नो !- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नो !

मेरो गीतमाथिको दमन ‘ नो ’ विरूद्धको ‘ नो ’ हो । ‘ यस्’ भन्ने पर म्परामा ‘ नो ’ भन्दा एउटा तरंग सिर्जना भएको छ ।
सोफिया थापा

एकातर्फ गीत हटाउन र नहटाए भौतिक कारबाही गर्ने धम्की आइरहँदा अर्कोतर्फ शुभकामना र ऐक्यबद्धताका आवाज पनि आइरह्यो । एउटा समुदाय भने मूकदर्शक भएर ‘तमासा’ हेरिरह्यो । एकथरीले कलाकारको सस्तो लोकप्रियता (भाइरल) बन्न चाहने सामाजिक मनोविज्ञानमा टेकेर आक्षेप लगाए ।

तर, त्यसरी आक्षेप लगाउँदै गर्दा मेरो अभिव्यक्ति स्वतन्त्रता, संवेदशीलता, विश्वासबारे भने सचेत भएनन् । जुन समूह मेरो गीतलाई दमन गर्न लागिपरेको छ, त्यही समूह उसको आफ्नै जीवनका दबाब र असहजताबारे सचेत छैन ।

खासमा मेरो गीतमाथिको दमन ‘नो’ विरुद्धको ‘नो’ हो । ‘यस्’ भन्ने परम्परामा ‘नो’ भन्दा एउटा तरंग सिर्जना भएको छ । यो खासमा ‘नो’ को अस्तित्व स्वीकार नगर्नु हो । ‘नो’ सुन्दा नकारात्मक, असहमति र विरोध सुनिन्छ तर ‘नो’ भन्न हिम्मत चाहिन्छ । विकल्प, विवेक र तर्क पनि चाहिन्छ । ‘यस्’ ले जति हिंसा, अराजकता र कुण्ठालाई प्रश्रय दिएको छ, ‘नो’ ले दिँदैन । ‘नो’ ले निरन्तरतालाई चुनौती दिन्छ, अवरोध गर्छ र कहिलेकाहीं झुक्न बाध्य गराउँछ । निरन्तरतामा आफ्नो सहजता र नाफा देख्नेका लागि ‘नो’ भयानक समस्या हो । तर, यही ‘नो’ परिवर्तन र सुधारका लागि शस्त्र पनि हो । चलिआएको अभ्यासले मानिसलाई सहज त बनाउला तर क्रियाशील, सिर्जनशील बनाउँदैन । हाम्रो भविष्यकर्ममा निर्धारण नभएर एउटा अमूक शक्तिमा निर्भर हुने परम्परालाई धर्म बनाउने कोसिस जारी छ । अनि यस्तो धर्मले मानव सभ्यतालाई मिथहरूमा निर्भर हुने मनोवैज्ञानिक बाध्यतामा पुर्‍याएको छ ।

मलाई प्रश्न गरिन्छ, ‘तिमीलाई ‘नो’ भन्ने अधिकार कसले दियो ?’ झट्ट हेर्दा समुदाय ‘नो’ सँग डराएको देखिन्छ । किनकि मेरो सामान्य गीतले असामान्य स्थिति सिर्जना भयो, त्यसैले थाहा भयो अब ‘नो’ अत्यन्तै शक्तिशाली प्रतीक रहेछ । ‘बी पोजिटिभ– सकारात्मक बन’ भन्ने आदर्शमयी वाक्यांशलाई अगाडि सारेर समाज हामीलाई प्रश्न नगर, शंका नगर, विरोध नगर, विद्रोह नगर भन्छ । हाम्रो वैचारिकतामा गडिसकेको यो ‘सकारात्मकता’ ले ‘नो’ लाई वर्जित गरेको छ र यस्तो गर्दा मानव असान्दर्भिक बन्धन र बाध्यताको दास बनिरहेको छ । जुन समाजले ‘यस्’ को राजनीतिक, सांस्कृतिक, मनोवैज्ञानिक प्रभावलाई बुझेर ‘नो’ भन्न सक्ने विचारलाई स्थापित गराउन संघर्ष गर्‍यो, त्यो समाज अभाव, त्रास र बन्धनबाट मुक्त भएर प्रगतिशील, स्वतन्त्र, समुन्नत अनि समृद्ध बनेको यथार्थ हामीले विश्वका धेरैतिर देखेका छौं ।

तीजको नाममा भोकभोकै बसिने व्रतपछाडिको बाध्यतालाई मैले गीतमार्फत ‘नो’ भनिरहँदा हामीले बाँचिरहेको समाजमा ‘नो’ भन्नुपर्ने विषय प्रशस्तै छन् भन्ने बोध गरेँ । धर्मको नाउँमा भइरहेको व्यापार, विभाजन, जातीय प्रथा र त्यसले मनोविज्ञानमा परेको हिंसात्मक प्रभावलाई हामीले ‘नो’ भन्न सक्नुपर्छ । नागरिकको स्वतन्त्र बाँच्न पाउने हकविरुद्ध काम गर्नेलाई ‘नो’ भन्नुपर्छ । नागरिकले वर्षौंसम्म न्याय पाउन लडिरहनुपर्ने अवस्थालाई ‘नो’ भन्नुपर्छ । ‘नो’ भन्नुपर्छ पैसा र शक्तिका आडमा हुने अपराधलाई, जनताबाट उठाएको करमाथि हुने बाँडफाँड र लुटलाई । जनताका सपनालाई कुर्सीको स्वार्थमा राजनीति गर्ने सोच र व्यवहारलाई ‘नो’ भन्नुपर्छ ।

लाखौं युवा बेरोजगारीका कारण विदेश जान निर्माण भएको बाध्यतालाई ‘नो’ भन्नुपर्छ । महिला/बालबालिकाप्रतिको विभेदलाई ‘नो’ भन्नुपर्छ । महिलामाथि भइरहेको एसिड आक्रमणदेखि बलात्कारलाई ‘नो’ भन्नुपर्छ । हरेक असमानता, विभेद, अराजकता र भ्रष्टाचारलाई ‘नो’ भन्नुपर्छ । असहमत अभिव्यक्तिप्रति दबाब, धम्की र हिंसाको प्रवृत्तिलाई ‘नो’ भन्नुपर्छ । हरेक ती संस्कारलाई ‘नो’ भन्नु छ, जसले मानव सभ्यतालाई उत्पीडित र बन्धक बनाएको छ । तिनलाई ‘नो’ भन्नु छ, जसले शक्ति, प्रथा र परम्परा प्रणालीलाई व्यक्तिको जीवन प्रणालीभन्दा माथि बनाउँछ ।

‘नो’ भन्न कठिन छ । ‘नो’ पछिका परिणाम पनि भयानक छन् । ‘यस्’ भन्नुमा जुन सहजता छ ‘नो’ भन्नुमा छैन । आफू दबिएर पीडित भएर ‘यस्’ भनिरहँदा आश्रय त पाइएला तर त्यसले गर्ने मानवजातिमाथिको दमन, मानव सार्वभौमिकतामाथिको अपमान र नयाँ पुस्ताको भविष्यमाथि अन्यायपूर्ण सम्झौता हुनजान्छ, जसको क्षतिपूर्ति कहिल्यै तिर्न सकिँदैन । ‘नो’ भन्दा स्वार्थ र नाफा कमाउने भीड आइलाग्न सक्छन्, जसले डर, धम्की र भौतिक कारबाहीको चेतावनी दिन्छन् । तर, स्वाधीनता, स्वाभिमान र स्वतन्त्रताको संरक्षण गर्न त्यो एउटा अर्थपूर्ण पाइला अवश्य बन्नेछ ।

हाम्रो जीवनवरिपरि हरेक दिन, हरेक क्षेत्रमा भइरहेको अराजकता, अन्याय, अन्योल, विभेद, अपमान आदिले उकुसमुकुस बनाइदिएको छ । अब सबैको मूकदर्शक भएर ‘यस्’ भनेर बस्यौँ भने हामीले आफ्नो विवेक, स्वाभिमान र अस्तित्वमाथि नै अपमान भएको महसुस गर्नुपर्छ । अब ‘अति भयो’ भनेर आफ्नो ठाउँबाट, आफ्नो सामर्थ्यबाट उठेनौँ/बोलेनौँ भने आफूलाई दास बन्न स्वीकार गरिएको हो भन्ने स्थापित हुनेछ ।

धेरैले ‘नो’ भनिरहेका छन् । हामी पनि लयबद्ध भएर ‘नो’ भनौं । यस्तो एउटा समाजको परिकल्पना गरौं, जहाँ निर्णय आफ्नै हुन्छ । जीवन आफ्नै हुन्छ । खुसी केवल आफ्ना हुन्छन् । देश आफ्नै हुन्छ, माटो आफ्नै, मुटु आफ्नै । विभेद, अत्याचार र सांस्कृतिक बन्धन अब अति भयो । अब भनौँ– नो प्लिज !

हामी कलाकार र स्रष्टाको काम सिर्जनामार्फत परिकल्पना गर्नु हो, जहाँ हरेक मानिस स्वतन्त्र, निडर, जिम्मेवार, शान्त र एकताबद्ध हुन सक्छ । त्यसैले त गायक जोन लेननले ‘इम्याजिन’ गीतको परिकल्पना गरे र भने— कल्पना गरौं स्वर्ग छैन, नर्क छैन, देश छैन, धर्म छैन, स्वामित्व छैन, छ त केवल एक संसार अनि शान्ति ।

प्रकाशित : श्रावण १७, २०७७ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्

त्यसपछि आमा माकुरा हुनुभो

माकुराको बच्चाले आफ्नै माउ खाएजस्तै हामीले नै हाम्रो आमाको पाठेघर रोगी बनाएका हौँ। हामीले नै आमालाई चिथोरीचिथोरी खाएका हौँ । हाम्रै कारणले आमा यतिखेर माकुरा हुनुभएको छ ।
भूपाल राई

आमालाई कोरोना के हो थाहा भएन । त्यसको कैफियत हात उहाँसम्म पुगेन पनि । तर, त्यसलाई सम्बोधन नगरी आजका कुनै पनि घटना पूरा हुँदैन भन्ने यथार्थबाट म पूरापूर जानकार छु । त्यसैले कोरोनाकालकै छायामुनि म यतिखेर आमाको दुःखान्त यादमा छु ।

म देखिरहेको थिएँ- ठीक यही संकटका बेला मेरो घरमा एक अर्को संकट थपिन गैरहेको थियो । र, स्पष्ट चाल पाइरहेको थिएँ, त्यो संकट झन्झन् नजिक आउनेवाला थियो । बिस्तारै–बिस्तारै मेरो आँखैअगाडि आमा शिथिल बन्दै जानुभएकोथ्यो । हरेक बिहान हेर्थें, यस्तो लाग्थ्यो— आमा क्रमशः सिद्धिरहनुभएको छ । हरेक रात आमाको जीर्ण शरीरबाट जीवनको एक दिन चोइटिएर खसिरहेको छ ।

त्यसो त म मात्र होइन सारा दुनियाँ लकडाउनले आक्रान्त थियो नै । ठीक यत्ति नै बेला त्यस्तो दुःखान्त विपत्ति थप हुनु र त्यसको प्रतक्ष भोक्ता हुनु अवश्य मेरो मात्र एक्लो अनुभव थिएन । तर, हरेक दिन एउटा जिउँदो अस्तित्व नामेट हुँदै गरेको दृश्यपटमा आफ्नै चेतनाले आमालाई सिद्धिँदै गएको हेर्नु बेग्लैखालको पीडा थियो, जसले मलाई आफ्नै अगाडि तेर्सिरहेको विश्वजनिन संकटको आयतन अरू थप सघन भएको अनुभूति बाँडेर गयो ।

चालु महाव्याधिले प्रदान गरेको बहुपक्षीय प्रलय निःसन्देह कल्पनातीत थियो र छ । तर, मानिसहरूले प्रलय सँगसँगै पनि बाँच्ने कला सिके । संकटकै घडीमा पनि नीहरूको जिजीविषाको जाँगर मरेन । कत्तिले कविताको बाढी बगाए । आख्यानको आँधी उडाए । अनलाइन वार्ता र संगोष्ठीहरूको पहिरो चलाए । तर, मैले त्यस्तो केही गर्न सकिनँ । सेल्फ क्वारेन्टाइन र आइसोलेसनको लामो फुर्सदलाई मैले पटक्कै उपयोग गर्न सकिनँ । यसर्थ कि कोरोना मेरालागि डरलाग्दो कोलाहल थियो । ढाँट्दिनँ, कोलाहलमा म केही गर्नै सक्दिनँ । अरू त अरू मैले यो विषयमा एक पातो डायरीसमेत लेख्न सकिनँ । बरु लामो लकडाउनको कहालीलाग्दो छायामा व्यथित मात्रै भइरहेँ । भित्रभित्रै विचलित बनिरहेँ । चढ्दो तनाव र उद्विग्नताका साथ जसोतसो लकडाउन सुरु भएको चैतको आधा महिना त गालेँ । तर, अगाडि तेर्सिरहेको अनिश्चित भयदेखि झन् बढी विचलित भैरहेको थिएँ । सौभाग्यवश वैशाखको पहिलो सातातिर कुनै उपायद्वारा मैले हिँडडुल गर्न मिल्ने एउटा आधिकारिक कागज फेला पारेँ र त्यसैको आडले दिनको एकचोटि मोटरसाइकलबाट सहर र रिङरोड परिक्रमा गर्न थालेँ । यसरी म कोरोनाको कोलाहलभन्दा पनि घरबन्दीको एकाकीपन र छटपटीबाट तंग्रिन खोजिरहेथेँ ।

ठ्याक्कै यस्तै बेला ममाथि त्यो विपत् थपिन पुगेको थियो, जसको संकेत मैले माथि गरिसकेको छु ।

जेठको पहिलो सातादेखि आमाका नियमित शारीरिक क्रियाहरू बिस्तारै अवरुद्ध हुन थाले । सबभन्दा पहिले खाद्यक्रिया बन्द भयो । त्यसपछि खुट्टाले आफ्नो कर्म छोड्यो । क्रमशः दिसापिसाब अवरुद्ध हुनुको साथसाथै बिस्तारै ओठबाट शब्दहरू हराउँदै जान थाले । यस्तोमा हस्पिटल लैजाऊँ, जताततै कोरोनाको त्राहिमाम छ । नलैजाऊँ आमाको सास क्षीण हँॅदै गैरहेछ । के गर्ने ? स्वयं टिचिङ हस्पिटलको नर्सिङ स्टाफ मेरी कान्छी दिदीसमेत किंकर्तव्यजिमूढ छिन् । बाह्रैकाल बजार लाग्ने टिचिङ हस्पिटल मसानघाटजस्तो सुनसान छ । अन्त्यमा हामीलाई कोरोना त्रासभन्दा आमाको यन्त्रणाले जित्यो र त्यही यन्त्रणाको बलले हामीलाई टिचिङ हस्पिटलसम्म पुर्‍यायो ।

आमालाई हस्पिटल राखेको बेला यता देश भने एकाएक राष्ट्रवादको चर्को नसामा बहुलाइरहेको थियो । साराका सारा दल मिलेर संसद्भवनबाट लिपुलेक र लिम्पियाधुरा समेटिएको एक थान कागजको नक्सा पारित गरिरहेका थिए । सामाजिक सञ्जालका भित्ताहरू राष्ट्रवादको रङले रंगिरहेका थिए । तर, साराका सारा राष्ट्रवादीहरू एक भइरहेको बेला यता म एक जना अराष्ट्रवादी तत्त्व भने यस्तो थिएँ, जो नेपाल आमालाई बँचाउन छोडेर आफ्नो आमाको ज्यान बचाउन लागिपरेको थिएँ । के म स्वार्थी थिएँ ? अथवा एक राष्ट्रद्रोही ? अथवा म के थिएँ ? जो आफैँलाई थाहा थिएन ।

यसरी, जतिखेर राष्ट्रवादको वर्षाकालीन वर्षात् दर्किरहेको थियो, कवि गीतकारहरूका मौसमी गीत र कविता फुरिरहेका थिए । गायक संगीतकारहरूको राष्ट्रवादी स्वर उर्लिरहेको थियो । सडक राष्ट्रवादको वाणी पाएर वाचाल थियो । ठीक त्यति नै खेर यता मेरी आमाको कण्ठबाट भने सम्पुर्ण भाषा हराइरहेको थियो ।

आमालाई के रोग लागेको थियो, त्यसबारे उहाँ अनजान हुनुहुन्थ्यो । मात्र हामी चार छोरा–छोरी रोगबारे छलफल गर्थ्यौं । एलोप्याथी कोर्सका प्रयासहरू काम नलाग्ने भएपछि दिदीले अनेक वैकल्पिक औषधि खोज्दै ल्याउने गर्थिन् । आमा भन्नुहुन्थ्यो, ‘मलाई के रोग लागेको छ र अनेक खाले औषधिहरू दिन्छौ ?’ आमालाई थाहा थिएन, उहाँको त्यो वृद्ध र जर्जर पाठेघर, जसभित्र उहाँका जीवित र मृत गरी सात–सात जना सन्तानका भ्रूण परिपोषित भएका थिए, त्यही पाठेघरभित्र अन्तिम स्टेजको क्यान्सर हुर्किरहेको थियो । उहाँकै पाठेघरभित्र विकसित भएर जन्मिएका सन्तानमध्ये हामी जीवित चार छोरा–छोरी यतिखेर आफैँ बुढ्यौलीको यात्रामा छौँ । यतिखेर मलाई कताकता लागिरहेछ, माकुराको बच्चाले आफ्नै माउ खाएजस्तै हामीले नै हाम्रो आमाको पाठेघर रोगी बनाएका हौँ । हामीले नै आमालाई चिथोरीचिथोरी खाएका हौँ । हाम्रै कारणले आमा यतिखेर माकुरा हुनुभएको छ ।

उमेरभरि गाउँमा अँगेनाको धूवाँले डढाएर आमा फोक्सोको दीर्घरोगी पनि हुनुहुन्थ्यो । काठमाडौं आएपछि पनि त्यो रोग उहाँको अभिन्न साथी बनिरह्यो । २०७२ माघ ९ मा बाबा बित्नुभएपछि झन् उहाँमा एक्लोपनको मनोरोग थपिएको थियो । केही वर्षअगाडि हामीले गाउँबाट चुल्हो यतै सारेका थियौँ । पछिल्लो समय आमा हरेक बिहान चुल्होमा तितेपाती र पानी चढाउनुहुन्थ्यो । सम्भवतः चुल्हाबासमा रहनुभएका बाबाको कल्पनामा उहाँ आफ्नो एक्लोपनको सहारा भेट्नुहुन्थ्यो ।

सबै अंगहरू क्रियाशून्य भएर पनि आमाको चेतनाले भने ठाउँ छाडिहालेको थिएन । हस्पिटल नबस्ने अड्डी उहाँको सुरुकै दिनदेखि थियो । तैपनि आमाको स्थिति यस्तो थियो, सारा कोरोना जोखिम मोलेर पनि हस्पिटल राख्न हामी बाध्य थियौँ । मलाई देख्नासाथ जहिले पनि इसाराले ‘घर लैजा’ भन्नुहुन्थ्यो । एक दिन बडो मुस्किलले आमाले कान्छी दिदीको हात तान्नुभयो र आफ्नो मुखनिर दिदीको कान लगेर सासले केही भन्न खोज्नुभो । त्यसपछि क्रमशः मलाई अनि फेरि ठूली दिदीलाई तानेर त्यसै गर्नॅभो । आमाको बोलीमा शब्द होइन, केवल सास मात्रै थियो । कसैले केही बुझिरहेका थिएनौ, तैपनि मैले आमालाई आश्वस्त पार्ने आशयले ठूल्ठूलो स्वरले भनेँ, ‘मैले सब बुझेँ । चिन्ता लिनु पर्दैन आमा ! म सब काम गर्छु...।’

आमाको धूमिल हुँदै गएको चेतनग्रन्थिले मेरो कुराको अर्थ ग्रहण गर्‍यो कि गरेन मलाई थाहा भएन । तर, एकै छिन अगाडिको आमाको त्यो दारुण दृश्य सहन गर्न नसकेर म क्याबिनबाट बाहिर निस्केँ । सम्झेँ, आमा जहिले पनि गाउँमा लाथालिंग छाडेको जग्गाजमिनको कुरा गर्नॅहुन्थ्यो । सायद उहाँलाई त्यो चिन्ता थियो । अनि उहाँलाई थप अर्को चिन्ता कान्छी दिदीको बारेमा थियो, जो यतिका उमेरसम्म अविवाहित रहेर आमालाई स्याहारेर बसिरहेकी थिइन् । कतै यिनै चिन्ताले आमालाई विचलित बनाइरहेको त थिएन ? मानिसको अन्तिम घडीमा शरीरका जम्मै आंगिक क्रियाहरू अवरुद्ध भएर पनि जब चेतनक्रिया सक्रिय भैरहन्छ, पीडाको भार झन् बढी हुँदोरैछ । मैले झट्ट मनमनै एउटा भयावह र अप्रिय कामना गरेँ— चाहे जुनसुकै अवस्थामा होस्, आमाको यो असह्य पीडा छिट्टै अन्त्य होस् ।

हस्पिटल राखेको तेह्रौं दिनमा डाक्टरले आमालाई आईसीसीयू वार्डमा सार्ने सल्लाह दियो । तर, कान्छी दिदी मानिरहेकी थिइनन् । भन्थिन्, ‘अन्तिम दिनसम्म म आफ्नै हातले आमालाई स्याहार्छॅ ।’ दिदीलाई थाहा थियो, त्यो वार्डमा सारेपछि आमासँगै बस्न मिल्दैनथ्यो । तर, बिरामीको गम्भीर अवस्थाबारे डाक्टरले सम्झाएपछि आमालाई त्यो सघन वार्डमा सारेर म त्यो बेलुका दिदीहरूलाई छाडेर घर फर्कें । रातको ९–१० बजिसकेको थियो । घर पुगेको मात्रै थिएँ, लगत्तै दिदीको रोदनमिश्रित फोन आयो । तत्कालै फेरि हस्पिटल फर्कें— आमाको कष्टकर श्वास–प्रश्वास, एकै छिनअगाडिसम्मको त्यो वणर्नातीत यन्त्रणा सब शान्त भएको थियो । आमा लामो निद्रामा हुनुहुन्थ्यो ।

एक छिनपछि एक जना डाक्टर आएर एउटा कागजमा हस्ताक्षर गर्‍यो । त्यो कागज आमाको ‘डेथ सर्टिफिकेट’ थियो । आश्चर्य ! एक जना डाक्टरको एक हस्ताक्षरमा अहिलेसम्मका सबै कुरा समाप्त भएको थियो । लगभग पौने एक शताब्दी लामो आमाको जीवनयात्रा, यात्राले आर्जन गरेका सब उहापोह, सबै सबैमा पूर्णविराम लागेको थियो । अचम्म ! एक हस्ताक्षरले आमा, आमा रहनुभएन ।

***

महामारी र लम्बिँदो लकडाउनसँग व्यक्तिको शरीर–विशेष मात्र नभएर सामाजिक र नैतिक प्रश्न पनि जोडिएको थियो । भौतिक दूरीको महत्वबारे हेक्का राख्नैपर्थ्यो । त्यसैले मैले आमाको देहान्तबारे कसैलाई सूचना गरिनँ । मात्र आफ्नो जिल्लाका सांसद सुदन किरातीलाई त्यही बेलुका फोनमा भनेँ ‘सुदन, आमा बित्नुभो । कहीँ कतै हल्ला नगर्नू । यो कोरोनात्रासको बेला कसैलाई नैतिक संकटमा नपार्नू । मात्र दुई–चार जना मानिस ठीक पारिराख्नू । भोलि बिहान वनकालीमा भेटौँ ।’

भोलिपल्ट वनकाली पुग्दा पो अवगत भयो, कसैलाई नभन्नू भनेको खबरले त रातभरि डढेलो लगाएछ । हेर्छु, भौतिक दूरीको अवज्ञा गरेर नैतिकताको अपार भीड लागिरहेको थियो त्यहाँ । मैले आफैँलाई प्रश्न गरेँ, ‘के यत्रो कोरोना सन्त्रासमा पनि मानिसभित्रको मानवीयता अझै ज्युँदै छ ?’ त्यही मानवीयता र संकटको बीचोबीच आमा त्यसपछि हामीबाट पशुपतिको वनकालीमै छुट्टिनुभो । संकट पनि कस्तो ? सधैँ आफ्नो घर र जग्गाजमिनको मात्र कुरा गरिरहनुहुने आमाले अन्त्यमा वनकालीको त्यो अनजान र अनचाह माटोमा विलीन हुनुपर्‍यो ।

तेस्रो दिन, कोही एक जना शुभचिन्तकले मलाई फोनमा सोधे, ‘आमालाई के रोग थियो ?’

मैले भने, ‘पाठेघरको क्यान्सर !’

‘कति वर्षको हुनुहुन्थ्यो ?’

‘८७ वर्षको...’

अन्त्यमा उनले भने, ‘लौ, आमाले तपाईंहरूलाई लामो समय दिनुभएछ । दुःख नमान्नू ।’

८७ वर्षको उमेर कति लामो हो ? म यतिखेर, खासगरी यस दुःखद घडीमा केही तर्क गर्ने सामर्थ्य राख्दिनँ । तर, उनले भनेको त्यही लामो उमेरमा २०७७ जेठ २५ गतेको दिन आमाले हामीलाई छाडेर जानुभो । कोरोनाको अनिश्चितकालीन घातमाथि थप अर्को मानसिक संघात हामीमाथि थपेर जानुभो ।

थाहा छ, संसारका सबै आमाहरू सधैँ बाँचिरहँदैनन् । ‘पुरानो पात’ नामको भौतिक प्रक्रियाको उपदेश सुन्दा अस्वाभाविक पनि लाग्दैन । तर, एक जना डाक्टरको एउटा हस्ताक्षरमा जसरी एउटा अस्तित्व हठात् समाप्त हुन्छ । यत्रो मानवीय सभ्यताले निर्माण गरेको ‘आमा’ भन्ने एउटा गुरुत्तम शब्द जसरी कुनै एउटा ओठबाट बिस्तारै लोप हुँदै जान्छ । के त्यो त्यत्तिकै सामान्य छ ?

तर, त्यसपछि आमा साँच्चि नै माकुरा हुनुभो ।

प्रकाशित : श्रावण १७, २०७७ ११:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×