१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मृत्युचेत

जन्मनेबित्तिकै सुरू हुन्छ हाम्रो मृत्यु–यात्रा । हामी हरेक पल जन्मिरहेका हुन्छौं, पलपल मरिरहेका हुन्छौं । त्यसैले मृत्युमा यदि शोकै गर्नु छ भने हरपल गरिरहे हुन्छ । गर्नु छैन भने कहिल्यै नगर्दा हुन्छ ।
श्रीश भण्डारी

विश्वभर दिनहुँ डेढ लाख मानिस मर्छन् । सबै मृत्युको सबैलाई वास्ता हुन्न । केही मृत्यु यस्ता हुन्छन्, जसले आफ्नै मुटुको बेलो छिन्न लागेझैं आघात पार्छन् । मस्तिष्कको सिंगो स्नायुतन्त्रमा करेन्टले जस्तै झट्का दिन्छन् । कविवर माधवप्रसाद घिमिरेले स्वस्थ र पूर्ण आयु बाँचे । तैपनि जब उनी गए, धेरैलाई तरंगित बनाए ।

मृत्युचेत

यसै पनि मुलुकमा बाढी पहिरो र कोरोनाका कारण दिनहुँ डरलाग्दो संख्यामा मृत्यु भइरहेको छ । लाग्छ, हामी यस्तो आततायी युगमा छौं, जो प्रत्येक बिहान सूर्यको कलिला किरणको सट्टा मृत्युले ढोका ढक्ढकाउन आइपुग्ने आशंकासँगै ब्युँझन्छौं । बत्तीले सजिनुपर्ने साँझहरू दागबत्तीमा जलिरहेको दृश्य हेरेर निदाउँछौं । वियोगका यी पछिल्ला परिघटनाहरूले बाल्यावस्थादेखि नै मनभित्र सुषुप्त ‘मृत्युचेत’ फेरि एकपल्ट ब्युँतिएको छ ।

म त्यस्तै ९–१० वर्षको थिएँ हुँला । घरमै नेपाली अक्षर, अंक र सामान्य जोड घटाउ सिकेपछि एकैपल्ट कक्षा ४ मा भर्ना गराइएँ । ४ कक्षामै पहिलोपल्ट ‘ए, बी, सी, डी’ देखि सुरु भएको स्कुले पढाइले वर्षदिनभन्दा बढी निरन्तरता पाउन सकेन । म फेल भएँ । कुन्नि बालाई के लाग्यो । म घरमै गुरुसित संस्कृत पढ्ने भएँ । त्यसपछिका समय बाहिरबाट सरल तर हदै अव्यावहारिक गुरुको ‘शैक्षिक–कारागार’ मा बिते । हरबिहान, हरदिन र हरसाँझको नित्य काम हुन्थ्यो– कौमुदीका सूत्र घोक्ने, अमरकोश र हितोपदेशका श्लोक रट्ने ।

पाठ कण्ठ नभए गुरुको आक्रोष पोखिन्थ्यो, ‘क्षुल्लेलिहानो हिरिवाखुमन्तक ।’ सुरुसुरुमा पत्तै भएन यो कस्तो खालको गाली हो । पछि गुरुले नै अर्थ्याए, ‘जसरी भोकले जिब्रो लपलपाइरहेको सर्पले कुनै मुसालाई ठाउँको ठाउँ चट् पारिदिन्छ त्यसरी नै कालले जोसुकैलाई जुनसुकै बेला सिनित्तै पारिदिन सक्छ । त्यसैले पढ्ने समयलाई व्यर्थमा नसक ।’ मलाई उदेक लाग्थ्यो, जाबो एउटा पाठ कण्ठ नपार्दैमा कालले सिनित्तै पार्ला त ? अहिले आएर बल्ल बुझ्दै छु, ‘मर्नु’ र ‘समय सकिनु’ एकै कुरा रहेछ ।

म १४/१५ वर्षको हुँदा एक जना काका बुबाको मृत्यु भयो । मानिसहरू रुन थाले । मलाई अचम्म लाग्यो, ‘ती मानिस ‘साँच्चिकै रुन मन लागेर’ रोएका होलान् कि ‘रुनुपर्छ’ भनेर रोए होलान् ? प्रश्न अनुत्तरित नै थियो । त्यसको ७ वर्षपछि आमाको निधन भयो । त्यतिबेला म आफू र आफ्ना वरिपरिका मानिसमा के–के गुज्रन्छ भनेर बडो सचेत थिएँ । मलाई रुन आएन, रुने विचार पनि पलाएन । बरु एक्लै भावशून्य भएर बसिरहेका बेला सम्झाउन आउनेहरूले विरक्त बनाए ।

त्यसपछि पनि आँखैअघिल्तिर केही आफन्तको निधन भएको देखियो । कैयन्को मलामी गइयो । तर, कहिल्यै आँखामा आँसु आएन । बरु मृत्युका प्रत्येक नयाँ खबरले यससम्बन्धी जिज्ञासालाई अझ जब्बर बनाउँदै लग्यो ।

त्यसैताका एक जना तन्त्र साधकले काठमाडौंमा परामनोवैज्ञानिक अनुसन्धान केन्द्र खोलेका थिए । आध्यात्मिक–ज्ञान र आधुनिक–विज्ञान दुवैको सँगसँगै अनुसन्धान गर्ने हो भने मृत्युपछि पनि आत्मा रहन्छ भनेर सबैले बुझ्ने गरी प्रमाणित गर्न सकिने उनको दाबी थियो । ‘आत्मा–प्रमाणित गर्ने’ उनको अभियानमा केही वर्ष म पनि संलग्न रहेँ । हामी तान्त्रिक विधिबाट माध्यम (अरू कसैको शरीर) मा मृत्यु भइसकेका व्यक्तिको आत्मा बोलाउनेदेखि ‘घोस्ट–डिटेक्टर’ लगायत उपकरणबाट आत्मा (लिभिङ–इनर्जी) हुन्छ भनेर देखाउने प्रयत्नमा थियौं । पुनर्जन्मसम्बन्धी भारतीय अनुसन्धानकर्मी डा. केएस रावत र बौद्ध परम्पराका केही ‘अवतारी–लामा’ हरूका अनुभवलाई पनि सँगसँगै पछ्याइरहेका थियौं । एकाध वर्षपछि समूहका सदस्यहरू आ–आफ्नै व्यावहारिक र पेसागत काममा अलग–अलग भएसँगै त्यो अनुसन्धानले निरन्तरता पाउन सकेन । त्यसपछिका अध्ययन व्यक्तिगत तहमै सीमित रहे ।

थोरबहुत अध्ययनको मेरो निष्कर्ष के भने, मानिसको जीवित शरीरबारे आधुनिक चिकित्साशास्त्रले जति जानेको छ, मृत्युपछिको अवस्थाबारे अध्यात्म–विज्ञानको उपलब्धि त्योभन्दा ज्यादा छ । चिकित्सा विज्ञान हाम्रो शरीरका सबै अंग, कोष र क्रोमोजम हुँदै कोष विभाजनका क्रममा हरेक क्रोमोजमको दुवै टुप्पामा हुने ‘टेलोमेर’ छोट्टिने प्रक्रियासम्म पुगेको छ, जसलाई उमेर र उमेरजन्य रोगहरूका लागि जिम्मेवार हुन सक्ने ठानिएको छ । एउटा वनस्पतिशास्त्रीले फूलमा रहेको फाइबर, पानीको मात्रा, क्लोरोप्लास्ट, क्लोमोप्लास्ट, ल्युकोप्लास्ट आदि सबैको व्याख्या गरे पनि त्यसको ‘सौन्दर्य’ के हो र कहाँ हुन्छ भन्न नसकेजस्तै शरीरमा ‘आत्मा’ को अवस्थितिबारे आधुनिक चिकित्साशास्त्रले कुनै भेउ पाउन सकेको छैन । त्यसैले त भनिन्छ– चिकित्सा विज्ञानको जहाँ अन्तिम सीमा हुन्छ, मनोविज्ञानको सीमा त्योभन्दा परसम्म हुन्छ । मनोविज्ञानको सीमाभन्दा पनि पर परामनोविज्ञान पुग्छ । परामनोविज्ञानले देखाउन नसकेको समाधान अध्यात्म–विज्ञानले मात्र सुझाउन सक्छ । प्राणको प्रायोगिक अभ्यास र आत्मा–पहिचानमा योगशास्त्रको उपयोगिता अझ वैज्ञानिक र व्यावहारिक छ ।

आइन्स्टाइनदखि अहिलेसम्मकै भौतिकशास्त्रीको निष्कर्ष हो– इनर्जी न बनाउन सकिन्छ न विनाश गर्न । शक्तिको रूप मात्रै परिवर्तन हुन्छ । परामनोविज्ञानले यसैमा एउटा थप कुरा भन्छ– पोटेन्सियल, काइनेटिक, इलेट्रिक, म्याग्नेटिक, इलेक्ट्रोम्याग्नेटिक न्युक्लियर, थर्मल, सोलारलगायत शक्तिका जे जति भौतिक रूप छन् ती सबैभन्दा बाहेक पनि एउटा छ । त्यो हो— लिभिङ इनर्जी (आत्मा) । लिभिङ इनर्जी ‘आत्मा’ को एउटा यस्तो अवस्था हो जतिबेला ऊ पुरानो शरीरबाट छुटिसक्छ तर नयाँ पाइसकेको हुँदैन ।

शरीर रचना र क्रिया विज्ञानले शरीरलाई एउटै सिंगो संरचनाका रूपमा बुझेको छ । अध्यात्म–विज्ञान भन्छ— शरीर ३ प्रकारका छन् । यसको सबैभन्दा सटीक व्याख्या जगद्गुरु शंकराचार्यले गरेका छन्– स्थूल शरीर, सूक्ष्म शरीर र कारण शरीर । आधुनिक चिकित्सा विज्ञानले बुझेको शरीर र स्थूल शरीर लगभग एउटै हो, जुन पञ्चतत्त्व (आगो, पानी, माटो, आकाश र वायु) तथा सप्तधातु (हाड, मासु, छाला, रगत, मज्जा र बोसो) ले बनेको हुन्छ ।

सूक्ष्म शरीर ५ ज्ञानेन्द्रिय, ५ कर्मेन्द्रिय, ५ प्राण (प्राण, अपान, व्यान, उदान र समान) र अन्तःकरण (मन, बुद्धि, चित्त र अहंकार) ले बनेको हुन्छ । जुन कारणले गर्दा हामीले जन्म–मृत्यु वा संसारको समग्रतालाई बुझ्न सकिरहेका छैनौं, त्यसलाई चाहिँ ‘कारण–शरीर’ (अनिर्वाच्य, अनादि, अविद्यारूप) भनिएको छ । शरीरको यो तेस्रो रूप हाम्रा लागि बुझ्न सहज छैन । र, यी तीनबटै शरीरको एकीकृत स्वरूपभित्र बसेर जसले ‘म’ र ‘मेरो’ भन्ने अनुभूत गर्छ, त्यो ‘जीव’ हो । यही जीवसहितको शरीरलाई नै हामीले जीवित व्यक्ति भन्ने गरेका छौं ।

मृत्युलाई संस्कृतमा ‘काल’ पनि भनिन्छ, जुन एकदमै अर्थपूर्ण छ । काल भनेको समय हो । सामान्य बुझाइमा हामी सबैको जन्म एकपल्ट मात्रै हुन्छ र मृत्यु पनि एकैपल्ट । जसरी जन्म र मृत्यु कहिल्यै दोहोरिन्नन् त्यसरी नै हरेक अरू घटना पनि अद्वितीय छन् । जीवनमा जे पनि काम हुन्छ, त्यो एकैपल्ट मात्र हुन्छ । हामीलाई दिनहुँ अफिस गएजस्तो वा उही काम गरेजस्तो लाग्छ तर तीमध्ये कुनै पनि काम अघिल्लो दिनको होइन । न आउने दिनकै हो । जीवनका हरेक पल नयाँ हुन्, जसलाई चाहेर पनि दोहोर्‍याउन सकिन्न ।

मानिस बढ्ने र हुर्कने प्रक्रिया पनि जन्मजस्तै घटनाक्रम हुन् । बढ्ने क्रम रोकियो भने जीवन सम्भव हुन्न । त्यसैले वृद्धिको हरेक समय विन्दु एउटा नयाँ जन्मसरह हो । यो क्रम बढ्दै जाँदा एउटा यस्तो समय आइपुग्छ, जहाँ शरीर र आत्मा अलग हुन्छन् । त्यसैलाई हामी मृत्यु भन्छौं । कोही पनि एकैपल्ट मृत्युको स्थितिमा पुग्दैन । जन्मनेबित्तिकै सुरु हुन्छ हाम्रो मृत्यु–यात्रा । त्यसैले हामी हरेक पल जन्मिरहेका हुन्छौं । हरपल मरिरहेका हुन्छौं । त्यसैले मृत्युमा यदि शोकै गर्नु छ भने हरपल गरिरहे हुन्छ । गर्नु छैन भने कहिल्यै नगर्दा हुन्छ ।

हाम्रो चलनचल्तीमा मृत्युलाई बुझाउने सयभन्दा बढी शब्द, पद वा पदावली छन् । निधन हुनु, देहावसान हुनु, मर्नु, स्वर्गे हुनु, परलोक जानु, चोला बदल्नु, देह त्याग्नु, मुक्त हुनु, आँखा चिम्लनु, जिब्रो टोक्नु, खुत्रुक्क हुनु, माटो खानु, मास छर्न जानु, खस्नु, खुट्टा तान्नु, चोला बदल्नु, सिलटिम्बुर खानु, दिन सकिनु, कालले लैजानु, लम्पसार पर्नु, भोग–भाग सकिनु, दैवले लैजानु, प्राण त्याग्नु, हावा खानु, ज्यान जानु, सास फेर्न बिर्सिनु, माथि जानु आदि । एउटै घटनालाई अर्थ्याउने यति धेरै तौरतरिका सायद अरू विरलै होला । यी प्रत्येकले मृत्युको खास अर्थ वहन गरिहरेका छन् । ‘चोला बदल्नु’ ले पुनर्जन्मको संकेत गरिरहेको छ भने ‘मुक्त हुनु’ ले मोक्षको ।

तर यी संकेतहरूलाई हामीले अझै पनि सही ढंगले बुझ्न सकिरहेका छैनौं । अतीतका याद र वर्तमानका विषाद, असीमित इच्छा र सीमित प्राप्ति, मैलिएको मन र उग्लिएको विचारका विरोधाभासहरूबीच हामी नराम्ररी जकडिएका छौं । हामीले पर्याप्त दुःख पायौं तर दुःखबोध गर्न सकेनौं । असंख्य मृत्यु देख्यौं तर मृत्युको अर्थ बुझ्न सकेनौं । धेरै वर्ष बाँच्यौं तर समय बुझ्न सकेनौं । कवि डब्लूबी यिट्स वास्तवमै सही भन्छन्, ‘हामी जिउन तब मात्र सुरु गर्छौं, जब जीवनलाई ट्रेजेडी हो भनी बुझ्छौं ।’

दिवंगत कविवर घिमिरेसँग मैले केहीपटक भलाकुसारी गर्ने अवसर पाएँ । नेपाली साहित्यमा स्नातकोत्तर गर्ने क्रममा शोधकार्यको विकल्पका रूपमा मैले सिर्जनात्मक लेखन रोजेको थिएँ । मेरो विधा पद्य–कविता थियो । २०५९ सालताका म उनको सान्निध्यमा पुगेका बेला कविताबारे आफ्नै हस्ताक्षरमा धारणा दिँदै उनले भनेको अहिले पनि सम्झिरहेछु— शरीरमा आत्माको जुन स्थान हुन्छ, कवितामा भावको पनि त्यही स्थान हुन्छ ।

प्रिय कविवरको आत्मा र शरीर अलग भैसकेको छ । उनको भाव भने मर्मस्पर्शी कविताहरूमा सधैं जीवन्त रहिरहनेछ ।

प्रकाशित : भाद्र ६, २०७७ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?