नुनको (बै)गुन
मरिमराउमा नुन बार्नुलाई सामान्यतः धार्मिक प्रचलन मान्ने गरिन्छ । पहाडी हिन्दुहरूले मरिमराउ र सुतक परेको बेला नुन बार्ने गर्छन् । नेवार, गुरुङ, तामाङ, राई, लिम्बू आदिले पनि मरिमराउमा नुन बार्छन् । झट्ट हेर्दा खसभाषी हिन्दुहरूको सिको गरेर पहाडी भेगका अन्य समुदायले पनि मर्दापर्दा नुन बार्न सुरु गरेका हुन्जस्तो देखिन्छ ।
नुन बार्ने अभ्यासलाई एमएन श्रीनिवासको ‘सस्क्रिटाइजेसन’ सम्बन्धी अवधारणाको आलोकमा व्याख्या–विश्लेषण गर्नु उपयुक्त हुन्छजस्तो पनि लाग्छ । तर, गडिएर हेर्दा नुनसम्बन्धी वर्जनाको नाभि धर्मसँग नभएर भूगोलबाट निःसृत संस्कृतिसँग गाँसिएको छ । नुन बार्नु अमुक धर्मको नभई ठाउँविशेषको चालचलन हो । यसबारे बिचार्दै जाँदा नेपालको खाद्य संस्कारमा नुनसँगै थपिएको गुन र बैगुनको समग्र चित्र हाम्रोसामु निर्मित हुन्छ ।
सामाजिक पाटो
खाद्य प्रचलन र योसँग गाँसिएको रोगको अध्ययन मूलतः चिकित्सा विज्ञानले गर्छ भन्ने आमधारणा छ । चिकित्सा विज्ञानसँग अन्योन्याश्रित रूपमा गाँसिएका जनस्वास्थ्यसम्बन्धी यस्ता विषयलाई सामाजिक आलोकमा पनि हेर्ने गरिन्छ । यस्तो अध्ययनलाई ‘मेडिकल सोसियोलोजी’ अर्थात् चिकित्सा समाजशास्त्र भनिन्छ । समाज एउटा चरणबाट अर्को चरणमा गुज्रिँदा नुनको खपत र यसले मानव स्वास्थ्यमा थप्ने गुन–बैगुनको हदमा पनि परिवर्तन आउने भएकाले नुनको सामाजिक पाटोबारे विमर्श गर्नु आवश्यक छ । तर, यस विषयमा हामीकहाँ खासै चर्चा भएको छैन ।
सामाजिक आधारमा रोगको वर्गीकरण गर्ने हो भने सरुवा रोग (हैजा, झाडापखाला, टाइफाइड आदि) लाई मूलतः गाउँले रोग र दीर्घरोग (उच्च रक्तचाप, डायबेटिज, क्यान्सर आदि) लाई सहरी रोग मान्नुपर्ने हुन्छ । ग्रामीण भेगमा सरुवा रोगले र सहरबजारतिर दीर्घरोगले बढ्ता मानिसको ज्यान लिने गर्छन् । रोगका यस्ता सामाजिक पक्षबारे अमेरिकी लेखक जेरेड डायमन्डले आफ्नो किताब ‘द वर्ल्ड अन्टिल यस्टर्डे’ मा विवेचना गरेका छन् । किताबको ‘सल्ट, सुगर फ्याट एन्ड स्लोथ’ अर्थात् ‘नुन, चिनी, बोसो र आलस्य’ शीर्षकको अध्यायमा उनले कुनै बेला गुनैगुनको भकारी मानिने नुन सहरबजारतिर बैगुनको पर्याय बन्दै गएको यथार्थतर्फ प्रकाश पारेका छन् । सामाजिक पक्षसँग जोडिएको नुन खपतको प्रवृत्तिबारे विवेचना पनि गरेका छन् । जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको नुनको बदलिँदो खपतले मानिसमा उच्च रक्तचाप, हृदयाघात, मुटु र मिर्गौलासम्बन्धी समस्या, पेटको क्यान्सर, टाइप–टु डायबेटिज आदि निम्त्याइरहेको यथार्थबारे पनि उनले साङ्गोपाङ्गो विश्लेषण गरेका छन् ।
डायमन्डको निष्कर्ष छ, ‘भौतिक रूपमा समाज विकसित हुँदै जाँदा नुनमा सबैको सहज पहुँच सुनिश्चित हुँदै जान्छ । यसबाट नुनको खपत बढ्न पुग्छ । गाउँको तुलनामा सहरमा दीर्घरोगी बढी पाइनुको एउटा प्रमुख कारण यही हो । सहरमा सबै प्रकारका खाना बाह्रै मास पाइन्छन् । खाद्य असुरक्षा बढ्ता हुने गाउँबाट सहर छिरेको मानिसले बढी खाना खान्छ । खानाको मात्रा बढेसँगै नुनको खपत पनि बढ्न पुग्छ ।’ विश्वका विभिन्न ठाउँमा भएका अनुसन्धानहरूको हवाला दिँदै उनले सहरमा पुस्तौँदेखि बसिआएका मानिसको तुलनामा भर्खरै सहरतिर बसाइँ सरेका मानिसले नुन खपत बढी गर्ने र दीर्घरोगले पनि त्यस्तै मानिसलाई बढ्ता च्याप्ने निष्कर्ष सुनाएका छन् । अर्थात्, परम्परागत जीवनबाट जसै समाज सहरी जीवनतिर फड्किन्छ, तसै नुनको खपत बढ्न गई अनेकखालका दीर्घरोग निम्तिन्छन् ।
किताबमा डायमन्डले संसारमै सबैभन्दा कम नुन खाने ब्राजिलको यानोमामो इन्डियनहरूको खाद्य संस्कारसँग अमेरिकी खाद्य संस्कारको तुलना गरेका छन् । अमेरिकी सहर लस एन्जलसको एउटा रेस्टुरेन्टले एउटा ‘नुडल्स कम्बो’ मा हाल्नेजति नुनले एक जना यानोमामो इन्डियनलाई एक वर्ष तीन दिनसम्म पुग्ने तथ्य प्रस्तुत गरेका छन् । नेपाल पनि तीव्र सहरीकरण भइरहेको मुलुकमध्येमा पर्छ । विदेशी खाद्य संस्कार यहाँ प्रबल बन्दै छ । योसँगै खासगरी सहरवासीमाझ उच्च रक्तचाप, डायबेटिज, क्यान्सरजस्ता दीर्घरोग पनि बढ्दै छ । यस्तोमा नुन खपतलाई केन्द्रमा राखेर नेपालको बदलिँदो खानपान र यसले जनस्वास्थ्यमा पारिरहेको असरबारे विमर्श गर्नु सामयिक हुन्छ ।
मूल्यवान नुन
यातायात, सञ्चार र बैंकिङ सञ्जाल अत्यन्तै सीमित रहेको परम्परागत समाजमा उत्पादन र प्रशोधन हुने ठाउँबाट नुन अन्यत्र पैठारी गर्न निकै अप्ठेरो हुन्थ्यो । त्यतिबेला नुन मूल्यवान वस्तु ठहरिने गर्थ्यो । यो कुरा राणाकाल अन्त्य नहुन्जेलसम्म सरकारी कर्मचारीलाई नियुक्ति, सरुवालगायत गर्दा जारी गरिने सरकारी कागजपत्रमा ‘नुनको सोझो गर्नु’ भनी लेखिएको विवरणले पनि स्पष्ट गर्छ ।
पृथ्वीनारायणको ‘दिव्यउपदेश’ मा पनि बफादारिताको अर्थमा नुनबारे तीनवटा प्रसंग उल्लेख छन् । पहिलो, ग्यामी अर्थात् जयन्त रानालाई पृथ्वीनारायणले काठमाडौंको सेवा गर्न छोडेर आफ्नै थातथलो गोरखाको पक्षमा आइज भन्दा जयन्तले ‘जयप्रगास मल्लको नुन षाईहाल्यां मरिमेट्न्याछु’ भनी ठाडै अस्वीकार गरेको प्रसंग । दोस्रो, ‘आफ्ना ष्वामित्को नुन्को उधार गर्नु’ भनी पृथ्वीनारायणले भारदारहरूलाई भनेको प्रसंग । तेस्रो, ‘पांडे बस्न्यात पंथ भैयाद मग्र...ई मेरा नुन् गुन्का स्वझा सेवक हुन्’ भनी पृथ्वीनारायणले नै भनेको प्रसंग । यसले त्यतिबेला राज्यको सेवा गरेबापत हासिल हुने पारितोषिकको पर्याय नुन थियो भन्ने देखाउँछ । हुन पनि नुन र पारितोषिकबीचको सम्बन्धको इतिहास छुट्याउनै नमिल्ने खालको छ । प्राचीन रोममा सैनिकहरूलाई ज्यालाबापत नुन अर्थात् ‘सल्ट’ को पोको दिने गरिन्थ्यो । यसरी दिइने ‘सल्ट’ बाटै प्रकारान्तरमा ‘स्यालरी’ अर्थात् तलब शब्दको व्युत्पत्ति भएको हो ।
‘ नेपालमा... नुन एउटा तालबाट ल्याइन्छ भनिन्छ, जुन काठमाडौंको उत्तरमा पर्छ र जहाँ पुग्न ब्रह्मपुत्र (को मुहान) बाट १५ दिन यात्रा गर्नुपर्छ । ठूलाखालका भेडामा लदाएर नुन नेपालसम्म ल्याउने गरिन्छ । ती भेडामध्ये धेरैको चारवटा सिङ हुन्छन् ।सिन्धु, गंगा र ब्रह्मपुत्र नदीको मुहानतिरका ठाउँमा भारी बोकाउन प्राय: यस्तै भेडा प्रयोग गर्ने गरिन्छ ।’
नुनको खानी समुद्रसँग सीमा जोडिएको रोममा त नुन त्यति मूल्यवान थियो भने नुनको खानी खासै नभएको नेपालमा यो कुनै बेला कति दुर्लभ थियो होला भनि सहजै अनुमान लगाउन सकिन्छ । सहज रूपमा उपलब्ध नहुने भएकाले नै मरिमराउमा नुन नचल्ने संस्कार नेपालमा संस्थागत भएको हो । पहाडबाट हामी जति तलतिर झर्छौं, मृत्यु संस्कारमा नुन वर्जित गर्ने चलन उति नै हराउँदै जान्छ । मधेसमा दागबत्ति दिने (जेठो) छोरो र उसकी पत्नीले मात्रै नुन बारे पुग्छ । भारतका प्रायः हिन्दुहरूले मरिमराउमा नुन चलाउँछन् । बेसारचाहिँ बार्छन् । यसबाट मरिमराउ र सुतकमा नुन बार्ने चलन धर्मसँग नभएर ठाउँविशेषको रहनसहनसँग गाँसिएको छ भन्ने स्पष्ट हुन्छ ।
नुन वर्जित हुने यस्तोखालका संस्कार भएका ठाउँमा नुनको महत्त्व अन्यत्रभन्दा बढ्ता हुनु स्वाभाविक हो । नुन हत्तपत्ति नपाउने मानिसका लागि स्वादको पर्याय भनेकै नुन हो । यो कुरा आफन्तको शव दहन गरेर कोरामा बसेको नेपालीले अझ राम्रोसँग बुझ्न सक्छन् । परिवारको आत्मीय व्यक्ति मरेको बेला स्वाद त्याग्नु सामन्य हो । स्वाद भनेकै नुन हो भनी बुझिने नेपालमा मरिमराउमा नुन बार्नुको एउटा कारण पनि यही हो । यसको आर्थिक कारण पनि छ । मरिमराउ भएको घरमा कुटुम्बेरी र आफन्तको ताँती लाग्ने गर्छ । सबैलाई नुन हालेर भोजन गराउन साध्य हुँदैन । त्यसैले मरिमराउ भएको गृहस्थीलाई राहत दिन भनेर काजकिरिया नसकिएसम्म बन्धुबान्धवहरूलाई नुन खान वर्जित गरिएको हो । समुद्रसँग सीमा जोडिएको भारतमा नुन सहजै उपलब्ध हुने भएकाले मरिमराउमा नुन वर्जित गर्ने चलन चलाउन त्यहाँ आवश्यक नठानिएको हो ।
प्रमुख आयात
उपनिवेशकालताका भारतमा नुन संकलन र बिक्रीमाथि बेलायतीहरूको एकाधिकार सुनिश्चित हुनेगरी कानुन बनेपछि त्यसको विरोध गर्दै महात्मा गान्धीले भनेका थिए, ‘हावा र पानीपछि जीवनलाई सबैभन्दा बढ्ता चाहिने कुरा सम्भवतः नुन नै हो । गरिबहरूको मरमसला भनेकै नुन हो ।’ नुन खानी ठ्याम्मै छैन भन्दा पनि फरक नपर्ने नेपालका भान्छाघरमा भारतीय परिवेशमा गान्धीले भनेका यी कुराको मर्म पनि उत्तिकै सान्दर्भिक छ ।
विगतको समयमा नेपालमा आयात हुने प्रमुख सामाग्री नुन थियो । लिच्छविकालमा भारतसँग नेपालको व्यापार बढ्ता हुने गर्थ्यो । नरेन्द्रदेवको पालामा भोटसँगका हिमाली नाकाहरू सहज बनाइएपछि भोटसँगको व्यापार क्रमशः उकालो लाग्दै गयो । समयक्रममा भोटसँगको व्यापारले भारतसँगको व्यापारलाई ओझेल पारिदियो । मल्लकालसम्म आइपुग्दा भोटसँगको व्यापार चरमचुलीमा पुग्यो । त्यतिबेला भोटबाट नेपालतिर मूलतः नुन आयात हुने गर्थ्यो । नेपालबाट चाहिँ भोटतिर चामललगायत खाद्यान्न पैठारी गरिन्थ्यो ।
नेपालमा नुन खानी हुँदै नभएकाले चाहिएजति सबै नुन भोटबाट ल्याउनुपरेको चाहिँ होइनन् । बहादुर शाहको मुख्तियारीकालमा काठमाडौं आएका इस्ट इन्डिया कम्पनीका कर्णेल विलियम कर्क प्याट्रिकले काठमाडौं उपत्यकाको उत्तरी भेग (?) मा नुनको सानो खानी रहेको बताएका छन् । त्यहाँ उत्पादित नुनलाई उपत्यकावासीले भोटे नुन जति महत्व दिने नगरेकाले उपत्यकालाई चाहिने सबै नुन भोटबाटै आउने गरेको उनले लेखेका छन् । मुस्ताङ क्षेत्र जुम्ला राज्यअन्तर्गत छँदैदेखि त्यहाँका खानीबाट नुन झिकिएका प्रमाण भेटिएका छन् । शाह राजाको पालामा मुस्ताङ नेपालमा गाभिएपछि त्यहाँका खानीबाट नुन झिक्न थालिएको थियो, जसबारे महेशराज पन्त र पियर्स एच. फिलिपले संयुक्त रूपमा तयार गरेको मुस्ताङ र त्यसवरिपरिका क्षेत्रसम्बन्धी शाहकालीन प्रशासनिक दस्तावेजहरूको संग्रहमा रहेका केही लिखतले प्रकाश पारेका छन् ।
मुस्ताङका नुन खानीबाट चन्द्रशमशेरको पालामा पनि नुन झिकिएको थियो । त्यसको करिब सय वर्षअघिदेखि मर्स्याङ्दी नदीको किनारमा रहेका खानीमा नुन प्रशोधन गर्ने गरिन्थ्यो । तर, चिसो तापक्रम र इन्धनको अभावका कारण त्यहाँबाट नुन निकाल्न अप्ठेरो पर्ने गरेको प्रसंगबारे चन्द्रशमशेरको समयमा प्रकाशित किताब ‘नेपाल’ मा पर्सिभल ल्यान्डनले लेखेका छन् । नेपालका खानीबाट उत्पादन हुने नुनको मात्रा असाध्यै कम हुने भएकाले यतिबेला पनि नुनका लागि नेपालले भोटसँगै निर्भर रहुनपरेको उनले उल्लेख गरेका छन् ।
भोटबाट आयात हुने सामग्रीमध्ये नुन कति महत्त्वपूर्ण थियो भन्ने कुरा नुनलाई लिएर नेपाल र भोटबीच भएका विवादका शृङ्खलाले पनि स्पष्ट गर्छन् । मल्लकालताका भीम मल्लले भोटमाथि विजय हासिल गरेपछि दुई देशबीच भएको सन्धिमै एक रुपैयाँमा तीन पाथी नुन सटही हुनेगरी दरभाउ तोकिएको थियो । सन्धिमै दरभाउ तोकिएको नुनले द्विपक्षीय व्यापारमा कत्रो ठूलो अर्थ राख्दो रहेछ भनेर सहजै अनुमान लगाउन सकिन्छ । बहादुर शाहको मुख्तियारीकालमा नेपाल र भोटबीच युद्ध हुनुको एउटा कारण नुन पनि थियो । नेपालतिर पैठारी हुने नुनमा भोटले धूलो मिसाएको र एकतर्फी रूपमा नुनको मूल्य बढाएको आरोप नेपालले लगाउँदै आएको थियो । योलगायत अन्य केही विवादित विषय सुल्झन नसकेपछि नेपालले भोटमाथि हमला गरेको थियो । लियो इ. रोजले पनि भोटले एकतर्फी रूपमा तय गर्ने नुन र चामलबीचको ‘असमान’ विनिमय दरलाई लिएर नेपालसँग उसको विवाद परिरहने गर्थ्यो र यो क्रम भारतबाट नुन भित्रिने क्रम सुरु नभएसम्म जारी रह्यो भनी लेखेका छन् ।
नुनको (अ)सहजता
नेपाल र भोट जोड्ने बाटो अत्यन्तै अप्ठेरो भएकाले नेपाली भान्छासम्म भोटे नुन ल्याइपुर्याउनु कष्टसाध्य थियो । सहजै प्राप्त नहुने वस्तु भएकाले नुनलाई अत्यन्तै फारु गरेर चलाउनुपर्थ्यो । ज्वाइँचेला आउँदा मात्र नुनको पोको धक नमानीकन फुकाउने गरिन्थ्यो । कुनै बेला नेपालमा खसीको मासु खान बडादशैं अथवा चैते दशैं कुर्नुपरेजस्तै नुन राम्रोसँग लागेको तिउन र झोल खान ज्वाइँचेला पाहुना भएर आउने दिन कुर्नुपर्थ्यो । अरू बेला आधा विलिनो तिउन र झोलमै मानिसले आफूलाई अभ्यस्त तुल्याउनुपर्थ्यो ।
भोटबाट नुन कसरी ल्याइन्थ्यो भन्ने विवरण पढ्दाखेरि हल्का नुन हालेको तिउन खान पाउनुलाई पनि त्यतिबेला सौभाग्य मान्नुपर्ने अवस्था रहेछ भन्ने देखिन्छ । भोटे नुन ल्याउने तरिकाबारे सोधखोज गरेर कर्क प्याट्रिकले तयार गरेको विवरणमा भनिएको छ, ‘चारैतिर हिउँले छपक्कै छोपेको (हिमाली भेगका) ठाउँमा पनि सुरक्षित भएर बाटो पहिल्याउन चौरी र च्यांग्रा सिपालु हुन्छन् । यही कारणले गर्दा जाडो मौसममा हिमाल पार गर्न यात्रुहरूले यिनलाई पथप्रदर्शक बनाउने गर्छन् । भारी बोक्ने अथवा बाटो देखाउने सवालमा तिब्बती भेडाहरू च्यांग्राभन्दा कम हुँदैनन् । त्यसैले भोटेहरूले नेपालमा आपूर्ति गर्ने सबै नुन यिनैलाई बोकाउँछन् ।’ कर्क प्याट्रिकपछि नेपाल आएका फ्रान्सिस बुखानन ह्यामिल्टनले तयार गरेको यससम्बन्धी विवरण अझ विस्तृत छ, ‘नेपालमा... नुन एउटा तालबाट ल्याइन्छ भनिन्छ, जुन काठमाडौंको उत्तरमा पर्छ र जहाँ पुग्न ब्रह्मपुत्र (को मुहान) बाट १५ दिन यात्रा गर्नुपर्छ । ठूलाखालका भेडामा लदाएर नुन नेपालसम्म ल्याउने गरिन्छ । ती भेँडामध्ये धेरैको चारवटा सिङ हुन्छन् । सिन्धु, गंगा र ब्रह्मपुत्र नदीको मुहानतिरका ठाउँमा भारी बोकाउन प्रायः यस्तै भेँडा प्रयोग गर्ने गरिन्छ ।’
रणोद्दीपसिंहको हत्या गरेर श्री ३ महाराज बनेका वीरशमशेरले अंग्रेजहरूको साखुल्ले बन्न र नुन व्यापारमा एकाधिकार जमाएर कुस्त कमाउन भनेर भोटबाट नुन ल्याउन प्रतिबन्ध लगाए । भारतबाट नुन ल्याउने कामको जिम्मा उनले भागवतभक्त माथेमालाई लिए । भागवतभक्त सहिद धर्मभक्त माथेमाका हजुरबुबा हुन् । तर, अनेक कारणले भोटे नुनको आयातमा प्रतिबन्ध लगाउन सम्भव भएन । चन्द्रशमशेरको पालामा भोटसँगको सम्बन्ध बिग्रिँदा नेपालले भोटमाथि चढाइँ गर्ने मनस्थिति बनाएको थियो । भोटसँग कदाचित युद्ध भएमा भोटे नुनको आयात अवरुद्ध हुनसक्ने देखेर चन्द्रशमशेरले भन्सार शुल्क घटाउनेलगायत अग्रसरता लिएर भारतबाट हुने नुन आयातलाई प्रवर्द्धन गरेका थिए ।
भोटे नुनको सट्टा भारतीय नुनतर्फ नेपालका शासकहरूले अभिरुचि देखाइरहँदा भारतसँग जोडिने सडकहरू क्रमशः सहज बन्दै गए । यसले नेपालमा नुनको आपूर्ति तुलनात्मक रूपले सजिलो बन्दै गयो । नुन अब हिजोको जस्तो दुर्लभ रहेन । तर, यो कुरा बाटोघाटोको सहज पहुँच भएका सुगम ठाउँको हकमा मात्र लागू भयो । राणाशाहीको अन्त्यपछि दुर्गम पहाडी भेगका मानिसहरूलाई नुन पहिलेकै जस्तो सहजसँग अप्राप्य नै रह्यो । ती भेगका मानिसले नुनका लागि भोटको सट्टा भारततिर निर्भर हुनुपर्यो । यसले भान्छासम्म नुन ल्याइपुर्याउने उनीहरूको झ्याउलोलाई उति धेरै सहज पार्नचाहिँ सकेन ।
त्यस अवधिमा दुर्गम पहाडवासीहरूले भारतीय नुन कसरी ल्याउँथे भन्नेबारे टोनी हागनको आँखोदेखा वर्णनमा भनिएको छ, ‘गाउँका हरेक घरले आफ्ना लागि चाहिने नुन आफैले ल्याउनुपर्थ्यो । यसका लागि वर्षमा एकपटक हरेक घरबाट कम्तीमा एक जना मानिस कृषिउपजको भारी बोकेर नुनसँग सटही गर्न भनि भारततिर झर्ने गर्थे । त्यसअघि तिब्बततिर पनि त्यसैगरी पुग्थे । मानिसका लागि त्यस्तो ‘नुन यात्रा’ उत्साहवर्द्धक हुन्थ्यो । सबै जनाले आफूसँग भएका राम्रा लुगा लगाउँथे । महिलाहरू परम्परागत पोसाकमा सजिन्थे । दसदेखि पन्ध्र जनाको समूह बनाएर सबै जना सँगै निस्किन्थे । अघिल्लो वर्ष त्यस्तै यात्रामा निस्किएका समूहका पाका सदस्यहरूलाई खाना पकाउन चाहिने पानी र दाउरा कुन ठाउँमा पाइन्छ, कुन ठाउँमा रात बिताउन उपयुक्त हुन्छ भन्ने थाहा हुन्थ्यो । उसो त उनीहरूलाई कुन ठाउँमा ठिटीहरूले छ्याङ ख्वाउँछन् भन्ने पनि थाहा हुन्थ्यो... त्यस्तो यात्रा दुई अथवा आठ सातासम्म जारी रहन्थ्यो ।’
राणाशाहीको अन्त्यपछि पनि भोट अथवा भारतबाट नुन ल्याउनु विकट पहाडी भेगका मानिसका लागि कम चुनौतीपूर्ण थिएन । बाटोमा पानी परेमा नुन पग्लिएर सखाप हुन्थ्यो । खोलानाला तर्दा उत्तिकै होसियारी अपनाउनुपर्थ्यो । पानीबाट नुनको धोक्रो जोगाउन त्यतिबेलाका मानिसले उपाय निकालेका थिए । खसीबोकाको छाला काडेर धोक्रो बनाई त्यसमा भरेर बढो कष्टका साथ भान्छाघरसम्म नुन ल्याउने गरिन्थ्यो । त्यति कठिनाइ बेहोरेर ल्याएको नुन धीत मरुन्जेल छर्किँदै खानु राजर्षि ठाँटभन्दा कम थिएन ।
फेरिँदो खानपान
नेपाल र भारतबीचको सडक यातायात सहज भएपछि नेपालमा भनेजति नुन सजिलै आउन थाल्यो । सहरी अर्थतन्त्रको प्रभाव बढेसँगै मानिसहरूको किनमेल गर्न सक्ने क्षमता पनि बढ्दै गयो । नुनको खरिद र खपतमा यसको प्रत्यक्ष प्रभाव पर्यो ।
सहरी अर्थतन्त्रको प्रभाव बढ्दै जाँदा गाउँबाट सहरतिर बसाइसराइ गर्ने मानिसको संख्या पनि बढ्दै जान्छ । गाउँमा पनि सहरिया खानपान, रहनसहनको प्रभाव पर्छ । यी कुराहरूलाई विचारेर डायमन्डले नुनको अभावसँग अभ्यस्त मानिसहरू नुन र खाना सहज रूपमा उपलब्ध हुने परिवेशमा आएपछि उनीहरूको खाद्य संस्कारमा कस्तोखालको परिवर्तन आउँछ भनी विभिन्न ठाउँका उदाहरणसहित बेलिविस्तार लगाएका छन् । लहराबाट टिपेर काक्रो र बारीबाट उखेलेर मुला खाने गाउँले जसै सहर पस्छ, उसले सलादमा नुन छर्किएर खान थाल्छ । सहरमा खाद्य असुरक्षा नहुने भएकाले र त्यहाँ उसको हातमा पैसा पनि हुने भएकाले उसले खाने परिकारहरूको संख्या पनि बढ्छ । योसँगै नुनको खपत पनि बढ्न पुग्छ ।
खाद्य असुरक्षा बेहोर्नुपर्ने गाउँबाट भर्खरै सहर पसेको मानिसले बफे पार्टीमा आफ्नो प्लेटमा खानाको ससानो पहाड नै खडा गरेको हुन्छ । अनेकन खाद्य परिकार खान गाउँतिर पाइँदैन । यस्तोमा पाएको बेला सबै खाना अघाउजी खाने प्रयत्न उसले गर्छ । विपन्न मानिसले बढी खाना खानुमा पनि यस्तै मनोविज्ञान जिम्मेवार छ । सहरिया मानिसहरू खानाको सहज उपलब्धतासँग अभ्यस्त हुने भएकाले उनीहरूको प्लेटमा थोरै अन्न, केही टुक्रा माछा र सलाद मात्र हुन्छ । यस्तै कारणहरूतर्फ औंल्याएर डायमन्डले गाउँबाट भर्खरै सहर पसेका मानिसको नुन खपत बढ्ने र उनीहरू दीर्घरोगको सिकार हुने जोखिम बढ्ता हुने गरेको बताएका छन् ।
सहरवासीलाई दीर्घरोग बढी लाग्नुको अर्को कारण घरबाहिर खाना खाने बढ्दो चलन पनि हो । रेस्टुरेन्ट र सपिङ मलमा पाइने खाद्य परिकारलाई स्वादिलो बनाउन भनेर तिनमा नुन बढ्ता हालिएको हुन्छ । रेस्टुरेन्टमा दिइने परिकार, सपिङ मलमा पाइने टिनबन्दी अन्न र मासु, बेकरी आइटम, चिप्स आदिमा नुनको मात्रा बढी हुन्छ । यस्तो हुनुका केही कारणबारे डायमन्डले चर्चा गरेका छन् । नुन हालेकै भरमा सस्तो सामग्रीलाई स्वादिलो बनाएर महँगोमा बेच्न व्यापारीलाई सम्भव हुन्छ । बढी नुन हाल्दा मासुको वजन २० प्रतिशत जतिले बढ्ने भएकाले यसबाट उत्पादकलाई अतिरिक्त फाइदा हुन्छ । बढी नुन खाँदा तिर्खा लाग्छ । स्न्याक र प्रोसेस्ड खाना उत्पादन गर्ने कम्पनीहरूले नै सफ्ट ड्रिंक र पानी उत्पादन गर्ने भएकाले खानामा बढी नुन हाल्दा उनीहरूलाई दोहोरो फाइदा मिल्छ । सबैभन्दा महत्त्वपूर्ण कुराचाहिँ समयक्रममा फेरिएको हाम्रो जिब्रो हो । नुनिलो चीज खान अभ्यस्त भएका हामी कम नुन हालिएको खाना रुचाउँदैनौं । यसले विक्रेताहरूलाई हाइसन्चो भएको छ । डायमन्डले उल्लेख गरेका यस्ता विवरण तीव्र सहरीकरण बेहोरिरहेको नेपाली समाजमा पनि उत्तिकै सान्दर्भिक छ ।
सहरीकरण र नुनको सहज उपलब्धताका कारण नुनको खपत निरन्तर बढ्दै जानु जनस्वास्थ्यका हिसाबले चिन्ताको विषय हो । नुनको बढ्दो खपतका कारण संसारभरिका सहरवासीहरू दीर्घरोगको सिकार बन्ने क्रम बढ्दो छ । सहरका मानिसहरूको मृत्यु हुने कारणमध्ये नुनको बढ्दो खपतसँग जोडिएका उच्च रक्तचाप, मधुमेहलगायत दीर्घरोग प्रमुख छन् । त्यसैले चिकित्सा विज्ञानदेखि समाज विज्ञानसम्मले यसबारे चासो देखाउन आवश्यक छ ।
चिकित्सा विज्ञानले यसबारे केही महत्त्वपूर्ण अनुसन्धान गरेको छ । नेपाल हेल्थ रिसर्च काउन्सिलले छापेको एउटा अनुसन्धानमूलक सामग्रीका अनुसार, विश्व स्वास्थ्य संगठनले प्रतिदिन पाँच ग्राम अथवा त्योभन्दा कम नुन खान सिफारिस गरेकामा नेपालीहरूले त्यसको दोब्बरभन्दा बेसी अर्थात् १०–१३ ग्राम नुन खाइरहेका छन् । त्यस्तै हाइपरटेन्सनका तीन चौथाइ बिरामीलाई डाक्टरहरूले नुन खपत घटाउन सुझाव दिने गरेका छन् । यसले नेपालमा नुन खपत भयावह किसिमले बढेको देखाएको छ ।
नुनको सहज उपलब्धतासँगै निरन्तर उकालो लाग्दै गएको नुन खपतले जनस्वास्थ्यमा गम्भीर असर गरिरहेकाले खाद्य संस्कारमा आमूल परिवर्तन ल्याएर मात्र दीर्घरोगको फैलावट रोक्न सकिन्छ । खाद्य संस्कार बदल्न नुनिलो खाना मात्रै स्वादिलो हुन्छ भन्ने चिन्तन त्याग्ने, नुन प्रशस्तै हालेर तयार गरिने गालेको अचार नियमित नखाने, सलाद र फलफूलको जुसमा वीरेनुन नछर्किने, खानामा नुनको मात्रा घटाउँदै लैजाने, ‘जंक फुड’ र ‘फास्ट फुड’ को खपत कम गर्ने चालचलन बसाउन आवश्यक छ । यस्तो संस्कार संस्थागत गर्न जनस्वास्थ्यसम्बन्धी काम गरिरहेका सरकारी र गैरसरकारी निकायले स्वास्थ्य विज्ञानका विज्ञहरूसँगै समाज विज्ञानका विज्ञहरूसँग पनि हातेमालो गर्न आवश्यक छ ।
प्रकाशित : भाद्र १३, २०७७ ०९:५९