अक्षरमा देखिएको कर्णाली- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अक्षरमा देखिएको कर्णाली

कर्णालीका बारेमा विदेशी विद्वान् ब्यारी सी. बिसपले ‘कर्णाली अन्डर स्ट्रेस’ किताबमा र हुम्लामा बसेका कर्णालीबाहिरका निजामती कर्मचारीले ‘हुम्ला संगम’ का २०४५ र २०४६ सालका अंकमा उतारेको कर्णालीको चित्रबारे पत्रकारको टिप्पणी :
मोहन मैनाली

आराध्य चन्द्रमामा मानिसले टेके भन्ने खबर फैलिएका बेला भूगोलविद् ब्यारी सी. बिसप साविकको कर्णाली अञ्चलमा थिए । त्यहाँका मानिसले उनलाई यस बारेमा सोधेछन् । ब्यारीले भनेको एउटा कुरामा उनीहरूले खास चासो राखेछन्— जुम्लाका मानिसले ४५० पटक जति काठमाडौँ ओहोरदोहोर गर्न र पृथ्वीबाट चन्द्रमा पुग्न उति नै दूरी पार गर्नुपर्छ ।

त्यो घटना भएदेखि ‘कर्णाली अन्डर स्ट्रेस’ छापिउन्जेलका बीचमा (२१ वर्षमा) कर्णालीका मेरा साहसी साथीहरूले चन्द्रमा जाने बाटोको आधा दूरी हिँडिसके होलान्, ब्यारीले लेखेका छन् ।

कर्णालीका सबै जिल्लालाई मोटरबाटोले छुन ब्यारीले सो कुरा लेखेपछि पनि ३० वर्ष कुर्नुपर्‍यो । त्यसको अर्थ हो— ब्यारीले भेटेयताका ५०/५१ वर्षमा उनका कर्णालीका ती वीर साथीहरू पहाडका उकाला–ओराला हिँड्नुका सट्टा चन्द्रमातिर एकोहोरो हिँडेका भए पैदलै त्यहाँ पुगिसक्थे ⁄ यसले कर्णालीको भौगोलिक विकटता देखाएको छ ।

ब्यारीकै अक्षरमा कुँदिएको अर्को चित्रले के भन्छ भने कर्णालीका उत्तर र दक्षिण दुवैतिर हिमाल छन् । तर, यो मुस्ताङ र मनाङजस्तो पानी असाध्यै कम पर्ने, हरियाली हुँदै नभएको वा कम भएको ठाउँ भने होइन ।

हिउँ कर्णालीका धेरै भागमा वर्षा गराउने प्रमुख माध्यम हो । मुगुमा वार्षिक वर्षाको २९ प्रतिशत हिउँका रूपमा पर्छ । ब्यारीको यस चित्रलाई हुम्लाका त्यतिबेलाका प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर बस्नेतले ‘हुम्ला संगम २०४६’ मा अझ स्पष्ट पारेका छन्, २०४२ सालमा हुम्लामा पटकपटक गरी १२ फिट जति हिमपात भएको अनुमान गरिन्छ । यसले गर्दा सिमिकोटमा ४२ दिनसम्म हवाइजहाज जान सकेन ।

नेपालका अरू सबै जिल्लामा मोटर गुड्ने सडक पुगिसक्दा पनि हुम्लामा पुगेको थिएन । २०४२ सालको त कुरै अर्को भयो । यो सम्झँदा लाग्छ, कोरोना आउनु धेरैअघि कर्णालीले लकडाउन भोग्नुपरेको रहेछ ।

सामाजिक व्यवहार (अरू ठाउँमा जस्तै) कर्णालीमा कठोर बने । २००७ साल र त्यसपछि भएका परिवर्तनसँग जुध्न स्थानीय स्तरमा यस्ता कदम चालिए, जसले समाजलाई झन् क्षति पुर्‍यायो । यसअघि स्थानीय स्तरमा हैकम चलाएकाहरूले यो परिवर्तनले गर्दा आफ्नो शक्ति गुमेको महसुस गरे । ब्यारीका अनुसार, उनीहरूले आफ्ना गुमेका वा गुमेजस्तो लागेका राजनीतिक, आर्थिक र सामाजिक विशेषाधिकार कायम राख्न तथा निमुखामाथि शासन गर्न जातीय भेद्भावको प्रचलन अझ कट्टरताका साथ लागू गरे । यसको मार त्यति बेला ‘अछुत’ भनिने दलितमाथि पर्‍यो ।

२००७ सालपछि दलितहरूले जग्गाको स्वामित्व पाए । तर, यसको ३८ वर्षपछिसम्म पनि त्यहाँका दलितहरूले सार्वजनिक जमिनमा घाँस काट्न पाएनन् । यस्तो जमिन वरपरका ‘अछुत’ बाहेकका घरपरिवारलाई भाग मात्र लगाइन्थ्यो । हुम्लाका तत्कालीन न्यायाधीश विशाल खनालले कर्मचारी मिलन केन्द्रको वार्षिक प्रकाशन ‘हुम्ला संगम २०४५’ मा लेखेका छन्, ‘अछुत’ हरूलाई घाँसपात चाहिएमा उनीहरूले आफ्ना मुखियालाई रिझाइ मुखियाको भागबाट लिनुपर्छ । उनीहरू उपल्ला भनिने जातसरह सुविधा लिन अक्षम मानिन्छन् ।

ब्यारीले देखेको कर्णालीका धेरै भागमा हलोमा फलामको सट्टा काठको फाली राख्ने चलन थियो । काठको फाली भाँचिइरहन्थ्यो । एक दिनमा एक जना हलीले ६ वटासम्म फाली फेर्नुपरेको थियो । ब्यारीले कर्णालीका कृषि उपकरणलाई पाँच हजार वर्षअघिका ग्रीस र मध्यपूर्वका उपकरणसँग मिल्दाजुल्दा भनेका छन् ।

२०४२ सालमा राजा वीरेन्द्रले २०५७ सालसम्ममा सबै नेपालीको आधारभूत आवश्यकता पूरा गराउने आज्ञा दिए । हुम्लाका प्रशासकीय अधिकृत लोकप्रसाद आचार्यले सो आज्ञा पालना गर्न हुम्लामा गर्नुपर्ने कामको खाका कोरेर ‘हुम्ला संगम २०४५’ मा छपाएका थिए । त्यसमा एउटा कार्यक्रम थियो— २०५७ सालसम्ममा किसानलाई फलामको फाली आपूर्ति गर्नुपर्ने ।

फलामको सट्टा काठको फाली लगाएको कुरै मलाई अनौठो लागेको थियो, फलामको फाली पुर्‍याउने सरकारी कार्यक्रम देख्दा त महाअनौठो लाग्यो । मलाई यसअघि के लागेको थियो भने, सबै नेपाली किसानले आफ्नो हलोमा काठको फाली हाल्छन् र त्यो यति सानो काम हो, जसका लागि सरकार गुहार्नु पर्दैन ।

यसले रन्थन्याएका बेला हुम्लाको विकासमा लागेका, जिल्ला विकास समितिका सभापति भइसकेका जीवनबहादुर शाहीसँग भेट भएथ्यो । उनले मलाई भनेका थिए, फलामको फाली भएको हलोले जोत्दा काठको फाली भएको हलोले जोत्दाभन्दा बढी उब्जने कुरा हुम्लामा गरिएको परीक्षणले देखाएको छ । केही ठाउँमा त फाली पुगेको छ तर सबै ठाउँमा पुगेको छैन ।

फलामको फाली किन नचलाएको भनेर कर्णालीका धेरै जनालाई सोधेको थिएँ । टाढाबाट बोकेर ल्याउँदा महँगो पर्ने हुनाले फलामको फाली नचलाएको भनेका थिए उनीहरूले । कर्णालीमा एक प्रतिशतभन्दा अलि धेरै जमिनमा मात्र खेती गरिएको, खेती विस्तार गर्ने जग्गा उति नभएको भनी ब्यारीले लेखेको सम्झिएँ । यति थोरै ठाउँमा जोत्न कति पो फाली चाहिँदो हो र ? तर, जीवनले पनि यसै भने । यस कुरामा चित्त बुझेको छैन, तर चित्तबुझ्दो जवाफ नपाउँदासम्म यसैले काम चलाउनुपरेको छ ।

अहिलेको कर्णाली ब्यारीले अध्ययन गरेको कर्णालीभन्दा धेरै ठूलो छ । कर्णाली प्रदेश सरकारले आफ्ना योजना बनाउँदा भनेको छ रे— अरूले हिँडे पुग्छ, कर्णालीले दौडनुपरेको छ (खासमा सम्पूर्ण नेपालले नै दौडनुपरेको छ) ।

तर, दौडन थाल्नुअघि ब्यारीले भनेका कुरा ख्याल गर्नु उपयोगी होला । उनले भनेका छन्, पछि परेको क्षेत्रलाई आधुनिक र विकसित बनाउन असल नियतले गरिएका कामले पहिल्यै कमजोर भइसकेको जीवनशैलीलाई थप दुर्बल बनाउन सक्छन् । कर्णाली यस्तो ठाउँ हो जहाँ केन्द्रले एउटा लक्ष्य लिएर गरेका प्रयासको परिणाम अर्कै आउँछ । राष्ट्रिय र स्थानीय अर्थतन्त्रमा विदेशी मुद्रा भित्र्याउन स्थापना गरिएको रारा राष्ट्रिय निकुञ्जले उल्टो परिणाम दिएको कुरा पनि उनले औँल्याएका छन् ।

नेपालमा खाद्यान्नमा ढुवानी अनुदान दिने चलन ब्यारीले अध्ययन गर्नुभन्दा पछि सुरु भएको हो । केन्द्र सरकारले असल नियतका साथ देशभर गरेको यो कामको परिणाम पनि कर्णालीमा उल्टो निस्किएको छ । यो अनुदान झन्डै झन्डै कुलत बन्न पुगेको छ ।

प्रकाशित : श्रावण २४, २०७७ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्

हाँस, रोएर केही हुँदैन

मानिसले सोच्दै नसोचीकन निस्केको खुसीको हाँसोलाई ऊ आधा बाटो नपुग्दै रोकेर रुन्चे हाँसो हाँस्नुपर्ने अहिलेको अवस्थामा हाँस्ने नयाँ तरिका खोज्नुपर्ने भएको छ ।
मोहन मैनाली

नेपालमा कोरोना वेगले फैलँदै जाँदा पनि लकडाउन चाँडै खुल्ला र झन्डै तीन महिनाको गुप्तबासपछि बाहिर निस्कन पाउँला भन्ने आशा जागेको छ । तर, अहिले बाहिर निस्कने बानी छुटेको छ । त्यसैले अब बाहिर निस्कँदा के कसो गर्नुपर्ला, के कसो गरौँला भनेर कल्पना गर्छु ।

घरबाट निस्केर अलि पर पुग्दा उताबाट आउँदै गरेको मेरो पुरानो साथीसँग भेट होला । दाहिने हातअलि अगाडि बढाउँला, ‘यस्ता बेलामा हात मिलाउनु हुँदैन’ भनेर आफ्नो हात तुरुन्तै पछाडि झड्कारौँला । त्यसपछि सधैँझैँ मेरा बन्द ओठ अलिकति पछाडि धकेलेर, गालाको तल्लो भाग अलिकति खुम्च्याएर मुसुक्क हाँसौँला ।

‘बेकारमा किन हाँसेको ? तँ हाँसेको तेरो साथीले देख्छ र हाँस्छस् ?’ आफैँलाई झपारौँला ।

तुरुन्तै सम्झौँला– हो त, मैले लगाएको गैँडाको सिङजस्तो चुच्चो भएको मास्कले बाहिरबाट आउन सक्ने कोरोनालाई रोक्ला, नरोक्ला थाहा छैन तर मेरो सुन्दर हाँसोलाई बाहिर जान भने पक्कै छेक्छ ।

त्यसपछि, आफैँ खिस्रिक्क परुँला । आफैँलाई उपहास गरेर रुन्चे हाँसो हाँसौँला (धन्न, मेरो मास्कले गर्दा साथीले मेरो रुन्चे हाँसो देख्न नपाउला) ।

झन्डै तीन महिनापछि अफिस पुग्दा आफूसँग मिल्ने साथीहरूसँग भेट होला । उनीहरूसँग नजिक जानु भएन, लामो समयपछि भेट भएकोमा अचम्म मान्दै दह्रो गरी हात मिलाउनु पनि भएन । त्यसैले, त्यतिबेला उनीहरूभन्दा एक मिटर टाढा पुगेपछि टक्क रोकिएर मुख र आँखा प्रफुल्लित पारेर, सम्पूर्ण गाला र आँखाका कोष खुम्च्याएर, अगाडिका १७/१८ वटा दाँत देखिने गरी ओठ खोलेर हाँसौँला ।

‘धइततेरिका ! के गरेको ? मास्क लगाएर हाँस्नुको के अर्थ हुन्छ ?’ हाँसो पूरा हुन नपाउँदै मास्क लगाएको थाहा पाउँला । अनि हिस्स परेर रुन्चे हाँसो हाँसौँला (अहिले पनि रुन्चे हाँसो साथीहरूले देख्न नपाएकोमा दंग परौँला) ।

काँध र टाउकोसमेत हल्लाएर, नाकका पोरा फुलाएर, गाला र आँखा खुम्च्याएर आँखाबाट आँसु झर्ने गरी हाँस्ने दिन पनि त हप्तामा एकपटक जति त आउला, पहिलेजस्तै गरी । ठूलो स्वरमा कराएर उन्मुक्त हाँसो हाँस्ने बेला पनि त आक्कलझुक्कल आउला । त्यस्ता बेलामा मैले सोच्नुपर्ला– नाक र मुख छोपेर यस्तो हाँसो हाँस्दा काँध र टाउको मात्र हल्लिन्छन्, आँखाका छेउ मात्र अलिकति खुम्चिन्छन् । त्यसपछि मेरो यस्तो हाँसो कति कुरूप देखिँदो होला भनेर मैले यसलाई बीचमै रोक्नुपर्ला ।

आमाको गर्भमा रहेको ४२ दिनका दिन मैले सिकेको सीप बेकार होला । हाँसो निकाल्ने मेरो अनुहारका सत्र जोडी मांसपेशी र मेरो मुखवरिपरिको गोलो मांसपेशी अलमलिएलान्– आफ्नो काम गर्न खोज्दा बीचमै रोकिनुपर्दा ।

त्यसो भए अब खाना खाने, चिया खाने, खाजा खाने र सुत्ने समयजस्तै गरी हाँस्ने समय पनि छुट्याउनुपर्ला । एक्लै बसेका बेलामा, मास्क लगाउनु नपर्ने बेलामा मात्र हाँस्नुपर्ला किनभने यति बेला मैले मेरो हाँसो बीचमै रोक्नु पर्दैन । त्यति बेला म निर्धक्कसँग हाँस्न पाउँछु ।

तर, एक्लै बस्दा बारम्बार हाँस्नु के बिरामको लक्षण हो भनेर सम्झिउँला र त्यसो गर्न डराउँला ।

सम्झिउँला– हाँसो मूलतः सामाजिक प्राणीका हैसियतमा समूहमा बस्दा गरिने काम हो । मानिस एक्लै बस्दाभन्दा अरू मान्छेसँग बस्दा बढी हाँस्छ । अरूसँग कुराकानी गर्दा बढी हाँस्छ । हाँसौँ भनेर बल गरेर होइन, थाहा नपाईकनै, यत्तिकै सहज ढंगले ।

हाँसोबिनाको निर्जीव, नीरस, फिक्का अनुहार हेर्नु र त्यस्तो अनुहार बोकेको मानिससँग कुराकानी गर्नु कति दिक्कलाग्दो काम हुन्छ भन्ने मलाई थाहा छ १ निकै वर्षअघि मेरो कुर्सीका छेउको कुर्सीमा बस्ने, मेरो अफिसको एक जना साथीको मुखको एउटा पाटो प्यारालाइसिसजस्तै भएको थियो । उनको एउटा आँखो चिम्लिइँदैनथ्यो, एउटा गालाको मांसपेशी खुम्चिदैनथ्यो । उनले हाँस्न मिल्दैनथ्यो ।

अहिले हामीलाई प्यारालाइसिस त भएको छैन तर अवस्था उस्तैउस्तै छ । आफ्ना मनका भावना बताउने बडो सजिलो उपाय थियो– हाँसो । हाँसोमार्फत गरिने अभिव्यक्ति बुझ्न मानिसलाई बोलेर, लेखेर गरिने अभिव्यक्ति बुझ्नजस्तो धेरै समय लाग्दैन । दस मिलिसेकेन्ड अर्थात् एक सेकेन्डको १०० भागको एक भाग समय भए पुग्छ । तर, के गर्ने हाँस्ने बेलामा १० मिलिसेकेन्डसम्म मास्क खोलेर तुरुन्तै बन्द गर्न मिल्दैन !

विषय वा प्रसंग नमिल्दा कसैको लेखाइ अथवा बोलाइको अर्थको अनर्थ लाग्न सक्छ । तर, हँसाइको कहिल्यै अनर्थ लाग्दैन । हाँस्नेले खुसी प्रकट गर्न खोजेको छ भने बुझ्नेले यो खुसी भएछ भनेर बुझ्छ । उदेक लागेका बेलाको हाँसो परैबाट टड्कारै छुट्टिन्छ । कपटी हाँसो हाँस्नेले कपट गर्‍यो भन्ने पनि सजिलै बुझिन्छ । कोही मेरो उपहास गरेर हाँस्यो भने यो कुरा कुरा म दुरुस्त बुझ्छु । ‘म तिम्रो मित्र हुँ’ भन्ने बताउन कोही हाँस्दा ‘तैँले मलाई शत्रु ठानिस्’ भनेर कसैले भन्दैन ।

अरू अभिव्यक्तिभन्दा सजिलै बुझिन्छ हाँसोको अभिव्यक्ति । तर, हाँस्ने अर्थात् ‘मुखको मुद्रा र कान्तिले हृदयको खुसी वा आनन्द प्रकट गर्ने, खुसी हुने, ...दंग पर्ने, अर्काको गिल्ला गर्ने, उपहास गर्ने’ कामसँग कोरोनालाई उठ्नु रिस उठेको रहेछ । गिल्ला गर्ने र उपहास गर्ने काम गर्न नपाउँदा उति सारो चित्त दुखाउनु पर्दैनथ्यो मैले तर खुसी र आनन्द प्रकट गर्न र दंग पर्न नपाउँदाचाहिँ यस्तो गराउनेको उपहास गरेर हाँस्न मन लाग्छ । मलाई उदेक किन पनि लागेको छ भने हाँस्न जान्ने प्राणी मानवले मात्र हाँसो छोपिने गरी मास्क लगाउनुपरेको छ । जुनजुन प्राणी उन्मुक्त भएर हाँस्दा उनीहरूलाई कोरोनाबाट केही खतरा आइलाग्दैन अर्थात् जुनजुन प्राणीले मास्क लगाउनुपरेको छैन तिनले हाँस्न, हाँसोको मजा लिन जानेका छैनन् ।

हाँसो मानिसको अभिव्यक्तिको सबैभन्दा पुरानो तरिका हो । बोली र लिपिको भाषा त मानिसले पछि सिकेका हुन् । त्यसअघि हाँसो र इसाराले नै त काम चलेको थियो ।

हाँसोलाई भाषाको बारले छेक्दैन । बोली र लेखाइजस्तो त्यही भाषा बोल्ने र लेख्ने मानिसले मात्र बुझ्ने अभिव्यक्ति होइन हाँसो । बोलाइ र लेखाइको मेरो भाषा नबुझ्नेले पनि मेरो हाँसोको भाषा सजिलै र दुरुस्त बुझ्छ ।

हाँस्न नपाएपछि अरूले मलाई के ठान्दा हुन् ? मनको कुरा अनुहारमा देखाउने तरिका उपयोग गर्न नपाएपछि मानिसले मलाई म जे हुँ त्योभन्दा बिलकुलै फरक ठान्न पनि त सक्छन् । ‘जसजसले मेरो अनुहारको अभिव्यक्ति देख्न पाउँदैनन् उनीहरूले मलाई कसरी साथी ठान्लान् र ?’

हाँस्दा अरूले मात्र आनन्द पाउँदैनन् रे, हाँस्नेको मन पनि आनन्दित हुन्छ रे । त्यसैले, मास्कले मुख छोपेकै बेलामा पनि हाँस्दा आधाआधी फाइदा त पाइएला कि ? होइन, आधाउधी हाँसिसक्दा नसक्दै, हाँस्नु बेकार छ भनेर हाँस्न रोकेर रुन्चे हाँसो हाँस्दा हाँस्नेको मन कसरी आनन्दित हुन्छ र ?

त्यसैले त, भारत र नेपाललगायतका ठाउँमा मे महिनाको पहिलो आइतबार मनाउने गरिएको विश्व हाँसो दिवस यसपालि हाँसो नसुनीकन गयो । पश्चिमाहरूले अक्टोबर महिनाको पहिलो शुक्रबार मनाउने हाँसो दिवस पनि मास्कभित्रै गुम्सिएर जान के बेर र ?

यसो हुँदा मानिस अझ बढी उदास हुन्छ ।

कोरोना मात्र होइन राजनीतिक, आर्थिक, न्यायिक र सामाजिक दृष्टिले पनि यो समय उदास छ, मानिस उदास छन् । यस्ता बेलामा हाँस्नु किन पर्‍यो, हाँस्न नपाउँदा यत्रो दुःखमनाउ किन गर्नुपर्‍यो ?

यस प्रश्नको जवाफ चार्ली च्यापलिनले सन् १९३६ मा ‘मोर्डन टाइम्स’ नामक फिल्मका लागि बनाएको संगीतमा सन् १९५४ मा जोन टर्नर र जेफ्रिपासनले लेखेको अनि माइकल ज्याक्सनलगायतका धेरै गायकले गाएको गीत ‘स्माइल’ मा छ । यो गीतले भन्छ : मुटु दुख्दै छ, टुट्दै छ भने पनि हाँस । आकाशमा बादल लागेको भए पनि हाँस । सबैतिर डरैडर र दुःखैदुःख भए पनि हाँस, भोलि तिम्रो जीवनमा घाम लाग्न सक्छ । हाँस, रोएर केही हुँदैन । तिमी हाँस्यौ भने तिम्रो जीवन मूल्यवान रहिरहन्छ ।

हाँसोलाई मास्कभित्र गुम्स्याएर राख्ने दिन पनि आउँछ भन्ने थाहा पाएका भए गीतकारहरूले हाँस भन्ने थिए कि थिएनन् ? अथवा, त्यस्ता दिन आए भने झन् बढी हाँस्नुपर्छ पो भन्थे कि ? जवाफ छैन । त्यसैले, मानिसले सोच्दै नसोचीकन निस्केको खुसीको हाँसोलाई ऊ आधा बाटो नपुग्दै रोकेर रुन्चे हाँसो हाँस्नुपर्ने अहिलेको अवस्थामा हाँस्ने नयाँ तरिका खोज्नुपर्ने भएको छ । अथवा, मास्क लगाउँदा पनि हाँसेको प्रस्ट देखिने खालको मास्क बनाउन सके पनि हुन्छ ।

-यो लेखमा उपयोग भएका केही–जानकारी ‘टाइम’ मा प्रकाशित ‘ह्वाट वी लुज ह्वेयन वी हाइड आवर स्माइल्स बिहाइन्ड अ मास्क’ र गार्डियनमा प्रकाशित ‘फेसियल अवेरनेस : द मिनिङ अफ स्माइल’ बाट लिएको हुँ ।

प्रकाशित : जेष्ठ ३१, २०७७ ११:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×