रामायणको ऐतिहासिकता

रामायण इतिहास हो कि काव्य भनी बहस गर्नेहरुले दिने अधिकांश तर्क मूलतः वाल्मीकि रामायणको मूलपाठमै आधारित छन् । पुराताफ्विक अन्वेषणमार्फत रामायणको ऐतिहासिकता अथवा त्यस समयको भूगोलबारे यकिन हुने गरी ठोस प्रमाण जुटाउन आजका मितिसम्म सकिएको छैन ।
सुजित मैनाली

प्रधानमन्त्री केपी ओलीले मर्यादापुरुषोत्तम भनी रामायणमा वर्णित रामको जन्मभूमि अयोध्याको ठोरीमा पर्छ भनेपछि यसले विवादसँगै यथेष्ट चर्चा पायो । भारतको न्यायालयले उत्तर प्रदेशको अयोध्यास्थित बाबरी मस्जिद भएको ठाउँ नै राम जन्मभूमि भएको फैसला सुनाएको एक वर्ष नबित्दै हिन्दूबहुल अर्को देशका प्रधानमन्त्रीले असली अयोध्या नेपालमा छ भनी दाबी गरेपछि यसबारे विवाद र चर्चा हुनु अनपेक्षित थिएन ।

रामायणको ऐतिहासिकता

ओलीको अभिव्यक्तिपछि दुवै देशका सञ्चारमाध्यममा रामायणकालीन भूगोलबारे छिटफुट चर्चा–परिचर्चा चलिरहेका छन् । नेपालको पुरातत्त्व विभागले ठोरीमा अन्वेषण थाल्ने घोषणा गरिसकेको छ । रामायणकालीन भूगोलसम्बन्धी चर्चा र अन्वेषणमा लाग्नुअघि रामायणको ऐतिहासिकतलाई लिएर स्पष्ट हुनु आवश्यक छ ।

पठन र विपठन

वाल्मीकि रामायणको बालकाण्डको आरम्भमै ऋषि वाल्मीकि र नारद मुनिबीच कुराकानी भएको प्रसंग छ । तपस्या र स्वाध्यायमा लीन वाल्मीकिले नारदसँग सर्वगुणसम्पन्न व्यक्ति अहिले संसारमा को होलान् भनी जिज्ञासा राख्छन् । जवाफमा नारदले इक्ष्वाकु वंशमा जन्मिएका रामको नाम लिन्छन् । राम जन्मिएदेखि वनवासी जीवन सिध्याएर पुनः अयोध्या फर्किएको घटनासम्मको कथा संक्षेपमा सुनाउँछन् । नारदले सुनाएको कथामा रामले राज्य पुनः हासिल गर्नुअघिको घटनाको विवरण भूतकालमा, रामले राज्य पुनः प्राप्त गरेको विवरण वर्तमान कालमा र त्यसउप्रान्तका विवरण भविष्यकालमा दिइएको छ । यसको अर्थ वाल्मीकि र नारदबीच कुरा हुँदै गर्दा वनवास सिध्याएर सीतालाई साथ लिई राम भर्खरै अयोध्या फर्किएका थिए । रामको जीवनसँग सम्बन्धित गुप्त विवरणसमेत जान्न सक्ने तपोबलयुक्त अन्तर्यामी वाल्मीकिले त्यही शक्तिको उपयोग गरेर रामायण लेखेको चर्चा बालकाण्डको पहिलो र दोस्रो सर्गमा छ ।

रामायणले रामको कथालाई इतिवृत्त मानेको छ । तर, यसको विपठन गर्ने अधिकांश आधुनिक शोधकर्ता यसमा सहमत छैनन् । रामायण इतिहास हो कि काव्य भनी बहस गर्नेहरूले दिने अधिकांश तर्क मूलतः वाल्मीकि रामायणको मूलपाठमै आधारित छन् । पुरातात्त्विक अन्वेषणमार्फत रामायणको ऐतिहासिकता अथवा त्यस समयको भूगोलबारे यकिन हुने गरी ठोस प्रमाण जुटाउन आजका मितिसम्म सकिएको छैन । राम जन्मभूमिबारे भारतीय न्यायालयले गरेको फैसला पनि अकाट्य प्रमाणमा नभएर पुरातात्त्विक अन्वेषण र रामायणका पाठहरूको विश्लेषणमा आधारित छ ।

तथ्यलाई अर्को तथ्यले नकाटेसम्म त्यो स्थिर हुन्छ । विश्लेषणचाहिँ काल–परिवेशसापेक्ष हुन्छ । अकाट्य प्रमाणहरूको अभावका कारण रामायणको कालनिरूपणबारे विद्वान्हरूबीच मतैक्य हुन सक्ने अवस्था देखिँदैन । रामायण र महाभारतको रचनाकाल निर्धारण गर्न त गाह्रो परिरहेका बेला रामायणकालबारे निर्क्योल हुनु अझ कठिन छ । अधिकांश हिन्दू शास्त्रहरूको काल निर्धारणबारे आफ्नो अनुमान पेस गर्ने पाण्डुरंग वामन काणेजस्ता उद्भट संस्कृतविद् पनि रामायण र महाभारतको रचनाकालबारे चाहिँ मौनप्रायः छन् । उत्तर भारतमा विभिन्न साम्राज्यहरूको उत्थान तथा पतन भएकाले पुरातात्त्विक अन्वेषणमार्फत रामायणको ऐतिहासिकता अथवा त्यस समयको भूगोलको छिनोफानो हुन सक्ने अवस्था पनि छैन । यही कुरा महसुस गरेर विभिन्न विद्वान्हरूले वाल्मीकि रामायणको पठन र विपठनकै आधारमा रामायणको ऐतिहासिकताबारे आफ्नो मत राख्दै आएका छन् ।

हिन्दूहरूमाझ प्रचलित युगचक्रको अवधारणालाई आधार मान्ने हो भने रामको कथा त्रेतायुगको घटना हो । रामायण पनि त्यतिबेलै लेखिएको हो । रामायण लेखिएको लामो समयपछि द्वापार युगमा आएर महाभारत लेखिएको विश्वास गरिन्छ । तर, यी दुई ग्रन्थहरूको मिहिन पठन गर्नेहरूमध्ये धेरैले महाभारतलाई रामायणभन्दा अघिको ग्रन्थ ठहर्‍याएका छन् । महाभारत सर्सर्ती पढ्दा त्यतिबेला पशुपालनको प्रधान्य थियो भन्ने देखिन्छ । इन्द्रप्रस्थ र विराट राज्यमा रहँदा अर्जुनले गोहरण रोकेको, पाण्डवहरू वनवासमा छँदा कौरवहरू घोषयात्रामा निस्किएकोजस्ता पशुपालनसँग सम्बन्धित विवरण महाभारतमा प्रशस्तै छन् । रामायणमा चाहिँ कृषिसम्बन्धी विवरण बढी छन् । सीताको उत्पत्ति नै हलो जोत्दा भएको हो । हलोले खेतमा पार्ने डोब अर्थात् सीता शब्दबाटै जनकनन्दिनीको नामकरण भएको हो । पशुपालनपछि मात्रै संसार कृषि युगमा प्रवेश गरेको हो । यस अर्थमा पनि रामायणभन्दा महाभारत पूर्ववर्ती हो ।

रोमिला थापरले पनि महाभारत र रामायणमा वर्णित नगरहरूको भूगोललाई आधार मानेर महाभारतकाललाई रामायणकालभन्दा पूर्ववर्ती ठहर्‍याएकी छन् । महाभारतको हस्तिनापुर भारतको उत्तरपश्चिममा छ । द्वारका समुद्रमा डुबेपछि त्यहाँका स्त्री र खरखजाना लिएर हस्तिनापुरतिर हिँडेका अर्जुनको टोलीमाथि पञ्चनद अर्थात् अहिलेको पन्जाब क्षेत्रमा बस्ने अभिरहरूले हमला गरेको उल्लेख पनि महाभारत (मौसलपर्व, ७।५९) मा छ । रामायणमा वर्णित अयोध्या त्योभन्दा निकै पूर्वतिर पर्छ । भारतीय उपमहाद्वीपमा आर्यहरू पश्चिमबाट पूर्वतिर फैलिएका हुन् । उत्तर भारतको पूर्वी भेगमा आर्यहरूको आवाद पछि बसेकाले अयोध्याभन्दा हस्तिनापुरको कथा प्राचीन हो भन्ने थापरको मत छ । थापरको मतप्रति सहमति जनाउँदै वेन्डी डोनिगरले महाभारतलाई रामायणभन्दा प्राचीन सिद्ध गर्ने क्रममा वैदिक ढाँचाका यज्ञअनुष्ठान र वैदिक देवताहरूको उल्लेख महाभारतमा बढी भएको बताएकी छन् । महाभारतका विभिन्न सन्दर्भमा वर्णन गरिएका कथाहरू ब्राह्मण ग्रन्थमा वर्णित कथाबाट बढी प्रभावित रहेको तथ्यलाई पनि उनले यही मेसोमा उल्लेख गरेकी छन् ।

तर, डोनिगरको मत दोषमुक्त छैन । उनले महाभारत र रामायण दुवैमा वैदिक राज्यको भन्दा मौर्य साम्राज्यको प्रभाव बढ्ता झल्किएको उल्लेख गरेकी छन् । तर, वास्तविकता अर्कै छ । महाभारतमा सम्राट् कहलिन राजाले राजसुय यज्ञ गर्नुपर्थ्यो । त्यसप्रति सहमत नहुने राजाहरूलाई युद्धमा पराजित गरी तीबाट कुत असुल्नुपर्थ्यो । इन्द्रप्रस्थका राजा छँदा युधिष्ठिरले पनि राजसुय यज्ञ गराएका थिए । पराजित राजवंशलाई उनीहरूका राज्यबाट उच्छेद गर्ने र अर्को राज्यको भूमि हत्याउने काम महाभारतकालका सम्राट्हरूले गर्दैन थिए । इरावती कर्वेका अनुसार, बौद्धकालमा आएर राजाहरूमध्येका श्रेष्ठलाई सम्राट् मान्ने महाभारतकालीन चलन अन्त्य भयो । सम्राट्ले आफूलाई अन्य राजाहरूको अधिपति मान्ने प्रचलन त्यसपछि मात्रै सुरु भएको हो । पराजित राज्यको भूमि हत्याउँदै विशाल साम्राज्य निर्माण गर्ने चलनले मौर्य साम्राज्यको उदयपछि तीव्रता पाएको हो ।

कथाको ढाँचा

माथिका विवरणले पुरातात्त्विक अन्वेषण र मूलपाठको अध्ययनमार्फत रामायणको रचनाकाल निरूपण गर्नॅ असम्भवप्रायः छ भन्ने देखाएको छ । यस्तो अवस्थामा त्यसभन्दा अझ अघि बढेर रामायणमा वर्णित पात्रहरूको जन्मथलो निर्क्योल गर्न अग्रसर हुनु लहडबाजी प्रतीत हुन्छ ।

यहाँनेर रामायणमा वर्णित विवरण इतिहास हो अथवा कविको फगत कल्पना भनी चर्चा गर्नु प्रासंगिक हुन्छ । कथाको ढाँचाका आधारमा अमूक ग्रन्थ कल्पना हो अथवा यथार्थ भनी मत राख्ने प्रचलन पनि छ । यस्तो शैली झट्ट हेर्दा युक्तिसंगत देखिन्छ । यस्तै शैली पछ्याएर आफ्नो मत राख्ने विद्वान्मध्येमा पर्छिन्, कर्वे । उनको मतअनुसार, रामायण कल्पनामा आधारित फगत काव्य हो ।

विगतको भारतबारे अध्ययन गर्ने परम्पराको एउटा धारलाई पछ्याउँदै उनले महाभारतलाई इतिहास र रामायणलाई काव्य भनेकी छन् । उनका अनुसार, रामायण आदर्श पात्रहरूको विरुदावली हो, जुन संस्कृत साहित्यको प्रचलित ढाँचाअनुरूप रचिएको छ । यसका प्रमुख पात्र राम आदर्श पुरुष हुन् । सीताचाहिँ आदर्श नारी हुन् । रामायणमा आदर्श भाइ अर्थात् भरत र लक्ष्मणबारे उल्लेख छ । आदर्श सेवकका रूपमा त्यहाँ हनुमान छन् । आदर्श मित्रका रूपमा जटायु छन् । जटायु दशरथका मित्र हुन्छन् । अपहृत सीतालाई रावणको नियन्त्रणबाट मुक्त गर्न खोज्दा मारिन्छन् । आदर्श देश र आदर्श प्रजाको विवरण पनि रायमाणमा प्रशस्तै छ । यतिसम्म कि यसको खलनायक रावण पनि आदर्शवान छन् । उनले सीताको अपहरण गर्छन्, परन्तु बलात्कार गर्दैनन् । जबकि अपहृत स्त्रीलाई निर्बिघ्न भोग गर्न त्यतिबेलाको परिवेशले पुरुषलाई छुट दिएको थियो । अपहृत स्त्रीलाई यौनदासी बनाएर राख्ने चलनबारे पुराना संस्कृत ग्रन्थहरूमा प्रशस्तै उल्लेख छन् । यसका अतिरिक्त पाण्डित्यको कसीमा पनि रावण श्रेष्ठ हुन्छन्, जसकारण मृत्युको संघारमा पुगेका उनीबाट शिक्षा लिन भनेर रामले लक्ष्मणलाई पठाउँछन् । पात्र र परिवेश सबै आदर्शमय भएको त्यस्तो अवस्था कल्पनामा मात्र सम्भव हुन्छ, यथार्थमा होइन भन्ने कर्वेको सपाट मत छ ।

फेरि रामायणको कथा जीवन्त र वास्तविक प्रतीत हुँदैन । सीताको स्वयंवरपछि उनका माइतीबारे कतै उल्लेख भएको पाइँदैन । अयोध्या, वन अथवा वाल्मीकि आश्रममा उनलाई भेट्न भनेर माइती पक्षका कोही आउँदैनन्, जुन अपत्यारिलो छ । लंकासँग युद्ध हुँदा रामले अयोध्याका सैनिकको नभई बाँदर, भालु आदिको सहयोग लिन्छन् । त्यत्रो ठूलो युद्ध हुँदा अयोध्या अथवा जनकपुरको प्रसंग कतै आउँदैन । यसले पनि रामायण कल्पनामा आधारित काव्य हो भनी पुष्टि गर्ने कर्वेको मत छ ।

संस्कृत काव्यको प्रचलित पटकथामा नायक र नायिकाको विछोड हुन्छ । बीचमा उनीहरूबीच आफ्नो प्रेमलाई लिएर आशंका उत्पन्न हुन्छ । त्यस्तो आशंका निर्मूल भए पनि अन्ततः प्रेमको जित हुन्छ । कालिदासको ‘अभिज्ञानशाकुन्तलम्’ को प्रसंग झिक्दै कर्वेले संस्कृत साहित्यको कथाको प्रचलित ढाँचासँग रामायणको ढाँचा मिल्दोजुल्दो रहेको बताएकी छन् । सीताको परित्यागसम्बन्धी रामायणको प्रसंगलाई भने उनले प्रक्षिप्त ठहर गरेकी छन् ।

मानिस गुण र दोष दुवैले युक्त प्राणी हो । तर, रामायणका सत्पात्रहरूको व्यक्तित्वमा कुनै खोट देखाइएको छैन । महाभारतमा भने सबै पात्रहरू गुणदोषले युक्त छन् । त्यहाँ आदर्शवान कोही पनि छैनन् । महाभारतले सबैभन्दा बढ्ता महिमामण्डन गरेका पात्र वासुदेव कृष्ण हुन् । तर, उनको खोट देखाउनमा पनि महाभारतकारले कुनै कसर बाँकी राखेका छैनन् । युधिष्ठिरको राजसुय यज्ञमा शिशुपालले उनीमाथि लगाएको आक्षेपको शृङ्खला यसकै एउटा उदाहरण हो । पाण्डवहरूले कृष्णको अग्रपूजा गर्न खोजेपछि आक्रोशित हुँदै शिशुपालले ‘नपुंसकको बिहे गरिदिनु र अन्धोलाई अनुहार देखाउनु उसको उपहास गर्नु भएजस्तै राज्यविहीन (राजा बन्न नसकेको) यस व्यक्ति (कृष्ण) लाई राजाजस्तै सम्मान दिनु पनि विडम्बनापूर्ण छ’ भनेका छन् (उद्योगपर्व, ३७।२९) । कृष्णले जीवनमा गरेका एक–एक गल्तीको विवरण शिशुपालले पेस गरेका छन् । कृष्णलाई ऋत्विज, आचार्य, राजा केही पनि नभएको व्यक्ति, छली र स्त्रीहन्ता भनी प्रमाणसहित आक्षेप लगाएका छन् । गदायुद्धमा भीमले जाँघमुनि प्रहार गरेर धराशायी बनाएका दुर्योधनले पनि कृष्णलाई ‘अनार्य’ भन्दै (शल्यपर्व, ६१।३८) लाञ्छना लगाएका छन् ।

यथार्थमा स्वैरकल्पनाको लेप लगाउने संस्कृत साहित्यको प्रवृत्तिलाई ख्याल गर्दै महाभारतका प्रक्षिप्त विवरणलाई पन्छाउने हो भने यसका घटनाक्रम वास्तविक र जीवन्त छन् । त्यसैले आधुनिक अनुसन्धाताले महाभारतमा वर्णित विवरणलाई ऐतिहासिक प्रमाणका रूपमा लिने गरेका छन् । नेपाली सन्दर्भकै उदाहरण दिने हो भने दिवाकर आचार्यको किताब ‘नीपजन र नेपाल : एउटा छोटो आद्य–इतिहास’ लाई लिन सकिन्छ । यसमा महाभारतसहित वायु, हरिवंश, विष्णु, मत्स्यलगायत तुलनात्मक हिसाबले पुराना पुराणहरूमा उल्लिखित नीप वंशको विवरणलाई होसियारीका साथ परिशीलन गरेर दक्षिण पाञ्चालबाट भागी पहाडतिर छिरेका नीपवंशीहरूबाटै ‘नेपाल’ शब्दको व्युत्पत्ति भएको प्रस्तवना गरिएको छ । यस्ता प्रकृतिका अनुसन्धानमा रामायणलाई प्रायः उद्धृत गर्ने गरेको पाइँदैन ।

कति उपयुक्त ?

रामायणमा वर्णित ठाउँहरूबारे आजसम्म भएका ‘निर्क्योल’ हरू निर्विवादित र वैज्ञानिक छैनन् । अयोध्या मात्र होइन, नेपालकै जनकपुर पनि दरिलो प्रमाणको टेकोमा अडिएको छैन । यसको ‘प्रामाणिकता’ फगत किंवदन्तीमा आधारित छ । राम र सीताले आफ्ना सन्याशी भक्तहरूलाई सपना अथवा तन्द्रमा आएर ‘तिमी अहिले बसिरहेको ठाउँ पावन जनकपुरधाम हो’ भनेको भरमा अहिलेको जनकपुर सीताको जन्मभूमि कहलिएको हो भन्ने जनविश्वास छ ।

रामायणको ऐतिहासिकता नै संदिग्ध रहेको अवस्थामा यसका पात्रहरूको जन्मथलोलाई लिएर हुने हानथाप प्राज्ञिक दृष्टिले अर्थहीन छ । रामायणमा वर्णन गरिएका भूगोल अहिले कुन ठाउँमा छन् भन्ने विषयसँग भने राजनीतिक, मनोवैज्ञानिक, आर्थिक, संस्कृतिक, सामाजिकलगायत पक्ष गहिरोसँग जोडिएका छन् । पुरातत्त्वले ठोरीमा गर्ने अन्वेषणले राम जन्मभूमिबारे तथ्य पत्ता लगाउने सम्भावना किञ्चित छैन । त्यसबाट नेपालको इतिहास–संस्कृतिमाथि प्रकाश पार्ने पुरातात्त्विक सामग्रीहरू फेला पर्ने सम्भावनाचाहिँ प्रबल छ ।

प्रकाशित : श्रावण १७, २०७७ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?