कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

मीन, ग्रे भाम !

नेपालको हिमाली भेगमा प्रचलित बहुपति प्रथामाथिको कथामा आधारित मीन भामको ‘चिसो वर्ष’ (अ इयर अफ कोल्ड) को पटकथाले टर्कीको ‘ट्वेल्भ पुन्टो स्क्रिप्ट ल्याब’ बाट ७५ हजार युरो (झन्डै १ करोड ३ लाख रुपैयाँ) इनाम पाएको छ ।
दीपक सापकोटा

काठमाडौँ — खैरो एक निक्खर रङ होइन, त्यसैले यो एक अनौठो रङ हो । किनभने, अलिकति प्रकाश बढाए खैरो सेतो हुन्छ, अलिकति घटाए यो कालो हुन्छ । यो श्याम र श्वेतको एक सन्ध्या रङ हो ।प्रचलित भाष्यअनुसार कालोलाई दुःख र अन्धकारको रङ मानिन्छ भने सेतोलाई सफा, सुख र असल चरित्रको ।

मीन, ग्रे भाम !

हामी जीवनमा सेतै–सेतो अर्थात् सुखैसुख वा सच्चरित्रै सच्चरित्र खोज्छौं, जो सम्भव हुँदैन किनभने हाम्रा दुःख, हैरानी र खराबी हामीसँगै हुर्किरहेका हुन्छन् । अनि, आफूलाई मन नपरेको मानिस स्वार्थी र खराबै–खराब भएको ठान्छौं । त्यो पनि सत्य हुँदैन । किनभने, कोही मानिस पनि पूर्णतः दुष्ट र कोही पूर्णतः असल हुँदैन । स्वभावतः मानिस असल खराब दुवै पक्षको गठजोड हो । यसरी दुवै मिसमास भएर नछ्ट्टुिने अवस्थामा पुगेको भावलाई संकेत गर्न अंग्रेजीमा एक पदावली छ— ग्रे जोन । निर्देशक मीन भाम जीवनको यही यथार्थलाई सिनेमामा उतार्न खप्पिस छन् । त्यसैले उनको सिनेमाको रङ चल्तीको ‘ब्ल्याक एन्ड ह्वाइट’ भन्दा पृथक् छ ।

नाट्य–शिल्पी अनुप बरालको विचारमा मीनका फिल्ममा पूर्ववर्ती समयमा उनले बिताएका खैरा रङका सम्झनाहरू छन् ।

फिक्सन डिजाइनर कुमार नगरकाटीचाहिँ मीन भामका फिल्मलाई जोगी रङको भन्न रुचाउँछन् । ‘उनको फिल्मको रङ ग्रे हुन्छ । ग्रे नै उनको स्वभाव हो,’ कुमार उवाच, ‘मीनको जीवन उनकै सिनेमाका दृश्यहरूझैं खरानी रङको छ । र, नेचुरल्ली खरानी जोगीको रङ हो । त्यसैले मीन भाम नेपाली सिनेमाका जोगी हुन् ।’

मीन भाम नेपालको द्वन्द्वलाई पक्ष र विपक्षका दृष्टिले सीधै हेर्दैनन् । दृश्यहरू पर्दामा उतार्छन् सामान्य घटना टिपेर । त्यसलाई हेरेपछि दर्शक आफैं निचोडमा पुग्छ र सबैको निचोड एकै पनि हुँदैन । सायद मट्मैलो रङ नै उनको सिनेमाको विशेषता हो ।

नेपालमा चलेको हिंसात्मक द्वन्द्वबारे उल्लेखनीय साहित्य सिर्जना हुन बाँकी नै छ, सिनेमाहरू बन्न बाँकी नै छन्, इतिहास पनि लेखिँदै गर्ला । द्वन्द्वकालले कर्णालीमा पारेको प्रभावको एउटा कथालाई सिनेमाको विषय बनाएर मीन भामले भने सिनेमा समीक्षकको प्रशंसा बटुले । हालै उनको नयाँ सिनेमा ‘चिसो वर्ष’ को पटकथाले निर्माणपूर्व नै विदेशबाट झन्डै एक करोडको पुरस्कार पाएपछि भामको नाम फेरि चर्चामा छ । ‘कालो पोथी’ को कथा–कन्टेन्टले ‘गिरफ्तार’ गरेपछि मैले उनलाई पछ्याउन थालेको थिएँ ।

धेरैअघिदेखि मीन भाममाथि केही लेख्न खोजिरहेको छु । ठमेलको हिमालयन जाभामा पहिलो वार्ता गरिएकै पोहोर ७ पुसमा हो । त्यसपछिका केही भेटमा उही पुरानै संवाद र उस्तै गफ गरेर छुट्टिएका थियौँ हामी । अबचाहिँ हाम्रो संवादलाई पूरा गर्नु जरुरी थियो र गर्दै छु । कुनै बाध्यताले होइन, उनीजस्ता असल सिनेकर्मीबारे लेखेर आफैँलाई सन्तुष्ट तुल्याउन ।

‘बाँसुली’ (लघु चलचित्र) र ‘कालो पोथी’ (फिचर लेन्थ) मा मीनको निर्देशकीय शिल्प स्पष्ट देखिन्छ । ‘कालो पोथी’ विदेशका धेरै फिल्म महोत्सवमा पुगेको थियो भने नेपालमा पनि सिनेभाषाको प्रस्तुतिका दृष्टिले गम्भीर दर्शकको छनोटमा परेको थियो । यसपालि त फिल्म बन्नुअघि नै उनले इनाम पाए, स्क्रिप्टका लागि । हिमाली भेगमा प्रचलित बहुपति प्रथामाथिको कथामा आधारित उनको ‘चिसो वर्ष’ (अ इयर अफ कोल्ड) को पटकथाले टर्कीको ‘ट्वेल्भ पुन्टो स्क्रिप्ट ल्याब’ बाट ७५ हजार युरो (झन्डै १ करोड ३ लाख रुपैयाँ) पाइसकेको छ । यही स्क्रिप्टका लागि २ महिनाअगाडि मात्रै जर्मनीको ‘ब्रेड फर द वर्ल्ड– २०२०’ बाट २७ लाख रुपैयाँ प्राप्त गरेका थिए भने फिल्म निर्माणका निम्ति ५३ हजार युरो सुटिङअगावै नर्वेजियाली फिल्म इन्स्टिच्युटबाट पाइसकेका छन् । मीनको प्रतिक्रिया छ, ‘पुरस्कार पाउँदा खुसी लाग्ने भइहाल्यो, यस्ता पुरस्कार/अनुदानले फिल्म निर्माणमा आर्थिक पक्ष र इन्भेस्टमेन्ट खोज्नुपर्ने तनावबाट मुक्ति दिन्छ । फिल्म बनाउँदा यसको सफलता, विफलता, रिजल्टभन्दा त्यसको समग्र प्रोसेस र ग्रोथले आफूले आफूलाई कति सिकाउँछ, मेरा लागि त्यो झन् महत्त्वपूर्ण पक्ष छ ।’

०००

मीन सिनेमाका लागि बनेका हुन् र उनको सिनेमा, उनले भन्ने कथा कुनै अनजान सिनेसागरमा डुब्नका लागि हो अनि महसुसका लागि । मीनका अभिनय गुरु तथा निर्देशक अनुप बराल मीनलाई नेपाली फिल्मका ‘ताजा हावा’ भन्छन् । एक भेटमा अनुपले मुन्टो घुमाउँदै आफ्नै अन्दाजमा भनेका थिए, ‘नेपाली सिनेमाको एउटा ठूलो लर्को बासी र स्टेरियोटाइप्ड सिनेमाको आत्मरतिमा हराइरहँदा मीनको सिनेमा ताजा हावा र नयाँ कलेवरसहित सार्वजनिक भएको थियो, जसको मूल्य नेपाली फिल्म बजारमा बर्सेनि च्याउझैँ उम्रने फिल्मभन्दा ज्यादा सारगर्भित र लोभलाग्दो छ ।’

हुन पनि उनका सिनेमा चित्ताकर्षक छन्, भीडमा पनि टाढैबाट प्रस्ट चिनिने । मीनबारे निर्देशक बरालसँग मैले लामै वार्ता गरेको थिएँ, उनी नाटक ‘महाभोज’ मा व्यस्त भएकै बखत । एक दिन अनुपले एकै सासमा भने, ‘यिनले रचेको संसारले नेपाली चलचित्रको समसामयिक अनुहारलाई विश्व मानचित्रको केन्द्रमा स्थापित गरेको छ । भद्दा कमेडी, उच्छृङ्खल रोमान्स, ताइँ न तुइँको एक्सन र बलिउडियन सूत्रबद्ध सिनेमा मात्र बन्दैन नेपालमा, सार्थक र गम्भीर सिनेमा पनि बन्दोरहेछ भन्ने कुराका प्रमाण हुन् उनका फिल्म । उनको कथा न्यारेट गर्ने सिनेमायी अन्दाज ‘पर्सनल’ देखिन्छ । उनी आफ्नै भोगाइबाट निःसृत चरित्र र काल्पनिक चरित्रको माध्यमबाट एउटा विराट संसार रच्ने कोसिसमा छन् । दुवै फिल्ममा बालकहरू नै मुख्य चरित्र रहनु, दुवै फिल्मको छायांकन मुगुमा हुनु र स्थानीय भाषाको प्रयोग गरिनु कुनै संयोग होइन । यी दुवै फिल्मका मुख्य पात्र रूखमा चढेर कुरा गर्नु पनि कुनै संयोग होइन । यो दुवै फिल्मको ब्याकड्रपमा द्वन्द्वकाल हुनु पनि संयोग होइन । यो मीनको कथा भन्ने पर्सनल कम्फर्ट जोन हो । यो जोनमा बसेरै यिनी आधिकारिक रूपमा कथा भन्न सक्थे सायद । त्यसैले यी फिल्म ग्राउन्ड रुटेड छन् । त्यसैले त यसले रच्ने विम्ब पनि नवीन र ताजा छन् । कालो पोथीको अन्त्यतिर दुई जना बालक तालको छेउमा नांगो उभिएर मुखको रगत पुछ्दै गरेको दृश्यले सिनेमामा जुन आइरोनी बुनेको छ, त्यो अविस्मरणीय छ ।’

आफ्नो कथा सिनेमामार्फत निर्धक्क भन्ने मुगु–भामवाडाका मीन जीवन–व्यवहारमा भने लजालु र कम बोल्ने स्वभावका छन् । आइस ब्रेक गर्नका लागि सिलसिला नमिलाईकन सवाल गरिरहेको मसँग कुरा गर्दागर्दै उनले भने, ‘यसरी अन्तर्वार्ता दिँदा मलाई लाज या भनूँ अप्ठ्यारो लाग्छ ।’ पत्रकारसँग बोल्दा ‘अप्ठ्यारो’ माने पनि नेपाली सिनेमामा भने आफ्नै मौलिक दृश्य–भाषामा मुखर हुन खोज्दै छन् उनी । तर, अरूलाई सिकाउने सिनेमागुरु हुने रहर भने छैन । भन्छन्, ‘फिल्मलाई समाजसँग गाँस्नुपर्छ, फिल्मले मान्छे र समाजसँग बृहत्तर संवाद गर्न सक्नुपर्छ ।’

निर्देशक बरालका भनाइमा मानिसको असली संसार उसले सोचेर वाचन गरेको आत्मकथाहरूमा होइन, उसले भोगेर बाँचेका गाथाहरूमा हुन्छ । भामबारे उनी भन्छन्, ‘मीन भाम आफूले बाँचेको र भोगेको समयलाई सिनेमायी अनुभवमा रूपान्तरण गर्न मग्न एउटा त्यस्ता कथावाचक हुन्, जसले नेपाली सिनेमाको धरातललाई गुणात्मक रूपमा फराकिलो बनाउन खोजेका छन् ।’

०००

होचो कद । भुक्क परेको अनुहार । मास्तिर फर्किएका कपाल । बोलीमा नरमपन । बोलीमा नरमपन उनले आफ्ना ‘यार’ हरूबाट सिकेका रे । अनि उनका ‘यार’ हरूचाहिँ ५०/६० कटेका धामी/झाँक्री हुन्थे रे । यसपटकको संवादमा पनि मीन भाम मसँग छन्, हिमालयन जाभा कफी शपमा । बाहिर झरीले गह्रुँगो बनाएको समय बिस्तारै बिस्तारै वामे सरिरहेको छ । मीन र मेराबीच ढसमस्स बसेको मौनलाई त्यत्तिकै निक्कै बेरसम्म रहन दिन्छौँ हामी । उनी घरीघरी झ्यालको सिसाको बाहिरी पत्रमा परिरहेका पानीका धर्साहरूलाई हेरिरहेका छन् । म चकमन्नताको बोझबाट बलैले बाहिर निस्केर भन्छु, ‘अब कुरा सुरु गरौँ ?’ म उनलाई स्क्यान गर्न खोज्छु । लाग्छ, उनी स्मृतितिर पसिरहेका छन् ।

‘बाँसुली’ र ‘कालो पोथी’ देखि रिलिज नभएको फिल्म ‘चिसो वर्ष’ सम्म आइपुग्दा उनको जीवन–कथाले अनौठा अनेक घुम्ती पार गरिसकेको छ । उनलाई पढ्नु देशमा गणतन्त्र प्रवेशपछिको एउटा ठिटोको मस्तिष्कमा आएका उतारचढावलाई सँगसँगै पढ्नु हो ।

मुगुका पहिला फोटोग्राफर र राससका पत्रकारसमेत थिए उनका पिता । घरमै गाउँलेलाई सिनेमा देखाउने व्यवस्था पनि गरेका थिए, मीनपिता जंगबहादुरले । सानैदेखि समाचार सुन्दै, पढ्दै हुर्किए मीन । उनी फिल्मकिरो हुनुमा पिताकै संगत र रुचिले काम गरेको छ । हिन्दी सिनेमा ‘अन्धा कानुन’, ‘आखिरी गुलाम’, ‘शोले’ र नेपाली सिनेमा ‘चिनो,’ ‘कुसुमे रुमाल’ उनले बुबाले खोलेको हाइभिजन हलमा हेरेका हुन् । बुबा टेलिकमको जागिरे हुँदा उनले लेख्न नजान्ने आफन्तका लागि थोरै शब्दमा आकाशवाणी लेखिदिन्थे । यसै क्रममा उनले थोरै शब्दमा धेरै कुरा भन्न सिके ।

माओवादी द्वन्द्वसँगै बुबाको हाइभिजन हल बन्द भयो । द्वन्द्व सल्केपछि मीन ‘कवि’ भए । द्वन्द्वले लेख्न सिकाएको कविता उनले कसैलाई सुनाएनन्, कि बगाइदिए, कि जलाइदिए । ‘बाँसुली’ मा पनि उनको निजी अनुभव एउटा दृश्यमा प्रयोग गरिएको छ । एसएलसी सिध्याएपछि २०५६ सालमा उनी भागेर काठमाडौं आए । जम्मा सत्ताइस सय रुपैयाँ लिएर काठमाडौँ छिरेका उनले घरमा चिठी पठाए, ‘मेरो चिन्ता नगर्नू, यहाँ पढिरहेको छु ।’ हो पनि, उनी अस्कल क्याम्पसको होस्टेलमा बसे । त्यसपछि सरस्वती क्याम्पस भर्ना भए, पोलिटिकल साइन्स पढे । त्यसै बेला एक दिन ‘गोरखापत्र’ मा विज्ञापन देखे— राष्ट्रिय नाचघरमा अभिनय कोर्स खुलेको थियो । सिक्न गए । कमाइ थिएन । बेखर्ची हुन्थे कहिलेकाहीँ । त्यस्तो अवस्थामा यस्तो दिन पनि आयो, ३ लिटर मट्टीतेल किन्न ओरिजिनल सर्टिफिकेट बन्धकी राख्नुपर्‍यो ।

गुरुकुल पुगे नाटक गर्न । ‘कर्नाली दख्खिन बग्दो छ’, ‘घनचक्कर’ मा अभिनय गरे । अनुप बरालसँग पढे एक्टर्स स्टुडियोमा । अस्कर कलेज खुलेपछि फिल्म पढ्न भर्ना भए । पढ्दापढ्दै सर्ट मुभी बनाए– ‘बाँसुली’ । उनी अहिले पनि सम्झिरहन्छन्— साथी फिडेल देवकोटालाई, जसले उनलाई राम्रा र क्वालिटीका फिल्म हेर्न सिकाए । त्यसपछि उधारोमै भए पनि डीभीडी ल्याउने र अँध्यारो डेरामा बसेर दिनैभरि हेर्ने सिनेमा–अम्मली पनि बने । ती दिनमा हेरेका फिल्म उनी सम्झिन्छन् । ‘दी बास्केटबल डायरिज’, ‘नट वनलेस’, ‘इन द मुड फर लभ’, ‘बाइसाइकल थिभ्स’ इत्यादि, उनले त्यसबेला हेरेका सम्झिने फिल्म हुन् । ती फिल्म हेरेपछि उनलाई लागेको थियो— फिल्ममा आफ्नै कथा भन्नुपर्छ । त्यसबेला हेरेका अब्बास किरोस्तामी, ली चाङ दोङका फिल्म उनी अक्सर सम्झिन्छन् ।

जर्मनीमा भिजुअल एन्थ्रोपोलजीमा विद्यावारिधि गरेका मीनका साथी फिडेलको कुरा गरौँ, जसले मीनलाई सिनेमा रोज्न सिकाए । उनी भन्छन्, ‘मीनको सिनेमाको कुरा गर्दा रबर्ट ब्रेस्सनको भनाइ याद आउँछ । उनले भनेका थिए— यस्तो कुरा देखाऊ, जुन तिमीबिना कदापि देखिन सम्भव थिएन । मीनको विशेषता पनि यसैमा छ । उनले प्रस्तुत गरेका पात्र र कथा सायद अरूले गर्न सक्दैनन् होला । मीनले नदेखाएको भए हामीले वा भनूँ विश्वले नै सायद कर्णालीको यो पाटो देख्न पाउने थिएन होला । र, उनको विशेषता भनेको नै सरलता हो । उनको काम विशुद्ध छ— उनका पात्र र वाचन शैलीहरू प्राङ्गारिक छन् ।’

नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउन र एउटा फरक पहिचान दिलाउन पनि मीनको अहम् भूमिका भएको ठान्छन् फिडेल । उनी भन्छन्, ‘मीनको अर्को महत्त्वपूर्ण योगदान भनेको उनी यस क्षेत्रमा लागेका नयाँ पिँढीका सिनेकर्मीहरूलाई सहयोग, दिशानिर्देश र प्ल्याटफर्म पनि उपलब्ध गराउन पछि हट्दैनन् । यस अर्थमा पनि नेपाली सिनेमा वृत्तमा मीन अलग छन्, विशेष छन् ।’

०००

अहिले पनि उनी हिमालयन जाभाको झ्यालको धमिलो सिसा झ्यालबाट बाहिर गुडिरहेका गाडी, मोटरसाइकल र सडकपेटीका क्युरियो पसल हेरिरहेका छन् । सायद सम्झिरहेका छन्, पिताजीलाई, जो चाहन्थे, मीन राजनीतिमा जाओस् । तर, उनी यस्तो दुनियाँमा आए, जहाँबाट समाजको राजनीति र राजनीतिले असर पुर्‍याउने मानिसको कथा भन्न सकियोस् ।

नेपाली सिनेमामा मीनजस्तै नयाँ सोच भएका सिनेकर्मीहरूबारे निर्देशक नवीन सुब्बाले मसँगको अन्तर्वार्तामा भनेका थिए, ‘यिनले आफ्ना सिनेमामा समाजबोध गरेका छन् र नेपाली फिल्ममा पहिले नदेखिएका चरित्र देखाएका छन् । शैलीगत भिन्नता प्रदर्शन गरेका छन् । उनीहरूको त्यो प्रयासलाई दर्शकले स्विकारेका छन् । त्यसैले उनीहरू एक हदसम्म बलिउड शैली प्रतिस्थापन गर्न पनि सफल भएको मान्नुपर्छ । अब यस सम्भावनाशील पुस्ताले शैली र विषयमा नयाँ खोज मात्रै होइन, सिङ्गो सिनेम्याटोग्राफीमा निजत्व निर्माण गर्नतिर लाग्नुपर्छ ।’

कति समीक्षक भन्छन्— मीन गम्भीर दर्शकका लागि मात्रै फिल्म बनाउँछन् । तर, उनको स्पष्टोक्ति छ, ‘चलचित्र बनाउने चर्चित हुन वा सबैको चित्त बुझाउन होइन, आफ्नो ब्रह्मज्ञानले भ्याएसम्मको सिर्जना गर्ने हो । कति प्रतिशत दर्शकलाई बुझ्न गाह्रो भयो, कतिलाई सजिलो भयो भन्ने कुराबाट सिर्जना निर्देशित हुनु हुँदैन ।’ विश्व–सिनेमाको चित्रफलकमा नेपाली सिनेमा गर्भावस्थामा भएको मीनको बुझाइ छ । अहिले नेपाली सिनेमाको अवस्था गौण होला, तर यो सुनौलो आशासहित हुर्किंदै छ भन्ने कुरामा उनी विश्वस्त देखिन्छन् । ‘नेपाली फिल्मले अहिलेसम्म अनफुलफिल्ड डिजायर मात्रै देखायो,’ उनी भन्छन्, ‘फिल्मको कथावाचन शैलीमा विविधता आउनुपर्छ । कथा भन्ने शैलीमा मौलिक टोन आउनुपर्छ ।’ यी पंक्ति उनले निकैपटक दोहोर्‍याए ।

०००

मीनको पुस्ताले सानो गोरेटोमा उभिएको नेपाली सिनेमालाई नयाँ र बेग्लै राजमार्गमा लैजाने निश्चित छ । थोरै संख्यामा किन नहुन्, आजका फिल्मको कथाले पुराना परम्परालाई तोडेको छ । कुनै जमानामा सिनेमा संसारमा निर्देशक रहेका कवि विप्लव प्रतीकका लागि मीन सिनेमाका निम्ति महत्त्वपूर्ण र गम्भीर उपस्थिति हुन् । उनी भन्छन्, ‘प्रसिद्धि कमाउन, कुनै ट्रेन्ड स्थापना गर्न र कसैसँग प्रतिस्पर्धा गर्न सिनेमामा उनको उपस्थिति भएको होइन । उनी संवेदनशील छन् र आफ्नो समाजमा आफूले भोगेको अर्ग्यानिक सुख–दुःख, प्रेम–विरह, विभेद र द्वन्द्वको कथालाई दर्शन र संवेदनाको जलप लगाएर नेपाली समाजलाई सुनाउन चाहन्छन् । उनका कथाले नेपाली सिनेमा र साहित्यलाई पनि कम्प्लिमेन्ट गर्छ ।’

सिनेमामा फरक कथा भन्ने रनाहामा मीनका कन्चटमा तुसारो पर्न लागेझैँ देखिन्छ । आफूले बनाउने सिनेमाहरूमा फरक कथालाई फरक ढंगले प्रस्तुत गरेर सामान्य दर्शक र समीक्षक दुवैको मन जित्न सफल मीन भाम आफ्ना सिर्जनामा बढी परिपक्व र जिम्मेवार निर्देशकका रूपमा देखिएका छन् । उनका ‘बाँसुली’ र ‘कालो पोथी’ले उनको उत्कृष्ट सिर्जनात्मक क्षमता साबित गरेकै हुन् । उनले यसपालि ‘चिसो वर्ष’को कथा भन्ने जमर्को गरेका छन् । भामबाट हामी अरू पनि राम्रा फिल्मको अपेक्षा गर्न सक्छौँ । भन्छन्, ‘अब फिल्मको केन्द्र भत्किसक्यो । नेपाललाई पनि विश्व–बजारले आँखा च्यातेर हेरिरहेको छ ।’

मीन आफ्ना सिनेमामा सामाजिक सरोकारका विषयहरूलाई गम्भीरताका साथ उठाउन खोज्ने संवेदनशील निर्देशक हुन् । मनपरेको किताबलाई दोहोर्‍याएर पढेझैं म यी प्रिय निर्देशकलाई पढ्न खोज्छु । बाहिर पानी रोकिइसक्यो । मसँग धेरै जिज्ञासा छन्, अहिले सोध्न मन छैन । मलाई उनका प्रिय भाव र विचारहरू स्क्यान गर्न मन छ । उता नयाँ सिनेमा ‘चिसो वर्ष’ को तयारीमा तल्लीन मीन भने फेरि पनि झ्यालबाहिर वर्षात्को झरीले भिजेर गह्रुँगो भएको चिसो परिवेशलाई हेरिरहेका छन् ।

(शनिबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : श्रावण १६, २०७७ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?