वन– पाठशाला - कोसेली - कान्तिपुर समाचार

वन– पाठशाला 

सयौं वर्षसम्म घण्टी हल्लाउँदै हिँड्ने स्वच्छन्द खच्चडका कारभानहरू अब देखिँदैन । चरा नउड्ने आकाशझैं अब त कालीगण्डकी पनि रित्तो छ । 
रोशन शेरचन

काठमाडौँ — वनविज्ञान रूखको विज्ञान होइन, बरु मानिसकै विज्ञान हो । रूखकेन्द्रित विज्ञान हो भने, त्यो हदसम्म, जबसम्म रूखले मान्छेको आवश्यकतालाई सम्बोधन गर्छ । 
– ज्याक वेस्टोविज्, १९६७

लामपाते, चिलाउने र गोगनको घना जंगलमाझ रहेको वन–पाठशाला हेटौंडामा पढेको पनि चौंतीस वर्ष नाघेछ । सपना त मेरो पनि डाक्टर वा इन्जिनियर बन्ने थियो । तर, नाम निस्केन । अहिले सोच्दा सपना समयको हुँदो रहेछ । त्यसबखत समयले अधिकांशलाई डाक्टर वा इन्जिनियर बन्ने सपना भिराइदिएको थियो । विकल्पमा त्रिचन्द्र क्याम्पसमा भर्ना भएँ तर अधिकांश कक्षा भने भिडियो देखाइने मखन र गुच्चा टोलमा लिएँ । एक वर्ष त्यसै खेर गयो । वन पाठशालामा भर्ना भएपछि भने जीवन मोडियो ।

गुरुबाट वनविज्ञान रूखहरूको भन्दा मान्छेकै विज्ञान हो भन्ने सुन्दा, त्यो मथिंगल खलबल्याउने कुरा थियो । सोसल फरेस्ट्रीले जरा हाल्दै गर्दाको समय थियो । त्यसैको जगमा नेपालमा सामुदायिक वन विकासको खाका कोरियो । गुरुकुलजस्तै थियो, वन पाठशाला । जंगलबीच । कडा अनुशासन । छात्रावासको जीवन । वन पाठशालका केही आधारभूत सिद्धान्त (फन्डामेन्टल्स्) अझै सम्झन्छु ।

पहिलो, वन नवीकरणीय स्रोत हो । बुट्यान, वनजंगल, घाँसेमैदान पारिस्थितिक प्रणाली भएकाले पटके प्रयोग गर्न सकिन्छ । वन वा घाँसेमैदान त्यसैले, भण्डार स्रोत (स्टक रिसोर्स) र प्रवाह स्रोत (फ्लो रिसोर्स) दुवै हो । ढुङ्गा, स्लेट, पेट्रोलियम पदार्थझैं पुनरुत्पादन हुन वनले लाखौं, करोडौं वर्ष लिँदैन । प्रजातिअनुसार, वनवृक्षहरू मुनाबाट (कपिसिङ्) पनि उत्तिकै पलाउँछ । भलै केहीका उर्बर मुना हुन्छन्, केहीका कमसल । टुँडिखेल पूर्वतिरको लहरेपीपलहरू माथि नै काट्दा पनि, मुना हालेर पलाएको हामीले देखेका छौं । पोलार्डिङ भनिने यी प्रक्रिया अन्य केही प्रजातिमा पनि पाइन्छ । बीउबाट हुने पुनरुत्पादन त चल्तीकै विधि भैहाल्यो ।

दोस्रो, यो प्रयोजनपरक विज्ञान (एप्लाइड साइन्स) हो । वनसँग सम्बन्धित ज्ञानलाई व्यवहारमा कसरी उतार्ने भन्ने यसको ध्येय हुन्छ । कुन विज्ञान प्रयोजनपरक छैन ? प्रश्न गर्न सकिन्छ । तर, बहुसंख्यक जनसंख्या अझै कृषिमा निर्भर रहनु, पशुपालन कृषिको अभिन्न अंग हुनु र परम्परादेखि स्थानीय समुदाय र आदिवासी जनजातिहरू वनजंगलमै आश्रित रहनुले वनको प्रयोजन फराकिलो छ भन्ने बुझिन्छ । वन रूखहरूको झुन्ड मात्रै नभएर, नेपाली जीवनसंस्कृतिको अभिन्न अंग त्यसै भएको होइन । वनको समाजिक, सांस्कृतिक र आर्थिक ऐतिहासिकता हुन्छ ।

तेस्रो, वनहरूको पनि मान्छेको झैं घर (रेन्ज) हुन्छ । ती रेन्ज, धरातलीय स्वरूप, उचाइ, जलवायु, मोहडा, माटोलगायतका कारणले निर्धारण हुन्छन् । मुस्ताङको मान्छे संसारको हरेक देशमा भेटिन सक्छ तर तराईको खयर, सिसौ कञ्चनजंगाको घुन्सामा कसै गरी भेटिन्न ।

वन–पाठशाला रमाइलो थियो । त्यसका केही निश्चित विशेषता थिए । एक, अध्ययन भ्रमण । दोस्रो, बिहानको पीटी र साँझको खेलकुद । वनको आनीबानी चिनाउन प्रशस्त शैक्षिक भ्रमण हुन्थ्यो । हाल मार्केट गोष्ठी र सेमिनारको छ तर दिगो सिकाइका निम्ति भ्रमण जति प्रभावकारी अरू छैन । दामनको पहिलो भ्रमण धेरै सम्झन्छु— एउटै डाँडाको दक्षिणी मोहडामा छपक्क खोटेसल्ला, उत्तरी मोहडामा गोब्रेसल्ला, सदनमा सांसद बसेजस्तो कित्ताकाटै गरेर, अचम्म ! धरातलीय स्वरूप, जलवायु उही भएर पनि मोहडाको कारणले त्यसो भएको, बताइएको थियो । दक्षिणी मोहडामा घाम प्रशस्तै पर्ने, उत्तरमा नपर्ने ! त्यसैले कालान्तरमा खोटेसल्ला घाम रुचाउने प्रजातिमा (लाइट डिमान्डर) उद्भव हुँदै गयो, गोब्रेसल्ला सियाल सहने (सेड टलरेन्त) । वनवृक्षहरू यसै ठिङ्ग उभिएका बेरोजगार युवाजस्ता लाग्छन् । तर, हरेक वृक्ष त्यस पर्यावरणको सबभन्दा योग्य जैविक अभिव्यक्ति रहेछन् भन्ने थाहा भयो ।

दामनको जंगलमा रूखको नाप–जाँचबारे सिक्यौं– रूखको गोलाइ, उचाइ र आयतन निकाल्ने तरिका । भिरालोमा त्यो जटिल कार्य थियो । स्कुलमा ट्रिगनोमेट्रिमा पढेको ‘हाइट एन्ड डिस्टेन्स’ को व्यावहारिक प्रयोग बल्ल पत्तो पाएँ । समथरमा नाप–जाँच गर्न भने लगत्तै पर्सा राष्ट्रिय निकुञ्जमा लगिएको थियो । विसं २०४२ को कुरो, चारकोसे झाडी निकै बाक्लो थियो । आधाभारस्थित निकुञ्जकै भौतिक संरचना अस्थायी प्रकृतिको थियो । वनभित्रै टेन्टमा हाम्रो बस्ने प्रबन्ध गरिएको थियो । निकुञ्जको कर्मचारीले केही दिनअघि मात्रै नजिकै जंगली हात्ती देखिएको बतायो । डरले हामी धेरैको निद्रा लागेन । टेन्टको पहिलो अनुभव थियो त्यो ।

त्यस्तै अर्को भ्रमणमा काँडेदार तारबार गर्न फेवा जलाधारको सिरान तारेभीर पुग्यौं । जयप्रसाद यादव सरले हामीलाई हौस्याउँदै उकालो चढाए । पोल र काँडेतार केही दिनअघि नै साइटमा झारिसकिएको थियो । त्यसपछि प्वाकल खन्ने, रोलबाट तार निकाल्ने र बोराको झुम्रोले तारलाई तन्काएर पोलमा युनेल ठोक्ने धन्दा सुरु भैहाल्यो । यादव सरले विद्यार्थीहरूलाई केही हुन्छ कि भनेर फस्ट एड किटमा औषधि, डेटोल र ब्यान्डेज पनि बोकेका थिए । लखतरान फर्केका थियौँ, बासस्थान पामे नर्सरीमा । चेकड्याम बनाउन धम्पुस–फेदी आसपास ढुंगाका चट्टान पनि बोक्यौं । अहिले पनि मुस्ताङ जाँदा त्यस स्थानमा आइपुग्दा त्यो स्मृति दोहोरिन्छ । चेनसले रूखहरू ढाल्ने अभ्यास गर्न सागरनाथको वनमा तँछाडमछाड गर्‍यौं । वन डढेलो नियन्त्रण अर्को अभ्यास थियो । ३४ वर्षपछि, कक्षाका लेक्चररहरू जति बल गरे पनि सम्झिइँदैन, शैक्षिक भ्रमणका अनुभव सम्झन केही गर्नै पर्दैन । अहिले त निजी वन क्याम्पसहरू आएका छन् । के सरकारी वा निजी वन क्याम्पसमा प्रयोगात्मक अभ्यासमा त्यति नै जोड दिइन्छ ? के वन संकाय मानविकीजस्तो त भएको छैन ? प्रश्न उब्जन्छ ।

वनक्षेत्र वृद्धिका कारण

वन अनुसन्धान तथा सर्भेक्षण विभागको ‘स्टेट अफ नेपाल्स फरेस्ट्स्’ (डिसेम्बर २०१५) अनुसार, वनले ५९ लाख ६२ हजार हेक्टर भूभाग ओगटेको छ, जुन नेपालको कुल क्षेत्रफलको लगभग ४०.३६ प्रतिशत हुन आउँछ । कुल वन क्षेत्रफलको ३७.८० प्रतिशत मध्यपहाडमा, ३२.२५ प्रतिशत उच्चपहाडी तथा उच्चहिमाली क्षेत्रमा, २३.०४ प्रतिशत चुरेमा र ६.९० प्रतिशत तराईमा अवस्थित छ । सन् १९७८/७९ को एलआरएमपी र सन् १९९४ को राष्ट्रिय वन सर्वेक्षणको तुलनामा वनक्षेत्र बढेको देखिन्छ । पूर्वाधार निर्माणले वनक्षेत्र नासिँदा, पुनर्वास कार्यक्रम र वन अतिक्रमणका बाबजुद वनक्षेत्र बढ्नु सकारात्मक पक्ष हो । वन निकाय, स्थानीय समुदाय, उपभोक्ता समूह र संरक्षणमा काम गर्ने निकायहरूको सामूहिक प्रयासले यो सम्भव भएको हो । नर्सरी स्थापना, वृक्षरोपण, बिरुवा संरक्षण, पुनरुत्पादन प्रणाली, वनगस्ती, वन अतिक्रमण हटाउने, वन डढेलो रोकथाम, उपभोक्ता समूह, निजी वनपालक वा साझेदारहरूलाई वन व्यवस्थापनमा क्षमता अभिवृद्धि, सचेतनामूलक अभियानलगायतका गतिविधि यसमा पर्छन् ।तर, थोरै गहिरिने हो भने, दुई बाह्य कारण यसमा जिम्मेवार छन् ।

पहिलो, वैकल्पिक ऊर्जाको बढ्दो प्रयोग । सडकको बढ्दो सञ्जालले दाउरालाई ठूलो हदमा एलपी ग्यासले विस्थापित गरेको छ । ग्यास दाउराभन्दा सस्तो छ । दाउरा खोज्न लाग्ने समय, दैनिक ज्यालादारीलाई दिने, ज्यालाले खाद्यान्नको जोहो गर्ने र ग्यास किन्ने घरधुरी बढेको छ । भलै सडक सञ्जालले नछोएका उच्च हिमाली क्षेत्र, चुरे र महाभारत शृंखलाका कुनाकाप्चामा ग्यास पुग्न बाँकी छ । तराई र मध्यपहाडी क्षेत्रमा बायोग्यास र बिजुलीकै प्रयोगकर्ता पनि बढेका छन् । तर, विगतमा त्यस्तो थिएन । म गृहजिल्ला मुस्ताङ सम्झन्छु ।

टुक्चेभन्दा उत्तरका मार्फा, जोमसोम, कागवेनी, रानीपौवा, मुक्तिनाथमा दाउराको ठूलो दुःख थियो । अझै छ । कारण जंगल कोसौं टाढा छ । बन्जर भूमि र काँडेदार बुट्यानहरूको बाहुल्य छ । चर्को अभाव भएकाले मार्फा, जोमसोममा दाउरा भण्डारण गर्ने चलन थियो । चलन लामो समय बाँचे परम्परा बन्ने रहेछ । हरेकको छतमा गच्छेअनुसारको मुढा वा दाउराको चाङ देखिन्थ्यो । कतिका चिरुवा त बाउ–बाजेकै पालाकाजस्ता लाग्थे– काला, निख्खुर ढाडे, समयको लेउ लागेका । दाउराका चाङ हेरेरै को कति धनी छ थाहा पाउन सकिन्छ भन्ने गाइँगुइँ पनि चल्थ्यो । खच्चड वा झोप्पामा बोकाएर टाढाको जंगलबाट काठ ओसार्न जो–कोहिले सक्दैनथे । तर, बाटो खुलेपछि चाङ लगाउने परम्परामाथि गाडी गुडेको छ । घर–घरमा ग्यास भित्रिएको छ । खच्चड, झोप्पा बेरोजगार भई बसाइं सरेका छन् । सयौं वर्षसम्म घण्टी हल्लाउँदै हिँड्ने स्वच्छन्द खच्चडका कारभानहरू अब देखिँदैन । चरा नउड्ने आकाशझैं अब त कालीगण्डकी पनि रित्तो छ ।

दोस्रो, रोजगारका निम्ति प्रबासिने कारणले गाउँ रित्तो हुँदै जाँदा खेतबारी बाँझो हुनु र त्यो स्थान क्रमशः जंगलमा बदलिनु । वन विज्ञानमा यौटा सिद्धान्त छ ः इकलजिकल सक्सेसन । त्यसमा बताइन्छ, समयक्रममा प्रकृतिमा वनस्पतिहरू कसरी आउँछन् र बदलिन्छन् ! प्रकृतिलाई (यहाँ भूमि भनौँ) त्यसै छाडिदिए, पहिला पायनियर वनस्पतिहरू आउँछन्, त्यसले माइक्रो क्लाइमेट निर्माण गर्छ, माटोको गुण परिवर्तन गर्छ र दोस्रो तहको वनस्पतिका निम्त उपयुक्त वातावरण बनाउँछ । समयको अन्तरालमा, दोस्रो तहको वनस्पतिलाई पनि विस्थापित गर्दै अन्त्यमा क्लाइमेक्स वृक्षहरू देखापर्छन् । तत्तत् प्राकृतिक वातावरणमा त्यो अन्तिम र स्थिर तहको वृक्ष हुन् । यो विकासक्रम पारिस्थितिक प्रणालीअनुसार भिन्न हुन्छ । जस्तै, तराई–मधेसको खोला किनारको वनमा (रिभराइन फरेस्ट) प्रारम्भमा कांस, झौवा आउँछ । बिस्तारै लामो समय लिँदै त्यसलाई सिन्दुरे, खयर, सिसौर अन्त्यमा सिमल र सालले विस्थापित गर्छ ।

वनको बहुउपयोग र व्यवस्थापन चुनौती

वैकल्पिक ऊर्जाको बढ्दो प्रयोग, सडक सञ्जालमा वृद्धि, तीव्र सहरीकरण, मानव–वन्यजन्तुको द्वन्द्व र वैदेशिक रोजगार आदि कारणले पछिल्लो समयमा वनको प्रयोगमा परिवर्तन देखिएको छ । वनप्रतिको प्रत्यक्ष निर्भरता घट्दो छ । घाँस, दाउरा, स्याउला, पतकर, जडीबुटी र फर्निचरका निम्ति काठ निकाल्ने अलावा वन पैदावार ननिकालेरै प्रयोग गर्ने प्रचलन बढ्दै गएको छ । वनपैदावार ननिकालीकन गरिने प्रयोग (ननकन्जम्टिभ युस) निकुञ्ज, सामुदायिक वन, पर्यापर्यटन, सिमसार, कार्बन व्यापार र सहरी वनमा विशेष देख्न सकिन्छ । रूख नकाटीकन, नमासीकन, सौन्दर्यको महत्त्व (एमेनिटी भ्यालु) लिने बढ्दै छन् । त्यस्तै जैविक विविधता मूलतः संरक्षित क्षेत्र र वन संरक्षण क्षेत्रमा (अघिको संरक्षण वन) केन्द्रित छ । काठमाडौंको एक मात्र सहरी वन रानीबारी सामुदायिक वन हो । प्रातःकालमा योगा गर्ने, ध्यान गर्ने, मर्निङ वाकमा यो वन लोकप्रिय छ । बढ्दो जनघनत्व, ध्वनि तथा वायु प्रदूषण र खुला स्थानको अभावले गाँज्दै गरेको सहरी क्षेत्रमा वनको वेलनेस भ्यालु महत्त्वपूर्ण बन्दै छ ।

वन क्षेत्रको एक मुख्य चुनौती, राष्ट्रको कुल गार्हस्थ्य उत्पादनमा यसको न्यून योगदान हो । एफएओको रेपोर्टअनुसार, १९९०–२००० मा वनको योगदान वार्षिक ४.४ प्रतिशत रह्यो । त्यस्तै सन् २००८ मा प्रकाशित वन अनुसान्धान तथा सर्वेक्षण विभागको तथ्याङ्कमा, ९.२३ प्रतिशत देखिन्छ ।

वन नवीकरणीय स्रोत भएकाले उचित व्यवस्थापन भए, काट्दैमा त्यो मासिँदैन । बरु कुन उद्देश्यका निम्ति त्यो काटिँदै छ त्यसमा प्रस्ट हुनुपर्छ । वनको प्रतक्ष्य फाइदा लिन सरोकारवालाबप्च मिहिन छलफल आवश्यक छ । देशभित्रै काठको अत्यधिक माग हुँदाहुँदै व्यवस्थापनको कमजोरीले विदेशबाट काठ आयात गर्नुपरेको विसंगत स्थिति छ । वन अर्थशास्त्री डा. राजेश राई र विशाल भारद्वाजको अध्ययनअनुसार, नेपालका उत्पादनशील वन क्षेत्रले वार्षिक रूपमा कम्तीमा ३५ करोड घनफिट काठ उत्पादन गर्ने क्षमता राख्छ । तर, आर्थिक वर्ष ०७४/७५ मा कुल क्षमताको पाँच प्रतिशत अर्थात् एक करोड ७५ लाख घनफिट काठ मात्र उत्पादन भएको थियो । आर्थिक वर्ष २०७१/७२ मा २.१३ अर्बको आयात चार वर्षभित्र तीन गुणाले बढेर साढे ६ अर्ब पुग्यो । स्वदेशी काठको माग धान्न र कुल गार्हस्थ्य उत्पादनमा थप टेवा दिन सरकारी वन, साझेदारी वन र चुनिएका सामुदायिक वनमा काठ उत्पादनका निम्ति सघन वन व्यवस्थापन गर्नु जरुरी छ । साथै तराई–मधेसको वनमा ठूलो परिमाणमा रूखहरू कुहिएर, धोद्रो भएर बसेको छ । विशाल परिमाणका यी रूखको स्थान प्राकृतिक पुनरुत्पादन वा वृक्षरोपणबाट भरिलो बनाउन आवश्यक छ । ती वनक्षेत्र जैविक मार्ग हो भने फेरि त्यहीअनुसार व्यवस्थापन गर्नुपर्छ ।

माग र आपूर्तिबीचको दूरी कम गर्न नसक्नुका पछाडि सायद प्राविधिकभन्दा राजनीतिक कारण बढी छ । वनक्षेत्रमा राजनीतिक इच्छाशक्तिको अभाव खट्किँदो छ । वन विज्ञानमा लामो अवधिको सोच आवश्यक पर्छ । नेतृत्व तहमा त्यसअनुसारको योजना र धैर्य न्यून देखिन्छ । नेतृत्व तहमा मात्रै होइन, अधिकांश वन प्राविधिकहरू पनि वार्षिक क्यालेन्डरको अल्पकालीन दृष्टिकोणबाट निर्देशित हुँदै गएजस्तो लाग्छ ।

टिम्बरको बढी उत्पादन गर्नु, माग र आपूर्तिको दूरी कम गर्नु, बाहिरिने पैसा जोगाउनु, वनमा आधारित रोजगार सृजना गर्नु र राष्ट्रको कुल गार्हस्थ्य उत्पादनमा थप टेवा दिनु प्रमुख उद्देश्य भए पनि वनको प्रत्यक्ष योगदान मात्र हेर्नु एकांगी हुन्छ । वनका अप्रत्यक्ष फाइदाहरू अनेकन छन् । यद्यपि अप्रत्यक्ष फाइदाको मापन गर्नु कठिन छ । सन् १९९५ मा जैविक विविधता प्रोफाइल परियोजनाका अनुसार, देशभर सूचीकृत ११८ इकोसिस्टममध्ये ११२ वटा वन इकोसिस्टम छन् । यी इकोसिस्टमले दिने वातावणीय सेवाको समग्र मूल्याङ्कन हुन बाँकी छ । केही प्रयास नभएका होइनन् । सन् २००५ मा वन तथा वातावरण मन्त्रालयले गरेको वातावरणीय सेवाको आर्थिक मूल्याङ्कन एक हो । सन् २००८ मा वन अनुसन्धान तथा सर्वेक्षण विभागले कुल गार्हस्थ्य उत्पादनमा वन क्षेत्रको योगदान निकाल्न अध्ययन गरेको थियो, जसमा प्रतक्ष्य (युस भ्यालु) र अप्रतक्ष्य (नन युस भ्यालु) महत्त्व दुवै समेटिएको थियो । तर, यस विधिलाई परिमार्जित गर्दै थप विज्ञानसम्मत (रोबस्ट) बनाउन सकिएको छैन । न यो सघन छलफलकै विषय बनेको छ ।

सन् २०१३ मा भारतमा अर्थशास्त्री पार्था दास गुप्ताको नेतृत्वमा हरित राष्ट्रिय लेखापालन (ग्रिन नेसनल एकाउन्ट्स) विशद् पद्धति विकसित गरिएको थियो । वातावरणीय सेवा सुविधाको समग्र लेखाजोखा नभएसम्म वनको समष्टिगत योगदान यकिन गर्न असम्भव छ । पर्यटनमा मात्र वनको योगदान यकिन गर्न सकिए, कुल गार्हस्थ्य उत्पादनमा वनक्षेत्रको योगदान थपिने थियो । कारण पर्यापर्यटन र साहसिक पर्यटन मूलतः प्रकृतिमै केन्द्रित छ । न्यून योगदानलाई देखाएरै अर्थ मन्त्रालयले पर्याप्त बजेट नपारेको वनकर्मीबीच बारम्बार चर्चा चलिरहन्छ ।

वन विभागको २०१७–१८ को तथ्याङ्कअनुसार, करिब २२ लाख ३७ हजार हेक्टर सामुदायिक वनले ओगटेका छन् । सामुदायिक वनको संख्या २२,२६६ छ । प्रत्येक पालिकालाई सरदर ३,००० हेक्टर वन पर्न आउँछ । वनको क्षेत्रफल बढाउन, उपभोक्तालाई वन पैदावारमा पहुँच पुर्‍याउन, महिला र विपन्न वर्गको सशक्तिकरणका निम्ति सामुदायिक वन सफल छ । द्वन्द्वकालमा अन्य स्थानीय संस्था निष्क्रियप्रायः रहँदा, पिँधसम्म फिँजिएकाले, सामुदायिक वन उपभोक्ता समूहहरू निर्बाध चलिरह्यो । तर, यसका कमजोरी पनि छन् । कतिपय सन्दर्भमा पारदर्शिता र सुशासन कर्मकाण्डजस्ता भएका छन् । उपभोक्ताप्रति उत्तरदायित्व भावनाको कमीले व्यक्तिगत आर्थिक फाइदा लिने काममा लागेका कैयन् उदाहरण छन् । वनविज्ञानको प्राविधिक पाटाहरू नसिक्ने, लागू नगर्ने (वा नाम मात्रको गर्ने) र स्रोतको तथ्याङ्कबारे जानकारी नराख्ने समूह बग्रेल्ती छन् ।

अर्को चुनौती, क्षेत्र अवधारणा (जोनिङ एप्रोच) लागू गर्नु हो । यो अवधारणा लागू नभएको होइन तर जोड पुगेको छैन । न त यसमा पर्याप्त छलफल नै भएको छ ।

गत ८ जनवरीमा वन अध्ययनकै सिलसिलामा विजयराज पौडेलसँग धनुषाधाम पुगेका थियौं । ३६० हेक्टरको संरक्षण वन हेरिसकेपछि स्थानीय समितिसँग छलफल गर्‍यौं । वनलाई बहुउपयोग गरिएको रहेछ– जैविक विविधता, सिमसार क्षेत्र व्यवस्थापन, वनस्पति उद्यान र वन्यजन्तु उद्यान । वन्यजन्तु उद्यानको किस्सा रोचक लाग्यो । विगतमा किङ कोब्राबाट राम्रो आम्दानी भएको रहेछ । प्रवेश–शुल्क रु. १०/– जनकपुरबाट समेत मानिसहरू वन हेर्न आउँदा रहेछन् । धनुषा मन्दिर नजिकै भएकाले मिथिला परिक्रमा, राम–जानकी विवाह र माघ महिनामा भक्तजनहरूको पनि उत्तिकै घुइँचो । किङ कोब्रा मरेपछि भने आम्दानी ह्वात्तै घटेको वन अधिकृत शंकर झाले सुनाएका थिए । अहिले वनमा अजिंगर छ । तर, अजिंगरले पहिलेझैं वनमा मान्छे तानेको छैन । दुर्लभ वन्यजन्तुप्रति मान्छेको आकर्षण जहिल्यै सदावहार छ । सदर चिडियाखानामा पनि वनमान्छे राखिएको खण्डमा मान्छेको सधैँ भीड लाग्छ । वनबाट अधिकतम लाभ लिन हामीलाई धेरै धनुषाधामहरू चाहिएको छ ।

सामुदायिक वन, साझेदारी वन, मध्यवर्त्ती सामुदायिक वन र वन संरक्षण क्षेत्रमा व्यवस्थापन कार्ययोजनाहरू बनाइन्छ । वन व्यवस्थापन पद्धतिमा वनको बहुप्रयोगमा जान आवश्यक भैसकेको छ । वनक्षेत्रको बहुउपयोग गर्न यो अवधारणा नभई सम्भव छैन । उदाहरणका रूपमा, चुरेअन्तर्गतको सामुदायिक वनमा सिमसार छ भने, मनोरञ्जनका निम्ति नौका विहार, पदमार्ग र पिकनिक स्पट बनाई पर्यापर्यटन विकास गर्न सकिन्छ । दुर्लभ पन्छीको बासस्थान हो भने संरक्षण नै गर्नुपर्छ । त्यही वनको अर्को खण्डको जैविक विविधता र पर्यटकीय महत्त्व छैन भने टिम्बर उत्पादनलाई जोड दिन सकिन्छ । यसरी एउटै वनक्षेत्रलाई वातावरणीय सेवाको आधारमा खण्ड छुट्टयाएर बहुउपयोग गर्दा अधिकतम लाभ लिन सकिन्छ ।

वन र समृद्धि

वनक्षेत्रको ठूलो चुनौती देशकै समृद्धिसँग सम्बन्धित छ । कारण ठूला विकास वा पूर्वाधार निर्माण वनक्षेत्रमै भएको छ । अन्तर्राष्ट्रिय विमानस्थल, हाइड्रोपावर, ट्रान्समिसन लाइन र सडक राजमार्ग आवश्यकता र अवसर जति हो, वनक्षेत्रका निम्ति उतिकै चुनौती हो । ‘राष्ट्रिय प्राथमिकता प्राप्त योजनाका लागि राष्ट्रिय वनक्षेत्र प्रयोग गर्नेसम्बन्धी मापदण्डसहितको कार्यविधि, २०७६’ अनुसार, सम्बन्धित मन्त्रालयले योजनाको सम्भाव्यता अध्ययन गर्दा सम्भव भएसम्म राष्ट्रिय वनक्षेत्र नपर्ने गरी सम्भाव्यता र विकल्पहरूको अध्ययन गर्नुपर्नेछ, लेखिए तापनि यथार्थ विपरीत छ । प्रदेश राजधानी वनमै राख्ने योजना बन्छ । भूमिहीन तथा सुकुम्बासीको पुनर्वास वनमै गरिन्छ । अन्तर्राष्ट्रिय विमानस्थलका निम्ति वनक्षेत्र नै छानिन्छ । प्रसारण लाइन वनक्षेत्रबाटै तानिन्छ । रूख बोल्दैन, त्यसैले धमाधम काटिँदै छ । लाग्छ, मान्छेले वनलाई जहिल्यै प्रतिवादी बनाएको छ । त्यति मात्र होइन, सरकारी कार्यालय भवन निर्माण, सुरक्षा निकायका निम्ति जग्गा तथा आवास, सञ्चार पूर्वाधारका निम्ति पनि वनक्षेत्र प्रयोग भएको तथ्याङ्कले देखाउँछ । पछिल्ला वर्षमा ग्रामीण सडकको नाममा पर्यावरणीय क्षति चुलिएको छ । सम्भाव्यता अध्ययन नगरी अन्धाधुन्ध खनिएका बाटाहरू, डोजरको चरम प्रयोग, त्यसले निम्त्याउने पहिरो, पानीको मुहान सुक्ने र नदीको बहाव परिवर्तनजस्ता अत्यन्त दुःखद घटना भएका छन् ।

पूर्वाधार निर्माणलाई आवश्यक ढुंगा, गिट्टी, बालुवाजस्ता नदीजन्य पदार्थको उत्खनन र ओसारपसार व्यवस्थित गर्न नसक्दा जलाधार क्षेत्र प्रभावित बनेको छ । प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) नगरी पूर्वाधारको काम थालिनु चिन्ताको विषय छ । दोषीलाई कारबाही गर्ने कुरामा नेतृत्व चुकेको छ । वन र वातावरण सेक्टर सायदै यति निरीह यसअघि भएको थियो । प्राविधिक ज्ञान र अनुभव (जे जति छ) वन निकायमा छ, पूर्वाधार विकासको अथाह बजेट र कार्यक्रम प्रदेश र स्थानीय सरकारमा । अपवाद छाडी समन्वय र सहकार्य प्रभावकारी छैन ।

भर्खर पंक्तिकारले केही गाउँपालिकाको वातावरणसम्बन्धी खर्चको विश्लेषण गरेको थियो । प्रारम्भिक विश्लेषणमा, पालिकाहरूको वातावरणसम्बन्धी सरदर व्यय ३ प्रतिशत छ । अधिकांश खर्च बाटो, भवन र खानेपानीमा देखिन्छ । भौतिक पूर्वाधारलाई वातावरणमैत्री नबनाउने कसैले भन्दैन तर ठोस काम अत्यन्त कम भएको छ ।

समयमै मान्छे नचेत्ने हो भने, त्रासद समय झन् नजिकिनेछ । देशले भर्खर भोगेको बाढी–पहिरो र डुबानले वस्तुतः मान्छेकै स्वार्थको कथा भन्छ । हजारौं डोजरले चिथोरेका पर्यावरण, मृत्युशय्यामा अन्तिम सास लिइरहेका खोलाहरू र मिचाहा झारले गाँज्दै लगेको घाँसे मैदानले दुःखकै गीत गाइरहेका छन् । ‘जंगल : एउटा सलिलक्की’ मा कविले त्यो गीत उहिल्यै सुनेका थिए–

विषादमा डुब्नेछ जून

खोला र जंगलसित लुकामारी बिलाउँदा

निस्सासिनेछ रात

रूखहरूसँग निर्धक्क निदाउन नपाउँदा

लहडी घामले सूर्यको प्रशंसामा

युगौदेंखि गाउँदै आएको गीत

एक दिन अलप हुनेछ

– अविनाश श्रेष्ठ

(शनिबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : श्रावण २३, २०७७ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्

पृथ्वीको स्वास्थ्य

अरिलिएसको शासनकालमा महामारी फैलिएको थियो । रोमन साम्राज्यलाई १५ वर्षसम्म थिलथिलो पारेको एन्टोनिन प्लेग भनी चिनिएको त्यो महामारीमा पचास लाख मानिसको मृत्यु भएको थियो । त्यसबेला दास, बालबालिका, बिरामी र वृद्धवृद्धा धेरै मरे ।
रोशन शेरचन

महाव्याधिकाे उद्‍भव - कोभिड–१९ ले उत्पन्न गरेको कहरबीच मार्च २०२० मा डब्लूडब्लूएफले ‘प्रकृतिको क्षय र महाव्याधिको उद्भव’ (द लस अफ नेचर एन्ड राइज अफ पानडेमिक) शीर्षकको एक रिपोर्ट प्रकाशन गर्‍यो । रिपोर्टमा कोभिड–१९ को उद्गम स्रोत, त्यसको विस्तार र माध्यमबारे पछिल्ला वैज्ञानिक तथ्य छन् र तथ्यको विश्लेषण गरिएको छ ।

प्रकृतिको क्षयसँगै विगत र हालका दिनमा देखिएको महाव्याधिका उद्भवको कार्यकारण सम्बन्धको व्याख्या गरिएको छ । डब्लूडब्लूएफ प्रकृति संरक्षण, वन्यजन्तुको बासस्थान संरक्षण र वन्यजन्तुको चोरी सिकार नियन्त्रणमा दशकौंदेखि समर्पित विश्वव्यापी संस्था भएकाले पनि रिपोर्टको महत्त्व बढेको छ । यस लेखको पहिलो परिच्छेद यही रिपोर्टमा आधारित छ ।

कोरोना भाइरसको परिवार ठूलो छ । यो महामारी यसअघि पनि नदेखिएको होइन । जसमध्ये युरोपमा देखिएको श्वासप्रश्वास महामारी मेर्स (सन् २०१२ मा साउदी अरबमा पहिलोपटक देखिएको) र सन् २००२ मा दशिण चीनको गुवानडोन प्रान्तको सार्स प्रमुख छ । हाल त्राहिमाम मच्चाएको भाइरस कोरोना परिवारकै भएकाले विश्व स्वास्थ्य संगठनले यसलाई कोभिड २०१९ (को– कोरोना, भी– भाइरस, डी– डिजिज र १९, सन् २०१९ मा पहिलापटक पहिचान भएकाले) नामकरण गरेको छ । यसको कम प्रचलित अर्को नाम पनि छ । भाइरसको नामकरण गर्ने विश्वव्यापी संस्थाले (इन्टरनेसनल कमिटी अफ टेक्सोनोमी अफ भाइरसेस) दिएको नाम ः सार्स कोभ–२ । सार्स भाइरसको जिनसँग धेरै मिल्ने भएकाले यसलाई सोर्स कोभ–२ नाम दिइएको छ । तर, यी दुईबीच खास भिन्नता छ । सार्स कोभ–२ (कोभिड–१९) बाट हुने मृत्युदर सार्सको तुलनामा कम तर संक्रमण दर अधिक छ ।

वैज्ञानिक समुदायमा चुनौती बनेको प्रश्न छ, यो भाइरस वुहानमा कहाँबाट, कुन माध्यम हुँदै आयो ? डिसेम्बर २०१९ मा चीनको वुहानबाट फैलिएको उक्त भाइरसको उद्भव केन्द्र र माध्यमका बारेमा वैज्ञानिक र अनुसन्धान गर्ने केन्द्रका आफ्नै तर्क, विश्लेषण र अनुमान छन् । भाइरस अर्को जीवमा (विभिन्न वन्यजन्तु वा मान्छे) प्रवेश गरेपछि त्यसले आश्रय दिने जीवको (होस्ट) शरीरमा भएका भाइरससँग अन्तरक्रिया गरी फेरिन्छ र भिन्न संरचनाको बन्छ । कतिपय अवस्थामा त नयाँ भाइरसको प्रजातिको रूपमा उद्भव हुने वैज्ञानिक तथ्य छ । त्यसै कारण भाइरसको स्रोत (उद्गम केन्द्र) मात्र थाहा पाएर हुँदैन, त्यसका बीचमा रहेका होस्टहरू पनि थाहा पाउनुपर्ने हुन्छ ।

रोमको बायोमेडिको अध्ययन केन्द्रको नतिजामा, यो भाइरस चीनको बजारमा बेचिएको चमेराबाट फैलिएको हुन सक्ने सम्भावना देखिएको छ । अन्य अनुसन्धानले पनि कोभिड–१९ र युनान प्रान्तमा भेटिएको चमेरोको जिनको संरचनामा धेरै समानता देखिएकाले त्यसको सम्भावनातिर संकेत गरेका छन् । असमानताहरू भने कोभिड–१९ मान्छेमा प्रवेश गर्नुअगावै अन्य होस्टको प्रणालीको कारण हुन सक्ने औंल्याएका छन् । केही समानता मलायान सालकसँग पनि भेटिएका छन् । खपटाको निम्ति सालकको चोरी–सिकारी गरिन्छ र परम्परात औषधिको रूपमा त्यसको प्रयोग हुन्छ । सालकको मासु एसियन र अफ्रिकी समुदायमा विशेष रुचाइन्छ । दुर्लभ जनावर भएकाले सन् २०१६ मा सालकको अन्तर्राष्ट्रिय व्यापारमा प्रतिबन्ध लाग्यो तर त्यसको गैरकानुनी चोरी–सिकारी र व्यापार कायमै छ ।

विभिन्न तथ्य र अनुमान अघि सारिए पनि कोभिड–१९ कहाँबाट र कुन माध्यम हुँदै फैलियो त्यसको सबुत प्रमाणसहित कसैले भन्न सकेका छैनन् । यसमा थप अनुसन्धान हुँदै छ । तर, यो नयाँ भाइरस विश्व बजारमा वन्यजन्तुको बेचबिखन, ओसारपसार र त्यसका अंगहरूको बिक्रीसँग गाँसिएको तर्क सत्यको निकट देखिन्छ । डब्लूडब्लूएफको रिपोर्टको निष्कर्ष छ- प्रकृतिको क्षय, वन्यजन्तुको बासस्थान नष्ट हुनु, वन्यजन्तुको चोरी सिकारी र अवैध बिक्रीले मान्छे र वन्यजन्तुको सम्पर्क (इन्टरफेस) बढ्नु नै यस भाइरसको उद्भवको कारण हुन सक्छ । बिर्सन नहुने, विश्वस्तरमा, मान्छेले पृथ्वीको भू–सतहको तीन चौथाइ र समुद्रको दुई तिहाइ क्षेत्रफललाई नराम्ररी गिजोलिदिएको छ ।

एन्टोनिन प्लेग

लकडाउनको समयमा स्टोइक दर्शनबारे थोरै अध्ययन गरेँ । युट्युब हेरेँ । अडियो बुक सुनेँ । पीडीएफ पढेँ । दुई हजार वर्षभन्दा अगाडिको ग्रीक र रोमबाट फैलिएको स्टोइक दर्शन निकै रोचक र सामयिक लाग्यो । जिनो, सेनेका, इपिक्टेटस, मार्कस अरिलियसजस्ता स्टोइक दार्शनिकहरूले विकसित गरेका यो दर्शन क्रिस्चियानिटीको आगमनसँगै ओझेलमा परेको रहेछ ।

जेल जीवन बिताउँदै गरेका नेल्सन मन्डेलाको हातमा एक दिन अरिलिएसको पुस्तक ‘मेडिटेसन्स’ पर्छ । मन्डेला पुस्तकबाट प्रभावित हुन्छन् । मन्डेला विशाल हृदय र क्षमाशील नेताको रूपमा बदलिनुमा उक्त पुस्तकको पनि प्रभाव छ भनिन्छ । स्टोइक दर्शनको चार आधारभूत प्रस्तावना (व्यावहारिक विवेक, नैतिकता, साहस र मध्यमा) छन् । स्पिनोजादेखि सत्रौं शताब्दीका दार्शनिक रेने डेकार्टसम्म स्टोइक दर्शनबाट प्रभावित थिए । र्‍यासनालिस्ट परम्परा स्टोइक दर्शनबाट अघि बढेको देखिन्छ ।

अर्का स्टोइक इपिक्टेटस दास थिए तर आफ्नो विवेकको बलमा मुक्ति पाए । तत्कालीन समाजमा तोकिएको पैसा तिरी वा असाधारण विवेकले शासकलाई प्रभावित पारी दासबाट मुक्ति हुने उपाय रहेछ । इपिक्टेटसको इन्क्रिरिडियन पढे । साथै ‘मेडिटेसन्स’ को सार । डायकोटमी अफ कन्ट्रोल अर्को प्रस्तावना छ, जसमा हाम्रा सबै काम, दायित्व र आकांक्षा दुई भागमा बाँड्न सकिन्छ । आफ्नो नियन्त्रणभित्रको र बाहिरको । नियन्त्रणभित्रको हकमा मिहिनेत गर्ने । दोस्रोको हकमा, केही नगर्ने ।

अरिलिएसको शासनकालमा महामारी फैलिएको थियो । रोमन साम्राज्यलाई १५ वर्षसम्म थिलोथिलो पारेको एन्टोनिन प्लेग भनी चिनिएको त्यो कहर सन् १६६ देखि १६८ मा उत्कर्षमा पुग्यो । लेखक डोनाल्ड रोबर्टसन लेख्छन्, त्यो महामारीमा करिब पचास लाख मानिस मरेका थिए भने तीन चौथाई जनसंख्या संक्रमित भए । दास, बालबालिका, बिरामी र वृद्धवृद्धा धेरै मरे । अन्धविश्वासमा जकडिएको समाज र चिकित्सा विज्ञान विकसित नहुँदाको अवस्थामा धैर्य र होस नगुमाएर अरिलिएसले कसरी महामारीको सामना गरे, त्यो स्टोइक विचारले नै सम्भव भएको बुझ्न सकिन्छ ।

स्टोइक थिममा, हलिउडका केही सिनेमाहरू (ग्लाडिएटर, ससहान्क रेडेम्पसन, मारसियन आदि) चर्चित छन् । यी सिनेमाले नैतिक मूल्यको पक्षमा पात्रले गरेका संघर्ष र आशावादिताको कथा भन्छ । जीवनका अत्यावश्यक गुणहरूको महत्त्व दर्साउँछ । मृत्युचिन्तन स्टोइकको सधैँ केन्द्रमा छ । मार्क्स अरिलिएस रोमका राजा थिए । प्लेटोको शब्दमा, फिलसफर किङ । तर, उनी कहिल्यै सत्ताको मात र विलासितामा भुलेनन् जसरी निरो, कालिगुला डुबेका थिए ।

पृथ्वीको विश्राम

कोभिड–१९ का कारण विश्वका कतिपय देशमा भएको लकडाउन र आर्थिक गतिविधिमा आएको संकुचनले पृथ्वीले विश्राम पाएको छ । द्रुत गतिमा अज्ञाततिर हान्निँदै गएको यो गोलाका (स्पिनिङ बल) जमिन, समुद्र, वनजंगल, प्राकृतिक स्रोत र खनिज लवणको मान्छेले अधिक उत्खनन, नष्ट र उपभोग गर्‍यो । मानिसका महत्त्वाकांक्षाले नचिथोरेको कुनै ठाउँ बाँकी छैन । अमेजनको जंगल, तिब्बती पठार, खाडीको मरुभूमिदेखि सबै समुद्र र अन्टार्कटिकमा समेत मानिसले चिथोरेको दाग देख्न सकिन्छ ।

अत्यधिक जनसंख्या र बढ्दो उपभोग नै महामारीको जरा कारण हो । बढ्दो जनसंख्याले माग गर्ने खाद्यान्न, ऊर्जा, पारवहनले पर्यावरणीय क्षति बढिरहेको छ । प्राकृतिक स्रोत काटेको छ, ढालेको छ, उत्खनन गरेको छ, लडाएको छ, ओसारपसार गरेको छ, प्रशोधन गरेको छ, बेचेको छ, उपभोग गरेको छ । फलस्वरूप पर्यावरणहरूले आफ्नो नैसर्गिक लयमा फर्कने क्षमता (रिजेनेरेटिभ क्यापासिटी) गुमाउँदै गएको छ, जसलाई नवउदारवादी राजनीतिक विचारधाराले मलजल गरेको छ । त्यो संकट जलवायु परिवर्तन र यस्ता महाव्याधिमार्फत प्रस्फुटित भइरहेको छ ।

प्रसिद्ध जीवशास्त्री एडवर्ड व विल्सनले प्रकृति र पर्यावरणमाथि मान्छेको ज्यादती बढ्दै गएपछि यौटा अवधारणा अघि सारेका छन् । प्रत्येक देशले आफ्नो भू–सतह र जलाशयको आधा क्षेत्रफल प्राकृतिक स्थितिमै छाड्ने । ‘आधा पृथ्वी : जीवनका निम्ति हाम्रो उपग्रहको लडाइँ’ (हाफ अर्थ : आवर प्लानेट्स फाइट फर लाइफ) पुस्तकमा त्यस अभियानको औचित्य, उद्देश्य र रणनीतिबारे विस्तृतमा लेखिएको छ ।

काठमाडौंको आकाश हाल सफा र नीलो देखिएको छ । चराचुरुंगीको चिरबिर धेरै सुनिन थालेको छ । प्रकृति र पर्यावरणमा दबाब (स्ट्रेस) घटेको छ । सम्पूर्ण मानव जातिका निम्ति महाव्याधि दुःखद घटना भए पनि पृथ्वीको स्वास्थ्यका निम्ति यो सुखद छ । छोटै अवधिका निम्ति भए पनि हाम्रो साझा घरले पुनरुत्थानको मौका पाएको छ ।

कोरोना भाइरसको समस्या समाधानपछि, विश्व स्वास्थ्य संगठन वा राष्ट्र संघको नेतृत्वमा वर्षको कम्तीमा एक साता सबै देशले पृथ्वीको स्वास्थ्यका निम्ति (त्यसैले मानव जातिका निम्ति पनि) लकडाउनको अभ्यास थाल्ने हो भने पृथ्वीको आरोग्यता बढ्ने थियो । कोभिड–१९ भोगेको पुस्ताको तर्फबाट हाम्रा सन्ततिलाई स्वस्थ पृथ्वी सुन्दर उपहार बन्ने थियो ।

प्रकाशित : वैशाख २७, २०७७ ११:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×