शरीर-राजनीति : बहसमा छुटेको पाटो

अहिले भइरहेको शरीर–राजनीतिबारेको बहस के निर्णयात्मक हुन सकिरहेको छ त ? अवश्य छैन, किनभने यसले एउटा खुट्टा मात्र समातेको छ– मर्यादा मानकको खुट्टा ।
प्रतिभा बेल्वासे

शरीर राजनीति– नेपाली सञ्चारमाध्यममा अहिले चर्चामा रहेका केही विषयमध्ये प्रमुख एक बनेको छ— खासगरी एक सरकारी महिला कर्मचारीले मोटरसाइकलमा ‘नग्न ढाड प्रदर्शन गरिन्’ भन्ने टिप्पणीसहित फोटो सार्वजनिक भएपछि र त्यसबारे अनेकन टिप्पणी भएपछि ।

शरीर-राजनीति : बहसमा छुटेको पाटो

ढाड देखिने लुगा लगाउँदैमा अमर्यादित भनेर गरिएको टिप्पणीको तत्काल प्रतिक्रियास्वरूप सामाजिक सञ्जाल हुँदै समाचारका विचार पृष्ठ र परिशिष्टांकसम्म यो विषयमा छलफल हुनु स्वाभाविक मात्र होइन आवश्यक पनि थियो, हो । हरेक क्रियाप्रति जनाइने प्रतिक्रियाका दुईवटा आयाम हुन्छन्— अल्पकालीन प्रतिक्रियात्मक र दीर्घकालीन निष्कर्षात्मक । पक्कै पनि प्रतिक्रियाले मात्रै सबै मुद्दा समाधान गर्ने होइन तर यो आवश्यक छ । त्यसैले प्रतिक्रियाका सीमाहरूको हकसम्म ती प्रयत्नको प्रशंसा आवश्यक छ ।

सुरुमै स्पष्टीकरण

प्रतिक्रियात्मक बहसले उठाउनुपर्ने हो, निष्कर्षात्मक बहसलाई । तर, प्रतिक्रियात्मक बहस एकांगी भयो भने निष्कर्षात्मक बहस सुरु नै नहुन पनि सक्छ वा भए पनि निर्णयकारी नबन्न सक्छ वा निष्कर्ष पनि उसैगरी एकांगी बन्न सक्छ । शरीर राजनीतिको बहसमा भएको त्यस्तै छ । यसबारे भइरहेको प्रतिक्रियात्मक बहसले एउटा खुट्टा टेक्न बिर्सिएको छ जसले निर्णयात्मक प्रक्रियामा डोर्‍याउने अभ्यासमा बल पुर्‍याउन सकेको छैन भन्ने ठम्याइ नै यो लेखको आधार हो ।

अर्को स्पष्टीकरण, ज्ञान निर्माण व्यक्तिगत पहल कहिल्यै हुँदैन । चिन्तक, दार्शनिक, शोधकर्ताले तयार पारेका सामग्रीको अध्ययन, विभिन्न व्यक्तिसँगको बहस–छलफलका परिणाम हुन् । तिनलाई समय सन्दर्भअनुसार संश्लेषण गर्ने प्रयत्न मात्रै मेरो हो । यद्यपि शोधलेख नभएकाले र अखबारी लेखनकै सीमितताभित्र रहन चाहेकाले तिनको स्रोत खुलाउने जाँगर चलाइएको छैन, यो कमजोरी वा सीमितता हो ।

दुईवटा खुट्टा

शरीर राजनीतिको कडी हो– शरीरबारे निर्णयको अधिकार राख्नु, यसै पनि राजनीति आफैँमा निर्णय प्रक्रिया हो । शरीरसम्बन्धका जति पनि निर्णय छन् त्यसमा स्वंय आफ्नो अधिकार रहने वा अरू कसैको भन्ने विषय नै शरीर राजनीति बहसको मुख्य कडी हो । ती निर्णय प्रक्रियालाई अरू कसैले आफ्नो बनाउनु शरीर राजनीति हो ।

महिलाको शरीर सम्बन्धमा भएको राजनीतिका मुख्य दुई पक्ष छन् : मर्यादाको मानकीकरण र सौन्दर्यको मानकीकरण । यी दुईवटा खुट्टा हुन् शरीर राजनीति उभिने ।

मर्यादाको मानकीकरणको अर्थ हो, शरीर सम्बन्धमा के गर्दा ठीक, के गर्दा बेठीक भन्ने मान्यताको निर्माण । यो मानकीकरण धेरै हदसम्म धर्म, सभ्यता र संस्कारजस्ता ‘अधिरचना’ हरूसँग जोडिएका छन् । जस्तै, इस्लाम धर्ममा महिलाको मर्यादाका लागि बुर्का अनिवार्य गरिएको छ । खस–पहाडी समुदायमा र मधेसी समुदायमा समेत शिर ढाक्नुपर्ने अनिवार्य गरिएको छ । महिलाले लगाउने कपडा कस्तो हुनुपर्छ भन्ने मान्यताहरू यही मानकीकरणसँग जोडिएका छन् ।

सौन्दर्यको मानकीकरणको अर्थ हो, सुन्दर को हो भन्ने मान्यताको निर्माण । यो मानकीकरण सौन्दर्यको परिभाषासँग जोडिएको छ । कस्तो स्त्री सुन्दर हुन्छे वा सुन्दरी हुनका लागि के गरिनुपर्छ भन्ने अवधारणा यसको आधारशिला हो । पूर्वीय प्राचीन सौन्दर्यशास्त्रमा ३६ गुणले युक्त महिला सर्वसुन्दरी हुन्थे जसअन्तर्गत मृगका जस्ता आँखा, सिंहको जस्तो कम्मर र हात्तीका जस्ता जाँघ पर्दथे ।

आधार अर्थ–राजनीति

यी दुवै मानकीकरणको जन्म भने अर्थ–राजनीतिक आधारबाट भएको हो । समाज विकासक्रमको अध्ययन गर्ने जो कोहीलाई पनि थाहा भएको सामान्य सत्य हो, निजी सम्पत्तिको विकाससँगै पितृसत्ताको सुरुआत भयो । सम्पत्तिको स्वामित्व पूर्णत: पुरुषको हातमा भएकाले र त्यो स्वामित्व आफ्ना सन्तति (छोरा मात्रै छोरी होइन) मा सर्दै जाओस् भन्ने सुनिश्चितताका लागि एकनिष्ठ विवाह प्रथाको सुरु गरियो । तर, यो एकनिष्ठता त केवल महिलाका लागि अनिवार्य थियो । एकनिष्ठ विवाह पद्धतिले पुरुष र महिलालाई दुई भागमा बाँडिदियो । पुरुषले रोज्ने अधिकार पायो । महिलाको भागमा पर्‍यो रोजिनुपर्ने नियति ।

सबैजसो जीवमा सन्तान उत्पादन प्रक्रियामा रोज्ने र रोजिने प्रक्रिया समावेश हुन्छ । सामान्यत: मानिसबाहेकका जीवमा रोज्ने अधिकार स्त्रीलिंगीमा हुन्छ किनभने ऊ सन्तानको जन्मदाता हो र हुर्काउने एवं आवश्यक जीवननिर्वाहको सीप सिकाउने पनि ऊ नै हो । उसले आफ्ना सन्तानका लागि सक्षम गुण प्रवाह गर्न सक्ने भालेको खोजी गर्छे । त्यसैले नै भाले मयूरले नाचेर आफ्नो सक्षमता प्रस्तुत गर्नुपर्छ । भाले सिंहको मात्रै याल हुन्छ । बर्खामा भाले भ्यागुता कराएर पोथी भ्यागुतालाई आकर्षित गर्नुपर्छ । तर, यी सबै रोजिने र रोज्ने प्रक्रिया केवल सन्तान उत्पादनको जीववैज्ञानिक प्रक्रियामा मात्र सीमित हुन्छ । तर, निजी सम्पत्तिको विकाससँगै मानव जातिमा सन्तान उत्पादन प्रक्रिया केवल जीव–वैज्ञानिक रहेन । परिणाम, महिलाले एकपटकका लागि होइन सधैँका लागि रोजिनुपर्ने भयो । रोज्ने अधिकार पाएको पुरुषले आफूलाई उत्तम हुने महिलाको मानक बनायो, सौन्दर्यको नाममा । त्यसैले जाति, समुदाय, क्षेत्रअनुसार सौन्दर्यका आ–आफ्नै मानक बनाइए । सौन्दर्यको यस्तो मानकीकरणमा महिलाको दासत्वलाई अनिवार्य ठानियो । त्यसैले सबैजसो समाजमा साना पाइताला भएकी, कोमल स्त्री नै सुन्दर मानियो किनभने त्यसले महिलाको शारीरिक कमजोरीको सुनिश्चितता गर्थ्यो । साना पाइताला र कोमल स्त्री पुरुषसँग जुध्न सक्ने गरी शारीरिक रूपमा बलिष्ठ हुँदैनन् भन्ने ढाडस दिन्थ्यो ।

निजी सम्पत्तिमाथिको स्वामित्वले निर्माण गरेको विवाह संस्थाले अर्कोतर्फ महिला स्वंयलाई पुरुषको निजी सम्पत्ति बनाइदियो । त्यसैले गण–युद्धमा विजित भई ल्याएकीदेखि (कथित) सहमतिमा हुने विवाहसम्मको प्रक्रियाबाट ‘आफ्नो’ हुने महिलालाई मर्यादाको साङ्लोले बाँधेर ‘अरूको नजर नपर्ने’ र ‘आफ्नो घेराभित्र रहिरहने’ बनाइराख्नका लागि मर्यादाका मानकहरू बनाइए ।

जंगली युगमा (अर्थात्, सभ्यताको विकासअघि, अर्थात्, निजी सम्पत्तिको परिकल्पनाअघि) महिला र पुरुषले एकभन्दा बढीसँग यौनसम्बन्ध राख्ने गर्थे, सन्तान उत्पादन सुनिश्चितताका लागि । तर, पितृसत्ताको उदयसँगै यो बहुसम्बन्ध केवल महिलाका लागि बन्देज भयो, पुरुषले कुनै न कुनै हिसाबले जारी राख्यो । त्यसको परिणाम थियो, रूपाजीवाको सिर्जना । त्यसैले नै वेश्यावृत्ति पनि पुरुषकै सिर्जना हो । तर, निश्चित आर्थिक मोलले किन्न सकिने अल्पकालीन यौनसुख प्रदायक रूपाजीवा र दीर्घकालीन निजी श्रीमतीको बीचमा फरक त निर्माण गर्नैपर्ने थियो । त्यो फरक छुट्याउने पर्खाल बनिदियो, मर्यादा । असल स्त्री ‘उत्ताउली’ हुन नपाउने मर्यादा असल स्वास्नीको परिकल्पनाको सुनिश्चितता हो । जबकि रूपाजीवालाई ‘उत्ताउली’ हुन अनिवार्य गरियो । रूपाजीवाको भोग लोभले पुरुषको सम्पत्ति क्षयीकरण नहोस् भनेर नै हो सायद, शास्त्रहरूले ‘श्रीमतीले बिछ्यौनामा वेश्याको भूमिका पूरा गर्नुपर्ने’ दायित्व पनि बोकाइदिएका । त्यसैले नै हो, लोग्ने परस्त्री भोगमा लम्पट हुँदा उसकी स्वास्नीलाई ‘लोग्ने रिझाउन’ (जसको अर्थ हो, बिछ्यौनामा सन्तुष्ट पार्न नसकेको) आरोप लाग्ने गरेको । (यहाँ जानाजान स्वास्नी शब्दको प्रयोग गरिएको छ ताकि परिवार संरचनामा महिलाका लागि सिर्जित हेयपूर्ण स्थिति बोध होस् ।)

प्रसंगवश, यहीँनेर जोडिहालौं, केही ‘नारीवादी’ ले ‘मेरो शरीर, मेरो अधिकार’ को समर्थन गर्ने क्रममा वेश्यावृत्तिलाई छुट दिइनुपर्ने तर्क गर्छन् । ‘रूपाजीवा’ को वैयक्तिक अधिकार, उनीहरूको निर्णयको अधिकारप्रति समर्थन छ । तर, त्यसमा समर्थनको अर्थ गणिका परम्पराको निरन्तरताको पनि समर्थन होइन । माथि नै उल्लेख गरियो, गणिका प्रथा पितृसत्ताकै सिर्जना हो जसको जगमा छ, नारीलाई भोग्याको रूपमा लिइने चिन्तन । र, गणिका प्रथामा रूपाजीवा ‘मानव शरीर’ होइन, ‘मांस माल’ हो जसलाई तोकिएको मूल्यमा किन्न सकिन्छ । तर, आफ्नै मांस मूल्य तोक्ने अधिकार रूपाजीवामा हुँदैन । मार्क्सले श्रमिकहरू श्रमशक्तिबाट अलग गराइन्छन् भनेजस्तै रूपाजीवाहरू पनि आफ्नै शरीर मूल्य निर्धारणबाट छुट्याइन्छन् । यद्यपि रूपाजीवाले यो मूल्य तोक्ने अधिकार पाउँदैमा ऊ माल बन्ने प्रक्रियाबाट मुक्त हुँदिन । शारीरिक सन्तुष्टिका लागि दुई व्यक्तिबीच आपसी सहमतिमा हुने सम्पर्क र क्रेता–विक्रेताबीचको सम्बन्धमा आकाश–जमिनको फरक छ । यसै पनि बजारमा माल खरिद गरेपछि त्यसको भोगको अधिकार क्रेताको हुन्छ । त्यसैले महिलाको मालकरणलाई वैधता दिने गणिका परम्पराको निरन्तरता कुनै पनि अर्थमा स्वतन्त्रता हुन सक्दैन ।

मर्यादा मानक कमजोर, सौन्दर्य मानक बलियो

शरीर राजनीतिका दुई खुट्टामध्ये मर्यादा मानक मूलत: पितृसत्ताको वर्चस्वसँग जोडिएको थियो । यसको जगमा परिवार संस्था र विवाह प्रथा थियो । पुँजीको उत्पादन र पुनरुत्पादन प्रक्रियासँगै सुरु भएको पुँजीवाद– जसको आधारशिला बजारतन्त्र हो– को उदयसँगै पितृसत्ता र विवाह प्रथा कमजोर बन्दै गए । अब महिलालाई मर्यादाको घेराभित्र बाँधिराख्न सम्भव भएन । दुई कारणले– एक, बजारलाई श्रम शक्ति चाहिएको थियो, ठूलो संख्यामा महिलालाई जगेडा राखिरहन सम्भव थिएन । दुई, निजी पुँजीमा आधारित परिवार संरचना केवल पुँजीपति वर्गमा मात्र सीमित हुने स्थिति बनिसकेको थियो, श्रमिक समुदायमा परिवार सम्झौताको सम्बन्ध बनिसकेको थियो । त्यसैले महिलालाई घरभित्रै कैद गरिराख्ने मर्यादा मानकहरू भत्किन थाले । केही मानकहरू पितृसत्ताका अपुतालीका रूपमा शेष रहे (यहाँ मूलत: पश्चिमा समाजको चर्चा गरिएको छ, जहाँ पुँजीवाद प्रबल भयो र जहाँ मर्यादा मानकीकरण कमजोर भयो ।)

यस विपरीत सौन्दर्य मानक भने बजारतन्त्रको विकाससँगै प्रबल हुँदै गयो । यसको मुख्य कारण हो, सौन्दर्य प्रशाधन र महिलाको भोग्याकरण नै ठूलो बजार बनाइयो । सौन्दर्यका निश्चित परिभाषाहरूको निर्माण अब पितृसत्ताले होइन बजारसत्ताले गर्न थाल्यो । अवश्य पनि, त्यसको जग थियो, पितृसत्ता र विश्व पुँजीवाद । ती सौन्दर्यका मानकहरूको प्रचारका लागि ‘ग्ल्यामर जगत्’ को सिर्जना गरियो । र, सौन्दर्यको मानकीकरणमा पश्चिमा साम्राज्यवाद हावी भयो । त्यसैले वंशाणुमा नै कालो वा गहुँगोरो छाला हुनेहरूको समाजमा पनि सौन्दर्यको मानक गोरो छाला नै भयो । र, त्यो गोरो छालाका लागि सौन्दर्य प्रशाधनहरूको निर्माण गरियो । तिनको बेग्लै बजार चलाइयो । परिणाम, जो त्यो सौन्दर्य मानकमा उत्तीर्ण हुन सफल भयो, उसैलाई सुन्दरीको तक्मा पहिराइन थालियो । ती केही हदसम्म अन्यभन्दा लाभान्वित पनि हुनथाले ।

बजारतन्त्रले अर्को विछट्टै काम पनि गर्‍यो, हिजो सामन्तवादसम्म पुरुषहरूको शरीरसम्बन्धी केही मानकहरू थिए र ती मूलत: शक्ति प्रदर्शन र पुरुषत्व सुनिश्चितताका निम्ति मात्रै थिए । पुरुषलाई ‘लोग्नेमान्छे’ जस्तो हुनुपथ्र्यो तर बजारमा बिक्ने सुन्दर बन्नुपर्दैनथ्यो । तर, बजारतन्त्रले त्यो पुरुषलाई पनि आफ्नो माखेसाङ्लोमा ल्यायो किनभने सौन्दर्य प्रशाधन सामग्री त यो हिस्सालाई पनि बेच्नुथियो । अब मिस ब्युटी मात्र भएर पुगेन, मिस्टर ह्यान्डसमहरू पनि चाहिने भयो ।

बजारतन्त्रले महिलालाई केवल सौन्दर्य प्रशाधनको क्रेता मात्र बनाएन किनभने ‘भोग्या चिन्तन’ को जग बसेको समाजमा महिलाको मांस बजारबाट पाउने नाफा पुँजीवादले कसरी त्याग्न सक्थ्यो ? त्यसैको परिणाम हो, वर्तमान पोर्न उद्योग । संसारभरि हुने महिला बेचबिखनदेखि पोर्न उद्योगसम्मको कथा पितृसत्ताले जन्माइदिएको गणिका परम्पराकै आधुनिक निरन्तरता हो ।

छुटेको खुट्टा

यी पृष्ठ विमर्शपछि गरिने प्रश्न हो— अहिले भइरहेको शरीर राजनीतिबारेको बहस के निर्णयात्मक हुन सकिरहेको छ त ? अवश्य छैन, किनभने यसले एउटा खुट्टा मात्र समातेको छ– मर्यादा मानकको खुट्टा । मर्यादा मानकीकरणको विरोध धूवाँदार भइरहेको छ तर त्यससँगै र त्योभन्दा प्रबल भइसकेको सौन्दर्य मानकीकरणबारे सामान्य प्रश्न पनि उठाइएको छैन । किन ? किनभने त्यो प्रश्नले उठाउने समस्याको समाधान केवल शरीर राजनीति विमर्शबाट टुंगिदैन बरु आहुतिले ‘महिला मुक्तिको माल बजार’ (२४ फागुन २०७६, कान्तिपुर) मा दिएको निष्कर्षजस्तै वर्तमान अर्थ–राजनीतिक संरचनाको अन्त्यबिना सम्भव छैन । सौन्दर्य मानकको पासोले जकडिरहने संरचना भएको बजारतन्त्र रहँदासम्म महिलाको शरीरमाथि हुने राजनीति चलिरहन्छ ।

जसरी वर्तमान अर्थ–राजनीतिक संरचनाको जन्मले मर्यादा मानकीकरणलाई कमजोर बनायो त्यसैगरी वर्तमान बजारतन्त्रको अन्त्यले मात्र सौन्दर्य–मानकीकरणको अन्त्य सुनिश्चित गर्छ । वर्तमान अर्थ–राजनीतिक संरचनाको अन्त्यसँगै एकै निमेषमा यो शरीर राजनीति अन्त्य हुनेछ भन्ने पक्कै पनि होइन । तर, यसको अन्त्यले मात्र शरीर राजनीति अन्त्य हुने सम्भावनाको ढोका खुल्नेछ । विडम्बना सिंगो बहसमा यो खुट्टा नै छुटेको छ । सम्भवत: यो बहसमा आएपछि वर्तमान अर्थ–राजनीतिक प्रणालीको विरोधमा उभिनुपर्ने ‘बाध्यता’ ले पनि त्यो संकुचन सिर्जना गरेको हो ।

–बेल्वासे अंग्रेजी साहित्यमा त्रिभुवन विश्व विश्वविद्यालयमा एमफिल अध्ययनरत छिन् ।

प्रकाशित : श्रावण ३१, २०७७ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?