य लाग्छ । सामान्य सुनिए पनि त्यो सामान्य होइन, अन्तरदृष्टि हो भनेर म आफैंलाई सम्झाइराख्छु । विगतमा सत्य मानेका आफ्नै विचार समयक्रममा असत्य र अधुरा लाग्न सक्छन् । केन्द्रीय कुरा छुटेको तर परिधिको कुरा मात्रै समातिरहेको लाग्न सक्छ । अहिले ती लेख पुनः लेख्नुपरे, त्यसरी लेख्दिनथेँ, यसरी लेख्थेँ भन्ने मनमा विचार उठ्ने गर्छ । मेरा पनि केही त्यस्ता अनुभव छन् ।

पहिलो कवितासंग्रहलाई आधार मान्दा मेरो लेखन–यात्राले पच्चीस बर्ष नाघेछ । विगतका आफ्ना पुस्तकहरूका चारवटा प्रसंग (दर्जनौं छन् तर यहाँ चारवटा मात्र) छन्, जसलाई पढ्दा मलाई असहज लाग्छ । हाँसो उठ्छ । अचम्म लाग्छ । मानौं त्यो अरू कसैले लेखेको हो, मैले होइन । मनोविश्लेषक कार्ल युंगले अटल गहिराइमा आफूभित्र रहने त्यस्ता पुरानो सत्त्वलाई (सेल्फ) स्याडो भनेका छन् । यो छोटो लेख, त्यो स्याडोलाई समयको यो विन्दुबाट नियाल्ने यत्न हो । स्याडोसँगको संघर्षको संक्षिप्त लेखोट । यहाँ किताबको नाम, लेखको शीर्षक र पृष्ठ संख्या उल्लेख गर्दै, आफ्ना धारणा राखेको छु ।

१. कविताको समाप्ति संसारको समाप्ति हो । संसारको समाप्तिको विचार अस्वस्थ छ– यद्यपी विश्वास तर्क पर छ– तसर्थ जीवन विसंगत छ । (कविताको समाप्ति संसारको समाप्ति हो, पृष्ठ ४०, मस्तिष्कहरूको मृत्यु, २०५८)

‘मस्तिष्कहरूको मृत्यु’, मेरो पहिलो निबन्ध संगालो । प्रकाशित भएको २० वर्ष पुगेछ । ‘कविताको समाप्ति संसारको समाप्ति हो’ शीर्षकको लेख आजभोलि पढ्दा, कसरी त्यस्तो अति (एक्स्ट्रिम) लेखेछु भन्ने लाग्छ । कुन मनोविज्ञानबाट डोहोरिएर त्यस्तो लेखेँ ? विसं २०५० तिर कवितासँग अत्यन्त लगाव थियो । अभिभूतै थिएँ । कुनै वस्तु वा घटनासँग एकाकार हुँदा त्यस्तै धारणा लेखिने रहेछ । एकाकार हुँदा वस्तुगत दूरी बन्दैन र त्यो विशाल ठूलो हुँदै विश्वरूपजस्तो बन्दो हो । अहिले अलिक परबाट (उचाइबाट ?) हेर्ने कोसिस गर्दै छु । धारणा अत्यन्त मनोगत भएकाले विज्ञानसम्मत दृष्टि थोरै उघ्रँदा पनि त्यस्ता धारणा गर्ल्यामगुर्लुम्म भत्कँदो रहेछ । इतिहास साक्षी छ, अतिशय भावुकताको परिणति त्यस्तै हुन्छ । कवितालाई नै संसारको दर्जामा राखेर बराबरी मान्नु कदाचित परिपक्व विचार थिएन । फर्केर हेर्दा, अतीव लगावको कारण अनुपातमा हेर्ने (सेन्स अफ प्रोपर्सन) क्षमता गुमेको रहेछ ।

मेरो ‘कविताको समाप्ति, संसारको समाप्ति हो’ मा निहित कमजोरी देख्न विश्वव्यापी कोरोना महामारीले थप सघाएको छ । कोभिड–१९ ले विश्वलाई थिलोथिलो बनाएको छ । आर्थिक क्रियाकलाप धराशायी बनाउँदै त्राहिमाम् मच्चाइरहेको छ । लाखौंको ज्यान लिँदै, समुदायमा प्रवेश गरेर प्रत्येक मान्छेको जीवनको लय नै भत्काइदिँदा त संसारको समाप्ति भएको छैन । केही हजार कविले आस्था राख्ने कविता समाप्त हुँदा, सात अर्बभन्दा बढी मानिस बसोबास गर्ने संसार समाप्त भएको कसरी मान्ने ? त्यो अनुपातमा हेर्ने क्षमता गुमाउँदा निकालेको निष्कर्ष लाग्छ अहिले फर्किहेर्दा ।

मान्छेको आशावादिता सजिलै कहाँ निभेको छ र अब निभ्नलाई ? मान्छे विश्वयुद्ध, अनिकाल, महाभूकम्प र कारोनाजस्ता हरेक विपत्मा आशावादितालाई जोगाउँदै पर्खिबस्छ । ऊ सुदूर भविष्यतिर हेर्दै पर्खन्छ तर रोकिँदैन । यस्तोमा कविताको समाप्तिलाई संसारकै समाप्ति मान्नु एक कविताप्रेमीको भावुक अभिव्यक्तिभन्दा बढी केही होइन । संसार छ र त कविताको महत्त्व छ । फर्केर हेर्दा, त्यो बेअर्थको विचार भेट्छु ।

२. जीवनका पाठशालाहरूका गुरुहरू अनुभवहरू, भोगाइहरू हुन् भने पाठ्यक्रमका पाठशालाहरूका गुरु, ज्ञान र विचारहरू हुन् । ज्ञान र विचारका अनुभवहरूका सापेक्षमा जहिलेसुकै सेकेन्ड ह्यान्ड हुन्छन् । सेकेन्ड ह्यान्ड कुरालाई लिएर लामो समयसम्म लड्न सकिन्न । (जीवनका पाठशालाहरू, पृष्ठ ५९, मस्तिष्कहरूको मृत्यु) ।

‘मस्तिष्कहरूको मृत्यु’ निबन्धसंग्रहमै जीवनका पाठशालाहरू निबन्धमा यस्तो लेखेको थिएँ । अन्य स्रोतबाट प्राप्त ज्ञान र आफ्नै अनुभवबाट प्राप्त ज्ञानको तुलना गर्ने क्रममा अनुभवप्रदत्त ज्ञानलाई श्रेष्ठ र त्यसैले भरपर्दो भनेको रहेछु । अनुभवमा आफैं संलग्न हुने भएकाले त्यो फस्ट ह््यान्ड हुन्छ र त्यसैले भरपर्दो भन्ने निष्कर्ष निकालेको रहेछु । अन्य ज्ञानहरू सेकेन्ड ह्यान्ड भएकाले भर पर्न सकिन्न भनेको रहेछु ।...लामो समयसम्म लड्न सकिन्न भन्नाले जीवनलाई युद्ध नै मानेको रहेछु ।

पुस्तकबाट प्राप्त ज्ञान भर पर्नयोग्य छैन, कारण त्यो आफ्नो अनुभव होइन, साह्रै मनोगत तर्क लाग्छ अहिले । भरपूर सतही । अनुभवबाट प्राप्त ज्ञान मात्र भरपर्दो हुन्छ भन्ने मान्दा, मान्छेको ज्ञानको सीमा धेरै खुम्चन्छ, कारण मान्छेको अनुभवको सीमा छ । आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक यथार्थले (मटेरियल कन्डिसन) प्रभावित गर्ने भएकाले मान्छेले खासखाले अनुभव मात्र गर्न सक्छ । सबै अनुभव गर्न सम्भव हुँदैन । मध्यमवर्गीय ठिटोले उच्चवर्गको अनुभव गर्न सक्दैन ? गैरदलितले दलितको । पुरुषले महिलाको । अध्ययनको हकमा त्यस्तो सीमा हुँदैन । गैरदलित युवाले दलितको अनुभव पढेर समानुभूति राख्न सक्छ । नेपालको पाठक अफगानी लेखकसँग उनको काल्पनिक यात्रामा निस्कन सक्छ । थरीथरीका लेखकको, विभिन्न कालखण्डमा लेखिएका विविध विषयको पुस्तक पढेर जानकारी, ज्ञान र अन्तरदृष्टि पाउन सकिन्छ । मान्छेको छोटो जीवनमा ज्ञान लिने पुस्तकभन्दा सजिलो माध्यम सायदै अर्को छ । बित्थामै फस्ट ह्यान्ड र सेकेन्ड ह्यान्डको रस्साकस्सीमा अल्झेछु ।

महत्त्वपूर्ण कुरो बरु कति अलोचनात्मक चेत वा वस्तुगत भएर पढ्न सकेँ, त्यो पो रहेछ । यी हरफलाई अहिले लेख्न परे, यसरी लेख्नेछु— अनुभवभन्दा बुद्धि (तर्कपद्धति) सधैँ उच्च छ । अनुभवबाट आउने ज्ञानलाई पनि तर्कको कसीमा नघोटेसम्म त्यसमा भर पर्नु हुँदैन । इतिहास पढ्दा बुझ्छौं, तर्क पद्धतिले सधैं जितेको छ ।

३. ...मैले दोस्रो प्रश्न गरेँ, आर्थिक दृष्टिले चीनले विकास त धेरै गर्‍यो तर गरिब र धनीबीचको खाडल पनि बढ्दै गएको छ नि ? नेपालमै अत्यन्त सोधिने तर चित्तबुझ्दो जवाफ नभेटिएकाले म उक्त प्रश्नको जवाफ अनुभव भोगेका चिनियाँबाट सुन्न चाहन्थेँ । जवाफमा उनले भनिन्, ‘गरिब र धनीबीचको खाडल त बढ्दो छ । तर, अहिलेका गरिब उहिलेका गरिबभन्दा धनी छन् (वेटर अफ, उनले प्रयोग गरेको शब्द)...। (देङ सियाओपिङ्को आत्मा, अन्नपूर्ण पोस्ट, १६ पुस, २०७३) ।

चीनको आर्थिक प्रगतिबारे बुझ्न नचाहने कमै होलान् । आर्थिक प्रगतिले निम्त्याउने गरिब र धनीवीचको खाडल (इनकम इनइक्वालिटी) पनि उत्तिकै चासोको विषय हो । एक अध्ययनअनुसार, सन् २०१९ मा चीनको कुल गार्हस्थ्य उत्पादन करिब १४.१ ट्रिलियन हाराहारी छ । चीनको विगतको ३१ वर्षको (१९७९–२०१०) कुल गार्हस्थ्य उत्पादन नै वार्षिक ९.९ प्रतिशत छ, जुन आश्चर्यजनक आँकडा हो । सन् २०७३ मा बेइजिङ भ्रमणमा मैले एक जना चिनियाँलाई यसै सेरोफेरोमा प्रश्न गरेको थिएँ । देङ सियाओपिङ्को नीतिकै कारण धेरै चिनियाँ गरिबीबाट मुक्त भएको र विगतका गरिबभन्दा अहिलेको गरिब राम्रो (वेटर अफ) रहेको भन्दै उनले देङको प्रशंसा गरेका थिए ।

सन् ८० को दशकबाट सुरु भएको चीनको आय–असमानता विश्वकै अग्रपङ्क्तिमा पर्छ । सन् २०१३ मा, चीनको जिनी कोफिसियन्ट ५० अंक रहेको थियो । अघिल्लो नेतृत्वको पालामा (१९८०–२००८) चीनको उपल्लो २०, ३० प्रतिशतले अधिकांश लाभ लिएको देखिन्छ । यद्यपि वर्तमान सरकारले थालेको संरचनागत सुधार, ग्रामीण कृषि योजना, न्यूनतम तलब वृद्धि र कर प्रणालीमा सुधारजस्ता कार्यक्रमले सन् २००८ बाट भने आय–असमानता घटेको तथ्याङ्कले देखाउँछ ।

आर्थिक वृद्धि मात्र हेरेर नहुने रहेछ । त्यसको पुनर्वितरण कसरी भएको छ ? त्यस वृद्धिले धनी र गरिबको खाडल कम गरेको छ, छैन ? विपन्न समुदायलाई सामाजिक सुरक्षा उपलब्ध गराएको छ, छैन ? शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायातमा सरकारको लगानी र स्वामित्व छ, छैन ? प्रगतिशील कर प्रणाली लागू छ, छैन ? कर उन्मुक्ति पो छ कि ? जस्ता प्रश्न महत्त्वपूर्ण रहेछन् । ऐतिहासिक विश्लेषणको निचोड नै छ— असन्तोष र विद्रोह जन्मने एक प्रमुख कारण नै विपन्न र धनी वर्गबीचको खाडलमा हो ।

सीमित वर्गकहाँ अथाह पुँजी थुपि्रँदै जाने र तर अर्कोतिर श्रमजीवी वर्गको ठूलो हिस्सा बाँच्नकै लागि जीवनभर लडिरहनुपर्नेजस्तो खराब व्यवस्था कुनै छैन । अर्थशास्त्री ब्रान्को मिलानोभिजका लेखहरू पढेपछि असमानताको गुरुत्वबारे केही थाहा पाएँ ।

चिनियाँको जवाफबाट धेरै प्रभावित बनेछु । आजको दिनमा त्यो हरफ लेख्न परे, म चीनको आय असमानताबारे थप सोध्ने थिएँ । त्यो लेख निकै अधुरो लाग्छ ।

४. सरुभक्तहरू/दर्शनका अनुयायीहरू मात्रै भएकाहरूको देशको/सायद एक दार्शनिक हुन्

(सरुभक्तहरू, लामो कविता, पृष्ठ. ५७) ।

विसं २०५६ सालमा प्रकाशित ‘सरुभक्तहरू’, मेरो लामो कवितासंग्रह हो । मनमा उठेकै भरमा, कुनै सर्वेक्षणबिना नै, नेपालमा दर्शनका अनुयायीहरू मात्रै छन् भन्ने निष्कर्ष लेखेँ । त्यतिविधि निश्चित कसरी हुन सकेछु ? दर्शन मेरो प्रिय विषय हो । ओशो, यूजी कृष्णमूर्ति, जे कृष्णमूर्ति हुँदै अघि बढेको पठनमा पछिल्लो समयमा विविध विषयका दार्शनिक, चिन्तक र वैज्ञानिकहरू थपिएकै छन् । ओशोजस्ता रहस्यमयी द्रष्टा र बाबाहरूलाई छाडेको दुई दशक नाघेको छ । पछिल्लो समय स्टोइक दार्शनिक मार्कस एरिलिअस्, सेनेका, एपिकटिटसमा रुचि बढेको छ । कोरोनाकालमा एरिलिअस्को ‘मेडिटेसन्स्’, सेनेकाको ‘अन द सर्टनेस अफ लाइफ’ र एपिकटिटसको ‘डिस्कोर्स अफ एपिकटिटस’ र ‘इनकारिडियन’ पढेपछि चमत्कृत भएँ ।

मानव जातिको नैसर्गिक जिज्ञासा र ज्ञानप्रतिको भोक कुनै कालखण्डको मात्र रहेनछ । त्यो अनन्तदेखि बग्दै आएको नदीजस्तै रहेछ । जीव वैज्ञानिकहरू चार्ल्स डार्विन, रिचर्ड डकिन्स, एल्डो लिओपल्ड र एडवर्ड इ विलसन मेरा प्रिय लेखक भइगए । भौतिकशास्त्री रिचार्ड फेमेन, फ्रिमन डायसनका अन्तर्वार्ता सुन्दा म अवाक बन्छु । बहुविधात्मक ज्ञानप्रणालीमा (मल्टी डिसिप्लिनरी) विश्वास गर्ने चार्ली मंगरले जहिल्यै छक्क पार्छ । दार्शनिक शब्दले धेरै विशद (सीमित क्षेत्रमा तर गहिरो) आयाम समेटेको पाउँछु ।

‘सरुभक्तहरू’ सायद एक दार्शनिक हुन्, लेखेको थिएँ । शब्द चयन उपयुक्त भएन भन्ने लाग्छ । दार्शनिक शब्दको महत्त्व, २२ वर्ष अघि सोच्न सकेभन्दा, धेरै विशद पाउँछु । संग्रहमै लेखेको थिएँ, सरुभक्तहरू व्यक्तिभन्दा पनि संरचना हुन् । कुनै एक संवेग (यहाँ अहम्) लाई सर्वोच्च (प्राथमिक) मान्ने र सृजनात्मक लेखनमार्फत त्यसको सत्ता स्थापित गर्न उद्यत रहने संरचना (प्याटर्न) हुन् । सरुभक्तहरूलाई विचारक (अहम्केन्द्रित मानवतावाद अवधारणाको सापेक्षमा) भन्नु उपयुक्त हुन्छ ।

आजभोलि आफैंलाई प्रश्न गर्छु, दार्शनिक को हो ? को होइन ? भनेर मूल्याङ्न गर्ने तिम्रो क्षमता पुग्छ ? वैधानिकता के ? त्यो तहको दुस्साहसले आफ्नै मूढताको कथा भन्दैन ? नाजवाफ हुन्छु ।

विगततिर फर्केर हेर्दा माथि उल्लिखित चार प्रसंगले असहजभाव, अल्लारेपन र हाँसो उत्पन्न गराउँछ । तर, पश्चत्ताप छैन । बुझ्ने, सिक्ने क्रममा गरिएका कमी–कमजोरीमा (आफूले भेटेभरिको) हाँस्ने हो, ग्लानि अनुभव गर्ने होइन । विगतबाट धेरै प्रभावित हुने होइन, बरु त्यसलाई शिक्षक (मेन्टर) बनाउँदै भविष्ययात्रामा थप ऊर्जासाथ अघि बढ्ने हो । रिद्म देसाई सही भन्छन्- मान्छे मूलतः भविष्यउन्मुख (फरवार्ड लुकिङ) जीव हो ।

(शनिबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : भाद्र २६, २०७७ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्

बोल्न कुनै ‘वादी’ हुनु पर्दैन

समाजमा केही महिला ‘ एक्कै लुम भए पनि पोते लगाऊ न’ वा ‘ एक्कै धर्को भए पनि सिन्दूर लगाऊ न’ भन्ने आग्रहबाट दिक्क भएका छन् भने केही महिला शारीरिक रुपमा महिलासँगै आकर्षित भएको कुरा व्यक्त गर्न नपाएर छटपटाइरहेका छन् ।
नारायणी देवकोटा

साउन पहिलो साता सोफिया थापाले गाएको ‘तीजमा हुने विभेदलाई बहिष्कार गरौं’ भन्ने आशयको गीत हिन्दु अतिवादीका धम्कीका कारण युट्युबबाट हटाइँदै गर्दा श्रीमती मारेर जन्मकैद भुक्तान गरिरहेका एक अपराधी लोकतन्त्रको योद्धाको जस्तो आत्मविश्वासका साथ हात हल्लाउँदै जेलबाट बाहिरिँदै थिए ।

लगत्तै ‘राम्री भएको घमण्ड गरेको’ आरोप लगाउँदै पवित्रा कार्कीलाई एक पुरुषले अनुहारमा एसिड छ्यापे । त्यसैबेला कसैको नाम उल्लेख नगरी आफू यौन दुर्व्यवहारमा परेको भनाइ सार्वजनिक गरेकी एक नायिकामाथि ‘शक्तिशाली’ नायक–निर्माता क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै मुद्दा दायर गर्दै थिए ।

यस्ता घटना सार्वजनिक भइरहँदा मानिसहरू फलानो विषयमा महिलावादी बोले कि बोलेनन् ? फलानो विषयमा मात्रै किन बोले ? कुन विषयमा किन बोले, कुन विषयमा किन बोलेनन् ? के फन्टासी हो ? के रियालिटी हो ? कुनचाहिँ प्राथमिक हो ? कुनचाहिँ द्वितीयक हो ? भनेर सार्वजनिक बहसमा उत्रिरहन्छन् । के हरेकले हरेक विषयमा बोल्नु जरुरी छ ?

महिलाका रहर, अप्ठेरा, सपना अनि महिलामाथि भएका दुर्व्यवहार, शोषण र हिंसाको विरुद्धमा बोल्ने मानिसलाई महिलावादी करार गरिदिन्छन् केही पढे–लेखेका मानिसहरू । महिलावादी (नारीवादी) हुनु भनेको पुरुषका हरेक कदमको विरोध गर्नु र महिलाका जस्तासुकै कुरामा पनि आँखा चिम्लेर समर्थन गर्नु हो भन्ने मानक स्थापित छ । यस्तो नजरले घरमा श्रीमान्लाई बस्न—खान पनि नदिने र पारपाचुके पनि नगर्ने महिलालाई पनि र वर्षौंसम्म कैयौं विभेद एवं दमनका चाङमुनि पिसिएर बल्लबल्ल आफूले भोगेका विभेदबारे बोल्न साहस जुटाउने महिलालाई पनि एकसाथ महिलावादी देखिदिन्छ । यसरी देख्ने नजर पुरुषका मात्रै छैनन् । ‘महिलाको विषयमा महिला नै बोल्नुपर्छ’ भन्ने महिलाहरूको पंक्ति अझ अगाडि सर्छ ।

यस्तो पंक्तिमा रहेकाहरू नै फेरि सामाजिक सञ्जालमा ‘म यति पढेकी मान्छे, श्रीमान् मर्दा सती जान्छु’ भनेर लेखिदिन्छन् वा यसरी लेखेको कुरा सहमतिसहित सेयर गर्छन् । सती नै जान तयार भएपछि त छाउगोठमा बस्नु, बलात्कारमा पर्नु, एसिड छ्यापिनु, घरेलु हिंसाको सिकार हुनु ठाउँअनुसार अनौठो हुने नै भएन । र, श्रीमान्ले गरेको मानसिक हिंसालाई ‘ऊ डिप्रेसनमा परेको, ऊ त्यस्तै सन्की भएको, उसको बानी नै त्यस्तै (कचकचे, छुच्चो मुख, छाडा बोलिहाल्ने, कसैको शरीरमा हात लगाइहाल्ने) भएको’ आधारमा हिंसा नै नगनिने भयो ।

यो पंक्तिमा प्रसिद्ध छ, शेरा तामाङले नेपालको पूरै महिला आन्दोलनलाई लेबल लगाएर लेखेको ‘विकासे नारीवाद’ लेख । अहिले उक्त बहस ‘महिलामाथिको दुर्व्यवहार, हिंसा र शोषण पुँजीवादले गरेको छ र पितृसत्तालाई मुख्य शत्रु देख्नु फेन्टासी हो’ भन्नेमा पुगेको छ । तर, मानव समाजका पाँच प्रकारका संरचनात्मक विभेदमध्ये जात/वर्ण व्यवस्था, वर्ग व्यवस्था र लैंगिक विभेद विशेष छन् भनेर समाजशास्त्रमा अहिले आम रूपमा स्वीकार गरिएको छ ।

यस्ता विभेद कसैको जिन्दगीमा एक्लाएक्लै त कसैको जिन्दगीमा अन्तरसम्बन्धित भएर प्रकट भएका हुन्छन् । उदाहरणका लागि उच्च जात वा गोरा सामुदायिक धनी महिला, महिला भएकै कारण हिंसामा पर्छिन् भने त्यो विभेद लैंगिकताका आधारमा मात्रै हुने भयो । कुनै धनी दलित वा काला जातिकी महिला घरमा महिला भएकै कारण हिंसामा पर्छिन् र समाजमा दलित वा काली भएकै कारण विभेदमा पर्छिन् भने त्यो लैंगिकता र जातीय विभेद दुवै भयो । यदि अर्की महिला, जो दलित वा काला जातीय परिवारकी हुन् र गरिब पनि छिन् भने उनी महिला भएकै कारणले पनि, दलित भएका कारणले पनि र गरिब भएका कारणले पनि तीन तहको विभेदमा पर्ने अवस्था हुन्छ ।

यी तमाम विभेदसँग लड्न ठाउँ वा परिस्थितिअनुसार, फरक–फरक आन्दोलन, अभियान वा कार्यक्रम बन्ने गरेका छन् । जस्तै, केही वर्षअगाडि रातो टीका, रातो पहिरन अभियान सुरु भयो । उक्त अभियानसँग जोडिएको गीत ‘लाऊ चेली सिन्दूर लाऊ, निको पार हृदयको घाउ’ निकै चर्चित भयो । विशेषगरी हिन्दु धर्ममा विश्वास राख्ने ‘विधवा’ महिलाले रंगहीन जीवन बिताउनुपरेको आफ्नैजस्तो अवस्था भोगेका साथीहरू मिलेर सञ्चालन गरेको अभियान थियो त्यो । ठीक त्यति नै बेला हिन्दु परिवारमा हुर्केका कामकाजी (घर र कार्यालय दुवैमा काम गर्ने) महिलाहरूले सिन्दूर–चुरा–पोते कम लगाउन, साडी–चोलोभन्दा कुर्ता–सुरुवाल लगाउन र छोटो कपाल पाल्न थालेका थिए ।

त्यही समय काठमाडौंका सोही वर्गका कतिपय महिलाहरू सांस्कृतिक रूपमा महिलामाथि थोपरिएका बोझविरुद्ध ‘वुमन इन ब्ल्याक’ अभियान चलाएर हप्तामा एक दिन भए पनि कालो कपडा लगाउँदै थिए । समाजमा केही महिलाले आफ्नो नाक–कानमा भएका सुनका गहना धितो राखेर सानातिना व्यापार–व्यवसाय सुरुआत गर्दै गर्दा, नक्कली नै भए पनि आफ्ना परम्परागत गहनाहरूको संरक्षण गर्न जनजाति महिलाहरू सजिएर टुँडिखेलमा भेला हुँदै थिए ।

आज ७० भन्दा बढी देशका महिला गर्भपतन गर्न पाउनुपर्ने कानुनी अधिकारका लागि लडिरहेका छन् भने त्यस्तो कानुन भएका कतिपय देशका महिला गर्भपतनको अधिकारको दुरुपयोगका कारण शारीरिक हिंसा भोग्न बाध्य छन् । यौन बजारमा बेचिएर नारकीय जीवन गुजारेपछि उम्कन सफल महिलाहरू मानव बेचबिखनविरुद्ध काम गरिरहेका छन् भने कति महिला ‘यौन व्यापार आफ्नो रोजीरोटीको माध्यम भएको हुँदा यौनकर्मलाई कानुनी मान्यता दिइनुपर्छ’ भनेर पैरवी गरिरहेका छन् । यही समाजमा केही महिला ‘एक्कै लुम भए पनि पोते लगाऊ न’ वा ‘एक्कै धर्को भए पनि सिन्दूर लगाऊ न’ भन्ने आग्रहबाट दिक्क भएका छन् भने केही महिला शारीरिक रूपमा महिलासँगै आकर्षित भएको कुरा व्यक्त गर्न नपाएर छटपटाइरहेका छन् ।

यस्ता फरक–फरक अभियान किन सञ्चालन हुन्छन् भन्ने विषय आउँदा उक्त अभियानको नेतृत्वकर्ता को हो भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण हुन्छ । कुनै पनि व्यक्तिको जीवनदर्शन, उसले निर्माण गर्ने सामाजिक कार्यक्रम, अभियान, योजना वा नीतिहरू वस्तुगतभन्दा विषयगत बढी हुन्छन् । आफू बाँचेको जीवन, आफूले हासिल गरेको ज्ञान र बुझाइको दायरामा नै रहेर उसले काम गरेको हुन्छ, जसलाई हामी ‘स्व’ भन्ने गर्छौं । यसको उदाहरणमा पत्रपत्रिकामा बन्ने स्केचहरूलाई पनि लिन सकिन्छ, जहाँ नेतृत्वदायी पदको चित्रण गर्दा टोपी लगाएको पुरुष बनाइएको हुन्छ ।

स्केच बनाउनेले महिलालाई हेपेर त्यसो गरेका हुँदैनन्, बरु दैनिक जीवनमा देख्दादेख्दै उनीहरूको ‘स्व’ मा ‘पुरुष मात्रै नेतृत्वदायी पदमा हुन्छन्’ भन्ने छाप बसेका कारण त्यसो भएको हुन्छ । राजनीतिक नेतृत्वको मुखबाट निस्कने ‘चौरजहारी हत्या काण्ड दलितका कारण घटेको’, ‘बलात्कार र हत्या संसारभरि जहाँ पनि हुने’ वा ‘चेपाङ बस्तीमा जलेको घर नभएर छाप्रो र गुन्द्री मात्रै जलेको’ जस्ता अभिव्यक्ति पनि यसकै उदाहरण हुन् । मानिसले जति नै क्रान्तिकारी गफ गरे पनि उसको ‘स्व’ बेला–बेलामा छल्किएर निस्किहाल्छ ।

के गर्ने, के नगर्ने ?

असहयोगी सामाजिक संरचना (आर्थिक, सांस्कृतिक, कानुनी र राजनीति) का कारण धेरै महिला आफूले लिएका निर्णय तथा उठाएका मुद्दा फिर्ता लिन र राखिएको लक्ष्य छोडेर बीच बाटोमै अलमलिन बाध्य छन् । त्यसैले कुनै दिन कुनै महिलाको पीडामा ‘ऐया’ भनेबापत हरेक महिलामाथि भएको हिंसामा बोलिदिनैपर्ने, आन्दोलन गरिदिनैपर्ने बाध्यता कसैलाई छैन । कुनै पनि मानिस आफूलाई अप्ठेरो पर्दा बोल्न स्वतन्त्र छ । साथै अरूलाई अप्ठेरो पर्दा बोलिदिन वा कानुनअनुसार अगाडि बढ्न वा कानुन नै परिवर्तन गर्ने अभियान सञ्चालन गर्नसमेत स्वतन्त्र छ ।

तर, यसरी बोलेकै कारण संसारभरिका विभेदबारे जानकारी राखिदिनुपर्छ वा पुँजीवाद, समाजवादजस्ता अमूर्त अवधारणालाई धानिदिनुपर्छ भन्ने बाध्यता कसैलाई छैन । धानिदिनुपर्ने आग्रह वा अपेक्षा पनि महिला हिंसाकै रूप हुन्, चाहे त्यो आग्रह बौद्धिक वर्गले गरोस् वा अरू कसैले । त्यसैले, आफूलाई वा अरूलाई अप्ठेरो हुँदा सकेसम्म बोल्ने हो । नबोल्न पनि सकिन्छ । तर, यसरी बोल्नका लागि कुनै ‘वादी’ हुनु पर्दैन ।

प्रकाशित : भाद्र २०, २०७७ १२:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×