२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

तलबको तनाव 

घरभाडा अर्को महिना दिँदा हुन्छ, स्कुल फी त तिर्नैपर्छ । बरू आफ्नो शिर एक–दुई ठाउँ झुकोस्, तर केटाकेटीको शिर झुक्न हुन्न ।
स्वीकृति बराल

हातभरिको पैसा पटकपटक गन्दै छ ऊ । बेलाबेला सुँघ्दै पनि छ । ऊ आफ्नो मिहिनेतको बास्नामा रमाउँदै छ । महिनाभरिमा सबैभन्दा प्यारो लाग्ने दिन आज । तलब आएको दिन । ऊ सोच्छ- तलब थाप्ने दिन र काम गर्ने दिन फेरबदल भइदिए कस्तो हुन्थ्यो होला ! आहा, एक दिन काम, तीस दिन तलब । आफ्नो सोचाइ देखेर दंग पर्छ ऊ ।

तलबको तनाव 

हजार, पाँच सय र सयका नोटहरू गनिरहन्छ । एकमुस्ट पैसा फेरि हेर्छ । तर, अनुहारमा नाचिरहेको खुसी यस्तो सोचाइ आएपछि अलि कम हुन्छ- यी नोटहरू छुट्टिइहाल्छन् । भोलिदेखि कोही कता, कोही कता लाग्छन् ।

भोलि बिहानै दूधवालालाई पैसा दिनु छ । दूधको पैसा छुट्याएर फेरि एकचोटि गन्छ । पैसा घटेकामा खिन्न हुन्छ । फेरि छिनमै मुस्काउँदै सोच्छ- भोलि दूधवालालाई तिरेपछि एक महिना ढुक्कले दूध खान त पाउँछन् केटाकेटीले । केटाकेटीलाई दूध, त्यो पनि सकेसम्म गाईकै खुवाउनुपर्छ भन्ने लाग्छ उसलाई । प्याकेट दूधका बारेमा पटकपटक आउने समाचारबाट ऊ त्रस्त छ । हुन त गाईकै दूध पनि टन्नै पानी मिसाएकै पाइन्छ । तर, उसको विचारमा केमिकल हालेको भन्दा पानी मिसाएको दूध कति हो कति जाती !

फेरि सम्झन्छ पसलमा भएको खाता । त्यहाँ त झन् टन्नै बाँकी हुन्छ । महिनाभरि ल्याउँदै/खाँदै गर्दा जति रमाइलो हुन्छ त्यति नै दिक्क लाग्छ तिर्ने बेला । ऊ सोच्छ— जे होस्, पसलेले उधारो दिएको छ र खान पाइएको छ, पसलेकै कारण धेरैचोटि इज्जत जोगिएको छ । मन लागेका कुरा खुवाउन नसके छोराछोरीकै अगाडि पनि आफ्नो इज्जत जोगाउन सकिँदैन, पाहुनाका कुरा त परै राखौं । उसलाई लाग्छ- उसको तलब आउने दिनको पर्खाइ त्यो पसलेलाई पनि उत्तिकै हुन्छ जति उसलाई हुन्छ । त्यसैले होला, तलब आएको भोलिपल्टतिरै ‘अलिअलि पैसा भए दिइराख्नुस् न, अलि अप्ठ्यारै परेको थियो’ भनिहाल्छ । बिचरा, उसको पनि गरिखाने बाटो त्यही हो । उसको हातमा पनि पैसा कहाँ टिक्छ र ? सायद पैसाको धर्म नै हो- एक हातबाट अर्को हातमा जानु ।

ऊ एक छिन टोलाउँछ, पसलेको खातामा कति जति भयो होला भन्दै । फेरि हातमा भएको पैसा हेर्छ र सोच्छ- भोलि आधाजति त पसलमै जान्छ । महँगीले पनि आकाशै छोइसकेको छ । यस्तो महँगीमा बाँच्न सक्नु पनि सानो काम होइन । उसलाई हरेक बिहान फेरि नयाँ युद्ध सुरु भएजस्तो लाग्छ । ऊ पनि एउटा योद्धा हो । गर्व गर्छ आफूमाथि । युद्ध मैदानमा टिकिरहन पनि कला चाहिन्छ ।

तलबको रमाइलो मजाले समाउन पनि नपाई सकिने देखेर उसले अनुहार अँध्यारो बनाउँछ । आवश्यकताहरू मुख बाएर बसेझैं लाग्छ । छोराछोरीको स्कुल फी तिर्नॅ छ । खाटको घर्राबाट बिल निकाली हेर्दा ऊ तर्सन्छ- ओहो, स्कुल फी तिर्दा त हातै रित्तिन सक्छ । उसले केटाकेटीलाई ठीकैको स्कुल पढाएको छ, शुल्क त्यति धेरै छैन । नत्र केटाकेटी पढाउन कहाँ सक्नु ? महिनाकै ४०/५० हजार शुल्क तिर्नुपर्ने स्कुलमा मान्छेहरूले कसरी पढाउँछन् होला आफ्ना छोराछेरी ? ऊ सम्झाउँछ आफैंलाई- शुल्क जति लिए पनि पढाउने कुरा एउटै हो क्यारे । बरु सरकारी स्कुलका विद्यार्थीहरूले धेरै प्रगति गरेका छन् । प्रायः महँगा स्कुलका विद्यार्थीले बढी जान्ने भनेको जिब्रो बटारेर अंग्रेजी बोल्न त हो नि । अंग्रेजी सिक्न मन लागे आफैं सिक्छन् पछि, भाषा न हो ।

उसका मनमा अनेक कुरा खेलिरहन्छन् । कहिल्यै खाली नहुने भनेको मन मात्रै हो, खल्ती त प्रायः खाली नै हुन्छ र खल्ती खाली भएपछि धेरै कुरा आफैं रित्तिँदै जान्छन् । फुर्माइसी गर्ने बानी छैन, त्यस्तो कुनै रहर छैन र पनि कहिल्यै एक सुको बच्दैन । ऊ छक्क पर्छ । रहर हुन पनि पैसा नै चाहिन्छ क्यारे । राजनीतिमा खासै रुचि छैन उसलाई । बजेट भाषणमा जुन पार्टीले तलबभत्ता बढाउँछ, उसलाई त्यही पार्टी मन पर्छ । खुसी हुन्छ तलब बढ्ने कुराले । तर उसको त्यो खुसी पनि धेरै बेर टिक्दैन । बजेट भाषणमा तलब बढ्ने कुरा भएर के गर्नु, तलब थाप्नुअगाडि बजारमा हरेक सरसामानको भाउ बढिसक्छ । जस्ताको तस्तै ।

उसको दिमागमा खास खर्च बल्ल आउँछ । घरभाडा पनि तिर्नुपर्छ । कति घरबेटीले भाडामा बस्नेलाई मान्छे नै गन्दैनन् । ऊ सम्झन्छ- भाडा समयमा दिन नसकेका कारण घरबेटीले उसको साथीको सर्टिफिकेट राखेको । छ्या, कति ठूलो अपमान ? खुसी हुन्छ ऊ, आफ्ना घरबेटी त्यतिसम्म निकृष्ट छैनन् भन्ने सोचेर । तैपनि भाडा त तिर्नैपर्छ । यो महिना नदिए अर्को महिनादेखि मुख लुकाएर हिँड्नुपर्छ । इज्जत पनि कताकता मात्र जोगाउनु ? ऊ अलमल्ल पर्छ । घरभाडा र स्कुल फी तिरे निमिट्यान्नै भइन्छ । त्यसरी त बस्नु पनि भएन । कहिले के आइलाग्छ, के जान्नु ? बिहान– बेलुका खानका लागि तरकारी किन्न पनि सकिँदैन । फेरि कोही झ्याप्पै बिरामी भइहाले अस्पतालसम्म पुर्‍याउन पनि त अलिअलि चाहियो । उसले आफ्नो बैंक खाता सम्झन्छ । उसलाई आफूभन्दा पनि बिचरा त त्यो बैंक खाता लाग्छ, जहाँ कहिल्यै केही जम्मा हुनै पाउँदैन ।

ऊ सोच्छ- घरभाडा अर्को महिना दिँदा हुन्छ, स्कुल फी त तिर्नैपर्छ । बरु आफ्नो शिर एक–दुई ठाउँ झुकोस्, केही फरक पर्दैन, तर केटाकेटीको शिर झुक्न हुन्न ।

जन्मदिन, विवाह, पास्नीजस्ता ठाउँबाट निम्तै नआओस् भन्ने लाग्छ उसलाई । खालि पैसाको नास । एक त आफ्नो दैनिकी नै बिग्रने, त्यसमाथि खाली हात जान नहुने । सामाजिक भएर बाँच्न पनि गाह्रो छ । बोलाएपछि नजाऊँ, ‘अचेल ठूलो भा’को, कोही नचाहिने’ भनिहाल्छन् । बोलाएजति ठाउँमा जाने हो भने घरको एक जनाको जागिरै त्यही हुन्छ । उपहार पनि लग्नैपर्‍यो । निम्तो आउनेबित्तिकै ऊ कस्तो किसिमको हो भनी हेरिहाल्छ । विवाहको कार्डमा ‘जिन्सी उपहार नल्याउनुहोला’ भन्नुको अर्थ उसले आजसम्म बुझेको छैन । खाममा पैसै दिनु भनेको पो हो कि या उसले नबुझेको हो ? विवाह, व्रतबन्धको त निम्तो नआओस्जस्तो लागेका बेला न्वारनको सुद्ध निम्तो आउँदा ऊ चकित पर्छ । मान्छेसँग पैसा भएरै खर्च गरेका हुन् या यो एउटा सामाजिक प्रतिस्पर्धा हो, उसले बुझेको छैन । साथीहरूले घरपूजामा बोलाउँदा पनि ऊ खासै खुसी हुँदैन । आफ्नो घर नभएकाले हो कि साथीले प्रगति गरेकाले, उसले ठम्याउन सकेको छैन ।

प्राइभेट जागिर खाने कतिको त तलब पनि टन्नै हुन्छ । एउटा साथीले महिनाको डेढ–दुई लाख पाउने गरेको सुन्दा उसले र्‍याल काढेको थियो । तर उसले यो सोच्दै चित्त बुझाएको थियो- प्राइभेट जागिरको के भर ? आज छ, भोलि नहुन पनि सक्छ । सरकारी जागिर भनेको सरकारी जागिर हो । एकचोटि खाएपछि खायो खायो । कसको हिम्मत निकाल्ने ? पूरै जागिर खाएर निस्किए पनि सरकारले पेन्सन दिन्छ । यसमा भविष्य सुनिश्चित हुन्छ । यति कुरा मनमा खेल्दा सरकारी जागिरे घमण्ड उसको अनुहारमा झुल्किन्छ । वर्तमान सुनिश्चित नभए पनि भविष्य सम्झिएर ऊ दंग छ । फेरि सोच्छ- कति सँगै जागिरमा छिरेका साथीले पनि त घर बनाइसके । सरकारी जागिरेले घर बनाउन कि त बाबुबाजेको सम्पत्ति टन्नै हुनुपर्‍यो कि दुईनम्बरी काम गर्नुपर्‍यो । जेसुकै होस्, आफूचाहिँ स्वाभिमान बेचिँदैन ।

ऊ फेरि पैसातिर हेर्छ । हातमा पैसा हुँदाहुँदै पनि आफू रित्तिएजस्तो लाग्छ । त्यो तलब आफ्नोजस्तै लाग्दैन । आउन नपाई अरूको हुन हतारिने पैसासँग उसलाई कताकता रिस पनि उठ्छ । पैसा आउँछ–जान्छ तर समस्या ज्यूँका त्यँ । मनमा कुरा खेलाउँदै सुत्ने तरखर गर्छ । पट्याएर राखेको सिरक खोल्दा खिस्स हाँस्छ । सिरक पनि नयाँ बनाउनुपर्ने । अलि छोटो छ यो सिरक । ओढ्न खोज्दा माथि ताने तल पुग्दैन, तल खुट्टा छोप्न खोजे माथि पुग्दैन । घरी हातको पैसा घरी क्यालेन्डरतिर हेर्दै ऊ सोच्छ- मेरो जिन्दगी पनि ठ्याक्कै सिरकजस्तो छ ।

प्रकाशित : श्रावण १७, २०७७ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?