नलीहाड फुकिरहेको डोजर- कोसेली - कान्तिपुर समाचार

नलीहाड फुकिरहेको डोजर

रोपाइँ गीतहरू हराउँदै–हराउँदै गए । डोजर झन्झन् सर्वशक्तिमान् हुन थाल्यो । विकासको पहेँलपुर अवतारले काँठका डाँडाकाँडा, भीरपाखाको कोखा, छाती र मुटुमा आक्रमण गर्न थाल्यो । प्लटिङका ज्यामितीय आकारप्रकार र रूपरेखामा काँठको जमिन बन्दी भयो । जमिन के, स्वयं काँठ बन्दी भयो ।
विनोदविक्रम केसी

तिम्रा घरमाथि छुचुन्द्राका ताँती 

पिँडालुको सेलामा 

टेकेको लट्ठी सर्प भइदेला 

दिन बिग्रेको बेलामा...

एउटै सांगीतिक सम्पदा थियो, काँठसँग । रोपाइँ गीत । त्यो पनि भूमाफियाले खाइदिए, जग्गा दलालले खाइदिए । खेतै नरहेपछि केको रोपाइँ ? अनि, केको रोपाइँ गीत ?

देशको माटो कि त राष्ट्रवादीहरूको कब्जामा छ, कि त जग्गा दलालहरूको । कवितैपिच्छे ‘देश दुखेको’ व्यथा कहने र श्रीसत्तासीनको भक्तिमा लीन हुने कविहरूका भागमा पनि दुईचार मुठी माटो होला । आजको माटो–सत्य यही हो । आजको कलबिख–सत्य यही हो ।

यहाँदेखि चार–पाँच अम्मलमाथि ‘बोल्ड’ र ‘इटालिक’ समेत गरिएको गीतको टुक्रो पंक्तिकारले तीन दशकअघि सुनेको हो । तथाकथित सुनौलो बाल्यकालको स्मृति होइन यो । मजस्ताको सुनौलो बाल्यकाल ? धूलाम्य र पत्थरमय थियो, त्यो त ।

अहिलेसम्म रोपाइँ गीतको त्यो एक फग्लेटो किन सम्झिरहेको छु भने ती रोपाहारको लामो आलाप मेरा कानले भुलेका छैनन् । कानको स्मृति कति जब्बर हुँदो रहेछ । कोही उत्पीडितको घाउको इतिहासजस्तो ! ती रोपाहारको अनुहार भुलिसकेँ । तर, ‘बे...ला...मा...’ भनेर तानेको लम्बेतान ध्वनि भुलेको छैन ।

त्यो ग्रामीण (काँठे) नारी गलाको आलाप किन अहिलेसम्म सम्झेको हो, त्यसको खास कारण छ । काठमाडौँको दक्षिणी भेगको काँठक्षेत्र चाल्नाखेल मेरो थातथलो हो । घरअगाडिको ठीकठीकै ठूलो फाँट जेठ–असार–साउनभरि घन्किरहन्थ्यो, रन्किरहन्थ्यो । रोपाहारका लामा–लामा आलापहरू गुन्जिरहन्थे । अलि–अलि बाउसेका स्वर पनि मिसिन्थे ।

त्यतिखेर काँठका फाँटहरू हराभरा हुन्थे । अहिले काँठका फाँटहरू ‘घराभरा’ छन्, घरैघरले भरिएका ।

खेत कम हुँदै गए, रोपाइँ घट्दै गए । रोपाइँ गीतहरू हराउँदै–हराउँदै गए । डोजर झन्झन् सर्वशक्तिमान् हुन थाल्यो । विकासको पहेँलपुर अवतारले काँठका डाँडाकाँडा, भीरपाखाको कोखा, छाती र मुटुमा आक्रमण गर्न थाल्यो । प्लटिङका ज्यामितीय आकारप्रकार र रूपरेखामा काँठको जमिन बन्दी भयो । जमिन के, स्वयं काँठ बन्दी भयो ।

भोगाइविद् र जिन्दगीशास्त्रीको हैसियतले मेरो दाबी छ– काँठमा बहुदलीय प्रजातन्त्र, डोजर, पुलाउ र ‘बक्स्योस् भाषा’ एकसाथ आए । डोजर, पुलाउ र बक्स्योस् भाषा काठमाडौँका पाखाभित्तामा त्यसअघि पनि आक्कलझुक्कल आए होलान्, तर जुन तीव्रतासँग आए, जसरी जनाउ दिने गरी आए, जति प्रभावशाली भएर आए, त्यसरी त छयालीस सालपछि नै आए । र, यो गीतांश मेरो मनमा यसरी बस्नुको खास कारण हो– मसँग सम्झनलाई अर्को कुनै मेरो ‘आफ्नो’ गीत थिएन, लय थिएन ।

काँठे महिलाका सारा दुःख र पीडाले (वन जाऊँ झम्टन्छ बाघले, घर बसूँ पोइले...) फाँटहरू बर्सात्मा थप भिज्दथे । मायाप्रेम हुन्थ्यो, सदाबहार ‘थिम’ । किशोरवयमा टेक्दानटेक्दै रोपाइँ गीतबाटै मैले जानेको थिएँ– वयस्क महिला र पुरुषका विशेष बात–संवाद हुन्छन्, राग–अनुराग हुन्छन्, स्थिति–मनस्थिति हुन्छन्, द्रुतता–तीव्रता हुन्छन्, संकेत–इसारा हुन्छन्, व्यंग्य–कटाक्ष हुन्छन् । त्यसैले तन्नेरी हुनु बडो मज्जाको कुरा हो । तर, हतार–हतार तन्नेरी हुन सकिन्न ।

तथापि, ती गीतमा फोहोरी जुहारी पनि हुन्थ्यो । कुनै बेलाको ‘सुन्ने ब्लू फिल्म’ झैँ लाग्ने दोहोरी गीतजस्तो । पुरुष हाकाहाकी नाठो बन्ने प्रस्ताव राख्थ्यो । महिला मुखभरिको जवाफ दिन्थी– ‘काशीमा गएर मुख धोएर आइजो ।’ यस्ता सस्ता संवाद पनि खुब सुनियो ।

दिन बिग्रेको गीत हठात् सम्झायो, यसपालिको असारले ।

असार २० गते खोकनाको दिन बिग्रेको थियो ।

सत्ताको मति बिग्रेपछि, नियत खराबिएपछि जनताको दिन अवश्य बिग्रन्छ ।

खोकनावासीको दिन बिग्रेको थियो ।

फास्ट ट्र्याक नामको ‘राष्ट्रिय गौरवको अजिंगर’ ले खोकनालाई खान आँटेको थियो, निल्न तम्तयार थियो । ललितपुरको प्राचीन नेवार बस्ती र सुप्रसिद्ध यो तेलग्राम इतिहासमा कृषि विद्रोहको कम्तीमा एउटा ‘फुटनोट’ हासिल गर्न गइरहेको थियो । किन यसो भनिरहेको छु भने मलाई न हिजोका इतिहासकारमाथि विश्वास छ, न आजका इतिहासकारमाथि विश्वास छ । यद्यपि, सत्यलाई सधैँ गुपचुप राख्न सकिन्न । त्यो इतिहासको लामो अध्याय भएर नआउला तर ‘फुटनोट’ मात्रै बनेर पनि टुप्लुक्क आउँछ । आउँछ, आउँछ ! मेरो दाबी छ । उही भोगाइविद् र जिन्दगीशास्त्रीको हैसियतले ।

विकासको आधुनिक मोडलमुताबिक जहीँतहीँ खन्न उद्यत, पेल्न उद्यत डोजरका दाँतीका निम्ति, ‘ब्लेड’ र ‘बकेट’ का निम्ति खोकनाको प्राचीनता, नेवार सम्पदा र सभ्यताले कुनै अर्थ राख्दैनन् । तर, खोकनावासीका निम्ति तिनको यति अर्थ छ कि तीबाहेक अरू निरर्थक छन् ।

काठमाडौं–तराई द्रुतमार्ग, बाहिरी चक्रपथ, १३२ केभी प्रसारण लाइनलगायत ठूला आयोजना (राष्ट्रिय गौरव अनि दम्भका आयोजना) खोकना र बुङ्मतीको सयौं रोपनी उर्बर जमिन र सांस्कृतिक देहमा कुल्चेर सम्पन्न हुने दौडमा छन् । अनि, खेतका आली–आलीमा मौका छोप्नपुगेको छ, जग्गा दलाल र बिचौलियाको हूल । ‘जिरो प्वाइन्ट’ मा उनीहरूले भोलि जमिनको भाउमा थपिने मूल्यवान् जिरोहरूको हिसाबकिताब गरिसकेका छन् । उता, आफ्नो जमिन अँगालो मारेर पसारो परेका छन्, खोकनाका जन । किनभने, उनीहरूमाथि आफ्ना सम्पदा र संस्कृतिलाई जिरो हुनबाट जोगाउने अभिभारा छ ।

त्यो दिन पनि खुदोल फाँटमा प्रतीकात्मक विरोधस्वरूप रोपाइँ गर्न पुगेका थिए, खोकनाका सन्तान । आफूमाथि डोजर चढाए पनि उनीहरू हट्नेवाला थिएनन् । तिनलाई थाहा थियो– राष्ट्रिय गौरवको आयोजना फत्ते गर्न हिँडेका डोजरका दाँतीहरूमा मान्छेका रगतका फाल्सा जमेका थिए, जमेका छन्, जम्नेछन् ।

मिलन, जमघट, अंकमाल र हातेमालोहरू वर्जित समयमा सयौँ खोकनावासी सआक्रोश, सअडान र ससंकल्प जम्मा भएका थिए, आफ्नो फाँटमा ।

रोपाइँ गरिछाड्ने आन्दोलनकारी थिए, खेतका गरा–गरामा ।

रोपाइँ गर्न नदिने सरकारी उर्दी लागू गराउन सशस्त्र प्रहरी पनि तयार थियो । र, झडप तय थियो ।

इतिहासमा सायद पहिलोपटक रोपाइँ बिथोल्न पुलिस फाँटमा पसेको थियो । रोपाइँ–आन्दोलनकारीमाथि बुट, लट्ठी बर्सिए । विरोधमा, प्रतिरोधमा खोकनावासीले प्रहरीमाथि ढुंगामुढा गरे । प्रहरीले आँसुग्यास हान्यो । तेलग्राममा तैरिरहेको थियो, आँसुग्यासको पिरो गन्ध र बाफ । हिलोमा भेटिएका आँसुग्यासका सेलहरू पनि फुटनोटका रूपमै सही, इतिहासमा अंकित हुनेछन् । तिनले बताउनेछन् दुनियाँलाई (फुटनोटको जति औकात हुन्छ, त्यति नै स्वरमा, त्यति नै स्वराघातमा)– हातमा धानका बीउ लिएर उभिएका माटोका सन्तानमाथि कसरी भएको थियो दमन ?

खोकनालाई दुत्कार्ने विकासप्रेमीको जत्था पनि ठूलो छ । ह्यारी ट्र्युम्यानका सहस्र नेपाली अवतार तथा लघुरूपहरू कडा शब्दमा उसको भर्त्सना गरिरहेका छन् । आधुनिक विकास अवधारणाका जनक ट्र्युम्यान जसरी चाहन्थे अमेरिकाको अगुवाइमा अल्पविकसित दुनियाँको उन्नति (!) र प्रगति (!), त्यसरी नै नेपालको विकास चाहिएको छ, उनीहरूलाई । त्यसैले उनीहरू, विकासका धूवाँधार पक्षपाती, बिचौलिया र तिनका सरदार, खोकनालाई (मुखै छाडेर) गाली गरिरहेका छन्– ‘विकासविरोधी खोकना ! पटमूर्ख खोकना ! आदिम खोकना ! पछौटे खोकना ! असभ्य खोकना ! जंगली खोकना ! अल्पविकसित खोकना ! समृद्धिको तगारो खोकना ! अधिक मुआब्जाका लागि निहुँ खोजिरहेको खोकना !’

खोकना खासमा के खोजिरहेको छ, त्यो त ८१ वर्षीय नातिभाइ महर्जनलाई थाहा छ । खुदोल फाँटमा रोपाइँ–दमनको तीन–चार दिनपछि उनी हाम्रो टोलमा तेल लिएर आइपुगेका थिए । तेलग्रामका रैथाने नाति दाइ युगौँदेखि महिनामा एक–दुईचोटि यसरी नै हाम्रा घरआँगन आइपुग्छन् । चाल्नाखेल र खोकनालाई जोड्ने एउटा कडी भएका छन् । मैले जान्न चाहेँ– खोकना खासमा के खोजिरहेको छ ?

‘खोकना खोकनै रहन खोजिरहेको छ ।’ नाति दाइको जवाफ यत्ति थियो । जति थियो, पर्याप्त थियो ।

खोकनाले खोकनै रहन पाउनुपर्छ– खोकनाले खोजेको यत्ति हो, चाहेको यत्ति हो ।

म खोकनाको छिमेकी गाउँको मान्छे हुँ ।

बीचमा वाग्मती छ । सम्मुख छन्, चाल्नाखेल र खोकना । चाल्नाखेलको पशुपालनमा उहिले खोकनाको फाँटको भरथेग हुन्थ्यो । त्यहाँ पाइने ज्वाने घाँसले गाईभैंसीको दूध बढाउँछ भनिन्थ्यो । चाल्नाखेलका महिलाहरू लस्कर लागेर खोकना जान्थे, घाँस काट्न । फर्किंदा डोकाको हरियो क्याराभान फर्किन्थ्यो । घाँस काट्नेले एउटा संहिता पालन गर्नुपर्थ्यो, गहुँलगायत बालीनालीलाई हानि–नोक्सानी नपुर्‍याउने ।

खोकनाको सिकाली चौर थियो, चाल्नाखेलका फुटबल खेलाडी उत्पादन गर्ने । हामीलाई ग्रामीण गच्छेअनुसारका म्याराडोना, रोनाल्डो (पुरानो, ब्राजिली), रिभाल्डो सिकाली चौरले नै बनाएको थियो । सिकाली मन्दिर रहेको चौरमा दसैँको फूलपातीको दिन खोकना र बुङमतीका नेवारहरूको ठूलो जात्रा हुन्छ, विशाल भोज हुन्छ । नेवार व्यञ्जनको पहिलो परख मैले सिकाली चौरमा कुनै फूलपातीको दिन गरेको थिएँ ।

खोकनाको दिन बिग्रँदै गयो भने र प्रतिरोधमा जोड पुगेन भने सिकालीको शरीर र आत्मा फोरेर डोजर निस्कनेछ ।

दिन बिग्रेकै सन्दर्भमा २०७२ सालको भुइँचालो पनि आउँछ । खोकना अझै पनि कम्पनको वेदनाबाट तंग्रिसकेको छैन । त्यसमाथि अहिले ढुकिबसेको छ, डोजर, एक्स्काभेटर र ‘हेभी कन्स्ट्रक्सन इक्विपमेन्ट’ को संहारक ताँती ।

बूढापाका सुनाउँथे, नब्बे सालको भुइँचालोमा चाल्नाखेल र खोकना विपद् हास्यमा अल्झेका थिए । खोकनाका घरहरू ढल्दा चलेको कुइरीमण्डल देख्दा चाल्नाखेल हाँस्थ्यो । अनि, चाल्नाखेलका घरहरू ढल्दा उडेको धूलो देखेर खोकना हाँस्थ्यो । दुवै खासमा आफ्नै दुःखमा हाँसेका थिए । एकअर्कैमाथि हाँसेका भए पनि त्यो अहानिकारक हाँसो थियो ।

म वाग्मतीपारि नजर हुत्याउँछु । भैँसेपाटीमुन्तिर फाँटमा राता छाना भएका सेता स–साना घरहरूको एउटा ‘कोलोनी’ बसेको छ । फास्ट ट्र्याक सम्पन्न गराउने जिम्मा यो बस्तीमाथि छ ।

यो कोलोनीले मलाई भारतीय लेखक अरुन्धती रोय सम्झाउँछ (‘कुल्चिएकाहरूकी मायालु ः बिलभेड अफ द डाउनट्रोडेन’ उपनाम दिन मन लाग्छ उनलाई) । उनको निबन्ध ‘द ग्रेटर कमन गुड’ सम्झाउँछ । निबन्धले भारतमा विशाल बाँधहरूले जनतामाथि गरेका बेहिसाब अत्याचार रबेहद शोषणको कथा भन्छ । सन् १९९९ मा ‘आउटलुक’ म्यागजिनमा प्रकाशित निबन्धमा त्यतिन्जेलसम्म भारतमा ३६ सय बाँधका कारण पाँच करोड मानिस विस्थापित भइसकेको आँकडा प्रस्तुत थियो । सन् १९६१ को हिउँदमा सरदार सरोवर बाँधको शिलान्यास गर्न गुजरात राज्यको कोठी गाउँ जाँदै थिए, प्रधानमन्त्री जवाहरलाल नेहरू । उनको हेलिकप्टर बसाउनका लागि हेलिप्याड आवश्यक थियो । एक जना सरकारी अधिकृतले कोठीका बासिन्दासँग हेलिप्याड बनाउन अलिकति जग्गा मागे । थोरै पैसा दिए र कागज गराए । केही दिनपछि गाउँमा एउटा डोजर आइपुग्यो । लहलहाउँदो बालीलाई सोत्तर बनायो । हेलिप्याड बनाइयो । प्रधानमन्त्रीको हेलिकप्टर आयो । सुरक्षाकर्मीले घेरिएका नेहरूलाई गाउँलेले देख्न पाएनन् । उनले केही बेर भाषण गरे । त्यसपछि ‘बटन’ दबाए । नर्मदा नदीपारि ठूलो विस्फोट भयो । यसरी सरदार सरोवर बाँधको शिलान्यास भयो ।

अरुन्धतीले लेखेकी छन्, ‘त्यो बटन थिचेर आफूले इन्क्युबस नामक दैत्यलाई मुक्त गरिदिएको कुरा नेहरूले बुझे होलान् ?’

नेहरू गएपछि गुजरात सरकार दलबलसहित कोठी पुग्यो । छ गाउँका ९ सय ५० परिवारका हजारौँ रोपनी जग्गा अधिग्रहण गरियो । ती सबै टाड्वी आदिवासी थिए । उनीहरूलाई नगद क्षतिपूर्ति र रोजगारीको वाचा गरियो । गाउँमा डोजर र ट्रकको लर्को लाग्यो । बालीनाली सखाप पारियो । तीन वर्षपछि उनीहरूले तीन किस्तामा अत्यन्तै थोरै पैसा पाए, मुआब्जाका रूपमा । उनीहरूको जमिनमा केभाडिया कोलोनी खडा गरियो । जहाँ बाँधका पूर्वाधार सामग्री राखिए । इन्जिनियर र अन्य कर्मचारीका लागि घर, पाहुनाघर बनाइयो ।

भैँसेपाटीमुनिको कोलोनी देखेपछि दिमागमा केभाडिया कोलोनीको चित्र आउँछ । केही साझा तथ्य र केही समानता देखापर्छन्... विकास, प्रगति, उन्नति, जमिन, बालीनाली, मुआब्जा, दमन, डोजर, अनि डोजर र डोजर ।

डोजर आम काल्पनिकीमा कतिसम्म घुसिसकेको छ भने हाम्रो दैनन्दिन बोलीमा पनि यो स्थापित छ । जस्तो, मेरो यो निबन्धमा सम्पादकले ‘डोजर (च)लाइदिन’ सक्छन् र छोटोमा छोटो बनाइदिन सक्छन् । प्रेमिकासँग घुम्न जानका निम्ति बाउबाट पैसा फुत्काउन नसकेपछि छोरो भन्छ– ‘आजको रमाइलोमा बाउले डोजर लाइदिए ।’ न्यायालयले न्यायमाथि डोजर लाइदियो ।

दशकौँदेखि चलिरहेको छ, डोजर । हाम्रो भाषामा समेत घुलिइसकेको छ, डोजर । विनाश विम्ब, कसुर प्रतीकका रूपमा । यहाँनेर हेक्का गर्नु वाञ्छनीय छ, हाम्रा थुप्रै जनप्रतिनिधिसँग निजी डोजर छ । कैयन् गाउँपालिका र नगरपालिकाका वडाध्यक्षहरूको एक मात्र रट बाटो, बाटो र बाटो हुन्छ । किनभने, उनीहरू डोजरका स्वामी हुन्छन् ।

हरेक वर्ष पहिरो जान्छ । पहिरो जाने क्रम बढिरहन्छ । पर्यावरण, प्रकृति, भूबनोट जान्ने–बुझ्नेहरू भनिरहेका छन् : जथाभावी चल्ने डोजरले हरेक वर्षात्मा पहिरो निम्त्याइरहेका छन् । २०१३ सालमा बनेको त्रिभुवन राजपथले नेपालको विकास अवधारणामा ‘बाटो भनेकै विकास, विकास भनेकै बाटो’ को मन्त्र जडिदियो । अहिले पनि डोजरको सवारी चलाएर जहाँतहाँ, जथाभावी, पहरो फोरेर, थुम्को तोडेर, डाँडो भत्काएर बाटो खन्ने क्रम सतत् छ ।

र, पहिरो भएको छ, निरन्तर नियति । बाढी भएको छ, नियमित त्रासदी ।

हरेक वर्ष सङ्गीतले लेखेको र अञ्जानबाबुले गाएको विपद् गीत ‘चरी लैजा समाचार, हामी भयौँ बेघरबार’ अभिशप्त छ, ‘हिट’ हुन । डोजर ‘फ्लप’ नभएसम्म यो गीत हरेक वर्षात्मा चर्चित भइरहनेछ ।

र, वर्षात्मा लाखौँ चार्लीहरू रोइहिँड्न बाध्य हुनेछन् । (विख्यात हास्य कलाकार चार्ली च्याप्लिन झरीमा हिँड्न मन पराउँथे । उनको कथन थियो– ‘झरीमा रोएको कसैले देख्दैन । म निर्धक्क रोएर हिँड्न सक्छु ।’) झरीमा विभोर भएर रुझ्नेहरू कति होलान् र संसारमा ?

विकासका नाममा भइरहेका ध्वंसले लाखौँ–करोडौँ मान्छेले रोइहिँड्नुपर्ने प्रपञ्च उहिले नै रचिएको थियो ।

त्यो प्रपञ्च थियो– ‘डक्ट्रिन अफ डिस्कभरी’ अर्थात् खोजको सिद्धान्त ।

सन् १४९३ मा पोप अलेक्ज्यान्डर छैटौँले एउटा आदेश (पापल बुल) जारी गरेका थिए । क्रिस्टोफर कोलम्बसले पत्ता लगाएका आदिवासीका भूमि (मानौँ, भूमिको एउटै काम थियो, कोलम्बसका अगाडि फुत्त प्रकट हुने !) माथि स्पेनको अधिकार कायम गर्ने प्रबन्ध थियो, खोजको सिद्धान्त । पोपको आदेश थियो– ‘हालसम्म क्रिस्चियनहरूले पत्ता नलगाएको भूमि क्रिस्चियन शासकले हत्याउन सक्छन् । त्यहाँ शासन गर्न सक्छन् । सर्वत्र क्याथोलिक आस्था र क्रिस्चियन धर्म फैलिनु अपरिहार्य छ । बर्बर र असभ्य राष्ट्रहरूलाई क्याथोलिक आस्थामा आबद्ध गराइनेछ र तिनका आत्माको रक्षा गरिनेछ ।’ यसरी संसारले असभ्य, बर्बर, असंस्कृत र जंगलीलाई सभ्य र सुसंस्कृत बनाउने सिद्धान्त पायो । यो लुटको सिद्धान्त थियो । युरोपका साम्राज्यवादीहरूले अफ्रिका, उत्तर र दक्षिण अमेरिका, एसियाका असभ्य देशहरूलाई उपनिवेश बनाएर, लुट्नुसम्म लुटेर ‘सभ्य’ बनाइदिए । गुलाम बनाएर ‘सुसंस्कृत’ बनाइदिए ।

मिच्ने, किच्ने, पेल्ने, दमन गर्ने यो सिद्धान्तको आधुनिक अवतार डोजर हो । यो यस युगका क्रिस्टोफर कोलम्बसहरूको वाहन हो ।

डोजर हिंस्रक हुन्छ । डोजरले सम्पदाको बाँसुरी फुक्दैन । डोजरले संस्कृतिको धिमे बजाउँदैन । डोजरले त विकासको दुन्दुभि बजाउँछ । मान्छेको नलीहाड फुक्छ । कुनै ‘साइकोप्याथ’ हत्यारालाई कसैको कोखामा छुरी रोप्दा जुन आनन्द प्राप्त हुन्छ, डोजरलाई जमिनमा दाँती गाँड्दा त्यही आनन्द प्राप्त हुन्छ । सायद ।

जति–जति डोजरको चहलपहल हुन्छ, त्यति–त्यति भू–दलाल र बिचौलियाको सलबलाहट हुन्छ । आज काँठ क्षेत्रका हरेक चियापसलमा आना–रोपनी–लाख–करोडको गफ चलिरहेको हुन्छ ।

चियापसलदेखि सिंहदरबारसम्म चल्ने गफ आखिर यही भएको छ । गाउँदेखि सहरसम्म एक घर, एक दलाल नीति चलेझैँ लाग्छ । भूमि दलाल, स्त्रीको दलाल, जनशक्ति दलाल, विचार तथा सिद्धान्त दलाल, गरिबी निवारण तथा विकास दलाल, धर्म तथा आस्था दलाल र सबैभन्दा हानिकारक राजनीतिक दलाल... ।

यिनले अब घाम र जूनका बीचमा सेटिङ मिलाइदिएर तिनको उदाउने/अस्ताउने अवधि नै गोलमाल पार्देलान् भन्ने डर छ । हाम्रो लोकतन्त्रै बुट्टा भरेर कुरा गर्न जान्ने बिचौलियाको जञ्जालमा फसेको छ । दलाल र बिचौलियाले खान बाँकी जे छ, त्यसैको नाम देश हो भने अब तपाईं–हाम्रो देश बाँकी छैन । नूतन तीक्ष्ण नक्सापछिको प्रफुल्ल नेपालमा यसो भन्नु कति विरोधाभासपूर्ण हुन्छ !

यति त निर्दिष्ट छ– सत्ताको पनि दिन बिग्रिन्छ कुनै दिन ।

पाकिस्तानी जनकवि हबिब जालिबले संसारका सबै शासकका नाममा, भविष्यका शासकसमेतका नाममा, यी दुई पंक्ति यत्तिकै फुराएका होइनन् :

तुम से पहले वो जो इक शख्त यहाँ तख्त–नशीं था

उस को भी अपने खुदा होने पे इतना ही यकीं था ।

म घरको छतबाट यसो खोकनातिर दृष्टि पुर्‍याउँछु । नवनिर्मित श्वेत कोलोनीतिर आँखा अड्याउँछु ।

मलाई असारे भाकामा लामो आलाप तानेर जालिबको गजल गाउन मन लाग्छ— इतना ही...य...कीं...था ।

@binodbikramkc

प्रकाशित : श्रावण ३१, २०७७ १०:००
प्रतिक्रिया
पठाउनुहोस्

शरीर-राजनीति : बहसमा छुटेको पाटो

अहिले भइरहेको शरीर–राजनीतिबारेको बहस के निर्णयात्मक हुन सकिरहेको छ त ? अवश्य छैन, किनभने यसले एउटा खुट्टा मात्र समातेको छ– मर्यादा मानकको खुट्टा ।
प्रतिभा बेल्वासे

शरीर राजनीति– नेपाली सञ्चारमाध्यममा अहिले चर्चामा रहेका केही विषयमध्ये प्रमुख एक बनेको छ— खासगरी एक सरकारी महिला कर्मचारीले मोटरसाइकलमा ‘नग्न ढाड प्रदर्शन गरिन्’ भन्ने टिप्पणीसहित फोटो सार्वजनिक भएपछि र त्यसबारे अनेकन टिप्पणी भएपछि ।

ढाड देखिने लुगा लगाउँदैमा अमर्यादित भनेर गरिएको टिप्पणीको तत्काल प्रतिक्रियास्वरूप सामाजिक सञ्जाल हुँदै समाचारका विचार पृष्ठ र परिशिष्टांकसम्म यो विषयमा छलफल हुनु स्वाभाविक मात्र होइन आवश्यक पनि थियो, हो । हरेक क्रियाप्रति जनाइने प्रतिक्रियाका दुईवटा आयाम हुन्छन्— अल्पकालीन प्रतिक्रियात्मक र दीर्घकालीन निष्कर्षात्मक । पक्कै पनि प्रतिक्रियाले मात्रै सबै मुद्दा समाधान गर्ने होइन तर यो आवश्यक छ । त्यसैले प्रतिक्रियाका सीमाहरूको हकसम्म ती प्रयत्नको प्रशंसा आवश्यक छ ।

सुरुमै स्पष्टीकरण

प्रतिक्रियात्मक बहसले उठाउनुपर्ने हो, निष्कर्षात्मक बहसलाई । तर, प्रतिक्रियात्मक बहस एकांगी भयो भने निष्कर्षात्मक बहस सुरु नै नहुन पनि सक्छ वा भए पनि निर्णयकारी नबन्न सक्छ वा निष्कर्ष पनि उसैगरी एकांगी बन्न सक्छ । शरीर राजनीतिको बहसमा भएको त्यस्तै छ । यसबारे भइरहेको प्रतिक्रियात्मक बहसले एउटा खुट्टा टेक्न बिर्सिएको छ जसले निर्णयात्मक प्रक्रियामा डोर्‍याउने अभ्यासमा बल पुर्‍याउन सकेको छैन भन्ने ठम्याइ नै यो लेखको आधार हो ।

अर्को स्पष्टीकरण, ज्ञान निर्माण व्यक्तिगत पहल कहिल्यै हुँदैन । चिन्तक, दार्शनिक, शोधकर्ताले तयार पारेका सामग्रीको अध्ययन, विभिन्न व्यक्तिसँगको बहस–छलफलका परिणाम हुन् । तिनलाई समय सन्दर्भअनुसार संश्लेषण गर्ने प्रयत्न मात्रै मेरो हो । यद्यपि शोधलेख नभएकाले र अखबारी लेखनकै सीमितताभित्र रहन चाहेकाले तिनको स्रोत खुलाउने जाँगर चलाइएको छैन, यो कमजोरी वा सीमितता हो ।

दुईवटा खुट्टा

शरीर राजनीतिको कडी हो– शरीरबारे निर्णयको अधिकार राख्नु, यसै पनि राजनीति आफैँमा निर्णय प्रक्रिया हो । शरीरसम्बन्धका जति पनि निर्णय छन् त्यसमा स्वंय आफ्नो अधिकार रहने वा अरू कसैको भन्ने विषय नै शरीर राजनीति बहसको मुख्य कडी हो । ती निर्णय प्रक्रियालाई अरू कसैले आफ्नो बनाउनु शरीर राजनीति हो ।

महिलाको शरीर सम्बन्धमा भएको राजनीतिका मुख्य दुई पक्ष छन् : मर्यादाको मानकीकरण र सौन्दर्यको मानकीकरण । यी दुईवटा खुट्टा हुन् शरीर राजनीति उभिने ।

मर्यादाको मानकीकरणको अर्थ हो, शरीर सम्बन्धमा के गर्दा ठीक, के गर्दा बेठीक भन्ने मान्यताको निर्माण । यो मानकीकरण धेरै हदसम्म धर्म, सभ्यता र संस्कारजस्ता ‘अधिरचना’ हरूसँग जोडिएका छन् । जस्तै, इस्लाम धर्ममा महिलाको मर्यादाका लागि बुर्का अनिवार्य गरिएको छ । खस–पहाडी समुदायमा र मधेसी समुदायमा समेत शिर ढाक्नुपर्ने अनिवार्य गरिएको छ । महिलाले लगाउने कपडा कस्तो हुनुपर्छ भन्ने मान्यताहरू यही मानकीकरणसँग जोडिएका छन् ।

सौन्दर्यको मानकीकरणको अर्थ हो, सुन्दर को हो भन्ने मान्यताको निर्माण । यो मानकीकरण सौन्दर्यको परिभाषासँग जोडिएको छ । कस्तो स्त्री सुन्दर हुन्छे वा सुन्दरी हुनका लागि के गरिनुपर्छ भन्ने अवधारणा यसको आधारशिला हो । पूर्वीय प्राचीन सौन्दर्यशास्त्रमा ३६ गुणले युक्त महिला सर्वसुन्दरी हुन्थे जसअन्तर्गत मृगका जस्ता आँखा, सिंहको जस्तो कम्मर र हात्तीका जस्ता जाँघ पर्दथे ।

आधार अर्थ–राजनीति

यी दुवै मानकीकरणको जन्म भने अर्थ–राजनीतिक आधारबाट भएको हो । समाज विकासक्रमको अध्ययन गर्ने जो कोहीलाई पनि थाहा भएको सामान्य सत्य हो, निजी सम्पत्तिको विकाससँगै पितृसत्ताको सुरुआत भयो । सम्पत्तिको स्वामित्व पूर्णत: पुरुषको हातमा भएकाले र त्यो स्वामित्व आफ्ना सन्तति (छोरा मात्रै छोरी होइन) मा सर्दै जाओस् भन्ने सुनिश्चितताका लागि एकनिष्ठ विवाह प्रथाको सुरु गरियो । तर, यो एकनिष्ठता त केवल महिलाका लागि अनिवार्य थियो । एकनिष्ठ विवाह पद्धतिले पुरुष र महिलालाई दुई भागमा बाँडिदियो । पुरुषले रोज्ने अधिकार पायो । महिलाको भागमा पर्‍यो रोजिनुपर्ने नियति ।

सबैजसो जीवमा सन्तान उत्पादन प्रक्रियामा रोज्ने र रोजिने प्रक्रिया समावेश हुन्छ । सामान्यत: मानिसबाहेकका जीवमा रोज्ने अधिकार स्त्रीलिंगीमा हुन्छ किनभने ऊ सन्तानको जन्मदाता हो र हुर्काउने एवं आवश्यक जीवननिर्वाहको सीप सिकाउने पनि ऊ नै हो । उसले आफ्ना सन्तानका लागि सक्षम गुण प्रवाह गर्न सक्ने भालेको खोजी गर्छे । त्यसैले नै भाले मयूरले नाचेर आफ्नो सक्षमता प्रस्तुत गर्नुपर्छ । भाले सिंहको मात्रै याल हुन्छ । बर्खामा भाले भ्यागुता कराएर पोथी भ्यागुतालाई आकर्षित गर्नुपर्छ । तर, यी सबै रोजिने र रोज्ने प्रक्रिया केवल सन्तान उत्पादनको जीववैज्ञानिक प्रक्रियामा मात्र सीमित हुन्छ । तर, निजी सम्पत्तिको विकाससँगै मानव जातिमा सन्तान उत्पादन प्रक्रिया केवल जीव–वैज्ञानिक रहेन । परिणाम, महिलाले एकपटकका लागि होइन सधैँका लागि रोजिनुपर्ने भयो । रोज्ने अधिकार पाएको पुरुषले आफूलाई उत्तम हुने महिलाको मानक बनायो, सौन्दर्यको नाममा । त्यसैले जाति, समुदाय, क्षेत्रअनुसार सौन्दर्यका आ–आफ्नै मानक बनाइए । सौन्दर्यको यस्तो मानकीकरणमा महिलाको दासत्वलाई अनिवार्य ठानियो । त्यसैले सबैजसो समाजमा साना पाइताला भएकी, कोमल स्त्री नै सुन्दर मानियो किनभने त्यसले महिलाको शारीरिक कमजोरीको सुनिश्चितता गर्थ्यो । साना पाइताला र कोमल स्त्री पुरुषसँग जुध्न सक्ने गरी शारीरिक रूपमा बलिष्ठ हुँदैनन् भन्ने ढाडस दिन्थ्यो ।

निजी सम्पत्तिमाथिको स्वामित्वले निर्माण गरेको विवाह संस्थाले अर्कोतर्फ महिला स्वंयलाई पुरुषको निजी सम्पत्ति बनाइदियो । त्यसैले गण–युद्धमा विजित भई ल्याएकीदेखि (कथित) सहमतिमा हुने विवाहसम्मको प्रक्रियाबाट ‘आफ्नो’ हुने महिलालाई मर्यादाको साङ्लोले बाँधेर ‘अरूको नजर नपर्ने’ र ‘आफ्नो घेराभित्र रहिरहने’ बनाइराख्नका लागि मर्यादाका मानकहरू बनाइए ।

जंगली युगमा (अर्थात्, सभ्यताको विकासअघि, अर्थात्, निजी सम्पत्तिको परिकल्पनाअघि) महिला र पुरुषले एकभन्दा बढीसँग यौनसम्बन्ध राख्ने गर्थे, सन्तान उत्पादन सुनिश्चितताका लागि । तर, पितृसत्ताको उदयसँगै यो बहुसम्बन्ध केवल महिलाका लागि बन्देज भयो, पुरुषले कुनै न कुनै हिसाबले जारी राख्यो । त्यसको परिणाम थियो, रूपाजीवाको सिर्जना । त्यसैले नै वेश्यावृत्ति पनि पुरुषकै सिर्जना हो । तर, निश्चित आर्थिक मोलले किन्न सकिने अल्पकालीन यौनसुख प्रदायक रूपाजीवा र दीर्घकालीन निजी श्रीमतीको बीचमा फरक त निर्माण गर्नैपर्ने थियो । त्यो फरक छुट्याउने पर्खाल बनिदियो, मर्यादा । असल स्त्री ‘उत्ताउली’ हुन नपाउने मर्यादा असल स्वास्नीको परिकल्पनाको सुनिश्चितता हो । जबकि रूपाजीवालाई ‘उत्ताउली’ हुन अनिवार्य गरियो । रूपाजीवाको भोग लोभले पुरुषको सम्पत्ति क्षयीकरण नहोस् भनेर नै हो सायद, शास्त्रहरूले ‘श्रीमतीले बिछ्यौनामा वेश्याको भूमिका पूरा गर्नुपर्ने’ दायित्व पनि बोकाइदिएका । त्यसैले नै हो, लोग्ने परस्त्री भोगमा लम्पट हुँदा उसकी स्वास्नीलाई ‘लोग्ने रिझाउन’ (जसको अर्थ हो, बिछ्यौनामा सन्तुष्ट पार्न नसकेको) आरोप लाग्ने गरेको । (यहाँ जानाजान स्वास्नी शब्दको प्रयोग गरिएको छ ताकि परिवार संरचनामा महिलाका लागि सिर्जित हेयपूर्ण स्थिति बोध होस् ।)

प्रसंगवश, यहीँनेर जोडिहालौं, केही ‘नारीवादी’ ले ‘मेरो शरीर, मेरो अधिकार’ को समर्थन गर्ने क्रममा वेश्यावृत्तिलाई छुट दिइनुपर्ने तर्क गर्छन् । ‘रूपाजीवा’ को वैयक्तिक अधिकार, उनीहरूको निर्णयको अधिकारप्रति समर्थन छ । तर, त्यसमा समर्थनको अर्थ गणिका परम्पराको निरन्तरताको पनि समर्थन होइन । माथि नै उल्लेख गरियो, गणिका प्रथा पितृसत्ताकै सिर्जना हो जसको जगमा छ, नारीलाई भोग्याको रूपमा लिइने चिन्तन । र, गणिका प्रथामा रूपाजीवा ‘मानव शरीर’ होइन, ‘मांस माल’ हो जसलाई तोकिएको मूल्यमा किन्न सकिन्छ । तर, आफ्नै मांस मूल्य तोक्ने अधिकार रूपाजीवामा हुँदैन । मार्क्सले श्रमिकहरू श्रमशक्तिबाट अलग गराइन्छन् भनेजस्तै रूपाजीवाहरू पनि आफ्नै शरीर मूल्य निर्धारणबाट छुट्याइन्छन् । यद्यपि रूपाजीवाले यो मूल्य तोक्ने अधिकार पाउँदैमा ऊ माल बन्ने प्रक्रियाबाट मुक्त हुँदिन । शारीरिक सन्तुष्टिका लागि दुई व्यक्तिबीच आपसी सहमतिमा हुने सम्पर्क र क्रेता–विक्रेताबीचको सम्बन्धमा आकाश–जमिनको फरक छ । यसै पनि बजारमा माल खरिद गरेपछि त्यसको भोगको अधिकार क्रेताको हुन्छ । त्यसैले महिलाको मालकरणलाई वैधता दिने गणिका परम्पराको निरन्तरता कुनै पनि अर्थमा स्वतन्त्रता हुन सक्दैन ।

मर्यादा मानक कमजोर, सौन्दर्य मानक बलियो

शरीर राजनीतिका दुई खुट्टामध्ये मर्यादा मानक मूलत: पितृसत्ताको वर्चस्वसँग जोडिएको थियो । यसको जगमा परिवार संस्था र विवाह प्रथा थियो । पुँजीको उत्पादन र पुनरुत्पादन प्रक्रियासँगै सुरु भएको पुँजीवाद– जसको आधारशिला बजारतन्त्र हो– को उदयसँगै पितृसत्ता र विवाह प्रथा कमजोर बन्दै गए । अब महिलालाई मर्यादाको घेराभित्र बाँधिराख्न सम्भव भएन । दुई कारणले– एक, बजारलाई श्रम शक्ति चाहिएको थियो, ठूलो संख्यामा महिलालाई जगेडा राखिरहन सम्भव थिएन । दुई, निजी पुँजीमा आधारित परिवार संरचना केवल पुँजीपति वर्गमा मात्र सीमित हुने स्थिति बनिसकेको थियो, श्रमिक समुदायमा परिवार सम्झौताको सम्बन्ध बनिसकेको थियो । त्यसैले महिलालाई घरभित्रै कैद गरिराख्ने मर्यादा मानकहरू भत्किन थाले । केही मानकहरू पितृसत्ताका अपुतालीका रूपमा शेष रहे (यहाँ मूलत: पश्चिमा समाजको चर्चा गरिएको छ, जहाँ पुँजीवाद प्रबल भयो र जहाँ मर्यादा मानकीकरण कमजोर भयो ।)

यस विपरीत सौन्दर्य मानक भने बजारतन्त्रको विकाससँगै प्रबल हुँदै गयो । यसको मुख्य कारण हो, सौन्दर्य प्रशाधन र महिलाको भोग्याकरण नै ठूलो बजार बनाइयो । सौन्दर्यका निश्चित परिभाषाहरूको निर्माण अब पितृसत्ताले होइन बजारसत्ताले गर्न थाल्यो । अवश्य पनि, त्यसको जग थियो, पितृसत्ता र विश्व पुँजीवाद । ती सौन्दर्यका मानकहरूको प्रचारका लागि ‘ग्ल्यामर जगत्’ को सिर्जना गरियो । र, सौन्दर्यको मानकीकरणमा पश्चिमा साम्राज्यवाद हावी भयो । त्यसैले वंशाणुमा नै कालो वा गहुँगोरो छाला हुनेहरूको समाजमा पनि सौन्दर्यको मानक गोरो छाला नै भयो । र, त्यो गोरो छालाका लागि सौन्दर्य प्रशाधनहरूको निर्माण गरियो । तिनको बेग्लै बजार चलाइयो । परिणाम, जो त्यो सौन्दर्य मानकमा उत्तीर्ण हुन सफल भयो, उसैलाई सुन्दरीको तक्मा पहिराइन थालियो । ती केही हदसम्म अन्यभन्दा लाभान्वित पनि हुनथाले ।

बजारतन्त्रले अर्को विछट्टै काम पनि गर्‍यो, हिजो सामन्तवादसम्म पुरुषहरूको शरीरसम्बन्धी केही मानकहरू थिए र ती मूलत: शक्ति प्रदर्शन र पुरुषत्व सुनिश्चितताका निम्ति मात्रै थिए । पुरुषलाई ‘लोग्नेमान्छे’ जस्तो हुनुपथ्र्यो तर बजारमा बिक्ने सुन्दर बन्नुपर्दैनथ्यो । तर, बजारतन्त्रले त्यो पुरुषलाई पनि आफ्नो माखेसाङ्लोमा ल्यायो किनभने सौन्दर्य प्रशाधन सामग्री त यो हिस्सालाई पनि बेच्नुथियो । अब मिस ब्युटी मात्र भएर पुगेन, मिस्टर ह्यान्डसमहरू पनि चाहिने भयो ।

बजारतन्त्रले महिलालाई केवल सौन्दर्य प्रशाधनको क्रेता मात्र बनाएन किनभने ‘भोग्या चिन्तन’ को जग बसेको समाजमा महिलाको मांस बजारबाट पाउने नाफा पुँजीवादले कसरी त्याग्न सक्थ्यो ? त्यसैको परिणाम हो, वर्तमान पोर्न उद्योग । संसारभरि हुने महिला बेचबिखनदेखि पोर्न उद्योगसम्मको कथा पितृसत्ताले जन्माइदिएको गणिका परम्पराकै आधुनिक निरन्तरता हो ।

छुटेको खुट्टा

यी पृष्ठ विमर्शपछि गरिने प्रश्न हो— अहिले भइरहेको शरीर राजनीतिबारेको बहस के निर्णयात्मक हुन सकिरहेको छ त ? अवश्य छैन, किनभने यसले एउटा खुट्टा मात्र समातेको छ– मर्यादा मानकको खुट्टा । मर्यादा मानकीकरणको विरोध धूवाँदार भइरहेको छ तर त्यससँगै र त्योभन्दा प्रबल भइसकेको सौन्दर्य मानकीकरणबारे सामान्य प्रश्न पनि उठाइएको छैन । किन ? किनभने त्यो प्रश्नले उठाउने समस्याको समाधान केवल शरीर राजनीति विमर्शबाट टुंगिदैन बरु आहुतिले ‘महिला मुक्तिको माल बजार’ (२४ फागुन २०७६, कान्तिपुर) मा दिएको निष्कर्षजस्तै वर्तमान अर्थ–राजनीतिक संरचनाको अन्त्यबिना सम्भव छैन । सौन्दर्य मानकको पासोले जकडिरहने संरचना भएको बजारतन्त्र रहँदासम्म महिलाको शरीरमाथि हुने राजनीति चलिरहन्छ ।

जसरी वर्तमान अर्थ–राजनीतिक संरचनाको जन्मले मर्यादा मानकीकरणलाई कमजोर बनायो त्यसैगरी वर्तमान बजारतन्त्रको अन्त्यले मात्र सौन्दर्य–मानकीकरणको अन्त्य सुनिश्चित गर्छ । वर्तमान अर्थ–राजनीतिक संरचनाको अन्त्यसँगै एकै निमेषमा यो शरीर राजनीति अन्त्य हुनेछ भन्ने पक्कै पनि होइन । तर, यसको अन्त्यले मात्र शरीर राजनीति अन्त्य हुने सम्भावनाको ढोका खुल्नेछ । विडम्बना सिंगो बहसमा यो खुट्टा नै छुटेको छ । सम्भवत: यो बहसमा आएपछि वर्तमान अर्थ–राजनीतिक प्रणालीको विरोधमा उभिनुपर्ने ‘बाध्यता’ ले पनि त्यो संकुचन सिर्जना गरेको हो ।

–बेल्वासे अंग्रेजी साहित्यमा त्रिभुवन विश्व विश्वविद्यालयमा एमफिल अध्ययनरत छिन् ।

प्रकाशित : श्रावण ३१, २०७७ ११:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×