१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नवराजले बोकेको झन्डाको अर्थ

जुन दिन भेरी नदीमा नवराज विकलगायत उनका साथीहरुको शहादतको रगत मिसियो, भेरीको आवाज नेपाली गणतन्त्रको मानसमा एउटा आँधी भएर बास बस्न पुगेको छ ।
शंकर तिवारी

जेठ महिनामा मध्यपश्चिमको सोतीमा केही निर्दोष नागरिक मारिए । तिनको जातीय हत्या भएको हो कि सामूहिक, यसबारे लामो समयसम्म बहस जारी रहला । भेरी घटनासम्बन्धी संसदीय र स्वतन्त्र प्रतिवेदनहरूमा त्यसबारे स्पष्ट मतान्तर देखिसकिएको छ । तर, जे होस् यो घटना सानो थिएन ।

नवराजले बोकेको झन्डाको अर्थ

यसको बाछिटाले सुदूरभविष्यसम्म नेपाली चेतनालाई ऐठन गरिराख्नेछ । हाम्रो सामूहिक विवेक र चिन्तनलाई अनन्तकालसम्म घच्घच्याइरहनेछ ।

नेपालमा नदी विमर्शमा आइरहने कोसी, गण्डकी र कर्णाली मुख्य तीन नदी हुन् । भेरी नदी कर्णाली नदीको एउटा भंगालोका रूपमा आउँछ । तर, जुन दिन भेरी नदीमा नवराज विकलगायत उनका साथीहरूको शहादतको रगत मिसियो, भेरीको आवाज नेपाली गणतन्त्रको मानसमा एउटा आँधी भएर बास बस्न पुगेको छ ।

घटना भइसकेपछि नवराज विकलगायत उनका साथीहरूका, उनका परिवारका, उनका गाउँका अनेक फोटा सार्वजनिक भए । तीमध्ये नवराज विकले बोकेको राष्ट्रिय झन्डाको फोटोले आजपर्यन्त बिझाइरहेको छ । यो आलेख भेरी नदी किनारमा वारपार गरी हिँड्ने त्यस कथित दलित युवकले कुन चेतनाले राष्ट्रिय झन्डा बोकी हिँड्थ्यो भन्नेबारे केन्द्रित रहनेछ ।

***

सामान्यतया हामी राष्ट्रिय झन्डा राष्ट्रिय दिवसहरूमा वा कुनै अन्तर्राष्ट्रिय खेलमा, नभए कुनै विदेशी सहरमा देशको प्रचारप्रसार गर्नका लागि बोक्छौँ । नवराज विक कुनै अन्तर्राष्ट्रिय खेलमा नेपालको पक्षमा उभिन वा राष्ट्रिय टोलीलाई समर्थन गर्न उपस्थित हुँदा उक्त तस्बिर खिचिएको थिएन । जसै पहिलोपटक नवराजले बोकेको राष्ट्रिय झन्डाको फोटो देखेँ, मलाई त्यो युवक अद्भुत चेतनाले डोर्‍याएको एक्काइसौं शताब्दी सुहाउँदो नवजागरण बोकी हिँडेको पूर्ण नेपाली युवकजस्तो लागेको थियो ।

दुर्गम गाउँमा जन्मेर आफ्ना उमेरका साथीहरूले गर्ने औसत कामभन्दा बेसी राम्रा काम उनले गरेका थिए, खेलकुदका माध्यमबाट । मूलतः त्यसैको परिणामस्वरूप उनले नेपाल प्रहरीमा छनोट हुनका लागि पहिलो तहको प्रतिस्पर्धात्मक परीक्षा पनि पास गरिसकेको थिए । नवराजकी आमाले आँगनमा बिस्कुन छरेझैं, जसरी उनको छोराले प्राप्त गरेका, जितेका, आर्जन गरेका प्रमाणपत्र सार्वजनिक गरिन्, तीसँगै नवराजको योग्यता, क्षमता अनि उनले बोकेको सम्भावनाका परिचायक सबुत बनेर राष्ट्रसामु सार्वजनिक भए । ती असीमित सम्भावनालाई जातप्रथाको घीनलाग्दो पर्खालले गर्ल्यामगुर्लुम ढालिदियो र ती सपना अझ महान् विपना हुन नपाई हठात् मृत्युवरण गर्न बाध्य पारिए ।

कुनै पनि खेल जित्नका लागि सामूहिक भावना अत्यन्त ठूलो हुन्छ । पश्चिमाहरू खेललाई धेरै महत्त्व दिन्छन् र खेललाई नेतृत्व विकासको कसीबाट हेर्छन् । नवराज विकले खेलकुद क्षेत्रको माध्यमबाट समाजमा आफ्नो प्रतिष्ठा स्थापित गर्दै र सुयोग्य भावी नेताको रूपमा आफूलाई हुर्काउँदै गएका थिए । कथित उपल्लो जातकी उनकी प्रेमिका नवराजका तिनै खेल–कौशलबाट प्रभावित थिइन् ।

मनुष्य विलक्षण सम्भावनाको पुञ्ज हो । ती सम्भावना कुन माध्यमबाट प्रस्फुटन हुन्छन्, त्यो हमेसा महत्त्वपूर्ण हुन्छ । नवराजले खेलका माध्यमबाट आफूमा अन्तर्निहित नेतृत्वदायी क्षमता सार्वजनिक गर्दै थिए । उनका गैरदलित साथीहरू पनि उनको प्रेममा सहमत थिए । उनीहरू पनि नवराजसँगै उनको प्रेमको सार्थकताको यात्रामा सरिक हुन लालायित थिए । सुखान्त हुनुपर्ने परिणति दुःखान्तमा बदलिएको भए पनि, त्यो नवराजको नेतृत्वदायी क्षमताको कारण, साथीहरू उनीसँग सहमत भएका कारण उनीसँगै युवती लिन गएका थिए भन्ने बुझ्नु पक्कै अन्यथा हुने छैन ।

नेपालको संविधानको धारा– २४ मा जातीय छुवाछुत र भेदभावविरुद्धको हकका साथै धारा– ४० मा दलितको हकसम्बन्धी प्रावधान अलगअलग लेखिएको छ । एउटै विषयमा दुई अलग मौलिक हक किन भनियो, मौलिक शोधकै विषय होला । मौलिक हकमा सम्मानपूर्वक बाँच्न पाउने हक, स्वतन्त्रताको हक, समानताको हक, सामाजिक न्यायको हक आदि उल्लेख छन् । संविधानमा लेखिएका यावत् हक र अधिकार नवराजको नेपाली भएर बाँच्ने अधिकार जोगाउन किन असमर्थ रह्यो ? किन संविधानले आफ्नै धारामा उल्लिखित हकको रक्षा गर्न सकेन ? त्यो गम्भीर विमर्शको विषय हो र हुनुपर्छ ।

अमेरिकामा हालै एक अश्वेत नागरिकलाई दिउँसै सडकमा पाशविक तवरले मारियो । नागरिकको रक्षाका लागि बसेका ‘रक्षक’ बाटै नै उनको भक्षण भयो । त्यसको कम्पन अमेरिकाभन्दा धेरै पर भारत र नेपालसम्म ‘ब्ल्याक लाइभ्स म्याटर’ सँगै ‘दलित लाइभ्स म्याटर’ बनेर पुग्यो ।

यही सेरोफेरोमा रुकुममा भएको नरसंहारको घटनाले हाम्रो गणतान्त्रिक चेतनामाथि कालो पोतिएको छ । भेरीबाट आएको यो झिल्कोले नेपाली समाजले सदियौंदेखि तल्लो जातिका नाममा दलितहरूलाई, आदिवासीलाई गरेको ऐतिहासिक अपराधहरूको जुन निरन्तरता छ, त्यसलाई चाँडोभन्दा चाँडो भूल सुधार गर्दै नामेट गर्ने दिशामा अगाडि बढ्न आह्वान गरेको छ । नवराज विक र उनका साथीहरूको जुन तबरबाट बर्बर किसिमले संहार गरियो, त्यो तहको मानवताविरुद्धको जघन्य अपराध हामीले इतिहासमा पढेका पनि थिएनौँ । तर, यो घटना गणतन्त्रकालमा आएर घट्यो । यो घटना राजनीतिक रूपले गणतन्त्रकालमा भए पनि यसले हाम्रो चेतनामा रहेको कमजोरी र चेतनाको आदिम संकटलाई उदांगो पारिदिएको छ ।

२०६२/६३ को जनआन्दोलनले निर्दिष्ट गरेअनुरूप संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएको धेरै समय भएको छैन । बिसे नगर्चीले गोरखा राज्य विस्तार हुँदै आजको नेपाल बन्ने क्रममा जुन योगदान गरेका थिए, नवराज पनि गणतन्त्र नेपाललाई त्यस्तै कुनै अदित्य योगदान गर्ने सामल बोकेका युवक थिए । तर, हाम्रो जातीय अहंकारले त्यो सपनाको हठात् हत्या गरेको छ ।

नवराज विकले बोकेको झन्डालाई तीन तहमा हेर्न सकिन्छ ।

१. चल्तीको सामाजिक संरचनाको व्याख्यामा कथित दलित परिवारमा जन्मेर पनि उनले आफ्नो राष्ट्रभक्ति अरूको भन्दा कम छैन भन्ने दर्साउन नेपालको झन्डा बोक्ने गरेको हुनुपर्छ । दलित भएकै कारण पाइला–पाइलामा अपमान सहनुपर्नाले त्यो अपमानले प्रकारान्तरले आफ्नो राष्ट्रभक्तिमा प्रश्न उठ्ने भएकाले उनी कथित ठूला जातिका मानिससामु आफू बोल्नुभन्दा आफूले बोकेको राष्ट्रिय झन्डा बोलोस् भने उनलाई लाग्थ्यो । राष्ट्रिय झन्डा बोकी हिँडेर उनी आफ्नो राष्ट्रभक्तिमाथि शंका गर्नेलाई नाजवाफ पार्न चाहन्थे ।

२. यो झन्डाले, यो संविधानले कथित उपल्लो जतिलाई जति अधिकार दिएको छ, त्यति नै अधिकार मलाई पनि दिएको छ भन्ने नवराजको मनमा गढेको हुनुपर्छ । एउटै झन्डाले दिने अधिकार व्यक्तिपिच्छे फरक हुनु हुँदैन । कुनै एक नागरिकको झन्डाप्रतिको स्वामित्व धेरै र अर्काको स्वामित्व कम हुने भन्ने हुँदैन र त्यो झन्डामुनि परेका बखतमा जो–कोहीले प्राप्त गर्ने अधिकार र मेरो पनि नैसर्गिक अधिकार बराबरी हुनेछ भन्ने दृढ विश्वास उनमा थियो । संविधानको आलोकमा सबै नागरिक बराबर छन् भन्ने उनी भित्रैबाट महसुस गर्थे । आफूलाई कमजोर महसुस नगर्नका लागि र आफ्नो आत्मबल बढाउन उनी नेपालको राष्ट्रिय झन्डा बोकी हिँड्थे ।

३. संविधानमा यो या त्यो, जे लेखिए पनि व्यवहारमा छुवाछूत र उत्पीडन उनले भोगेको समस्या थियो । जीवनका प्रत्येक पाइलामा ती समस्यासँग जुध्न उनी त्यही संविधानलाई, संविधानको धारालाई टेकेर आफ्नो अधिकार प्राप्त गर्न चाहन्थे, त्यही झन्डामुनि बसेर । अर्थात् उनको मानवीय क्षमता प्रस्फुटन गर्न उनी उनको बाटोमा भाँजो हाल्ने जोकोहीसँग लड्नका लागि झन्डा उपयोग गर्न चाहन्थे । झन्डाप्रति अगाध आस्था हुनु भनेको संविधानले निरूपण गरिदिएका उपाय अथवा त्यस संविधानले निरूपण नगरेका उपाय उनी संवैधानिक शैलीबाटै प्राप्त गर्न चाहन्थे । उनी संविधानको बाहेक भएर होइन, संविधानभित्रैबाट ती अधिकार प्राप्त गर्न चाहन्थे ।

अम्बेडकरले भनेका छन्— जाति प्रथा एक किसिमको मानसिक रोग हो । यो मानसिक रोगबाट उत्पीडक पनि मुक्त छैन र उत्पीडित मुक्त हुने कुरै रहेन । तिनै अम्बेडकरले भारतीय दलितहरूलाई संवैधानिक माध्यमबाटै आफ्नो मुक्ति खोज्न सुझाएका थिए अर्थात् शान्तिपूर्ण संघर्षबाटै संविधानअन्तर्गत रहेर संविधानभित्रबाटै अधिकार छिन्न सिकाएका थिए । ती नवराजले अम्बेडकर भलै नपढेका थिए होलान्, तर उनका पदचापले, उनले बोकेको झन्डाले त्यतैतर्फ संकेत गरेका थिए ।

***

यस स्तम्भकारले ती दलित युवक नवराज विकले बोकेको राष्ट्रिय झन्डालाई यही संवैधानिक आलोकमा हेर्ने कोसिस गरेको हो । दलित मुक्तिका लागि ठूलो भूमिका खेलेको भनिएको माओवादी सशस्त्र विद्रोहको अत्यन्त धेरै प्रभाव परेको ठाउँमा समेत यसप्रकारको घटनालाई जसरी कथित ठूला जातले सदर गरे र त्यो पार्टीको केन्द्रले यसबारे बोल्न लामो समय आनाकानी गर्‍यो, सामान्य घटनाका रूपमा यसलाई लिने कोसिस गर्‍यो, त्यसले नेपालको दलित आन्दोलनसँग जोडिएका अभियन्ताहरूलाई एउटा नयाँ शिराबाट सोच्न बाध्य पारेको छ । नेपाली कांग्रेसको सिंगो पार्टी संयन्त्र यो मामिलामा परिचालन भएको देखिएन ।

जाति प्रथा एक किसिमको मानसिक रोग हो। यो मानसिक रोगबाट उत्पीडक पनि मुक्त छैन र उत्पीडित मुक्त हुने कुरै रहेन ।’

बहुदलीय परिपाटीमा राजनीतिक पार्टीहरू महत्त्वपूर्ण कुरा हुन् । तर, जब लोकतन्त्रमा पार्टीतन्त्र हाबी हुन्छ, भेरी नरसंहारजस्ता घटनाका पीडितहरूले न्याय पाउने सम्भावना कम हुन्छ । पार्टीतन्त्रको जालोले नवराज विकको बाबुलाई उनका छोराको पोस्टमार्टम रिपोर्ट हात पार्नुअगावै दाहसंस्कार गराउन बाध्य पारे । उनको हातमा किरिया खर्च जबर्जस्ती थमाएका समाचार पनि आए । राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले यस घटनाबारे नबोलेको भए वर्तमान सत्ताले घटनालाई यसै आलटाल गरिछाड्ने रहेछ ।

शान्ति अध्ययनका प्रणेता जोन गाल्टुङदेखि नवमार्क्सवादी अन्तिनियो ग्राम्स्कीसम्मले संरचनात्मक हिंसाबारे धेरै लेखेका, बोलेका छन् । नेपालमा दलितहरू, मधेसीहरू, महिलाहरू, आदिवासीहरू संरचनात्मक हिंसाबाट पीडित छन् । एउटा ब्राह्मणवादी चिन्तन के छ भने दलितहरू आफूभित्रै छुवाछूतको अभ्यास गर्छन् र हामीलाई छुवाछूत नगर भनेर कथित उपल्लो जातका लाई भन्छन् । कथित उपल्लो जातका मानिस के बिर्सन्छन् भने ती दलितले आफूबीच छुवाछूत गर्नसमेत उपल्लो जातबाट सिकेका हुन् ।

जुन मितिसम्म कथित उपल्लो जातले छुवाछूतको जड संरचनालाई त्याग्न सक्दैन, ती दलितले पनि नसक्लान् । मनुस्मृति यसकारण पनि इतिहासको महत्त्वपूर्ण विभाजक पुस्तक मानिन्छ कि यसले समाज विभाजनको मानक बोकेर आएको थियो र त्यो समाज विभाजनको कुरा जातिप्रथासँग विद्रोह गरेर आफ्नो अलग सम्प्रदाय बनाएका गुरु नानकले स्थापना गरेको शिख समुदायमा समेत जात प्रथा कालान्तरमा हावी हुन पुग्यो । अम्बेडकरले जात प्रथाको विरोध गरे, जातप्रथा धर्मसँग जोडिएको देखे । धर्मलाई शास्त्रले सहारा दिएको देखे । त्यसैकारण अम्बेडकरले जबसम्म जाति प्रथा प्रवर्द्धन गर्ने शास्त्रहरू तोडिन्नन्, च्यातिन्नन्, तबसम्म जातप्रथा रहन्छ भन्ने बुझेर जात, धर्म र शास्त्रको त्रिखुटी ओदानको आलोकमा हेरेका थिए । जतिप्रथाबाट मुक्तिको राह पहिल्याउने कोसिस गरेका थिए ।

जातप्रथा अन्त्यका लागि गान्धी र अम्बेडकरले सुझाएको मुख्य पाटो अन्तर्जातीय विवाह पछिल्लो समयमा जातीय हिंसाको सर्वाधिक ठूलो सिकार भएको छ । अर्थात् दलित मुक्तिका लागि संघर्ष गरेर त्यसको पक्षमा लेखेका/पढेका/बोलेका अग्रणी कार्य गरेका मानिसले देखाएको पहिलो उपाय पनि अहिले काम नलाग्ने सावित भएको छ । नेपालमा पनि कानुन निर्माण गरेरै दलित र गैरदलितबीचको विवाहलाई प्रोत्साहन र प्रेरणास्वरूप नगद पुरस्कार दिने व्यवस्था सरकारले गरेको छ । तर, यो पुरस्कारले दिने रकमभन्दा समाजले दिने दबाब, उत्पीडन र हिंसाले गर्दा अन्तरजातीय विवाह गर्नेहरू झन् भयावह समस्याको सिकार भएका छन् । त्यसैगरी आरक्षणका बारेमा पनि नयाँ शिराबाट सोच्न ढिला भएको बारे भारतीय चिन्तक अनिल टेल्टुम्देले ‘द रिपब्लिक अफ कास्ट’ मा विस्तारमा चर्चा गरेका छन् । यस मानेमा सदियौंदेखि उत्पीडित दलित जातिको मुक्तिका लागि नयाँ बाटो खोज्नुपर्ने टड्कारो अवस्था आएको छ ।

गान्धीले सुझाएको बाटो दलितको आँखाबाट हेर्दा उदार ब्राह्मणवादी बाटो थियो । ब्राह्मणको आँखाबाट हेर्दा अम्बेडकरले देखेको बाटो अत्यन्त क्रान्तिकारी थियो । यी दुईको बीचबाट लोहियाले जात र वर्गबारे गम्भीर तत्त्व मीमांसा गरेका थिए । उनले जातलाई स्थिर वर्ग भनेका थिए भने वर्गलाई चल्तीको र चालु जात भनेका थिए । अम्बेडकरले कहलिएका विश्वविद्यालयबाट जति नै ज्ञान आर्जन गरे पनि उनको दलितको पहिचानले उनलाई आजीवन छाडेन । त्यसैले उनले अन्तिममा मूल हिन्दु धर्म छाडेर हिन्दु धर्मकै भँगालो मानिने बौद्धधर्ममा आफूलाई समाहित गरे । अम्बेडकरले यसमा स्पष्ट बुझिने तर्क दिए– हिन्दु धर्मका जडशास्त्रहरूलाई प्रश्न गरेको या त बुद्धले हो या त गुरु नानकले नै हो । अम्बेडकरले बुद्ध र नानकमध्ये बुद्धलाई रोजे ।

बुद्धले सबैलाई शंका गरेर हेर र प्रमाणको कसीमा राखेर मात्र स्वीकार गर भनेका छन् । अम्बेडकरले यस मानेमा बुद्धधर्म रोज्नु उनको ठीक रोजाइ थियो । मुलुकी ऐनमा जातपात छुवाछूत उन्मूलनका कुराहरू लेखेर मात्रै जातीय मुक्ति हुँदोरहेनछ अर्थात् अम्बेडकरले भनेजस्तो धर्म परिवर्तन गरेर पनि दलितको दैनन्दिन जीवन सहज नहुने रहेछ । त्यसका लागि मानिसको चेतना फेर्नुपर्ने रहेछ । यो चेतना फेर्नका लागि शिक्षा र अवसर महत्त्वपूर्ण हुन् । एउटा व्यक्तिले आफूभित्र रहेका असीमित सम्भावनालाई प्रस्फुटित हुन दिने वातावरण प्राप्त गर्नु नै राजनीतिक, सांस्कृतिक, आर्थिक स्वतन्त्रताको परिचायक र निर्णायक तत्त्व हुनुपर्छ ।

दलित मुक्तिका अभियन्ता, सहयोगी र पक्षधरहरूले यस संविधानले चिनेको संविधानबाहिर वा भित्रभन्दा पनि त्यस बीचको मध्यमार्गी साँघुरो गल्छेडोबाट संघर्ष गरेर यो कुराको निरूपण गर्नुपर्ने भएको छ । ‘ह्वाई नेसन्स फेल’ का लेखकहरूको नयाँ पुस्तक ‘द न्यारो कोरिडर’ मा त्यो मध्यमार्गी बाटोको बृहत् चर्चा गरिएको छ । नवराजले बोकेको झन्डाको अर्थ हामीले त्यस मानेमा बुझ्यौं भने मात्रै उनको शहादतमा भेरीमा सिञ्चित रगतलाई गणतन्त्र नेपालको मानवतावादी र वैज्ञानिक चेतले न्याय गरेको ठहरिनेछ । रुकुम घटना ‘गुणकारी गणतन्त्र’ बन्ने बाटोमा प्रमिथसले उछिट्याएको आगो बनोस् ।

@shankarktm1

प्रकाशित : श्रावण २४, २०७७ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?