नुनको (बै)गुन- कोसेली - कान्तिपुर समाचार

नुनको (बै)गुन

नुनसम्बन्धी वर्जनाको नाभि धर्मसँग नभएर भूगोलबाट नि:सृत संस्कृतिसँग गाँसिएको छ । नुन बार्नु अमुक धर्मको नभई ठाउँविशेषको चालचलन हो । यसबारे विचार्दै जाँदा नेपालको खाद्य संस्कारमा नुनसँगै थपिएको गुन र बैगुनको समग्र चित्र हाम्रो सामु निर्मित हुन्छ ।
सुजित मैनाली

मरिमराउमा नुन बार्नुलाई सामान्यतः धार्मिक प्रचलन मान्ने गरिन्छ । पहाडी हिन्दुहरूले मरिमराउ र सुतक परेको बेला नुन बार्ने गर्छन् । नेवार, गुरुङ, तामाङ, राई, लिम्बू आदिले पनि मरिमराउमा नुन बार्छन् । झट्ट हेर्दा खसभाषी हिन्दुहरूको सिको गरेर पहाडी भेगका अन्य समुदायले पनि मर्दापर्दा नुन बार्न सुरु गरेका हुन्जस्तो देखिन्छ ।

नुन बार्ने अभ्यासलाई एमएन श्रीनिवासको ‘सस्क्रिटाइजेसन’ सम्बन्धी अवधारणाको आलोकमा व्याख्या–विश्लेषण गर्नु उपयुक्त हुन्छजस्तो पनि लाग्छ । तर, गडिएर हेर्दा नुनसम्बन्धी वर्जनाको नाभि धर्मसँग नभएर भूगोलबाट निःसृत संस्कृतिसँग गाँसिएको छ । नुन बार्नु अमुक धर्मको नभई ठाउँविशेषको चालचलन हो । यसबारे बिचार्दै जाँदा नेपालको खाद्य संस्कारमा नुनसँगै थपिएको गुन र बैगुनको समग्र चित्र हाम्रोसामु निर्मित हुन्छ ।

सामाजिक पाटो

खाद्य प्रचलन र योसँग गाँसिएको रोगको अध्ययन मूलतः चिकित्सा विज्ञानले गर्छ भन्ने आमधारणा छ । चिकित्सा विज्ञानसँग अन्योन्याश्रित रूपमा गाँसिएका जनस्वास्थ्यसम्बन्धी यस्ता विषयलाई सामाजिक आलोकमा पनि हेर्ने गरिन्छ । यस्तो अध्ययनलाई ‘मेडिकल सोसियोलोजी’ अर्थात् चिकित्सा समाजशास्त्र भनिन्छ । समाज एउटा चरणबाट अर्को चरणमा गुज्रिँदा नुनको खपत र यसले मानव स्वास्थ्यमा थप्ने गुन–बैगुनको हदमा पनि परिवर्तन आउने भएकाले नुनको सामाजिक पाटोबारे विमर्श गर्नु आवश्यक छ । तर, यस विषयमा हामीकहाँ खासै चर्चा भएको छैन ।

सामाजिक आधारमा रोगको वर्गीकरण गर्ने हो भने सरुवा रोग (हैजा, झाडापखाला, टाइफाइड आदि) लाई मूलतः गाउँले रोग र दीर्घरोग (उच्च रक्तचाप, डायबेटिज, क्यान्सर आदि) लाई सहरी रोग मान्नुपर्ने हुन्छ । ग्रामीण भेगमा सरुवा रोगले र सहरबजारतिर दीर्घरोगले बढ्ता मानिसको ज्यान लिने गर्छन् । रोगका यस्ता सामाजिक पक्षबारे अमेरिकी लेखक जेरेड डायमन्डले आफ्नो किताब ‘द वर्ल्ड अन्टिल यस्टर्डे’ मा विवेचना गरेका छन् । किताबको ‘सल्ट, सुगर फ्याट एन्ड स्लोथ’ अर्थात् ‘नुन, चिनी, बोसो र आलस्य’ शीर्षकको अध्यायमा उनले कुनै बेला गुनैगुनको भकारी मानिने नुन सहरबजारतिर बैगुनको पर्याय बन्दै गएको यथार्थतर्फ प्रकाश पारेका छन् । सामाजिक पक्षसँग जोडिएको नुन खपतको प्रवृत्तिबारे विवेचना पनि गरेका छन् । जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको नुनको बदलिँदो खपतले मानिसमा उच्च रक्तचाप, हृदयाघात, मुटु र मिर्गौलासम्बन्धी समस्या, पेटको क्यान्सर, टाइप–टु डायबेटिज आदि निम्त्याइरहेको यथार्थबारे पनि उनले साङ्गोपाङ्गो विश्लेषण गरेका छन् ।

डायमन्डको निष्कर्ष छ, ‘भौतिक रूपमा समाज विकसित हुँदै जाँदा नुनमा सबैको सहज पहुँच सुनिश्चित हुँदै जान्छ । यसबाट नुनको खपत बढ्न पुग्छ । गाउँको तुलनामा सहरमा दीर्घरोगी बढी पाइनुको एउटा प्रमुख कारण यही हो । सहरमा सबै प्रकारका खाना बाह्रै मास पाइन्छन् । खाद्य असुरक्षा बढ्ता हुने गाउँबाट सहर छिरेको मानिसले बढी खाना खान्छ । खानाको मात्रा बढेसँगै नुनको खपत पनि बढ्न पुग्छ ।’ विश्वका विभिन्न ठाउँमा भएका अनुसन्धानहरूको हवाला दिँदै उनले सहरमा पुस्तौँदेखि बसिआएका मानिसको तुलनामा भर्खरै सहरतिर बसाइँ सरेका मानिसले नुन खपत बढी गर्ने र दीर्घरोगले पनि त्यस्तै मानिसलाई बढ्ता च्याप्ने निष्कर्ष सुनाएका छन् । अर्थात्, परम्परागत जीवनबाट जसै समाज सहरी जीवनतिर फड्किन्छ, तसै नुनको खपत बढ्न गई अनेकखालका दीर्घरोग निम्तिन्छन् ।

किताबमा डायमन्डले संसारमै सबैभन्दा कम नुन खाने ब्राजिलको यानोमामो इन्डियनहरूको खाद्य संस्कारसँग अमेरिकी खाद्य संस्कारको तुलना गरेका छन् । अमेरिकी सहर लस एन्जलसको एउटा रेस्टुरेन्टले एउटा ‘नुडल्स कम्बो’ मा हाल्नेजति नुनले एक जना यानोमामो इन्डियनलाई एक वर्ष तीन दिनसम्म पुग्ने तथ्य प्रस्तुत गरेका छन् । नेपाल पनि तीव्र सहरीकरण भइरहेको मुलुकमध्येमा पर्छ । विदेशी खाद्य संस्कार यहाँ प्रबल बन्दै छ । योसँगै खासगरी सहरवासीमाझ उच्च रक्तचाप, डायबेटिज, क्यान्सरजस्ता दीर्घरोग पनि बढ्दै छ । यस्तोमा नुन खपतलाई केन्द्रमा राखेर नेपालको बदलिँदो खानपान र यसले जनस्वास्थ्यमा पारिरहेको असरबारे विमर्श गर्नु सामयिक हुन्छ ।

मूल्यवान नुन

यातायात, सञ्चार र बैंकिङ सञ्जाल अत्यन्तै सीमित रहेको परम्परागत समाजमा उत्पादन र प्रशोधन हुने ठाउँबाट नुन अन्यत्र पैठारी गर्न निकै अप्ठेरो हुन्थ्यो । त्यतिबेला नुन मूल्यवान वस्तु ठहरिने गर्थ्यो । यो कुरा राणाकाल अन्त्य नहुन्जेलसम्म सरकारी कर्मचारीलाई नियुक्ति, सरुवालगायत गर्दा जारी गरिने सरकारी कागजपत्रमा ‘नुनको सोझो गर्नु’ भनी लेखिएको विवरणले पनि स्पष्ट गर्छ ।

पृथ्वीनारायणको ‘दिव्यउपदेश’ मा पनि बफादारिताको अर्थमा नुनबारे तीनवटा प्रसंग उल्लेख छन् । पहिलो, ग्यामी अर्थात् जयन्त रानालाई पृथ्वीनारायणले काठमाडौंको सेवा गर्न छोडेर आफ्नै थातथलो गोरखाको पक्षमा आइज भन्दा जयन्तले ‘जयप्रगास मल्लको नुन षाईहाल्यां मरिमेट्न्याछु’ भनी ठाडै अस्वीकार गरेको प्रसंग । दोस्रो, ‘आफ्ना ष्वामित्को नुन्को उधार गर्नु’ भनी पृथ्वीनारायणले भारदारहरूलाई भनेको प्रसंग । तेस्रो, ‘पांडे बस्न्यात पंथ भैयाद मग्र...ई मेरा नुन् गुन्का स्वझा सेवक हुन्’ भनी पृथ्वीनारायणले नै भनेको प्रसंग । यसले त्यतिबेला राज्यको सेवा गरेबापत हासिल हुने पारितोषिकको पर्याय नुन थियो भन्ने देखाउँछ । हुन पनि नुन र पारितोषिकबीचको सम्बन्धको इतिहास छुट्याउनै नमिल्ने खालको छ । प्राचीन रोममा सैनिकहरूलाई ज्यालाबापत नुन अर्थात् ‘सल्ट’ को पोको दिने गरिन्थ्यो । यसरी दिइने ‘सल्ट’ बाटै प्रकारान्तरमा ‘स्यालरी’ अर्थात् तलब शब्दको व्युत्पत्ति भएको हो ।

‘ नेपालमा... नुन एउटा तालबाट ल्याइन्छ भनिन्छ, जुन काठमाडौंको उत्तरमा पर्छ र जहाँ पुग्न ब्रह्मपुत्र (को मुहान) बाट १५ दिन यात्रा गर्नुपर्छ । ठूलाखालका भेडामा लदाएर नुन नेपालसम्म ल्याउने गरिन्छ । ती भेडामध्ये धेरैको चारवटा सिङ हुन्छन् ।सिन्धु, गंगा र ब्रह्मपुत्र नदीको मुहानतिरका ठाउँमा भारी बोकाउन प्राय: यस्तै भेडा प्रयोग गर्ने गरिन्छ ।

नुनको खानी समुद्रसँग सीमा जोडिएको रोममा त नुन त्यति मूल्यवान थियो भने नुनको खानी खासै नभएको नेपालमा यो कुनै बेला कति दुर्लभ थियो होला भनि सहजै अनुमान लगाउन सकिन्छ । सहज रूपमा उपलब्ध नहुने भएकाले नै मरिमराउमा नुन नचल्ने संस्कार नेपालमा संस्थागत भएको हो । पहाडबाट हामी जति तलतिर झर्छौं, मृत्यु संस्कारमा नुन वर्जित गर्ने चलन उति नै हराउँदै जान्छ । मधेसमा दागबत्ति दिने (जेठो) छोरो र उसकी पत्नीले मात्रै नुन बारे पुग्छ । भारतका प्रायः हिन्दुहरूले मरिमराउमा नुन चलाउँछन् । बेसारचाहिँ बार्छन् । यसबाट मरिमराउ र सुतकमा नुन बार्ने चलन धर्मसँग नभएर ठाउँविशेषको रहनसहनसँग गाँसिएको छ भन्ने स्पष्ट हुन्छ ।

नुन वर्जित हुने यस्तोखालका संस्कार भएका ठाउँमा नुनको महत्त्व अन्यत्रभन्दा बढ्ता हुनु स्वाभाविक हो । नुन हत्तपत्ति नपाउने मानिसका लागि स्वादको पर्याय भनेकै नुन हो । यो कुरा आफन्तको शव दहन गरेर कोरामा बसेको नेपालीले अझ राम्रोसँग बुझ्न सक्छन् । परिवारको आत्मीय व्यक्ति मरेको बेला स्वाद त्याग्नु सामन्य हो । स्वाद भनेकै नुन हो भनी बुझिने नेपालमा मरिमराउमा नुन बार्नुको एउटा कारण पनि यही हो । यसको आर्थिक कारण पनि छ । मरिमराउ भएको घरमा कुटुम्बेरी र आफन्तको ताँती लाग्ने गर्छ । सबैलाई नुन हालेर भोजन गराउन साध्य हुँदैन । त्यसैले मरिमराउ भएको गृहस्थीलाई राहत दिन भनेर काजकिरिया नसकिएसम्म बन्धुबान्धवहरूलाई नुन खान वर्जित गरिएको हो । समुद्रसँग सीमा जोडिएको भारतमा नुन सहजै उपलब्ध हुने भएकाले मरिमराउमा नुन वर्जित गर्ने चलन चलाउन त्यहाँ आवश्यक नठानिएको हो ।

प्रमुख आयात

उपनिवेशकालताका भारतमा नुन संकलन र बिक्रीमाथि बेलायतीहरूको एकाधिकार सुनिश्चित हुनेगरी कानुन बनेपछि त्यसको विरोध गर्दै महात्मा गान्धीले भनेका थिए, ‘हावा र पानीपछि जीवनलाई सबैभन्दा बढ्ता चाहिने कुरा सम्भवतः नुन नै हो । गरिबहरूको मरमसला भनेकै नुन हो ।’ नुन खानी ठ्याम्मै छैन भन्दा पनि फरक नपर्ने नेपालका भान्छाघरमा भारतीय परिवेशमा गान्धीले भनेका यी कुराको मर्म पनि उत्तिकै सान्दर्भिक छ ।

विगतको समयमा नेपालमा आयात हुने प्रमुख सामाग्री नुन थियो । लिच्छविकालमा भारतसँग नेपालको व्यापार बढ्ता हुने गर्थ्यो । नरेन्द्रदेवको पालामा भोटसँगका हिमाली नाकाहरू सहज बनाइएपछि भोटसँगको व्यापार क्रमशः उकालो लाग्दै गयो । समयक्रममा भोटसँगको व्यापारले भारतसँगको व्यापारलाई ओझेल पारिदियो । मल्लकालसम्म आइपुग्दा भोटसँगको व्यापार चरमचुलीमा पुग्यो । त्यतिबेला भोटबाट नेपालतिर मूलतः नुन आयात हुने गर्थ्यो । नेपालबाट चाहिँ भोटतिर चामललगायत खाद्यान्न पैठारी गरिन्थ्यो ।

नेपालमा नुन खानी हुँदै नभएकाले चाहिएजति सबै नुन भोटबाट ल्याउनुपरेको चाहिँ होइनन् । बहादुर शाहको मुख्तियारीकालमा काठमाडौं आएका इस्ट इन्डिया कम्पनीका कर्णेल विलियम कर्क प्याट्रिकले काठमाडौं उपत्यकाको उत्तरी भेग (?) मा नुनको सानो खानी रहेको बताएका छन् । त्यहाँ उत्पादित नुनलाई उपत्यकावासीले भोटे नुन जति महत्व दिने नगरेकाले उपत्यकालाई चाहिने सबै नुन भोटबाटै आउने गरेको उनले लेखेका छन् । मुस्ताङ क्षेत्र जुम्ला राज्यअन्तर्गत छँदैदेखि त्यहाँका खानीबाट नुन झिकिएका प्रमाण भेटिएका छन् । शाह राजाको पालामा मुस्ताङ नेपालमा गाभिएपछि त्यहाँका खानीबाट नुन झिक्न थालिएको थियो, जसबारे महेशराज पन्त र पियर्स एच. फिलिपले संयुक्त रूपमा तयार गरेको मुस्ताङ र त्यसवरिपरिका क्षेत्रसम्बन्धी शाहकालीन प्रशासनिक दस्तावेजहरूको संग्रहमा रहेका केही लिखतले प्रकाश पारेका छन् ।

मुस्ताङका नुन खानीबाट चन्द्रशमशेरको पालामा पनि नुन झिकिएको थियो । त्यसको करिब सय वर्षअघिदेखि मर्स्याङ्दी नदीको किनारमा रहेका खानीमा नुन प्रशोधन गर्ने गरिन्थ्यो । तर, चिसो तापक्रम र इन्धनको अभावका कारण त्यहाँबाट नुन निकाल्न अप्ठेरो पर्ने गरेको प्रसंगबारे चन्द्रशमशेरको समयमा प्रकाशित किताब ‘नेपाल’ मा पर्सिभल ल्यान्डनले लेखेका छन् । नेपालका खानीबाट उत्पादन हुने नुनको मात्रा असाध्यै कम हुने भएकाले यतिबेला पनि नुनका लागि नेपालले भोटसँगै निर्भर रहुनपरेको उनले उल्लेख गरेका छन् ।

भोटबाट आयात हुने सामग्रीमध्ये नुन कति महत्त्वपूर्ण थियो भन्ने कुरा नुनलाई लिएर नेपाल र भोटबीच भएका विवादका शृङ्खलाले पनि स्पष्ट गर्छन् । मल्लकालताका भीम मल्लले भोटमाथि विजय हासिल गरेपछि दुई देशबीच भएको सन्धिमै एक रुपैयाँमा तीन पाथी नुन सटही हुनेगरी दरभाउ तोकिएको थियो । सन्धिमै दरभाउ तोकिएको नुनले द्विपक्षीय व्यापारमा कत्रो ठूलो अर्थ राख्दो रहेछ भनेर सहजै अनुमान लगाउन सकिन्छ । बहादुर शाहको मुख्तियारीकालमा नेपाल र भोटबीच युद्ध हुनुको एउटा कारण नुन पनि थियो । नेपालतिर पैठारी हुने नुनमा भोटले धूलो मिसाएको र एकतर्फी रूपमा नुनको मूल्य बढाएको आरोप नेपालले लगाउँदै आएको थियो । योलगायत अन्य केही विवादित विषय सुल्झन नसकेपछि नेपालले भोटमाथि हमला गरेको थियो । लियो इ. रोजले पनि भोटले एकतर्फी रूपमा तय गर्ने नुन र चामलबीचको ‘असमान’ विनिमय दरलाई लिएर नेपालसँग उसको विवाद परिरहने गर्थ्यो र यो क्रम भारतबाट नुन भित्रिने क्रम सुरु नभएसम्म जारी रह्यो भनी लेखेका छन् ।

नुनको (अ)सहजता

नेपाल र भोट जोड्ने बाटो अत्यन्तै अप्ठेरो भएकाले नेपाली भान्छासम्म भोटे नुन ल्याइपुर्‍याउनु कष्टसाध्य थियो । सहजै प्राप्त नहुने वस्तु भएकाले नुनलाई अत्यन्तै फारु गरेर चलाउनुपर्थ्यो । ज्वाइँचेला आउँदा मात्र नुनको पोको धक नमानीकन फुकाउने गरिन्थ्यो । कुनै बेला नेपालमा खसीको मासु खान बडादशैं अथवा चैते दशैं कुर्नुपरेजस्तै नुन राम्रोसँग लागेको तिउन र झोल खान ज्वाइँचेला पाहुना भएर आउने दिन कुर्नुपर्थ्यो । अरू बेला आधा विलिनो तिउन र झोलमै मानिसले आफूलाई अभ्यस्त तुल्याउनुपर्थ्यो ।

भोटबाट नुन कसरी ल्याइन्थ्यो भन्ने विवरण पढ्दाखेरि हल्का नुन हालेको तिउन खान पाउनुलाई पनि त्यतिबेला सौभाग्य मान्नुपर्ने अवस्था रहेछ भन्ने देखिन्छ । भोटे नुन ल्याउने तरिकाबारे सोधखोज गरेर कर्क प्याट्रिकले तयार गरेको विवरणमा भनिएको छ, ‘चारैतिर हिउँले छपक्कै छोपेको (हिमाली भेगका) ठाउँमा पनि सुरक्षित भएर बाटो पहिल्याउन चौरी र च्यांग्रा सिपालु हुन्छन् । यही कारणले गर्दा जाडो मौसममा हिमाल पार गर्न यात्रुहरूले यिनलाई पथप्रदर्शक बनाउने गर्छन् । भारी बोक्ने अथवा बाटो देखाउने सवालमा तिब्बती भेडाहरू च्यांग्राभन्दा कम हुँदैनन् । त्यसैले भोटेहरूले नेपालमा आपूर्ति गर्ने सबै नुन यिनैलाई बोकाउँछन् ।’ कर्क प्याट्रिकपछि नेपाल आएका फ्रान्सिस बुखानन ह्यामिल्टनले तयार गरेको यससम्बन्धी विवरण अझ विस्तृत छ, ‘नेपालमा... नुन एउटा तालबाट ल्याइन्छ भनिन्छ, जुन काठमाडौंको उत्तरमा पर्छ र जहाँ पुग्न ब्रह्मपुत्र (को मुहान) बाट १५ दिन यात्रा गर्नुपर्छ । ठूलाखालका भेडामा लदाएर नुन नेपालसम्म ल्याउने गरिन्छ । ती भेँडामध्ये धेरैको चारवटा सिङ हुन्छन् । सिन्धु, गंगा र ब्रह्मपुत्र नदीको मुहानतिरका ठाउँमा भारी बोकाउन प्रायः यस्तै भेँडा प्रयोग गर्ने गरिन्छ ।’

रणोद्दीपसिंहको हत्या गरेर श्री ३ महाराज बनेका वीरशमशेरले अंग्रेजहरूको साखुल्ले बन्न र नुन व्यापारमा एकाधिकार जमाएर कुस्त कमाउन भनेर भोटबाट नुन ल्याउन प्रतिबन्ध लगाए । भारतबाट नुन ल्याउने कामको जिम्मा उनले भागवतभक्त माथेमालाई लिए । भागवतभक्त सहिद धर्मभक्त माथेमाका हजुरबुबा हुन् । तर, अनेक कारणले भोटे नुनको आयातमा प्रतिबन्ध लगाउन सम्भव भएन । चन्द्रशमशेरको पालामा भोटसँगको सम्बन्ध बिग्रिँदा नेपालले भोटमाथि चढाइँ गर्ने मनस्थिति बनाएको थियो । भोटसँग कदाचित युद्ध भएमा भोटे नुनको आयात अवरुद्ध हुनसक्ने देखेर चन्द्रशमशेरले भन्सार शुल्क घटाउनेलगायत अग्रसरता लिएर भारतबाट हुने नुन आयातलाई प्रवर्द्धन गरेका थिए ।

भोटे नुनको सट्टा भारतीय नुनतर्फ नेपालका शासकहरूले अभिरुचि देखाइरहँदा भारतसँग जोडिने सडकहरू क्रमशः सहज बन्दै गए । यसले नेपालमा नुनको आपूर्ति तुलनात्मक रूपले सजिलो बन्दै गयो । नुन अब हिजोको जस्तो दुर्लभ रहेन । तर, यो कुरा बाटोघाटोको सहज पहुँच भएका सुगम ठाउँको हकमा मात्र लागू भयो । राणाशाहीको अन्त्यपछि दुर्गम पहाडी भेगका मानिसहरूलाई नुन पहिलेकै जस्तो सहजसँग अप्राप्य नै रह्यो । ती भेगका मानिसले नुनका लागि भोटको सट्टा भारततिर निर्भर हुनुपर्‍यो । यसले भान्छासम्म नुन ल्याइपुर्‍याउने उनीहरूको झ्याउलोलाई उति धेरै सहज पार्नचाहिँ सकेन ।

त्यस अवधिमा दुर्गम पहाडवासीहरूले भारतीय नुन कसरी ल्याउँथे भन्नेबारे टोनी हागनको आँखोदेखा वर्णनमा भनिएको छ, ‘गाउँका हरेक घरले आफ्ना लागि चाहिने नुन आफैले ल्याउनुपर्थ्यो । यसका लागि वर्षमा एकपटक हरेक घरबाट कम्तीमा एक जना मानिस कृषिउपजको भारी बोकेर नुनसँग सटही गर्न भनि भारततिर झर्ने गर्थे । त्यसअघि तिब्बततिर पनि त्यसैगरी पुग्थे । मानिसका लागि त्यस्तो ‘नुन यात्रा’ उत्साहवर्द्धक हुन्थ्यो । सबै जनाले आफूसँग भएका राम्रा लुगा लगाउँथे । महिलाहरू परम्परागत पोसाकमा सजिन्थे । दसदेखि पन्ध्र जनाको समूह बनाएर सबै जना सँगै निस्किन्थे । अघिल्लो वर्ष त्यस्तै यात्रामा निस्किएका समूहका पाका सदस्यहरूलाई खाना पकाउन चाहिने पानी र दाउरा कुन ठाउँमा पाइन्छ, कुन ठाउँमा रात बिताउन उपयुक्त हुन्छ भन्ने थाहा हुन्थ्यो । उसो त उनीहरूलाई कुन ठाउँमा ठिटीहरूले छ्याङ ख्वाउँछन् भन्ने पनि थाहा हुन्थ्यो... त्यस्तो यात्रा दुई अथवा आठ सातासम्म जारी रहन्थ्यो ।’

राणाशाहीको अन्त्यपछि पनि भोट अथवा भारतबाट नुन ल्याउनु विकट पहाडी भेगका मानिसका लागि कम चुनौतीपूर्ण थिएन । बाटोमा पानी परेमा नुन पग्लिएर सखाप हुन्थ्यो । खोलानाला तर्दा उत्तिकै होसियारी अपनाउनुपर्थ्यो । पानीबाट नुनको धोक्रो जोगाउन त्यतिबेलाका मानिसले उपाय निकालेका थिए । खसीबोकाको छाला काडेर धोक्रो बनाई त्यसमा भरेर बढो कष्टका साथ भान्छाघरसम्म नुन ल्याउने गरिन्थ्यो । त्यति कठिनाइ बेहोरेर ल्याएको नुन धीत मरुन्जेल छर्किँदै खानु राजर्षि ठाँटभन्दा कम थिएन ।

फेरिँदो खानपान

नेपाल र भारतबीचको सडक यातायात सहज भएपछि नेपालमा भनेजति नुन सजिलै आउन थाल्यो । सहरी अर्थतन्त्रको प्रभाव बढेसँगै मानिसहरूको किनमेल गर्न सक्ने क्षमता पनि बढ्दै गयो । नुनको खरिद र खपतमा यसको प्रत्यक्ष प्रभाव पर्‍यो ।

सहरी अर्थतन्त्रको प्रभाव बढ्दै जाँदा गाउँबाट सहरतिर बसाइसराइ गर्ने मानिसको संख्या पनि बढ्दै जान्छ । गाउँमा पनि सहरिया खानपान, रहनसहनको प्रभाव पर्छ । यी कुराहरूलाई विचारेर डायमन्डले नुनको अभावसँग अभ्यस्त मानिसहरू नुन र खाना सहज रूपमा उपलब्ध हुने परिवेशमा आएपछि उनीहरूको खाद्य संस्कारमा कस्तोखालको परिवर्तन आउँछ भनी विभिन्न ठाउँका उदाहरणसहित बेलिविस्तार लगाएका छन् । लहराबाट टिपेर काक्रो र बारीबाट उखेलेर मुला खाने गाउँले जसै सहर पस्छ, उसले सलादमा नुन छर्किएर खान थाल्छ । सहरमा खाद्य असुरक्षा नहुने भएकाले र त्यहाँ उसको हातमा पैसा पनि हुने भएकाले उसले खाने परिकारहरूको संख्या पनि बढ्छ । योसँगै नुनको खपत पनि बढ्न पुग्छ ।

खाद्य असुरक्षा बेहोर्नुपर्ने गाउँबाट भर्खरै सहर पसेको मानिसले बफे पार्टीमा आफ्नो प्लेटमा खानाको ससानो पहाड नै खडा गरेको हुन्छ । अनेकन खाद्य परिकार खान गाउँतिर पाइँदैन । यस्तोमा पाएको बेला सबै खाना अघाउजी खाने प्रयत्न उसले गर्छ । विपन्न मानिसले बढी खाना खानुमा पनि यस्तै मनोविज्ञान जिम्मेवार छ । सहरिया मानिसहरू खानाको सहज उपलब्धतासँग अभ्यस्त हुने भएकाले उनीहरूको प्लेटमा थोरै अन्न, केही टुक्रा माछा र सलाद मात्र हुन्छ । यस्तै कारणहरूतर्फ औंल्याएर डायमन्डले गाउँबाट भर्खरै सहर पसेका मानिसको नुन खपत बढ्ने र उनीहरू दीर्घरोगको सिकार हुने जोखिम बढ्ता हुने गरेको बताएका छन् ।

सहरवासीलाई दीर्घरोग बढी लाग्नुको अर्को कारण घरबाहिर खाना खाने बढ्दो चलन पनि हो । रेस्टुरेन्ट र सपिङ मलमा पाइने खाद्य परिकारलाई स्वादिलो बनाउन भनेर तिनमा नुन बढ्ता हालिएको हुन्छ । रेस्टुरेन्टमा दिइने परिकार, सपिङ मलमा पाइने टिनबन्दी अन्न र मासु, बेकरी आइटम, चिप्स आदिमा नुनको मात्रा बढी हुन्छ । यस्तो हुनुका केही कारणबारे डायमन्डले चर्चा गरेका छन् । नुन हालेकै भरमा सस्तो सामग्रीलाई स्वादिलो बनाएर महँगोमा बेच्न व्यापारीलाई सम्भव हुन्छ । बढी नुन हाल्दा मासुको वजन २० प्रतिशत जतिले बढ्ने भएकाले यसबाट उत्पादकलाई अतिरिक्त फाइदा हुन्छ । बढी नुन खाँदा तिर्खा लाग्छ । स्न्याक र प्रोसेस्ड खाना उत्पादन गर्ने कम्पनीहरूले नै सफ्ट ड्रिंक र पानी उत्पादन गर्ने भएकाले खानामा बढी नुन हाल्दा उनीहरूलाई दोहोरो फाइदा मिल्छ । सबैभन्दा महत्त्वपूर्ण कुराचाहिँ समयक्रममा फेरिएको हाम्रो जिब्रो हो । नुनिलो चीज खान अभ्यस्त भएका हामी कम नुन हालिएको खाना रुचाउँदैनौं । यसले विक्रेताहरूलाई हाइसन्चो भएको छ । डायमन्डले उल्लेख गरेका यस्ता विवरण तीव्र सहरीकरण बेहोरिरहेको नेपाली समाजमा पनि उत्तिकै सान्दर्भिक छ ।

सहरीकरण र नुनको सहज उपलब्धताका कारण नुनको खपत निरन्तर बढ्दै जानु जनस्वास्थ्यका हिसाबले चिन्ताको विषय हो । नुनको बढ्दो खपतका कारण संसारभरिका सहरवासीहरू दीर्घरोगको सिकार बन्ने क्रम बढ्दो छ । सहरका मानिसहरूको मृत्यु हुने कारणमध्ये नुनको बढ्दो खपतसँग जोडिएका उच्च रक्तचाप, मधुमेहलगायत दीर्घरोग प्रमुख छन् । त्यसैले चिकित्सा विज्ञानदेखि समाज विज्ञानसम्मले यसबारे चासो देखाउन आवश्यक छ ।

चिकित्सा विज्ञानले यसबारे केही महत्त्वपूर्ण अनुसन्धान गरेको छ । नेपाल हेल्थ रिसर्च काउन्सिलले छापेको एउटा अनुसन्धानमूलक सामग्रीका अनुसार, विश्व स्वास्थ्य संगठनले प्रतिदिन पाँच ग्राम अथवा त्योभन्दा कम नुन खान सिफारिस गरेकामा नेपालीहरूले त्यसको दोब्बरभन्दा बेसी अर्थात् १०–१३ ग्राम नुन खाइरहेका छन् । त्यस्तै हाइपरटेन्सनका तीन चौथाइ बिरामीलाई डाक्टरहरूले नुन खपत घटाउन सुझाव दिने गरेका छन् । यसले नेपालमा नुन खपत भयावह किसिमले बढेको देखाएको छ ।

नुनको सहज उपलब्धतासँगै निरन्तर उकालो लाग्दै गएको नुन खपतले जनस्वास्थ्यमा गम्भीर असर गरिरहेकाले खाद्य संस्कारमा आमूल परिवर्तन ल्याएर मात्र दीर्घरोगको फैलावट रोक्न सकिन्छ । खाद्य संस्कार बदल्न नुनिलो खाना मात्रै स्वादिलो हुन्छ भन्ने चिन्तन त्याग्ने, नुन प्रशस्तै हालेर तयार गरिने गालेको अचार नियमित नखाने, सलाद र फलफूलको जुसमा वीरेनुन नछर्किने, खानामा नुनको मात्रा घटाउँदै लैजाने, ‘जंक फुड’ र ‘फास्ट फुड’ को खपत कम गर्ने चालचलन बसाउन आवश्यक छ । यस्तो संस्कार संस्थागत गर्न जनस्वास्थ्यसम्बन्धी काम गरिरहेका सरकारी र गैरसरकारी निकायले स्वास्थ्य विज्ञानका विज्ञहरूसँगै समाज विज्ञानका विज्ञहरूसँग पनि हातेमालो गर्न आवश्यक छ ।

प्रकाशित : भाद्र १३, २०७७ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्

लायकुको अन्तिम पर्खाल ! 

दरबार होस् या ढुंगेधारा– त्यस्ता भौतिकी आफ्नो समयका ध्वनि र रङसहित अस्तित्वमा रहन्छन् । खण्डहर नै भए पनि यस्ता अवशेषलाई इतिहासको कसीमा घोटेर हेर्दा तत्कालीन समाजको मोटामोटी स्वरूप नियाल्न सकिन्छ । बनेपा र त्यसवरपरका सामाजिक, सांस्कृतिक र ऐतिहासिक अध्ययन गर्ने एउटा गतिलो आधार हुन सक्छ– लायकु दरबार ।
दीपक सापकोटा

काठमाडौँ — ‘अरनिकोले बनेपाको लायकुमा बनाएको नौतले दरबारकै नमुनामा चीनमा पनि एउटा दरबार बनाएका थिए ।’ किंवदन्ती बनेको बनेपाको लायकु, दन्त्यकथाजस्तै बनेका अरनिको ! अनि तिनै अरनिकोले लायकुको नमुनामा चीनमा पनि दरबार बनाएको मिथक–कथा !

म राति निदाउनुअघि जब सिरानीमा टाउको अड्याएर आँखा चिम्लन्थेँ, मेरो कल्पनामा जुँघाको रेखी बस्न थालेको १७ वर्षे कलाकार अरनिको र उसको पछिपछि लागेर हिमालपारिको विस्तीर्ण पठारमा हिँडिरहेका ७९ जना कालीगढहरूको लर्को देखा पर्न थाल्थ्यो । सपनामा पनि ती कलाकारलाई म बेइजिङको विश्वप्रसिद्ध श्वेतप्यागोडा बनाउन आफ्ना कुशल हात चलाइरहेको देख्थेँ । त्यो श्वेतप्यागोडा बनेपाको लायकु दरबारको नमुनामा बनेको थियो कि यो अप्रमाणित किंवदन्ती मात्र हो, त्यो भने अहिलेसम्म पनि अनिर्णीत नै छ ।

म एक महिनादेखि काभ्रेको व्यापारिक केन्द्र र पुरानो बजार बनेपाको आफ्नो घरमा बसेर लकडाउनको फुर्सदिलो समय कटाउने प्रयत्न गरिरहेको छु । र, यो लामो घरबन्दीले मलाई बनेपाकै लामो इतिहासमा घोत्लिन प्रेरित गरिरहेको छ । लायकु दरबारको कथामा वर्णन गरिएका अरनिको हजुरआमाले सुनाएका दन्त्यकथाका राजकुमारजस्तै हुन्थे । स्कुलमा मैले पढ्ने एउटा पुस्तकको ‘राष्ट्रिय विभूति’ शीर्षकको परिच्छेदमा अरनिकोमाथि लेखिएको थियो । स्कुल पढ्दा शिक्षकले अनौपचारिक कक्षामा ‘अनुश्रुतिअनुसार’ भन्दै सुनाएको लायकु दरबारको कथा पनि मेरो स्मृतिको भण्डारबाट बाहिर निस्केको छ र त्यसले मलाई सदियौं पहिलेको विशाल फलकमा पुर्‍याएर छोडिदिएको छ ।

सरले सुनाउनुभएको थियो, ‘हाम्रा कलाकार अरनिकोले चीनमा गएर बनेपाको नौतले दरबारकै नमुनामा त्यहाँ पनि एउटा भव्य दरबार बनाएका थिए ।’ (यहाँ स्मरणीय के छ भने नेपालभाषामा लायकु शब्दको अर्थ दरबार हो तर बनेपाको लायकुलाई नेपालभाषा र नेपाली दुवै नाम एकैसाथ राखेर सम्बोधन गर्ने चलन छ अर्थात् लायकु दरबार) ।

लायकु दरबारको विषयमा धेरै खोजबिन भएको छैन, लेखिएको पनि त्यति धेरै छैन । बनेपा क्षेत्रकै दुई विद्वान् केदारनाथ प्रधान र ज्ञानकाजी मानन्धरले आ–आफ्ना किताबमा लायकुका विषयमा केही खोजबिन भने गरेका छन् ।

इतिहासकार ज्ञानकाजी मानन्धरको किताब ‘बनेपा सातगाउँ’ मा यसरी अर्थ्याइएको छ, ‘लायकु भनेको राजकुल अथवा लालकुल हो । लालकुलबाट लायकु शब्दको व्युत्पत्ति भएको हो । लायकु शब्द मल्लशासनको मध्यकालदेखि चल्दै आएको पाइन्छ (पृष्ठ ६२) ।’

इतिहासकार महेशराज पन्तका अनुसार, संस्कृतको ‘राजकुल’ बाट अपभ्रंश भएर लायकु शब्द निर्माण भयो । राजकुलको अर्थ ‘राजाको दरबार’ हुन्छ ।

आज बनेपाली इतिहासकार प्राध्यापक केदारनाथ प्रधानका ‘नवीन दृष्टिमा नेपालको प्राचीन इतिहास’ (२०५४) र ‘बनेपाको ऐतिहासिक रूपरेखा’ (२०५६) पुस्तकले मेरो लकडाउन–बेलालाई प्राचीन कलाकर्मी र वास्तुकलाको परिवेशमा लगिदिए । संस्कृति–अध्येता सत्यमोहन जोशीको ‘कलाकार अरनिको’ (२०४४) शीर्षकको पुस्तकले अरनिकोले चीनमा बनाएको दरबारबारे भन्छ, बनेपाको लायकु दरबारमाथि स्पष्ट पार्दैन । तर, प्राध्यापक प्रधानले आफ्नो किताब ‘बनेपाको ऐतिहासिक रूपरेखा’ मा बनेपा र अरनिकोसम्बन्धी त्यो सन्दर्भलाई ‘अनुश्रुति’ भनी लेखेका छन् । उनी लेख्छन्, ‘यहाँ सुनिने एउटा अनुश्रुतिअनुसार अरनिकोले बनेपाको नौतले दरबारको नमुना चीनमा बनाएका थिए । तर, यहाँको दरबारको नमुना बनाइएको हो वा होइन भन्नेबारे थाहा पाइएको छैन (पृष्ठ ६३) ।’ तर, ज्ञानकाजी मानन्धर भन्छन्, ‘मैले यस्तो अनुश्रुति सुनेको छैन । यो श्रुतिलाई पुष्टि गर्ने प्रमाण पनि छैन ।’

अरनिको (विसं १३००–१३६३, अरनिकोको जन्ममिति किताबहरूमा फरक–फरक लेखिएको छ । यो मिति सत्यमोहन जोशीको किताब ‘कलाकार अरनिको’ अनुसार लेखिएको हो) ले चीनमा पुगेर बनाएका चिनियाँ सम्राट् ‘कुब्ला खाँ’ को पोर्ट्रेटलगायत अरू थुप्रै कलाकृतिका बारेमा विस्तृत वर्णन भेटिन्छ । तर, अरनिकोले बनेपाको प्राचीन ‘९ तल्ले लायकु दरबार’ को दुरुस्त नमुनाका रूपमा चीनमा कुनै संरचना बनाएका थिए भन्ने जुन जनश्रुति हाम्रो समाजमा युगौँदेखि चल्दै आएको छ, यसलाई ‘ओरल हिस्ट्री’ अन्तर्गत अब अभिलेखित गर्नु आवश्यक देखिन्छ ।

इतिहासकार प्रधानको निचोडसँग लायकु दरबारमाथिको मेरो कल्पना केही हदसम्म मिल्छ । प्रधानले लेखेका छन्, ‘लायकु दरबारको बीच भागमा हात्ती बाँध्ने मौलो, पश्चिमतिर स्नान गर्ने पोखरी, पश्चिम–दक्षिण कोणमा दुमाजुदेवीको मन्दिर, दक्षिणमा तल बगैंचा र पोखरी, माथि आवास, पूर्वी भागमा देवी–देवता रहने पूजाखण्ड, पूर्वी–दक्षिण कोणमा नृत्यघर र उत्तरमा प्रशासनिक खण्ड थिए । विसं २००७ मा प्रजातन्त्रको उदयपछि खेलकुद मैदान बनाउँदा दुमाजु मन्दिर र मौलो पुरिएका थिए ।’

प्रधानजस्तै लायकु दरबारमाथि ज्ञानकाजी मानन्धर लेख्छन्, ‘सुरक्षाका लागि ठूलो ढुंगाको पर्खालले घेरेर आठ दिशामा आठ पोखरी, आठ प्रवेशद्वार, आठ पाटी र आठ गणेशको स्थापना गरेर कलिगत वर्ष ४१९७ मा राजा आनन्ददेवले निर्माण गरेको बनेपाको पश्चिमी ढोका पर्ने पर्खालभित्र लायकु दरबारको क्षेत्र छ । पहिले यहाँ सातवटा चोक थिए भन्ने बनेपाका बूढापाकाहरूको भनाइ छ (बनेपा सातगाउँ पृष्ठ ६३) ।’

अरनिकोसँग जोडिएको त्यो जनश्रुति मात्रै थियो कि इतिहासको यथार्थ–कथाकै पुनर्लेखन ? तर, श्रुतिअनुसार नै किन नहोस्, बनेपाको लायकु दरबारसँग अरनिकोको केही सम्बन्ध देखिन्छ ।

ज्ञानकाजी मानन्धरले बनेपाको लायकु दरबार ‘कलिगत वर्ष ४१९७ मा राजा आनन्ददेवले निर्माण गरेको’ लेखेका छन् । यस कलिगत संवत्लाई विक्रम संवत्मा परिवर्तन गर्दा त्यो विसं ११५३ हुन्छ (इतिहासकार महेशराज पन्तको सहयोगमा परिर्वतन गरिएको । पन्तका अनुसार, कलिगत संवत् र विक्रम संवत्मा ३०४४ वर्षको फरक हुन्छ ।) अरनिको र राजा आनन्ददेवको समय एउटै हो त ? आनन्ददेव (विसं १२०३–१२२४ शासनकाल) अरनिको (विसं १३००–१३६३) भन्दा झन्डै १०० वर्षअघि राजा भएका हुन् । (पछिल्ला कालका वंशावलीका आधारमा दिइएको आनन्ददेवको शासन–समय तात्कालिक प्रमाणद्वारा पुष्टि हुँदैन ।)

यस हिसाबले ‘आनन्ददेवले निर्माण गरेको’ बनेपाको लायकु अरनिकोले हेर्न पाएको हुन सक्ने सम्भावनाचाहिँ छ । तर, त्यसैको नमुनामा अरनिकोले चीनमा चैत्य बनाए कि बनाएनन् भन्ने कुरा यकिनका साथ भन्न सकिन्न । जे होस् श्रुतिपरम्पराका कथामा ऐतिहासिक आधार हुनसक्छ । यो थप अनुसन्धानको विषय हो ।

अरनिको जन्मिँदा काठमान्डु उपत्यकामा अभय मल्ल (वि.सं. १२७३–१३१२ शासनकाल) राजा थिए । अरनिको चीन जाँदा भने उपत्यकामा भीमदेव (विसं १३१५–१३२७ शासनकाल) राजा थिए । इतिहासअनुसार, ‘चीनको साक्या गुम्बाका संघनायक पाहसपाले चिनियाँ सम्राट् कुब्ला खाँको आदेशअनुसार नेपालबाट नाम चलेका, विभिन्न सीपमा पोख्त वास्तुविद् र शिल्पकार चीन पठाइदिनू भन्ने निमन्त्रणा विसं १३१७ मा नेपालमा पठाए । त्यसपछि अरनिकोको मातहतमा ७९ जनाको टोली चीनतर्फ गयो (जोशी, पृष्ठ ७) ।’ विसं १३३१ मा चीनमा अरनिको मुख्य हाकिम भएर काम गरिरहँदा अनन्त मल्ल (१३३१–१३६४ शासनकाल) काठमान्डु उपत्यकाका राजा थिए । इतिहासकार पन्तका अनुसार, त्यस बेला काठमान्डु उपत्यकामा देव र मल्ल थरका राजाहरूले पालैपालो राज्य सञ्चालन गर्थे । देव (लिच्छवि राजाकै सन्तान) हरूको रैथाने घर बनेपा थियो, मल्लहरूको रैथाने घर भक्तपुर थियो । मल्ल र देवबीच पालैपालो राजा हुने नियम बनाइएको थियो । (यहाँ उल्लेख भएका ऐतिहासिक तथ्य र तिथि–मितिका विषयमा विद्वान् महेशराज पन्तको सहयोग लिइएको छ ।)

०००

स्कुल पढ्दाताका लायकुबारे शिक्षकले सुनाएका कुरा र लेखकद्वय प्रधान तथा मानन्धरले आ–आफ्ना पुस्तकमा गरेका लायकु–वर्णनले केही अभिभूत र केही अन्योलग्रस्त भएको म अहिलेसम्म सोही स्थितिमा छु । अहिले विद्यार्थीहरू ‘हु’ गर्दै कराते सिकिरहने, अनेक सांस्कृतिक, राजनीतिक कार्यक्रम भइरहने त्यो आँगनमा पहिले कस्तो दरबार थियो त ? मेरो कल्पनामा टेलिभिजनको श्यामश्वेत सिसाभित्र देखाइने गरेका हिन्दी टेलिशृंखला ‘महाभारत’ र ‘चन्द्रकान्ता’ का लागि बनाइएका दरबारहरूको चित्र आउँथ्यो । मेरो कल्पनाको क्यानभासमा मैले टेलिभिजनमा देखेको चित्रजस्तै थियो लायकु दरबार ।

करिब १० किलोमिटर पर पर्ने कुशादेवीबाट परिवारै बसाइँ सरेर आएको मसँग बनेपा सहरसँग जोडिएका अनगिन्ती सम्झना छन् । यहाँ चल्ने मोटर, चर्को स्वरमा कराउँदै बेतोड दौडिने आरएक्स बाइक देखेर सुरुसुरुमा त आत्तिएँ पनि । झमझम पानी परेको, चर्को घाम लागेको, कुहिरो लागेका दिनका सम्झना मस्तिष्कमा ओहोरदोहोर गरिरहन्छन् बेलाबेला । मोटरको चर्को स्वर यहाँ पहिले सुनिन्नथ्यो पक्कै, आरएक्स मोटरबाइक पनि यहाँ सधैँ दौडिँदैनन् । घाम र कुहिरो त युगौंदेखि छ । समयका अनेक रूपलाई लायकु दरबारको यस मैदानले साक्षात्कार गरेको छ । मलाई भने लायकु दरबारको इतिहासमा पस्नुअघि त्यही दरबार परिसरमा कुनै बेला सञ्चालित एउटा पुस्तकालयको याद टड्कारोसँग आउँछ ।

०००

कुहिरो लागेको दशकअघिको कुनै दिन होला, म लायकु दरबारअघिल्तिर भएर एउटा अन्तर्वार्ताका लागि गइरहेको थिएँ (दक्षुटोलस्थित गोपालदास वादे श्रेष्ठ, नेपाली कांग्रेस पार्टीका पुराना नेताको घरतिर) । लायकु दरबारभित्रको पश्चिम दक्षुढोका (नाला जाने मूल बाटोतिर) मा एउटा जीर्ण इमारत (पक्की घर) उभिइरहेको थियो । त्यो घरको माकुराको जालोमा लपेटिएको बन्द घडी भित्तामै टाँस्सिएको थियो । र, आफ्नै धुनमा मग्न परेवाले चुच्चोमा च्यापिल्याएका परालका लामा–छोटा टुक्रा बन्द घडीमाथि थुपारिरहेका थिए । त्यो दृश्यले मलाई समयको नदीमा तैरिरहेको आफ्नै विगततिर पुर्‍याउँछ ।

लायकु दरबारको ढोकैमा एउटा मान्छे उभिएको थियो । त्यसको नजिक पुग्दा सडकमै समय बिताउने मान्छेको शरीरबाट आउने कडा गन्ध महसुस भयो । दरबार अघिल्तिरको सानो पसलमा भर्खरै उसले एउटा याक चुरोट किनेको थियो । त्यो मान्छेले एकदम मैलो, टाँकले धर्म छोडिसकेको सेतो सर्ट (सर्ट यति मैलो थियो कि त्यो रङ सेतो होला भन्ने अनुमान मात्र हो) र थोत्रो प्यान्ट लगाएको थियो । गोडामा फाटेको चप्पल थियो । मैला औंलाले मुलायम तरिकाले उसले ‘याक’ च्यापेको थियो । धेरै दिनदेखि ननिदाएजस्ता आँखाले उसले मलाई हेर्‍यो, चिन्ने प्रयास पो गर्‍यो कि ? उसको र मेरो त्यो पहिलो र अप्रिय भेट भएको समयदेखि अहिलेसम्म मेरो जीउडालमा यति धेरै परिवर्तन आएको थियो, उसले मलाई चिन्न नसक्ने कुरामा म ढुक्क थिएँ । तर, त्यस अनुहारसँग वर्षौं पहिलेको जुन नराम्रो याद मेरो मानसमा गुजुल्टिएर रहेको छ, त्यसलाई भने म बिर्सिन सक्दैनथेँ ।

०००

लायकु दरबारको त्यही भग्न घरमा त्यस क्षेत्रकै अग्रणी शिक्षक तथा बनेपाका मेयर रामभक्त कोख श्रेष्ठको पहलमा खोलिएको एउटा सानो पुस्तकालय थियो । मैले जीवनमा पहिलोपटक देखेको पुस्तकालय त्यही हो । विक्रमको २०५० सालतिर खुलेको त्यस पुस्तकालयको नाम थियो– बनेपा पुस्तकालय ।

म पहिलोपटक २०५३ सालमा गएको त्यो पुस्तकालय थियो– बडो अव्यवस्थित र फोहोर पनि । नमिलाई राखिएका किताब भुइँभरि छरिएका, च्यात्तिएका किताबका पाना, नैनसुतमा पोको पारिएका पत्रपत्रिकाजस्ता लाग्ने कागज किताब राखिने र्‍याकमाथि थुपारिएका थिए ।

बनेपा पुरानो बजारका ‘यसो किताब हेरौं न त’ भनेर वा ‘पढौं न’ भनेर वा ‘घुमौं न’ भनेर वा ‘कसले के गर्छ वा पढ्छ’ चियो गर्ने भनेर साना–पाका सबै उमेरका मानिसहरू त्यहाँ आइपुग्दथे । स्कुल छुट्टीपछि वा शनिबार म पनि पुस्तकालय पुग्थेँ, कहिले साथीसँग त कहिले एक्लै । मैले त्यही पुस्तकालयमा भुइँमा फालिएको, पाना च्यातिएको थोत्रो अवस्थामा पहिलोपटक देखेको हुँ– महाकवि देवकोटाको ‘मुनामदन’ र माधव घिमिरको ‘गौरी’ । साथै त्यहीँ पहिलोपटक पढेको हुँ ‘हेन्सल एन्ड ग्रेटल’ को चित्रकथा । हेन्सल र ग्रेटलको कथा मलाई कति धेरै रोचक लागेको थियो भने म त्यसकै यादमा त्यहाँ बारम्बार जान थालेको थिएँ । त्यस दिन पनि म भाइ शैलेन्द्रसँग पुस्तकालय पुगेको थिएँ ।

हान्स क्रिस्चियन एन्डरसनको कुनै परिकथाको पानामा निमग्न भएर अल्झिरहेको थिएँ, कसैको निकै कडा मुड्की मेरो कलिलो टाउकोमा बज्रियो । टाउकोमा टुटुल्को उठ्ने गरी हानिएको त्यस ‘खौं’ ले मलाई पूरै रन्थन्याएर छोडिदिएको थियो । म डरले अत्तालिएको थिएँ र हातको परिकथा भुइँमै हुत्याएर म त्यस मानिसको टाङमुनिबाट भाग्न खोजिरहेको थिएँ तर म भाग्न सकेको थिइँन । उसले मलाई उचालेको थियो, गालामा थप्पड हानेको थियो र भुइँमा पछारिदिएको थियो । म डाँको छोडेर रुन थालेपछि ऊ एक शब्द पनि नबोली पुस्तकालयबाट बाहिरिएको थियो । शारीरिक र मानसिक पीडाले थङ्थिलो भएको म पनि एक छिनपछि संज्ञाशून्यझैँ त्यहाँबाट निस्किएको थिएँ । अनाहकमा पिटाइ खाएको मैले आइन्दा त्यस पुस्तकालयमा कहिल्यै नजाने निर्णय गरेको थिएँ ।

०००

वर्षौंपछि कुहिरोको बाक्लो पर्दाबाट चिहाउन खोजिरहेको बनेपा पुस्तकालयभन्दा बाहिरपट्टि मैला औंलाले ‘याक’ चुरोट च्यापेर उभिएको त्यस मानिसलाई अचानक देख्दा म एकपटक त झसंग भएँ । तर, तुरुन्तै म सहज भएँ र उसलाई ध्यानपूर्वक हेरेँ ।

त्यो मानिससँग मलाई सोध्न मन थियो– त्यो दिन तपाईंले मेरो टाउकोमा खौं किन हान्नुभएको थियो ? त्यस दिन आफूले जोडले खौं हानेको त्यो केटोलाई के उसले सम्झेला ?

मचाहिँ अहिले पनि त्यो अधबैंसे मानिसलाई आफ्ना मसिना औँलामा धुँवाइरहेको चुरोट मुलायम तरिकाले च्यापिरहेको देख्छु बेलाबेला । उसको खौं याद आएपछि शरीरमा पीडाजस्तो केही हुन्छ ।

मलाई मेरो बाल्यकालभरि त्रस्त बनाएको उसको अनुहार अहिले भने एकदम नै मामुली, कताकता टीठलाग्दो लाग्न थाल्यो । कुनै बेला मान्छेको टाउको खोजीखोजी खौं हान्न सक्ने बलियो मानिस अहिले कमजोर र निरीह बनेको छ । समय रहेछ बलियो । समय बलियो रहेछ पनि कसरी भन्नु र ? समय त एक कल्पित मापन मात्रै हो । बरु आयु हुँदो रहेछ समयको भनौं— मान्छे जन्मन्छ, तारुण्यमा बयली खेल्छ र प्रायः मक्किएको बूढो हाँगाबाट खस्छ । समय वा मानिस जन्मन्छन्, सामर्थ्यको त्रिकालमा विभाजित भएर अन्तिममा मर्छन् । कुनै बेलाको बलियो, सुन्दर र बडो रवाफका साथ उभिएको लायकु दरबार पनि त अहिलेको त्यो निरीह खौं–मानिसजस्तै अति दुःखी र निरीह छ । हिजो नजन्मेका मोटरका आवाज, बाइकको दौड आज मस्त जवानीमा छन्, ती पनि कुनै दिन मर्छन् । अनायासै नै मेरो ओठमा सायद बाङ्गो मुस्कानको एउटा धर्सो कोरियो ।

०००

देशभरि लकडाउनको स्थिति कस्तो छ ? भारतसँग जोडिएका सीमा–नाकाहरूमा रोकिएका नेपाली नागरिकहरूले किन दुःख पाइरहेका छन् ? संसारभरि संक्रमितहरूको कुल संख्या कति भयो ? सरकार सम्भावित संकटसँग जुध्न सक्षम छ ? टेलिभिजन च्यानलहरूले यस्तै–यस्तै विषयमा समाचार र विचार सम्प्रेषण गरिरहेका छन् । सामाजिक सञ्जालहरूमा कोरोनाविद्हरूको ‘बिगबिगी’ चलिरहेकै छ । म भने अनुहारमा मास्क र हातमा स्यानिटाइजर लगाएर उही पुरानो प्रिय पुस्तकालयतिर जान भनी निस्किएँ । लायकु पुग्दा थाहा भयो, पहिले पुस्तकालय भएको त्यो भवनमा अहिले व्यायामशाला खुलेको रहेछ । अब त्यहाँ पुस्तक, पत्रपत्रिकाको सट्टा गठिलो ज्यान बनाउने सरजाम थुपारिएका थिए ।

०००

साँघुरिँदै गएको बनेपामा साना केटाकेटी खेल्ने, अधबैंसे र उमेर पाकेका मानिसले योग–ध्यान गर्ने अलि चाक्लो, फराकिलो जमिन कहीँ देख्न पाइन्छ भने त्यो लायकु दरबारको परिसरमा हो । बनेपा प्राधिकरण चोकैनेर यसको ठूलै कम्पाउन्ड छ । त्यो घेराभित्रको पुरानो लामो भवनमा क्योकुसिन कराते–डो, योग केन्द्रजस्ता केही संस्था छन् । कुनै बेला त्यहाँ घरेलु शिल्पकला कारखाना हुने गर्थ्यो, जहाँ महिला बुनकरहरूले कपडा बुनिरहेको देख्न सकिन्थ्यो । अहिले त्यो कपडा कारखाना पनि बन्द भइसकेको छ ।

अचेल लायकु दरबार पनि त कहाँ छ र ? दरबारको चिह्नस्वरूप पुरानो इँटाको गारोको अवशेष छ । दरबारको चौघेराभित्रको चौरको छतको रूपमा फलामको ठूलै ट्रस बनेको छ । सरकारी स्कुलको ४ तले भवन पनि यही कम्पाउन्डभित्र छ । लायकुको यो कम्पाउन्डभित्र घाँस उम्रिएको, लेउ लागेको पुरानो संरचना छ दरबारको, इतिहास बोकेर बाँचिरहेको । त्यस संरचनाको बनोट, विन्यासले भनिरहेका छन्– यही हो मध्यकालको बनेपामा शासन गर्ने राजा रण मल्ल र उनका अग्रज अनि पछिल्लो पुस्ताको दरबार । ‘लिच्छविकाल, पूर्व मध्यकाल, उत्तर मध्यकाल, राणाकाल, सात सालको प्रजातन्त्र, पञ्चायत, छयालीस सालको प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र सबै देखे–भोगेको छ, लायकु दरबारको यो भग्नावशेषले’, बनेपाकै लेखक मोहन दुवाल भन्छन् ।

०००

बनेपामा पाइएका शिवदेव र अंशुवर्माको (अहिले संवत् फुटिसकेको) अभिलेखले यो क्षेत्र लिच्छविहरूको शासन–सीमाकै सहर थियो भन्ने बुझिन्छ । ‘बनेपा सहरको बीचमा सानो देवमन्दिरसँगै यस कुराको अभिलेख कुँदिएको ढुंगा छ । बनेपाको यस बस्तीको चाँगुनारायणसँग कुनै सम्बन्ध रहेको देखिन्छ (लिच्छविकालका अभिलेख, धनवज्र वज्राचार्य, पृष्ठ २४०) ।’

इतिहासकार प्रधानले लेखेका छन्, ‘भक्तपुरका राजा यक्ष मल्ल (विसं १४८५–१५३८ शासनकाल) को मृत्युपछि विसं १५३९ मा काठमान्डुजस्तै बनेपा पनि स्वतन्त्र राज्य बन्यो । र, यक्ष मल्लका साहिँला छोरा रण मल्ल स्वतन्त्र बनेपाका प्रथम राजा बने । रण मल्लको मृत्युपछि भक्तपुरका शासक सुवर्ण मल्लले बनेपालाई भक्तपुर राज्यमा गाभे । भक्तपुरका शासक रणजित मल्लको समयमा पनि बनेपाको महत्त्व उच्च थियो । गोरखाका राजा पृथ्वीनारायण शाहले काठमान्डु उपत्यका जितिसकेपछि आफ्ना मीतबा भक्तपुरका राजा रणजित मल्ललाई बनेपाको ‘जागिर’ खाएर बस्न अनुरोध गरेका थिए । तर, रणजितको स्वाभिमानले त्यो अनुरोध स्वीकार गर्न दिएन । उनी पृथ्वीनारायणसँग अनुमति लिई काशीवास गर्न गए ।’

‘काठमान्डु उपत्यका तलाउका रूपमा छँदा बनेपा एक सानो राज्यका रूपमा थियो । बौद्ध आख्यानको थ्यासफूमा बनेपालाई धर्मपुर भनी उल्लेख गरिएको छ । धर्मपुरका राजा धनी थिए । राजा बस्ने भएकाले यहाँ राजदरबार अवश्य थियो । जयभीमदेव आदि प्राचीन मल्लकालका एकथरी राजवंशको मूल घर बनेपा थियो । उक्त राजवंश नेपालको इतिहासमा भ्वन्त अर्थात् बनेपाली भनी प्रसिद्ध थियो । लायकु दरबार मल्ल राजाहरूको ऐतिहासिक थलो हो (बनेपा सातगाउँ, मानन्धर, पृष्ठ ६१) ।’

इतिहास केलाउँदा बनेपामा जति शासक आए, तिनीहरूले लायकु दरबारबाटै शासन गरेका थिए भन्ने स्पष्ट हुन्छ । ‘भोंत’, ‘भोन्त’, ‘भ्वन्त’, ‘भोतदेश’, ‘बनियापुरी’, ‘बीलयापुरी’, ‘बनिकापुर’, ‘बन्दिकापुर’, ‘बणिकापुर’, ‘बणिकापुर महानगर’, ‘बनेपुर’, ‘बनिपा, ‘पनिपा’, ‘बनेपाग्राम’, ‘बनेपा’, ‘भुजुङ’ आदि अनेकौं नामले यस नगरलाई सम्बोधन गरिँदै आएको छ । आधुनिक कालमा नेपालमा आएका अंग्रेज सैनिक मिसनका कर्कपेट्रिकले बनेपुर, बनिपा वा पनिका भनी अशुद्ध उच्चारण गरेका थिए (प्रधान, पृष्ठ ४१) । जसरी उच्चारण गरिए पनि माथि उल्लिखित सबै शब्दले बनेपालाई नै जनाउँछन् ।

‘नेवारी भाषामा ‘बने’ शब्दले ‘व्यापार’ र ‘पा’ शब्दले ‘देश’ वा ‘बस्ती’ भन्ने बुझाउँछ । काठमान्डु उपत्यकाबाहिरका साँगा, नाला, धुलिखेल, चौकोट, खड्पु र पनौतीजस्ता सहरको बीचमा पूर्वी भेगको व्यापार–केन्द्र हुनाले यस सहरको नाम बनेपा रह्यो (स्थाननामकोश, कृष्णप्रकाश श्रेष्ठ, पृष्ठ २६४) ।’ कलिगत वर्ष ४१९७ मा राजा आनन्ददेवले काभ्रे जिल्लामा छरिएर रहेका स–साना ७ सहर (बनेपा, पनौती, नाला, धुलिखेल, खड्पु, चौकोट र साँगा) मिसाएर एउटै राज्य बनाएका थिए भनी ‘बनेपा सातगाउँ’ किताबमा उल्लेख छ (ज्ञानकाजी मानन्धर, पृष्ठ १) ।

लायकु दरबारबाट बनेपाको मध्यकाल चियाउन खोज्दा हाम्रासामु ‘भोन्तश्री’ आइपुग्छन् । गोपालराज वंशावलीमा ‘भोन्तश्री’ भनी उल्लेख गरिएको छ । ‘भो देश’ नामको प्रयोग सर्वप्रथम वि.सं. १८३६ मा भएको पाइएको छ । मध्यकालमा देखिएको ‘वणिकापुरी’ नामको उल्लेख विसं १४९१ को बनेपा दक्षुटोलको ढुंगेधाराको सूर्यमूर्ति अभिलेखमा छ (प्रधान, पृष्ठ ४३) ।

प्रधान लेख्छन्, ‘भोन्तश्री राजकुलको मूलघर नै बनेपा भएकाले यता उनीहरूको दरबार थियो ।’ उनका अनुसार, धेरै पुरानो दरबार हो– लायकु, जहाँ भोन्तश्री राजकुलको निवास थियो र यहाँबाटै प्रशासनिक कार्य हुन्थ्यो । यो दरबारलाई वसन्तपुर दरबार पनि भनिन्थ्यो । ‘लायकु दरबार पूर्वमा दक्षुटोल पुलबाटोको कलधारादेखि दक्षिणको बाटो, पश्चिममा दक्षु ढोका, उत्तरमा बजारको मूल बाटो र दक्षिणमा कोलाँ टोलको मूलबाटोसम्म विस्तारित थियो (प्रधान, पृष्ठ ६२) ।’

आफ्नो पुस्तक ‘बनेपाको ऐतिहासिक रूपरेखा’ तयार गर्ने सिलसिलामा प्राध्यापक प्रधानले २०३४ सालमा अन्तर्वार्ता गरेका बनेपाका ८५–९३ वर्षका बूढापाकाहरू (गणेशदास प्रधान, विकुलाल कर्माचार्य र मोहनलालखिङ मानन्धर) ले उनलाई नौतल्ले त्यो लायकु दरबारको एक तलाको अवशेष आफैंले देखेको र तीन तल्लासम्मको अवशेषबारे देख्नेहरूबाट सुनेको बताएका थिए । अन्तर्वार्ताको यो प्रसंगबारे उनले किताबमा पनि उल्लेख गरेका छन् ।

०००

हाल पुरानो दरबारको झल्को दिने कलात्मक महादेव, गणेश र कलशको बुट्टा भएको ढोकाबाट भित्र प्रवेश गरेपछि पूर्वपट्टि देखिन्छ– सेतो रङले पोतिएको लायकु राजमञ्च । दक्षिण–पूर्वी कोणमा २०१८ सालमा निर्माण भएको शिक्षा सदन माध्यमिक विद्यालयको भवन छ । दक्षिणपट्टि छ– लायकु योग केन्द्र र नेपाल जुडोको कार्यालय । पुरानो दरबारका गारो र इँटाको भग्नावशेष भने अहिले पनि देख्न पाइन्छ ।

‘मैले देख्दा एक तलाको लायकु दरबार ढल्ला–ढल्लाझैं गरी उभिएको थियो । ०२२ सालतिर त्यही दरबार प्रांगणमा थियो– पुलिस चौकी । घरेलु शिल्पकलाको कारखाना पनि दरबारभित्रै थियो । पछि शिल्पकला बिक्री भण्डारले यही प्रांगणमा नयाँ भवन बनाएर काम गर्न थाल्यो,’ मोहन दुवाल सम्झन्छन् । लायकु दरबार ९० सालको भुइँचालोबाट भत्केको अनुमान दुवालको छ । अहिले दरबारको अवशेषको रूपमा मजबुत पुरानो गारो यथावत् छ, शिक्षा सदन स्कुललाई घेरेर बसेको । ‘शिक्षा सदन माविको भवनसँगै पहिले नै घरेलु शिल्पकला बिक्री भण्डारले दक्षिणपट्टि नयाँ भवन बनाएर दरबारको चारैतिर किल्लाहरू बनाइएको थियो र उत्तरमा पूर्ण किल्ला (क्वाथः) थियो (प्रधान, पृष्ठ ६३) ।’

पुराना कांग्रेस नेता गोपालदास वादे श्रेष्ठको मस्तिष्कमा पनि मोहन दुवालले देखेजस्तै दरबारको अस्तित्व छ, एक तलाको जीर्ण लायकु दरबार । ‘पछि संरक्षण नभएर त्यो त्यत्तिकै ढल्यो,’ गोपालदास भन्छन् ।

०००

मेरो सहरले आफ्नो अनुहार फेरेको छ । प्रधानले किताबमा उल्लेख गरेको बनेपा स्वधाटोलको ‘मयजु फः दरबार’ र वकुटोलको ‘पुतली दरबार’ अहिले मिथका रूपमा मात्रै बाँकी छन् । स्वधाटोलमा अझै खेत खन्दा पुराना भवनका ठूला जग देखिन्छन् भन्ने किस्सा बाँकी नै छ । पूर्वमा पोखरी, पश्चिममा ढलँ छेँ, उत्तरमा काँथुगणेशको पोखरी र दक्षिणमा मूल बाटोसम्म पुतली दरबार विस्तारित थियो भन्छन् यहाँका बूढापाकाहरू । दरबारका पुराना केही अवशेष अझै पाइन्छ पनि भन्छन् ।

इतिहास, इमारत र स्थापत्य अब मिथक र किस्सामै बाँच्ने भए । पुराना पुस्तकालय, बाजे–बराजुका पसिनाले निर्मित नागबुट्टे ढुंगेधारा, पाटी, सहर र दरबारका आख्यान अब बनेपाका बूढा मानिसका मस्तिष्कका पत्रे चट्टान र पुराना पुस्तकालयका धूलो टाँस्सिएका किताबमा कतै जीवित छन् ।

०००

एउटा सहरको यति लामो र गतिलो इतिहास बोकेको लायकु दरबारको संरक्षण पक्कै हुनुपर्ने थियो । ‘संरक्षण हुनुहुँदैन’ भन्ने मत सायदै कसैको होला । तर, संरक्षण गर्ने कसले ? मोहन दुवाल भन्छन्, ‘मैले धेरैपटक नगरपालिकाको मेयरसँग भनेँ, यही टोलको नेता मन्त्री भएका छन्, यसै मौकामा संरक्षणको लागि पहल गरौं न भनेँ, तर मेरो कुरा कसैले पनि सुनेनन् ।’ यही प्रांगणमा राखिएको ढ्वाङमा खसेको भोटले दुई नेता यहाँबाट मन्त्री भए । तर, उनीहरूलाई जागिर खाँदै फुर्सद भएन (सायद उनीहरू जागिर खानै वा जागिरका नाममा अरू केही ‘खान’ पो चुनाव लडेका थिए कि !) प्रधानले चर्चा गरेको बनेपाको प्राचीन लायकु दरबारको संरक्षण, संवर्द्धन र त्यसबारे अध्ययन गर्नका लागि मात्र होइन, दुवालले गरेको आग्रहमाथि सुनुवाइ गर्नुपर्ने कुराको खाँचो पनि आजका नेताहरूले देखेका छैनन् ।

लकडाउनको मेसो नहुँदो त म स्वयं पनि लायकु दरबारबारे यसरी घोत्लिँदैनथें कि ? दरबार र पुरानो समयको झल्को दिने सेता स्तम्भसहितको देवीदेउताको बुट्टा कुँदिएको ढोकाबाट लायकुको घेराभित्र चियाउँदा देखिन्छन्– लकडाउनकै बिदामा बसेका केटाकेटीहरू मस्त खेलिरहेका छन् । अनि, त्यहीँ छ– मानिसहरूको एउटा लामो लाइन । यो मानव–पंक्ति बनेपा नगरपालिकाको ८ नम्बर वडा समितिले दिने केही किलो राहत–चामलको लाइनमा उभिइरहेका श्रमिकहरूले बनेको छ । लायकु परिसरको वडा–कार्यालय भवनमा मानिसहरू भित्तामा टाँसिएको राहत लिस्टमा आफ्नो नाम खोजिरहेका छन् । जसको नाम भेटिन्छ उसको ओठमा एक पित्को मुस्कान नजानिँदो किसिमले देखापरेझैँ हुन्छ ।

कडा घाममा सुकेको लायकुभित्र छन्– केही रूख, चुपचाप ठडिएका, ती पनि घामले सुकेर हैरान छन् । जस्तो दरबारका पुरानो इँटाले बनेका प्राचीन समयको चिह्नसहितका गारोहरू शताब्दीऔंदेखि घामले सुकेर दिक्क छन् । लकडाउनमा राहतको लाइनमा बसिरहेका मानिस पनि दिक्क छन्, उद्धारकै प्रतीक्षामा बसेको लायकु दरबारजस्तै । उद्धार गर, उद्धार गर भन्ने आवाजभित्र समेत फगत एउटा उपदेशबाहेक केही छैन । सबै राम्रा काम अरूबाटै होऊन् भनेर पर्खिरहनेको शब्दकोशमा कि उपदेश छ, कि त गाली मात्र शेष छ ।

(शनिबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : भाद्र १२, २०७७ १९:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×