कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

एसिडको सिड

जिउँदै जलेकाहरू जल्दै जिउँदै छन् । एउटा यस्तो जीवन, जहाँ आफैंलाई प्रेम गर्न पनि ‘नाइँ’ भन्नुपर्छ । हरक बिहान ऐनामा अरूलाई देख्नुपर्छ र मान्नुपर्छ ‘आफू ’ । आफैंसँगको लडाइँ महाभारतभन्दा ठूलो हुन्छ ।
श्रेयज सुवेदी

लास भएर जल्नु र सास भएर जल्नुको बीचमा एउटा ठूलो पीडाको पहाड हुन्छ । चियाले ओठ पोल्दा चम्चाले भात खानुपर्ने हामीले जसको आकारलाई अनुमान पनि गर्न सक्दैनौँ । जिउँदै जलेकाहरू जल्दै जिउँदै छन् । एउटा यस्तो जीवन, जहाँ आफैँलाइ प्रेम गर्न पनि ‘नाइँ’ भन्नुपर्छ ।

एसिडको सिड

स्वयम्लाई स्विकार्न पनि संघर्ष गर्नुपर्छ । आफ्नै आकृतिसँग आत्तिनुपर्छ । हरेक बिहान ऐनामा अरूलाई देख्नुपर्छ र मान्नुपर्छ ‘आफू’ । आफैँसँगको लडाइँ महाभारतभन्दा ठूलो हुन्छ । आफूमा अरूलाई देखेर/लिएर जिउन सक्ने आँट सबैको आँतमा हुँदैन । एसिड एट्याकमा परेको व्यक्ति भिक्टिम हैन ‘सर्भाइभर’ हो, जो हरेक दिन परीक्षा दिन्छ र सधैँ ए प्लस ल्याएर पास हुन्छ ।

एसिड आक्रमण जघन्य अपराध हो । अपराधमा लैंगिकता हुँदैन । जसले गरे पनि, अपराध मात्र अपराध हो । तर... सधैँ महिला नै किन ? सधैँ अनुहार नै किन ? ८७ प्रतिशत आक्रमण महिलामाथि र ९५ प्रतिशत आक्रमण अनुहारमाथि नै किन ? एसिड आक्रमणलाई अन्य अपराधजसरी हेर्नॅ भनेको यसलाई बढावा दिनुसरह हो । के हामीले यस्ता हरेक घटनामा ‘कसरी सकेका’ भनेर कमेन्ट पास गरिरहँदा, ‘किन सकेका’ भनेर आफैँलाई प्रश्न गरेका छौं ? यदि तपाईंले आफ्नो छोरालाई ‘मर्दले रुनु हुँदैन’ भनेर सिकाउनुभएको छ भने, एसिड आक्रमण गर्न सक्ने हातहरू तपाईंकै वरिपरि पनि हुन सक्छन् । म भन्छु नि कसरी हुन सक्छन् !

बुबालाई बैठकमा रिमोटसँग र आमालाई भान्छामा डाडुसँग देखेर हामी हुर्केका हुन्छौँ । बुबालाई हरेक निर्णयमा आदेशसहित अगाडि हात हल्लाउँदै र आमालाई हरेक निर्णयमा ‘हुन्छ’ भन्दै पछाडि टाउको हल्लाउँदै गरेको देखेर हामी हुर्केका हुन्छौँ । अभिभावकको फरक भूमिका र मौन स्वीकृतिमा आमाको स्थान स्वतः तल पर्छ । बिस्तारै हुर्किंदै जाँदा बुबाले आमालाई गरेको व्यवहार हामी दिदी/बैनीलाई गर्न थाल्छौँ । यहाँसम्म आइसक्दा, हामीमा छोरा/छोरीले गर्ने काम र व्यवहार फरक हुन्छ भन्ने अज्ञान पलाइसक्छ । फरक छुट्याउन हामीले ‘कान्तिपुर’ को ‘कोपिला’ मा होइन, घरमै सिकेका हौं । स्कुलबाट भागेर खोलामा पौडी खेल्न जाँदा, घर र स्कुलको एकोहोरो बाटो, बैनी हिँडेको देखेका हुन्छौँ । ‘छोरो मान्छे बलियो हुन्छ’, ‘छोरो भएर रुनु हुन्न’, ‘छोरो मर्द हो’ जस्ता सर्वोच्चता हामीमा पसिसकेको हुन्छ । दिदीबैनीलाई ‘यो गर त्यो नगर’ भनेर छेकबार लगाउन सिपालु भैसकेका हुन्छौँ । दमन गर्न खोज्ने चरित्र मौलाइसक्छ । अपेक्षाविपरीत ‘नाइँ/हुँदैन’ सुन्दा इगोमा हर्ट हुने प्रवृत्ति विकास भइसकेको हुन्छ । मै हुँ भन्ने भाव बिस्तारै हावी हुँदै जान्छ । घरमा भएको/गरिने महिलाप्रतिको व्यवहार बिस्तारै उसले छिमेकमा पनि देख्दै–बुझ्दै जान्छ, जसलाई उसले तुलना गरेर सामान्यीकरण गर्न सक्ने भइसक्छ । र, अन्ततः उसमा महिलाभन्दा पुरुष माथि हो भन्ने भावनाको विकास हुन्छ । उसले समाजमा बोक्सीको आरोपमा महिलाहरू बहिष्कारमा पर्दा, बोक्साको आरोप खेपेको कुनै पुरुष देख्दैन ।

बलात्कारको घटनामा सधैँ महिलालाई नै पीडित देखेको हुन्छ । दाइजोको निहुँमा कुनै भिनाजु जलेको देखेको हुँदैन । अनि ‘महिलालाई जे गरे पनि हुन्छ’ भन्ने कन्सेप्ट उसको दिमागमा आफैँ निर्माण हुँदै जान्छ, जहाँबाट पैतृक पुरुषत्वको कीटाणुले अण्डा पार्न थालिसकेको हुन्छ । जुन अण्डा कतै ठूलो स्वर, कतै छेकबार, कतै दमन त कतै हिंसाको रूपमा फुटिरहेका हुन्छन् । जसको स्वभाव मात्र फरक देखिन्छ, डीएनए एउटै । यसरी हामीले एसिडको सिड (बीउ) ‘राजा बेटा’ नामको गमलामा आफ्नै घरमा/व्यवहारमा हुर्काइरहेका हुन्छौँ, जसमा परिवेश र घटनाक्रमले मलजल दिइरहेको हुन्छ ।

***

ब्रेकअपपछि राजीवले मलाई चोकको चिया पसलमा बोलायो । माया गर्ने मान्छे टाढा हुँदा उसमा भावुकता हुनुपर्ने तर उसमा रिस थियो । आँखामा आँसु हुनुपर्ने, बदला थियो । ‘म लाइफप्रति सिरियस भइनँ रे । बच्चाजस्तो भएँ रे । त्यसलाई म देखाइदिन्छु, यो बच्चा कसरी बाउ बन्छ । हाम्रो सेक्स भिडियो भाइरल गर्दिन्छु । जिन्दगी बर्बाद बनाइदिन्छु ।’ हामी सबै साथीले उसलाई ‘गलत हो’ भनेर नभनेको भए उसको सोचले कुनै दुर्घटना निम्त्याउँथ्यो । कसले सिकायो राजीवलाई यति ठूलो कुरा सोच्न र सार्वजनिक रूपमा बोल्न ? सायद उसको काकाले, जो सधैँ रक्सीको तालमा श्रीमतीलाई भुत्ल्याउँदै घरबाहिर निकाल्थे । ऊभित्र दुःख पनि थियो होला । तर, कसले सिकायो उसलाई दुःख दबाएर रिस देखाउन ? सायद उसको बुबाले, जो ऊ रुँदा सधैँ ‘छोरीजस्तो रुन्छन् गोरु’ भन्दै हर्कार्थे । सञ्जिताले राति फोन गरेर पुरानो दिन सम्झँदै आधा समय रोएरै कुरा गरी । कसले सिकायो उसलाई रुन ? सायद उसको आमाले, जो बुबाको हरेक थप्पडलाई बिनाप्रतिउत्तर, सारीको सप्कोसँग शेयर गर्थिन् ! किन केटीहरू भन्न सक्दैनन्– ‘भिडियो भाइरल गर्दिन्छु ।’ किन केटाहरू भन्न सक्छन्– ‘जिन्दगी बर्बाद गर्दिन्छु ।’ सबैको उत्तर एउटै होला– केटीहरू भावुक हुन्छन्, कमजोर हुन्छन् । तर, सही उत्तर यो हो कि भावुक र कमजोर बनाइन्छन् । केटीहरूलाई कमजोर देखेरै केटाहरू बलियो बन्छन् ।

सुवास दाइले रिजेक्सनपछि निकिता दिदीको झ्यालमा ढुङ्गा हान्दियो । दिदीको ब्वाइफ्रेन्ड छ भन्ने जानकारी पाएपछि कलेजको ट्वाइलेटमा नानाथरी अपशब्दसहित नम्बर लेख्दियो । अझ नपुगेर म्यासेन्जरमा आफ्नो लिङ्गको फोटो खिचेर हाल्दियो । फोन गरेर हैरान बनायो । दाइलाई ‘नो’ पचेन । इग्नोरले इगो मसाज गर्‍यो । यति धेरै हिम्मत कहाँबाट आउँछ ? इगोको सगरमाथा बनाउन कसले मद्दत गर्छ ? एसिड आक्रमणका पात्र र घटना फरक होलान् तर प्रवृत्ति एउटै हो । बदला भावको मात्रा फरक होला तर ढाँचा एउटै हो । नत्र सन् २०१० पछि भएका २६ वटा एसिड आक्रमणमा २५ वटा आक्रमणकारी पुरुष मात्र किन भए ? नत्र मुस्कान खातुनको मुस्कान खोस्ने हातहरू मात्र १५ वर्षका किन थिए ?

***

हेटौँडाकी बिन्दबासिनीलाई व्यस्त बजारमा आफ्नै पसलमा बसिरहेको बेला एसिड छ्यापियो । अपराध थियो, केटाको प्रेमप्रस्ताव रिजेक्ट गर्नु । संगीता र सीमालाई राजधानीको वसन्तपुरमा ट्युसन सेन्टरभित्र पसेर एसिड आक्रमण गरियो । गल्ती थियो, केटालाइ इग्नोर गर्नु । चितवनकी वसन्ती परियारलाई तरकारी किन्न बजार जाँदा एसिड हानियो । भूल थियो, बिहेको प्रस्ताव अस्वीकार गर्नु । जेनी खड्कालाई घरमा बस्दा आफ्नै पतिले प्रहार गरे । अपराध थियो, लोग्नेको सबै कुरामा टाउको नहल्लाउनु । रौतहटकी सम्झना र सुस्मिता दासलाई छिमेककै मान्छेले घरमा सुतेको अवस्थामा एसिड फ्याँक्यो, जसमा सम्झनाको उपचारको क्रममा मृत्यु भयो । गल्ती थियो, भनेबमोजिमको प्रस्ताव अस्वीकार गर्नॅ ।

वीरगन्जकी १४ वर्षकी मुस्कान खातुन, जसलाई आफैँसँग पढ्नेले मान्छे देखेन । भूल थियो, उसको प्रेम प्रस्ताव अस्वीकार गर्नु । र, अहिले पवित्रा, जसले फेरि पनि कुनै छोरामान्छेको प्रेम प्रस्ताव लत्याएको अपराधमा सजाय भोग्नुपर्‍यो । हाम्रो समाजमा हत्या सामान्य हो तर प्रेम प्रस्ताव अस्वीकार गर्नु ठूलो अपराध । र, अस्वीकार गर्ने हरएक केटी अपराधी । आक्रमणमा परेका चेलीहरूले आक्रमणभन्दा चोटिलो, चारित्रिक विश्लेषकहरूको विशेषण स्वीकार गर्नॅपर्छ । मर्यादामा नबसेको अनुमानित कारण खोली आक्रमणलाई जायज हो भन्ने बहस पनि चल्ने गर्छन् । अपराध जायज हुने हाम्रो समाजमा केटी हुनुचैँ नाजायज मानिन्छ ।

हरेक अपराधको उद्देश्य हुन्छ । हत्यामा अपराधी महिला/पुरुष दुवै देखिएका छन् । के एसिड आक्रमणमा पनि अपराधी दुवै देखिएका छन् त ? सबै अपराधलाई एउटै ठाउँमा राखेर पीडक र पीडितको मेजोरिटी विश्लेषण गरिएन भने समस्या र समाधानसम्म के हामी पुग्न सक्छौँ ? यदि होइन भने, एसिड आक्रमण अनुहारमा मात्र किन भैरहेको छ ? अनुहार बिगार्नॅपछाडिको अपराधीको उद्देश्य के हो ? बदला भाव किन अनुहारमै पोखिएको छ ? एसिड आक्रमणमा पारिवारिक/सामाजिक पक्षको वास्तिविकता भयावह छ, जुन हामी सबैले बुझ्न, पहिचान गर्न र स्विकार्न जरुरी छ । र, प्रश्न गर्न जरुरी छ— एसिड आक्रमण, ‘मात्र अपराध’ कि ‘पैतृक पुरुषत्वको उपज’ ?

***

म करिब १२ वर्षको थिएँ होला । मेरो सानो बैनी २ वर्षकी । किचेन र्‍याकमा राखिएको कपको चियामा हात परेर छातीभरि चिया पोखियो । सानी चिच्याएर रोएको अझै सम्झन्छु । छाला केहीछिनमा रातो हुँदै गयो । केही घण्टापछि घाउमा पानीका फोकाहरू आउन थाले । फोका फुट्दै गए । छाला सेतो हुँदै गयो । प्रायः सानीले मलाई डर सुनाउँछे, त्यो चिया अनुहारमा पोखिएको भए ? घाउको घोचाइ एक ठाउँमा होला तर दुखाइ थुप्रै ठाउँमा हुन्छ । अनि म एसिडसँग जुधेका अनुहार सम्झन्छु । ऐनाअगाडि कपाल कोर्दा कुन आत्मविश्वासले ती ओठहरू गुनगुनाउँदा हुन् ! घाउको दाग भौतिक रूपमा सेतो हुन्छ, मनोवैज्ञानिक रूपमा कालो ।

एसिडसँगको लडाइँ जितेको अनुहारले समाज जित्न पनि ठूलो लडाइँ लड्नुपर्छ । बच्चाहरू डराउने डरले कोठा नदिने घरदेखि क्षमताको बाबजुद पनि अवसर नदिने प्ल्याटफर्महरू हाम्रै समाजमा सामाजिक छन् । मुखमा मास्क बोक्दा गाह्रो हुने हामीले, दागको मास्क बोकेर हिँड्ने उनीहरूको गाह्रो अन्दाज पनि गर्न सक्दैनौँ । म सधैँ सोच्ने गर्छॅ, बाटोमा जलेको अनुहार भएको एक जना भाइ देख्दा मेरो पैतालादेखि शिरसम्म काम छुटेको । मैले अरूको अनुहार स्विकार्न सकिनँ, उनीहरू आफ्नै अनुहार स्विकार्न, कुन मुटुबाट हिम्मत जुटाउँछन् होला ! पक्कै ती मुटुहरूमा आँटको महासागर हुनुपर्छ ।

***

मलाई अचम्म लाग्छ, बनाउने मान्छेले कुन नुन खाएर कानुन बनायो ! न्यायका लागि बनाइएको कानुनले आफैँलाई न्याय गर्न सकेको छैन । नेपालको कानुनमा एसिड छ्याप्नेलाई भएको क्षतिको आधारमा ५ देखि ८ वर्षसम्मको कैद सजाय लेखिएको छ, जहाँ एसिड बिक्री गर्नेलाई १० वर्ष कैद सजाय तोकिएको छ । एसिड बिक्री गरेर जेल सजाय काटेको अनुहार, मैले कुनै पत्रिकाको कटिङमा देखेको छैन । भएका घटनाहरू हेर्दा अपराधी टोलछिमेक र आफन्त नै देखिन्छन् । ८ वर्षको सजाय काटेपछि आफूलाई पीडा दिने अनुहार एउटै टोल/गल्ली कोठामा भेटिँदा, देखिँदा र सँगै जीवन बिताउनुपर्दा, सर्भाइभरले कुन मानसिक अवस्थामा सास लिने र छोड्ने गर्ला ! सजाय भोगेर आएको मान्छेले फेरि पीडा नदेला भन्ने के आधार छ ! फेरि पनि पीडा दिन सक्ने छुट हाम्रै कानुनले दिइरहेको छैन र ? एसिड आक्रमणबाट गुज्रिएका हरेक व्यक्तिको एउटै आवाज छ, ‘अपराधीलाई जन्मकैद’ ।

कानुन बलियो हुँदा अपराधको निवारण हुन नसके पनि न्यूनीकरण अवश्य हुन्छ । घटनापछि मानसिक र सामाजिक रूपमा स्वतन्त्र र विश्वस्त भएर बाँच्न पाउने सर्भाइभरको अधिकारको पनि रक्षा गर्छ । र, सजाय तोकिरहँदा क्षतिको मात्रा नाप्नु कत्ति पनि उचित होइन । किनकि कानुनको तराजु त्यति बलियो छैन, जसले एसिड सर्भाइभरको क्षतिको मात्रा जोख्न सकोस् ।

प्रकाशित : श्रावण १७, २०७७ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?