रेशमी बाटो, मखमलबाफ र किम काफल- कोसेली - कान्तिपुर समाचार

रेशमी बाटो, मखमलबाफ र किम काफल

‘म जन्मनुअघिदेखि नै थाकेको छु। मेरी आमाले मलाई आफ्नो गर्भमै पालेर मजदुरी गर्थिन्। म त्यो बेलादेखिकै मजदुर हुँ, म आफ्नो आमाको थकानलाई महसुस गर्न सक्छु,उनको थकान अझै पनि मेरो शरीरमा छ ।’
अनुप बराल

इरान देश म कहिले पनि पुगेको छैन । तर, त्यहाँको साहित्य, कला, संस्कृति, सिनेमा आदिले विश्वमा जुन एउटा मानवीय र कल्पनाशील बिम्ब बनाएका छन्, त्यसप्रति रुचि राख्छु । पछिल्लो समय इरानी कवि सबिर हकाको कविताले मलाई कतिपय अर्थमा भित्रैदेखि हल्लाए । किन ? तर, पख्नुहोस्– सबिरबारे अरू केही सामग्री थप्नुअघि मेरो इरान–कनेक्सनबारे केही भन्छु ।

छुट्टीको कुनै दिन

मध्याह्न :

आधा बाटो पुगेपछि

मृत्यु र म

एकअर्काको सामुन्नेबाट गुज्रियौँ

ऊ सहरतिर गइरहेको थियो

म चिहानतिर ।

(इरानी कवि सबिर हकाको कविता ‘मृत्यु’ बाट ।)

मलाई सम्झना छ— प्रख्यात जापनिज संगीतकार कितारोको ‘सिल्क रोड’ भन्ने सांगीतिक एल्बम सुनेपछि यो शब्दप्रतिको जिज्ञासा बढेको हो । ‘सिल्क रोड’ अर्थात् ‘रेशमी बाटो’ व्यापारी प्रयोजनका लागि दोस्रो शताब्दीदेखि अठारौं शताब्दीसम्म पूर्व र पश्चिमलाई जोड्ने नेटवर्क बनेको थियो । र, यी नेटवर्कभित्र पर्ने क्षेत्रहरू आर्थिक, संस्कृतिक, राजनीतिक र धार्मिक अन्तरक्रियाको केन्द्र बने । यो सभ्यता निर्माणको खेल यही रेशमी बाटोको अनुपम देन भन्न सकिन्छ । यसको एउटा छेउ जापान, कोरिया र चाइना बने, अर्को छेउ इरान । इरानसँगको मेरो कनेक्सन मानचित्रले भन्दा पनि रेशमी बाटोले कोरेको मार्गचित्रले बनाएको हो ।

‘सिनेमा एउटा प्रविधि हो । सिनेमा बन्दुकजस्तै हुन्छ । यद्यपि एउटा बन्दुकले एउटा व्यक्तिमाथि एकपटक मात्रै गोली दाग्न सक्छ । तर, सिनेमाले एक सेकेन्डमा २४ वटा फ्रेमको दरले अज्ञानताको बारेमा बोल्न सक्छ । मेरा लागि सिनेमा कला, समाज र हरेक मानिसका लागि एउटा रचना र जिम्मेदारी हो ।’ –मोहेसिन मखमलबाफ ।

लगभग एग्जाइल जीवन बाँचिरहेका इरानी फिल्ममेकरको भनाइ हो यो । यसभित्र केही प्रतिबद्धता र त्यसको आकर्षण लुकेको छ । उनको यो अवधारणामाथि तपाईं असहमति राख्न सक्नुहुन्छ होला । तर, उनका सिनेमाले विश्व सिनेमाको परिदृश्यमा बनाएको दह्रो उपस्थितिलाई नकार्न सक्नुहुन्न ।

सन् १९९७ तिर पुने फिल्म इन्स्टिच्युटमा फिल्म एप्रिसिएसनको कोर्स गर्दै गर्दा केही साथीहरू यस्ता भेटिए, जो इरानी साहित्य र सिनेमामा रुचि राख्थे । यिनैको सान्निध्यमा मैले फिल्मकार मोहेसिन मखमलबाफबारे जान्ने–बुझ्ने मौका पाएँ । मखमलबाफ नब्बेको दशकमा इरानी न्यु वेभ सिनेमाको एक महत्त्वपूर्ण व्यक्तित्वको रूपमा देखिएका हुन् । उनले बनाएका ‘सलाम सिनेमा’ (१९९४) र ‘अ मुमेन्ट अफ इनोसेन्स’ (१९९६) जस्ता फिल्मले उनलाई सिनेमेकरको रूपमा एउटा उचाइमा पुर्‍याइदियो । यिनका फिल्मका–विषयले यथार्थ र काल्पनिक कुरालाई साझा गर्छन् अनि वृत्तचित्र र फिचर फिल्मबीच हुने विभाजन रेखालाई मेटाइदिन्छन् ।

‘मोमेन्ट अफ इनोसेन्स’, मखमलबाफको जटिल कथा हो । यो सिनेमामा रोचक प्रयोग छ । दुई दशकअघि एउटा विरोध र्‍यालीमा मखमलबाफ छुरी प्रहार गरेको एक जना पुलिसकर्मीलाई आफैँ ट्र्याक गर्छन्, उसलाई भेट्छन् । दुवै जना यही विषयमाथि सिनेमा बनाउने सहमतिमा पुग्छन् । उनीहरू ती पुराना दिनका सबै घटनालाई पुनर्रचना गर्छन्, आफ्नो योङ भर्सनका लागि कास्टिङ पनि गर्छन् र तिनलाई अभिनय कसरी गर्ने सिकाउँछन् पनि । यो प्रक्रियामा पात्रहरूले बाँच्ने अन्तरविरोधमाथि फिल्म बनेको छ । प्रेम र त्यसको क्षय, युवा र वृद्धावस्था, विम्ब र स्मृतिको तालमेल छ यहाँ, जसले वर्तमान र भूतकालमा यात्रा गरिरहन्छ । यसमा मेटा सिनेमा हेर्नुको मजा छ ।

मखमलबाफले किरोस्तामीको निर्देशनमा बनेको सिनेमा ‘क्लोज अप’ खेलेका पनि छन् । यो सिनेमामा मखमलबाफ स्वयं आफ्नै चरित्रमा खेलेका थिए । यो सिनेमाको सबैभन्दा ठूलो विशेषता के थियो भने यसमा अभिनय गर्ने हरेक पात्र आफू स्वयं नै हुन् । मोहेसिन मखमलबाफलाई यो फिल्ममा यसकारण पनि सम्झिरहिन्छ कि यो फिल्मको मुख्य पात्र, जो एउटा कैदी हो, ऊ आफूलाई फिल्मकार मखमलबाफ हुँ भन्छ र त्यस्तै किसिमको रूप धारण गर्छ । उनको जस्तै आचरण गर्छ । जजको अगाडि पनि त्यसरी नै प्रस्तुत हुन्छ । जीवन परीक्षण र नैतिक संकटको अनौठो कहानी भन्ने तरिका र प्रयोगको कारण यो सिनेमालाई धेरै समीक्षकले संसारको एउटा मास्टरपिस सिनेमा मान्छन् ।

यसमा कुनै शंका छैन कि नाटक, सिनेमा, साहित्य र कलाजस्ता संसाधनहरूले कुनै पनि भूगोलको संस्कृति बुझ्न अनेकौं ढोका उघारिदिन्छन् । त्यहाँ बसोबास गर्ने मानिसहरू र उनीहरूको दैनिकी जीवन जान्नका लागि कलात्मक दृष्टिकोण प्रदान गर्छन् । इरानी फिल्महरू हेर्दै जाने क्रममा जफर पनाही, समिरा मखमलबाफ, असगर फरहादी, मजिद माजिदी, तहमिने मिलानी र बाहमन गोभाडीजस्ता फिल्ममेकरका काम गज्जब लागे । यिनले इरानजस्तो देशप्रति आम रूपमा देखाइने अवास्तविक छविभन्दा समाजको गहिरा सूक्ष्मता, नैतिक मूल्यहरू र मानिसका जीवन भोगाइबारे बुझ्न अधिक सघाएका छन् । कथा भन्ने शैलीमा सरलता र मिनिमलिस्तिक अप्रोच इरानी फिल्मका सौन्दर्य हुन् । यसैले यिनको बेग्लै पहिचान बनाएको छ ।

सिनेमाको फ्रेममा जीवनका स–साना कुरालाई रुचिपूर्ण तरिकाले चित्रण गर्ने अनि त्यसमा एक किसिमको सुफियाना र कलात्मक अनुभव जोड्ने इरानी फिल्मको शैली आफैँमा एउटा बृहत् विद्यालय हो । हावा, पानी, माटो, सुगन्धसँग जोडिएका रुटेड कथाहरूलाई यिनीहरू एउटा काव्यात्मक लयमा प्रस्तुत गर्छन् । यी सिनेमाहरूमा एउटा राम्रो चित्र हेर्नॅ र मिठो कविता पढ्नुको आनन्द भेट्न सकिन्छ । सानो बजेटमा पनि सानदार एवं आत्मीय सिनेमा बनाउन सक्नु इरानी सिनेमेकर्सहरूको ठूलो सामर्थ्य र शक्ति हो । हाम्रोजस्तो सानो फिल्म उद्योग भएको मुलुकका निम्ति इरानी फिल्मको यो शिल्प पक्ष प्रेरक तत्त्व बन्न सक्छ ।

कुनै समय मोहेसिन मखमलबाफले लेखेको एउटा कथा (जुन एक कैदीले लेखेको चिठीमा आधारित थियो), इरानी सिनेमा र साहित्यले मप्रति बनाएको आकर्षण अब्बास किरोस्तामीको ‘क्लोज अप’ र ‘टेस्ट अफ चेरी’ हुँदै अहिले सबिर हकाले लेखेको कवितासम्म आइपुगेको छ । यसो हुनु अकारण थिएन । कुनै समय कविता लेख्ने प्रयास गर्थें । आजभोलि राम्रो कविता पढ्ने कोसिस गर्छॅ । संसारभरिका कविता सम्भव भएसम्म पढौं भन्ने लाग्छ । यसै क्रममा इरानी कवि सबिर हकाका केही कविताले –अनूदित कविता) मलाई आकर्षित गरेका हुन् । विशेषता कविताको सरल प्रस्तुति र त्यसले पाठकको मनमा बनाउने जबर्दस्त दृश्यात्मक अनुभवले गर्दा । भनिन्छ, आफूलाई मन परेको कविता पढ्नुको सुख अरूबीच बाँड्दा त्यो सुख अझै बढ्दै जान्छ । यसैले जानीनजानी सबिर हकाका तीनवटा कवितालाई अनुवाद गर्न पुगेछु ।


सबिर हकाले धेरै लेखेका छैनन् । तर, जति लेखेका छन् ती यति मर्मस्पर्शी छन् कि तिनले पाठकको मनमा अतिरिक्त समवेदनाका घर बनाउँछन् र उनीहरूको मस्तिष्कलाई सोच्नका लागि विवश पार्छन् । सन् २०१५ यता सोसल मिडियाको एउटा खास वर्गमा सबिर आफ्नो कविता–लेखन र जीवनशैलीका कारण पनि चर्चामा रहे ।

सबिरको जन्म सन् १९८६ मा इरानको करमानशाहमा भएको हो । आजकाल उनी तेहरानमा बस्छन् र भवन निर्माण कार्यमा मजदुरी पनि गर्छन् । उनी कविता लेख्नका लागि मजदुरी गर्छन् । कविता प्रतियोगितामा प्रथम भएर उनले पुरस्कार पनि ग्रहण गरेका छन् । तर, उनलाई थाहा छ— पुरस्कार र कविताले उनको पेटको भोक मेट्दैन । पैसा कमाउन ढुंगा र गिट्टी पनि बोक्नुपर्छ ।

उनले आफ्नो अन्तर्वार्तामा भनेका छन्, ‘म जन्मनुअघिदेखि नै थाकेको छु । मेरी आमाले मलाई आफ्नो गर्भमै पालेर मजदुरी गर्थिन् । म त्यो बेलादेखिकै मजदुर हुँ, म आफ्नो आमाको थकानलाई महसुस गर्न सक्छु, उनको थकान अझै पनि मेरो शरीरमा छ ।’

सबिरको अनुभव बोल्छ— तेहरानमा उनीसँग सुत्नका लागि पनि ठाउँ छैन । आज पनि कैयौं रातहरू सडकमा घुम्दै बिताइरहेका छन् । यही भएर गएको १२ वर्षदेखि उनी आफ्नो उपन्यास पूरा गर्न सकुँला भनेर विश्वस्त हुन् सकिरहेका छैनन् । इरानमा धेरै राम्रा कुराको बाबजुद सेन्सरसिप पनि छ । फिल्मकार, साहित्यकार, रंगमञ्चका कामहरूमा र महिला स्वतन्त्रताका कुरामा डिलिट भन्ने डिभाइसिज राम्रोसँगै चल्छ भन्ने कुरा त्यहाँ हुने केही घटनाले बेलाबेलामा भनेका छन् । यद्यपि एक सर्जकका लागि आफूले भोगेको ल्यान्डस्केप अत्यन्त महत्त्वपूर्ण हुन्छ । त्यसैले उसको संवेदनालाई बुन्छ, सजाउँछ, उधार्छ र फेरि बनाउन प्रेरित गर्छ । इरानमा हुने यी राजनीतिक, सामाजिक अप्ठेराका बाबजुद सर्जकहरू आफ्नो सृजन कार्यमा निरन्तर बनिरहेकै छन् ।

सबिर हकाका कविता

१. किम काफल

के तिमीले किम काफल

देखेका छौ ?

त्यो जहाँ खस्तछ

त्यति नै माटोमा

त्यसको रक्तिम रसको दाग बस्दछ


खस्नुजस्तो पीडादायी केही हुँदैन


मैले थुप्रै मजदुरहरुलाई देखेको छु

अग्ला भवनबाट खसेका

र, किम काफल बनेका ।


२. मेरो एक मात्र डर

जब म मर्नेछु

आफ्ना सारा प्रिय किताबहरुलाई

आफूसँगै लिएर जानेछु,

आफूले माया गरेकाहरुको तस्बिरहरुले

आफ्नो चिहानलाई भर्नेछु ।


मेरो नयाँ घरमा

भविष्यका कुनै भयका निम्ति

कुनै ठाउँ हुने छैन ।


म पल्टिनेछु,

चुरोट सल्काउनेछु

र, ती सारा स्त्रीहरुलाई सम्झेर रूनेछु

जसलाई म अँगालो हाल्न चाहन्थेँ ।


यी सारा आनन्दहरुका बीच

एउटा डर भने रहिरहनेछ

कि कुनै दिन सखारै

कसैले मेरो काँध झक्झक्याउँदै

मलाई जगाउनेछ र भन्नेछ,

‘ए सबिर, उठ । काममा जाने बेला भयो ।’


३. साथीत्व

म ईश्वरको साथी होइन

केवल एउटै कारणले

जसका जराहरु धेरै पुरानो अतीतमा छन्

जुन बेला ६ जनाको हाम्रो परिवार

एउटा साँघुरो कोठमा बस्ने गर्थे

ईश्वरसँग एकदम ठूलो घर थियो

र, उनी त्यहाँ एक्लै बस्ने गर्थे ।


४. बन्दुक

यदि उनीहरुले

बन्दुक आविष्कार नगरेको भए

थोरै अन्तरमा

कम मानिसहरु मारिने थिए ।

कैयौं कुराहरु सहज हुने थिए


र, तिनलाई मजदुरहरुको शक्ति

महसुस गराउन सहज हुने थियो ।

(सबिरका यी कविता ‘मोर्डन पोएट्री इन ट्रान्सलेसन’ भन्ने एउटा चर्चित साहित्यिक पत्रिकाबाट साभार गरिएको हो । यो अनुवाद फारसीबाट अंग्रेजीमा नसरिन परवाज र ह्युबर्ट मुरद्वारा गरिएको अनुवादमा आधारित छ । अंग्रेजीमा अनुवाद गर्ने अनुवादकद्वय र नेपालीमा मैले गरेको भावानुवादमाथि अमूल्य सुझाव र सल्लाह दिने कविवर विप्लव प्रतीकप्रति हार्दिक नमन । – अनुप बराल)

प्रकाशित : श्रावण १०, २०७७ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्

कविता, चित्र, कोलाज र कालजयी सिनेमा

अनुप बराल

काठमाडौँ — आज कोरोना जस्तो महामारीको सामना संसारले गरिरहेको छ। यसबाट बच्न अहिलेसम्म  एउटामात्र विकल्प देखिएको छ घरमै बस्नु। यही भएर प्राय: सबै देशहरुले यही विकल्प रोजेर आफ्नो देशमा लकडाउन घोषणा  गरिरहेका छन्।

यो लकडाउनको अवस्था जति सुरक्षित देखिएको छ। यतिखेर यसको अवधि लम्बिँदै गएको खण्डमा मानव जीवन झन् उत्तिकै खतरनाक र दुस्कर हुने सम्भावना पनि छ।

लकडाउनको अवस्था पहिलो हप्ता पार गरेर दोस्रो हप्तामा प्रवेश गर्दैछ र योसँगै अनेकौं सामाजिक आर्थिक जटिलता पनि बढ्दै गएका छ्न। मानिसहरुमा दिन प्रतिदिन कोरोना भाइरसबाट संक्रमित भइने हो कि भन्ने त्रास पनि बढ्दै गएको छ। घरमै बस्दा पनि हाम्रो मनलाई छटपटी र मनोवैज्ञानिक त्रासले गाँजिएको छ। हाम्रो ध्यान केन्द्रीकृत हुन सकिरहेको छैन। यस्तो अवस्थामा हामीले आफ्नो जीवनशैलीलाई फरक र सर्जनात्मक बनायौं भने जीउन सजिलो पनि हुने र शरीरमा स्फूर्ति पनि आउँछ। अहिले राज्य सरकारले गरेन भनेर मात्र बस्ने स्थिति छैन। घरमा बस्दा समय बिताउन गाह्रो भएको छ भने विभिन्नखाले सिर्जनशील काम गर्न सकिन्छ।

अनुप बराल

एउटा सिर्जनशील दिमाग र मन बिकसित गर्न सबैभन्दा राम्रो तरिका तनाव नलिने हो। यसको लागि हरेक बिहान कमसे कम आधा घण्टा जति शारीरिक व्यायाम र योग अभ्यास गर्न सकिन्छ। शारीरिक व्यायाम र योग गर्दा हाम्रो ध्यान आफ्नो क्रियामा केन्द्रीत हुन्छ। जसले गर्दा मनमा 'नेगेटिभ थट' आउन दिँदैन र मनमा निराशा छाउन दिँदैन । शरीरमा रगत संचालन राम्रोसँग हुने र योगको प्राणायामले स्वासप्रस्वासलाई बलियो बनाइ शरीरमा इम्युनिटी बढाउने काम गर्छ । व्यायाम गर्दा घाम लाग्ने ठाउँ र प्रशस्त हावा बग्ने स्थान रोज्न नबिर्सनुहोला । घाममा बस्दा भिटामिन डी प्राप्त हुन्छ। यस्तो अभ्यास गरेपछि स्वस्थ आहार चाहिँ लिनु जरुरी छ।

किताब पढ्ने
तपाइलाई राम्रो, रमाइलो र मज्जा लाग्ने बिषयको किताबमा हराउनु गजबको कुरा हो। लामो समयको लकडाउनलाई बिताउनका लागि यो एकदम सही र अत्यन्त लाभदायक प्रक्रिया हुन सक्छ। कविता कथा उपन्यास नाटक हुन् या निबन्ध, यात्रा संस्मरण वा कुनै मेमोयेर कुनै पनि कुरा बाट सुरु गर्न सकिन्छ।

सुरुमा पढ्दा त्यस्ता जनराको किताब पढनुस‌ जुन जनरामा तपाईको रुचि छ । आफ्नो बुकसेल्फमा भएका किताब पढ्नुस्। नभए पढ्न मन लागेका किताब अनलाइनमा पनि पढन सक्नु हुन्छ । अनलाइनबाट मगाउन पनि सक्नुहुन्छ । यसका लागि तपाईलाई घरदेखि बाहिर पनि जानु पर्दैन । किताबहरुले केवल जानकारी मात्रै होइन प्रशस्त मनोरञ्जन र विचारहरु पनि दिन्छन्।

फोटोहरुको कोलाज बनाउने
हामीले यदि फोटोहरु कलेक्ट गरेर राख्ने गरेका छौं भने त्यसबाट हामी कोलाज निर्माण गर्न सक्छौं । यसलाई तपाईं आफ्नो कोठा सजाउन वा साथीहरूलाई उपहार दिनका पनि बनाउन सक्नुहुन्छ। यसले हामीलाई ती पुराना समयको सम्झना गराउँछ र कुनै पनि तनाव र चिन्ताबाट छुटकारा पाउन मद्दत गर्दछ। जति बेला तपाईं त्यो फोटोको उही पुरानो समयमा फर्कनहुन्छ त्यो बेलामा आफ्ना ती साथीहरूलाई कल गर्नुहोस् र सम्पर्कमा रहनुहोस्। र आफ्नो कुरा सेअर गर्नुस्।

चित्र बनाउने वा कविता लेख्ने
चित्रकला र कविता अभिव्यक्तिको एक प्राकृतिक रूप हो । यसले मन र मष्तिस्कलाई शान्तचित्त बनाउँछ। यो आफैंलाई अभिव्यक्त गर्ने एक रचनात्मक तरिका हो। र, यो तपाईं एक्लैले जहाँ बसेर पनि सुरु गर्न सक्नुहुन्छ। यसको लागि कलम, कापी, ब्रस र कार्डबोर्ड भए पुग्छ। रेखाचित्र, रंग, स्केच वा अन्य कुनै प्रकारको अभिव्यक्ति, तपाईं जे बनाउँदा सहज मान्नुहुन्छ त्यो बनाउन सक्नुहुन्छ।

कुनै चित्र हेरेर त्यसको भाव अनुरुप कविता पनि लेख्न सकिन्छ। अथवा कुनै कविता पढेपछि त्यसले बनाउने मुड र भावनामा आधारित भएर चित्र लेख्न पनि सकिन्छ। यो काम हामी परिवारमा बसेर पनि कुनै गेमझैँ अगाडि बढाउन सक्छौं ।

सोसल नेटवर्क, युट्युब र टेलिभिजनको उपयोग
प्राय: हामी यस्तो बेला कि मोबइलमा अड्किन्छौं । या घरको टेलिभिजन खोल्छौं कि फिल्म हेर्छौँ। तर यसो गर्दा एउटै कुरा दोहराएर हेर्नु भन्दा पनि नयाँ विषय खोज्नुस् जसमा तपाइको रुचि छ। यसले तपाईलाईं नवीन कुरा खोज्न र बिस्तार गर्ने बानी बसाल्छ।

म सिनेमा हेर्छु, खेल्छु र कहिलेकाहीं बनाउँछु । यो एउटा सामूहिक कलाको संयोजन हुने भएकोले सिनेमाको कलाका अरु विधासँगको साईनो कसरी जोडिएको छ र तिनले सिनेमा मेकिङमा कस्तो किसिमको भूमिका खेल्न सक्छन् भन्ने कुरा‌ जान्नु पनि ज्ञानवर्धक नै हुन्छ जस्तो लाग्छ । केही आधारभूत कुराहरु बुझ्न र आफ्नो रचनात्मक गहिराइलाई 'स्टिम्युलेट' गर्न कयौं सोसल साइटसहरु अहिले उपलब्ध छन् ।

यदि तपाई सिनेमाकला भित्र साहित्य, चित्रकला र संगीतको महत्वबारे जान्न बुझ्न चाहनुहुन्छ भने 'आर्ट मिट्स सिनेमा' भन्ने स-साना जानकारीमूलक भिजुअल्सहरु युट्युबमा उपलब्ध छन्। यसैगरि 'द साईकोलोजी अफ म्युजिक इन फिल्म' र 'लिटरेचर एन्ड सिनेमा' आदि पनि हेरन सक्नुहुन्छ ।
यसले कसरी ? केका लागि ? कुनखाले साहित्य, संगीत या चित्रको कम्पोजिसनलाई निर्देशकले आफ्नो सिनेमामा लिएर आयो भन्ने तथ्य बुझ्न मद्दत गर्छ। हाम्रो कल्पनाको क्षितिज फराकिलो पार्न भूमिका खेल्नसक्छ ।अहिले सिनेमा जुन विन्दुसम्म आइपुगेको छ, त्यहाँ सम्म आइपुग्न यसले लामो यात्रा पार गरेको हो ।

र, कालजयी सिनेमाहरु


सिनेमाको सुरुवाती दिनहरुमा ल्युमियर ब्रदर्सहरुले बनाएका चलायमान तस्बिर देखेर नै पेरिसका दर्शकहरु चकित परेका थिए । अब त्यो चल्ने चित्र अनेक प्रविधिको विकास र उपलब्धि सँगसँगै अत्यन्त वास्तविक र प्रभावकारी बन्दै आएको छ। सिनेमा मा श्वेतश्याम रगंको युग बितेको पनि जुग भइसक्यो । आफ्नो स्वप्न कथा, अनुभव र रचनात्मकतालाई रिलमा अनुवाद गर्ने कयौं असली फिल्मकारको पिढीं अझै आफ्ना नयाँ कलेवरसहित उपस्थिति जनाइरहेका छन्।

यी सिनेमाहरु यत्तिकै हामी बीच आइपुगेका भने होइनन् । यसका लागि केही सिनेमेकरका योगदान महत्वपुर्ण छन् जसले सिनेमालाई मनोरञ्जनका साथसाथै कलाको दर्जा दिन सक्षम भए। यी निर्देशकका काम हामी कतिले हेरेका छौं ? यी त्यस्ता जीवन्त र कालजयी फिल्महरु हुन् जुन विश्वका फिल्मका विद्यालय र कार्यशालाहरुमा पढाइन्छ । यी उदाहरण दिँदा दोहोरिइ रहने र चर्चा गरिने नामहरु हुन् ।

यहाँ मैंले केही फिल्मको नाम उल्लेख गरेको छु, जसलाई हेर्नु भयो भने पनि फिल्मको विराट सृजनशिलतालाई महसुस गर्न सक्नुहुन्छ । यी सिनेमाले अभिव्यक्तिको रुप भाषा ,शैली र बिषयलाई लिएर मानक नै खडा गरेका छन्।

ला भेञ्चुएरा (निर्देशक- माइकल एञ्जिलियो एन्टीनियोनी, ग्रिस )
टोकियो स्टोरी (निर्देशक- ओजु, जापान)
पर्सोना (निर्देशक- इनगमर बर्गमेन, स्विडेन)
मिरर (निर्देशक- आन्द्रेई तारकोव्स्की, रुस)
पाथेर पांचाली (निर्देशक -सत्यजित राय, भारत)
एट एन्ड हाफ (निर्देशक -फेदरिको फेलिनी, इटाली)
रेन (निर्देशक -आकिरा कुरोसावा, जापान)
नाइफ इन द वाटर (निर्देशक- रोमन पोलनस्की, पोल्यान्ड)
ब्रिदलेस (निर्देशक- ज्या लुक गोदार्ड, फ्रान्स)
द म्यान हु लव्ड वुमन (निर्देशक- फ्रास्वाँ त्रुफो, फ्रान्स)
दि बाईसाइकल थिफ (निर्देशक- भित्तोरियो डेसिका, इटाली)
साईको (निर्देशक-अल्फ्रेड हिचकक, बेलायत/अमेरिका)
सिटिजन केन (निर्देशक - वर्सन वेल्स, अमेरिका)
द रुल्स अफ द गेम (निर्देशक -ज्याँ रेनुआ, फ्रान्स)
थ्री कलर- ह्वाइट, रेड, ब्लु (निर्देशक- क्रिस्तोव केसलोवस्की, पोल्यान्ड)
टेस्ट अफ चेरी (निर्देशक -अब्बास किरुस्तामी, इरान)
ट्याक्सी ड्राइभर (निर्देशक -मार्टिन स्कोरसेजी, अमेरिका)
रेज द रेड लानटेन (निर्देशक- च्याङ यीमाउ, चीन)
पल्प फिक्सन (निर्देशक -क्वनटिन टेरान्टिनो, अमेरिका)
इन द मुड फर लभ (निर्देशक - वङकर वाइ, हङकङ)

हरेक दिन एउटाको दरले यी सिनेमा हेर्नु भयो भने पनि लकडाउनको लागि बीस दिनसम्म पुग्ने खुराक हुन सक्नेछन्। अन्तमा यही भन्न चाहन्छु। यो सकंटको समय हो। तर, यो सकंटबाट नआत्तिऔं। सतर्कताचाहिँ अपनाउँ। कोरोना भाइरसबाट बच्न अपनाउनुपर्ने उपायहरुलाइ आत्मसात गरौं। यो दुष्कर र अँध्यारो समय छिटै जाला र एक दिन उजेलो समय आउला । हामी सबैको यो लकडाउन समय सृजनशील र सुरक्षित रुपमा बितोस् ।

प्रकाशित : चैत्र २०, २०७६ ११:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×