अब आर्काइभमा ‘हरि/बलराम’- कोसेली - कान्तिपुर समाचार

अब आर्काइभमा ‘हरि/बलराम’

नेपाली कांग्रेसको रिपोर्टिर्ङ गर्दागर्दै हामी दुई जनाको ‘बिट’ विभाजित हुन पुग्यो । बलरामजीको भागमा ‘नेपाली कांग्रेस’ पर्‍यो भने मेरो भागमा चाहिँ ‘प्रजातान्त्रिक कांग्रेस’ । मेरो नामसँग ‘बहादुर’ जोडिएको थियो, पार्टी विभाजन गर्ने ‘बहादुर’ सँगै रम्नुपर्ने भयो । ‘राम’ जोडिएका बलरामजीको भागमा ‘राम’ हरूकै ‘नेपाली कांग्रेस’ पर्‍यो ।
हरिबहादुर थापा

काठमाडौँ — मित्र बलराम बानियाँको निधनको अकल्पनीय घटनाले मेरो मन–मस्तिष्क विचलित तुल्याइरहेको छ । लामो समय सहकार्य र सहयात्रामा हिँडेका मित्रको असामयिक अवसानको अप्रत्याशित समाचार पत्याउनै मुस्किल पर्‍यो । त्यो खबरसँगै सामाजिक सञ्जालमा उनका तस्बिरसहित ‘श्रद्धाञ्जली’ छाउन थाले ।

मैले त्यो हेर्न सकिनँ र त्यसपछि सामाजिक सञ्जालमा प्रवेश गर्नेसमेत आँट आएन ।

विचलन र पीडाबीच कान्तिपुर ‘कोसेली’ संयोजक दीपक सापकोटा भाइले भने, ‘तपाईंहरू दुवैले लामो समयसँगै सहयात्रा र रिपोर्टिङ गर्नुभयो । तपाईंले बलराम दाइबारे संस्मरण लेखिदिनुपर्‍यो ।’

मैले आग्रह टार्न सकिनँ । कान्तिपुरमा अनगिन्ती संयुक्त ‘बाइलाइन’ मा समाचार लेखेकै मित्रको अवसानमाथि लेख्नु अझ पीडादायी हुँदो रहेछ । कान्तिपुर दैनिक प्रकाशन हुनुपूर्व नै त्यो संस्थासँग आबद्ध हुने पात्रमध्ये म र बलराम बानियाँ पनि हौं । तत्कालीन सम्पादक योगेश उपाध्यायसँग राम्रै चिनजानका कारण म २०४९ मंसिरको पहिलो साता कान्तिपुरसँग आबद्ध हुन पुगेँ । बलरामजीचाहिँ कान्तिपुर प्रकाशन हुनु केही दिनअघि । २०४९ फागुन ७ मा निजी क्षेत्रबाट एकैचोटि नेपाली र अंग्रेजी दुवै भाषाका ‘ब्रोडसिट’ अखबार प्रकाशनमा आएका थिए, जसको प्रारम्भिककालमै हामी सदस्य बन्यौं । त्यसरी ठूलो आकारमा दैनिक अखबार आउँदा समाज नै तरंगित भएको थियो ।

हामी दुवैको कान्तिपुर प्रवेशचाहिँ फरक–फरक सेक्सनमा थियो । म कम्प्युटर सेक्सनमा र बलरामजी प्रुफतिर । अनि, हामी दुवै कलेज पढ्दै गरेका विद्यार्थी पनि थियौं । डेढ वर्षपछि कार्यक्षेत्र बद्लियो । कम्प्युटरबाट सेवा परिवर्तन हुँदै मेरो रिपोर्टिङतिर प्रवेश भयो । अर्थात् म रिपोर्टर भएँ । त्यसको केही महिनापछि बलरामजीलाई पनि प्रुफबाट समाचार सम्पादन कक्षमा उपसम्पादकको नियुक्ति मिल्यो ।

त्यसपछि म रिपोर्टिङमा रमाउन पुगेँ भने बलरामजी समाचार सम्पादनतिर । समाचारहरूको सम्पादन गर्ने दायित्व उनको थियो । २०५६ पछि उनी डेस्कबाट रिपोर्टिङमा सरुवा भए । त्यसपछि उनको र मेरो एकैखाले रिपोर्टिङ बिट थियो, ‘संसद्, सत्तारूढ नेपाली कांग्रेस, संवैधानिक अंग, जलस्रोत र प्रशासनिक वृत्त ।’ हाम्रो भागमा कार्यक्षेत्र बृहत्तर थियो ।

अझ त्यो कालखण्डमा सत्तारूढ कांग्रेसको सधैंभरिको किचलो, झगडा, विवाद र विभाजनसम्मका अनगिन्ती समाचार, टिप्पणी, अन्तर्वार्ता ‘हरिबहादुर थापा/बलराम बानियाँ’ लेखिने संयुक्त ‘बाइलाइन’ मा आइरहे, जुन कान्तिपुरका ‘आर्काइभ’ मा सुरक्षित छन् । त्यहीकारण कान्तिपुरभित्र ‘हरि/बलराम’ थेगोसमेत बनेको थियो ।

२०५७ मा कांग्रेसको पोखरा महाधिवेशनको समाचार सम्प्रेषणमा हामी दुवै खटेका थियौं ।

सत्तारूढ कांग्रेसको महाधिवेशन राष्ट्रिय राजनीतिको केन्द्रविन्दुमा थियो, अनि सबैको चासोमा पनि । एक दिनमै पाँच–छवटासम्म समाचार पोखराबाट पठाउनुपर्ने हुन्थ्यो, अनेकन कोणबाट । घटनाक्रम परिवर्तन भइरहँदा रात परेपछि मात्रै समाचार लेख्नुपर्ने स्थिति हुन्थ्यो । एक रात कान्तिपुर क्षेत्रीय कार्यालय पोखराको कम्प्युटरले धोका दियो । हातले समाचार लेख्ने बानी टुटिसकेको थियो । यतिखेरजस्तो बग्रेल्ती कम्प्युटर पनि हुँदैनथ्यो । राति पोखराकै स्थानीय पत्रकारसँग कम्प्युटर सहयोग माग्नुपर्ने स्थिति बन्यो । ती पत्रकारको निवासमै गएर दुई घण्टाका बीचमा पाँचवटा समाचार लेखियो, जुन समाचारले पहिलो र तेस्रो पृष्ठ भरिएका थिए । बलरामजीले भन्ने, म लेख्ने । कम्प्युटरमा मेरो हात छिटो चल्ने हुँदा त्यति थोरै समयमा त्यति धेरै समाचार पठाउँदा हामी दुवै आश्चर्यमा परेका थियौं ।

सत्तारूढ दलको रिपोर्टिङ गर्ने संवाददाताहरूको सधैंभरिको पीडा हुन्छ, मध्यरातसम्म खट्नुपर्ने । रात छिप्पिँदै जाँदा नेताहरू तात्छन् । तिनको झगडाको तथ्य खोजी गर्दै समाचार लेख्नु त्यति सहज हुन्न, जति ठानिन्छ ।

२०५९ जेठ लागेपछि कांग्रेस कलहको ‘भुंग्रो’ मा परेपछि हरेक दिन त्यसरी मध्यरातसम्मै खट्नुपर्ने स्थिति पैदा भयो । २०५९ जेठ ८ को मध्यरातमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिनिधिसभा विघटनको सिफारिस र विघटनसँगै कांग्रेसको हविगत यतिखेर नेकपाजस्तै थियो । फरक यत्ति थियो, कांग्रेस सभापति र प्रधानमन्त्री फरक–फरक व्यक्ति थिए ।

त्यो २०५९ जेठ ८ को दिनभर बालुवाटारमा कांग्रेस संसदीय दलको चर्काचर्की बैठक चल्यो । पार्टी सभापति गिरिजाप्रसाद कोइराला निकट समूहले माओवादीविरुद्धको संकटकालीन अवधि थप नगर्ने अडान लिएको थियो । अन्ततः संसदीय दलबाट त्यही निर्णय भयो, ‘भोलिपल्ट बिहान मन्त्रिपरिषद् बैठक राख्ने र निर्णय लिने ।’

साँझ साढे ७ बजेसम्म स्थिति ठीकै थियो । त्यही समाचार लेखेर घर फर्किएको मात्रै के थिएँ— एक मन्त्रीको फोन आयो, ‘ठूलै निर्णय हुँदै छ, राति ११ बजेको रेडियो समाचार सुन्नु !’ दरबारको विज्ञप्ति बज्यो, ‘प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन र मध्यावधि चुनावमा जाने ।’

त्यससँगै कांग्रेसभित्रको कलहले उत्कर्ष लियो । त्यो दिनपछि हरेक दिनजसो कांग्रेसको समाचार संयुक्त बाइलाइनमा २०५९ असारको पहिलो सातासम्मै हामीले लेखी नै रह्यौं– ‘पार्टी निर्णय अवज्ञा गरेकामा प्रधानमन्त्री निलम्बितदेखि मन्त्रीहरूलाई राजीनामा निर्देशनसम्म ।’

अन्ततः त्यो कलहले असारमा कांग्रेसलाई विभाजनको स्थितिसम्म पुर्‍यायो । राजनीतिक परिदृश्यमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) देखापर्‍यो । कांग्रेस विभाजन भएकै भोलिपल्ट हामी दुवैको संयुक्त बाइलाइनमा प्रमुख समाचार छापियो– ‘कांग्रेसबाट समूह चोइटियो ।’ त्यसरी लेख्नुको खास कारणचाहिँ विभाजनका निम्ति चाहिने आवश्यक गणितीय संख्या केन्द्रीय समितिमा देउवा समूहमा थिएन । त्यही तथ्यांक विश्लेषणसहितको त्यो शीर्षकको समाचारले हल्लीखल्ली पैदा गरेको थियो ।

कांग्रेस विभाजनसँगै अनौठा संयोग र अनेकन् दृश्य देखियो, जुन दृश्य र तथ्य ‘कोसेली’ मा मेरो र बलरामजीको संयुक्त बाइलाइनमा छापियो । कांग्रेस विभाजनमा पति एकातिर पत्नी अर्कातिर, आमा एकातिर छोरी अर्कातिर, दाजु एकातिर भाइ अर्कातिर । काका–भतिजा, दाजु–बहिनी पनि भिन्नभिन्न हुन पुगे ।

२०५९ साउन ११ गतेको कोसेली

अर्को संयोगचाहिँ कांग्रेसभित्र ‘राम’ जोडिने एकातिर, ‘बहादुर’ जोडिएकाहरू अर्कातिर । अर्थात्, शेरबहादुर देउवा, खुमबहादुर खड्का, बलबहादुर केसी, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, भक्तबहादुर बलायर, केशवबहादुर थापा, मोहनबहादुर बस्नेतलगायत ‘तमाम बहादुर’ एकै ठाउँमा देखिनु ‘संयोग’ मान्नुपर्छ । अर्कातिर रामचन्द्र पौडेल, रामशरण महत, रामहरि जोशी, रामवरण यादव, रामकृष्ण ताम्राकार, रामहरि ढुंगेल, रामचन्द्र तिवारी, रामचन्द्र पोखरेल, रामबहादुर गुरुङ, रामनाथ अधिकारी, तीर्थराम डंगोल, रामकुमार चौधरी एकै ठाउँमा रहे ।

कांग्रेस विभाजनको ‘असर र प्रभाव’ कान्तिपुरमा पनि पर्‍यो । नेपाली कांग्रेसको रिपोर्टिर्ङ गर्दागर्दै हामी दुई जनाको ‘बिट’ विभाजित हुन पुग्यो । बलरामजीको भागमा नेपाली कांग्रेस पर्‍यो भने मेरो भागमा चाहिँ प्रजातान्त्रिक कांग्रेस । कांग्रेसभित्रको ‘संयोग’ कान्तिपुरमा पनि पर्‍यो । मेरो नामसँग ‘बहादुर’ जोडिएको थियो, पार्टी विभाजन गर्ने ‘बहादुर’ हरूसँगै रम्नुपर्ने भयो । ‘राम’ जोडिएका बलरामजीलाई ‘राम’ हरूकै नेपाली कांग्रेस रिपोर्टिङ गर्नुपर्ने गरी सम्पादकीय नेतृत्वले ‘बिट’ विभाजन गर्‍यो । मलाई विभाजित कांग्रेसको रिपोर्टिङ गर्ने रुचि जागेन । मैले प्रजातान्त्रिक कांग्रेस बिटको रिपोर्टिङ नगर्नेर् अडान लिएँ । त्यसपछि मलाई जिल्ला ब्युरो प्रमुखको जिम्मेवारी दिइयो । अर्थात्, म दैनिक रिपोर्टिङबाट मुक्त भएँ ।

अब बलरामजीलाई दुवै कांग्रेसको रिपोर्टिङ गर्नुपर्ने बाध्यता आइलाग्यो । सजिलोका निम्ति ‘कोइराला कांग्रेस’ र ‘देउवा कांग्रेस’ लेख्ने नीति कान्तिपुर सम्पादकीय नेतृत्वले लियो । तर, बलरामजीले समाचार लेख्दा ‘नेपाली कांग्रेस’ नै लेख्ने गर्थे, छापिँदा ‘कोइराला कांग्रेस’ हुँदै छापिन्थ्यो । डेस्कका सहकर्मीले उनको समाचारमा ‘नेपाली’ सर्च गर्दै त्यसलाई ‘कोइराला’ ले ‘रिप्लेस’ गरिदिन्थे । डेस्कका सहकर्मीहरू आग्रह गरिरहन्थे, ‘बलराम दाइ, नेपाली कांग्रेस छापिँदैन । कोइराला कांग्रेस नै लेख्नुभए हामीलाई सजिलो हुन्थ्यो ।’ तर, बलरामजीले आफ्नो धर्म निर्वाह गर्न छाडेनन्, ‘नेपाली कांग्रेस’ नै लेखिरहे । कान्तिपुरका पानामा लामो समयसम्म ‘कोइराला कांग्रेस’ छापिइरह्यो । कार्यक्षेत्र फरक भएपछि बलरामजीको र मेरो संयुक्त बाइलाइन बिरल बन्दै गयो, कांग्रेसभित्र ठूला घटना हुँदाबाहेक ।

उनी पत्रकार महासंघको चुनावमा एकपटक सदस्य र अर्कोचोटि सचिवको उम्मेदवार बने । उनलाई जिताउन भरमग्दुर सहयोग गरेँ । दुवै पदमा उनले चुनाव पनि जिते । उनी महासंघमा सदस्य र सचिव भएपछि मुलुकभरका पत्रकारसँग सम्पर्कमा गए । मचाहिँ पत्रकार महासंघको महाधिवेशनमा मतदाता मात्रै रहेँ ।

२०६५ भदौमा कान्तिपुर प्रकाशनका लगानीकर्ता विभाजित हुन पुगे । त्यो विभाजनले सम्पादकीय नेतृत्वमा पनि असर पार्‍यो । त्यसपछि म कान्तिपुर दैनिकको समाचार सम्पादक बनेँ भने बलरामजी ‘चिफ रिपोर्टर’ मा नियुक्त भए । नागरिक दैनिक खुलेपछि कान्तिपुरका पूर्वसम्पादक नारायण वाग्ले नागरिकका प्रधानसम्पादक भए । बलरामजी पनि नागरिकतिर गएपछि केही समय सहकार्य टुट्यो । फेरि कान्तिपुरमै उनी फर्किएपछि सहकार्य जोडियो । २०७५ साउनमा म कान्तिपुर प्रकाशनबाट बाहिरिएपछि फेरि स्वाभाविक रूपमा सहकार्य टुट्यो । भेटघाट पातलो भयो र टेलिफोन सम्पर्कमा सीमित रह्यो । झन्डै २८ वर्षे सहयात्राका दौरानमा बलरामजीसँग कुनै पनि विषयमा सामान्य मतमतान्तर वा विवाद भएको घटना मलाई याद छैन ।

सम्पादनमा उनको राम्रो दक्षता थियो । तर, मसँग सम्पादनको अनुभव थिएन । मैले लेखेका समाचार डेस्कमा पठाउनुपूर्व एकपटक उनलाई देखाउने बानी बसेको थियो । मैले २०५८ मा ‘भ्रष्टाचारको शल्यक्रिया’ पुस्तक लेखेँ । त्यो पुस्तकको सम्पादन उनैले गरेका हुन् । २०६१ मा प्रकाशित मेरो ‘विदेशी सहायताका विसंगति’ पुस्तकको सम्पादन पनि उनैबाट भयो । भाषामा दख्खल भएको हुँदा बलरामजीसँग सधैंभरि मेरो आग्रह रहिरहन्थ्यो, ‘संसद् या प्रशासनबारे किताब लेख्नुस्, त्यसमा म सहयोग गर्छु ।’ सधैंभरि जवाफ हुन्थ्यो, ‘म लेख्छु ।’ तर, त्यो दायित्वचाहिँ उनीबाट निर्वाह भएन ।

लामो समयको सहकार्यकै कारण मलाई लाग्छ, उनी पत्रकारिता र जिन्दगीदेखि हार खाने व्यक्ति होइनन् । सधैंभरि खरो, निर्भीक र निडर लेखनमा डटिरहेका व्यक्ति हुन् । त्यहीकारण मन्त्रिपरिषद्का नीतिगत निर्णयका विषयमा समाचार लेख्दासमेत उनलाई ‘अरिंगाल’ हरूले सामाजिक सञ्जालमा ‘ट्रोल’ मा पार्ने क्रियाकलापसमेत भयो । यद्यपि त्यतिखेर अरिंगाल शब्द ‘क्वाइन’ भएको थिएन । कतिले ‘श्रद्धाञ्जली’ शब्दसम्म प्रयोग गरे, संवेदनहीन चरित्र प्रदर्शन गर्दै ।

लेखक गुरचरण दासले ‘दी डिफिकल्टी अफ बिइङ्ग गुड’ मा असल–इमानदार पात्रहरूले ‘संकट’ भोग्नुपर्छ भनी ऐतिहासिक उदाहरण प्रस्तुत गरेका छन्, त्यसबेला त्यही नियतिमा बलरामजी पनि परे । सोझा, असल–इमानदारकै पहिचानसहित बलरामजी बिदा भए । आत्माले शान्ति पाओस्, श्रद्धाञ्जली बलरामजी !

(शनिबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : श्रावण ३०, २०७७ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्

बस्तीमा किन छिर्छन् बाँदर ?

आफ्नो डफ्फाका सदस्य वा नातेदारमरेपछि बाँदरहरू शोक गर्छन् । नजिक गई जाँच–पडताल गर्छन् र सक्ने भए बोकी–बोकी हिँड्छन् ।
मुकेशकुमार चालिसे

नेपालका प्रायः हिमाली उच्च भूभागबाहेक अरू स्थानमा बाँदरले मानिसहरूलाई निकै दुःख दिएको र बालीनाली नोक्सान गरेर आजित पारेको खबर दिनहुँ आइरहन्छन् । यस अवस्थामा अब बाँदरलाई मार्ने (?) कि अन्यत्रै सार्ने भन्ने बहस पनि चलेको छ । यस समस्या पहिचान गर्न गाउँ र नगरपालिकामा बजेटसमेत छुट्याइएको छ ।

वास्तवमा किन नेपालका करिब १८५ भन्दा बढी स्तनधारी प्रजातिमध्ये बाँदरको चर्चा अधिक हुन्छ ? त्यो बुझ्न पहिले बाँदरका आनीबानी तथा क्रियाकलाप जान्नु जरुरी हुन्छ ।

बाँदर, वनमान्छे तथा आधुनिक मानव समुदायका पुर्खाहरू करिब ३०–४० लाख वर्षअघि पृथ्वीमा देखापर्न थालेको कुरा जीवाशेषहरूबाट अनुमान गरिएको छ । उतिखेर पृथ्वीमा विचरण गर्ने एक किसिमका कीटपतंग खाने स्तनधारी जीवबाट प्राइमेटस् वर्गको उदय भएको थियो । त्यस प्राणीको विकासक्रमले दुईवटा हाँगामा विभाजन ल्यायो । एउटा हाँगा वर्तमानमा कीटपतंग खाने र केही निशाचर (राति सक्रिय रहने) समूहका बाँदर जातिहरू छन् । तिनीहरू आजकल ‘प्रोसोमी’ उपवर्गअन्तर्गत अफ्रिका तथा दक्षिण एसियाका केही भागमा पाइने अल्पविकसित लेमुर, टार्सिएर्स तथा लोरिसहरूका नामले चिनिन्छन् । संख्यात्मक हिसाबले पनि तिनीहरू न्यून छन् । अर्को एउटा हाँगा ‘एन्थ्रोप्वाइडी’ उपवर्गमा पुनः भिन्न धारामा विकसित भई अमेरिकी क्षेत्रमा पाइने थेप्चा नाक भएका बाँदरहरू, नाक ऊर्ध्व भएका अफ्रिकी, एसियाली बाँदरहरू तथा यसैबाट अर्को एक हाँगा पुच्छर नभएका ठूला बाँदर जातिमा विकसित भए । ओराङउताङ, गोरिल्ला, चिम्पान्जी र बोनोबोहरू यसै क्रममा देखा परे । यसैको एउटा स्वतन्त्र हाँगाबाट मानवजातिको विकास भएको तथ्य विभिन्न किसिमका जीववैज्ञानिक खोजहरूबाट प्रमाणित भएको छ ।

***

सानो मुसो आकारदेखि भीमकाय गोरिल्ला (करिब ४०० पाउन्ड) जस्ता आकारमा बाँदर जातिहरू पाइन्छन् । हालसम्म ५६ जातिका (वंश) बाँदर करिब २३४ भन्दा बढी उपजातिमा वर्गीकरण गरिएको पाइन्छ । पृथ्वीको भूमध्यरेखाको दुवैतिर ४० उत्तर र ४०‍ दक्षिणसम्म मात्र पाइने यी विभिन्न जातिहरू युरोप, उत्तर अमेरिका, कोरिया, अस्ट्रेलिया आदि स्थानमा पाइँदैनन् भने अफ्रिका र दक्षिणपूर्वी एसियामा विभिन्न बाँदर जातिहरू बाक्लो रूपले पाइन्छन् । एसियायी तथा अफ्रिकी बाँदरहरू जंगलसाथै मठ, मन्दिर तथा सहर–बजार क्षेत्रमा पनि पाइन्छन् ।

***

अन्य स्थानमा पाइएजस्तै नेपालमा पनि विभिन्न धरातलीय जलवायुमा बाँदरका मुख्य ३ जाति पाइन्छन्– रातो बाँदर (मकाका मुलाटा), पहरे वा आसामी बाँदर (मकाका आसामेन्सिस) र लंगुर बाँदर (सिमेनोपिथेकस इन्टेलस) ।

रातो बाँदर (मकाका मुलाटा) तराईको उष्णप्रदेशीय जंगलदेखि मन्दिर, स्तूप तथा सहरसाथै उच्च पहाडी वनजंगल र हिमालयको फेदीसम्म पाइएको छ । पहरे वा आसामी बाँदर (मकाका आसामेन्सिस) चाहिँ नेपालको संरक्षित वन्यजन्तुमा पर्छ । यो मध्यपहाडी शृंखलाको जंगली भागमा पाइने ध्वाँसे रङको बाँदर हो । हुलाक सेवा विभागले यसको चित्रअंकित टिकट पनि प्रकाशन गरेको छ । यस बाँदरबारे अनुसन्धान हुनै बाँकी छ । नेपालमा यस लेखकले ०५३ देखि अध्ययन गरेर केही तथ्य प्रकाशमा ल्याएका हुन् । पछि अन्तर्राष्ट्रिय रूपमै यस बाँदरलाई ‘नेपालको सङ्ख्या’ भनेर मौलिक रूपमा चिनिन थालियो । तेस्रो लंगुर बाँदर (सिमेनोपिथेकस इन्टेलस() को मुख कालो छ र रौं सेतो छ । लामो पुच्छर भएकाले यो हनुमान बाँदरका नाममा प्रख्यात छ । तराईदेखि उच्च पहाडी भूभागसम्म यो बाँदर पाइन्छ । लंगुर नेपालको तराई, मध्यपहाडतिरका उच्च भाग तथा हिमाली क्षेत्रमा पाइने तीन उपजातिका रहेको निर्क्योल भइसकेको छ ।

के खान्छन् ?

बाँदर जातिलाई सर्वहारी भनिन्छ । बाँदरहरूले खानाका रूपमा फलफूलका पात, मुन्टा, कोपिला, फूल, बियाँ, खोटो/चोप, माटो, खरानी/लेउ, कीरा/फट्याङ्ग्रा र मासु खान्छन् । बढी मासु खाने र त्यसका लागि सिकार नै गर्ने बाँदरमा बबुन्स तथा चिम्पाञ्जी पर्छन् । तर, स–साना कीरा–फट्याङ्ग्रा भने सबै प्रजातिले खान्छन् । तयारी खाना अर्थात् मकै, फलफूल, तरकारी, आलु, अलैंची, धान, गहुँ, कोदो, फापरलगायत मानिसले खेती गर्ने जुनसुकै बाली सहवासका बेला बाँदरका लागि प्रिय र आकर्षणका वस्तु हुन् । यसैले मकालु–वरुणका अरुण–तमोर नदीछेउ, धनकुटा, खोटाङ, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, धादिङ, कास्की, बागलुङ, गुल्मी, बैतडी आदि जिल्लामा किसानलाई बाँदरले दिनु दुःख दिएको छ । मानिसका तयारी आधुनिक उत्पादनमा समेत बाँदर आकर्षित हुन्छ । नेपालका मठ–मन्दिर, घाट र ध्यानकेन्द्रतिर अनेक क्रियाकलापमा मग्न बाँदर देखिन्छन् । ती अक्सर कोन समाती आइसक्रिम चाटिरहेका, मानिसले झैं ठाडो घाँटी लाएर कोकाकोला पिइरहेका, भान्सामा सिठ्ठी लागेपछि प्रेसर कुकर बोकेर दौडिरहेका, आलु–चिप्स खाइरहेका, मानिसका बालीतिर रमाइरहेका देखिन्छन् ।

***

बाँदरलाई पनि मानिसलाई जस्तै रोगव्याध लाग्छ । निमोनिया बाँदरहरूमा खतरनाक हुन्छ । रुघाखोकी, पेटसम्बन्धी पीडा, जुका आदिले बाँदरलाई सताइरहेको हुन्छ । बाँदरले मानिसका रोगहरू ओसार्ने काम पनि गर्न सक्छन् जस्तै– औलो, पहेंलोज्वरो, मेनेन्जाइटिस, क्षयरोग, छालाका रोग, जुका आदि । केही बाँदरमा गलगाँड तथा पक्षाघात (प्यारालाइसिस) हुने सम्भावना भेटिन्छ भने केही पोलियो रोगले मरेका पनि पाइन्छन् । मानिसलाई लाग्ने सबै रोग बाँदर प्रजातिमा सर्ने र बाँदरबाट मानिसमा सर्ने भएकाले मानिसका रोगका लागि बाँदरमा अनुसन्धान र औषधिको प्रयोग गरी खोपहरूसमेत विकसित भएका छन् । नेपालमै बाँदरपालन गरी औषधि विज्ञानमा राजस्व कमाउने तथा त्यस क्षेत्रमा विविध अनुसन्धान गराउन वैज्ञानिक तयार पार्ने सद्बुद्धि हामीलाई कहिले आउला ? किनकि अरू देशमा यिनै राता बाँदरमा गरिएको अनुसन्धानबाटै विभिन्न रोगका औषधि र खोप तयार पारिएका छन् । मानव जातिको उत्थानमा अन्य जनावरलाई प्रयोग गरिने प्रचलन सबैभन्दा हितकारी देखिएको छ ।

***

बाँदर प्रजातिमा मोटामोटी रूपले चार किसिमको सामाजिक संरचना पाइन्छ । (१) जोडा समूह– भालेपोथी र बच्चा (२) एक वयस्क भाले र थुप्रै वयस्क पोथीहरू तथा किशोर र बच्चाहरू (३) धेरै वयस्क भाले र धेरै वयस्क पोथीका साथ किशोर बच्चाहरू (४) भाले समूह– कहीँकहीँ कुनै बाँदर प्रजातिमा जवान भएपछि भालेहरूले आफ्नो समूह छोड्छन् र भाले मात्रको एउटा जोगी समूह बनाउँछन् । बलियो र वयस्क भएपछि यीमध्येका भालेहरू अन्य समूहमा मिसिने कोसिस गर्छन् ।

बाँदर समूहमा स्पष्ट प्रशासनिक तह पाइन्छ । सबभन्दा लडाकु भाले प्रथम श्रेणीमा पर्छ, अरू वयस्क भाले र पोथीहरू दोस्रो तहमा पर्छन् भने बूढा, कमजोर, रोगी, भर्खर ब्याएकी पोथी तथा स–साना बच्चाहरू सबैभन्दा तल्लो श्रेणीमा पर्छन् । सामान्यतया सगोत्री मातृ वंशबाटै समूह बनेको हुन्छ तर वयस्क भालेहरू प्रायः यौनसम्पर्कका लागि आफ्नो समूह छाड्छन् । गोरिल्ला र बबुनहरूमा चाहिँ भालेहरूले पोथी ल्याउने अर्थात् पोथीहरू आउने भएकाले करिब मानिसको झैं परिवार बन्छ ।

***

सबै प्राइमेट प्रजातिमा मासिक धर्म हुन्छ । स्पाइडर नामक बाँदर १४–२१ दिनमा महिनावारी हुन्छ भने रातो बाँदर (मकाक समूह) २८–३१ दिन, लंगुर बाँदर ३० दिन, बबुन ३५ दिन, चिम्पाञ्जी ३५ दिन र मानिसहरू २८–३० दिनमा रजश्वला हुन्छन् । महिनावारी नियमित भए पनि विभिन्न कारण धेरै जातिमा निश्चित ऋतुमा मात्रै गर्भाधान हुन्छ । यसैले भाले लाग्ने समय र बच्चा पाउने समय निश्चित हुन्छ । यौनसम्पर्क प्रायः पछाडिबाट हुन्छ तर केही बाँदरहरूमा छातीछाती जोडेर चुम्बन गर्दै पनि हुन्छ । सम्पर्कअघि भालेले प्रायः आँखा जुधाउने, काउकुती लगाउने, चुम्बन गर्ने, यौनांगमा छुने, कन्याउने, जीउ सफा गरेर फकाउने, जुम्रा हेरिदिएर पोथीलाई उत्तेजित बनाउने कोसिस गर्छ । त्यस्तै बैंसले उन्मत्त बाँदर्नी बलिया वा मन परेका भालेका अघि उभ्भिएर इसारा गर्ने, यौनांग देखाएर समागमका लागि उक्साउने गर्छन् । गर्भधारण गर्ने अवधि पनि विकसित र ठूला जातिमा क्रमैसँग बढी हुन्छ । एसियाली र अफ्रिकी बाँदरहरूले १६८ दिनसम्म गर्भधारण गर्छन् भने गिब्बनले २१० दिन, चिम्पाञ्जीले २२८ दिन, गोरिल्लाले २५८ दिन, ओराङ्उताङले २६४ दिन र मानिसले २६६ दिनमा गर्भधारण गर्छन् ।

बाँदरहरू प्रायः राति बच्चा जन्माउँछन् । एक बेतमा एउटा बच्चा हुन्छ तर कहिलेकाहीँ जुम्ल्याहा बच्चा पनि पाइन्छ । नेपालमा यस लेखकले सन् २००५ तिर पशुपति र स्वयम्भू क्षेत्रमा बाँदरहरूको एकै बेतमा जुम्ल्याहा, तिम्ल्याहा र चम्ल्याहाको रेकर्डसमेत गरेको छ । यो संसारमै अनौठो घटना हो । २–३ वर्ष बाँदरको दूधे बालकको अवस्था हुन्छ भने ५–६ वर्षमा ऊ किशोर हुन्छ । त्यस्तै बाँदरको जम्मा आयु– लेमुरको १५ वर्ष, एसियाली बाँदरको २८ वर्ष, गिब्बनको ३५ वर्ष, ओराङ्उटाङको ३०–४० वर्ष, चिम्पाञ्जीको ४०–५० वर्ष र गोरिल्लाको ४०–५० वर्ष हुन्छ । खाना र वातावरणको राम्रो प्रभावमा बाँदर बढी बाँच्न पनि सक्छन् ।

***

अब बाँदरका आनीबानीको कुरा गरौं । बाँदर र मानिसको सम्बन्ध अनादिकालदेखि प्रगाढ छ । स्थानपिच्छे बाँदरसम्बन्धी थुप्रै कथा, टुक्का र उपमा छन् । हाम्रो जनजीवनमा बाँदर गाँसिनुको प्रमुख कारण उनीहरूको चाखलाग्दो हाम्रैजस्तै स्वभाव भएर हो । मानिसका बालबच्चा, केटाकेटी, किशोर–किशोरी, वयस्क, प्रौढ तथा विभिन्न उमेर समूहले जस्तो व्यवहार गर्छन्, नियालेर अध्ययन गरे बाँदरहरूले पनि त्यस्तै व्यवहार प्रदर्शन गरिरहेका हुन्छन् । वयस्क हुनुअघिसम्म बाँदरको दिनचर्या खानु–खेल्नुमै बित्छ । तिनीहरू ठूलाको सिको गरेर खाना खोज्छन् । चलाख बाँदरचाहिँ कुनै वस्तु खाने कि नखाने भनेर निकै बेर जाँच गर्छ । त्यसैलाई हामी चकचक गरेको भन्छौं । लखेटा–लखेटी, भेट्टाइ, कुस्ती तानातान, लुकामारी र तेलकासा, भुइँकासाजस्ता लाग्ने खेलहरू प्रायः बाँदरका बच्चाहरू खेलिरहन्छन् । किशोरकिशोरी बाँदर एकअर्कालाई तर्साउने, झुक्याउने, अचानक आक्रमण गर्ने तथा बलियो छु भनी हाँगा हल्लाई फुइँ गर्ने खेल पनि खेल्छन् । बच्चामा मिलेर खेल खेल्ने तिनै बाँदर–बाँदर्नीहरू उमेर बढ्दै गएपछि टाढा–टाढा हुँदै यौनसाथी खोज्न जान्छन् र आफन्तबाट टाढा हुन्छन् ।

समूहबाट एक्ल्याएर धूर्त किशोर बाँदर किशारी बाँदरसँग यौनसम्पर्क पनि गर्न सक्छ । किशोरीलाई प्रभावित पार्न ऊ उपद्र्याहा काम पनि गर्छ । त्यस्ता बाँदरका चपेटामा भर्खरका केटीमान्छे पर्न सक्छन् । पाटन दरबार स्क्वायरनजिक एउटा भाले बाँदरले महिलालाई मात्रै जिस्क्याउने गरेकाले केही वर्षअघि त्यस बाँदरलाई मारिएको थियो । त्यस्ता घटना मेलम्ची, थापाथली, कास्की, अर्घाखाँचीतिर भएको सुनिन्छ । त्यस्ता किशोर बाँदरले समूहका वयस्कबाट पिटाइ भेट्ने वा समूह निकालासमेत भोग्नुपरेको हुन्छ । दौंतरीसँग मिलेर डुल्ने, नयाँ ठाउँ पत्ता लगाउने, वयस्क र बूढाबूढीलाई हेप्ने वा खिसीटिउरी गर्ने पनि तिनीहरूको बानी हुन्छ । त्यसैले कहिलेकाहीं रिसाहा वयस्क भालेको टोकाइ र पिटाइ पनि किशोरहरूले खप्नुपर्छ । पिटाइबाट त्रसित भएर कैयौं किशोर बाँदर आफ्नो डफ्फा छोडेर एक्लै पनि हिँड्छन् । हामीले बेलाबखत एक्ले बाँदर देखेका हुन्छौं, तिनीहरू यस्तै हुन् । कहिलेकाहीं बिरक्तिएका वा समाजबाट गलहत्याइएका बाँदर मिलेर ‘जोगी’ समूह पनि बनाइएको पाइन्छ । किशोरी बाँदरहरू भने आमालाई सघाउने, भाइबहिनी हेरिदिने, बोकिदिने, खेलाइदिने, खाना खान पालो दिने गर्छन् । उनीहरू आमा, हजुरआमा, दिदी, भाइ, बहिनी, काकीहरूसँग चौपट्टै मिल्छन् र आफ्नै डफ्फामा जीवन बिताउँछन् ।

आफ्नो डफ्फाका सदस्य वा नातेदारमरेपछि बाँदरहरू शोक गर्छन् । नजिक गई जाँच–पडताल गर्छन् र सक्ने भए बोकी–बोकी हिँड्छन् । बिरामी पर्दा एकअर्कालाई माया गर्छन् । धेरैजसो अनुभवी र पाको बाँदरले खाना र बसोबासका लागि नयाँ ठाउँमा समूह लैजाने काम गर्छन्, सबैलाई मन परे त्यतै बस्छन् ।

बेलाबेला बाँदरहरू हाम्रा छेउछाउ त्यसैगरी आइपुगेका हुन् । आफ्नै डफ्फाभित्र झगडा पर्दा पाका बूढाबूढीले साम्य पार्ने कोसिस गर्छन् । जोरीपारीका डफ्फाहरूबीच मिलापत्र र खिचलो पार्ने काम प्रायः किशोर बाँदरले गर्छन् । डफ्फालाई संकट पर्‍यो र शत्रु आइलागे– भाले, पोथी, बच्चाहरूसमेत लड्न जान्छन् ।

***

मानिससँग स्वभाव, बानी–व्यहोरा र शारीरिक प्रक्रियासमेत मिल्ने भएर बाँदरलाई औषधि–विज्ञानमा प्रशस्तै प्रयोग गरिन्छ । मानिसका लागि उत्पादन हुने औषधि बाँदरमा प्रयोग गरेर फापेपछि मात्रै मानिसको उपभोगका लागि बजारमा पठाइन्छन् । त्यसैले मानव समाजको व्यवहार, मनोविज्ञान, सामाजिक संरचना तथा औषधि विज्ञानका लागि अत्यधिक मात्रामा अनुसन्धानको पात्र बनेको बाँदर हामी मानिसको सबभन्दा प्रिय र नजिकको प्राणी हो । हाललाई बाँदरको बासस्थान व्यवस्थापन मुख्य कुरा हो । जंगलमै प्रशस्त खाना उपलब्ध भए र मानिसले बानी नबिगारिदिए बाँदरहरू ज्यान जोखिममा पारेर मानिसनजिक आई विभिन्न उपद्रो गर्दैनन् ।

-लेखकले सन् १९९५ मा ‘लंगुर बाँदरको खानामा लैंगिक भिन्नता’ विषयमा विद्यावारिधि गरेका छन् ।

प्रकाशित : श्रावण २४, २०७७ ११:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×