कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

एब्स्ट्य्राक्ट चिन्तन : महानायक

वास्तविक महानायक वा नायिका आफै जन्मिन्छ । ऊ पूर्वी क्षितिजबाट सुन्दर–कुरूप, महिला–पुरूष वा विशाल जनावर, जुनसुकै रुपमा आउन सक्छ । ऊ आफ्नै समयमा आउँछ । हामीले पर्खिनु–नपर्खिनुको कुनै अर्थ छैन ।
अरुण गुप्तो

को नायक ? को नायिका ? को महानायक ? बहस व्यापक तातेको छ । तर, अब भेटिने यस्तै बहस र चर्चा मात्रै हो । वास्तविक नायक–नायिका त युगले सायदै पाउला । मेरो विचारमा असम्भव नै छ । हो, सेलेब्रिटी भने हुन सक्छ । तर, ऊ हिरो होला, ग्यारेन्टी छैन । हिरोको एउटा विशेषता हुन्छ । ऊ भीडमा पनि एक्लो हुन्छ ।

एब्स्ट्य्राक्ट चिन्तन : महानायक

मोरिस ब्लान्सो त्यो एक्लोपनलाई घाउसँग जोड्छन् । ‘एकाकीपन एक प्रकारको आत्मवार्ता हो,’ उनी भन्छन् । त्यही आत्मवार्ताले घाउ बनाउँछ । र, त्यसको रनाहाले पूरै युगलाई डोहोर्‍याउन सक्ने ज्ञान र चेतनाको प्रादुर्भाव गरिदिन्छ । जसले त्यो उज्यालोको दर्शन पाउँछ, ऊ दार्शनिक कहलिन्छ । ऊ नै सच्चा नायक ठहरिन्छ ।

जीवनबारेको दुःखान्त परिदृष्टि पनि हो यो । दुःखबाटै ज्ञान जन्मिन्छ । तर, आजको अगुवाले यो सत्यको दार्शनिक तत्त्व आत्मसात् नै गर्न सक्दैन । त्यसैले ऊ नायक पनि बन्न सक्दैन । महानायक त झन् दुर्लभ ।

वर्ड्स वर्थले ‘टिन्टर्न एबे’ कवितामा संसारलाई हेर्ने प्रबुद्ध परिदृष्टिको चर्चा गरेका छन् । उनी बेलाबेला निःशब्दता, निश्चलता अनि मानवताको दुःखको गीत सुन्ने आत्मज्ञानको कुरा गर्छन् । तर, आजको सन्दर्भमा यो कुरा हास्यास्पद हुन जान्छ । मानवताको गीत सुन्नु त निकै परको कुरा । दुःखको भौतिक व्याख्या मात्रै गर्छौं हामी ।

नायक वा नायिकाका अगाडि दुइटा परिस्थिति हुन्छन् । एउटा, समयको द्वन्द्व । अर्को, त्यो द्वन्द्वलाई बुझेर प्रतिक्रिया दिनु । उनीहरू त्यो समयसँग सधैं हारेका हुन्छन् । तर, उनीहरू फेरि पनि लडिरहन्छन् । प्रतिक्रिया जनाइरहन्छन् । एक दिन छोरीले भनिन्, ‘नायिकाले संसारलाई एउटा सुविधाजनक विन्दुबाट हेरेकी हुन्छिन् । त्यहाँबाट उनले सम्पूर्णता देख्छिन् वा नदेख्न पनि सक्छिन् ।’ तर, सम्पूर्णताको कामनाले दम्भ जन्माउँछ । मलाई लाग्छ— त्यसैले गर्दा नै नायक असफलतापछि पनि चेष्टा गर्न छाड्दैन । बुद्धको अन्तिमको शान्ति, गान्धीको असफलताले हामीलाई निरन्तर लडिरहने दर्शन सिकाएको छ ।

***

सेलेब्रिटीको आफ्नै सुन्दरता हुन्छ । ऊ फिल्म, खेल, राजनीति वा अरू जुनसुकै क्षेत्रबाट पनि हुन सक्छ । सेलेब्रिटीले एउटा कुनै क्षेत्रमा प्रभाव पार्छ । सोसल मिडियामा उसका फलोअर प्रशस्तै हुन्छन् । तर, उसमा युग परिवर्तन गर्ने चाहना हुँदैन र सक्दैन पनि ।

हजारौं मानिस शाहरूख खानको घरअगाडि उभिन्छन् । उनलाई एक झल्को देख्न पाउँदा खुसी हुन्छन् । युट्युबमा सद्गुरुको राम्रो प्रवचन सुन्न पाइन्छ । हरिवंश आचार्यहरू नेपालका ‘पप आइकोन’ हुन् । उनीहरूबाट रमाइला र सुन्दर कुराहरू हेर्न–सुन्न पाइन्छ । सन्दीप लामिछानेले विकेट लिनासाथ नेपालीत्वको भावना सञ्चार हुन्छ । चिन्ता, दुःख, द्वन्द्वका बीचमा सेलेब्रिटीले सुख प्रवाह गरिदिन्छन् । अहिलेको मिडिया यस्तै सेलेब्रिटी परम्पराको पछाडि छ । यो परम्परामा नायक जन्मने विचार मात्रै पनि अर्थहीन हुन पुग्छ ।

हामीलाई महाकवि, युगपुरुष, महानायक बन्ने–बनाउने अनन्त इच्छा छ । महापुरुष बनाउने प्रयासमा कसैलाई तक्मा पहिर्‍याइदिन्छौं, माला पनि लगाइदिन्छौं । तर, हामी नायक पुरुषलाई मात्रै बनाउँछौं । पुरुषत्वमा मात्रै नायक खोज्छौं । बिर्सन्छौं, नायक बन्ने प्रयासमा महाभारतका अर्जॅनले पनि बृहन्नला बन्नुपरेको थियो । यो एउटा रूपक हो । अर्जॅनलाई पूर्ण स्त्री बन्न सम्भव थिएन । त्यसैले उनी अर्ध स्त्री र अर्ध पुरुष स्वरूपमा रहे । सम्पूर्ण पुरुष स्वरूपका भीष्म, कर्ण, दुर्योधनहरू उनीसँग हारेर गए । अर्जुनको चरित्रका पछाडि कृष्णको नारीत्व र पौरुष दुवै थियो । कृष्णले राधाको संसर्गमा नारीत्वको अन्तरीकरण गरेका थिए । उनको पहिलेकै मोहिनी अन्तःचरित्र कहाँ जान्छ र ? शिवको पनि नारी–चरित्र छ । अर्धनारीश्वरका रूपमा पर्वतीको गुण छ ।

क्राइस्टलाई पनि मध्यकालका दर्शनिक हेनरी सुसो नारी रूपमा प्रेम गर्थे । उनी क्राइस्टमा नारीत्व पनि देख्थे । चर्चले उनलाई धम्की दिएर चुप लगाएको थियो । नायक अथवा महानायकले समाजलाई समग्रताको परिधिमा समेटेको हुन्छ । समेट्न नसकियुन्जेल त्यसका लागि चेष्टा गरिरहन्छ । वास्तवमा चेष्टा नै सफलता हो । नायकको परिधि भूगोलदेखि इतिहाससम्म, चेतना परिवर्तनदेखि साहित्य र अन्य क्रियाकलापहरूसम्म, विकासको सोचदेखि वैज्ञानिक चेतसम्म विस्तारित हुन्छ । उसले आफूलाई अनन्त भविष्यसम्म युगले सम्झिरहने बनाउँछ । ऊ जोन अफ आर्क, गान्धी, मार्टिन लुथर किङ, मन्डेलाजसरी समयको निरंकुशताबाट जन्मिन्छ ।

मिथकको हिरो

अहिलेको समाजमा आहुति, त्याग वा बलिदानीको संकट छ । समाजका लागि आफूलाई शारीरिक र मानसिक यज्ञमा होम गर्नु नै आहुति हो । त्यो एउटा छटपटीग्रस्त अशान्त मनको चाहना हो । हामी जोकोहीमा यस्तो मन हुँदैन । यस्ता नायक–नायिका हराइसकेका छन् ।

मिथकशास्त्री जोसेफ क्याम्पबेल एउटा कथा भन्छन्— अफ्रिकाको एउटा जनजातिमा वीर छनोट गर्न दुईबीच युद्ध गराइन्थ्यो । मृत्यु वरण गर्नेले वीरको उपाधि पाउँथ्यो । तर, विडम्बना दुवै जना जितकै लागि युद्ध गर्थे । त्यो युद्धमा मृत्यु वरदान हुन्थ्यो । यस्तो कथालाई शाब्दिक अर्थमा मात्रै लिनु हुँदैन । आहुतिको भावनाले आध्यात्मिक शक्ति प्रदान गर्छ । व्यक्तिको सांकेतिक मृत्यु (जुन असल मृत्युभन्दा गाह्रो हुन्छ) ले नायकलाई जन्म दिन्छ । आहुति, मृत्यु, शुद्धि बुझ्न त न हामीसँग समय छ न इतिहास नियाल्ने रुचि ।

राजनीति र युद्धका कथा समेटिएका संसारका महाकाव्यहरूमा नायकको अन्तर्मनको चाहना हुन्छ— देउता बन्ने । फिलिप्पे सेल्लिए यसै लेख्छिन् । सिजर र नेपोलियनको पनि यस्तै चाहना थियो । केही नायक त कुनै पनि बन्धन मन पराउँदैनन् । उनीहरू ईश्वरलाई पनि घृणा गर्छन् । जोन मिल्टनको महाकाव्य, ‘प्याराडाइज लस्ट’ मा एक देवदूत मम्मोनले भनेको सम्झन्छु— मुक्त, कसैको उत्तरदायित्वबिना सजिलो गुलामी, भक्तिको लगामरूपी वैभवभन्दा परिश्रमी स्वाधीनताको चाहना ।

हिरो अथवा क्रान्तिकारीको चाहनामा क्रूरता पनि हुन्छ । आफैंप्रति क्रूर हुनु एक प्रकारको नायकी विशेषता हो ।

आदर्श मिथकीय हिरोको जन्म असाधारण हुन्छ । जस्तै : बुद्ध र क्राइस्ट । एक जना सामान्य परिवारमा जन्मिए त अर्का राजपरिवारमा । वैभव र दरिद्रताबाट हिरोको जन्म महाकाव्यीय रचनात्मकता हो । बुद्ध र क्राइस्ट त्यसैले युगनायक हुन् ।

महा, युग, कालपुरुषजस्ता विशेषण जोकोहीलाई जोड्नु यी शब्दकै अपमान हो । यस्ता शब्दले इतिहास बोकेका हुन्छन्, जसमा विशेष अर्थ समाहित हुन्छ । म पाँचवटा किताब लेख्दैमा अन्तर्राष्ट्रिय लेखक बन्दिनँ । केही रचना गर्दैमा महिमामय व्यक्तित्व हुँदिनँ म ।

को महापुरुष, को युगपुरुष अनि को कालपुरुष हो, इतिहासले आफैं निर्धारण गर्छ । स्वनिर्मित प्रतिष्ठाले नायकत्व स्थापित गर्न सक्दैन । मलाई यहाँ सेक्सपियरको नाटक ‘ओथेलो’ को खलनायक इआगोको सम्झना हुन्छ । ऊ भन्छ— प्रतिष्ठा एउटा अकर्मण्य र अति मिथ्या हो, साधारणतः बिनायोग्यता को पाइन्छ ? प्रतिष्ठाको लायक नहुँदै लुप्त पनि हुन्छ, त्यसैले तिमीले केही प्रतिष्ठा गुमाएका छैनौं ।

नायक चिन्न सजिलो छैन । नायकको भेषमा इआगो पनि त आउन सक्छ । बुद्धिमान खलनायक हो इआगो । उसको मन्द हाँसोबाट बच्न सक्नुपर्छ । यही बेला मलाई अर्को प्रसंग याद आउँछ । धेरै वर्षपहिले केन्द्रीय अंग्रेजी विभागको प्रसंग । अभि सुवेदी सर आत्तिँदै आएर भन्नुभयो, ‘मलाई बचाऊ ।’

हुन त यसरी आउनु उहाँको तरिका नै हो, जो हामीलाई निकै मन पर्छ । मैले उत्सुक हुँदै सोधें, ‘के भयो सर ?’

उहाँले भन्नुभयो, ‘एक जना विद्यार्थीले ममाथि थेसिस लेख्ने रे, तिमी जसरी पनि उसलाई अरू कुनै टोपिक देऊ ।’ म अलेक्जेन्डरको घोडामा बसेझैं गरी ती विद्यार्थीलाई खोज्दै पुगेँ । अनि भनेँ, ‘ल तिम्रो थेसिसको टोपिकमाथि छलफल गरौं ।’

उनले जवाफ दिए, ‘छलफल के गर्ने सर, म त द माइन्ड अफ प्रोफेसेर डाक्टर अभिनारायण सुवेदीमाथि थेसिस लेख्छु ।’

हामी नयाँ बिल्डिङको एउटा क्लासमा थियौं । मैले सोधें, ‘अनि यो विषयमा तिमीले के–के अनुसन्धान गर्‍यौ, पाठ के–के छन् ?’ उनले भने, ‘मेरो र साथीका क्लासका नोटहरू ।’

उनलाई सम्झाएँ, ‘यो विषय गम्भीर छ । एमए थेसिस होइन, पीएचडीका लागि उपयुक्त छ, अहिले कुनै उपन्यासमा लेख, पछि सरको माइन्डमा काम गर्ने ।’ बल्ल उनी कन्भिन्स भए । अनि समोसा खान गए । म कालु पाँडेजसरी शानले अभि सरको कोठामा पुगेँ । उहाँले अहिले पनि त्यो कुरा बिर्सनुभएको छैन । सरको त्यो डर इआगोले पहिल्यै भनिसकेको छ ।

फेरि नायक–नायिका बनाउनु र जोकर बनाउनुमा धेरै फरक हुँदैन । जोकरको बेग्लै व्यक्तित्व पनि हुन्छ । उसको आफ्नै गम्भीरता पनि हुन्छ । नायक र जोकर दुवैका वैयक्तिक गुण हुन्छन् । नायक र जोकरको एक अन्तर्निहित व्यथा पनि हुन्छ । नायकले समाज, विश्वलाई अगाडि जान प्रेरित गर्छ तर आफू एक्लो हुन्छ । जोकर पनि अरूलाई हँसाउँछ, आफू एक्लै हुन्छ ।

***

आहुति, होम्, परित्यागको तथ्य आज सामाजिक संकट भएको छ । आहुतिमा थोरै मात्र भूल भयो भने ग्रीक वीर हेराक्लेसलाई जस्तो अन्याय हुन सक्छ । रेने गेरार्द ‘सेक्रिफिसल क्राइसिस’ मा लेख्छन्— हेराक्लेस लामो कालपछि आफ्नो सहर फर्किंदा उनका श्रीमती र सन्तानलाई दुष्ट लाइकुसले हत्या गर्न लागिरहेको थियो । तर, हेराक्लेसले त्यसअघि नै लाइकुसलाई मारिदिन्छन् । पछि आफूलाई शुद्ध पार्न हेराक्लेस आफ्नै आहुति दिन तयार हुन्छन् । तर, त्यही दबाबमा उनी पागल हुन पुग्छन् र आफ्नै पत्नी–सन्तानलाई शत्रु ठानेर बलि दिन्छन् ।

हेराक्लेसको यो भयानक समस्या आज हाम्रैबीच मञ्चन भइरहेझैं लाग्छ । हाम्रा नेताहरू पनि हेराक्लेस जसरी नै सहर आएर आफ्नै जनताको बलिदान दिँदै छन्जस्तो लाग्छ । यस्तोमा ‘हेराक्लेस’ हरू सहर फर्कनुको के अर्थ !

***

आज न आहुतिको भावना छ न त नायक । छ त केवल मिडिया, माला अनि स्तुति । खासमा यिनै चीज नायक निर्माणका बाधक पनि हुन् । कसैले कसैलाई अक्षरहरूको पगरी गुथाइदिँदैमा ऊ नायक हुँदैन । हो, कसैलाई ऊ नायक भएको भ्रम भने गराइदिन सक्छ ।

वास्तविक नायक त आफैं जन्मन्छ । ऊ पूर्वी क्षितिजबाट सुन्दर–कुरूप, महिला–पुरुष वा विशाल जनावर, जुनसुकै रूपमा आउन सक्छ । ऊ आफ्नै समयमा आउँछ । हामीले पर्खिनु–नपर्खिनुको कुनै अर्थ छैन ।

प्रकाशित : श्रावण १०, २०७७ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?