२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अक्षरमा देखिएको कर्णाली

कर्णालीका बारेमा विदेशी विद्वान् ब्यारी सी. बिसपले ‘कर्णाली अन्डर स्ट्रेस’ किताबमा र हुम्लामा बसेका कर्णालीबाहिरका निजामती कर्मचारीले ‘हुम्ला संगम’ का २०४५ र २०४६ सालका अंकमा उतारेको कर्णालीको चित्रबारे पत्रकारको टिप्पणी :
मोहन मैनाली

आराध्य चन्द्रमामा मानिसले टेके भन्ने खबर फैलिएका बेला भूगोलविद् ब्यारी सी. बिसप साविकको कर्णाली अञ्चलमा थिए । त्यहाँका मानिसले उनलाई यस बारेमा सोधेछन् । ब्यारीले भनेको एउटा कुरामा उनीहरूले खास चासो राखेछन्— जुम्लाका मानिसले ४५० पटक जति काठमाडौँ ओहोरदोहोर गर्न र पृथ्वीबाट चन्द्रमा पुग्न उति नै दूरी पार गर्नुपर्छ ।

अक्षरमा देखिएको कर्णाली

त्यो घटना भएदेखि ‘कर्णाली अन्डर स्ट्रेस’ छापिउन्जेलका बीचमा (२१ वर्षमा) कर्णालीका मेरा साहसी साथीहरूले चन्द्रमा जाने बाटोको आधा दूरी हिँडिसके होलान्, ब्यारीले लेखेका छन् ।

कर्णालीका सबै जिल्लालाई मोटरबाटोले छुन ब्यारीले सो कुरा लेखेपछि पनि ३० वर्ष कुर्नुपर्‍यो । त्यसको अर्थ हो— ब्यारीले भेटेयताका ५०/५१ वर्षमा उनका कर्णालीका ती वीर साथीहरू पहाडका उकाला–ओराला हिँड्नुका सट्टा चन्द्रमातिर एकोहोरो हिँडेका भए पैदलै त्यहाँ पुगिसक्थे ⁄ यसले कर्णालीको भौगोलिक विकटता देखाएको छ ।

ब्यारीकै अक्षरमा कुँदिएको अर्को चित्रले के भन्छ भने कर्णालीका उत्तर र दक्षिण दुवैतिर हिमाल छन् । तर, यो मुस्ताङ र मनाङजस्तो पानी असाध्यै कम पर्ने, हरियाली हुँदै नभएको वा कम भएको ठाउँ भने होइन ।

हिउँ कर्णालीका धेरै भागमा वर्षा गराउने प्रमुख माध्यम हो । मुगुमा वार्षिक वर्षाको २९ प्रतिशत हिउँका रूपमा पर्छ । ब्यारीको यस चित्रलाई हुम्लाका त्यतिबेलाका प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर बस्नेतले ‘हुम्ला संगम २०४६’ मा अझ स्पष्ट पारेका छन्, २०४२ सालमा हुम्लामा पटकपटक गरी १२ फिट जति हिमपात भएको अनुमान गरिन्छ । यसले गर्दा सिमिकोटमा ४२ दिनसम्म हवाइजहाज जान सकेन ।

नेपालका अरू सबै जिल्लामा मोटर गुड्ने सडक पुगिसक्दा पनि हुम्लामा पुगेको थिएन । २०४२ सालको त कुरै अर्को भयो । यो सम्झँदा लाग्छ, कोरोना आउनु धेरैअघि कर्णालीले लकडाउन भोग्नुपरेको रहेछ ।

सामाजिक व्यवहार (अरू ठाउँमा जस्तै) कर्णालीमा कठोर बने । २००७ साल र त्यसपछि भएका परिवर्तनसँग जुध्न स्थानीय स्तरमा यस्ता कदम चालिए, जसले समाजलाई झन् क्षति पुर्‍यायो । यसअघि स्थानीय स्तरमा हैकम चलाएकाहरूले यो परिवर्तनले गर्दा आफ्नो शक्ति गुमेको महसुस गरे । ब्यारीका अनुसार, उनीहरूले आफ्ना गुमेका वा गुमेजस्तो लागेका राजनीतिक, आर्थिक र सामाजिक विशेषाधिकार कायम राख्न तथा निमुखामाथि शासन गर्न जातीय भेद्भावको प्रचलन अझ कट्टरताका साथ लागू गरे । यसको मार त्यति बेला ‘अछुत’ भनिने दलितमाथि पर्‍यो ।

२००७ सालपछि दलितहरूले जग्गाको स्वामित्व पाए । तर, यसको ३८ वर्षपछिसम्म पनि त्यहाँका दलितहरूले सार्वजनिक जमिनमा घाँस काट्न पाएनन् । यस्तो जमिन वरपरका ‘अछुत’ बाहेकका घरपरिवारलाई भाग मात्र लगाइन्थ्यो । हुम्लाका तत्कालीन न्यायाधीश विशाल खनालले कर्मचारी मिलन केन्द्रको वार्षिक प्रकाशन ‘हुम्ला संगम २०४५’ मा लेखेका छन्, ‘अछुत’ हरूलाई घाँसपात चाहिएमा उनीहरूले आफ्ना मुखियालाई रिझाइ मुखियाको भागबाट लिनुपर्छ । उनीहरू उपल्ला भनिने जातसरह सुविधा लिन अक्षम मानिन्छन् ।

ब्यारीले देखेको कर्णालीका धेरै भागमा हलोमा फलामको सट्टा काठको फाली राख्ने चलन थियो । काठको फाली भाँचिइरहन्थ्यो । एक दिनमा एक जना हलीले ६ वटासम्म फाली फेर्नुपरेको थियो । ब्यारीले कर्णालीका कृषि उपकरणलाई पाँच हजार वर्षअघिका ग्रीस र मध्यपूर्वका उपकरणसँग मिल्दाजुल्दा भनेका छन् ।

२०४२ सालमा राजा वीरेन्द्रले २०५७ सालसम्ममा सबै नेपालीको आधारभूत आवश्यकता पूरा गराउने आज्ञा दिए । हुम्लाका प्रशासकीय अधिकृत लोकप्रसाद आचार्यले सो आज्ञा पालना गर्न हुम्लामा गर्नुपर्ने कामको खाका कोरेर ‘हुम्ला संगम २०४५’ मा छपाएका थिए । त्यसमा एउटा कार्यक्रम थियो— २०५७ सालसम्ममा किसानलाई फलामको फाली आपूर्ति गर्नुपर्ने ।

फलामको सट्टा काठको फाली लगाएको कुरै मलाई अनौठो लागेको थियो, फलामको फाली पुर्‍याउने सरकारी कार्यक्रम देख्दा त महाअनौठो लाग्यो । मलाई यसअघि के लागेको थियो भने, सबै नेपाली किसानले आफ्नो हलोमा काठको फाली हाल्छन् र त्यो यति सानो काम हो, जसका लागि सरकार गुहार्नु पर्दैन ।

यसले रन्थन्याएका बेला हुम्लाको विकासमा लागेका, जिल्ला विकास समितिका सभापति भइसकेका जीवनबहादुर शाहीसँग भेट भएथ्यो । उनले मलाई भनेका थिए, फलामको फाली भएको हलोले जोत्दा काठको फाली भएको हलोले जोत्दाभन्दा बढी उब्जने कुरा हुम्लामा गरिएको परीक्षणले देखाएको छ । केही ठाउँमा त फाली पुगेको छ तर सबै ठाउँमा पुगेको छैन ।

फलामको फाली किन नचलाएको भनेर कर्णालीका धेरै जनालाई सोधेको थिएँ । टाढाबाट बोकेर ल्याउँदा महँगो पर्ने हुनाले फलामको फाली नचलाएको भनेका थिए उनीहरूले । कर्णालीमा एक प्रतिशतभन्दा अलि धेरै जमिनमा मात्र खेती गरिएको, खेती विस्तार गर्ने जग्गा उति नभएको भनी ब्यारीले लेखेको सम्झिएँ । यति थोरै ठाउँमा जोत्न कति पो फाली चाहिँदो हो र ? तर, जीवनले पनि यसै भने । यस कुरामा चित्त बुझेको छैन, तर चित्तबुझ्दो जवाफ नपाउँदासम्म यसैले काम चलाउनुपरेको छ ।

अहिलेको कर्णाली ब्यारीले अध्ययन गरेको कर्णालीभन्दा धेरै ठूलो छ । कर्णाली प्रदेश सरकारले आफ्ना योजना बनाउँदा भनेको छ रे— अरूले हिँडे पुग्छ, कर्णालीले दौडनुपरेको छ (खासमा सम्पूर्ण नेपालले नै दौडनुपरेको छ) ।

तर, दौडन थाल्नुअघि ब्यारीले भनेका कुरा ख्याल गर्नु उपयोगी होला । उनले भनेका छन्, पछि परेको क्षेत्रलाई आधुनिक र विकसित बनाउन असल नियतले गरिएका कामले पहिल्यै कमजोर भइसकेको जीवनशैलीलाई थप दुर्बल बनाउन सक्छन् । कर्णाली यस्तो ठाउँ हो जहाँ केन्द्रले एउटा लक्ष्य लिएर गरेका प्रयासको परिणाम अर्कै आउँछ । राष्ट्रिय र स्थानीय अर्थतन्त्रमा विदेशी मुद्रा भित्र्याउन स्थापना गरिएको रारा राष्ट्रिय निकुञ्जले उल्टो परिणाम दिएको कुरा पनि उनले औँल्याएका छन् ।

नेपालमा खाद्यान्नमा ढुवानी अनुदान दिने चलन ब्यारीले अध्ययन गर्नुभन्दा पछि सुरु भएको हो । केन्द्र सरकारले असल नियतका साथ देशभर गरेको यो कामको परिणाम पनि कर्णालीमा उल्टो निस्किएको छ । यो अनुदान झन्डै झन्डै कुलत बन्न पुगेको छ ।

प्रकाशित : श्रावण २४, २०७७ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?